काठमाडौंका अस्पतालमा दिनभर चक्कर, गरिबलाई पाइलै पिच्छे ठक्कर
तीन दिनदेखिको निरन्तर ज्वरो । शरिरको असाध्यै दुखाई । जेठ १ गते अकस्मात मलाई श्वासप्रश्वासमा समस्या आयो । अक्सिजनकाे लेभल नाप्न मसँग अक्सोमिटर थिएन । साथीहरुको सहयोगले तत्काल १३ सय ५० रुपैयाँमा अक्सिजन खरिद गरेँ र अक्सिजनको तह नापेँ । अक्सोमिटरमा मेरो अक्सिजनको लेभल ८५ देखियो । साथीहरुले अक्सिजनको तह धेरै तल आइसकेको बताउँदै अस्पताल जानु पर्ने सुझाव दिए । तत्काल नगरपालिकाबाट निःशुल्क रुपमा सेवा दिँदै आएकोे एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गरेँ । कोरोना भाइरस पोजेटिभको रिपोर्ट आएपछि मात्रै एम्वुलेन्स पठाउन सकिने नभए एम्बुलेन्स नआउने उताबाट जानकारी आयो । मैले अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भइरहेको भने पनि मेरो अनुरोधलाई स्वीकार गरिएन । मेरो मुटुको धड्कन् झन तीव्र गतिमा धड्किन थाल्यो । झन गाह्रो भइरहेको महसुस मैले गर्न थालेँ । साथीहरुले लगत्तै फेरि साही नम्बरमा फोन गरेर कोरोना पोजेटिभ रिपोर्ट आफुसँग भएको जानकारी गराए । त्यसको एक घण्टापछि एम्बुलेन्स आइपुग्यो । साँझको ६ बजिसकेको थियो । सो एम्बुलेन्सले मलाई भेनस अस्पतालमा पुर्यायो । त्यो बिचमा कुन अस्पताल जाने भन्ने विषय म काम गर्दै आएको संस्थाका मालिकले निर्णय गरिसेका रहेछन् । उनकै अनुरोधमा मलाई भेनस पुर्याइयो । भनेस पुग्ने बित्तिकै मलाई अस्पतालको ईमरजेन्सी कक्षमा अक्सिजन दिन थालियो । तर, अन्य कुनै उपचार भने मलाई गरिएन । अक्सिजन दिएको केही समयमै एक जना काला वर्णका मानिसले पीसीआर रिपोर्ट नभएको भन्दै उपचा। गर्न नसकिने बताए । म सँगै मेरा मालिक ( वुद्धि श्रेष्ठ) पनि सँगै हुनुहुनथ्यो । श्रेष्ठ सर ती व्यक्तिको कुरा सुनेर काउन्टरतर्फ लाग्नु भयो । काउन्टरमा उहाँलाई एक लाख रुपैयाँ खर्च लाग्ने भन्दै तत्कालै बुझाउन भनियो । श्रेष्ठ सरले अहिले ४० हजार मात्र आफुसँग रहेको र बाँकी भाेलि दिने बताउनु भयाे । त्यो शब्द सुन्ने बित्तिकै अघिका काला वर्णका मानिसले पीसीआर परीक्षणको रिपोर्ट नभएको कुनै हालतमा उपचार नहुने अडान लिए । काउन्टरमै बसिरहेका अर्का व्यक्तिले साहानुभुति जनाउँदै हामीलाई तुरन्त सिभिल अस्पताल जान सुझाव दिए । त्यसपछि श्रेष्ठ सरले मलाई सिभिल अस्पताल लिएर जानु भयो । करिब ८ बजे सिभिल अस्पताल पुगियो । सिसभिल सुनसान थियो । त्यहाँ पनि बेड खालि नभएको भन्दै अन्तै लिएर जान सुझाव दिइयो । अब हामीलाई फसाद पर्यो । श्रेष्ठ सरले विभिन्न व्यक्ति र ठाउँमा फोन घुमाउन थाल्नु भयो । श्रेष्ठ सरले बसुन्धारमा रहेको कान्तिपुर डेन्टल सेन्टरमा जानु पर्ने बताएसकेपछि हामी सिभिलको गेटमा रेहका ट्याक्सीहरुलाई सहयोग माग्न थाल्यौं । ट्याक्सीले पनि सिभिलबाट बसुन्धाराको ५ हजार रुपैयाँ माग्यो । बार्गेनिङ गर्दै जाँदा १ हजार रुपैयाँमा कुरा मिल्यो र हामी ९ बजे कान्तिपुर डेन्टलमा पुग्यौं । त्यहाँ पनि फेरि एक जना नर्सले बेड खाली नभएको जानकारी दिइन् । हामी फेरि अतालियौं । ती नर्सलाई धेरै आग्रह गर्यौं । उनले पनि डाक्टरहरु किन भर्ना गरेको भनि आफुसँग रिसाउने भन्दै भर्ना गर्न नसकिने जवाफ दिइन् । पछि धेरै ठाउँ फोन गर्दा ति नर्सकै मोबाइलमा फोन आयो र हामीलाई भर्ना गर्न लगाइयो । मलाई इमरजेन्सी कक्षमा लिइयो । त्यहाँ ७ वटा बेडहरु खालि नै थिए । तर, मलाई अगाडि बेड खालि छैन भनेर अर्कै अस्पतालमा जान सुझाइएको थियो । मेरो उपचारको प्रक्रिया सुरु भयो । पीसीआर परीक्षणदेखि विभिन्न १५ वटा टेष्ट गर्ने भन्दै काउन्टरबाट १५ हजार ७ सय रुपैयाँको बलि आयो । फार्मेसीबाट ८ हजार २ सय रुपैयाँको औषधी तत्काल सरले ल्याउनु भयो । केही घण्टापछि अस्पतालमा नर्सले विभिन्न औषधि र उपचारको नाम लेख्दै प्रति घण्टा अक्सिजन चढाएको ५ सय रुपैयाँ, प्रति दिनको ईमरजेन्सी वार्डको १५ हजारका दरले दुई दिनको ४० हजार हुने बताइन् । उनले अझ आईसीयुमा राखेको २८ हजार, प्रतिदिन वार्डमा भएमा न्यूनतम १५००० हजारका साथै साथै छातीको एक्सरे दिनहुँ र अन्य पनि टेष्टहरु दिनै हेर्नु पर्ने भनेपछि अहिलेसम्मको रकम साहुले चुक्ता गरेर सर फेरि अर्को अस्पतालको खोजिमा लाग्नु भयो । उहाँले अब कान्तिपुर डेन्टलबाट पनि टिचिङ्ग अस्पतालमा जानु पर्ने भन्दै मलाई एम्बुलेन्समा राख्नु भयो । केहि छिनमै म एम्बुलेन्सबाट टिचिङ्ग अस्पतालको गणेशमान भवनको प्राङ्गणमा पुग्यौं । मलाई अझै श्वास फेर्न समस्या भइरहेको थियो । तर, देशकै ठुलो मध्येको सरकारी अस्पतालमा पुगेपछि निको हुने कुरामा म ढुक्क थिएँ । टिचिङ्ग पुग्दा ठूलो भिड थियो । कोभिड लेखिएको कोठाभित्रको हुललाई छिचोल्दै दुई डाक्टर दुई नर्स देख्दा रातो मछेन्द्र नाथको रथ तानी रहँदा खटभित्र रहेको मछेन्द्रनाथ नै देखे जस्तो लाग्यो मलाई । करिब दश जना विरामीका मान्छेलाई एकजना डाक्टरले जवाफ दिंदै थिए । अस्पतालको आँगनदेखिको विरामीको चाप र बाटैमा पल्टिरहेका विरामी र तिनका कुरुवा देख्दा मलाई गोंगबु बस अड्डामा बस पर्खेका र छुटेर भोली गन्तव्य जान बिश्राम गरिरहेका यात्रीको जमात जस्तै कल्पना गर्न थालेँ । म पनि त्यही हुलको एक कुनामा लम्पसार परिहालेँ । ‘यहाँ त धेरैले आफैले अक्सिजन बोकेर आउँछन्’ पीपीए लगाएका एकजनाले मसिनो स्वरले जानकारी गराउँदै थिए । तर केहि छिनमै मैले पनि अक्सिजन लगाउन पाएँ मेरो भाग्य बलियो नै रहेछ जस्तो लाग्यो । टिचिङ्गमा दुई दिनसम्म बसेँ । २ दिनपछि