सबैकाे साथ पाए ४ वर्षमा पुनर्बीमाको वासलात ५० हजार मिलियनको बनाउन सकिन्छ-शंकर रायमाझी
पुँजीको आधारमा नेपाल पुर्नबीमा कम्पनी बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । यस कम्पनीमा अरु धेरै बीमा कम्पनीको पनि लगानी भएकोले अप्रत्यक्ष रुपमा सर्वसाधारणको लगानी छ । कम्पनीले फेरी १ अर्ब ६० करोड रुपैयाँ बराबरको साधारणस सेयर निष्काशन गर्दैछ । यति ठूलो कम्पनी भएपनि यसको चुनौति झन धेरै छ । पुर्नबीमा व्यवसाय गर्ने नेपाली एउटा कम्पनी मात्र भए पनि यसले अन्तराष्ट्रिय बजारमा प्रतिस्प्रर्धा गर्नुपर्छ । यति महत्वपूर्ण कम्पनीमा सरकारले नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शंकर कुमार रायमाझीलाई नियुक्त गरेको छ । उहाँ बीमा क्षेत्रका अनुभवी व्यक्ति होइन तर उहाँले सबैको साथ पाएमा चार वर्षमा यस कम्पनीको वासलात ४० देखि ५० हजार मिलियन बनाउने बताउनु भएको छ । प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस । आगामी चार वर्षमा नेपाल पुर्नबीमा कम्पनीलाई कुन लेवलमा पुर्याउनु हुन्छ ? नेपाल पुर्नबीमा कम्पनीको सीईओ छनोट प्रक्रियामा भाग लिने क्रममा व्यवसायिक योजना पेस गरेको छु । त्यसमा यस कम्पनीको फाइनान्सियल इण्डिकेटरलाई सुधार गर्ने उल्लेख छ । यो चार वर्षको अवधिमा कुन वर्ष कति फाइनान्सिलय इण्डिकेटरको सुधार गर्ने भन्ने छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ करोड १७ लाख नाफा गरेको छ । त्यसको आधारमा मैले हरेक वर्ष २५/२६ प्रतिशतका दरले नाफा वृद्धि गर्छु भनेको छु । असार मसान्तमा २० हजार ३ सय ४७ मिलियन हाम्रो वासलातको आकार रहेको थियो । चौथो वर्षमा जाँदा त्यसलाई २५ हजार मिलियन प्लसको वासलातको आकार पुर्याउने भन्ने मेरो योजना छ । अहिले कम्पनीको ३२ वटा राष्ट्रमा यसको नेटवर्क छ । ३२ वटै राष्ट्रबाट यसले विजनेस प्राप्त गरिरहेको छ । आगामी चार वर्षको अवधिमा सिंगापुर, लण्डन र भारतमा शाखाहरु खोल्ने सोच बनाएका छौं । नेपालका जीवन कम्पनीहरु १९ र निर्जीवन कप्पनीहरु २० वटा रहेका छन् । उनीहरुले कम्तिमा २० प्रतिशत पुर्नबीमा नेपाल पुर्नबीमा कम्पनीमा गर्नु पर्ने भन्ने नियम छ । त्यसको पालना भए नभएको हामीले हेर्नुपर्छ । २० प्रतिशतलाई बढाएर कसरी ३० वा ४० प्रतिशत बनाउने भन्ने हाम्रो प्रयास हुन्छ । बीमा व्यापार एक आपसामा अन्र्तनिहित छ । हामीलाई सबैभन्दा ठूलो चुनौति भनेका संसारका जुनसुकै पुर्नबीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु हो । हाम्रो वित्तीय अवस्था राम्रो हुनुपर्छ । राम्रो ख्याती पनि राम्रो हुनुपर्छ । हामीले अन्तराष्ट्रिय स्तरमा विश्वास जित्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय कम्तीमा ‘ए’ रेटिङ पायौं भने त्यसले हामीलाई व्यापार गर्न सहयोग गर्छ । रेटिङमा त्रिपल ‘ए’ पायौ भने झन् सजिलो हुन्छ । विदेशबाट हामीलाई विजनेश ल्याउन सजिलो हुन्छ । त्यसको असर नेपालको जीडीपीमा नै सकारात्मक हुन्छ । हाल बीमा क्षेत्रले २.४५ प्रतिशत योगदान गरेको हामीले यसलाई ३ प्रतिशतसम्म पुर्याउने सकिन्छ । विदेशबाट जति धेरै विजनेश ल्याउन सक्यौ त्यति धेरै बैदेशिक व्यापार सन्तुलन कायम गर्न सजिलो हुन्छ । तपाईले आफ्नो कार्यकालमा २५ हजार मिलियनको वासलात तयार पार्छु भन्नुभयो, यसमा विदेशी मुद्राको हिस्सा कति रहन्छ ? यसका लागि हामी विदेशमा गएर कति माकेर्टिङ गर्न सक्छौं भन्ने कुरामा भर पर्छ । अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको रेटिङले त्यसलाई फाईनलाईज गर्छ । अहिले नै यति हुन्छ भनेर भन्न गाह्रो छ । हामीलाई नेपाल सरकारका निकायहरु, बीमा समिति, बीमा कम्पनीहरुले गर्ने सहयोगले पनि हामी विदेशी बजारमा कति जान सक्छौं भन्नेमा भर पर्छ । ३९ वटै कम्पनीले कम्तिमा २० प्रतिशत विजनेश हामीलाई दिए भने २५ अर्बको वासलात बनाउन गाह्रो छ । अहिले नै ६÷७ वटा जीबन बीमा कम्पनीहरुले १०० प्रतिशत पुर्नबीमा हामीलाई दिएका छन् । भविष्यमा सबै जीवन बीमा कम्पनीले नेपाल पुर्नबीमा कम्पनीलाई सत प्रतिशत विजनेश दिएभने २५ हजार होइन ५० हजार मिलियनको वासलात बनाउन सकिन्छ । तपाइलाई सतप्रतिशत बीमा दिने कम्पनीहरु कुन कुन हुन ? राष्ट्रिय बीमा संस्थान, सन लाइफ नेपाल, सूर्य लाइफ इन्सुरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ, गुँरास लाइफ र सानिमा लाइफले हामीलाई सत प्रतिशत पुर्नबीमा दिईरहेका छन् । अर्को सिटिजन लाइफ प्रक्रियामा छ । कुनै कम्पनीले सरकारी निर्देशनलाई वाध्यताको रुपमा स्वीकार गरेर २० प्रतिशत मात्र पुर्नबीमा दिने, कुनैले सय प्रतिशत