वितरणयोग्य नाफा ७६ प्रतिशतले बढायौं, लगानीकर्ताले राम्रो प्रतिफल पाउँछन्ः सिइओ पोखरेल
सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेको छ । प्रत्येक त्रैमासमा प्रायः सबैभन्दा पहिला नै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आएको सिटिजन्स बैंकले यसपाली पनि आफ्नो विगतको नजिर उल्लघंन गरेन । अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकले गत असार मसान्तसम्ममा करिब १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहको अवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः ५५ प्रतिशत र ५२ प्रतिशतले बढी हो । बैंकले प्रतिसेयर आम्दानी करिब ११ प्रतिशत, खुद व्याज आम्दानी करिब २५ प्रतिशत, फि एण्ड कमिसन आम्दानी करिब ४१ प्रतिशत, गैरव्याज आम्दानी करिब ३५ प्रतिशत, संचालन नाफा करिब ३५ प्रतिशत, वितरणयोग्य नाफा करिब ७६ प्रतिशत र खुद नाफा करिब ३३ प्रतिशतले बढाएको छ । सिटिजन्सले एग्रेसिभ ग्रोथलाई भन्दा पनि क्वालिटी ग्रोथलाई बढी ध्यान दिएको छ । संचालनमा आएदेखि अधिकांश वर्षहरुमा सेयरधनीलाई दोहोरो अंकमा प्रतिफल दिइरहेको बैंकले आगामी दिनहरुमा पनि दोहोरो अंकमै प्रतिफल दिने लक्ष्यका साथ काम गरिरहेको छ । यही पृष्ठभूमिमा बैंकको अहिलेको अवस्था, आगामी योजना तथा कार्यक्रहरु तथा सिटिजन्स बैंक इन्टरनेसनलको अहिलेको समीक्षा जस्ता विषयमा केन्द्रित रहेर विकासन्युजका लागि सन्तोष रोकायाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलसँग कुराकानी गरेका छन्ः विभिन्न बैंक तथा वित्तीय संस्था प्राप्तिपछि बजारमा सिटिजन्स बैंकको स्ट्रेन्थ कस्तो रहेको छ ? बैंक तथा वित्तीय संस्था प्राप्तिपछि बजारमा सिटिजन्स बैंकको स्ट्रेन्थ भनेको विस्तारित शाखा संजाल, ठूलो चुक्ता पूँजी, ग्राहक संख्या तथा व्यवसायिक, प्रतिस्पर्धात्मक, दक्ष, कर्मठ मानव संसाधन नै हो । एक वर्षको अन्तरालमा यस बैंकले तीनवटा वित्तीय संस्थाहरु प्राप्ति गरिसकेको छ । यस बैंकले २०७७ साल असार २० गते नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक (जनकपुर केन्द्रीय कार्यालय रहेको), २०७७ चैत्र १४ गते राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक र २०७८ असार २६ गते नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ । यीभन्दा अघि पनि बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स र प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको थियो । बैंकले स्थापनाकालदेखि हालसम्म कुल ६ वटा वित्तीय संस्थाहरुलाई आफूमा समाहित गरी बैंक सप्तरंगी भइसकेको छ । सर्वप्रथम प्राप्तिपछि बैंकको शाखा संजालमा आमुल परिवर्तन आएको छ । सहयोगी विकास बैंक प्राप्तिअघि यस बैंकको धनुषा, महोत्तरीमा ४ वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात उक्त क्षेत्रमा हाल बैंकले १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ । त्यसैगरी, तिनाउ मिसन डेभलपमेण्ट बैंक प्राप्ति पश्चात यस बैंकको वागमती प्रदेशमा ५ वटा, गण्डकी प्रदेशमा ५ वटा तथा लुम्बिनी प्रदेशमा ४८ वटा गरी कुल ५८ वटा शाखाहरु थपिएका छन् । यसैगरी, सिर्जना फाइनान्स प्राप्ति पश्चात प्रदेश नं १ मा १४ वटा र प्रदेश नं २ मा ७ वटा गरी कुल २१ वटा शाखाहरु थपिएका छन् । हाल यस बैंकले प्रदेश नं १ मा २७, प्रदेश नं २ मा २७, वागमती प्रदेश मा ४३, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ५९, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ७ वटा शाखा गरी कुल १८४ वटा शाखाहरुबाट सेवा प्रवाह गरिरहेको छ । अर्को स्ट्रेन्थ यस बैंकको चुक्ता पूँजी हो । यस एक वर्षको अन्तरालमा चुक्ता पूँजी करिव ४६ प्रतिशतले बढेको छ । यी ३ वटै संस्थाहरु प्राप्तिअघि यस बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसैगरी ग्राहक संख्यामा पनि ठुलो उछाल आएको छ । एक वर्षको अन्तरालमा ग्राहक संख्या करिव १०० प्रतिशतले बढेको छ । प्राप्तिअघि यस बैंकले करिव ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएकोमा हाल करिव १२ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ । अर्को महत्वपूर्ण पाटो भनेको मानव संसाधन हो । हामीले यस प्राप्तिहरुबाट व्यवसायिक, प्रतिस्पर्धात्मक, दक्ष, कर्मठ मानव संसाधन भित्राउने मौका पाएका छौं । र, यसलाई मैले बैंकको अवयवको रूपमा हेर्दै आएको छु । कुनै पनि संस्थाको सफलता वा असफलता त्यस संस्थामा काम गर्ने व्यक्तिमाथि नै भर पर्छ जस्तो मलाई लाग्दछ । यस बैंकले सहयोगी विकास बैंकबाट ८४ जना, तिनाउ मिसन डेभलपमेण्ट बैंकबाट ४५४ जना र सिर्जना फाइनान्सबाट १४४ जना गरी कुल ६८२ जना दक्ष मानव संसाधन पाएका छौँ, जुन सबैभन्दा ठूलो स्ट्रेन्थ हो । यसप्रकार प्राप्तिबाट वित्तीय संस्थाहरुको संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई समेत सहयोग पुगेको छ भने देशमा व्यवसायिक क्रियाकलाप एवं समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने म ठान्दछु । साथै बैंकको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय परिसूचक, मानव–संशाधन तथा प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुनाको साथै देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्नेमा म विस्वस्त छु । बैंकको स्थापनाकालको अवस्था र हालको अवस्थालाई तुलनात्मक रुपमा कसरी हेर्नु भएको छ ? सेवाग्राही केन्द्रीत, सेवामा उत्कृष्टता र इमान्दारीता, मिजासिला र उत्कृष्ट जनशक्ति, जवाफदेहीता र पारदर्शीता सहितको संस्थागत सुशासनका साथै देश विकासका लागि सामाजिक अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता सहित देशको २० औं वाणिज्य बैंकको रुपमा २०६४ बैशाख ७ गते सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड स्थापित भएको हो । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट सुरु भएको यस सिटिजन्स बैंक इन्टरनेशनलले झण्डै १५ वर्षे यात्रा अवधिमा चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । स्थापना भएको करिब डेढ वर्षमा ३० करोड रुपैयाँ बरावरको साधारण शेयर निष्काशन गरेर बैंकले चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याएको थियो । बैंकले साधारण शेयर निष्काशनपछि हालसम्म लगानीकर्तालाई २ आर्थिक वर्षमा बाहेक हरेक आर्थिक वर्षमा दोहोरो अंकको प्रतिफल दिँदै आएको छ । स्थापना वर्ष २०६३/६४ मा बैंकले कुल ८८ दिन कारोवार संचालन गरेको थियो । उक्त अवधिमा ११४४ ग्राहकबाट कुल १ अर्ब ५५ करोड ३१ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी २५३ ग्राहकहरुलाई २ अर्ब ४ करोड ६७ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा बैंकले ५२ लाख ११ हजार रुपैयाँ संचालन नाफा गरेको थियो । आर्थिक वर्ष २०७७\७८ मा १२ लाख ३ हजार १९१ ग्राहक बाट करिब १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५८ हजार ८५४ ग्राहकहरुलाई करिव १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले करिब २ अर्ब १५ करोड रुपैयाँ संचालन नाफा गरेको छ भने खुद नाफा करिब १ अर्ब ५९ करोड रुपैयाँ छ । स्थापनाको पहिलो वर्ष बैंकले ५ वटा शाखाबाट सेवा प्रदान गर्दै आएकोमा आजको दिनमा बैंकले देशैभरि फैलिएका १८४ शाखाहरुबाट बैंकिंग सेवा प्रदान गर्दै आएको छ । सर्वोत्कृष्ट सेवाका लागि परिचित अग्रपंक्तिको बैंकका रुपमा स्थापित हुने लक्ष्य लिएको बैंकले स्थापना हुँदा ४४ जना कर्मचारीबाट बैंकिङ सेवा प्रदान गरेकोमा हाल बैंकले १ हजार ६६२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि देखिएको छ । आजभन्दा १० वर्ष अघि १९ करोड ८० लाख रुपैयाँमा सीमित रहेको बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर एक अर्ब रुपैयाँभन्दा माथि रहँदै आएको छ । सिटिजन्स बैंक उत्कृट १० वाणिज्य बैंकभित्र पर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । यसबाट बैंकका लगानीकर्तालाई बितरण गरिने प्रतिफलको दरमा आकर्षक सुधार गरी आगामी वर्षहरुमा पनि दोहोरो अंक कायम गरिरहने योजना छ । हाल बैंकको वित्तीय अवस्थाका बारेमा केही बताइदिनुस् न ? असार मसान्तसम्मको तथ्यांकको आधारमा यस बैंकले सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४३ अर्ब रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी १ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा क्रमशः ५५ प्रतिशत र ५२ प्रतिशतले बढी हो । यस र्आिर्थक वर्षमा सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी भने १५.३८, खुद व्याज आम्दानी करिब ३ अर्ब ६० करोड, फि एण्ड कमिसन आम्दानी करिव ८२ करोड, गैरव्याज आम्दानी करिब १ अर्व ५२ करोड, संचालन नाफा करिब २ अर्ब १५ करोड, वितरणयोग्य नाफा करिब १ अर्ब ८० करोड, खुद नाफा करिब १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा क्रमशः करिब ११ प्रतिशत, २५ प्रतिशत, ४१ प्रतिशत, ३५ प्रतिशत, ३५ प्रतिशत, ७६ प्रतिशत र ३३ प्रतिशतले बढी हो । बैंकले हाल देशभर १८४ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हरेक वर्ष सिटिजन्स बैंकले वित्तीय प्रतिवेदन सबैभन्दा पहिला प्रकाशित गर्दै आएको छ । हालको विषम अवस्थामा पनि यस बैंकले सबैभन्दा पहिला वित्तीय प्रतिवेदन प्रकाशित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन र नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात् उक्त वित्तीय प्रतिवेदन फाईनल हुनेछ । त्यस लगत्तै वार्षिक साधारणसभा गर्ने योजना रहेको छ । बैंकको सफलतामा तपाईंको भूमिकालाई कसरी मुल्यांकन गर्नुहुन्छ ? मैले मेरो सफलताको श्रेय यस बैंकको विभिन्न युनिटमा कार्य सम्पादन गर्दै आउनु भएका कर्मचारीहरुलाइ दिन्छु । आज उहाँहरु हुनुहुन्छ र म यहाँ छु । यस बैंकको कर्मचारी छनौटको विधि अति नै वैज्ञानिक रहेको छ । हाम्रो प्रगतिको आधारशिला भनेको नै दक्ष, राम्रा कर्मचारी हुन् । त्यसैले म सदैब हाम्राभन्दा राम्रा कर्मचारीले नै बैंकको विकाश हुने कुरामा विश्वास राख्दछु । बैंक भन्ने एक दिगो संस्था हो, जुन अनन्तकालसम्म चल्छ । दिगोपनको लागि राम्रा कर्मचारी नै अवयव हुन् जस्तो मलाई लाग्दछ । मैले सदैव काम गर्दा ‘बटम अप एप्रोच’को अवाधारणा अवलम्बन गर्दै आएको छु । म सदैब सिस्टमले काम गर्नुपर्छ भन्ने सोचको मानिस हुँ । र, त्यसका निम्ति मैले मेरा मातहतका विभागहरुलाई सबल बनाउन यथासम्भव प्रयत्न गर्दै आएको छु । यस संस्थामा काम गर्नु हुने सबैजना एकदमै प्रोफेसनल हुनुहुन्छ । र, आज यहाँसम्म ल्याउन उहाँहरुको योगदान एकदमै महत्वपूर्ण रहेको छ । मैले सधै भन्दै आएको छु– मैले नेतृत्व गर्दै आएको संस्थामा ‘एबीसी’ भन्ने भाईरस चल्दैन । म स्वयम् नै एउटा बलियो एन्टिभाइरसको रूपमा लागिपरिरहेको छु । यस संस्थामा आफ्नो मान्छे, भनसुन र चाकरी चाप्लुसीको कुनै औचित्य छैन । म कर्मचारीको मनोबल उकासेर उहाँहरुबाट अपेक्षित प्रतिफल निकाल्न प्रयासरत छु । म अहिले पनि तीन शिपÞm्टमा काम गर्छु । बिहान उठ्ने बित्तिकै मेरो कम्प्युटर खुल्छ र बैंकको काम थाल्छु । मैले घरबाट नै विभिन्न रिपोर्टहरु बनाएर सम्बन्धित सबैलाई पठाउने गरेको छु । मैले स्वीकृत गर्नु पर्ने फाइलहरु समेत मैले घरबाट नै स्वीकृत गर्ने प्रबन्ध मिलाएको छु । त्यसपछि म करिब साँझसम्म कार्यालय मै हुन्छु, त्यो मेरो दोश्रो शिफ्ट हो । त्यसपछि घर आउने वितिकै मेरो तेस्रो शिफ्टको काम सुरु हुन्छ । यसरी मैले वर्षको ३६५ दिन नै बैंकको प्रगति र उन्नतिको लागि समर्पित भई काम गरिरहेको छु । म यस बैंकको स्थापना काललदेखि नै आबद्ध छु । र, यस क्रममा २०६५ सालदेखि नैे म दोस्रो वरियतामा रही बैंकमा विभिन्न कार्यसम्पादन गर्दै आएको थिएँ । मेरो यही अनुभवलाई मध्यनजर राखेर मलाई संचालक समितिले २०७५ साल चैत्रको १८ गते प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको हो । मैले कार्यभार सम्हाल्दा बैंकसँग करिव ६७ अर्बको निक्षेप संकलन थियो, जुन आजको दिनमा करिब १ खर्ब ४३ अर्ब रहेको छ । यसैगरी करिब ६२ अर्बको कर्जा प्रवाह भएकोमा आज त्यो कर्जा प्रवाह करिब १ खर्ब २३ अर्ब रहेको छ । चुक्ता पुँजीको कुरा गर्ने हो भने करिव ८ अर्ब ३७ करोडको चुक्ता पुँजी आज १२ अर्ब ५८ करोड पुगेको छ । यस अन्तरालमा हामी शाखा संजालको विस्तारमा समेत आक्रामक भएर लागि परेका छौं । मैले कार्यभार सम्हाल्दा हामीले ८१ वटा शाखाहरुबाट बैंकिंग सेवा प्रवाह गर्दै आएका थियौं । आज हामीले सातवटै प्रदेशमा छरिएर रहेका १८४ वटा शाखाबाट गुणस्तरीय बैंकिंग सेवा सुविधा आम नेपाली जन समक्ष पस्किरहेका छौं । यस अन्तरालमा हामीले खुद नाफामा पनि ठूलो छलांग मारेका छौं । करिब १ अर्बको हाराहारीमा रहदै आएको नाफा आज करिब १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यसैगरी करिब ४ लाखको हाराहारीमा जोडिनु भएको ग्राहक संख्या बढेर आज करिब १२ लाख भएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै हामीले घरबाट नै प्रयोग गर्न मिल्ने बैंकिंग सेवा सुविधाको व्यापक विस्तार गरेका छौं । आजको दिनमा हामीसँग करिब ४ लाख ५७ हजार मोबाइल बैंकिंग प्रयोगकर्ता हुनुहुन्छ भने करिव २ लाखको हाराहारीमा कार्डको प्रयोगकर्ता हुनुहुन्छ । यसरी हेर्ने हो भने सबै सूचकहरु सकारात्मक नै देखिन्छन् । यसैगरी २०७५साल माघ २० गतेबाट बैंकको कोर बैंकिङ सफ्टवयर फिनाकल भर्सन १०.२.१८ मा प्रतिस्थापन गरिएको थियो । नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पु¥याँउने अभिप्रायका साथ बैंकले त्यस बखत प्रयोग गर्दै आएको पुमरी फोर प्लसबाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीको फिनाकल कोर बैंकिङ सफ्टवयर भर्सन १०.२.१८ मा प्रतिस्थापन गरेको थियो । यी सूचकहरुमा आमूल परिवर्तन ल्याउन त्यति सहज थिएन । म आजको दिनमा पनि यहाँ उपलब्ध रहेको स्रोत साधनको अधिकतम प्रयोगमा नै विश्वास गर्छु । अहिले पनि मैले मेरो समयको तीन चौथाई बैंकको काममा नै व्यतित गरि रहेको हुन्छु । मैले मेरो जीवनको अमुल्य समय यही बैंकलाई सुम्पेको छु र इमान्दारीपूर्वक म बैंकको भलो होस भन्ने उद्देश्यका साथ अहोरात्र खटिराखेको छु । हालसम्म आइपुग्दा बैंकले वित्तीय साक्षरता र पहुँचमा गरेका कामहरु के–के हुन् ? वित्तीय साक्षरताका निम्ति यस बैंकले निरन्तर रूपमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । वित्तीय पहुँच अभिवृद्धि गर्ने अभिप्रायका साथ यस बैंकले स्थापना कालदेखि नै विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । बैंकले बैंकिंग सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आफ्नो बार्षिक उत्सवको अवसरमा वित्तीय साक्षरता ¥याली गर्दै आएको छ । गाउँ घरमा रहेका नेपाली जनतालाई बैंकिंग सम्बन्धी जागरण गराउने अभिप्रायले बैंकका विभिन्न शाखाहरुबाट घरदैलो कार्यक्रमहरु संचालन गरिंदै आएको छ । सर्वसाधारणलाई वित्तीय साक्षरताका निम्ति यस बैंकले विभिन्न श्रब्यदृश्य सामाग्रीहरु विभिन्न संचार माध्यमबाट प्रसारण गर्दै आएको छ । यसै आवमा बैंकले वित्तीय साक्षरता सम्बन्धि एउटा श्रब्यदृश्य सामग्री निर्माण गरी सामाजिक संजालको माध्यमबाट प्रसारण गरेको छ । यसैगरी बैंकले २० वटा जानकारीमुलक श्रब्यदृश्य सामग्री निर्माण गरी सामाजिक संजालको माध्यमबाट प्रसारण गरेको छ । विगत वर्षयता हामीले नियामक निकायको निर्देशन बमोजिम एनएफआरएसको आधारमा लेखा प्रणालीको प्रयोग गर्दै आएका छौं । यसअघि कार्यान्वयनमा रहेको नेपाल एकाउन्टिङ स्ट्याण्डर्ड र अहिलेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) मा मुलतः केही उल्लेखनीय भिन्नताहरु रहेका छन् । यसले गर्दा हामीहरुको हेर्ने दृष्टिकोण फरक फरक हुदाँ आम लगानीकर्ता तथा सेवाग्राहीमा विभिन्न संचार माध्यमबाट एउटै वितिय विवरणको फरक फरक विश्लेशण हुँदा आम सर्वसाधारणमा विभिन्न किसिमका शंकाहरु थिए । यसको निराकरण निम्ति बैंकले सरोकारवाला सम्मेलित एउटा अन्तरक्रिया कार्यक्रम संचालन गरेका थियौं । कृषि, घरेलु तथा साना उद्यम लगायतका व्यवसाय सञ्चालनमा कर्जा प्रवाह बढाउँदै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई सफल बनाउन यस बैंकले विभिन्न योजनाहरु संचालनमा ल्याएको छ । वित्तीय साधन परिचालनलाई आर्थिक क्रियाकलाप विस्तार, रोजगारी सिर्जना र दीगो आर्थिक विकास प्रवद्र्धन गर्नेतर्फ बैंकले कार्य गरिरहेको छ । राज्यले लिएको विभिन्न किसिमका कर्जा नीतिलाई सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैंकले देशैभरी छरिएका १८४ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ । नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा आएको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिमको १० लाख रुपैयाँसम्मको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, १५ लाख रुपैयाँसम्मको महिला उद्यमशील कर्जा र उक्त कार्यविधिमा उल्लिखित अन्य सहुलियतपूर्ण कर्जाहरु एवम् १५ लाख रुपैयाँसम्मको कृषि, उद्यम, हस्तकला तथा सीपमुलक व्यवसाय प्रवद्र्धन कर्जा प्रदान गर्ने कार्यमा बैंक अग्रसर छ । यसै सिलसिलामा सिटिजन्स बैंक इन्टरनेसनल र रिटर्नी माइग्रेन्ट नेपालका बीच सहुलियतपूर्ण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका बैंकले यो सम्झौता गरेको छ । मिहिनेत गर्न सक्ने उमेर, जोश जागर, विदेशबाट आर्जित शिप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा म विश्वस्त छु । व्यावशायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवशायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई मत्थर पार्न बैंकले विभिन्न योजनाहरु संचालनमा ल्याएको छ । यसैगरी महिला उद्यमी महासंघ, नेपालका बीच सहुलियतपूर्ण महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ । बैंकलाई सफल बनाउन सञ्चालक समितिको भूमिका कस्तो रहन्छ ? मुख्यत बैंक वा वित्तीय संस्थाको साधारणसभाबाट हुने काम बाहेक प्रचलित कानून, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैंक वा वित्तीय संस्थाले गर्नुपर्ने सम्पूर्ण काम, कर्तव्य र अधिकार सञ्चालक समितिमा निहित रहने गर्दछ । बैंकले गर्नुपर्ने काम सुव्यवस्थित रुपले सञ्चालन गर्न प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशनको अधीनमा रही आवश्यक विनियम, निर्देशिका र कार्यविधि बनाउनु, बैंकको कारोबारमा जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन आफ्नो नीति र रणनीति अनुरुप बैंकिङ्ग कारोबार होसियारीपूर्वक सञ्चालन गर्न आन्तरिक नियन्त्रण प्रणाली एवं जोखिम व्यवस्थापन मापदण्ड तयार गर्न, बैंकले गर्नुपर्ने सम्पूर्ण काम कारबाहीको लागि आवश्यक नीतिगत व्यवस्था गर्न, काम कारबाहीको नियमित अनुगमन गर्न बैंक वा वित्तीय संस्थाको सञ्चालकले संस्थाको कुशल व्यावसायिक रणनीतिको अवलम्बन गर्नका निम्ति संचालक समितिको अतुलनिय भूमिका रहन्छ । कुनै पनि बैंकको सफलता वा असफलता संचालक समितिमा नै निर्भर हुन्छ । हामीले हेर्दै आएका छौं कि संचालक समितिमा भएको किचलोको कारण केही संस्थाहरु धराशाही भएका छन् । हाम्रो बैंकको संचालक समितिमा विभिन्न प्रतिष्ठित संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तथा बैंकिंङ बुझ्नु भएका व्यक्तिहरु हुनुहुन्छ, जसकारण हामीलाई इथिकल बैंकिंग गर्न सहज भएको छ । तपाईले हेर्ने हो भने हामीले केहि वर्षयता संचालक समितिको मार्गदर्शन कै कारण सबैजस्तो सूचकहरुमा उल्लेखीय सफलताहरु हात परेका छौं । तसर्थ मेरो विचारमा बैंक जस्तो अति संवेदनशील संस्थाको प्रगति मुख्यतः संचालक समितिमा नै निर्भर हुन्छ । बैंक कालान्तरसम्म चलिरहनु पर्ने संस्था भएकोले दिगो प्रतिफल दिने गरी दिगो व्यवसायिक विस्तारमा जाने दिर्घकालिन नीति संचालक समितिको रहेको छ । त्यसैले संचालक समितिले एग्रेसिभ ग्रोथको को सट्टा क्वालिटी ग्रोथमा विश्वास गर्दछ । बैंकको दिर्घकालिन रणनीतिलाई साकार पार्नका निम्ति संचालक समितिले दिएको सल्लाह सुझाव अति नै महत्वपूर्ण हुन्छ । बैंकलाई गतिशील र अर्जुन दृष्टि प्रदान गर्न संचालक समितिको अतुलनीय भूमिका रहन्छ । बाधा अड्कन फुकाउने हाम्रो सर्वोच्च निकाय भनेको संचालक समिति नै हो । यसैगरी संस्थागत सुशासनलाई पालना गराउन पनि संचालक समितिको महत्वपूर्ण भूमिका रहन्छ । बैंकका आगामी योजना के कस्ता छन् ? यस बैंकले सम्पूर्ण सरोकारवालाहरुको हितलाई मध्यनजर राख्दै भावी योजनाहरु संचालन गर्ने लक्ष्य राखेको छ । बैंक समयको बेगसँग चल्नुपर्ने एक संस्था हो । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रमसँग यस पुस्तालाई साक्षात्कार गराउन यस बैंकले समयानुकुल सेवा सुविधा संचालनमा ल्याएको छ । आफ्ना ग्राहक महानुभावहरुलाई घरबाट नै बैंकिंग सेवा सुविधा प्रदान गर्ने ध्येयका साथ विभिन्न आधुनिक प्रविधिमैत्री सेवा सुविधा सार्वजनिक गर्दै आएको कुरा बिदितै छ । बैंकले आगामी दिनमा डिजिटलाइजेसनलाई केन्द्रबिन्दुमा राखेर कार्य सम्पादन गर्नेछ । बैंकको आन्तरिक काम कारवाहीको प्रक्रियालाई अझ थप प्रभावकारी तथा ग्राहकमैत्री बनाउन केही दिनमा नै हामी कल सेन्टरको स्थापना गर्दैछौं । ग्राहकका गुनासो तथा सुझावलाई यथासम्भव चाँडोभन्दा चाँडो सम्वोधन होस भन्ने उद्देश्यका साथ चुस्त दुरुस्त संयन्त्रको विकासका निम्ति हामीले हाम्रो स्रोत साधनलाई परिचालन गरिसकेका छौं । एउटा व्यवसायिक संस्था भएको नाताले हाम्रो दायित्व भनेको हाम्रो लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिनु हो । र, आगामी समयमा पनि कन्सिस्टेन्ट रिटर्न दिने नीतिका साथ हामी व्यापार विस्तारमा होमिएका छौं । यस बैंकमा कार्यरत कर्मचारीहरुलाई अझ राम्रो वातावरण सिर्जना गर्नेतपÞर्m हामी उन्मुख छौं । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना समेत रहेको छ ।
प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गर्दैछौंः सिईओ अर्याल
२०७४ सालमा बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने लाइसेन्स पाएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै पनि सर्वसाधारणको लागि सेयर (आईपीओ) जारी गरेको छैन । कम्पनीले आईपीओ जारी नगरेको कारण २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेमा अझै पनि १ अर्ब ४० करोड रुपैयाँ मात्रै चुक्ता पुँजी छ । कम्पनीले अहिले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले ६० लाख कित्ता सेयर प्रिमियम मूल्यमा विक्री गर्न लागेपनि सबै प्रक्रिया पूरा नभएको कारण प्रिमियम मूल्यमा आउने नआउने यकिन छैन । कम्पनीले साउन २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभा बोलाइसकेको छ । कम्पनीको जीवन बीमा कोषमा करिब २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । सल्भेन्सी मार्जिन १.५ भए पुग्नेमा १.८२ छ । जगेडा कोषमा ३३ करोड रुपैयाँ पुगेको छ भने कम्पनीले गत असार मसान्तसम्ममा २ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अहिलेसम्म २३ शाखा र १४५ उपशाखा गरी कम्पनी नेपालभर आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । कम्पनीले बिमितलाई मनीव्याक पोलिसीमा प्रतिहजार रुपैयाँमा २२ देखि ३२ र आवधिक जीवन बीमा पोलिसीमा ३० देखि ७५ रुपैयाँसम्म बोनस दिने गरेको छ । व्यवसाय विस्तारसँगै ‘सस्टेनेवल विजनेस’को मान्यतामा रहेको सन नेपाल लाइफले किन प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लाग्यो, कम्पनीको कम्पनीको अहिलेको अवस्था कस्तो छ र अवका दिनमा कसरी अघि बढ्ने रणनीति बनाइरहेको छ भन्ने लगायतका विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालसँग गरिएको कुराकानीः हामीले लामो समयसम्म कोरोना भाइरसको त्रास भोग्यौं, अहिले विस्तारै रिभाइव हुने प्रयत्न गरिरहेका छौं । कोरोनाकालमा अनुभव र सिकाई कस्तो रह्यो ? विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो सम्पूर्ण क्षेत्र र समग्र अर्थतन्त्रलाई असर गरेको छ । कोरोनाले कसैलाई पूर्ण रुपमा क्षति पुर्याएको छ भने कसैलाई केही कम क्षति पुर्याएको छ । समग्रमा भने सबैलाई नोक्सान नै भएको छ । बीमा कम्पनीहरु पर्फर्मेन्समा पनि केही हिट गरेको छ । गत आवको तुलनामा केही सुधार भएको होला तर समस्या भने अझै पनि छ । कोरोनाकै कारण प्रिमियम घटेको देखिन्छ । खर्च बढेको देखिन्छ । व्याजदर घटेको छ । यी सबै सूचकहरु हेर्दा बीमा