मर्जरका लागि पार्टनर खोज्दैछौं, ३ बैंकसँग कुरा भइरहेको छः सीईओ शर्मासँगको कुराकानी

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् सुमन शर्मा । नेपाली बैंकिङ क्षेत्रमा एक अनुभवी, कुशल व्यवस्थापक र सफल बैंकरका रुपमा परिचित शर्माले बैंकिङ सेवामा साढे दुई दशक बिताइसकेका छन् । यसअघि माछापुच्छ्रे बैंकमा सीईओको रुपमा काम गरिसकेका उनीसँग ग्लोबल आईएमई, एनएमबि, नेपाल एसबिआई लगायतका बैंकहरुमा काम गरेको अनुभव छ । एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् भने उनले अर्थशास्त्र र भौतिकशास्त्र विषयमा स्नातकोत्तर पनि हासिल गरेका छन् । उनै सीईओ शर्मासँग सनराइज बैंकको बिजनेस, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका केही व्यवस्था र समग्र बैंकिङ क्षेत्रका विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । हामीले लामो समयदेखि कोरोना भाइरसको सन्त्रास भोगिरहेका छौं, अहिले अर्थतन्त्र रिभाइव गर्ने प्रयत्न गरिरहेका छौं । यति लामो समयसम्म हामीले के गुमायौं, के पायाैं र के सिक्यौं ? विश्व महामारीका रुपमा फैलिएको कोरोनाकालमा हामीले धेरै गुमायौं । हामीले हाम्रा आफन्तहरु, बैंकर्स साथीहरु, परिवारजनहरु गुमायौं । यो अवधिमा ठूलो मानवीय क्षति व्यहोर्नु पर्याे । अझै पनि हामीले क्षति भोगिनै रहेका छौं । कोरोनाको कारण नै धेरै मानिसहरुले जागिर गुमाउनु भयो । धेरै सपनाहरु बोकेर विदेश जानु भएका दाजुभाईहरु बेरोजगार बनेर स्वदेश फर्किए । पर्यटन क्षेत्र उठ्न नसक्ने गरी समस्यामा छ । विदेशी मुद्रा आयात गर्ने मुख्य क्षेत्रनै संकटमा पर्दा अर्थतन्त्रमा समस्या सिर्जना हुने नै भयो । आधारभूत रुपमा हामीले स्वास्थ्य क्षेत्रमा बढी लगानी गर्नुपर्दो रहेछ, अर्थात हामीले स्वास्थ्य पूर्वाधारहरु बढाउनु पर्ने रहेछ भन्ने सन्देश कोरोनाले प्रवाह गरेको छ । अहिले कोरोना संक्रमण बढिरहेको समयमा धेरै संक्रमितहरुले भेण्टिलेटर, अक्सिजन पाइरहनु भएको छैन । देश सानो-ठूलो जस्तोसुकै भएपनि अस्पतालमा लगानी बढाउनु पर्ने रहेछ भन्ने सन्देश हामीले पाएका छौं । संकटमा मात्रै होइन पूर्व तयारी गर्नुपर्छ । विभिन्न पूर्वाधारहरु तयार पार्नु पर्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं । अब सरकारले यसतर्फ ध्यान दिनु पर्छ । कोरोनाबाट धेरै त पाएका छैनौं । तर, अहिले कोरोनाकै कारण डिजिटलाइजेसन बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रविधिको प्रयोगलाई बढाएका छन् । डिजिटल्ली कारोबार गर्ने र यसमा लगानी बढाउने, इनोभेसन गर्ने, ग्राहकलाई यसमा बानी बनाउनु पर्छ भन्ने कुरा सबैले बुझेका छन् । सबै बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन्, गत वर्षमा सनराइज बैंकको बिजनेस कस्तो देखियो ? त्यति नराम्रो छैन । हामीले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा १० प्रतिशतको वृद्धि गरेका छौं । निक्षेप र कर्जा लगानीमा पनि उल्लेख्य सुधार देखिएको छ । जसको नाफा गत वर्षको वित्तीय विवरणमा देखिएन । आउँदो वर्षको वित्तीय विवरणमा सोको नतिजा देखिन्छ । गत वर्ष कर्जामा ०.३ प्रतिशतको जुन लोन प्रोभिजन थियो त्यसले केही असर पारेको छ । अघिल्लो आवको तुलनामा कर्जा प्रवाह २४ प्रतिशतले बढेको छ । निक्षेप १७.९६ प्रतिशतले बढेको छ । यस्तै, एनपीएल १.३८ प्रतिशत छ । वितरणयोग्य नाफा ६० करोड रुपैयाँ छ । समग्र विजनेसमा २० प्रतिशतको सुधार देखिएको छ । भोलुमको हिसाबले हामी सानो बैंक नै हो । तर, रिर्टनको हिसाबले राम्रै बैंक हो । अहिले बैंकहरु चुक्ता पुँजी बढाउने प्रतिस्पर्धामा लागिरहेका छन्, सनराइज बैंकको चुक्ता पुँजी साढे ९ अर्ब रुपैयाँ मात्रै छ, यसतर्फ बैंककाे याेजना के छ ? पुँजी वृद्धि गरेर लगानी गर्ने, लगानीबाट सोही अनुसारको रिटर्न पाउने महत्वपूर्ण विषय हो । पुँजी १०/१० जोडेर २० हुने तर रिर्टन १/१ जोडेर २ हुने हो भने पुँजी वृद्धिको प्रभावकारिता हुँदेन । तर, पुँजी १०/१० जोडर २० हुने तर रिटर्न १/१ जोडेर ३ हुने भयो भने फाइदा हुन्छ । मर्जरले साइज मात्रै ठूलो हुने र त्यसको प्रतिफल बढिहाल्छ भन्ने हुँदैन । मर्जरपछि पनि संस्थाको विस्तार तथा नेटवर्कमार्फत बढी बिजनेस गर्ने सम्भावना हुन्छ । सनराइज बैंक पनि मर्जरप्रति सकारात्मक छ । सञ्चालक समिति पनि मर्जर गर्नु पर्छ भन्ने पक्षमा छ । यसको लागि यकिन निर्णय भने आजसम्म भइसकेको छैन । हाम्रा मुख्य प्रमोटर तथा लगानीकर्ताहरुले अन्य बैंकको प्रमोटरहरुसँग कुराकानी गरिरहनु भएको छ । हाम्रो लगानी, आकार र पुँजी अनुसार जुन किसिमको हामीले विजनेस गर्नु पर्ने हो । हामीले प्रयास गरिरहेका छौं । अघिल्लो वर्ष पनि राम्रै रिटर्न दिएका थियौं । यसपालि पनि हामी राम्रै किसिमको रिर्टन दिने अवस्थामा छौं । सनराइज बैंकको वितरणयोग्य नाफा ६० करोड रुपैयाँ छ, यो वर्ष बैंकले लगानीकर्तालाई कतिसम्म प्रतिफल दिन सक्छ ? वितरणयोग्य नाफा भन्दा पनि खासमा हेर्नुपर्ने खुद नाफा हो । कति वितरण गर्न मिल्यो वा मिलेन भन्ने एउटा विषय हो । खुद नाफा १५० करोड छ । तर, वितरणयोग्य नाफा ६० करोड रुपैयाँ भयो भने ९० करोड रुपैयाँ त बाँकी नै रह्यो । जुन रकम लगानीकर्ताकै हो । आज नपाए उनीहरुले त्यो रकम भोलि पाउनुहुन्छ । विभिन्न कारणले वितरणयोग्य नाफा कम भएको हुन सक्छ । त्यसैले ६० करोड रुपैयाँको हिसाबले हामी ६ प्रतिशत प्रतिफल दिन सक्ने अवस्थामा छौं । जुन क्यास मात्रै हो । राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीतिलाई प्रोत्साहन गरिरहेको छ । यस सम्बन्धि सनराइज बैंकको योजना के हो ? हाम्रो योजना भनेको प्राप्तिभन्दा पनि मर्जरमा नै जाने हो । हामी विकास बैंक वा वित्तीय कम्पनीहरुलाई प्राप्ति गर्दैनौं । वाणिज्य बैंकहरुसँगै मर्जर गर्ने हाम्रो योजना हो । यही सोच अनुसार हामी अगाडि बढिरहेका छौं । प्रमोटरहरुले अन्य बैंकका प्रमोटरहरुसँग कुरा गरिरहनु भएको छ । तीन/चार वटा बैंकसँग अहिले कुरा भइरहेको छ । यसबारे यकिन नतिजा भने हालसम्म आएको छैन । मौद्रिक नीति आइसकेको छ । म बैंकमा आएको ६ महिना भयो । ६ महिनादेखि नै कुरा भइरहेको छ । प्रमोटरहरु पनि मौद्रिक नीति कुरिरहनु भएको थियो । अब प्रकृया अगाडि बढ्छ । हामी एकातर्फ कोरोनाको कारण बिजनेसमा ठूलो नोक्सान ब्यहोर्यौं भनिरहेका छौं । तर, वाणिज्य बैंकहरुको नाफा ६० अर्ब रुपैयाँ बढी छ, यो कसरी सम्भव भयो ? सुरुमा त हामीले गरेको लगानी अनुसारको प्रतिफल छ कि छैन भनेर बुझ्नुपर्छ । हामीले अमाउन्ट मात्रै हेर्नु हुँदैन । अहिले औसतमा बैंकिङ उद्योगमा १४/१५ प्रतिशत मात्रै प्रतिफल छ । जुन बढी होइन जस्तो लाग्छ । नेपाल राष्ट्र बैंकले अघिल्लो वर्ष पनि उद्योग व्यवसायीलाई केही राहत तथा छुटको व्यवस्था गरेको थियो । जुन कार्यान्वयन भयो । जुन उद्योग व्यवसायहरु सर्वसाधारणले नै स्थापना गरेका हुन् । उनीहरुलाई बचाउनका लागि नै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । त्यो व्यवस्थलाई कार्यान्वयन गर्दा बैंकहरुले लोन लस प्रोभिजिनिङ गर्नु परेन । यो नाफा अझै पनि कम हो जस्तो लाग्छ । बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरण हेर्दा सेयर कारोबारबाट नै बढी आम्दानी गरेको देखिन्छ, सेयर कारोबार गरेर त्यसबाट आम्दानी गर्ने विषय सनराइजको प्राथमिकतामा नपरेको हो ? सनराइज बैंकले सेयर कारोबार गर्ने काम बैंकको होइन भन्ने विषय राम्रोसँग बुझेको छ । हामीले ‘कोर बैंकिङ’ लाई नै बढी ध्यान दिन्छौं । सेयर कारोबार गर्ने अन्य इन्भेष्टमेन्ट बैंक तथा अन्य संस्थाहरु छन् । यसमा धेरै एग्रेसिभ रुपमा लगानी गरेका छैनौं । पहिले अलिअलि थियो । अन्य बैंकको जसरी हामीले सेयरबाट कमाएका छैनौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीसीडी खारेज गरेर सीडी रेसियो ९० प्रतिशत कायम गरेको छ भने १ करोड रुपैयाँसम्मको कर्जामा २ प्रतिशत प्रिमियम थप गर्नुपर्ने व्यवस्था गरेको छ, यसले बैंकिङ क्षेत्रलाई के प्रभाव पर्छ ?  