ग्लोबल आइएमई बैंक छाेड्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक सम्झिए परशुराम कुँवर क्षेत्रीले, यस्ताे छ कारण
स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मैले पेश गरेको राजीनामा बैकको संचालक समितिले २०७७ साउन १ गतेबाट लागू हुने गरि स्वीकृत गरेको छ । म मेरो रोज़गार समझौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैकिंग क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पूर्णकालिन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सबै इच्छा र आकांक्षा पुरा हुदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन । जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएँ । तर मेरो यों आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पिढा हुनेछ । जिन्दगी भर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरेँ अर्थात विहान ९ बजे देखि बेलुका ९ वजे सम्म हप्ताको ६ दिन काम गरें । ज़िन्दगीका थुप्रै दिन दिनको १४-१५ घण्टा र शनिवारका दिन काम गरेको छु । पढाइमा त अब्बल नै थिएँ तर सरकारी स्कूल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिए र सहायक तहवाट बैकिगं क्षेत्रमा प्रवेश गरेको थिएँ । म आज जहाँ छु र ज़िन्दगीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनत कै फल हो । तर अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६” को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो । २१ लाख भन्दा बढी ग्राहकहरु, ३१०० भन्दा बढी कर्मचारी र लाखौं शेयरधनीहरु भएको ग्लोवल आईएमई बैंक जस्तो बैंकमा जागिर खाने नाममा कुर्चिमा टासियर बस्न मन लागेन । आशातित गति, अपेक्षा र भावना अनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६” को मोडेलमा काम गर्न ज़रूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सीईओको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन । यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र बसेको भए, बैकका सबै सरोकारवालाहरु (ग्राहकहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियमनकर्ता / सरकार र समूदाय) प्रति मैले अन्याय गरेको हुने थिए । यो मेरा लागि स्वीकारयोग्य थिएन । विं.सं २०७४ असार १ गते तत्कालीन जनता बैंकमा सीईओको रुपमा कार्यभार सम्भाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंक मर्ज़ गरेर एकै चोटी ठूलो भएको जनता बैंकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समय पछि मलाई विदा दिनु पर्छ भनेर तत्कालिन संचालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्ष पछि बैंक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र बस्ने हो भन्थे । त्यो हिसावले म १३ महिना बढी बैंकमा काम गरेको छु । अझ त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधि समेत गणना गर्ने हो भने बैंकसँग साढे ३१ वर्ष सम्बध्द हुन पुगेको छु। ग्लोवल आईएमई बैंकले राम्रो गरेको छ । राम्रो गर्दैछ र अझ राम्रो गर्ने सम्भावनाहरु विद्यमान छन् । देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने बैकको क्षमता छ । बैंकको पूर्वाधार सवल छ, बैंकको व्यवसाय राम्रो छ । बैंकको छवि राम्रो छ र बैंकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार, लगनशील, र परिणाममूखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई मिस गर्ने छु । यस्तो गूणहरु भएको बैंकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनि सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु । र, म यस घडीमा बैंकका सबै सरोकारवालाहरुमा आ-आफनो ठाउँबाट भविष्यमा पनि बैंकलाई थप साथ र सहयोग गर्न हार्दिक आव्हान गर्दछु । विगत करिव साढे ३ दशक बैंकिंग क्षेत्र र त्यस भन्दा अघि करिव साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु। आफूले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाहरुका सरहरु / म्याडमहरुसंग र मेरा ग्राहकहरुसंग थुप्रै अन्तरकृयाहरु र बैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विद्यार्थीहरुलाई चोट पुर्यायको छु। यसको लागि म यहाँहरुसंग माफ़ी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलियर व्यावसायिक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु। यो अवकाशसँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक दैनिक रूटिङ प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून छ। मेरो बाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैकिगं क्षेत्रका कर्मचारीलाई तालिम प्रदान गर्नमा बिताउने छु । तालिम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौखको चीज रहदै आएको छ। मैले बैकिगं क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म बाढ्न चाहान्छु। मैले सधैं भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन् । मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापूर्वक संस्थागत सुशासन क़ायम गर्दै काम गरेको छु । मैले सधै मच्जाकाे निद्रा राेजे, मिठाे खाना कहिल्यै रोजिन। यसले मलाई त्रास मुक्त बनायो। कतिपय अवस्थामा यो मेरो शक्ति पनि बन्याे, कमजाेरी पनि । यसै कारण कसैले मेरो नैतिकता र ईमान्दारीतामा औंला ठड्याउन सकेनन् । जीन्दगीमा मैले कमाएको सबै भन्दा ठूलो पूँजी हो यो । मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसावले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो बैकिगंको महाविद्यालय ग्रिन्ड्लेज / स्टैण्डर्ड चार्टड बैंकलाई स्रेय जान्छ । म वहाँहरुलाई सधै सम्झने छु । बैकमा काम गरिरहेको अवस्था र बैकिगं क्षेत्र भन्दा बाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत साढे तीन वर्ष वर्ष नेपाल बैकमा काम गर्दा ( जुलाई २००३ -डिसेम्वर २००६) देखि नै मेरो वहाँहरुसंग संगत रह्यो। वहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाड्-ठाडो रुपमा प्रस्तुत भएको हुँला, यसको लागि म वहाँहरु संग क्षमा याचना गर्दछु। अन्तमा, बैंकिगं क्षेत्रमा जे जति गर्न सकें यसको पछाडि मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सबै सदस्यहरुलाई धन्यवाद दिन्छु । पूर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु । धन्यवाद (ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि क्षेत्रीले सामाजिक सञ्जालमा राखेकाे भनाइ)
दुर्गमका बैंकका शाखाको पीडाः बैंकिङ नबुझ्ने ग्राहक, परिस्थिति नबुझी नाफा खोज्ने व्यवस्थापन