नै दिने अवस्था कसरी आयो ? विदेशी पुर्नबीमा कम्पनीहरूसँग काम गर्नुभन्दा आफ्नै देशको पुर्नबीमा कम्पनीसँग काम गर्न सजिलो हुन्छ । यसमा आफ्नोपन पनि छ । त्यसकारणले केही कम्पनीले सतप्रतिशत पनि दिएका छन् । सतप्रतिशत दिने कुरा भर्खरै शुरु भएको हो । पुर्नबीमा कम्पनीको क्षमता विकास हुँदै जाँदा अरु कम्पनीले पनि सत प्रतिशत पुुर्नबीमा नेपालमा गराउन सक्छन् । सरकारले पनि २० प्रतिशत दिनु भनेर पुर्नबीमा कम्पनी स्थापना भएकै दिनदेखि भनेको होइन । नेपाल पुर्नबीमा कम्पनीले आफ्नो क्षमता विकास गर्दै गएपछि २० प्रतिशत अनिवार्य गरेको हो । निर्जीवन बीमा कम्पनीहरुले ३० प्रतिशत सम्मको पुर्नबीमा नेपाल मै गर्न सकिन्छ भनेर बीमा समितिले भनेको छ । पुर्नबीमा कम्पनीको आफ्नै क्षमता पनि विकास हुनुपर्छ । अहिले हाम्रो ८ अर्ब ४० करोडको पुँजी हो । एक अर्ब ६० करोडको साधारण सेयर निष्काशन गरेर पुँजी १० अर्ब रुपैयाँ बनाउँदैछौं । हामीसँग अन्तर्राष्ट्रिय स्तरको जनशक्ति छैन । अन्तर्राष्ट्रिय स्तरको प्रविधि छैन । यी सबै कारणले गर्दा विजेनेश दिँदा यिनीहरुले विजनेस अनुसारको पर्फमेन्स दिन सक्दैन भन्ने लागेर पनि नदिएको हुन सक्छ । उनीहरुले विजनेश दिँदा त्यही अनुसारको क्यापाविलिटी हामीले बनाउनु पर्यो । पुर्नबीमा आफैमा जोखिम वहन गर्ने व्यवसाय हो । जोखिम विश्लेषण गर्ने र न्यूनिकरण गर्ने क्षमता पुर्नबीमा कम्पनीसँग कति छ ? त्यसका लागि जनशक्ति विकासमा हामीले जोड दिनुपर्छ । मानव पुँजीलाई समयसापक्षे परिवर्तन गर्दै जानुपर्छ । म आएपछि मात्र यस कम्पनीमा रिसर्च एण्ड डेभलपमेन्ट सेल गठन गरेको छु । हामी कसरी रिभिन्यु रिसिभ गरिरहेका छौं ? त्यसको प्याटर्न के छ ? हाम्रो विजेनस सुधार गर्नुपर्ने केछ, विजनेश विस्तारको सम्भावना कहाँ छ ? कहाँ कति जोखिम छ ? यी र अन्य धेरै विषयमा यो सेलले अनुसन्धान गर्छ । जोखिमका आधारमा बीमा शुल्क तह हुन्छ । बढी जोखिम हुँदा प्रिमियम पनि बढी हुन्छ । कम जोखिम हुँदा प्रिमियम पनि कम हुन्छ । पुर्नबीमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकको सेवा व्यवसाय हो । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नको लागि हामीसँग स्रोतसाधन र सामाथ्र्य कति छ ? हाम्रो बीमाको इतिहास छोटो छ । पहिलो बीमा कम्पनी स्थापना भएको ७२ वर्ष भयो । आर्थिक उदारिकरणपछि बल्ल नेपालमा बीमा कम्पनीहरु खुल्न थाले । बैदेशिक रोजगारीमा जानेको म्यादी बीमा समेत गणना गर्दा अहिले २६ प्रतिशत बीमाको पुहँच पुगेको भन्ने बीमा समितिको दावी छ । बीमा क्षेत्रमा लामो अनुभव भएका दक्ष जनशक्तिको पनि बजारमा कमी नै छ । पुर्नबीमा कम्पनी छैटौं वर्षमा प्रवेश गरेको छ । हामी नयाँ हौं । यो कम्पनीको संस्थागत अनुभव कम छ । यस कम्पनीलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र उनीहरुकै स्ट्याण्डर्डको बनाउन चार पाँच कुरामा ध्यान दिनुपर्छ । भौतिक संरचनाहरु निर्माण गर्नुछ । आफ्नै भवन बनाउनुपर्छ । अन्तर्राष्ट्रिय रिकोग्नाईज सफ्टवेयर हुनु आवश्यक छ । कम्पनी सञ्चालन गर्नको लागि अन्तराष्ट्रिय स्तरको नीति नियम हुनुपर्छ । त्यस्तै, हामीसँग अन्तराष्ट्रिय बजार बुझ्ने, प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको उपलब्धता हुनुपर्छ । जुन देशमा शाखा खोल्यो त्यहाँको विजनेश बुझेको मान्छे पनि आवश्यक पर्छ । जनशक्ति नियुक्ती लोकसेवा मार्फत नै गर्नुपर्छ । हामीलाई आवश्यक दक्ष जनशक्ति करारमा लिनु पर्ने देखिन्छ । त्यस्तै, हामीलाई मिडिल इष्टमा काम गर्नेको लागि त्यहि बजार बुझेको, त्यहाँको बजारमा राम्रो सम्बन्ध भएको व्यक्ति चाहिन्छ । त्यस्तो व्यक्ति लोकसेवा पास गरेर आउन सक्दैन । तपाईको कार्यकालमा कतिवटा देशमा सम्पर्क कार्यालय खोल्ने सोच बनाउनु भएको छ ? कम्पनीको अगाडिका कार्यक्रमहरू हेर्दाखेरि विदेशमा पनि शाखाहरु खोल्नु पर्ने हुन सक्छ भन्ने रहेको छ । सिंगापुर, लण्डन र भारतमा शाखा खोल्नुपर्छ भन्ने कुरा भइरहेको छ । अब मेरो कार्यकालमा पनि घटिमा एक बढीमा तीन ठाउँमा शाखाहरू खोल्ने कार्यक्रम राखेका छौं । त्यो खोल्नुभन्दा पहिले हामी अहिले जुन ठाउँमा छौं त्यो अनुसारको क्षमता र तयारी बनाइसक्नु पर्छ भन्ने रहेको छ । नेपाल पुर्नबीमा कम्पनीको रेटिङ कसरी गर्नु हुन्छ जवकी नेपालको कन्ट्री रेटिङ नै भएको छैन ? कन्ट्रीको रेटिङ यसै वर्ष अर्थात २०२० मा हुन्छ । यसको लागि सबै प्रक्रिया भइसकेका छन् । कन्ट्रीको रेटिङ भइसकेपछि हामी एउटा पोजिसनमा आउँछौं । हाम्रो कम्पनीको रेटिङमा हर्ने हो भने पुजीँको हिसावले हामीसँग एक किसिमको बन्दोवस्त छ । आइपिओमा नगई रेटिङ गर्न नपाउने हुनाले हामी अब आईपीओमा पनि जाँदैछौं । १ अर्ब ६० करोडको आइपीओ हामी निकाल्दै छौं । एउटा इण्डिकेटर त्यो पनि हुन्छ । हामीसँग रहेको अन्तर्राष्ट्रिय रिकोग्नाइज सर्टिफिकेट छ कि छैन भन्ने पनि अर्को इण्डिकेटर हो । हामीले गर्ने विजनेसको क्वालिटी कस्तो छ त्यसले पनि रेटिङ गर्ने हो । यसमा जनशक्तिको कुरा पनि आउँछ । त्यही आधारमा रेटिङ तय हुन्छ । यी कुरामा हामी ध्यान दिन्छौं । आईपीओ निष्काशन गर्ने प्रक्रिया कहाँसम्म पुग्यो ? आइपीओ मर्चेन्टसँग हाम्रो सम्झौता भएको छ । हामी रोकिएको पुँजीको प्रशंगमा अदालतमा एउटा मुद्दा परेर हो । त्यसको फैसला भइसकेको छ । अब आइपीओ निष्काशन हुन्छ । आइपीओका लागि बी रेटिङ आइसकेको छ । बी रेटिङ आइपीओका लागि ठीकै हो । तपाईले बाहिरबाट देखेको नेपाल पुर्नबीमा कम्पनी र सीईओ भएर भित्र आइसकेपछिको कम्पनीमा के फरक पाउनु भयो ? बाहिरबाट हेर्दा हाम्रो ३९ वटा कम्पनीहरु छन् । हिजो विजनेस प्लान बनाउँदाखेरि जुन प्रकारको मैले पाएँ त्यही अनुसार मैले विजनेस प्लान बनाएको हुँ । जे मेरो अनुमान थियो, त्यो भन्दा तलमााथि चाहिँ छ । मरो परसेप्सन हाई र कम्पनीको रियालीटि फिगर अफ फ्याक्टचाहिँ मेरो परसेप्सनभन्दा अलि तल्लो तहको मैले पाएँ । त्यो फरक कुन हिसावमा पाउनुभयो ? कतिपय कुराहरु फाइनानसियल इण्डिकेटरमा पनि रहेको छ । कतिपय कुराहरु आन्तरिक व्यवस्थापनमा पनि रहेका छन् । .खासगरि हाम्रो विजनेस भनेको सबै ३९ वटा कम्पनीहरुसँग रहन्छ । उहाँहरुसँग हामीले गर्ने विजनेसको तौर–तरिका अलि पुर्नविचार गरेर अगाडि बढ्नु पर्ने अवस्था छ । पुर्नबीमा कम्पनीको डेडिकेटेड लगानीकर्ता सरकार हो, साना बीमा कम्पनीहरु सरकारको व्यवहारसँग बेला–बखत असन्तुष्ट हुन्छन्, पुर्नबीमा कम्पनीको सीइओ भएको हैसियतले यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? म भर्खरै सीइओको रुपमा आएको छु । उनीहरुका विजेनेसको मुख्य मुद्दाहरु केके हुन् भन्ने विषयमा मैले एकिन गर्न पाएको छैन । त्यो थाहा पाएपछि विकल्प भन्ने कुरा हो । त्यहाँ फाइनान्सियल कारण वा उहाँहरुको कम्पनीले प्राप्त गर्नु पर्ने नाफाका कुराहरु कतै समस्या वा अफ्ठ्यारो हुने खालको केही स्वार्थका कारण त्यो भएको हुनुपर्छ । अन्यथा त्यो हुनु नपर्ने हो । हामीले सरकारले दिएको निर्देशन, बीमा समितिले दिएको निर्देशन वा नेपाल पुर्नबीमा कम्पनीले बनाएको प्रावधान छ त्यही अनुसार हामी अगाडि बढ्नुपर्छ । तपाई गैर–बीमा क्षेत्रको व्यक्ति हुनुहुन्छ । त्यसैले तपाईको क्षमतामाथि धेरैले शंका गरेका छन् नि ? शंका र प्रश्न गर्न पाईन्छ । बैंकिङ र अन्य क्षेत्रमा मेरो ३०÷३५ वर्षको अनुभव छ । सबै काम सीइओले गर्ने होइन । अथवा कुनै काम सीइओले नगर्ने भन्ने पनि होइन । यो एउटा जिम्मेवारी हो । मैले प्रशासनिक कम्पनीको कार्य निर्देशित गर्ने हो । यसमा म भन्दा माथि सञ्चालक समिति छ । सरकार छ । विभिन्न निकायहरु छन् । मातहतमा रहेका कर्मचारी साथीहरु छन् । बीमा कम्पनीका पूर्व सीइओहरु सल्लाहकारका रुपमा हुनुहुन्छ । कुनै त्यस्ता खालका समस्याहरू आएपनि अन्य बीमा कमपनीहरुबाट पनि सल्लाह सुझावहरु लिन सकिन्छ । हामी कहाँ धेरै समितिहरु छन् । त्यहाँ बीमा क्षेत्रका विज्ञ र अनुभवि मानिसहरु हुनुहुन्छ । हामीसँग टिम छ । एउटै मान्छे सर्वज्ञानी सर्वगुणी हुन सक्दैन । टिमको साथले सबै काम गर्न सकिन्छ । त्यसैले म मेरो विजनेस गर्न सक्छु । अन्तिममा समग्र बीमाको कुरा गरौं । अहिले धेरै मानिसहरु बीमा अनविज्ञ छन् । उनीहरुलाई बीमाको पहुँचमा ल्याउन सरकारले उल्लेखनिय कार्य गरेको देखिदैँन, यस्तो किन भयो ? अहिले हामी संघीय संरचनामा छौं । बीमा सम्बन्धि संघीय ऐन बन्दैछ । संघीय बीमा ऐन नआएको कारण पनि कतिपय कुरा रोकिएका होलान् । बीमा सम्बन्धि क्षेत्राधिकार दुई ठाउँमा दिएको छ । एउटा संघमा र अर्को प्रदेशमा छ । बीमा ऐन आइसकेपछि प्रदेशले पनि लाइसेन्स दिएर बीमा कम्पनी खोल्न पाउने व्यवस्था हुन्छ । यसले बीमा पहुँच पनि बढ्छ । अर्को कुरा विद्यालय तहबाटै बीमाको अध्यापन शुरु गर्न आवश्यक छ । यसले मानिसहरु सानैदेखि बीमा सम्बन्धि जानकार हुन्छन्, रूचि राख्छन् । बीमामा छिर्ने मानिसको संख्या पनि बढ्छ ।