यसमा दुईटा कुरा छ । राष्ट्र बैंकले माइक्रो एसएमई कर्जामा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गर्नुपर्ने व्यवस्था गरेको छ । उहाँहरुले रिफाइनान्सिङमा २ प्रतिशत स्प्रेड भनेको छ । बैंकलाई ४.४ प्रतिशत स्प्रेड हुने भनेको छ । यसले बैंकहरु कतिको प्रोत्साहन हुने भन्ने हो । कुल कर्जाको १५ प्रतिशत एसएमईलाई कर्जा प्रवाह हुनु पर्छ भनेको छ । यसलाई कार्यान्वयन त गर्नु पर्छ नै । बैंकहरुले रिटर्न अनुसारको लगानी गर्छन् । जुन क्षेत्रमा बढी लगानी गर्यो त्यसबाट कति प्रतिफल आउँछ भनेर बैंकहरुले हेर्छन् । यदि राष्ट्र बैंकले भने अनुसार १५ प्रतिशत मात्रै कर्जा प्रवाह गरेर छोड्न सक्छन् भने कुनै बैंकले त्यसमा फेरि बढाउन पनि सक्छन् । यो सबै भनेको रिटर्नको आधारमा गरिने निर्णय हो । राष्ट्र बैंकले यो साना लगानीकर्तालाई संरक्षण गर्नका लागि गरेको व्यवस्था हो भनेर हामीले बुझ्नु पर्छ । कतिपय बैंकहरुले साना लगानीकर्तालाई नै बढी व्याजदर लगाउने चलन पनि छ । बार्गेनिङ गर्ने क्षमता भएकालाई कम र बार्गेनिङ नगर्नेलाई बढी दर लगाउने बैंकहरु पनि छन् । यसलाई नियन्त्रण गर्नको लागि यो व्यवस्था आएको हो । तर, अन्य तरिका र विधिबाट यस्तो व्यवस्था गरेको भएपनि हुने थियो । सनराइज बैंक आफैले पनि साना तथा मझौला उद्यम व्यवसायमा लगानी बढाउनु पर्छ भन्ने मनसायमा छ । कर्पोरेटहरुबाट राम्रो रिटर्न नहुने हुँदा माइक्रो एसएमई सबै किसिमबाट राम्रो क्षेत्र हो । तर, राष्ट्र बैंकको यो व्यवस्थाले केही नोक्सान त पर्छनै । बैंकहरुले पनि त्यो नोक्सान व्यवस्थापन गर्न सक्नु पर्छ । हिजोको दिनमा कसैलाई २ प्रतिशत र कसैलाई ३ प्रतिशत पनि लिएको हुन सक्छ । हिजोको दिनमा ३ प्रतिशत लिएकोहरुबाट रिप्राइसिङ गर्नुपर्ने हुन्छ । अर्को, सीसीडी खारेज गरेर सीडी रेसियो ९० प्रतिशत कायम गरेको छ । यो व्यवस्थाले बैंकको नाफामा अवश्य पनि हिट गर्छ । १ सय रुपैयाँ निक्षेप थियो र १० रुपैयाँ पूँजी थियो भने ८५ प्रतिशतको व्यवस्थाले ९३ रुपैयाँसम्म कर्जा दिन पाइन्थ्यो । अब ९० रुपैयाँ मात्रै कर्जा दिन पाइने भयो । त्यो व्यवस्था आजकै दिनदेखि कार्यान्वयन गर्ने हो भने बैंकहरु कर्जा दिन नसक्ने स्थितीमा छन् । बाँकी रहेको ३ रुपैयाँ अब मनि मार्केटमा लगानी गर्न सकिन्छ । जसको रिटर्न एकदमै कम छ । रिटर्न कम हुँदा निक्षेपकर्ताको कष्ट पनि नधान्ने हुन सक्छ । त्यसैले पनि बैंकको नाफामा धक्का लाग्छ । अहिले बैंकहरुले धमाधम व्याजदर बढाउन थाले भन्ने कुरा छ, व्याजदर बढेको हो ? व्याजदर नर्मल्ली बढ्ने नै भयो । अघिल्लो वर्षको असारमा २८२ अर्ब रुपैयाँ ‘ब्यालेन्स अफ पेमेन्ट’ सर्प्लस थियो । गत असारमा सर्प्लस छैन । सर्प्लस नभएपछि व्याजदर बढ्ने नै भयो । अर्काको डिपोजिट खोसेर ल्याउनु पर्ने हुन्छ । त्यसकारण पनि व्याजदर बढ्ने नै भयो । यो एउटा प्रकृया हो । पहिला निक्षेपमा बढ्छ त्यसपछि कर्जामा पनि व्याजदर बढ्छ । राष्ट्र बैंकले कोराना प्रभावितलाई भनेर जुन किसिमका राहत तथा छुटको व्यवस्था गरेको छ, अहिलेको अवस्थामा त्यो दिन जरुरी थियो ? अहिलेको यो अवस्था सहुलियत दिनै पर्छ । उद्योग व्यवसाय बढाउनकै लागि लगानी चाहिन्छ । यो आवश्यक नै थियो जस्तो मलाई लाग्छ । बैंकहरुको लगानी कुन क्षेत्रमा बढी छ ? सनराइज बैंकको कुरा गर्ने हो भनेपनि हाम्रो लगानी ट्रेडिङ क्षेत्रमा बढी छ । रिटेलमा औसत २६ प्रतिशत छ । एसएमईमै ३० प्रतिशत छ । मार्जिन लेण्डिङमा हाम्रो २ प्रतिशत छ । बढी कोर बिजनेस अर्थात उद्योग तथा जलविद्युतमा बढी लगानी हुन्छ । अन्य बैंकहरुको पनि लगभग यस्तै छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले होटलमा लगानी गर्न छोडे भन्ने कुरा आइरहेको छ, होटल क्षेत्रमा लगानी गर्न किन छाड्नु भएको हो ? हामीले सर्वसाधारणको पैसा चलाउने हो । जनताले दुःख गरेर कमाएर खर्च गरेर बाँकी रहेको रकम भविश्यका लागि राखेको पैसा बैंकमा हुन्छ । मेरो पैसाको सुरक्षा हुन्छ, यसबाट प्रतिफल आउँछ भनेर उहाँहरुले पूर्ण विश्वास र भरोसाका साथ बैंकमा जम्मा गर्नुहुन्छ । त्यसैले पनि बैंकहरुले त्यो पैसालाई सुरक्षित हिसाबले चलाउनका लागि जोखिम र रिटर्न अवश्य नै हेर्छन् । जुन क्षेत्रमा बढी जोखिम छ, त्यसमा लगानी गर्न पछि हट्छन् । लगानी गरेर त्यो क्षेत्रले रिभाइव गर्न सक्छ कि सक्दैन ? बैंकले रिटर्न पाउँछ कि पाउँदैन ? भन्ने हुन्छ । जहाँ जोखिम बढी छ त्यहाँ फेरि लगानी गर्न बैंकहरु अवश्य नै पछि हट्छन् । तपाईंहरुले होटल क्षेत्रमा लगानी गर्दा जोखिम बढी छ भन्न खोज्नु भएको हो ? बैंकिङ क्षेत्रले मात्र होइन, राष्ट्र बैंक र नेपाल सरकारले पनि जोखिम देखेको हो । केन्द्रिय बैंकले होटल तथा पर्यटन क्षेत्रमा गएको कर्जाको व्याजदर स्थीर राख्नुहोस्, जरिवाना नगर्नुहोस्, उनीहरुलाई सर्भाईव हुन दिनुहोस् भनेको त त्यो क्षेत्रमा जोखिम छ भन्ने बुझ्नु पर्छ । कोरोनाको कारणले होटल क्षेत्रमा विश्वव्यापी रुपमै जोखिम छ । सनराइज बैंकले पनि होटल क्षेत्रमा लगानी गर्न छोडेको हो ? होटल क्षेत्रमा पहिले पनि हाम्रो त्यति धेरे लगानी थिएन । र, अहिले पनि धेरै छैन । कुल कर्जाको २ प्रतिशत मात्रै होटल क्षेत्रमा लगानी छ । अहिले वाणिज्य बैंकहरुले डिपोजिट मेसिनलाई प्राथमिकता दिइरहेका छन्, तीन वटा बैंकले केही ठाउँमा डिपोजिट मेसिन पनि राखिसकेका छन्, यस बारे सनराइजको योजना के छ ? नेपाली बैंकिङ क्षेत्रका लागि यो आवश्यक छ ? हामीले कुनै पनि काम गरेपछि अर्थात लगानी गरेपछि त्यसको प्रयोग र प्रतिफल कस्तो छ भनेर बुझ्न आवश्यक छ । यो मेसिनबाट त्यो हेर्न बाँकी नै छ । तपाईंले अरु बैंकले सुरु गरे भन्नुभयो । तर, कतिवटा बैंकले सुरु गरे ? कतिवटा मेसिन राख्नु भयो ? कति ठाउँमा राख्नु भयो ? भन्ने विषय पनि महत्वपूर्ण हो । हामीसँग १ सय वटा एटीएम मेसिन हुन्छन् । डिपोजिट मेसिन पनि १ सय वटा नै छन् त ? भन्ने कुरा बुझ्नु पर्छ । यो एउटा ब्राण्डिङ हो । यसको सदुपयोग पनि हेर्नुपर्छ । अर्को, भनेको हामीले क्यासलेसका अन्य माध्यमहरु प्रयोग गर्नुपर्छ जस्तो लाग्छ । यसको मतलब नेपाली बैंकिङ क्षेत्रमा डिपोजिट मेसिन उपयुक्त छैन हो ? हैन, यो उपयुक्त भन्दा पनि लगानी अनुसारको प्रतिफल छ कि छैन भन्ने हो । हामी पनि त्यसमा जान्छौं होला । तर, यसको अर्थ यो होइन कि त्यो भए मात्र इकोनोमी चल्ने नत्र नचल्ने भन्ने हुँदैन । भोलि एटीएम मेसिन नै विस्थापित हुने होकि भन्ने पनि छ । अहिले विश्व डिजिटल प्रविधिमा धेरे माथि पुगिसकेको छ । मानिसहरुले नगद हातमा लिन चाहिरहेका छैनन् । बैंक अब कसरी अगाडि बढ्दैछ ? के छ नयाँ योजना ? हामी डिजिटल बैंकिङमा अगाडि बढ्दैछौं । अब निक्षेपको क्राइसिस होला जस्तो छ, सुरक्षित किसिमका साथ बिजनेस गर्ने हो । समयसापक्ष रणनीतिहरु बनाएर अगाडि जाने र बिजनेस बढाएर पुँजीलाई सदुपयोग गर्ने नै हो । जसले गर्दा लगानीकर्तालाई रिटर्न दिन सजिालो होस् । अहिले हाम्रो झण्डै १४ प्रतिशत क्यापिटल एड्युकेसी रेसियो छ । यसलाई साढे ११ प्रतिशतमा ल्याउन सक्यौं भने राम्रो हुन्छ । यसमा लागि हामीले बिजनेस बढाउनु पर्छ । बिजनेस बढाएपछि त्यसबाट रिटर्न अवश्य नै आउँछ भन्ने विषयमा हामी विश्वस्त छौं । अन्तिममा, सनराइज बैंकका सेयरधनी, टीम र ग्राहकलाई तपाईंको सन्देश के छ ? हाम्रो टिमवर्क एकदमै राम्रो छ । म बैंकका आएको ६ महिना भयो । यो ६ महिनाको अवधिमा टीमले राम्रो काम गरेको मैले महशुस गरेको छु । यही रफ्तारमा मिलेर काम गरेर ग्राहकलाई राम्रो सर्भिस दिन निरन्तर्ता दियो भने संस्था र सबैको हित हुन्छ । सेयरधनीलाई पनि प्रतिफल जति सक्दो बढी दिने विषयमा हामीले प्रयास गरिहरेका छौं ।

ओलीलाई प्रश्नः खिल निकालिदिने देउवालाई तपाईंले धन्यवाद दिनुपर्छ नि, हैन ?