विगतमा नेपाल राष्ट्र बैंकको निर्णय र योजनाले धमाधम बैंक, वित्तीय संस्था, माइक्रो फाइनान्स लगायत बैंक वित्तीय संस्थाहरु खुल्न थाले । वित्तीय स्रोत उपलब्ध गराउने संस्थाहरुको देशव्यापी उपस्थितिपछि स्थानीयस्तरमा विभिन्न उद्योग व्यवसाय सुरु हुन थाल्यो । जलविद्युत कम्पनीहरु खुल्न थाले । यसपछि नै नेपालमा विगत दुई दशकमा सबैभन्दा बढि परिवर्तन र फड्को वित्तीय क्षेत्रमा देखियो । देश संघीयतामा गएपछि सरकार र नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्नै पर्ने योजना आयो । यो योजनाले आमजनतामा वित्तीय चेतना, साक्षरता र पहुँच अभिबृद्धिमा सहयोग पुग्यो । र, नाफामुखी र शहर केन्द्रिको आरोप खेप्दै आएका वाणिज्य बैंकहरु ७ सय ५३ वटा स्थानीय तहमा पुगे । यसले गाँउगाँउ तथा विकट दुरदराजमा बैंक पुगे, वित्तीय साक्षारता र वित्तीय स्रोत परिचालनको राम्रो अवसर सिर्जना भयो । वित्तीय क्षेत्र आफैमा एउटा जोखिमको र संवेदनशील क्षेत्र हो । तथापि शहर बजार र तराईका सुरक्षित स्थानीय तहमा शाखा खोल्न र चलाउन त्यति गाह्रो नहोला । तर, विकट र दुर्गम स्थानमा बैंक र यसका शाखा खोल्न र चलाउन अवश्य नै चुनौतिहरु छन् । आजको समयमा विकट र दुर्गम स्थानीय तहमा बैंक र यसका शाखाले विशेष प्रकारका चुनौतिहरुको सामाना गर्नु परेको छ । वित्तीय साक्षरता विकट र दुर्गम स्थानीय तहको बैंकमा प्रमुख समस्या भनेको नै वित्तीय साक्षरताको अभाव होे । आजको युवा पुस्ता गाँउमा नबस्नु र अधिकांश जनसख्या बालबच्चा र वृद्ध हुनुले समस्या सिर्जना गरेको छ । बैंकको विश्वासभन्दा पनि चलिरहेको साहु महाजन प्रथा हालसम्म पनि कायमै छ । पहिलो पटक बैंकले शाखा खोलेको अवस्थामा पनि ‘खाएर भाग्ने पो हो कि’ भन्ने जस्ता सोचले अझै पनि गाँजेको अवस्था छ । लेखक चेतना, साक्षारता र शिक्षाको अभावले बैंकले शाखा खोलेको दुई तीन वर्षसम्म त सेवाग्राहीलाई बैंकसम्म ल्याउनै गाह्रो परेको हुन्छ । बैंकप्रतिको विश्वास जित्नको लागि अधिकांश समय कर्मचारीहरुले वित्तीय साक्षरतामा नै ध्यान दिनु पर्ने देखिन्छ । प्राविधिक समस्या बही खाताको ढड्ढा युगबाट कम्प्युटराइज्य युगमा आज हामी आएका छौं । झन् बैंकको हरेक काम पूर्णतः प्राविधि मै भर पर्दछ । तर, दूरदराजका शाखाहरुमा राम्रोसँग इन्टरनेट नचल्ने, कम्प्युटर, प्रिन्टर, जेनेरेटर जस्ता प्राविधिक उपकरणमा समस्यामा भएमा दक्ष प्राविधिकको अभावले बनाउन लामो समय लाग्ने जस्ता प्रमुख समस्या समाधानमा अझै अझै पनि कठिनाइ भोग्नु परेको छ । जनशक्ति अभाव मानिस स्वभावले नै प्रगतिवादी हुन्छ । सुगम र सुरक्षित ठाउँँमा बस्न रुचाउँछ । त्यसैले बैंकमा पनि कर्मचारीहरु बिकट शाखामा जान नरुचाउने, गइहाले पनि सरुवा गर्न खोज्ने, कामप्रतिको चाहना कम राख्ने जस्ता समस्या बैंकका ग्रामीण शाखाले भोगिरहेका छन् । यस्तै, एउटा बैंकबाट प्रमोशन भएर अर्को बैंकमा फड्को मार्ने जस्ता प्रबृत्ति पनि देखिएको छ । जसले गर्दा दक्ष र असर जनशक्तिको अभाव बैकको प्रमुख समस्या हो । भौगोलिक विकटता बिकट पहाडी क्षेत्रका गाँउपालिका र स्थानीय तहको धेरै ठाउँमा अहिले पनि यातायातको साधन पुग्न सकेको छैन । सवारी साधनको अभाव तथा घरहरु एकआपसमा टाढा हुँदा बैंकका कर्मचारी तथा सेवाग्राही हिडेरै बैंकसम्म आउजाउ गर्नुपर्छ । यसले गर्दा सेवाग्राही र बैंकबीच दुरी कम गर्न समस्या भएको छ । यो समस्याले वित्तीय साक्षरता अभिबृद्धि मात्र समस्या भएको छैन, गाँउगाँउका सेवाग्राहीहरु घन्टौं