अन्य सार्वजनिक संस्थानभन्दा हामीले उत्कृष्ट काम गरेका छौं: महाप्रबन्धक झा

अघिल्लो सरकारले नुन आयातको विषयमा गरेको नीतिगत निर्णय उल्टिएसँगै साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा उत्साह छाएको छ । ४८ वर्षअघि स्थापना भई निरन्तर काम गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नुन आयात गर्ने कामलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नीजि क्षेत्रलाई दिन खोजेको थियो । सरकारको यो कदमको चौतर्फी विरोध भएपछि निर्णय प्रक्रिया धेरै अघि बढ्न सकेन । यसमा केही व्यापारिक समूहको स्वार्थले खेलेको भन्ने आरोप लाग्दै आएको छ । सरकार परिवर्तनसँगै अघिल्लो सरकारको निर्णय उल्टिएको छ । यो कुराको संकेत वर्तमान अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन मार्फत् गरीसकेका छन् । हामीसँगकाे कुराकानीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नायब महाप्रवन्धक व्रजेश झाले नेपालीहरुको महान पर्व दशैँको अवसरमा यसवर्ष पनि नुनसहित विभिन्न खाद्यान्नमा विशेष छुट दिने बताए । मन्त्रालयबाट पत्र आएपछि मात्रै सरकारले तोकेअनुसार नै नुनमा छुट दिने र अन्य खाद्यान्नमा कर्पोरेशनले सकेजति सहुलियत दिने बताए । उनले कर्पोरेशनमा चिनीको स्टक नभएकोले यसको पनि तत्काल समस्या समाधान गरिने बताए । प्रस्तुत छ नायब महाप्रबन्धक व्रजेश झासँग गरिएको कुराकानी । नुनको अहिले सुखद् चर्चा छ, काम गर्न पनि सजिलो भएको होला, नुनको अवस्था अहिले कस्तो छ ? निश्चय पनि सुखद् छ । नुन नेपालमा वार्षिक रुपमा २ लाख १५ हजार मेट्रिक्टनको हाराहामीमा खपत छ र हाम्रो आफ्नो स्रोत छैन । नेपाल भित्र नुनको कुनै पनि स्रोत छैन । हामी टोटल्ली (पूर्णरुपमा) कि त दक्षिण राष्ट्रसँग निर्भर छौँ, केही मात्रामा हामी तिब्बतबाट पनि नुन ल्याउँछौँ । आफ्नो स्रोत नभएको कारणले यसको आपूर्तिको व्यवस्थापन त्यति सजिलो छैन । जुनसुकै अवस्थामा पनि साल्ट ट्रडिङ्गले सहज सुलभ रुपमै नुनको आपूर्ति गर्दै आइरहेको छ । चाहे त्यो २०४५ सालको भारतकोसँगको ट्रेड एण्ड ट्रान्जिट नभएको बेलाको होस्, नवीकरण नभएको बेला,  ०४६ सालको जनआन्दोलनको बेला होस्, वा ०६३ को जनआन्दोलन होस्, पहिलो मधेश आन्दोलन होस्, भूकम्पले थलिएको बेला होस् ,दोस्रो मधेश आन्दोलन र त्यो सँगसँगै अघोषित नाकाबन्दी । साल्ट ट्रेडिङ्गले कहिले पनि आफ्ना उपभोक्तालाई नुनको अभाव हुन दिएन ।  त्यसमा हामी गर्व गर्छौं । वितरण कस्तो छ र कसरी काम गरिरहनुभएको छ ? कर्पोरेशन आफैँ पनि गर्व गरिरहेको छ । हाम्रो ९३ वटा कार्यालय मार्फत् ६ हजार डिलर नेटवर्क छ । त्यस मार्फत् हामीले नेपालको प्रत्येक नागरिकको भान्सामा पुगेको छ, सायद मलाई लाग्छ, नेपालका सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा धेरै जनतासँग पहुँच बनाएको संस्था हामी मात्रै हाैं । नुनको कारबार, नुनकै आयात गरिरहँदा एक किसिमले विज्ञता पनि पाइसक्नुभयो, हामीले गर्ने वितरण प्रणाली र अरुले गर्ने वितरण प्रणालीमा के भिन्नता छ, के कारणले हामीलाई फरक बनाउँछ ? साल्ट ट्रडिङ्ग नेपाल सरकारको स्वामित्व भएको संस्था हो । नेपाल सरकार र नेपाल सरकारको स्वामित्व भएको दुई वटै गरेर शेयर करिव २१.२६ प्रतिशत जति छ, बाँकी जम्मै ७८.७६ प्रतिशत जति पब्लिकको शेयर छ । सरकारको पनि शेयर भएको हिसावले हामीले कसैको लागि बढी पैसा लिने काम गर्न सक्दैनौँ । हाम्रो एउटा स्थिर मूल्य छ । सप्लाइमा कुनै पनि समस्या छैन । गुणस्तरमा जहिल्यै पनि हामीले उच्च गुणस्तरको नै दिएका छौँ । संस्थागत हिसावले गुणस्तरमा कुनैपनि बेला हामीले कम्परमाइज (कन्जुस्याँइ) गरेका छैनौँ । र सबैभन्दा ठूलो कुरा हामी ६ महिनाको न्यूनतम बफरस्टक हामीले जहिले पनि राखेका छौँ । बेलाबेलामा हामीसँग नेपाललाई १० महिना पुग्ने नुन पनि स्टकमा हुन्छ । जस्तै आषाढ मसान्तमा, असारपछि साउन र भदौमा वर्षाको समयमा नुन ल्याउन गाह्रो हुन्छ । ड्यामेज हुने चान्स बढी हुन्छ । असार मसान्तमा हामीसँगको स्टक हाइएस्ट हुन्छ । १०/११ महिनासम्म पुग्ने स्टक पनि हुन्छ । न्यूनतमा स्टक पनि हामीसँग छ, मूल्यमा एकरुपता छ । यी कारणले गर्दा बजारको अवस्था यदी हेर्दा साल्ट ट्रडिङ्गले जसरी नुनको सर्भिस पुर्याइरहेको छ । त्यसरी कुनै अन्य वस्तुको सेवा उपलब्ध छैन । चाहे चामल हेर्नुहोस् वा चिनी । चिनी हामीसँग आजको डेट (मिति) मा कम छ । बजार मूल्य सय रुपैयाँ पुगिसकेको छ । साल्ट ट्रडिङ्गले मार्केट इन्टरभेन्टको काम समेत गर्दै आइरहेको हुन्छ । यो अर्थमा हामी अन्य व्यापारी भन्दा फरक छौँ । यसलाई अर्को पाटोबाट हेर्दा हामीसँग भएको वितरण क्षमता, भण्डारणको क्षमताले गर्दा हामीले गरिरहेको काम अरु कसैले गर्न सक्दैन भन्न मिल्छ होइन त ? हामीले गरिरहेको काम निश्चय पनि अरुले यसरी गर्न सक्दैन । हामी दुर्गम क्षेत्र होस्, तराईका भूभाग होस्, वा शहरी इलाका होस् कुनैपनि ठाउँमा हाम्रा नेटवर्क छोडेका छैनौँ । नेपालको प्रत्येक बजार, प्रत्येक उपभोक्ताको घरमा साल्ट ट्रडिङ्गको उपस्थिती छ । हाम्रै गोदाम पनि लगभग १ लाख ७० हजार मेट्रिक्टन, क्यापासिटी (क्षमता) को छ । अधिराज्यव्यापी गर्ने हो भने १ लाख ६९ हजार समथिङ्ग (लगभग) को छ । हामीले अन्य गोदामहरु पनि भाडामा लिएर लगभग सवा २ लाख मेट्रिक टन क्षमताको गोदाम राखेका छौँ । यत्रो नेटवर्क कसैको छैन । त्यसै कारणले गर्दा पनि जुन हिसावले हामीः सेवा पुर्याइरहेका छौँ । त्याे आम नेपाली उपभोक्ताहरुलाई अरुले दिन सक्छन् जस्तो मलाई लाग्दैन । यति हुँदा हुँदै देशको राजनीतिसँगै यसको पनि आफ्नो उत्तारचढाव छन्, पछिल्ला केही निर्णयले पनि उत्तारचढाव बनाएको छ, अब त्यति मनोबल गिर्ने गरी दुःख नपाइएला नि ? आश गरौँ, आश त जहिल्यै पोजेटिभ नै गर्नुपर्यो, हामी त सधैँ नेपाली जनतालाई गुणस्तरीय वस्तु उचित मूल्यमा सर्वसुलभ हुने हिसावले सेवा गर्न पाउने हामी चाहन्छौँ । नेपालीहरुको ठूलो चाड दशैँ नजिकिएको छ, सदाझैँ हामीले पनि सहुलियत दिने गरेका छौँ, अहिले के छ तयारी ? यसवर्ष पनि मन्त्रालयबाट पत्र आएपछि हामी सहुलियत राख्छौँ, नुनमा नेपाल सरकारले भनेअनुसार छुट दिएर बिक्री गर्छौं,चिनीको स्टक हामीसँग छैन । हामीले खरिदको लागि धेरै अगाडिदेखि पहल गरिरहेको हो, चाँडै त्यसको पनि केही टुंगो लाग्ला,भन्ने विश्वास छ । अन्य हामीले कारोवार गर्ने गेडागुडी, चामल, दाल, मसला, तेल यिनीहरुमा हाम्रो आफ्नो हिसावले कति छुट दिन सकिन्छ त्यो दिएर कारोवार गर्दछौँ ।