सरकारले मंगलबार राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि बुधवार निर्वाचन आयोगमा निवेदन दियो । योसँगै नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेबाट छुट्टिएर नेपाल पक्षले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो । त्यसपछि नेकपा एमालेले सरकारले ल्याएको विधेयकको बिरोध गरिरहेको छ । यसै सम्बन्धि र नेकपा एमालेको अबको भावी योजनाका बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेको छ । यसैसम्बन्धमा तयार पारिएको अन्तर्वार्ताको सम्पादित अंश यस्तो छ । नेकपा एमाले टुक्रियो । तपाईंले विभाजन रोक्न चाहनुभएन भन्ने आरोप छ भने अर्को हावाले बढार्ने कसिङ्गर आँफै उडेर गयो भन्ने पनि छ, के भन्नुहुन्छ ? पहिलो कुरा टुक्रियो भन्ने शब्द लगभग ठीकै शब्द हो, यो विभाजित भएको होइन । टुक्रिनु र विभाजित हुनु फरक कुरा हो । विभाजित होइन, टुक्रो, चोइटो, अलिकति उछिट्टिनु या त्यसबाट अलग हुनु अर्को कुरा हो । केही मानिसहरु मानिसहरु पार्टीबाट अलग भएको हो । त्यसलाई त्यस्तो रुपमा लिनुपर्छ । कोशिसै गरेन भन्ने कुरो मैले ५१ वर्षअगाडि जतिबेला कम्युनिष्ट पार्टी स साना टुक्रा टुक्रामा विभाजित थियो । खास पार्टी जस्तो पार्टी कुनै पनि थिएन । त्यसबेला एउटा नयाँ आन्दोलन शुरु गर्ने नयाँ एकीकरणको अभियान शुरु गर्ने त्यो काम थिएँ । त्यसै आन्दोलनबाट अगाडि बढेर एउटा एकताको आह्वान ३१ सालमा गरिएको थियो । त्यसै आह्वान अन्तर्गत ३२ सालमा कोर्डिनेशन केन्द्र बन्यो । केही जिल्लाका अगुवा साथीहरु मिलेर त्यसपछि विभिन्न समूहरु त्यसमा समाहित हुँदै गए । अनेक समूहरु समाहित भएर माले बन्यो । नेकपा माले, २०३५ सालमा । त्यसपछि अनेक समूह हुँदै गएर पार्टी बिस्तार र एकीकरण र एकताका प्रयासहरु खासगरी अन्तिम रुपमा सफल मेरो नेतृत्वमा भएको थियो र नेकपा एमाले र माओवादी केन्द्रलाई पनि मेरै नेतृत्वमा मिलाएर एउटै कम्युनिष्ट पार्टी जस्तो छिटपुट एकदुई जना व्यक्तिहरुका सानातिना समूहहरु रहनु बेग्लै कुरा हो । आमरुपमा एउटै पार्टी जस्तो दुई तिहाइको स्थिती निर्माण गरिएको थियो । म त्यो पृष्ठभूमीबाट ती प्रयासका साथ पार्टी एकता गरेर एकीकरणको अभियान सञ्चालन गरेर आएको मान्छेले पार्टी निर्माण गर्न, बचाउन कोशिष गरिन भन्ने कुरा भनेको पूर्वाग्रही र गलत कुरा हो । मैले त्यसमा धेरै केही भनिरहनु पर्ने आवश्यक्ता छ जस्तो लाग्दैन । यसबीचमा पनि अकारण पार्टी फुटाएको छ, के कारण थियो र पार्टी फुटाउनु, अकारण पार्टी फुटाएको छ, पार्टी भित्र बिनासित्ति नचाहिँदो ढंगले अन्तरविग्रह शुरु गरेको छ । अस्थीरता पार्टी भित्र शुरु गरेको छ, पार्टी प्रतिको विश्वास कम गराउनको लागि अनेक कुप्रचार पार्टी भित्रबाट गरेको छ । त्यस्तो हुँदा पनि सहेर एकताका प्रयास गरेको हुँ । उहाँ प्रदेश प्रदेशमा पार्टी भित्र अन्तर्घात गरिएको छ । यहाँ पार्टीभित्र अन्तर्घात गरिएको छ । आफ्नो सरकार ढाल्नका लागि विश्वासको मत माग्दा बहिष्कार गरेर बाहिर गएर सरकार ढाल्ने कोशिस भएको छ, संसद जोगाउँ भन्दा जोगाउनलाई विश्वासको मत नदिने र विघटन तिर जाओस् त्यस्ता प्रयास गर्ने र सबै कुरा नेकपा एमालेलाई कमजोर पार्ने, देशमा अस्थीरता कायम गर्ने प्रयास अन्तर्गत सबै गुटहरु चलेका छन्, त्यति सबै हुँदाहुँदै पनि राष्ट्रपति कहाँ हस्ताक्षर लिएर गएका छन्, एमालेको सरकार हुनु भनेको प्रतिगमन हो, त्यसलाई ढाल्नुपर्छ र कांग्रेसको नेतृत्वमा उद्देश्यहीन, विचारहीनहरुको एउटा स्वार्थहरुको समूहले गठजोडबाट एउटा गन्तव्यहीन त्यस्तो सरकार बनाउनुपर्छ, र अस्थीरता कायम गर्नुपर्छ भन्ने मान्यताका साथ राष्ट्रपति कहाँ हस्ताक्षर लिएर अनुशासन हीन, अराजक ढंगले जाँदा पनि मुद्दा हाल्न लाएर एमालेको सरकार गिराइ पाउँ, परमादेश गरेर सोझै नेपाली कांग्रेसका नेतालाई सरकार अदालतबाटै घोषणा गरिपाउँ भन्ने असंवैधानिक माग लिएर जाँदा पनि ती सबै व्यवहारहरु गरिसक्दा पनि त्यसमाथि पनि कार्यदल बनाएर, आफैँले फोन गरेर, भेटेर, कुराकानी गरेर, त्यति प्रयास गरेको छु, अनि त्यसमाथि मैले नै प्रयास गरिन भन्ने ? मैले कोही पनि मानिस नबिग्रियोस् भन्ने चाहन्छु । कसैले पनि बाटो नबिराओस् भन्ने चाहन्छु । कोही पनि व्यक्ति निष्ठाच्यूत नहोस् भन्ने चाहन्छु, मान्छेहरु आदर्शवान होउन्, निष्ठावान् होउन्, मैले सत्यको मार्ग अवलम्बन गर्नुपर्छ भनेर मेरा लागि मात्रै भनेको होइन । म त गर्छु नै । अरुले पनि सत्यको मार्ग अवलम्बन गर्नुपर्छ, निष्ठाको मार्ग अवलम्बन गर्नुपर्छ, मैले भनेको हो । म कसैलाई पथभ्रष्ट होस् भनेर किन चिताउँछु, किन चाहन्छु ?त्यसकारण यो आरोप म माथिको अनुचित आरोपहरु हो । तपाईंमाथि अलि धेरै दम्भ देखियो भन्ने कुरा माधव कुमार नेपालले भन्नुभएको थियो यसमा स्पष्ट पारिदिनु न ? तपाईंले मसँग कतै दम्भ देख्नुभयो त ? माधव नेपालले त अर्गल्याईं गर्नुछ, अर्गल्याईं गर्नेले निहुँ खोज्छ । यस्तो हो, उस्तो हो अनेक कुरा भन्छ, मैले दम्भ देखाएको कतै देख्नुभएको छ, मैले त निष्ठाको कुरा गरेको छु, मैले आफ्नो स्वार्थका लागि कुनै देशलाई घात गर्ने काम, पार्टीलाई घात गर्ने काम देख्नुभएको छ ? कहिल्यै मैले विपक्षीसँग मिलेर पार्टीकाविरुद्ध घात गरेको देख्नुभएको छ ?माधव नेपालले त विपक्षीसँग मिलेर पार्टीविरुद्ध घात गरेको त तपाई हामी सबैले चश्मा लगाउन पर्दैन नि । नलाइ कन देखेका छौँ नि । खालि आँखाले देखेका छौँ, अर्कोमा अब मैले थप जवाफ दिइराख्नु पर्ला र ? यति हुँदा हुँदै पार्टीले किन अपजस भोग्ने त, सबैतिरबाट अपजसको भागी त अध्यक्ष बन्नुभएको छ ? राजनीतिमा पक्ष विपक्ष हुन्छ, कस्तोसम्म पक्ष विपक्ष हुँदो रहेछ भने महात्मा गान्धीलाई गोली हाने । हाने नि त, प्रतिपक्ष विपक्ष भनेको त्यस्तो हुँदो रहेछ । विपक्षले भन्दो रहेछ कहिँ पनि, शुकरातलाई त विष ख्वाएर मारेका थिए । ब्रुनु बाबेरको के हालत भएको थियो ?ग्यालेलियोको के हालत भएको थियो । मार्टीन लोत्थर किङ्गलाई के हालत गरेका थिए ? दक्षिण अफ्रिकामा क्रिस हनीलाई के गरेका थिए । तसर्थ विपक्षी हुन्छन् र विपक्षीले हदैसम्मको उपद्रो गर्नसक्छ । आरोप लाञ्छना लगाउन सक्छन् । झुटा लाञ्छना लगाउन सक्छन् । यदी भीमसेनले नै पनि गदा युद्धमा सजिलैसँग दुर्योधनलाई जित्थे भने कृष्णले इसारा गरेर यहाँ हान् त्यहाँ हान् भनिरहनु पर्ने थिएन होला । अनफेयर त्यसले खेल्छ जो, कमजोर छ । जो यसै जित्छ उसले अनफेयर खेल्न पर्दैन । जो निष्ठाका साथ राजनीति गर्छ उसले अनफेयर खेल्दैन । हार्छ, जित्छ, तर अनफेयर खेल्दैन । फेयर कुरा, स्वस्थ कुराले, निष्ठापूर्वक खेलिएका कुराले अन्ततो गत्वा जित्छ । माधव नेपाललाई कसैले हान्न सिकायो ? माओवादी वा कांग्रेस हो ? मैले कृष्णको कुरा गरेको द्वापर युगको महाभारतको प्रसंगमा मात्रै हो । कहिले काहीँ यहाँका अश्वस्थ व्यवहार गतिविधि गर्नेहरुको कपट जालझेल अश्वस्थता र असत्य मार्ग, असत्य प्रचार ती प्रसंगको सन्दर्भमा मैले त्यो कुरा भनेको होइन । मलाई अहंकारी भन्छन् नि भन्नुभयो, मैले माधव नेपाललाई भेटौँ न भन्दा भेट्दिन भन्ने । अहिलेसम्म माधव नेपालले कम्तिमा २ वर्ष भयो होला फोन गर्नुभएको छैन । मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, म प्रधानमन्त्री कहाँ आएर भेट्दिन, यहाँ भेट्दिन भन्दा म आफैँ भनेको ठाउँमा गएको छु, त्यसरी काम गरेको छु मैले, तैपनि मलाई के लाग्छ भने माधव नेपाल एक्लो होइन, एउटा दक्षिण ध्रुवको छ, अर्को उत्तर ध्रुवको छ, एउटा चुम्बकका दुई वटा पोल एकठाउँ आउँदै आउँदैन । तर यहाँ चुम्बकका दुई वटा पोल जस्ता शक्तिहरु अनेक दुई वटा पुलहरु एकै ठाउँमा ल्याइएको छ कसरी ? त्यो भन्दा बढी बलवान शक्ति भयो भने त्यसलाई त्यहाँ राख्छ । बलका अगाडि बन्धनको केही लाग्दैन । जस्तै बन्धन भए पनि त्यसलाई टुटाउन सक्ने गरी तागत लाग्यो भने माधव नेपाललाई एमालेमा रहन नसक्ने गरी त्यहाँबाट छुटाउने गरी, चुँडाउने गरी तागत लागेपछि माधव नेपालको केही लाग्दैन । केही लागेन होला । त्यो हुनसक्छ । पार्टीको अन्तरकलहले प्रतिपक्षि बन्नुपरेको हो ? अन्तरकलह पनि होइन यो । कलह दुई पक्षको हुन्छ । यहाँ एक पक्ष माधव नेपाल पक्षको निहुँ खोजाइ मात्रै हो । माधव नेपालका उद्देश्य मात्रै हुन् । हामी पार्टी बनाउने पक्षमा छौँ, किनभने देश बनाउनु छ । देश बनाउनका लागि राम्रा नीतिहरु, राम्रो व्यवहार, राम्रो अभ्यासका साथ अगाडि बढ्नुछ । हामी त्यसमा लाग्ने हो । त्यसमा लागेका छौँ । हामीले कहाँ कतै अन्तरघार गरेको छ, कहाँ कतै बेइमानी गरेको छ, कहाँ कतै अश्वस्थता केही गरेको छैन । केही नै गरेको छैन । तपाईहरुले के भन्न सक्नुहुन्छ भने कडा बोली भयो । अब कसैले पार्टीका विरुद्ध प्रहार गर्यो भने प्रहार गर्नुभयो भन्नु त पर्यो । पार्टीका विरुद्ध प्रहार गर्नु राम्रो कि नराम्रो भन्दा नराम्रो त भन्नुपर्यो ।पार्टीलाई ध्वस्त पार्ने, देशका हीतलाई नोक्शान पार्ने, देशलाई अस्थीरतामा धकेल्ने देशको अमूल्य समय, विकास निर्माणमा लाग्नुपर्ने समय अहिले हेर्नुस् त बजेट रोक्का छ । हामीले जेठ १५ मा किन बजेट जारी गर्छौं । किनभने जेठ र असारभित्र बजेटका तयारी सम्बन्धी काम सबै सकियोस् र साउन १ गतेबाटै विकास निर्माणको काम शुरु होस् भन्नका लागि हो । हाम्रो पूँजीगत खर्च हुने गरेन । त्यसकारण पूँजीगत खर्च हुन पूरा सकोस् । शुरुदेखि नै काम हुन सकोस् । असारको अन्तिममा बजेट पास गर्ने, मुल पेस्की विधेयक पास गर्ने, अनि असोज कात्तिकसम्म लाग्छ पूर्ण रुपमा बजेट पास हुँदा अनि मंसिरबाट शुरु गर्दा वैशाख तिर बल्ल निकासा हुँदा जेठ लागिसक्छ । काम हुँदैन फेरि बजेट फ्रीज हुन्छ । यस्तो स्थितीबाट देशलाई मुक्त गर्नका लागि हामीले गर्यौं । अब अहिले त बजेट रोकिदिएको छ । बजेट रोकेर कर्मचारीलाई तनाखा ख्वाउने बाहेक केही पनि नगरेर रोकिदिएको छ । अहिले सरकार भत्काउन लागेको छ, बिगार्न, फाँडफुँड गर्न लागेको छ, दमन गर्न लागेको छ । अहिले त शान्तिपूर्ण बिरोध प्रदर्शन पनि असह्य भइसक्यो । शान्तिपूर्ण बिरोध प्रदर्शन सुन्नै सक्दैन । तपाईले हिजो देख्नुभयो होला, विद्यार्थीहरु माथि कति निर्मम ढंगले के ती कुनै नेपाली समाजलाई, नेपाल राष्ट्रमाथि हमला गर्न विदेशी फौज आएको हो ? कुनै विदेशी हमला भएको हो र ?त्यहाँ त यस्तो निर्मम ढंगले विद्यार्थी ती हाम्रा भाइछोरा छोरी होइनन् र ? म पनि साढे तीन वर्ष प्रधानमन्त्री छुटेको हो । कहिल्यै त्यस्तो निर्मम शान्तिपूर्ण ढंगले निस्किने बित्तिकै निर्मम हमला त गरिएन नि । यो हमला गर्न लागेको छ। अंगभंग गर्न लागेको छ। विद्यार्थी घाइते बनाउन लागेको छ । युवाहरुलाई घाइते बनाउन लागेको छ। देख्नुहुन्न बिरोध, आक्रमण गर्न थाल्या छ । भत्काउन थालेको छ, सुकुम्बासी, भूमीहीनहरुको समस्या समाधान गर्ने आयोग भत्काउन लागेको छ । यस्तो अवस्थामा देशको समय बर्बाद गर्ने, यो काममा लागेपछि यस्तो भएपछि, यो राम्रो भएन, यो देशका, जनताकाविरुद्ध अपराध पूर्ण काम भयो । ल्याइदिएको भ्याक्सिन पनि राम्ररी लगाएको छैन । यो राम्रो भएन । अहिले विकास निर्माणका काम गर्ने, सुशासनका काम गर्नुपर्ने ठाउँमा कुशासन तर्फ, दमन तर्फ, बिरोधी दबाउने मास्ने तर्फ त्यतातिर सरकार गइरहेको छ । विकास निर्माणको कुरै छैन । देशमा द्वन्द्व बढाउने तर्फ, परस्परमा विद्रोह र घृणा बढाउने तर्फ, देशलाई भीडन्तमा लाने तर्फ लागिराखेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ र प्रचण्ड पथमा हिँडिरहेको छ । विचित्रको स्थिती छ । यो स्थिती राम्रो भएन, यो जनबिरोधी क्रियाकलाप भयो नगर्नुस् । यो देशका बिरुद्ध भयो । देशको समय बर्बाद गर्नु देशको शितको पक्षमा होइन, विपक्षमा भयो । यसलाई तपाईले के भन्नुहुन्छ मिडियामा भने यो चर्को बोल्छ । यो चर्को बोलेको होइन, यो यथार्थ हो । राष्ट्रिय राजनीतिमा सन्तुलन बिग्रिएको छ, यसको असर राष्ट्रिय राजनीतिमा त छँदै छ, अब प्रदेशमा र आगामी स्थानीय निर्वाचनमा पनि देखिन्छ, क्रमशः नेकपा एमालेको संस्थापन पक्षको शक्ति क्षयीकरण हुनसक्छ ? राजनीतिमा कुनै पनि कुरा एकदम पूर्व निर्धारित जस्तो हुँदैन । कसले कस्तो काम कसरी गर्छ भन्ने कुरा हो । नेपाली कांग्रेस २०१५ सालमा दुई तिहाई ल्याएको पार्टी हो । ०४८ मा बहुमत र ०५६ मा पनि बहुमत ल्याएको पार्टी हो । अहिलेको प्रणाली बहुतै अफ्ठ्यारो प्रणाली रहेछ । समानुपातिकले गर्दा स्थिरता गाह्रो छ । साह्रै ठूलो वेभ सिर्जना भयो भने कहिले काहीँ कुनै पार्टीको बहुमत आउला । तरिका मिलाइयो भने, जस्तो नेकपा एमालेको हिजो तीन वर्षसम्म बहुमतको सरकार रह्यो । बहुमतको सरकार त रह्यो, एकपटक बन्यो नि देशमा । तरिकासँग बन्यो । त्यो तरिकाले मात्रै बन्या हो । नत्र साधारणतया भन्ने हो भने बहुमत आउँदैन । प्रणाली लगभग हामीले अस्थीरतावाला प्रणाली अलिअलि थुपरियो, अलिअलि संविधान जसरी पनि बनाउनु पर्ने स्थितीमा कम्परमाइज गर्नुपर्यो, सम्झौता गर्नुपर्यो । हाम्रा कामहरु कस्ता हुन्छन् । हामी जनताका, देशका निम्ति कति काम गर्न सक्छौँ एउटा कुरा र बिरोधीहरु जो निकम्मा छन् । जोसँग विचार छैन, जो कामले अगाडि जान सक्दैन उनले अनुचित, अनर्गल, झुट प्रचार गर्छन् । बदनाम, बेइजत गर्न खोज्छन् । त्यो कुप्रचारको भरमा उनीहरु कामहरुलाई आझेलमा पार्ने, राम्रा पक्षहरुलाई ओझेलमा पार्ने, झुटा कुराहरु प्रचार गर्ने र आफ्नो निकम्मापनलाई ढाकछोप गर्ने काम गर्छन् । अहिलेसम्म त्यही भएको छ। अहिले पनि नेकपा एमालेका बिरोधीहरु एमालेको कमजोरी के हो त्यो देखाउन सक्दैनन्, झुटा कमजोरीको चर्चा गर्छन् । अर्को आफ्ना कुरा उनीहरुसँग भन्ने कुरै केही छैन । यो, त्यो गर्छु भन्ने कुरै केही छैन । उनीहरुसँग भीजन छैन । उनीहरु यो हाम्रो गन्तव्य भन्न सक्दैनन् । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा हो, हाम्रो गन्तव्य हो भन्ने मैले भने । त्यति भन्न उनीहरु सक्दैनन्, किनभने उनीहरुको चित्त यत्ति साँघुरो छ, यसबारेमा बोल्ने हिम्मत छैन । राष्ट्रिय आकांक्षाका बारेमा के नेपाल समृद्ध बनाउने हाम्रो आकांक्षा होइन र ? के सम्पूर्ण नेपाली जनतालाई सुखी बनाउने हाम्रो आकांक्षा होइन र ? यो भन्दा माथिको आकांक्ष केही हुन्छ र ? राष्ट्रिय हिसावमा भन्ने हो भने । समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा किन भन्न सक्दैनन् । तर सक्दैनन्, बोल्दैनन् । मैले भनेको सबै कुरा राजनीतिमा छैटीमा लेखेको पनि हुँदैन, प्रर्वनिर्धारित पनि हुँदैन । यो त गरिने हो बनाइने हो । यसपल्ट नेकपा एमालेको सरकारलाई ढालियो । पहिले एमालेमा विभाजन ल्याइयो । एमालेलाई अल्पमतमा पारियो । त्यसपछि जसपाले समर्थन गरेको थियो, त्यसले बहुमत हुन्थ्यो । त्यसभित्र शंकट खडा गरियो । नेकपा एमाले नेकपाबाट माओवादी केन्द्र र एमाले छुट्याइसकेपछि एमाले भित्रै भयानक शंकट खडा गराइयो । त्यो शंकट खडा गराएर एमालेलाई सरकारबाट हटाउने तारतम्य मिलाइयो । त्यसमा विल्कुल विचारहीन, राजनीति हीन, उद्देश्य हीन, केही पनि नभएको स्वार्थहरुको गठजोड गरेर एउटा तथाकथित गठबन्धन । के उद्देश्यको