लगाएर पाँच दश हजार जम्मा गर्न बैंकसम्म आउनुभन्दा घरमै राख्न रुचाउँछन् । यस्तो वाध्यताले बैकिङ बानी बसाल्न, बैंकको साना साना निक्षेप समेटेर राष्ट्रिय पुँजी संकलन गरी लगानीको स्रोत उपलब्ध गराउन र सर्वसाधारणको नगदको सुरक्षा हुने परिपाटी विकास गर्न अप्ठेरो परेको छ । नाफा कमाउनु पर्ने दबाव बैक एउटा व्यवसायिक संस्था भएकोले जे जस्तो भएपनि व्यवस्थापक र संचालकले शाखा खोलेको दुई वर्षपछि नाफाको अपेक्षा गरेका हुन्छन् । शुरु शुरुमा बैंक खुल्नु चुनौति हुन्छ भने बिस्तारै शाखा मेनेजरदेखि कर्मचारीमा नाफा कमाउनु पर्ने दबाब हुन्छ । तर, कम जनसख्या र न्युन आर्थिक गतिविधि भएको स्थानीय तहमा दुई वर्षमै नाफातिर जानु पर्ने दबाव प्रमुख समस्या हो । असुरक्षित महशुस बिगतको द्वन्दकालमा असुरक्षित महशुस गरेर धेरै बैंकहरु विस्थापित भएको अनुभव हाम्रै पुस्तासँग छ । बैंक भनेकै नगद कारोबार हुने र करोडौं रकम राखिने संस्था भएकोले जहिले पनि एक हिसावले भन्दा असुरक्षित नै महसुस हुन्छ । त्यसमा पनि बिकट पहाडी क्षेत्रमा शहर बजारको जस्तो सरकारी सुरक्षा दस्ता नहुनाले अझ बढी हदसम्म असुरक्षित महसुस हुन सक्दछ । यसका अलावा बैंकभित्र पनि पहाडको बैंक हो के काम हुन्छ र, के नै पो गरेको छ भन्ने जस्ता संस्था भित्रै पनि कर्मचारीलाई हेयको दृष्टिकोणले हेर्ने गरिएको अनुभव पनि केही कर्मचारीले गरेका छन् । सुगम र दुर्गमका कर्मचारीलाई एउटै मुल्याङ्गनमा राख्ने नगरी दुर्गम शाखाका कर्मचारीलाई तिनीहरुको योगदानको सम्बन्धित बैंक र राष्ट्र बैंकले अलिक फरक ढंगले गरेमा केही हदसम्म दुर्गम र विकट स्थानमा काम गर्ने बैंकका शाखाका कर्मचारीको मनोबल अलि बढ्ने थियो ।
गायकको मृत्युसम्बन्धी विवादमा भएको झडपमा कम्तीमा १ सय ६६ जनाको मृत्यु
अदिस अबाबा । इथियोपियाली लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक भडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् । अरोमिया क्षेत्रका प्रहरी उप–आयुक्त गिरमा गेलमले झडपमा कम्तीमा १ सय ५६ सर्वसाधारण र ११ सुरक्षाकर्मीको मृत्यु भएको शनिबार राति सञ्चारमाध्यमहरूलाई जानकारी गराए । प्रहरीले गत मङ्गलबार अदिस अबाबामा भएका झडपमा कम्तीमा १० प्रदर्शनकारी र दुई प्रहरी अधिकारीको मृत्यु भएको जनाएको थियो । इथियोपियाका जनजातीहरूको अधिकारका लागि गाउने गरेका हाचालु हुन्देसाको मृत्युलाई लिएर उक्त समुदायले गरेका विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको हो । हुन्देसाको गायनबाट उठेको सांस्कृतिक चेतनाको बलमा उठेको आन्दोलनले सन् २०१८ मा तत्कालीन प्रधानमन्त्रीले सत्ता छोड्न बाध्य पारेको थियो । हुन्देसालाई अज्ञात व्यक्तिले गत सोमबार गोली हानी मारेको थियो । उहाँको मृत्युपछि राजधानी अदिस अबाबा र ओरोमिया क्षेत्रमा रहेका आदिवासी जनजातीहरूले हुन्देसाको हत्यामा सम्लग्न व्यक्तिको खोजी गरी कानूनी कारबाहीका लागि आन्दोलनमार्फत् दवाव सिर्जना गर्दै आएका थिए । सञ्चारमाध्यमका अनुसार आन्दोलन चर्किदै गएपछि इथियोपियाका केही क्षेत्रमा इन्टरनेट सेवा काटिएको छ । हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा कम्तीमा २ हजार २ सय व्यक्तिलाई नियन्त्रणमा लिइएको सरकारी अधिकारीहरूले बताएका छन् । आन्दोलन र झडपका घटना शनिबारदेखि नियन्त्रणमा आएको बताइएको छ । रासस/सिन्ह्वा