५ लाखलाई ५ अर्ब रुपैयाँ बाँड्नु प्रगतिशिल नगद कारोबार हो- अर्थमन्त्री जनार्दन शर्मा

प्रतिस्थापन विधेयकमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राख्नुभएको रहेछ । यो कसरी पूरा हुन्छ ? तपाईले अहिले विश्वास गर्नु पनि पर्दैन किनकि काम भएपछि विश्वास गर्ने हो । हामी काम गरेर देखाउने पक्षमा छौं । अहिले तपाईको कुरा ठिकैछ । लक्ष्य प्राप्त भएपछि आफै विश्वास गर्नुहुनेछ । मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने भनिएको छ । यो कसरी संभव छ ? यसलाई सम्भव तुल्याउने गरी योजना तयार भइरहेको छ । पुँजीगत खर्च बढाउने गरी सोचिएको हो । यो हामी गरेर देखाउछौं । अहिले यसमा धेरै भन्नुभन्दा पनि काम भएपछि देखिनेछ । स्रोत सुनिश्चित नभएका १४०० सडक आयोजना स्थगित गर्नुभएछ । के मन्त्रालयका सबै योजना मन्त्रीको दवावमा बन्छन् ? बजेट निर्माण पद्धती, मन्त्रालयको कर्मचारीतन्त्र र राष्ट्रिय योजना आयोगले काम गर्न छोडेको हो ? यस्तो पनि हुने रहेछ भन्ने कुरा मैले पनि पहिलो पटक थाहा पाएँ अर्थमन्त्रालयमा आएर । मैले भन्दिएर तपाईले पनि थाहा पाउनुभयो । अब त्यस्तो नगरौं भन्ने कुरामा अर्थमन्त्रालयको अहिलेको टीम सचेत छ । त्यही कारण नै हामीले स्रोत विनाका आयोजना स्थगित गर्ने गरेका हौं । वित्तीय अनुशासन कायम गर्ने दिशामा यो निर्णयले महत्वपूर्ण काम गर्नेछ भन्ने विश्वास छ । उचित योजना, स्रोतको सनिश्चिताविना बजेट बनाउने परिपाटीको अन्त्य गर्न अर्थमन्त्रालयले काम थालेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा वैदेशिक ऋण लिने तर विगतमा झैं झारपात उखेल्ने काममा खर्च गरेर देश उँभो लाग्छ त ? विगतमा त्यस्तो भएको भएपनि यो सरकारले त्यस्तो हुन दिनेछैन । उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम बनाइन्छ । झारपात उखेल्ने काममा खर्च हुँदैन अब । केही न केही उत्पादन पनि हुने र बेरोजगारहरुलाई रोजगारी पनि मिल्ने मोडालिटीमा त्यो रकम खर्च गरिन्छ । एकातिर राजश्व छुट दिने अर्कोतिर राजश्वको लक्ष्य बढाउने अन्तरविरोधी भएन र ? स्वदेशी उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र आयात प्रतिस्थापनको लक्षमा सहयोग पुर्याउने खालका उद्योगहरुलाई छुट दिएको हो । उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहन दिँदा राजश्व पनि बढ्छ । दीर्घकालिन हिसावले देशलाई फाइदा हुन्छ । राजश्व वृद्धि गर्ने अन्य उपायहरु पनि छन् । करको दायरा विस्तार गरेर भएपनि राजश्व वृद्धिको लक्ष्य पूरा गर्न सकिन्छ । ठूला वडाले चढ्ने महंगा कारमा कर बढाउनुपर्नेमा सर्वसाधारण चढ्ने मोटरसाईकलमा कर बढाउनुभएछ । यो कस्तो खालको नीति हो ? खासमा यो आयात प्रतिस्थापनसँग जोडिएको विषय छ । कच्चा पदार्थ मात्र आयात गरी स्वदेशमै मोटरसाईकलहरु, गाडीहरु स्वदेशमा एसेम्बल्ड गरेर सुलभ दरमा उपभोग गर्न पाइयोस् भन्ने उद्देश्यले यस्तो गरिएको हो । विद्युतीय गाडीहरु, विद्युतीय बसहरु स्वदेशमै उत्पादन होउन् भन्ने आशय हो । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यमा आधारित भएर यसो गरिएको हो । तत्काल केहीलाई असर परेको देखिए पनि दीर्घकालीन हिसावले राष्ट्रको हितमा निर्णय गरिएको हो । उद्योगमा लगानीको स्रोत नखोज्ने व्यवस्था गरेर अनियमित ढंगले कमाएको सम्पत्तिलाई शुद्धीकरण गर्न खोजेको जस्तो देखियो नि ? जुनसुकै लगानीको कुरा गरेको हैन । भ्रष्टाचारको माध्यमबाट, तस्करीको माध्यमबाट आर्जन गरेको सम्पत्ति लगानी गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ । त्यो कुरामा सरकार सचेत छ । त्यसो हुन दिइदैन । रेमिट्यान्सलाई उत्पादन मूलक क्षेत्रमा लगाउने भन्ने कुरा सुन्न थालेको एक दशक पुग्न लाग्यो तर कहिल्यै कार्यान्वयनमा आउन सकेन, अहिले आउछ भन्ने के ग्यारेन्टी छ ? हाल रेमिट्यान्सको ९० प्रतिशतभन्दा बढी उपभोगमा खर्च भइरहेको देखिन्छ । जसले गर्दा देशको उत्पादन वृद्धि हुन सकेन र नयाँ रोजगारी पनि सिर्जना हुन सकेन । विदेशमा कमाएको पंैसा जति दैनिक उपभोग र विलासितामा खर्च हुने गर्यो । तर अब त्यो प्रवृत्ति बदल्छौं । रेमिट्यान्सको ३० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगाउने गरी आवश्यक व्यवस्था गर्छौ । सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति आएछ, यसो गर्दा जनताको सम्पत्ति दुरुपयोग हुने खतरा अझ बढ्दैन र ? सहकारी क्षेत्रमा थुप्रिएको पुँजीलाई विद्यमान कानुनी व्यवस्थाले लगानीको लागि ढोका खोलेको छैन । सहकारीसँग भएको ठूलो पुँजी उत्पादनको क्षेत्रमा लगानी भयो भने त्यसबाट रोजगारी सृजना हुनुको साथै राष्ट्रिय पुँजी निर्माणमा योगदान हुनसक्छ । उत्पादन वृद्धि भयो भने आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत टेवा पुग्नसक्छ । यसको कार्यान्वयनको लागि आवश्यक कानुनी प्रबन्ध गर्ने भनिएको हो । शिक्षा क्षेत्रमा पढ्दै कमाउदै कार्यक्रम अघि सारिएको छ । यो कस्तो खाले कार्यक्रम हो ? अहिले हरेक प्रदेशमा ४/४ वटा विद्यालयमा नमूनाको रुपमा यो कार्यक्रम संचालन गर्ने लक्ष राखिएको छ । प्राविधिक र व्यवसायिक शिक्षाको परिणामुखी अभ्यास गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । सुर्खेत लगायत देशका केही स्थानहरुमा यसको व्यवहारिक अभ्यास भइरहेको छ । त्यो सफल पनि छ । त्यसैलाई नीतिमा रुपान्तरण गरेर देशभर विस्तार गर्न खोजिएको हो । विद्यार्थीहरुले सैद्धान्तिक कुराको सिक्नुको साथसाथै उत्पादनका काममा सरिक भएर आय आर्जन गर्ने मोडालिटी हो । राष्ट्रिय योजना आयोगको तथ्याङ् अनुसार बहुआयामिक गरिबीको मारमा ५० लाख व्यक्ति छन् । तर बजेट प्रतिस्थापन विधयेकमा पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आयो । यो रकम ५० लाख गरिव मध्ये पहुँचवाला ५ लाखलाई मात्र वितरण गर्न खोजिएको हो ? कोरोनाले रोजगारी गुमाई संकटग्रस्त अवस्थामा पुगेका, एकदमै पिँधमा रहेका गरिबहरुलाई स्थानीय तहमार्फत मापदण्ड बनाएर वितरण गरिन्छ । वास्तविक पीडितहरुको हातमा पुग्नेगरी मापदण्ड बनाइन्छ । यसले सांकेतिक रुपमा भएपनि केही न केही राहत महशुस गराउनेछ । नेपालमा यो यसरी लक्षित वर्गको हातमा एकैचोटी रकम स्थानान्तरण भएको यो पहिलो पटक हो । हामीले यसलाई प्रोगेसिभ ट्याक्स ट्रान्ज्याक्सन (प्रगतिशील नगद कारोबार) भनेका छौं । यो रकम पारदर्शी र निष्पक्ष हिसावले वितरण हुनेछ । राजनैतिक परिवर्तनका