गठबन्धन हो त ? त्यो न्यूनतम साझा कार्यक्रम भन्ने हेर्नुभयो होला । केही छ त्यसमा ? कहाँ पुग्ने, कुन बाटो हिँड्ने कसो गर्ने ? छलछाम छ । त्यसमा जालझेल छ । अब झट्ट हेर्दा एमाले सरकारबाट त हट्यो भने यो कमजोर हुँदै जाने हो कि भन्ने । कमजोर हुँदै जाने पनि एउटा सिलसिला हुन्छ । मैले अक्सर भन्ने गर्छु नि, हात्ती दुब्लायो भने त्यसको तौल घट्ने र दुब्लाउने पनि हद हुन्छ । कति घट्छ त त्यसको तौल त्यसको पनि सीमा हुन्छ । जत्ति घटे पनि हात्तीको तौल हात्तीको तौल हो । बाख्राको तौल बाख्राकै तौल हुन्छ । अरु पार्टीले आफ्नो हैसियत विचार शुन्यताको कारणले, अकर्मण्यताको कारणले, अरु थुप्रै कारण छन् । ती अनेक कारणले आफ्नो हैसियत के बनाएका छन् त्यो हेर्नुपर्छ । प्रदेशमा पहिले नै त्यसको असर परिसकेको छ । बाँकी दुईवटामा असर पर्यो भने पनि केही छैन, के एउटा ख्याल राख्नुपर्छ भने अहिले नेकपा एमालेको स्थिती के हो भन्दा दुईवटामा यसै आफैँ एक्लै मेजेरेटीमा छ । माधव नेपालको प्रयास हुनेछ । कहीँ पनि एमालेको मेजेरेटी नहोस् र खत्तम पारौँ । आजदेखि होइन नि, यो आजदेखिको कुरा हो र ? नेकपा एमालेलाई कमजोर पारेर सानो पार्टी २४० मध्ये ३३ सीटमा झारेर । प्रत्यक्ष निर्वाचना २४० सीटमध्ये ३३ सीटमा एमालेलाई झारेर अब एमालेलाई सिध्याइयो भनेर राजीनामा गरेको होइन माधव नेपालले । उहाँको एमाले कमजोर पार्ने कर्तव्य पदमा रहेर वा नरहेर उहाँले त पूरा गर्नुभएको छ । उहाँले एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्नुभयो । उहाँलाई कसैले माइनिटीमा पारेको थिएन । नेपाली कांग्रेसले पनि सपोर्ट गरिरहेको थियो । हामी सबै पार्टी भित्रबाट सपोर्ट गरिरहेका थियौँ । उहाँले अचानक बालुवाटारमा हामी कसैलाई थाहा नदीकन कांग्रेसलाई राजीनामा दिनुभयो । किनभने काफी अलोकप्रीय बनाइसक्यो सरकार अब । यति भएपछि उठ्न सक्दैन काम पुग्यो भनेर राजनीमा गरेको हो । त्यतिबेला पनि उहाँले आफ्नो कर्तव्य टुप्पामा बसेर पूरा गर्नुभएको थियो । पार्टीको टुप्पामा बसेर पार्टीलाई धराशायी बनाएर पूरा गरेर राजीनामा गर्नुभयो । सरकारको टुप्पामा बसेर एमालेको सरकार सञ्चालन गर्ने कुनै क्षमता रहेनछ भन्ने कुरा प्रमाणीत गराएर उहाँलाई पुगेसम्म अब एमाले उठ्दैन है यति भएपछि भनेर उहाँले प्रधानमन्त्रीबाट राजीनामा गर्नुभयो । अहिले सरकारमा नहसँदा अन्तरविग्रह, अन्तरघात र विपक्षीसँग भित्रभित्र मिलेर विपक्षीलाई एकजुट पार्ने भूमिका खेलेर सिध्याउने कुरा गर्नुभयो । यो त एउटा च्याप्टर त क्लोज भयो नि अब । अब यसै कारणले नेकपा एमाले कमजोर हुन्छ । त्यो कुरा होइन । प्रादेशीक राजनीति र राष्ट्रिय राजनीतिको छायाँ र सरकार अर्काको हुँदा त्यसको असर स्थानीय निर्वाचनमा पर्छ कि पर्दैन ? नेकपा एमालेको तागत घटेको होइन, त्यसभित्र अन्तरघात भएको हो । अन्तरघात भन्ने कुरा सधैँ हुँदैन । केही मान्छेले अन्तरघात गर्दा एक समय बिरोधीसँग मिलेर अन्तरघात गर्दा एक समय अलिकति धक्का पर्छ । त्यसले उनीहरुले एकाध ठाउँमा भत्काउने एकाध ठाउँमा इटा खुस्काउने गर्न सक्छन्, त्यो अपूरणीय क्षति होइन । त्यो टाल्दा भइहाल्ने कुरा हो । त्यो व्रह्माण्डै ध्वस्त हुने कुरा होइन । नेकपा एमाले अहिले पनि प्रमुख पार्टी हो नि देशको । दोस्रोको स्थिती के छ भन्दा ंिदिमा ६१ सीट प्रतिनिधि सभामा, एमालेसँग १ सय भन्दा बढी त अहिले छ नि त। अरुस्ँग ६० होला । अरुसँग ४८ होला । अरुसँग बाहिर, यता, उति जोड्दा ३०, ३५ होला । स्थिती त त्यही हो नि । त्यही भएर नेकपा एमालेसँग अर्को तुलना त हुँदैन । हुने स्थिती छैन । नेकपा एमाले माओवादी र कांग्रेस २ वटा स्थानीय तहका निर्वाचनहमा मिलेर चुनाव लड्दा प्रमुख हैसियतमा आएको होइन र पहिला पनि । अहिले त नेकपा एमालेले त यसबीचमा धेरै काम गरेको छ नि । एमालेले के गर्यो भनेर कसैले सोध्यो भने तपाई जहाँ हुनुहुन्छ, जहाँ उभिनुहुन्छ, त्यही ठाउँबाट दायाँ हेरेर बायाँ हेरेर यो त एमालेकै सरकारमा गरेको काम हो भनेर भन्दिन सक्नुहुन्छ । काठमाडौंको सडक, काठमाडौंमा पानी । अहिले बाढीले मेलम्ची बिग्रएको होला । एमालेले त ल्याएको हो नि । बाढी आउनु त बेग्लै कुरा हो । बाढी पनि हामी जनवरीसम्ममा त्यसलाई ठीक गरेर ल्याउँछौँ भन्दै थियौँ । वहाँहरुले वैशाख जेठ पुर्याइसक्नुभयो । उहाँहरुसँग त्यो कार्यक्षमता छैन, किनभने यति समय त उहाँहरुको कुरा गर्दा गर्दै बितिसक्यो, बधाईहरु यताउति, बिरोधीहरुको आलोचना र बिरोध गर्दागर्दै, बिरोधीहरुलाई धम्क्याउँदै बितिसक्यो डेढ महिना त गइगयो नि । अब अरु समय पनि त्यसैगरी जान्छ । उहाँहरुले त्यसरी काम गर्न त सक्नुहुन्न नि । मैले त खुट्टा तान्दै गर्दा पनि जुत्ता तान्दै गर्दा पनि काम त अगाडि बढाएको बढाइ गरेको थिएँ । नेपाली कांग्रेस अहिले कुनै शक्ति आर्जन गरेर सरकारको नेर्तत्वमा पुगेको हो र ? शक्ति आर्जन त होइन नि । संसदीय गणित । यो त ०७४ को निर्वाचनले निर्माण गरेको गणित हो । आउँदो निर्वाचन त आउनै बाँकी छ । त्यसले के निर्माण गर्दछ । भोट ल्याउने गरी काम, नेपाली जनताको मन जित्ने गरी र नेपाली जनताबाट विश्वास आर्जन गर्ने गरी तिमीले शासन गर योग्य रहेछौँ भनेर जनादेश पाउने गरी काम , कसैले त्यस्तो विचार अघि सारेको छ ? कसैले त्यस्तो काम अगाडि सारेको छ, त्यस्तो काम गरेको छ ? देख्नुभएको छ कहीँ । त्यो छैन भने मैदानमा त एकल एमाले छ त । अरु त खुट्टा तान्ने हुन् । एमालेको बिरोध आलोचना गर्ने हुन् । यो बाटो बनाउँछु भन्ने क्षमता हरुसँग छैन एमालेले गर्छ । यो पहाडमा सुरुङ्ग खनेर पानी निकाल्दिन्छु भन्ने क्षमता अरुसँग छैन एमालेसँग मात्रै छ । यो नदी थुनिदिन्छु, ड्राइभर्सन गरेर तराई सिँचाइ गरिदिन्छु भन्ने अरुसँग छैन नि त । त्यो क्षमता त एमालेसँग मात्रै छ । त्यो तपाईले सुनकोशी मरिन ड्राइभर्सनमा देख्नुभएको छ । सुनकोशी, कमला ड्राइभर्सनको योजना हामीले अगाडि सारेका छौँ, त्यहाँ देख्नुभएको छ । शेरबहादुर देउवालाई धन्यवाद दिनुपर्छ तपाईंले, पिलो निचोरेर फालिदिनुभयो, काँडो निकालेर फालिदिनुभयो, अध्यादेश ल्याएर भएपनि, यी सबै संवाद सुनिसक्दा देउवाले खिल निकालिदिनुभयो नि हैन ? त्यो होला, नहोला, यसो होला, उसो होला, जसो भएपनि उहाँले संवैधानिक काम गर्नुभएन । एउटा आज राती १२ बजे अधिवेशन अन्त्य हुन्छ, अधिवेशन अन्त्य गरिन्छ बलजफ्ती, छापामार शैलीमा, अचानक । भोलि बिहान १० नबज्दै अध्यादेशको सिफारिस हुन्छ । यसरी सिफारिस हुन्छ षड्यन्त्रपूर्ण ढंगले । नेकपा एमालेलाई विभाजित गर्न कति संख्या राख्यो भने २५, २०, ३०, ३५ प्रतिशत सुन्नुभयो होला, त्यो सबै हिसाव हो । कुनै कारण प्रतिपक्ष माथि निशाना गरेर गलत बद्नियतका साथ कुनै कानून त्यसरी ल्याइन्छ ? ल्याइन्थ्यो भने संसद चलिरहेको थियो संसदमा ल्याउनुपथ्र्यो । संसद छलेको भनेको यो हो । राती १२ बजे अन्त्य गर्ने, बिहानै अध्यादेश सिफारिस गर्ने । अध्यादेशको व्यहोरा पहिले नै ल्याइसकेको थियो । संसदमा पेश गर्नुपर्छ की पर्दैन । आज राती १२ बजे अन्त्य हुन्छ, अध्यादेश ड्राफ्ट १० नबज्दै कहिले गरे दबाउने । बन्द समयमा, अफिस समय शुरु पनि भएको छैन, कर्मचारी आएका पनि छैनन् । कानूनको परामर्श कहिले कोसँग लिनुभयो । किनभने अफिस बस्नुभन्दा अगाडि त तपाईले अध्यादेश सिफारिश गरिसक्नुभएको छ । प्रष्ट बदनीयत देखिन्छ । अराजनीतिक, प्रतिष्पर्धाको क्षमता नभएको राजनीतिका नाममा कुटिलताबाट विपक्षलाई समाप्त पार्ने । कमजोर पार्ने । त्यस खालका नीयतवश । अस्ति भर्खर सर्वोच्च अदालतले अत्यावश्यक, अत्यन्त जरुरी नपरिकन, देशका लागि जरुरी पर्नुपर्छ कुनै व्यक्तिका लागि होइन । यहाँ माधव नेपाललाई अति जरुरी पर्यो भनेर कानून ल्याइने होइन । देशका लागि जनताका र राष्ट्रका हीतहरु त्यसमा जोडिएको हुनुपर्छ । यो अध्यादेशसँग राष्ट्रका हीत कहाँ जोडिएको छ ? लोकतन्त्रलाई नौटंकी प्रणाली बनाउने अलोकतान्त्रिक प्रणाली बनाउने यो क्रियाकलाप राष्ट्रिय हीत, जनहीतसँग कहीँ जोडिएको छ ? तत्काल देशका लागि गर्नैपर्ने के पर्यो यो अध्यादेशसँग त्यस्तो के छ ? संसदको बैठकमा ल्याउन सकिन्थ्यो, छोटो बाटोबाट गर्न सकिन्थ्यो । यस्तो छोटो बाटोबाट गरिएका उदाहरुणहरु छन् । ०६५ साल जेठ १५ गते बिना तयारी संविधानसभाको पहिलो बैठकबाट संविधानसभा के हो र व्यवस्थापिका के हो ?