मेरो अक्सिजन निकालियो र ६ गते त डिस्र्चाज गर्नु पर्यो को छ तपाईको मान्छे बोलाउनु भनेपछि मैले भने खोई त डाक्टर साब मलाई छातीमा ईन्फेक्सन देखियो निमोनियालाई के गर्ने ? खोकी अझै छ भन्दै गर्दा मसँग कुरा गर्दै गरेका डाक्टर अर्को विरामी हेर्न फर्किए । मैले मेरो सरलाई यो कुरा बताएँ । उहाँले पनि नर्सलाई सोध्दा अब निमोनिया त कोभिड लागे पछि भई नै हाल्ने र यो निको हुन ६ हप्तासम्म लाग्ने हुन्छ अब घरमा गई आराम गर्ने भनेपछि मैले सहज महसुस गरेँ । म भारतीय नागरिक । भारतिय नागरिक भएकै कारण अक्सिजन लगाएकोे ३ हजार ५ सय र सामुहिक वार्डमा राखिएपनि बेड चार्ज पनि ३ हजार ५ सय गरी ४ दिनको १७ हजार ५०० तिर्न लगाइयो । तर नेपाली भएमा चाहिं निशुल्क हुने रहेछ । कुन मुलुकको भनि चेक जाँच गर्ने कुनै ठोस आधार नहेर्ने भएपनि मेरो सरले चाहिँ झुठो विवरण दिन हुन्न भन्दै पैसा तिर्न बाध्य हुनु अब हामी अस्पतालबाट घर फर्किने भयौं । ट्याक्सीमा चढेर घर फर्कियौं । ट्याक्सीमा मेरो मनमा अनेकन कुराहररु खेद्यन थाले । चिनजान भएको व्यक्तिले ७ दिन मात्र प्राईभेट अस्पतालमा ज्यान बचाउन बस्नु पर्ने भएमा कति लाख खर्च हुँदो हो ? अझ ज्यान बच्ने नबच्ने कुरा र परिवारसँग पर रहँदाको कहाली लाग्दो स्मरणको कम्पन मनमा छुट्टै छ । अस्पतालमा आएको बिल मेरो मालिकले ममाथि नै थुपार्यो भने मेरो हाल के होला ? एकदिनमा ५० हजार रुपैयाँको बील तिर्नु त मेरा लागि आकाश पातल हो । यो भनेको म जस्ता निम्न आयश्रोत भएकाहरुलाई पशुपति आर्यघाट नै जा भने जस्तो लाग्यो । सरकारी अस्पताल भर्ना हुन पनि चिनजान नै चाहिने रहेछ । आज म बीमारी पर्दा जे दुःख अप्ठेरो भोगेँ मेरो गरिबीले हो मेरो नाता गोता र चिनजानको कमिले भएको जस्तो मलाई महसुस भयो । (प्रस्तुतीःअजय श्रेष्ठ)
सँगै ह्याप्पी वर्थ डे, श्रद्धाञ्जली र बधाई
मोबाइल तथा कम्प्युटरमा इन्टरनेटको माध्यमबाट आफूले प्राप्त गरेका सूचना, आफ्नो विचार, फोटो, भिडियो लगायतका सामाग्रीहरु आफन्त, साथीभाई र शुभेच्छुहरु माझ आदानप्रदानको लागि प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । वेबसाइट एवं इन्टरनेट माध्यमद्वारा प्रत्यक्ष संवाद, कुराकानी, आफ्ना रुची, विचार र अभिब्यक्ति व्यक्त गर्न, जुनसुकै स्थान, समयमा पनि प्रयोग गर्न सक्नु नै सामाजिक सञ्जालको बिशेषता हो । समुदायमा आधारित सामग्रीहरु आदानप्रदान गर्ने एक प्रकारको सञ्चार माध्यम भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । युट्युव, फेसबुक, भाइबर, ट्वीटर, इन्स्टाग्राम, टिकटक, थम्ब्लर, वीच्याट, स्क्याईप आदि सामाजिक सञ्जालका उदाहरणहरु हुन् । ग्रामिण भेगमा समेत इन्टरनेटको पहुँच विस्तार भएसँगै सामाजिक