आन्दोलनमा मारिएका परिवारहरुलाई मासिक तीन हजार भत्ता बाँड्ने कार्यक्रमले राज्यकोषमा अनावश्यक दायित्व थपेको देखिन्छ । भोलि यो बढ्दै जान्छ, कसरी धान्न सकिन्छ ? तपाई हामी अहिले जुन राजनीतिक व्यवस्थामा छौं, यो ल्याउनको लागि कयौंले प्राण दिएका छन् । उनीहरुका परिवारलाई राज्यले निराश पार्नु न्यायसंगत हुँदैन । परिवर्तनको आन्दोलनमा योगदान गरेका, ज्यानको बलिदान गरेका आश्रित परिवारहरुको संरक्षण गर्ने दायित्व राज्यको हो । यही दायित्वबोध गरेर हामीले थोरै सम्झन खोजेको मात्र हो । राज्यले हामीलाई सम्झेको रहेछ भन्ने कुराको महशुस गराउनु र उनीहरुलाई निराश हुन नदिनु हामी सबैको कर्तव्य हो । राज्यको सम्झना स्वरुप मासिक तीन हजार उपलब्ध गराउने भनिएको हो । सामाजिक सुरक्षा कोषलाई आत्मनिर्भर बनाएर उक्त दायित्व घटाउन गर्न सकिन्छ । हामीले सामाजिक सुरक्षा कोषमा राज्यको कोषबाट पैंसा हालिरहनु नपरोस भनेर कोषलाई आत्मनिर्भर बनाउने योजना पनि बनाइरहेका छौं । (आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलन र अर्थमन्त्रीको सचिवलय भएको कुराकानीमा आधारित भएर 7‌‍लसचिवालयले तयार गरेको अन्तरवार्ता)

८५ प्रतिशत बीमा पोलिसी डिजिटल्ली माग हुन थाल्यो, अब १०० प्रतिशत पुर्याउँछौं- पोषक राज पौडेल

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय बीमा समितिबाट बीमा सञ्चालन गर्ने अनुमति पाई व्यवसाय सञ्चालन गर्न शुरु गरेको ४ वर्ष पुग्दैछ । छाेटाे अवधिमा कम्पनीले उच्चदरकाे ग्राेथ हासिल गरिरहेकाे छ । वित्तिय सामर्थ्यका आधारमा कम्पनीले प्रिमियम मूल्य राखेर साधारण सेयर निष्काशनकाे तयारी थालेकाे छ । यो ४ वर्षमा कम्पनीले के के गर्न सक्यो, के गर्न सकेन, अबको योजना के हो ?  लगायतका विषयमा केन्द्रित भई कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) पोषकराज पौडेलसँग कुराकानी गरिएको छ । सिटिजन्स लाइफ सञ्चालनमा आएको ४ वर्ष पुग्दैछ । यो अवधिमा कति उपलब्धि भए ? यो चार वर्षको अवधिमा हामीले केही क्षेत्रमा सोचेको भन्दा पनि बढी गर्यौं । हामीले हालसम्ममा ७ अर्ब रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छौं । कूल ६ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । हामीले हाल १३० भन्दा बढी शाखाहरु स्थापना गरिसकेका छौं । ३३ हजार बढी एजेन्सी छन् । समग्र रुपमा हेर्दा ‘वी आर भेरी इन गुड सिच्योएसन’ । अघिल्लो वर्षको भन्दा पछिल्लो वर्षको मार्केट तथा भोल्युम ग्रोथ हेर्दा हामी बीमा क्षेत्रकै लिडिङ्ग पोजिसनमा छौं । नयाँ जेनरेसनका कम्पनी त छँदै छन्, पुराना केही कम्पनीभन्दा पनि अगाडि पुगेका छौं । नयाँ बिजनेसमा लिड गर्न सफल भएकोमा हामी खुशी छौं । हाम्रा सेवाहरूलाई राम्रोसँग डिजिटाइजेशन गर्ने, सर्भिसलाई एक्स्सिलेन्ट बनाउने लगायत इन्टरनल स्ट्रेन्थेन (आन्तरिक सुदृढीकरण) मा धेरै मिहेनत गरेका छाैं । तर, हामीले केही क्षेत्रमा सोचेको जति पनि गर्न सकेनौं । एक्स्पान्सन, भिजिबिलिटी, फेस टु फेस सर्भिसिङ्ग जस्ता कस्टुमर टच पोइन्टमा दिने सर्भिसहरुमा भने सोचेको भन्दा ग्याप भए । र, हामीले सोचेको जस्तो लेभलमा लान सकेनौं । सोचेको लेभलमा पुग्न नसक्नुको कारण एउटै