त्यो पनि छुट्टिएको छैन । बोलाइएको संविधान सभा बैठक छ। व्यवस्थापिकाले संविधान संसोधन गर्नुपर्छ । नियम निलम्बन कसले गर्यो । ती तत्काल १० मिनेटमा व्यवस्थापिकाको बैठक बोलाएर संविधान सभाको स्थगित गरेर, कानून तत्काल निलम्बन गरेर, संविधानको धारा तत्काल निलम्बन गरेर, तत्काल फेरेर गणतन्त्र घोषणा गरिएको होइन ? त्यो पनि तत्काल पर्दा गर्न सकिन्छ । देशलाई नै जरुरी पर्यो भने हामी गर्न सक्थ्यौँ होला नि । देशलाई नै जरुरी परेको त थिएन, जनतालाई, आकस्मिक रुपमा त केही थिएन । पार्टीका समस्याका लागि प्रणालीका मूल्य मान्यता, कानूनका मूल्य मान्यता, संविधानका मूल्य मान्यता र हाम्रा व्यवहारहरु अश्वस्थ हुँदैन । प्रश्न के हो भने मेरो घरमा झगडा हुनसक्छ । त्यसो भनेर मैले देशको कानून नै फेर्दे भन्ने ? मेरो घरमा झगडा पर्यो त्यसकारण संसद अन्त्य गर्देउ र अर्को चिज गर्देउ भन्ने ? अनि त्यो कुरा सरकारले मान्ने गर्ने ? सरकार बिस्तार गर्न पाएन के भन्या त्यो ? मान्छेको पद जान्छ भनेर मन्त्री हुन पाएन ? मन्त्री हुने बित्तिकै पार्टीले निकाल्छ । मन्त्री पनि खाने, सांसद पनि रहने, पार्टीबाट पनि निष्काशित नहुने यस्तोलाई के शब्द बोल्ने ? निर्लज्जताको, पदलोलुप्ताको, आशक्तिको, बेइमानीको यो भन्दा तल्लो स्तर के हुन्छ । अदालतको फैसला बिपरित् अदालतको अपहेलना गर्दै राष्ट्रिय आवश्यक्ता जनताको आवश्यक्ता होइन, तत्काल नगरिनहुने कुनै काम थिएन, नेकपा एमालेका बिरुद्ध प्रहार गर्नका लागि बदनीयत पूर्ण ढंगले आकास्मिक रुपमा अधिवेशनमा षड्यन्त्रपूर्ण ढंगले अन्त्य गरेर तत्काल अध्यादेश ल्याउने काम भयो । अध्यादेश तत्काल ल्याउने काम, अध्यादेश जारी भयो, एकथरी मान्छेहरु पाखुरा समातेर त्यहाँ पुर्याइए, घिसार्दै, त्यो त हामी सबैले देख्यौँ होला । यसले कसलाई फाइदा भयो, कसलाई बेफाइदा, कसलाई नाफा, कसलाई नोक्शान भयो भन्ने कुरा भन्दा यो एमालेका विरुद्धको अलोकतान्त्रिक, अमर्यादित, षड्यन्त्रपूर्ण, बास्तवमा यो अनैतिक काम हो । अर्को पार्टी फुटाउनका लागि यस्ता खालका क्रियाकलाप गर्ने अनैतिक काम हो यो । जुन काम नेपाली कांग्रेसको नेतृत्वमा भयो, जुन कुरा अलि अगाडिसम्म उहाँहरु अध्यादेशबाट देश चलाउन पाइँदैन भन्नुहुन्थ्यो । अहिले त १२ बजे अन्त्य गरेर १० नबज्दै उहाँहरु त अध्यादेश ल्याउँदै हुनुहुन्छ त । अध्यादेशले शासन चलाउन पाइन्छ ?संसद छल्न पाइन्छ, त्यतिबेला संसद छलेको होइन, संसद अन्त्य भएको हो । संसद अन्त्य भएपछि गर्नुपर्ने काम आएँदा गरिएको थियो । मैले पहिले ४० प्रतिशत नै राखेको थिएँ । स्थिरताको पक्षलाई ध्यानमा राखेको थिएँ । तर पार्टीहरुले केन्द्रीय सदस्य थप्दै जाने कसैका ७ हजार केन्द्रीय सदस्य तपाई हामीले सुन्यौँ होला । कसैले १५ सय केन्द्रीय सदस्य पुर्याएको सुन्यौँ होला, केन्द्रीय सदस्यको ४० प्रतिशत भनेर त्यो प्रावधान पनि र उता सांसदको पनि राख्ने हो भने त बँधुवा मजदुर जस्तो हुने भयो । संवैधानिक स्थिर त्यो होइन । त्यसकारण पार्टी वा संसद भनेर राखिएको थियो, त्यत्ति हो गरेको । मलाई त्यो आवश्यक्त परेको त होइन, तर एउटा सैद्धान्तिक तवरमा कुनै पार्टी भित्र यस्तो अराजकता, फ्लोर क्रसको तमासा, यो अलग्गै भएको स्थिती, निर्वाचन आयोगमा अगाडि बढाबढको स्थिती त्यसलाई ध्यानमा राखेर अहिले झैँ कलुषित मनशायका साथ त्यतिबेला त जारी गरिएको थिएन । तर त्यतिबेला धुमधाम बिरोध भयो । पुष्पकमल दाहाल जीबाट बिरोध भयो । माधवकुमार नेपाल, शेरबहादुर देउवा अनेकबाट बिरोध भयो त्यतिबेला । मध्यरातमा अन्त्य गरेर भोलिपल्ट बिहानै अध्यादेश जारी गरिएको थिएन । तर पनि उहाँहरु छतमा टाउको ठोक्किने गरी उफ्रिनुभयो । अहिले मलाई ताजुव लाग्छ फेरि केही मिडिया, केही नागरिक समाजका अगुवा, केही बुद्धिजीवि जो त्यतिबेला एकदमै उफ्रिए, अहिले ध्यानमग्न । इमान अर्काका लागि होइन, इमान त आफ्ना लागि कायम गर्नुपर्ने हो नि । मेरो आग्रह के हो भने हरेकले आफ्नो इमान कायम राखौँ न । पार्टीभित्रै असन्तुष्ट र माधव नेपाललाई नि छोडेका व्यक्तिहरु अहिले पार्टी भित्रै हुनुहुन्छ कि पार्टी बाहिर हुनुहन्छ, कसरी मिलाउनुहुन्छ ? माधव नेपालले जति अल्मल्याउनुभयो, भ्रममा पार्नुभयो, ती मान्छे उहाँसँग लागेहोला । हिजो त्यहाँ लगेर उहाँले पेश गरेका नामहरु, देखाएका हस्ताक्षरहरु ती सही होइनन् भन्ने वक्तव्य विभिन्न व्यक्तिले दिएको सुनिहाल्नुभयो । ती साथीहरु मसँग सम्पर्कमा नि हुनुहुन्न । उहाँले पेश गरेका मान्छे पनि उहाँसँग रहेन छन् । केही मान्छे जानुभयो, केही नगएका मान्छेको नाम राखियो । तर उहाँहरुबाट त होइन भन्ने वक्तव्य आयो । अरु आउने सिलसिला जारी छ । जो उहाँसँग गएनन् पार्टीमै छन् । त्यो त स्वतः स्पष्ट भयो । कहाँ अन्तरिक्षमा गए त ?जो अर्कोतिर लागेनन्, पार्टी छोडेनन्, ती पार्टीमै छन् । पार्टीका नेता, कार्यकर्ता जो जहाँ थिए त्यहीँ छन् । मेरो के भूमिका हुन्छ, जे भूमिका थियो त्यहीँ छु । कोही कोही भूमिका फेरिन्छ पनि । जस्तो चिफ मिनिस्टरमा रहेका र नरहेका साथीहरुको भूमिका अलिकति फेरियो । डोरमणी जीले राजीनामा गर्नुभयो । अष्टजीले चिफ मिनिस्टरको पदभार सम्हाल्नुभयो । भूमिकामा केही परिवर्तन त्यसरी हुँदो रहेछ । पार्टीको काममा होलान् साथीहरु । हिजो पार्टी एकता हुनुपर्छ भन्ने अभियानमा लागेका थिए । कहिले यो तहसम्म बिगार्ने मनशाय छ भन्ने नठानिएका व्यक्ति बेला, यो त्यो पक्ष भएपनि होला । तर यहाँ पुर्याउँदैछ भन्ने नठानिएका बेला, कसको मनमा को पस्न सक्छ र भन्ने छ नि, कसैको मनमा त कोही पस्न सक्दैन । मनमा पस्न नसक्या बेला । को कता को कता देखियो होला । त्यसलाई हिसाव गरिरहनु हुँदैन । राष्ट्रपतिले त क्याबिनेटको निर्णयको आधारमा गरिदिने हो । त्यसमा धुमधाम आलोचना । प्रधानमन्त्रीले गरेको गलत सिफारिस हो, अहिले पनि राष्ट्रपतिले पास गरिदिनुभयो । बिल्कुल गलत, एमाले बिरुद्धको, एमाले विभाजन गर्ने उद्देश्यका साथ, बदनियतपूर्ण, एमालेलाई कमजोर पार्ने गलत मनशायका साथ, तर पनि मन्त्रीपरिषद्को निर्णयमा प्रधानमन्त्रीले सिफारिस गरेपछि राष्ट्रपतिले गर्नुभयो । किन आलोचना गर्दैनन् कोहीले गलत कुरालाई राष्ट्रपतिले गर्नुभयो भनेर । यस्तो गलत काम गर्दा पनि शेरबहादुर जीले गलत काम गर्नुभयो भनेर भन्नु पर्दैन । अर्कोतरि सभामुखको काम पार्टीले कसैलाई निष्कासित गर्छ भने त्यो नोटिस जारी गरिदिने हो । पहिले टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत उहाँहरुलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले सुनाउनु भएको थियो । सरिता गिरीलाई निकालिएको छ भन्ने बित्तिकै तत्काल उहाँले सुनाउनुभएको थियो उहाँको चाहनामा । अहिले तीन दिनदेखि उहाँ के पर्खिएर बस्नुभएको छ । नेकपा एमालेले हटाएका मान्छेहरु नेकपा एमालेले हटाएको छ भन्ने सूचना किन टाँस्नुहुन्न । सभामुखको कर्तव्य त्यही हो । ट्रेडिशन के छ भन्दा २४ घण्टाभित्र सभामुखले सूचना टाँसिसकेको छ पहिला पहिला । यतिबेला सूचना टाँस नगर्ने कागजपत्र झिकाउँछु, हेर्छु । सभामुख न्यायाधीश होइन, सभामुखले छानबिन फैसला गर्ने होइन । कुनै पार्टीले कसैलाई निकाल्छ कि निकाल्दैन, उचित छ कि छैन, न्यायाधीश होइन सभामुख । निष्काशन गरेको सूचना टाँसिदिने हो । सदन छ भने सदनमा सुनाउने, सदन छैन भने सूचना पार्टीमा सूचना टाँस गर्नेसम्मको काम हो । न्यायाधीश पल्टिने हो र ? माओवादी कार्यकर्ता भएर एमालेका विरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो । उहाँ केलाई पर्खिरहनुभएको होला । उहाँले ठान्नुभएको होला, उहाँले नसुनाएसम्म पद कायमै रहन्छ । र कायमै रहेको पदमा एमाले बिरोधी मान्छे संसदमा उपस्थित गराउने भन्ने । अग्नि सापकोटा जीलाई म सोध्न चाहन्छु, संसद चलाउनु छ कि छैन उहाँलाई ?