कम्पनीहरुको वित्तीय अवस्था के कस्तो हुन्छ, त्यो भने हेर्न नै बाँकी छ । अर्को, प्रविधि प्रयोगको विषय पनि महत्वपूर्ण हो । बीमा क्षेत्रलाई के कसरी प्रविधिमैत्री बनाउन सकिन्छ । कोरोना महामारीमा पनि सामाजिक दूरी कायम गरेर व्यवसायिक प्रवद्ध्र्रन कसरी गर्न सकिन्छ भन्ने तर्फ हामीले सोच्नु पर्छ । जबसम्म इन्टरनेटमार्फत नै सर्भिस दिन सक्ने मेकानिजम बनाउन सक्दैनौं, तबसम्म व्यवसायिक ग्रोअप गर्न सकिँदैन भन्ने सन्देश यो महामारीले दिएको छ । यसमा नियामक निकायले पनि डिजिटाइज गर्न निर्देशन दिइसकेको छ । आशा गरौं, विस्तारै यसको प्रयोग बढ्ला । डिजिटल सर्भिस तथा अनलाइन प्लेटफर्महरुको प्रयोगबिना हामी अगाडि बढ्न सक्दैनौं भन्ने मेरो बुझाई छ । सन नेपाल लाइफ इन्स्योरेन्ससँगै लाइसेन्स पाएका अन्य कम्पनीले आईपीओ जारी गरिसके, तपाईंहरुले किन ढिला गर्नुभएको ? कम्पनी स्थापना हुँदा नियमनकारी सर्त भनेको संस्थापक सेयर ७० प्रतिशत र सर्वसाधारण सेयर ३० प्रतिशत गरी २ अर्ब रुपैयाँ पूँजी पुर्याउने भन्ने हो । तर, कहिले आईपीओ ल्याउने भन्ने कुनै निश्चित अवधि नतोकिएको, नियमनकारी मापदण्डहरु पनि परिवर्तन भएको लगायतका कारणहरुले ढिलो भएको हो । अब ल्याउँछौं । अब कहिले आउँछ ? तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । चाुल आर्थिक वर्षभित्र पक्कै आउँछ । प्रिमियममा आईपीओ ल्याउन लाग्नु भएको हो ? पछिल्लो समय धितोपत्र सम्बन्धि संरचनाहरु परिवर्तन भएको छ । योग्यता पुगेका कम्पनीहरुले मात्रै प्रिमियममा आईपीओ जारी गर्न पाउँछन् । आजको दिनमा हामीले ती योग्यताहरु पूरा गरेका छौं । सबै मापदण्डहरु पालना गर्न सकियो भने प्रिमियममा पनि आईपीओ आउन सक्छ । तर, यो नियमनकारी संयन्त्रसँग जोडिएको विषय पनि हो । सबै विषयहरु मिल्यो भने मात्रै प्रिमियममा पनि जान सकिन्छ भन्ने मान्यतामा कोसिस गरिरहेका छौं । अहिलेसम्मका बीमा कम्पनीहरुले बुक भ्यालुमै आईपीओ ल्याए तर, सन नेपालले फरक ढंगले सोच्नुको कारण के हो ? प्रिमियम मूल्यमा आईपीओ जारी गर्न पाइने पहिलो कुरा हो । धितोपत्र निस्कासन सम्बन्धी व्यवस्था अद्यावधिक भएको कारणले यो परिस्थिति सिर्जना भएको छ । यो व्यवस्था तथा यो अवधारणा हाम्रो बजारमा हालसालै मात्रै आएको हो । यसमा केही सर्तहरु पनि छन् । विद्यमान व्यवस्थाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने भएकोले हामीले पनि त्यसको प्रयास गरेका हौं । कम्पनीको समग्र पफर्मेन्स कस्तो छ ? सन्तोषजनक नै छ । हामीले कम्पनी स्थापना गर्ने समयमा जुन लक्ष्य लिएका थियौं, त्यसलाई अनुसरण गर्दै अगाडि बढिरहेका छौं । कम्पनीका सम्पूर्ण परिसूचकहरु सकारात्मक नै छन् । हाम्रो पहिलो प्राथमिकता जनशक्तिको सीप अभिवृद्धि गर्ने र त्यसको व्यवस्थापन नै हो । त्यसमा हामी लागिरहेका नै छौं । हामी जसरी अगाडि बढ्न खोजेका थियौं, त्यसका लागि सम्पूर्ण रुपले तयार छौं । हाम्रो भोलिको दिशा के हुन्छ ? कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा हामी सचेत छौं । सम्पूर्ण कर्मचारी पनि सोही किसिमले काम गरिरहेका छन् । आजसम्म व्यवसायिक रुपमा पनि हामी अव्बल नै छौं । जीवन बीमामा पहिलो प्रिमियमको नेक्सस अन्तिम किस्तासँग जोडिएको हुन्छ । त्यो अन्तिम अवस्थासम्म पुग्न सकिएन भने आज गरिएको बिजनेस भोलि कोल्याप्स हुन्छ । आज हामीले अनराइट गरेको व्यवसाय भोलि कुनै किसिमले निरन्तर हुन सकेन भने कम्पनीको जीवनमा अझ खराब अवस्था सिर्जना हुन सक्छ । त्यसले कम्पनीको नेटवर्थमा नकारात्मक असर पर्छ । यस्तो अवस्था आउन नदिनको लागि हामी अहिले नै सचेत भएर काम गरिरहेका छौं । व्यवसाय विस्तार र प्रवद्र्धनको आधारमा हामी कुन स्थितिमा छौं भन्ने विषय त बजारले हेरेको छ । बजारमा कुल प्रिमियमलाई हेर्ने हो भने सन नेपालको हिस्सा त कम छ नि है ? प्रिमियमको विषयमा बजारमा धेरै प्रश्नहरु उठेका छन् । यी प्रश्नहरु आफै उत्तरित छन् । यो विषयमा म धेरै प्रवेश गर्न चाहन्नँ । हाम्रो फोकस भनेको दीर्घकालीन व्यवसाय हो । जीबन बीमा भनेको आज गरेर भोलि त्यसको नतिजा देखिने होइन । यो व्यक्तिले आफ्नो जीवनकाल भरिका लागि गर्ने लगानी हो । यसको निरन्तरता हुन सकेन भने त्यो कहिँ न कहिँ त्रुटिपूर्ण हुन्छ । भोलिका दिनमा त्यसका दीगोपना माथि नै प्रश्न उठ्छ । हामीले यो विषयलाई मनन् गरेर अगाडि बढ्नु पर्छ र सोही किसिमले व्यवसाय गर्नुपर्छ । हाम्रो फोकस पहिलो प्रिमियम भन्दा पनि रिन्युएबल प्रिमियम ग्यारेन्टी होस् भन्ने हो । व्यवसायले निरन्तरता पाओस् भन्ने हाम्रो मुख्य प्राथमिकता हो । सन नेपाल इन्स्योरेन्स कम्पनीको शाखा सञ्जाल र जनशक्तिको अवस्था कस्तो छ ? शाखा सञ्जाल विस्तारमा हामी नेपालभर नै छौं । सबै जिल्लाहरुमा हाम्रो उपस्थिति छ । बीमाको प्रकृति नै बजारिकरणमै बढी फोकस गर्ने हो । बजारिकरणको ओरेन्टेसनका लागि हामीले उपशाखा भनेर पनि राखेका छौं । ती उपशाखाहरु र शाखाहरु करिब डेढ सय वटा छन् । शाखाहरु २३ वटा मात्रै छन् । हामीले बनाएको संरचना कस्तो हो भन्ने विषयले पनि महत्व राख्छ । देशभर ३ सयको हाराहारीमा हामीसँग कर्मचारीहरु हुनुहुन्छ । अहिले बिजनेस विस्तार गर्नको लागि सन नेपालको फोकस केमा हो ? हाम्रो फोकस भनेको ‘ट्राडिस्नल पोलिसी’मै हो । एजेन्सी बिल्डअप गर्ने, ओरेन्टेसन गर्ने नै हाम्रो अहिलेको मुख्य प्राथमिकता हो । नयाँ कम्पनी बजारमा आइसकेपछि त्यसको संरचना निर्माण नै मुख्य विषय हुन्छ । त्यसका लागि धेरै समय दिनु पर्ने हुन्छ । धेरै विषयहरु सिकाउनु पर्ने हुन्छ । कम्पनी कसरी अगाडि बढ्न सकछ ? कसरी बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ? भन्ने विषयले नै पहिलो प्राथमिकता पाउँछ । यो आर्थिक वर्षदेखि हामीले माइक्रो इन्स्योरेन्समा फोकस गर्ने योजना बनाएका छौं । हामी सुरुमा त्यसको विस्तारलाई ध्यान दिन्छौं । अब त्यसलाई कसरी व्यवस्थित किसिमले अगाडि बढाउन सकिन्छ भन्ने कुरामै हाम्रो ध्यान जान्छ । बीमा कम्पनीको एजेन्टको कर्जा र अहिले पोलिसी सरेन्डरको विषयले निकै चर्चा पाएको छ ? नयाँ कम्पनीलाई यसको प्रभाव