थियो, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस । उक्त माहामारी नआएको भए अझै बढी गर्न सक्थौं भन्ने भएको छ । तर, त्यसलाई डिजिटल्ली सप्लिमेन्ट गरेको भएर पनि हामी अहिले सन्तोषजनक अवस्थामा नै छौं । लिडिङ् पोजिसनकाे एचिभमेन्ट गेन गर्नको लागि सामान्यतः केले बढी काम गर्ने रहेछ ? हामीले विशेष गरी तीनवटा क्षेत्रमा फोकस गरेका छौं । तीनवटा मध्ये हामीले अहिले दुई वटामा लिड गरिसकेका छौं । एउटा, ग्राहकको लागि उनीहरुले चाहेको अर्थात नीड बेस्ड प्रडक्ट बनाउने । प्रडक्टमा एक्सिलेन्सी तथा यूनिक भ्यालु क्रियट गर्नेमा हाम्रो फोकस छ । यससँगै प्रडक्ट डिट्रिब्युसन गर्ने हाम्रो एजेन्सी टीमलाई तीनवटा एरियामा फोकस गर्यौं । एउटा, एजेन्टकाे फाइनान्सियल बेटरमेन्टको लागि काम गर्यौं, दोश्रो उनीहरुको ज्ञान तथा क्षमताको विकास र अर्को पुरस्कार र सम्मान, जसले उनीहरुको सोसियल स्ट्याटस अपलिफ्ट गर्नलाई हामी सफल भयाैं । त्यसले नै हाम्रो सिटिजन्स लाइफलाई अगाडि बढाउन सहयोग गर्यो । हामीले जसरी एजेन्सीलाई फ्रेमिङ्ग गर्यौं, उनीहरुको क्षमता अभिवृद्धि गरायौं, त्यो नै हाम्रो सफलताको प्रमुख उपकरण हुन् । र, सिटिजन्स लाइफ आज यहाँ आउनुको पछाडि कम्पनीले एजेन्सीलाई जसरी अगाडि बढाएको छ त्यो नै ‘वान एण्ड वन्ली की टुल’ हो । अर्को, हाम्रो पोलीसी बेच्ने नै एजेन्सीहरु हुन् । जसलाई हामी सिटिजन्स लिडर भन्छौं । उनीहरुलाई यहाँ काम गर्ने वातावरण बनायौं । अहिलेसम्म अधिकांश कम्पनीमा लिडरहरुलाई काम गर्ने वातावरण बनाउनेमा केही ग्यापहरु देखिएका छन् । बजारमा पनि केही ग्याप छ । र, उक्त ग्यापलाई हटाउने अर्थात फुलफिल गर्नेमा सिटिजन्स लाइफले लिड गरेको छ । हामीले हालै मात्र तीन दिने तालिम दियौं । र, उनीहरुको क्षमता अभिवृद्धिमा हामी बजारको भन्दा एक स्टेप माथि नै छौं । यससँगै सिटिजन्स लाइफमा काम गर्ने ट्रष्ट छ है भन्नेमा विश्वास कमायौं । जुन, हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । तपाईंका १३० वटा शाखामध्ये कति वटाले नाफा कमाई रहेका छन् ? औषतमा प्रत्येक शाखाको कारोबार कति छ ? एकदमै सही प्रश्न गर्नुभयो । बजारले बुझ्नुपर्ने के हो भने जीवन बीमा कम्पनीमा शाखाले नाफा गर्छ कि गर्दैन र कुन कुन शाखा नाफामा गएको छ भनेर हेर्ने अभ्यास अझै पनि छैन । धेरैले यसमा गृहकार्य गरेको पनि देखिदैन । तर, हाम्रो हरेक शाखा प्रमुख तथा जुनसुकै शाखामा पस्नुस् र उनीहरुलाई नाफामा हुनुहुन्छ कि छैन भनेर प्रश्न गर्नुस्, उनीहरुले उत्तर दिने गरी हामीले क्यापेबल बनाएका छौं । यसको मतलब मेरो शाखा नाफामा जान कति बिजनेस गर्नुपर्छ भन्ने उसलाई सबै थाहा छ । त्यो लेभलमा हामीले ज्ञानको विकास गरेका छौं । र, हाम्रा थुप्रै शाखाहरु अझै पनि नाफामा छैनन् । विशेष गरी ग्रामीण भेगका शाखाहरु नाफामा आउन केही समय लाग्छ । गाउँका सबै शाखाहरु केही समय नाफामा नआउन पनि सक्छन् । सबैमा नाफा हेरेर मात्रै जाँदैनौं, केही ठाउँमा सेवा दिनकै लागि गएका हुन्छौं । र, केही ठाउँमा कम्पनीको रणनीतिको हिसावले शाखा खोलेका छौं । हामी नयाँ कम्पनी भएकाले पनि धेरै शाखाहरु नयाँ छन् । गत वर्ष खोलिएका शाखा यही वर्ष नाफामा आउने अथवा औसतमा २/३ वर्ष लाग्ने शाखाहरु पनि गाउँमा हुन्छन् । तपाईंहरु नयाँ कम्पनी पनि हुनुभयो । बजारलाई लक्षित गरेर शाखाहरु विस्तार गर्नुभयो । ती शाखाले काम गर्न नसकेर उल्टो नोेक्सानमा गएर शाखा बन्द गरिदिनु पर्यो भन्ने स्थिति आयो कि छैन ? छैन । आजसम्म आएको छैन । हामीले शाखा नोक्सानमै गयो अब बन्द गरिदिउ भन्ने सोचेका छैनौं । तर अन्य रणनीतिहरु अपनाएर सञ्चालन गराउनु पर्छ भन्ने भयो र कोरोनाकै कारणले पनि धेरै क्षेत्रमा परिवर्तन गरायो । मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा सर्ने, अस्पतालको सेवा सुविधा लिनको लागि पनि उनीहरु लेकबाट बेसी झर्न बाध्य भएको हामीले पाएका छौं । त्यसैले यसले दीर्घकालिनको लागि पनि राम्रै प्रभाव पार्छ भन्ने विश्वास छ । तपाईंले अहिलेसम्म गर्न चाहेकाे तर गर्न सकिन भन्ने केही रह्यो ? मैले शुरुमै भनिसके । कोरोनाले गर्दा हामीले जे सोचेका थियौं, केही थप बढी गर्न सक्छौं भन्ने थियो, त्यसमा केही बाँकी रहे । हाम्रा स्ट्रयाटेजीलाई मुभमेन्ट गराउन जति समय लाग्थ्यो, जुन स्पीडमा गरिन्थ्यो, माहामारीले गर्दा उक्त स्पीड रोकियो । तर, अहिले अवस्थामा पनि हामीले करिब १८० प्रतिशतको ग्रोथ गर्यौं । उक्त ग्रोथ र समग्र कम्पनीको परफरमेन्स हेर्दा हामी सेफ छौं । र, सबै सूचक हेर्दा सन्तुष्ट हुने अवस्था छ । अबको प्लान ? हामीले यो वर्ष विशेष गरी डिजिटलाईजेशनलाई थप फोकस गर्ने हो । त्यसको लागि ‘डिजिटल सिटिजन्स क्याम्पेन’लाई अघि बढाउँदै छौं । आजको दिनमा ग्राहकहरुले घरमै बसेर सिटिजन्सको पोलिसी खरिद गर्न सक्नेछन् र, उनीहरुको घरसम्मै पोलिसी पुर्याउने लेभलसम्मको काम सिटिजन्सले गरेको छ । साथै, अनलाइनबाटै दावी गरेको केही दिनभित्रै भुक्तानी गर्न सफल भएका छौं । हालै मात्रै बिमितको मृत्यु भएको दुई दिनमै उसका परिवारलाई भुक्तानी गरेका थियौं । अबको संसार डिजिटल हो । महामारीको कुन वेभ आउँछ कसैलाई थाहा छैन । घरम बस्दा पनि इन्स्योरेन्सको प्रडक्ट चाहिन्छ भने उनीहरुले एप्लाई गर्न सक्ने छन् । समग्रमा सिटिजन्स लाइफ डिजिटलाइजेशनमा एक स्टेप फड्को मार्ने गरी अघि बढ्छ । हालको अवस्था कस्तो छ ? ग्राहकले अनलाईनबाट कत्तिको एप्लाई गरिरहेका छन् ? गत असारमा आएका पोलिसीमध्ये ८० प्रतिशत पोलिसी डिजिटल्ली आयो । त्यस्तै, गत साउनमा बढेर ८५ प्रतिशत पोलिसी डिजिटल्ली मात्रै आयो । जसलाई हामी १०० प्रतिशत गर्न चाहान्छौं । यसमा एजेन्टको भूमिका कति रहन्छ ? पुरै एजेन्टकै भूमिका हो । किनभने सबै एजेन्टले नै बेच्ने हो । हाम्रो ड्रिष्टिब्युटर नै एजेन्ट हो । डिजिटल्ली कारोबारमा गइसकेपछि पनि एजेन्टको भूमिका रहन्छ र ? यो टेक्निकल प्रडक्ट भएकोले ग्राहकलाई कुन प्रडक्टमा के बेनिफिट हुन्छ भन्ने नै थाहा हुँदैन । तर, अभिकर्तालाई भने हामीले तालिम दिएका हुन्छौं । कुनमा कति सुविधा पाइन्छ, लाभ कसरी लिने भन्ने अभिकर्तालाई सबै थाहा हुन्छ । र, बल्ल हामीले उसलाई प्रडक्ट बेच्नको लागि टुल दिन्छौं । जस्तै, कुनै दुर्गम गाउँमा बसेको एउटा अभिकर्ताले आफ्नो गाउँ ठाउँको ग्राहकलाई त्यहिबाट सब्मिट गर्छ । र, विकसित मुलुकमा पनि ग्राहकले आफै जानेर बुझेर बीमा पोलिसी किनेको धेरै कम छ । किनभने यो कसैको