सङ्घीयता राज्यका लागि महँगाे भयाे, नागरिकका लागि किफायती छ-अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताएका छन्। उनले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उल्लेख गरे। अर्थमन्त्री डा खतिवडाले देशको समग्र क्षेत्र नयाँ चरणमा प्रवेश गरेको भन्दै आर्थिक–सामाजिक रूपान्तरण हुने विश्वास व्यक्त गर्दै सम्बन्धित विविध विषयमा गरिएकाे कुराकानीकाे केहि अंश : देशको आर्थिक परिसूचकलाई यहाँले कसरी हेरिरहनुभएको छ ? समग्र आर्थिक परिसूचक सकारात्मक छन् । सबै आर्थिक परिसूचकको समष्टिगत रूप भनेको आर्थिक वृद्धि नै हो । त्यसैमा कृषि, उद्योग, व्यापार, बैंकिङ, शिक्षा, स्वास्थ्य सबै क्षेत्र समेटिएर आउँछन् । हामी लगातार उच्च आर्थिक वृद्धिको बाटोमा छौँ र यो वर्ष पनि हामी निरन्तर अघि बढ्नेमा छौँ । कतिपय अन्तर्राष्ट्रिय संस्थाले यस वर्ष पनि छदेखि सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका छन् । अलिकति धानको उत्पादनमा सामान्य ह्रास आएको स्थिति छ, त्योबाहेक अन्य परिसूचक राम्रा छन्, हामी लक्ष्यको नजिकै आर्थिक वृद्धि हासिल गर्छौं । समष्टिगत आर्थिक परिसूचक ट्र्याकमै छन् । स्थायित्वमा छन् र आर्थिक वृद्धिका लागि सकारात्मक छन् । दुईवटा अन्य परिसूचकमध्ये बाह्य लगानीको प्रतिबद्धता अहिले ह्वात्तै बढेको छ र आइरहेको लगानी पनि राम्रै छ । केही ठूला आयोजनामा थप लगानी प्रतिबद्धता छ । यो आर्थिक वर्षमा एक खर्बभन्दा माथिको लगानी प्रतिबद्धता कायम हुन्छ । अहिले पनि झण्डैझण्डै त्यसको नजिक पुगिसकेको छ । त्यसैले समग्रमा लगानीमा उत्साह छ, बजार स्थायित्वमा छ, आर्थिक वृद्धिका लागि राम्रो परिसूचक छन् । श्रम बजारमा समस्या छैन, विद्युत् आपूर्तिमा पर्याप्तता आइसकेको छ । औद्योगिक सम्बन्ध राम्रो भइराखेको र नीतिगत सुधार भएको हुनाले मलाई लाग्छ समष्टिगत परिसूचक स्वस्थ दिशामा अगाडि बढेका छन् । आर्थिक वृद्धिको असर मूल्यवृद्धिमा कस्तो देखिएको छ ? हो, उच्च आर्थिक वृद्धिले मूल्यवृद्धि हुन्छ । हामीकहाँ औसतमा विगतमा सातदेखि आठ प्रतिशतको मूल्यवृद्धि हो, तर अहिले हामी औसतमा छ प्रतिशतभन्दा तल छौं । त्यसैले मूल्यवृद्धि पनि नियन्त्रणमा छ । कसैले मूल्यवृद्धि आकासियो भन्छन्, तर आकासिएको छैन, जमीनमै छ । आकासिने भनेको त दुईदेखि तीन, तीन अङ्कभन्दा माथिको मूल्यवृद्धिलाई मात्र आकासिएको भन्छन् । हाम्रो साथीहरु कहिलेकाहीँ ‘प्रोभोकेटिभ’ भाषामा आकासियो भन्नुहुन्छ । त्यो औसतको स्थिति हो । कुनै वस्तुको त बढी पनि मूल्य होला तर औसतमा सामान्य छ । शोधनान्तर स्थिति र व्यापारघाटा कम हुने सङ्केत देखिएको हो ? केही वर्ष हामी शोधनान्तर घाटामा थियौं। अब हामी बचतमा जान थालेका छौँ । यो आर्थिक वर्षमा शोधनान्तर बचतमै अघि बढ्छौँ । त्यो लक्षण देखिएको छ । व्यापार घाटाको बारेमा त हामीले जन्मेदेखि सुन्दै आएका हौँला, जुन दिनदेखि व्यापारका तथ्याङ्क भए, सन् १९७५ देखि यता व्यापारका तथ्याङ्क छन् । मैले त्यसयताको व्यापारका तथ्याङ्क हेरिराखेको छु । मैले अध्ययन पनि गरेको विषय हो यो, बचत भएको स्थिति छैन तर, पनि यी घाटा कूल गार्हस्थ्य उत्पादनको ४० प्रतिशतसम्म पुग्दा स्थिति अप्ठ्यारो भएकै हो । त्यसलाई नियन्त्रण गर्न हामीले व्यापारमा परिमाणात्मक बन्जेद लगायौँ । कुनै वस्तुको आयात नै निषेध गर्यौं । कुनै वस्तुमा भन्सार तथा मूल्याङ्क बढायौँ । कुनै वस्तुको गुणस्तरबाट नियन्त्रण गरेर आयात प्रतिस्थापन पनि गर्यौं। केही वस्तुको आयातलाई निरुत्साहित पनि गर्यौं । केही वस्तुको उत्पादनमा स्वदेशमै बढ्ने क्रमले पनि मासिक हिसाबले हेर्ने हो भने पनि आयात समग्रमा छ/सात प्रतिशतले घटेको अवस्था छ । यो आर्थिक वर्षभरिमा आयात नियन्त्रित नै रहन्छ । निर्यात उल्लेख्य वृद्धि भएको छ । अहिले करिब २४/२५ प्रतिशत निर्यात वृद्धि भएको छ तर, यो आकारै सानो भएकाले यो वृद्धिले हामीलाई पुग्दैन । जति वृद्धि भए पनि त्यसको आधार नै सानो भएपछि त्यसले व्यापार सन्तुलन हुँदैन । व्यापार घाटामा सुधार हुन्छ, तर व्यापार घाटामा उल्लेख्य सुधार भएर व्यापार सन्तुलन बचतमा गयो भन्नलाई हामीले धेरै वर्ष पर्खनु पर्छ । यो बुझ्नु पर्छ, सङ्केत सकारात्मक छ । आयातमा कडाइ गर्दा राजश्व लक्ष्य भेट्टाउन चुनौती पर्ला नि ? स्वाभाविकरूपमा व्यापारमा आयातको अनुपात घटेपछि राजश्वमा केही प्रतिकूल असर पर्छ, किनभने राजश्व धेरैजसो आयातमा निर्भर छ । त्यसैले राजश्वको वृद्धिदर खास गरी आयातित वस्तुको राजश्वमा केही ह्रास भएको छ, तर आन्तरिक राजश्व राम्रो उठेको छ । खासगरी आयकर र आन्तरिक मूल्यवृद्धि करबाट २५ प्रतिशतभन्दा बढीको आन्तरिक राजश्व वृद्धि भएको छ । त्यसले गर्दा आयातमा आधारित राजश्व प्रणाली अब आन्तरिक उत्पादन, आयमा आधारित राजश्व प्रणालीतर्फ जाँदैछ । सरकारी खर्चको अवस्था कस्तो छ ? सरकारी खर्चको स्थिति अहिले अङ्कमा हेर्दा कम देखिन्छ तर सम्पन्न भएका आयोजनाको भुक्तानी बाँकी