कतिको छ ? पहिला, एजेन्टको कर्जाको विषयमा कुरा गरौं । कम्पनीहरुले व्यवसाय प्रवद्र्धन गर्नका लागि वा अभिकर्ताको क्षमता अभिबृद्धि गर्नको लागि कर्जा दिएको होला । व्यवसाय प्रबद्र्धन गर्न दिइएको सापटी वा कर्जा व्यवसाय सम्बद्ध असुली प्रक्रियामा आधारित हुन्छ । अन्य कर्जाको विषयमा छलफल गर्न उपयुक्त छैन होला । अर्को सरेन्डरको विषय, व्यक्तिले आफ्नो जीवनकालका लागि जीवन बीमा गर्छ । व्यक्तिले २/३ वर्षपछि सरेन्डर गर्छु भनेर बीमा गर्दैन । केही गरेर कुनै गम्भीर समस्या आयो भने प्रिमियम तिर्न नसक्ने अवस्था आउन सक्छ । अथवा विदेश नै जानुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि मात्रै यो एक प्रकारको छुट हो । जुन सबैका लागि लागू हुने विषय भएन । तर, यसैलाई आधार बनाएर बीमा गर्नुहोस् भनेर कन्भिन्स गरेमा केही वर्षपछि सरेन्डर हुने समस्या देखापर्छ । तपाईंले यो पोलिसी सरेन्डर गर्न सक्नु हुन्छ भनेर पोलिसी विक्री गर्नु हुँदैन । गलत मार्केटिङ गर्नु भएन । जति वर्षको बीमा गरिएको हुन्छ निरन्तर रुपमा प्रिमियम तिर्न सक्नु पर्छ । बीचमै सरेन्डर गर्न मिल्दैन भन्ने किसिमले अघि बढ्नु पर्छ । सन नेपाल लाइफको सन्दर्भमा भन्ने हो नियम विपरित कर्जा वा सरेन्डरको समस्या छैन । जीवन बीमा कम्पनीहरुको संख्या पनि धेरै भएकोले अस्वस्थ प्रतिस्पर्धा हुन लाग्यो भन्ने गुनासो सुनिन्छ, अहिलेको अवस्था कस्तो महसुस गर्नुभएको छ ? संख्यात्मकभन्दा पनि गुणात्मक प्रतिस्पर्धा हुनुपर्छ भन्ने विश्वास गर्नुपर्छ । संख्या धेरै वा थोरैले केही फरक पर्दैन । तर, ओरेन्टेसनको कारणले गर्दा बजारमा केही अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । प्रतिस्पर्धा सकारात्मक नै हुनु पर्छ । कम्पनीको संख्या बढी भएको हो ? त्यो म कसरी भनौं ? नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा नेपाली बीमा क्षेत्रको योगदान करिब ३ प्रतिशत मात्रै छ । यो संख्या कम हो कि, बढी हो कि, कम हो भने बढाउनको लागि कम्पनीको संख्या थप गर्नुपर्छ वा कम्पनीको संख्या कम गरेर ठूलो कम्पनी बनाएर जानुपर्छ भन्ने विषय छ राज्यको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसमा काम गर्ने होला । कम्पनीको संख्याको विषयमा भन्दा पनि बजारमा कस्तो अवस्था छ, कति पारदर्शी रुपमा काम गर्न सकिएको छ भन्ने विषयमा बढी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ । अहिलेसम्म कस्ता प्रकारका प्रडक्टमा बढी आकर्षण छ ? हाम्रो सबै दीर्घकालिन पोलिसीहरु नै छन् । सर्टटर्मका पोलिसीहरु हामीसँग छैनन् । हामीले अब सर्टटर्मका पोलिसीहरुमा जानु पर्छ भन्ने योजना बनाएका छौं । अहिलेसम्मका पोलिसीहरुमा राम्रै आकर्षण नै छ । आवश्यकता अनुसार विभिन्न पोलिसीहरु ल्याउने प्रयास पनि हामी गर्नेछौं । बीमा कम्पनीहरुले नर्मल पोलिसीहरुमा बढी फोकस गर्ने हो कि वा टर्म पोलिसीहरुमा फोकस गर्ने हो ? यसमा दुईटा पाटो छ । कोरोना भाइरस जस्तो परिस्थितिमा टर्म पोलिसी पनि प्रभावकारी नै हुन्छन् । तर, दीर्घकालिन रुपमा परम्परागत पोलिसीहरु नै राम्रो र बढी प्रभावकारी हुन्छ जस्तो लाग्छ । टर्म पोलिसीमा प्रोटेक्सन चाहिँ बढी चाहिँन्छ । एउटा राम्रो, अर्को नराम्रो भन्ने भन्दा पनि दुवैलाई समान तरिकाले अगाडि बढायो भने राम्रो हुने र बीमा बजार पनि प्रभावकारी हुन्छ । बजारमा देखिने गरी नयाँ के काम गर्दै हुनुहुन्छ ? हामी बजारमै छौं । नेपाली बीमा क्षेत्रको इतिहासमा सबैभन्दा बढी ‘मास मिटिङ’ गरेर बीमा सम्बन्धि सचेतना जगाउने कम्पनी सन नेपाल लाइफ नै होला । सुरुवाती चरणमा हामीले प्रत्येक जिल्लामा मास मिटिङ गरेका छौं । आफुले गरिरहेको काम ‘पर्फेक्ट’ रुपमा गर्न सक्नुपर्छ । त्यो किसिमको सर्भिस हामीले दिन सकेका छौं । बीमा कम्पनीहरुका मालिक बिमित हुन् । उनीहरुलाई कसरी खुसी पार्न सकिन्छ, त्यसतर्फ हामीले ध्यान दिनु पर्छ । सन नेपालले त्यसतर्फ ध्यान दिइरहेको छ । हामीले सर्भिस किन्ने होइन, बेच्ने सिद्धान्तलाई आत्मसाथ गरिरहेका छौं । हामी हरेक परिसूचकमा अब्बल छौं । बजारले के गरिरहेको छ भन्ने कुरामा दौडिने भन्दा पनि आफ्नो लक्ष्य र उद्देश्यमा हामी अडिक छौं । अन्त्यमा, तपाईंका सम्पूर्ण बीमितहरुलाई सन्देश के छ ? हामीले प्रवाह गरेको सेवा पारदर्शी नै छ । हामीले दिने सेवा प्रवाहमा कुनै कन्फ्युजन छ भने हामीलाई भन्न सक्नु हुन्छ । ‘सन नेपाल लाइफ छ जहाँ, जीवन बीमा छ त्यहाँ’ भन्ने हाम्रो नारा नै छ । नारा जस्तै हामीले काम पनि गरिरहेका छौं । हामी हरेक ठाउँमा पुगेका छौं । घरघरमा गएर हामीले सेवा दिइरहेका छौं । सम्पूर्ण बीमितहरुलाई ढुक्क हुन हामी अनुरोध गर्छौं । बीमा जीवनभरका लागि गरिने लगानी हो । बुझेर जीवन बीमा गर्न चाहनु हुन्छ भने सन नेपालमै आउनुस् भन्ने अनुरोध पनि सम्पूर्णलाई गर्न चाहन्छु ।
सीईओ दाहाललाई प्रश्नः सानिमा बैंक मर्जरमा जान लागेको हो ? (भिडियाेसहित)
कोरोना महामारीसँग आर्थिक संकटको त्रास विश्वभर छ । नेपाल पनि त्यसबाट अलग छैन । तैपनि नेपालको वृहत अर्थतन्त्रका केही परिसूचकहरु राम्रा छन् । त्यसमा पनि बैकिङ्ग क्षेत्रले संकटको बेलामा पनि राम्रो गरिरहेको सन्देशहरु आएका छन् । सेयर बजारमा पनि बैकिङ्ग क्षेत्रको सकारात्मक प्रभाव देखिएका छन् । यहि बीचमा नयाँ मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । वित्तीय क्षेत्रमा बहस चलिरहेको छ । साथै पछिल्लो समय नेपालका बैंकहरुमा ह्याकरले आक्रमण गर्ने धम्कीपूर्ण सन्देश आएपछि अर्को त्रास फैलिएको छ । यिनै विषयको पेरिफेरीमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालसँग विकास वहस गरेको छौं । असार मसान्तमा बैंकहरुको कर्जा असुली राम्रो छ, नाफा पनि बढेको छ भन्ने सन्देशहरु आइरहेका छन्, वास्तविकता के हो ? यस वर्ष बैंकहरुको कर्जा विस्तार ऐतिहासिक रुपमा बढेको छ । वाणिज्य बैंकहरुले यस आर्थिक वर्षमा मात्र ८०० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी विस्तार गरेका छन् । वैदेशिक व्यापार पनि बढेको छ । आयात, निर्यात दुवै बढेको देखिन्छ । बैंकहरुको असार मसान्तको वित्तीय विवरण प्रकाशित हुन बाँकी नै छ । तर, चैत मसान्तको प्रकाशित विवरणलाई आधार मान्दा पनि बैंकहरुको सम्पत्ति २५.