गैरकानूनी ढंगले मनपर्दी ढंगले संसद् चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छ कि छैन ? एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख अुन सकिँदैन, सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुपर्छ । होइन चने छोडिदिए हुन्छ । उहाँले कार्यकर्तामा फर्किने वा सभामुखको हैसियतमा निष्पक्ष ढंगले काम गर्छु भनेर सोच्नुपर्छ । यो अटेरी, जिद्दी तालले गैरकानूनी, असंसदीय तालका क्रियाकलाप उहाँले रिपिडेट्ली देखाउनुभएको छ । माओवादी कार्यकर्ताको रुपमा काम गर्नुभएको छ । त्यो काम गर्न पाइँदैन । पार्टीका कार्यकर्तालाई केही अपील छ कि ? मैले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई कुनै भ्रम अन्योलमा नपर्न, अलमलमा नपर्न, कसैको पद वा अन्य कुनै कुराको प्रलोभनमा नपर्न र पार्टीप्रति निष्ठावान भएर काम गर्ने हाम्रो परम्परा छ । आम नेता कार्यकर्ताहरु निष्ठावान हुनुहुन्छ । तर भ्रममा पारेर निष्ठावान पार्ने कोशिष हुनसक्छ । त्यसकारण कुनै भ्रममा नपरेर पार्टीप्रति निष्ठा, दृढताका साथ, पार्टीबिरोधी विचारलाई अस्वीकार गर्न र पार्टीको एकता, पार्टी बिस्तारका काममा जुट्न र आगामी दिनमा हामीले विजय हासिल गदै जानुछ । नेपालमा राजनीतक हिसावले विजय गर्ने अर्को कुनै शक्ति छैन । हामीले विजय हासिल गर्दै जानुपर्छ । त्यो विजय यात्राका लागि त्यस अभियानमा सबैलाई जुट्न म हार्दिक आग्रह गर्दछु ।

मार्जिन लेण्डिङको सीमाले ठूला लगानीकर्तालाई अवरोध गर्छः अध्यक्ष अग्रवालसँगको कुराकानी

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष हुन् विष्णुप्रसाद अग्रवाल । यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका उनले सो संस्थामा लामो समयसम्म विभिन्न पदमा रहेर काम गरिसकेका छन् । २१ वर्षकै उमेरदेखि नै व्यापार व्यवसायमा सक्रिय अग्रवाल हाल एमएडब्लू इन्टरप्राइजेज, एमएडब्लु अर्थमुभर, एमएडब्लु इन्भेष्टमेन्ट कम्पनी, एमएडब्लु रेडि मिक्स कंक्रिट, एमएडब्लु इन्जिनियरिङ, भीआर होल्डिङ लगायत कम्पनीका अध्यक्ष पनि हुन् । कोरोना भाइरसको समयमै परिसंघको अध्यक्ष सम्हालेका अग्रवालसँग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल स्वेदेशी अभियान’, राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा गरेका व्यवस्था र परिसंघका आगामी योजना लगायतका विषयमा कुराकानी गरेका छौं । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल स्वदेशी अभियान’को सुरुवात गरेको छ, के हो मेक इन नेपाल स्वदेशी अभियान ? यसको मुख्य लक्ष्य के हो ? नेपालमा औद्योगिक वातावरण सिर्जना गर्नको लागि सुरु गरिएको यो एउटा अभियान हो । यो अभियानले उत्पादनमुखी अर्थतन्त्रको स्ट्रेन्थ बढाउँछ । यसले पुँजीसँगै रोजगारी सिर्जना गर्न महत्वपूर्ण काम गर्छ । देशको अर्थतन्त्रको लागि र कुनै प्रडक्ट प्रवद्र्धनका लागि यो अभियान अति आवश्यक छ भन्ने बझाईका साथ हामीले यसको सुरुवात गरेका छौं । देशमा औद्योगिक वातावरण सिर्जना गर्न, वस्तुको प्रवद्र्धन तथा प्रमोशन गर्न र सर्भिस क्षेत्रलाई डिजिटलाइजेशन गर्ने विषयमा यो अभियानले महत्वपूर्ण भूमीका खेल्छ भन्ने हाम्रो पूर्ण विश्वास छ । उत्पादनमुखी अर्थतन्त्रको विस्तार र उत्पादित वस्तुको बजारिकरणका लागि स्वेदेशमै र विदेशमा पनि कसरी बजार स्थापित गर्न सकिन्छ ? त्यसमा हामी लाग्छौं । वस्तुको मूल्य र त्यसको गुणस्तरीयतामा पनि विश्वासको वातावरण सिर्जना गर्नको लागि नै ‘मेक इन नेपाल स्वदेशी अभियान’ सुरु गरेका हौं । यो अभियानले बेरोजगार रहेका युवाले रोजगारी पाउने र उद्योग खोल्न चाहनेहरुले उद्योग सञ्चालन गर्न सक्ने वातावरणको सिर्जना कसरी गर्छ ? हामीले एउटा अध्ययन गरेका छौं । पूर्वाधार विकास गरी पर्यटनलाई कसरी अगाडि बढाउने ? सर्भिस क्षेत्रलाई कसरी विस्तार गर्ने ? प्रविधिको विकासलाई कसरी अघि बढाउने ? औद्योगिक वातावरण कसरी सिर्जना गर्ने र युवाहरुलाई कसरी रोजगारी दिने भन्ने लगायतका विषयमा हामीले अध्ययन गरेका छौं । सो अध्ययन अनुसार हरेक वर्ष १ हजारवटा उद्योग स्थापना गर्ने र डेढ लाख रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ । यस्तै, आजका दिनमा हाम्रो निर्यात एक खर्बको छ । यसलाई बढाएर ४ खर्ब रुपैयाँ पुर्याउने हाम्रो लक्ष्य छ । हामीले स्मार्ट लक्ष्यहरु राखेर अगाडि बढिरहेका छौं । सरकारले गर्नु पर्ने काम तपाईंहरुले गर्दै हुनुहुन्छ, सिएनआईको यो अभियानमा सरकारको साथ कस्तो छ ? सरकारले हामीलाई सहयोग र समर्थन पनि गरेको छ । सरकारले हामीसँग सम्झौता पनि गरेको छ । सरकारले पनि हामीले गर्नु पर्ने काम तपाईंहरुले गर्नु भयो भनेर खुसी व्यक्त गरिसकेको छ । हामीले ७ वटा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छौं । ती ७ वटा पिलरहरुमा रहेर हामीले हाम्रो उद्धेश्य र योजनाहरु लिएका छौं । सीएनआईले यो अभियान मार्फत पोलीसी बनाउन वकालत मात्रै गर्ने हो कि उत्पादनको प्रमोसन तथा क्षमता वृद्धि गर्न पनि भूमीका खेल्छ ? यसमा दुईटा विषय छन् । एउटा भनेको औद्योगिक वातावरण बनाउने । यो हाम्रो मुख्य प्राथमिकता हो । दोस्रो, नेपालमा उत्पादन भइरहेका अर्थात वस्तु तथा उत्पादन र ती वस्तु उत्पादन गरिरहेका उत्पादकहरुको लागि राम्रो वातवरण सिर्जना गर्ने हो । र, ती वस्तुहरुमा उपभोक्ताहरुको विश्वास पैदा गर्ने काम यो अभियानले गर्छ । हामीले स्वदेशी उत्पादन सम्बन्धी लोगो लिएर आएका छौं । स्वदेशी लोगो दर्ता र सरकारसँग सम्झौता पनि गरेका छौं । धेरै उद्योगीहरुले सम्झौता गरेर आफ्नो उत्पादनमा लगाइसकेका छन् । केही प्रक्रियामा छन् । हामीले पनि किताब नै निकालेर यसलाई सफल बनाउन प्रभावकारी रुपमा लागिरहेका छौं । गुणस्तर नभएका वस्तुहरुमा पनि मापदण्ड बनाएर काम गर्छौं । हाम्रा नीतिहरु विशेष गरेर बिजनसेमै केन्द्रित हुन्छन्, तर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने किसिमबाट हामी न नीति बनाउँछौ नत सरकालाई सुझाव नै दिन्छौं, यो अभियानले यस विषयको सम्बोधन गर्छ ? हामीले ‘मेक इन नेपाल स्वदेशी अभियान’ मार्फत कुन–कुन विषयमा एडभोकेसी गर्नु पर्ने र नेपाललाई औद्योगिक वातावरण गराउनको लागि हाम्रो भिजन क्लियर छ । सरकारसँग मिलेर वर्कसपको आयोजना गरेर औद्योगिक माहोल सिर्जना बनाउनु पर्छ । विभिन्न विषयहरुलाई लिएर कुन नीतिले देशलाई कस्तो किसिमको फाइदा हुन सक्छ भन्ने विषय हामीले बुझ्नु पर्छ । व्यवसायिक वातावरण