छ, अघिल्लो वर्ष प्रदेश र स्थानीय तहमा गएको बजेट ‘फ्रिज’ भएको थियो । उहाँहरुले अहिले त्यसैमा खर्च गरिराखेको हुनाले अहिले धेरै सङ्घबाट खर्च भएको देखिएको छैन तर, हामी लक्ष्यअनुसारनै खर्च गर्ने स्थितिमा छौँ । वित्तीय परिसूचकमा देखिएका उतारचढावलाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ ? स्थायित्व कायम राख्न कत्तिको कठिनाइ छ ? हामीले आर्थिक अनुशासनको पालना गरेको छौँ । वित्तीय क्षेत्रमा हाम्रा परिसूचक दक्षिण एशियामै राम्रा छन् । मूलतः वित्तीय स्थायित्व भनेको बैंकहरुको तरलता, ब्याजदर, निष्क्रिय कर्जा र बैंकप्रतिको जनविश्वास हो । यी कुरा कायम छन् । अस्वाभाविकरूपमा ब्याजदर उतारचढाव हुने क्रम बन्द भएको छ । त्यसैगरी बैंकको निष्क्रिय कर्जा तीन प्रतिशतभन्दा तल छ । धेरै बैंकको एक प्रतिशतभन्दा कम छ । जुन दक्षिण एशियामै सबैभन्दा राम्रो हो । बैंकमा पूँजी पर्याप्त छ । बैंकको व्यावसायिकता विकास हुँदैछ । दक्षिण एशियामै वित्तीय सूचक राम्रो भन्दै गर्दा सबै नेपालीको पहुँचमा बैंक तथा बीमा पुग्नु पर्यो नि ? बैंक वित्तीय संस्थाको शाखा यो दुई वर्षको अवधिमै करिब करिब दोब्बर भएको छ । म अर्थमन्त्री भएर आउँदा साढे पाँच हजारको हाराहारीमा बैंक तथा वित्तीय संस्थाका शाखा थिए, अहिले त्यो १० हजारको नजिक पुगेको छ । अब १० वटा स्थानीय तहमा बैंकको सेवा पुग्न बाँकी छ । स्थानीय तहको केन्द्रको विवाद, बैंकका लागि उपयुक्त पूर्वाधारको विकास नभएको र पूर्वाधार बन्दै गरेका कारणले मात्रै हो । त्यो पनि केही महिनाभित्र सम्पन्न हुन्छन् । लामो समयसम्म पाँच प्रतिशतमात्र मानिस बीमाको दायरामा आएका छन् भनेका थियौं । म अर्थमन्त्री भएर आउँदा बढीमा १० प्रतिशत पुग्यो कि भन्ने अनुमान गरिन्थ्यो । अहिले वैदेशिक रोजगारीमा जानेको बीमासमेत गर्ने हो भने २५ प्रतिशतभन्दा बढी भएको छ । आन्तरिकरूपमा बीमा गर्ने पनि २० प्रतिशत भएका छन् । जुन दोब्बरभन्दा बढी हो । तर शेयर बजार उत्साहप्रद देखिएन ? शेयर बजार स्वाभाविकरूपमा स्थिर छ । यो राम्रो छ, सकारात्मकरूपले अगाडि बढेको छ । कहिले अलि बढी, कहिले अलि घटी, पछिल्लो समयमा यो पनि सुधार छ । खासगरी बैंकिङ क्षेत्रमा पर्याप्त पैसा नहुँदा ऋण लिएर शेयरमा लगानी गर्नेलाई कहिलेकाहीँ उपयुक्त तरलता प्राप्त हुँदैन तर अहिले बैंकमा तरलता भएकाले शेयर बजारमा उत्साह थपिएको छ । शेयरको निष्काशन सबै बिक्री भयो कि भएन भनेर एउटा परिसूचक हुनुपर्छ । त्यो पनि राम्रै छ । अहिले बैंक तथा वित्तीय संस्थाको शेयरमा ठूलो मात्रामा लगानी हुन्छ, उनीहरु उल्लेख्य नाफामा छन्, स्वस्थकर छन् । उद्योगले पनि नाफा कमाएका छन् । पूँजीबजारका लगानीकर्तालाई यहाँको के सुझाव छ ? शेयर बजारमा दर्ता भएका उद्योगको नाफाको स्थिति, नेटवर्थ र फ्युचर एक्सपेन्सन प्लान हेरेर शेयर बजारमा लगानी गर्नुपर्छ । कुनै भावनाको आधारमा होइन, हल्लाको भरमा लगानी गर्दा अप्ठ्यारोमा परिन्छ । त्यसो हुनाले जानेर, बुझेर, विज्ञसँग सरसल्लाह गरेर लगानी गर्दा राम्रो हुन्छ । बजारमा आम जनताको पहुँच विस्तारका लागि के गर्न सकिएला ? शेयरमा लगानी गरेका लगानीकर्तालाई छिटोछिटो चलायमान बनाउन शेयरको लगानीलाई दुई दिनमा फुकुवा गर्न तथा ब्रोकर सेवा बढाउनुपर्छ । बैंकलाई पनि कारोवारमा लैजाने, शेयर कारोवारलाई काठमाडौँ बाहिर लैजाने तथा आम नागरिकलाई सचेत गराउँदै शेयर बजार वित्तीय उपकरण हो भन्ने सन्देश दिनुपर्छ । गैरआवासीय नेपालीलाई पनि त्यहाँ ल्याउन सकियो र कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषजस्ता संस्थालाई पनि अघि बढाउन सकियो भने शेयर बजार अझ चलायमान भएर अगाडि बढ्न सक्छ । अझै विस्तार भएर जनतामा पहुँच पुग्छ । विप्रेषण आप्रवाहमा आएको कमीले आर्थिक गतिविधिमा गडबडी ल्याउला जस्तो छ नि ? हामीले वैदेशिक रोजगारीमा जानेलाई निरुत्साहित गर्छौं, नेपालमै रोजगारी सिर्जना गर्छौैं, कामका अवसर दिन्छौँ भनेपछि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या त अघिल्लो वर्ष घट्यो । अहिले ‘मार्जिनल्ली’ वृद्धि भएको छ, तर घट्यो । अब वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटोस्, विप्रेषण चाहिँ बढिरहोस् भनेर हुँदैन । त्यसो हुनाले हामीले वैदेशिक रोजगारीमा गएका मान्छेका विप्रेषण बैंकिङ च्यानलबाट ल्याउन प्रयास गर्ने र विप्रेषण कम आउँदा पनि अर्थतन्त्रलाई चलायमान बनाइराख्नुपर्ने काम गर्न बाँकी छ । परिसूचक अत्यन्त राम्रा हुँदाहुँदै पनि बजेट कार्यान्वयनमा केही जटिलता देखा परे, के कारणले यसो हुन गयो ? बजेट कार्यान्वयनमा जटिलता