३८ प्रतिशतले वृद्धि भएको छ । तर, सञ्चालन शुन्य दशमलव १२ प्रतिशतले नाफा बढेको छ । सञ्चालन नाफा जम्मा ९ करोड मात्रले वृद्धि भएको छ । खुद नाफा भने करिव १२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको प्रोभिजन राइटव्याक भएकोले खुद नाफा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा चार खर्ब कर्जा विस्तार भएको थियो । त्यस वर्ष १९ अर्ब १६ करोड रुपैयाँ लोन लस प्रोभिजन गर्नु परेको थियो । १५ अर्ब रुपैयाँ अतिरिक्त प्रोभिजन गर्नु परेको थियो । यस पटक त्यस्तो प्रोभिजन गर्नु परेन । यस वर्ष अर्थतन्त्र राम्रो भयो । दोस्रो लकडाउन नभएको भए बैंकहरुको रिजल्ट झनै राम्रो हुने थियो । बैशाख १५ गतेपछिको लकडाउनले केही क्षेत्रलाई फेरि नराम्रो असर गरेको छ । तैपनि असार मसान्तमा ९० प्रतिशत कर्जाको व्याजसहित किस्ता उठेको छ । गत वर्ष बैशाखदेखि असारसम्म बैंकहरुले कर्जाको व्याजमा दुई प्रतिशत छुट दिनु परेको थियो । यसपाली परेको छैन । कर्जा असुली पनि राम्रो भएकोले बैंकहरुको वित्तीय विवरण राम्रो बन्ने अनुमान भइरहेको छ । यसपाली शुन्य दशमलव १२ प्रतिशत सञ्चालन नाफा हुनुमा पनि सेयरको मूल्य वृद्धिले सहयोग गरेको छ । बैंकहरुले आफूसँग भएको सेयर लगानी बिक्री गरेर पनि धेरैले नाफा बढाउन सफल भएका छन् । सेयर लगानीबाट आर्जित नाफा पनि घटाउने हो भने बैंकहरुको सञ्चालन नाफा ऋणात्मक छ चैत मसान्तसम्म । बैंकहरुको सञ्चालन नाफा किन घट्यो ? बैंकहरुको स्प्रेडदर पहिला ५ प्रतिशतको हाराहारीमा हुन्थ्यो । अहिले साढे ३ प्रतिशतको हाराहारीमा छ । यसको लाभ थोरै मात्रामा निक्षेपकर्ता र धेरै मात्रामा ऋणीले पाएका छन् । अहिले कर्जाको व्याजदर सवा ६ देखि ११ प्रतिशतसम्म छ । औषतमा ऋणिले साढे ८ प्रतिशतमा कर्जा पाएका छन् । दुई वर्षअघि कर्जाको औसत व्याजदर ११ प्रतिशत थियो । अहिले निक्षेपकर्तालाई पनि नोक्सान छैन । किनकी मुद्दतीमा औषत साढे ८ प्रतिशत व्याज वाणिज्य बैंकहरुमा पाइरहेका छन् जवकी मुद्रास्फीति ४ प्रतिशत मात्र छ । प्रतिस्पर्धाले गर्दा बैंकहरुको कमाई कम भएको छ । यसको लाभ निक्षेपकर्ता र ऋणीले पाएका छन् । बैंकको व्याजदर सन्तुलित अवस्थामा आएको हो ? राष्ट्र बैंकले स्प्रेडदर ४ दशमलव ४ प्रतिशत तोकेको छ । बैंकहरु उक्त सीमामा बस्न सक्थे । तर, प्रतिस्पर्धाले औसतमा साढे ३ प्रतिशतमा काम गर्न बैंकहरु बाध्य छन् । बैंकहरुको संख्या थोरै थिए भने निक्षेपकर्ता र ऋणी दुवैलाई अहिलेको जस्तो लाभ हुँदैन थियो । बैंकहरुको नाफा बढी हुने थियो । अहिलेको व्याजदर स्थीर होला वा तलमाथि होला ? यो बजारले निर्धारण गर्ने विषय हो । मेरो विचारमा ३/४ महिना व्याजदर स्थीर रहनेछ । मंसिरदेखि व्याजदर बढ्न सक्छ । आयात बढेको छ । अब विओपीमा प्रेसर पर्ने देखिन्छ । तर, केही बैंकहरुले साउनदेखि निक्षेपको व्याजदर बढाउन थालिसके नि ? अहिले पनि बैंकहरुसँग ३०० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ । कर्जा मागको चाप पनि कम छ । अहिले पनि हामी लकडाउनको अवस्थामा छौं । गत आर्थिक वर्षमा पनि कर्जा प्रवाह अधिक भएको लकडाउन खुलेपछि चैतसम्म हो । साउनमा कर्जाको माग कम हुन्छ । साउनमा २० अर्ब रुपैयाँ कर्जा घटेको छ । जबकी बैशाख, जेठ, असारमा क्रमशः ३७, ३६ र ५६ अर्बले कर्जा वृद्धि भएको थियो । दशंै तिहारको समयमा पनि कर्जाको माग कम हुन्छ । तसर्थ मंसिरपछि मात्र व्याजदर वृद्धि हुनसक्छ कि भन्ने हो । यदि कोभिडको थर्ड वेभ आयो, फेरि लकडाउनको अवस्था आयो भने व्याजदर बढ्दैन । पछिल्लो समय खोपको उपलब्धता बढेको छ । खोप लगाएपछि मानिसमा मनोबल बढेको छ । कोभिडको असर अझै ठूलो देखिएला ? भ्याक्सिनले मानिसमा कन्फिडेशन बढेको छ । यूरोप अमेरिकामा धेरै मानिसले भ्याक्सिन लगाइसकेकाले अब नेपालमा पनि खोपको उपलब्धता बढ्ला । चीनले ४० लाख खोप तत्काल दिने सम्झौता गरेपनि चीनबाट एक करोड डोज खोप ल्याउने तयारी भएको जानकारीमा आएको छ । अहिले फेरि अमेरिकामा, बेलायतमा न्यू भेरियन्टको संक्रमण बढ्दो छ । त्यसैले कोभिडको बारेमा अनिश्चिता अझै केही महिना रहन्छ कि । कोभिड संक्रमणको बीचमा पनि बैंकहरुले राम्रो गरेको देखिन्छ । द्वन्द्वकालमा होस्, राजनीतिक अस्थिरताको बेलामा होस्, महाभूकम्पपछि पनि बैंकहरु राम्रो नै थियो । के नेपालका बैंकहरु ठूला धक्काहरु पनि सामना गर्न सक्ने अवस्थामा पुगेका हुन् ? बैंकहरुको नेटवर्थ धेरै राम्रो छ । पुँजीकोषको कुरा छोडौं, सेयरहोल्डर फण्डको मात्र कुरा गर्ने हो भने सबैभन्दा कम सेन्चुरी बैंकको १० अर्ब ६४ करोड रुपैयाँ छ भने सबैभन्दा बढी नेपाल बैंकको ३४ अर्ब १५ करोड रुपैयाँ छ । सेन्चुरी बैंककै कुरा गर्न हो भने साढे १० अर्ब नोक्सान हुँदा पनि निक्षेपकर्ताको पैसा नगुम्ने भयो । नेपाल बैंकको ३४ अर्ब नोक्सान भयो भने पनि निक्षेपकर्ताको एक रुपैयाँ पनि गुम्दैन । केही वर्ष अघि मात्र एनआईसी एशिया बैंकबाट ह्याकरले झण्डै ५० करोड रुपैयाँ चोरे । गत साता मात्र दर्जन भन्दा बढी नेपाली बैंकलाई ह्याकरले थ्रेट दिएको समाचार आए । त्यसमा तपाईंको बैंकको नाम पनि आयो । पुँजी कोषको आधारमा बैंकहरु सुरक्षित भए पनि साइक्रर क्राइम जोखिम बढेको हो कि ? एनआईसी एशिया बैंककै कुरा गरौं । उक्त बैंकका स्वीफ्ट ह्याक भयो । ह्याकरले ५०/६० करोड रुपैयाँ लिएको थियो । त्यसको केही रकम फिर्ता गराउन सफल भएको कुरा पनि आए । वास्तविक अंक सार्वजनिक भएको छैन । तर वास्तविक कति नोक्सान भयो भन्ने कुरा राष्ट्र बैंकको जानकारीमा पक्कै छ । नोक्सान भएको रकम राष्ट्र बैंकले पक्कै प्रोभिजन वा राइटअफ गराएको छ । त्यो रकम प्रोफिट एण्ड लसमा बुक भैसकेको हुन्छ । त्यसका निक्षेपकर्ताको एक रुपैयाँ पनि नोक्सान भएन । एनआईसी एशिया बैंकको सेयरहोल्डर फण्ड २० अर्ब २३ करोड रुपैयाँ छ । चोर, फटाहा, डाँका भनेको जहाँ पनि हुन्छन् । प्रत्येक दिन ह्याकरले अट्याक गरेको देखिन्छ फाइर वालमा । जोखिम भएकैले बैंकमा