कसरी बढाउन सकिन्छ ? आयतलाई कसरी प्रतिस्थापन गर्न सकिन्छ ? कुन वस्तुलाई बढी फोकस गर्ने भन्ने विषयलाई हामीहरुले वर्कसप गर्छौं । पेपरहरु प्रस्तुत गर्छौं । यो सबै एकै पटक हुने विषय होइन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मार्जिन लेण्डिङमा सीमा तोकेको छ । यसप्रति तपाईंको धारण के हो ? यो व्यवस्थाले ठूलो लगानीकर्तालाई अवरोध सिर्जना गरेको छ । अहिले लगानीकर्ताहरुको बुझाई र दृष्टिकोणमा पनि परिवर्तन हुँदै गएको छ । जस्तै, मैले सेयरधितो राखेर कर्जा लिएँ भने त्यो पैसाले सेयरमै लगानी गर्न आवश्यक छैन । मैले त्यो पैसा उद्योगमा पनि लगाउन सक्छु । त्यसैले मौद्रिक नीतिको त्यो व्यवस्थाले उद्योगमा लगानी गर्न चाहने ठूला लगानीकर्ताको भावना विपरित छ । त्यो भावना खुम्च्याइएको छ । पहिले प्रोफिट मात्रै हेर्थे भने अहिले त्यसको भ्यालुएसन पनि बढ्नु पर्छ भन्ने तर्फ लागिरहेका छन् । मौद्रिक नीतिले १ करोड रुपैयाँसम्मका उद्यम व्यवसायको कर्जामा अधिकतम २ प्रतिशत प्रिमियममा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ, यसको असर ठूला ऋणीको व्याजदर बढ्छ भन्ने विश्लेषण गर्न थालिएको छ, त्यस्तो हो ? साना ऋणीहरुको कन्भिन्स गर्ने क्षमता कम हुन्छ । त्यसैले पनि उनीहरुको कर्जाको व्याजदर पनि उच्च हुन जान्छ । तर, कोरोना भाइरसको महामारीमा उनीहरुलाई बचाउन आवश्यक छ । यो व्यवस्थाले उनीहरुलाई थोरै भएपनि राहत दिएको छ । यसमा हामीले धेरै कमेन्ट गर्नु हुन्न । यो व्यवस्थालाई हामीले स्वागत नै गरेका छौं । मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुले दिएको राहतमा उद्योगी व्यवसायी सन्तुष्ट हुनुहुन्छ ? कि बजेटले अझै बढी राहतका कार्यक्रमहरु ल्याउनु पर्थ्याे ? हामीले बजेटको पनि स्वागत नै गरेका थियौं । बजेटले हाम्रा धेरै विषयहरुलाई समेटेको थियो । हामीले मौद्रिक नीतिको पनि स्वागत नै गरेका छौं । हाम्रा धेरै विषयहरु मौद्रिक नीतिले बोलेको छ । कोरोना भाइरसको समयमा यस्तो कार्यक्रम आउनु भनेको सकारात्मक नै लाग्छ । यसले व्याजदर पनि स्थिर राख्नमा सहयोग गर्छ भन्ने हाम्रो बुझाई हो । हामीले लामो समयदेखि कोरोना भाइरसको सन्त्रास भोगिरहेका छौं, अहिले अर्थतन्त्रलाई रिभाइव गर्ने प्रयत्न गरिरहेका छौं । यति लामो समयसम्म हामीले के गुमायौं, के पायो र के सिक्यौं ? महत्वपूर्ण विषय भनेको डिजिटलाइजेसन हो । कोरोनाकालमा हामीले डिजिटलाइजेसनमा ठूलो फड्को मारेका छौं । यदि अवस्था नर्मल नै थियो भने हामीले यति चाँडै यति ठूलो फड्को मार्न सकिने अवस्था थिएन । अर्को, कुनै पनि संस्थामा पारदर्शीताको ठूलो भूमीका हुन्छ । पारदर्शीता चाहिन्छ । जुन ठाउँमा पारदर्शीता छैन त्यो ठाउँमा पारदर्शीता कायम गर्नुपर्छ भन्ने पाठ पनि सिकेका छौं । यस्तो विषम परिस्थितीमा उद्योगी व्यवसायीहरुले बाँच्ने विषय पनि महत्वपूर्ण हो । यो समयमा हामीले नाफा कमाउने भन्दा पनि बाँच्ने अर्थात व्यवसायलाई निरन्तरता दिने विषयलाई नै ध्यान दियौं । वर्किङ क्यापिटललाई म्याक्सिमाइज गर्ने विषयमा प्रविधिले ठूलो भूमिका खेल्यो । कोरोनाको कारण बिजनेसमा असर त ठूलै परेको छ । तर, यस्ता खालका महामारी तथा विपतिहरु हाम्रा लागि पाठ हुन् । यसैबाट सिकेर अझ हामीले अगाडि बढ्ने हो । चुनौतीहरुलाई छिचोलेर अगाडि बढ्न सिकाउने नै यस्ता विपतिहरु हुन् । अहिलेको एउटै विकल्प भनेको भ्याक्सिनेसन हो । हामीले सरकारलाई बारम्बार भन्दै आएका छौं । अहिलेसम्म कति ठूलो असर भोग्यौं । कति अमाउन्टको नोक्सान हामीले भोग्यौं भन्ने अहिलेसम्म कुनै पनि निकायले अध्ययन गरेको छैन । कुल जीडीपीको प्रत्येक दिन साढे १० अर्ब रुपैयाँको इकोनोमी छ । एक महिनामा पनि ३ सय अर्ब रुपैयाँकै फरक पर्छ नै । यति लामो समयसम्म हामीले लकडाउन तथा निषेधाज्ञा भोग्यौं । असर त धेरै नै परेको छ । यो चुनौतिपूर्ण समयमा तपाईं सीएनआईको अध्यक्ष बन्नुभएको छ, तपाईको कार्यकाललाई सफल बनाउनको लागि के कस्ता योजना तथा रणनीतिहरु लिएर आउनु भएको छ ? हाम्रो सबैको महत्वपूर्ण योजना र एजेण्डा भनेको औद्योगिक वातावरण सिर्जना गर्ने नै हो । त्यसैका लागि हामी लागि रहेको छौं । त्यसैको वरिपरि रहेर हामीले कार्यक्रमको आयोजना गर्छौं । हाम्रा सदस्यहरुको समस्याहरुलाई समाधान गर्नको लागि अगाडि बढ्छौं । उद्योगी व्यवसायीहरुका समस्याहरुलाई सही तरिकाले सम्बन्धित निकायमा पुर्याउने, व्यवसायीमैत्री नीतिका विषयहरुमा ध्यान दिने विषयहरु नै हाम्रो प्राथमिकतामा पर्छन् । तपाईं लामो समयदेखि अटो व्यापारमा काम गर्दै आउनु भएको छ, नेपालमा अटोबजारको अवस्था र यसको भविश्य कस्तो छ ? अटो बजार कोरोनाकालमा पूर्ण रुपमा बन्द नै रह्यो । तर, पछि केही चलायमान भयो । कोरोनाको दोस्रो लहरमा डिमाण्डमा केही कमि आएको छ । अहिले अर्थतन्त्र पनि चलायमान भइसकेको छ । मौद्रिक नीति पनि आइसकेको छ । बजेटको कार्यान्वयन पनि भइसकेको छ । फेरि अब बजेट संशोधन हुने विषय छ । त्यो पनि कार्यान्वयनमा आइसकेपछि सरकारको खर्च पनि बढ्छ । बजार चलायमान हुन्छ । आशा छ, विस्तारै व्यावासियक वातावरण बन्छ । अटो बजार विस्तार गर्न नयाँ के काम गर्दै हुनुहुन्छ ? हामीले भैरहवामा यामाहाका लागि एसेम्बलिङ उद्योग खोल्दैछौं । जुन एक वर्षभित्रै सञ्चालनमा आउँछ । यसको प्रक्रिया अगाडि बढिरहेको छ । राम्रै स्केलमा ल्याउने हामीले तयारी गरिरहेका छौं । कुनै पनि देशमा एसेम्बलबाटै अटोमोबाइल्स सुरु भएको छ । त्यसैले नेपालमा पनि अब एसेम्बलिङ उद्योग बढाउनु पर्छ भन्ने हाम्रो रणनीति हो । अन्य उद्योगी व्यवसायी साथीहरु पनि सोही ढंगले काम गरिरहनु भएको छ । अटो मोबाइल्समा तपाईंले चाइनिज प्रडक्ट ल्याउन सुरु गर्नु भएको छ, अब नेपालमा चाइनिज प्रडक्टले पनि मार्केट लिन्छ भन्ने तपाईंको बुझाई हो ? यो प्रडक्टमा निर्भर हुन्छ । कुन र कस्तो गाडी लिएर आउँछन् ? भन्ने विषय नै मुख्य हो । त्यसको गुणस्तर र मूल्य के कस्तो छ भन्ने हो । मान्छले विस्तारै प्रयोग गर्दै सिक्छ । हरेक देशले आफ्नो इको सिस्टम बनाउँछ । सिक्दै जान्छ । अहिले चाइनिज प्रडक्टमा पनि इम्प्रुभ भएको देखिन्छ । मैले मात्र होइन अरुले पनि चाइनाबाट अटोमोबाइल्स सम्बन्धि प्रडक्टहरु लिएर आइरहेका छन् । त्यसले कतिसम्मको बजार लिन्छ ? उपभोक्ताले मन पराउँछन् वा पराउँदैनन् ? अहिले यही नै भन्न गाह्रो छ । अन्तिममा, सीएनआई उद्योगीहरुको साझा संगठन हो, यसको अध्यक्ष हुनको लागि औद्योगिक पृष्ठभूमीको मान्छे हुनु पर्ने भन्ने व्यवस्था विधानमै उल्लेख छ । तर, तपाईंको पृष्ठभूमी व्यापारिक हो । तपाईं सीनआईको अध्यक्ष हुन कसरी सफल हुनुभयो ? व्यापारिक पृष्ठभूमीबाटै मान्छे उद्योगी बन्छ । सर्वप्रथम त उद्योगको परिभाषा हामीले बुझ्नु पर्छ । हामीले हाम्रो विधानमा उत्पादन क्षेत्र, बैंकिङ्ग क्षेत्र र सेवा क्षेत्रलाई पनि उद्योग नै भनेका छौं । मेरो संलग्नता अर्थात व्यवसायिक पृष्ठभूमी वित्तीय क्षेत्र र सर्भिस क्षेत्रमा पनि छ । त्यसैले पनि म सुरुमै सीएनआईको सदस्य हुन सफल भएँ । बिचमा हाम्रो उत्पादन कम्पनी पनि थियो । वर्कसपहरुमा पनि हाम्रो संलग्नता छ । त्यसमा २ सय जना जनाले रोजगारी पाएका छन् । उद्योग क्षेत्रमा पनि केही समस्या छन् । ती समस्याहरुलाई पनि मैले बुझिरहेको छु । एउटा अध्यक्षको सबै क्षेत्रमा लगानी तथा संलग्नता हुनु पर्छ भन्ने पनि हुँदैन र त्यो सम्भव पनि हुँदैन । तर, हामीले आफ्नो तर्फबाट उद्योगको प्रगति र औद्योगिक वातावरण सिर्जना गर्नको लागि प्रयास गरिरहने हो ।