मार्फत नै लिनुपर्छ । सिटिजन्ससँगै अन्य थुप्रै जीवन बीमा कम्पनीहरु सञ्चालनमा आए । त्यसमध्ये अधिकांशले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरिसके । तर, तपाईंको अहिलेसम्म आएको छैन । यसमा तपाईंहरु किन पछि पर्नुभयो ? हामी अहिले आईपीओ ल्याउने तयारी अवस्थामै छौं । र, अरुभन्दा पछि पर्नुको कारण हामीले केही गृहकार्य गरिरहेका छौं । हामी हाम्रो टाइम प्लान अनुसार चलिरहेका छौं । कोही अघि कोही पछि त भइहालिन्छ । तर, हामी हाम्रो रोडम्याप अनुसार पछि परेका छैनौं । हाम्रो क्यालेन्डर अनुसार नै गइरहेका छौं । अब कहिले आउँछ ? हामी तयारीको लगभग अन्तिम अन्तिम अवस्थामा छौं । हामी सकेसम्म चाँडै गर्छौं । हाम्रो क्यालेन्डर अनुसार हामी एकदम रेडि पोजिसनमा छौं । हामी छिट्टै साधारणसभामा जाँदैछाैं । त्यसपछि  नियामकको स्वीकृतिको लागि लगभग ३/४ महिना समय लाग्ला । अब त्यहाँ पनि कत्तिको लाम (क्यु) छ भन्नेमा पनि भरपर्छ । अब अहिले धितोपत्र बोर्डमा पनि केही अलमल भइरहेको छ । त्यसैले त्यहाँ कत्तिको क्यु छ भन्नेले पनि हाम्रो समय निर्धारण गर्छ । सिटिजन्सले प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन गर्दैछ, हाेइन ? हामीले नियम अनुसार के–के गर्न मिल्छ र कम्पनीलाई जे गर्दा राम्रो हुन्छ, हामी त्यो गर्ने हो । हामीले पोलिसी होल्डरको बेनिफिटको लागि र कम्पनीलाई बलियो बनाउनको लागि काम गर्ने हो । र, कम्पनीलाई जे गर्दा राम्रो हुन्छ, हामी त्यहि अनुसार अघि बढ्ने हो । अहिले यत्ति मात्रै भने । तपाईले जे भन्नुभयो त्यो सैद्धान्तिक रुपमा राम्रो छ, जुन मार्केटले एप्रिसियट पनि गर्छ तर, आजको कम्पनीको वित्तीय विवरणले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न कत्तिको सर्पोट गर्छ ? मज्जाले सर्पोट गर्छ । प्रिमियम कतिसम्म जान सक्छ ? यस्तो छ । हामी अहिले फाइनल नम्बरसम्म पुगिसकेका छैनौं । हामी एउटा रिजिनियबल्ली र अहिलेको भन्दा राम्रै भ्यालुमा आउँछ भन्ने हिसाबले नम्बर चाहिँ त्यो पोइन्टमा पुगेपछि निर्धारण गर्छौं । अहिले त्यो गरिसकेका छैनौं । फेरी पनि हामीले सबै काम नियम अनुसार गर्नुपर्छ । नियामककाे स्वीकृति लिनुपर्छ । नियम अनुसार मिल्ने भयो र कम्पनीलाई राम्रो हुन्छ भने प्रिमियमै ल्याउँछौं । त्यसको लागि बजारमा रहेको सबै अप्सनहरुमा काम भइरहेको छ । तपाईं नयाँ कम्पनीमा पहिलो सीईओ । सीईओकाे जिम्मेवारी पहिलो पटक सम्हाल्दै गर्दाको जोश, जाँगर मर्दै गएका छन् कि थप इनरजेटिक भएँ, पुरै खारिएँ, जोश जाँगर थपिएको अनुभूति हुन्छ ? पक्कै पनि । शुरुमा सीईओ  हुँदा दुई तीनवटा कुरा थियो । नयाँ सीईओ भएर आउँदा मलाई राम्रो पक्ष के थियो भने नयाँ कम्पनी ड्राइभ गर्न पाएँ । नयाँ सिर्जना गर्न पाउँदाको जुन चुनौति थियो, त्यो राइट डिरेक्सनमा लानको लागि र पुरै नयाँ सिर्जना गर्नको लागि आफ्नो इच्छा अनुसारले लान पाएँ । जसले गर्दा आज चौथो वर्षसम्म राइट स्थानमा पुग्न सफल भयौं । र, आगामी दिनमा थप राम्रो गर्न सकिन्छ भन्नेमा थप कन्फिडेन्स बढेको छ । शुरुको र आजको अवस्थासम्मको जिम्मेवारीले ममा म्याच्युरिटी थपिएको छ । यसमा म थप खारिएको छु । त्यसैले यो मेरो लागि राम्रो अवस्था हो ।