पहिला फिजिकल सेक्युरिटी अफिसर मात्र राख्थे भने अहिले इम्फरमेशन सेक्युरिटी अफिसर राख्नु परेको छ । विज्ञहरुले पनि भनिरहेका छन् कि नेपालका बैंकहरुले अपनाएको सुरक्षाका विधिहरु अन्तर्राष्ट्रिय स्तरका छन् । सम्भावित जोखिम न्यूनिकरण गर्नको लागि नाफाको १५ प्रतिशत अपरेशन जोखिम कोषमा राखेका हुन्छौं । बीमा गरेका हुन्छन् । तर, नेपाली बैंकहरुले साइबर क्राइम इन्स्योरेन्स गरेका छैनन, यसको कारण के हो ? नेपालमा साइबर क्राइम इन्स्योरेन्स धेरैले गरेका छैनन् । यो विषयमा बैंकहरुको ध्यान गएको पनि छ । तर प्रिमियम ज्यादै महँगो भएकोले साइबर क्राइम इन्स्योरेन्स हुन सकेका छैनौं । यस क्षेत्रमा बैंकहरुको नोक्सानी नगन्य भएकोले पनि होला बीमाको अभ्यास कम छ । नेपाल राष्ट्र बैंक नयाँ मौद्रिक नीतिको तयारीमा छ । तपाईंहरु नियमित रुपमा अन्तक्रियामा हुनुहुन्छ । यस वर्षको मौद्रिक नीति फोकस के मा हुँदैछ ? गर्भनरसावले हामीसँग ठट्टा गर्दै भन्नुहुन्छ ‘मौद्रिक नीतिमा के आउँछ, मलाई पनि थाहा छैन ।’ हामीले भन्न सक्ने कुरा नै भएन । कोभिडको असर परेको क्षेत्रलाई रिसेड्युलिङ, रिस्ट्रक्चरिङ, रिफाइनान्सिङ अहिले पनि जरुरी छ । असार मसान्तमा पनि १० प्रतिशत ऋणीले व्याज बुझाउन सक्नु भएको छैन । उनीहरुलाई सहुलियत दिनुपर्छ । मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, व्याजदरलाई एकलदरमा राख्न हामीले विभिन्न विधि सुझाएका छौं । डिजिटल इकोनोमीलाई बढाउन र तरलताको समस्या सम्बोधन गर्ने नीति जरुरी छ । राष्ट्र बैंक विओपी नगेटिभ नहोस भन्नेमा चिन्तित देखिन्छ । अहिले पनि राष्ट्र बैंकसँग १२ खर्ब रुपैयाँ बराबर विदेशी मुद्राको संचिति भएकोले डराउनुपर्ने अवस्था छैन । सुनचाँदी जस्तो वस्तु आयातमा वृद्धि भएको छ भने नियन्त्रणमुखी नीति लिनुपर्छ । मेसिनर तथा कच्चा पदार्थको आयात वृद्धि भएको छ भने त्यसको जीडीपीमा योगदान नै गर्छ । अवस्था धेरै खराब छैन । हामीले २ करोडभन्दा बढी कर्जा दिने व्यवसायीहरुको वित्तीय विवरण विश्लेषण गरेर हेरेको छौं । अवस्था सोचभन्दा राम्रो छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न लागेको भन्ने अनौपचारिक सन्देशहरु आएका छन् । तपाईंहरुले के सन्देश पाउनु भएको छ ? यसबारे हामीलाई कुनै जानकारी छैन । यो जानकारी दिने विषय पनि होइन । समाचारहरुका आएजस्तै वाणिज्य बैंकहरुको न्युनतम चुक्ता पुँजी २५ अर्ब तोकियो भने ओभरक्यापिटलाईज हुन्छ कि ? ८ लाई २५ अर्ब रुपैयाँ बनायो भने ओभरक्यापिटलाईज हुन्छ, त्यसमा शंकै रहेन । राष्ट्र बैंकको अनुसन्धान विभागले विगतमा राष्ट्र बैंकले लिएको पुँजी वृद्धि, मर्जर, एक्विजिसनको असर कस्तो पर्यो भनेर अनुसन्धान गरिरहेको पनि छ । पुँजी वृद्धि तथा मर्जरको सम्बन्धमा मेरो भनाई के हो भने हामीले ठूला बैंक खोजेको कि राम्रा बैंक खोजेको ? यसमा राष्ट्र बैंक स्पष्ट हुनुपर्छ । हामीसँग ठूलो जनसंख्या भएको, रोजगारी सिर्जना गर्न नसकेको इण्डोनेशियाको उदाहरण पनि छ । थोरै जनसंख्या भएको तर सबै कुरा व्यवस्थित भएको सिंगापुरको उदाहरण पनि छ । हामीले इन्डोनेसिया जस्तो बैंक खोजेको कि सिंगापुर जस्तो बैंक खोजेको स्पष्ट हुनु जरुरी छ । मेरो विचारमा ठूलो पुँजी हुँदैमा बैंक राम्रो हुँदैन । मैले नाम लिन मिलेन । तपाईंहरुले अध्ययन गरेर लेख्दा राम्रो हुन्छ । ठूला बैंककोभन्दा साना बैंकले नियम कानुनका राम्ररी पालना गरेका छन् । ठूला बैंकले भन्दा साना बैंकले राम्रा व्यवसायिक योजना ल्याएका छन् । ठूलालेभन्दा साना बैंकले कस्टुमर सर्भिस राम्रो दिएका छन् । ठूला हुँदैमा राम्रा हुन्छन् भन्नेमा मेरो असहमति छ । प्रतिस्पर्धाका टिक्न नसक्नेहरु आफै मर्जरमा जान्छन् । रेगुलेटरले फोर्स गर्न जरुरी नै छैन । आज नेपाल इन्भेष्टभेन्ट बैंक राष्ट्र बैंकले फोर्स गरेर मर्जरमा गए जस्तो मलाई लाग्दैन । उक्त बैंकको नाफा घटिरहेको छ । अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको नाफा घट्यो, अब बैंकबाटभन्दा अरु क्षेत्रबाट नाफा कमाउन सक्छु भनेर उहाँले अन्तरवार्ता नै दिनु भएको छ । बैंकमा गरिएको लगानीको प्रतिफल भयो, थप लगानी गर्दिन, मर्जरमा जान्छु भन्नेलाई मर्जमा जान दिनुपर्छ । त्यो स्वेच्छिक मर्जर भयो । चुक्ता पुँजी कम्तिमा २५ अर्ब बनाइयो भने त्यो फोर्सफूल मर्जर हुन्छ । फोर्सफूली मर्जरमा जाँदा त्यसको नतिजा राम्रो आउँदैन । सानिमा बैंक मर्जरमा जाने नजाने याेजना के छ ? हामीले वाग्मती विकास बैंक एक्वाएर गरेका थियौं । हामीले मर्जर कमिटि पनि बनाएका छौं । हामीले सिनर्जी इफेक्ट कहाँ पाइन्छ भनेर हेरिरहेका छौं । बाेर्ड डाइरेक्टरकाे संयाेजकत्वमा र दुइटा डीसीईओहरुकाे सदस्यकाे समिति बनेकाे छ । हामीले विजनेशमा, टेक्नोलोजीमा, क्लाइन्ट सर्भिसमा, प्रोफिट्यालिटीमा सिनर्जी इफेक्ट देखिन्छ भने मर्ज गर्ने हो । नत्र किन मर्ज गर्ने ? हाम्रो विचार स्पष्ट छ । संस्थागत सुशासन राम्रो भएको संस्थासँग मात्र मर्ज हुन्छ । हामी विगत सात वर्षदेखि निरन्तर सबैभन्दा कम एनपीए भएको बैंक हौं । अहिले, दोस्रोमा छौं । डिपोजिट क्वालिटीको हिसावले राष्ट्रिय वाणिज्य बैंकपछि हामी सेकेण्ड बेष्टमा छौं । रिटर्न अन इक्वीटिको हिसावले पनि हामै सेकेण्ड बेष्टमा छौ । अनि हामी किन मर्जमा हतारिने ? तपाईंले सानिमा बैंक राम्रो भन्नु स्वभाविक हो । तर सानिमा बैंकमा आकर्षण कम भएको जस्तो देखिन्छ नि ? म यस्तो कुरा सुन्न चाहन्छु । तर सानिमाको कमजोर पक्ष के भनेर प्वाइट आउट गरिदिनुभयो भने राम्रो हुने थियो । सानिमा बैंकको सेयर मूल्य हेर्नुहुन्छ भने हाम्रो मूल्य छैटौं नम्बरमा छ । हामी शाखा विस्तारमा धेरै खुकुलो छैनौं । थोरै शाखा तर धेरै विजनेश नीतिमा छौं । हामीसँग ८६ वटा शाखा छन् । हरेक शाखाको विजनेश राम्रो छ । प्रति कर्मचारी विजनेशमा हामी अब्बल छौं । कोडिभपछि हामीले कर्जा प्रवाहमा कमी गरेकै हौं । गत पुसअघि सेयर मूल्य अलि कम पनि भएको थियो । गत पुसदेखि हामीले कर्जा लगानी बढाएका छौं । अहिले व्यवसाय विस्तार पनि राम्रो छ । नाफा पनि राम्रो छ । बैंकको सेयर मूल्य पनि बढेको छ ।