सञ्जाल प्रयोगको दायरा धेरै फराकिलो भएको छ । सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि बृद्धि भईरहेका छन् । युवाहरुको त कुरै छोडिदिऊँ, बालबालिकादेखि जेष्ठ नागरिकहरुको हातहातमा मोबाईल मात्र हैन सामाजिक सञ्जालबाट कोही पनि अछुतो छैनन् । सरल प्रविधिबाट प्रयोग गर्न सकिने भएकाले पनि बालबालिकाहरुदेखि बृद्धबृद्धाहरुमा समेत सामाजिक सञ्जालप्रति आकर्षण बढ्दै गएको हो । सामाजिक सञ्जाल मानिसहरुलाई जोड्ने एक माध्यम हो । यो अधिकांश मानिसहरुका लागि टाईमपासको साथी पनि हो । मानिसहरुले सामाजिक सञ्जालबाट नै धेरै सूचनाहरु लिने गरेका छन् । प्राय: मानिसहरुले सञ्चारमाध्यमबाट भन्दा पनि फेसबुक, ट्वीटरमा समाचारहरु हेर्ने गर्दछन् । पछिल्लो समय फेसबुक सूचनाको स्रोत नै बनेको छ । सामाजिक सञ्जाल प्रयोगको रफ्तारसँगै यसले सामाजिक चेतनाको स्तर बृद्धिमा सहयोग पुर्याएको छ । महामारीको समयमा सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले एकातर्फ हाम्रा दैनिकीलाई केही सरल बनाईदिएको छ भने अर्कातर्फ संवेदनशील घडीमा मानशिक त्रास र जोखिम समेत थपिदिएको छ । लेखक आफ्नो अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पोख्दैमा कतिपय व्यक्तिहरु आफूलाई पत्रकार हुँ भन्ने सम्झिन्छन् । एउटा कुशल पत्रकारले कुनै पनि घटना, परिवेश र वस्तुस्थितिलाई मनन र विश्लेषण गरी स्रोत र साधनको प्रयोग गरी संयमतापूर्वक आम नागरीकहरुलाई सुसूचित गर्दछ । कतिपय ब्यक्तिहरुले फेसबुक, टिकटक, ट्वीटरहरुमा सचेतनामूलक, सन्देशमुलक, ज्ञानबर्धक भिडियो, पोस्टरहरु बनाएर नागरिकहरुलाई सुसूचित बनाईरहेका छन् भने कतिपयले अड्कलबाजी, सम्भावना र महामारीले निम्त्याएको केही घटनाहरुलाई बङ्ग्याएर अफवाह फैलाउने काम गरेका छन् । महामारी हामीले चाहेर निम्तिएको संकट होईन । यो एउटा प्राकृतिक विपत्ती हो । राष्ट्रिय विपदमा पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्दछ । पत्रकार आचार संहिता अनुसार पत्रकार तथा सञ्चारमाध्यमले जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नुहुँदैन भनिएको छ । स्वास्थ्य संवेदनशिलतालाई प्रतिकुल हुनेगरी फैलिएको महामारीको समयमा सत्य र तथ्य सूचना संप्रेषण गर्दागर्दै पनि आम मानसमा त्यसको नकारात्मक असर पर्न सक्छ । सिङ्गो विश्व नै कोभिड–१९ को महामारी विरुद्ध युद्ध मैदानमा होमिइरहेको बेला हामी सामान्य नागरिकहरुको फेसबुकमा स्ट्याटसमा राख्न आतुर हुन शोभनीय नहोला । फेसबुकको वालमा एउटा २५ बर्षिय युवकको कोरोनाकै कारण मृत्यु भएको खबर देख्दा आइसोलेसनमा कोभिडसँग लडिरेका ५० बर्षका मानिसलाई अवश्य पनि जीवनप्रति मनोवल उच्च रहन सक्दैन । वर्तमान अवस्थामा कसैलाई पनि मृत्युको समाचार हेर्ने रहर छैन । हरेक व्यक्तिले आफ्नो मनोबल उच्च राख्ने सामाग्रीहरुको खोजी गरिरहेका छन् । ‘अचानोको पीडा खुकुरीलाई के थाहा ?’ भनेजस्तै भोग्नेहरुका लागि महामारी भयङ्कर छ, भुक्नेहरुका लागि सामान्य छ । यो बेला मानव जीवन अत्तालिएको बेला, कति मानिस पीडामा छट्पटाईरहेको बेला, सबैले सजगता अपनाउनुपर्ने बेला, आत्मविश्वास र धैर्यतामा अडिग रहनुपर्ने बेला हो । पछिल्लो समयमा मानिसहरु यति त्रसित भएका छन् की कसैको फोटो फेसबुकमा अपडेट गरेर बर्थडे विस गर्यो वा बधाई दियो भने पनि त्यो तस्वीरमा नजर पर्नासाथ मुटु कमाएर, छातिमा हात राखेर स्ट्याटस तिर नजर लगाउँछन् र लामो श्वास फेर्छन् । कोभिडका कारण मृतक ब्यक्तिको तस्वीर राखेर श्रद्धाञ्जली व्यक्त गर्दा मृतकका परिवार र आफन्तजन प्रति समवेदना हैन पीडा थपिएको छ । एकै ठाउँमा छिनमा नै ह्याप्पी वर्थ डे, छिनमा नै श्रद्धाञ्जली र छिनमा नै बधाई । फेसबुक प्रयोगकर्ता तपाईंहामीले गरेका यस्ता पोष्टले सूचना संप्रेषण भन्दा पनि समुदायमै मानसिक सन्त्रास फैलाएको छ । सामान्य अवस्थामा फेसबुकमा राखिएका यस्ता पोष्टहरुले सूचना सम्प्रेषण गर्ला तर यो बिषम परिस्थितीमा यस्ता खालका पोष्टहरु नराख्दा नै बुद्धिमानि होला । हामी सबै कोरोना भाईरसको रोकथाम, नियन्त्रण र निराकरणको मार्गमा छौं । उच्च मनोबल, ढृढ संकल्प, धैर्यता र सकारात्मक सोचबाट नै आफु, आफ्नो परिवार र समाजलाई जोगाउन सक्छौं । अब डराएर होइन मनोबल बढाएर कोभिडसँग युद्ध लड्न तयार हौं । (लेखकः काभ्रे सन्देश साप्ताहिकका सह–सम्पादक हुन् ।)
लगानीको ४० प्रतिशतसम्म दैनिक कारोबार गरौं, आईपीओ भर्न नछोडौं- लगानीकर्ता रौनियारको टिप्स्
काठमाडौं । दोश्रो बजारमा लगानी गर्दै हुुनुुहुन्छ भने राम्रो कम्पनी छानेर कारोबार गर्नुस् । तपाईंले बजारमा जति लगानी गर्नुभएको छ वा गर्दै हुनुहुन्छ, त्यसको अधिकतम ४० प्रतिशतसम्म कारोबार गर्ने गर्नुहोस् । र, बाँकी रहेको ६० प्रतिशत रकम राम्रो कम्पनीमा दीर्घकालिन लगानी गर्नुहोस् । जस्तै मानौं, तपाईले दोश्रो बजारमा एक करोड लगानी गर्नुभएको छ भने त्यसको ३० देखि ४० प्रतिशत रकम दैनिक कारोबार गर्नुस् । ५ दिन सेयर किन्नुस् बेच्नुस् । यसले के हुन्छ भने पकेट खर्च, घर खर्च, बाइक खर्च जस्ता दैनिक खर्चहरु सबै निस्किन्छ । यदी, लोन लिएर लगानी गर्नु भएको छ भने पनि त्यसको व्याज निस्किन्छ । त्यसकारणले ४० प्रतिशत जति कारोबार गर्दा राम्रो हुन्छ । र, बाँकी रहेको ६० प्रतिशत ‘मेडियम लङ्ग ट्रम भ्यालु इन्भेष्टमेन्ट विथ कम्पाउन्डिङ्ग रिटर्नस्’ पत्ता लगाएर कुन बैंकको फन्डामेन्टल राम्रो छ । कुन बैंक फन्डामेन्ट्ल्ली स्ट्रङ्ग छ । यसरी