होइन, ढिलाइ हो, जटिलता केही पनि छैन, ढिलाइ किन भइरहन्छ भन्दा हामी जेठ १५ मा बजेट ल्याउँछौँ तर, जेठ १५ देखि असार अन्तिमसम्म कर्मचारीतन्त्रमा के हुन्छ भने त्यो अघिल्लो आर्थिक वर्षको बजेट कसरी खर्च गरिसक्ने, असारसम्म अर्को वर्षको बजेटबारे कसैले सोच्न पाएको हुँदैन किन भने खर्च भएको हुँदैन, असारसम्म त्यही गर्नुपर्ने हुन्छ । साउनको एक/दुई हप्तासम्म पनि त्यसको ‘लिगेसी’ बाँकी नै हुन्छ । जेठ १५ मा बजेट ल्याएर पनि अर्को वर्षको तयारी गर्ने मनस्थिति बनेन । अब यो कहिले ‘ब्रेक’ गर्ने हो । कुनै एउटा मन्त्रालयले, सचिवले डेढ महिना दोब्बर काम गर्नुपर्ने हुन्छ । चालु आवको बजेट पनि त्यही महिना सक्नुपर्ने हुन्छ । अर्को वर्षको काम पनि गर्नुपर्छ, त्यो कसले गरिदिने हो, नभए त्यही दोहोरिने भयो अर्को वर्ष पनि, एउटा समस्या यो देखेँ मैले । दोस्रो हरेक वर्ष हामीले बजेटमा केही न केही नयाँ कार्यक्रम ल्याउँछौँ । केही नयाँ कार्यविधि त्यसले अपेक्षा गर्छ । केही नयाँ कानून र विधि आवश्यक पर्छ । केही समस्या हाम्रा कानूनसँग पनि बाझ्छ । अनि त्यो मिलाउँदा मिलाउँदै अलिकति समय लाग्दो रैछ । जस्तो चालु आर्थिक वर्षमा हामीले पहिलो चौमासिकभित्र अधिकांश कार्यविधि बनाइसक्छौँ भन्यौँ, असोज/कात्तिकमा सबै सक्ने भन्यौं । हामी आफैँले तोक्दातोक्दै पनि केही कार्यविधि मङ्सिरमा मात्र सक्यौं । कार्यविधि भनेपछि के हुन्छ भने त्यसको मस्यौदा हुन्छ, मन्त्रीले स्वीकृत गर्छ, मन्त्रिपरिषद्मा जान्छ, त्यसपछि मन्त्रिपरिषद्को समितिमा जान्छ, समितिमा छलफलमा भएर फेरि त्यो मन्त्रिपरिषद्मा आउँछ, त्यो निर्णय भएर प्रमाणित हुन्छ । प्रमाणित भएर मन्त्रालय आउँदा छिटोछिटो भयो भने पनि दुई महिनाको चक्र त्यहाँ लाग्दो रहेछ । एउटा हाम्रो कार्यगत ‘स्टेप’को कारणले ढिलाइ भएको यो कुरा रह्यो । तेस्रो विषय के देखियो भने कर्मचारीतन्त्रमा एक किसिमको काम गर्दा अपजस धेरै आउने, नगर्दा कुनै उत्तरदायित्व नहुने, त्यो हुँदा जोखिम लिएर काम गर्ने, कानूनको व्याख्यालाई व्यावहारिक रूपबाटै काम गरौँभन्दा पनि कानूनमा यो यो जटिलता छ, त्यसकारण सकिँदैन भन्ने मनोवृत्ति पनि हामीमा कायमै छ । डर, सन्त्रास, विवादका कुरालाई पनि हामीले हेर्नुपर्ने छ । चौथो कुरा सरकारसँग भन्दा पनि निर्माण व्यवसायीसँग सम्बन्धित छ । ठेक्कापट्टा लागेको छ, ‘मोबिलाइजेसन’ दिएको छ, बजेट सुनिश्चित गरिएको छ, साइट ‘क्लियर’ छ । सबै चिज त छ, अब के भो त भन्दाखेरी कामदार पाइएन, कहिलेकाहीँ स्थानीय अवरोध भयो भनिन्छ, स्थानीय अवरोध पनि हट्यो, कसैले मुआब्जा दिनेमा मुद्दा हालिदिन्छ र अनि अदालतमा मुद्दा छ भनेर आराम गर्न पाइने भो । त्यसो हुनाले सरकारको तर्फबाट छिटो निर्णय गर्नमा केही समस्या छन् । केही समस्या निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक काम नगरेर पनि भइरहेको छ । समस्या त खरिद ऐन पनि रहे छ नि रु त्यसमा व्यावहारिक जटिलता पनि छ की ? सार्वजनिक खरिद ऐनलाई हामीले दोष लगायौँ । त्यसैले निर्माण व्यवसायीको आग्रहमा नियमावली संशोधन ग¥यौँ, म्याद पनि थप्यौँ, म्याद थपेपछि ‘म्याद थप्न सकिने छ’ भन्ने कुरालाई लिएर कर्मचारीतन्त्रमा किन थप्यौँ भनेर कसैले सोध्यो भने के जवाफ दिने भनेर म्याद थपिएनन् । बल्ल अहिलेको खरिद नियमावलीको नवौँ संशोधनपछि काम भएको छ । यसरी प्रक्रियामा हामी अलमलिएका छौँ । काम नगर्दा केही जिम्मेवारी पालना नगरेको हुँदैन । काम गर्दा आरोप लाग्ने स्थिति बन्ने गरेको छ । यसलाई हामीले असल मनसायले गरेको कामलाई राज्यले सुरक्षा, संरक्षण गर्छ भन्ने कर्मचारीतन्त्रमा विश्वास दिलाउन बाँकी रह्यो । निर्माण सामग्रीको पनि विषय छ । असार, साउन र भदौमा खोलाबाट नदीजन्य सामग्री निकाल्न पाइँदैन । नदीजन्य उत्खननमा प्रदेश र स्थानीयतहको विवाद छ । सबै विवाद मिलाउँदै उत्खननको ठेक्का लागेर काम गर्दा पनि कात्तिक, मङ्सिरसम्म निर्माण सामग्री उपलब्ध नहुने स्थिति बनेको छ । त्यो कानून मिलाउनुपर्ने छ । यस्ता समस्या हुन् । बजेट नभएको, स्रोत बिनाको ठेक्का यी कुरा अहिले छैनन् । बाँकी भनेका व्यावहारिक कुरा मात्र हुन् । तीन तहको सरकार र अन्तरमन्त्रालय समन्वय हुन नसक्दा पनि समस्या आइरहेको हो ? अघिल्लो वर्ष त्यो हो । त्यो वर्ष वित्तीय सङ्घीयता कार्यान्वयनको पहिलो वर्ष थियो । त्यो पहिलो वर्ष भएको हुनाले कुन कार्यक्रम कसले गर्ने, कसले नगर्ने, कसरी जिम्मेवारी बाँड्ने र सबै हामी अंशबण्डामै लागेका थियौँ । यो म लिन्न, तिमी नै राख, होइन यो म लिन्छु, मलाइ देऊ, यस्तै नै चलिरहेको थियो । त्यसकारण