लगानी गर्दा कम्पनीको चुक्तापुँजी, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, एनपीएल हेरेर राम्रो छ छैन विष्लेशण गरेर मात्रै लगानी गर्नुपर्छ । साथै, यी सबै हेरेपछि कम्पनीको ग्रोथ कस्तो छ । गत वर्ष कस्तो थियो, अहिले कस्तो छ । यदी ग्रोथ राम्रो छ भने २/४ प्रतिशत पीई रेसियो फरक परे पनि केही फरक पर्दैन । त्यस्तो कम्पनीको सेयरमा लगानी गरेर ‘मेडियम लङ्ग ट्रम भ्यालु इन्भेष्टमेन्ट विथ कम्पाउन्डिङ्ग रिटर्नस्’ गर्यौं भने हामीले तिनीहरुको बोनस आएर हाम्रो सेयर क्युमुलिटिभ तरिकाले बढ्दै जान्छ । यसो गर्यो भने, यताबाट सेयर बढ्छ र उता (४० प्रतिशत कारोबार) बाट दैनिक खर्च उठ्छ । यो प्राय मैले सबैलाई भन्ने गर्छु । र, म आफै पनि यहि अभ्यास गरिरहेको छु । त्यसैले, अहिलेको समय पुँजीबजारमा लगानी गर्ने समय हो । विभिन्न कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा आउने एक/डेढ वर्ष पुँजीबजारमा त्यस्तो आत्तिनु/डराउनु पर्ने केही छैन । राम्रो ग्रोथ भएको कम्पनीमा लगानी गरे केही पनि फरक पर्दैन । जस्तै, उदाहारणको लागि हिमालयन डिष्टिलरीलाई हेरौं, नेप्से १८८१ बिन्दुमा हुँदा ४/५ सयमा बिक्री हुने सेयर अहिले करिब ४५०० रुपैयाँ पुगेको छ । गएको दुई वर्षदेखि उसले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद दिइरहेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको प्रतिसेयर आम्दानी १०३ रुपैयाँ आयो । यो भन्दैमा सँधै एउटै कम्पनीमा लगानी गर्नु उचित हुन्छ भन्दिन म । समय अनुसार मुभ गर्नुपर्छ । अन्तिममा, लगानीकर्तालाई के भन्छु भने कुनै पनि कम्पनीमा लगानी गर्नु अघि उसको फन्डामेन्टल स्ट्रङ्ग छ छैन, त्यो हेरेर मात्रै निर्णय लिनुहोला । र, जहिल्यै पनि कम्पनीले पछिल्लो वर्षमा वितरण गरेको बोनसको इतिहास, व्यवस्थापक टीम र उसको व्यापार व्यसाय विस्तार हेर्नुपर्छ । त्यस्तै, यति हेरर लगानी गरेपछि अब त मूल्य घट्दैन, सँधै बढ्छ भन्ने चाहिँ हुँदैन । किनभने बजार घट्छ बढ्नको लागि, बजार बढ्छ घट्नको लागि । बजार घटेबढेन भने त हामीले केमा कमाउने र ? बजार घट्नु बढ्नु भनेकै बजारको सुन्दरता हो । यो प्राकृतिक प्रक्रिया हो । यसमा कसैले अत्यथा लिनु पर्दैन । पुँजीबजारमा हामीले मनि म्यानेजमेन्ट गर्ने हो । यो भनेको कस्तो भने, तपाईंसँग १०/२० हजार रुपैयाँ मात्रै छ भने पनि १०/२० हजारदेखि नै शुरु गर्नुस्, आईपीओ भर्न कसैले पनि नछोड्नुस् । सबै परिवारको नाममा भर्नुस् । र, सेभिङ्ग गर्दै जानुस् । यसो गर्यौं भने पछि केही वर्षमा आफ्नो पोर्टफोलियो हेर्दा आफै सर्प्राइज हुन्छौं । (लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले दिएका टिप्सको सम्पादित अंश)