धेरै काम भएनन् । यो वर्ष हामीले मोटामोटी त्यो काम सकेका छौँ । तर, पनि तीनै तहका बीचमा के छ भने, हिजो जिल्ला विकास समिति, गाउँ विकास समितिले गरेका कार्यक्रम हिजो एकात्मक प्रणाली थियो, सङ्घकै मातहत पनि थिए ती कार्यक्रम । अब अहिले ती कार्यक्रम स्वतः प्रदेश र स्थानीय तहमा गए । तर, बजेट छैन । सङ्घले गरेका कार्यक्रम परिभाषित रूपमा प्रदेश र स्थानीयरूपमा जानुपर्ने भयो । अनि कार्यक्रम प्रदेश र स्थानीय तहलाई दिने, यसको डिजाइन के थियो, इञ्जिनीयर को हो, ठेकेदार को हो, कुन मोडलमा काम गरिएको थियो, के शर्त थियो, यी सबै बुझबुझारथ गर्न उहाँहरुलाई समस्या भयो । जुन स्वाभाविक हो । त्यसले पनि केही आयोजनामा समस्या भएको छ । होइन भने अहिले धेरै कार्यविभाजन मिलिसकेको छ, यो भयो खर्चको पाटोमा । अब आर्थिक उत्तरदायित्वको पाटोमा आर्थिक कार्यव्यवस्था र वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन जारी भइसक्यो । त्यसको कार्यान्वनयमा जाँदै गर्दा धेरै कुरा मिल्छ । एउटा हाम्रो विवादित विषय गत वर्ष राजश्वको थियो । कसले कर उठाउने, कसले कोसँग बाँड्ने अलिअलि समस्या भएको थियो । तर, अहिले हामीले सङ्घ, प्रदेश र स्थानीय तहका करका विषयमा दोहोरो परेकामा साझा विषय छ भने एउटाले उठाउने अनि बाँड्ने, दोहोरो परेको छ भने कसका कारणबाट कार्य क्षेत्रभन्दा बाहिर परेको छ, त्यसले नउठाउने । यो धेरै मिलाइ सकिएको छ । यो वर्ष धेरै विवाद टर्दैछन् । एक/ दुई वटा विवादहरु छन्, ती भनेका कानूनी विवाद हुन् । उदाहरणका लागि वनको कर, वन सङ्घ, प्रदेश र स्थानीय तहमा पनि छन् । त्यसो भएकाले वनको राजश्व सबै हाम्रो हुनुपर्छ भन्ने स्वाभाविक सबैको दावी हो । त्यो भएर कानूनबाटै हामीले मिलाउनुपर्ने छ । सम्पत्ति कर स्थानीयलाई दिइएको छ । हाम्रा नगरपालिका यस्तो पनि छन्, जो खेतीयोग्य जमीन छन् । खेतीयोग्य जमीनको बीचमा घर बनाएर कोही बसेको छ । हेर्दाखेरी सम्पत्तिमा परिभाषित गरियो । नगरपालिकाले यो सम्पत्ति हो भन्छ, कृषक जो खेतमा बसेका छन् ऊ भन्छ, यो त खेती गरिरहेको जमीन हो । मालपोत तिर्नुपर्ने जमीन हो, कहाँ सम्पत्तिकर तिर्ने । दुवैका कुरा मिलाउनुपर्ने छ । यस्ता विवाद पनि अहिलेको बजेटबाट हामीले केही मिलायौँ । मूलतः मूल्याङ्कनमा समस्या छ । त्यस्तो सम्पत्तिको मूल्याङ्कन कति गर्ने र जनतालाई कति कर लगाउने रु तिर्न सक्नेमात्र कर लगाउने हो नि रु त्यसो हुनाले सम्पत्तिको मूल्याङ्कन र परिभाषामा केही मिलेको छैन । व्यक्तिको घरबहाल कर स्वतः स्थानीय तहले उठाउन पाउने कानून छ । तर, संस्थाले आफ्नो घरबहालमा दिएको छ भने त्यो आयकरमा जोडिन्छ जुन सङ्घमा छ । अब यो पनि कानूनबाट मिलाउनुपर्ने विषय छ । यस्ता अन्य केही विषय छन् । रोयल्टीका सन्दर्भमा पनि कानून बनाएर जानुपर्नेछ । योबाहेक हामीले वित्तीय सङ्घीयता कार्यान्वयनलाई यति छिटो र व्यवस्थित बनाएका छौँ । साङ्गठनिक संरचना, कर्मचारी संरचना, बजेट निकासा, आन्तरिक लेखा परीक्षण, महालेखा परीक्षकले परीक्षण गर्ने, अनि ७६१ वटा एकाइको व्यवस्थित ढङ्गले गर्दा खेरी पनि कहाँ कति अनियमिता भयो भनिन्छ । यो त अल्पकालीन कुरा हुन् । यति छिटो हामीले सङ्घीयताको संरचना बनाएर विवादरहित ढङ्गले काम गर्यौँ । सानातिना समस्या छन्, अन्तरसरकारी वित्त परिषद् र अन्तरप्रदेश परिषद्का बैठक नियमितरूपमा गरिरहेका छौँ । त्यसबाट समस्या समाधान गर्दैछौँ । हामी समन्वयात्मक ढङ्गले अगाडि बढेका छौँ । यो आर्थिक वर्षभित्र विवादका सबै पक्ष समाधान गर्छौँ । सङ्घीयताको खर्च जुटाउन त साह्रै सकस भयो नि सरकारलाई ? यस्तो पनि होइन, सङ्घीयता स्वाभाविकरूपमा ठूलो संरचना हो । सङ्घीयतामा सेवा प्रवाहको दायित्व कसले व्यहोर्ने भन्ने कुरालाई हेर्ने हो भने यो ठूलो कुरा होइन । कुनै काम गर्न वा सिफारिस गर्नलाई जिल्लामा जानुपथ्र्यो । जिल्लामा जान एक दिन लाग्थ्यो, जिल्लामा एक रात बसेर सेवा लिएर आउनु पथ्र्यो । त्यो सेवा नागरिकले आफ्नै स्थानीय तहमा पाउने भए, खर्च त घट्यो नि । त्यो सेवा दिनु परेबाट राज्यको अलिकति खर्च हुने भयो । किन भने त्यहाँ नयाँ संरचना, कर्मचारी चाहियो । फरक यति हो त्यो खर्च नागरिकले गर्ने कि राज्यले गर्ने । खर्च त्यतिनै हो । यसरी हेर्दा खर्चिलो राज्यका लागि हो, किफायती नागरिकका लागि हो । त्यो सेवा घरदैलोमा दिन सक्नुपर्छ । सङ्घीयता त्यसअर्थमा खर्चिलो हुँदैन । दोस्रो कुरा सङ्घीयतालाई कम खर्चिलो बनाउन कर्मचारी समायोजन गरेर तल पठायौँ । नयाँ कर्मचारी केही मात्र थपिएको हो । प्रशासन, सुरक्षा सङ्घमै छ । के कुरा खर्चिलो भयो भने पूर्वाधार बनाउनुप¥यो, घर, पूर्वाधार निर्माण त विकासको क्रममा खर्च हुन्छ । यसलाई खर्च नमानौँ । हाम्रा ३६ हजारभन्दा बढी जनप्रतिनिधि पनि सबै तलबभत्ता लिने प्रश्न उठाउँछौँ । त्यसमा अदालतले आफ्ना कुरा भनिदिइसकेको छ । जनताको सेवा गर्न भनेर आएको जनप्रतिनिधिले तलबभत्ता लिनु हुँदैन भन्ने तर्क एउटा छ । अब सांसदले लिने प्रदेशसभा सदस्यले नलिने, त्योभन्दा तल नलिने भन्ने हो वा विधिबाट कानून बनाएर जाने हो रु त्यो खर्चलाई व्यवस्थापन गर्ने कुरामात्र अहिले देखिएको हो । एउटा महत्वपूर्ण तीन तहको सरकार हुँदा खर्चिलो कहाँ हुन्छ भने अस्वाभाविकरूपमा खर्च हुन थाल्यो, सङ्घले पनि अनुदान दिएको छ, प्रदेशले पनि अनुदान दिएको छ फेरि स्थानीय तहले पनि अनुदान दिएको छ । सङ्घले पनि त्यही कार्यक्रम, प्रदेश र स्थानीय तहले पनि सोही कार्यक्रम गरेको छ । यी एकै प्याकेजबाट जानुपर्छ । यी कुरामा हामीले मिलाउँदै जानुपर्छ, त्यसो हो भने सङ्घीयता खर्चिलो व्यवस्था हो भन्नु पर्दैन । गत आवमा सङ्घले बजेट दिएन भनेर प्रदेशले भनिरहँदा अहिले उनीहरु अहिले चुपचाप छन्, प्रदेशले अहिले विगतकै बजेट खर्च गरिरहेका छन् कि प्रदेश सरकारको खर्च गर्ने क्षमता देखिएन, तपाईंको बुझाइ के रह्यो ? सङ्घीयतामा एउटा बुझाइ के हो भने दायित्व जति सङ्घले राखोस्, आम्दानी जति तल देओस् भन्ने छ । रु १० खर्ब राजश्व उठ्दा, नौ खर्ब जति हाम्रो अनिवार्य दायित्व छन्, जुन सङ्घमा रहन्छन् । प्रशासनिक खर्च, पेन्सन खर्च, ऋणको सावाँब्याज भुक्तानी, सामाजिक सुरक्षालगायत केही ठूला गौरवका आयोजना जुन सङ्घले खर्च नै गर्नुपर्छ । आठ÷नौ खर्ब त घटीमा त्यहीँ जान्छ भनेपछि बाँकी रहेको पैसा बाँड्ने हो । उहाँहरु के भन्नुहुन्छ भने हरेक वर्षको आम्दानी १० खर्ब भाछ भने यो त बराबर बाँड्नुप¥यो । मेरो भनाइ के हो भने दायित्व बाँड्ने हो भने स्रोत पनि बराबर बाँड्ने हो । दायित्व लिन तयार हो कि होइन भन्ने हुन्छ । त्यो दायित्व सङ्घले मात्र सिर्जना गरेको छैन, कर्मचारी तल छन्, केही सङ्घबाट तलबभत्ता खाने कर्मचारी पनि प्रदेश र स्थानीयमा छन् । स्थानीय तहले पनि सामाजिक सुरक्षा बाँडिरहेका छन्, पैसा त सङ्घबाट नै गइरहेको छ । विगतमा हामी सबै नगरपालिका, गाउँपालिका तथा पञ्चायतकालदेखि अहिलेसम्म राज्यले लिइरहेको ऋण सबैले लिएको हो नि । ऋणको भुक्तानी सङ्घको मात्र दायित्व होइन होला नि ? दोस्रो, विधिसम्मत ढङ्गले खर्च गर्दा यतिनै सीमा हुन्छ भन्ने बुझाइ कम भयो । खर्च गर्ने क्षमता कम हुँदा स्रोत मागेर मात्र नहुँदो रैछ भन्ने पनि रह्यो । तेस्रो, अघिल्लो वर्ष औसतमा ६० प्रतिशत खर्च भएको थियो भने ४० प्रतिशत त बाँकी नै रह्यो । सङ्घले मूलतः सङ्घीयताको मर्मअनुसार तल्ला सरकारको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई बढी जिम्मेवारीसहित स्रोत विनियोजन गर्दै क्रमशः अघि बढाउँदै लाने हो । क्षमता छैन भनेर स्रोत साधन नदिने भन्ने पनि होइन, स्रोत साधन दिएकै छ, अब गरे गर्लान् नगरे नगर्लान् भनेर क्षमता विकासमा सहयोग नगर्ने कुरा पनि होइन, यो सँगसँगै लानुपर्छ । त्यसो गर्दा तीनै तहको सरकारले बुझ्नुपर्ने कुरा के छ भने हामी एउटै भूगोलमा छौँ, एउटै राज्यमा छौँ, हाम्रा जनसङ्ख्या तिनै हुन् र हामीले निर्वाह गर्नुपर्ने जिम्मेवारी उनीहरुप्रति नै हो । यहाँ हामीले परिपूरकको भूमिका निर्वाह गर्ने कि प्रतिस्पर्धा गर्ने रु हामी अर्को भूगोलमा भए पो प्रतिस्पर्धा हुन्छ, निर्वाचन क्षेत्रबीचको भए पो प्रतिस्पर्धा हुन्छ । हामीले एउटै भूगोल, जनसङ्ख्या र वातावरणमा काम गर्नुपर्ने भएकाले यसमा ‘तँ तँ र म म’ गर्न पर्दैपर्दैन । यो जिम्मेवारी जसले जति भारी बोक्न सक्छ, लिँदै जाने कुरा हो । त्यसरी सङ्घीयता अघि बढ्छ । वर्तमान सरकार गठनपछि केही ‘गेम चेन्जर’ आयोजना शुरु होस् भन्ने जनताको अपेक्षा थियो । केही आयोजना शुरु गरौँ भन्ने लागेन ? गेम चेन्जर परियोजना शुरु भइसकेका छन् । सामाजिक, आर्थिक क्षेत्रमा आयोजना शुरु भएका छन् । पहिलो कुरा हामीलाई कुनै नयाँ चक्काको आविष्कार गर्नुछैन । हामीले सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भन्यौँ, स्वास्थ्य बीमा कार्यक्रम ल्यायौँ । जुन अहिले ४९ जिल्लामा छ । चालु आवमा ६० जिल्लामा पुग्छ । अर्को वर्ष ७७ जिल्लामै कार्यक्रम लागू हुन्छ । ज्येष्ठ नागरिकलाई हामीले निःशुल्क गरेका छौँ । अब बाआमालाई सिटामोल खुवाउने पैसा भएन भनेर कसैले कराउनु पर्दैन । सामाजिक सम्बन्धमा नयाँ आयाम थपिरहेको छ । बाआमा बोझ भयो भन्नेले बाआमालाई पैसा दिनुभएको छ, अहिले छोराछोरीको ‘स्कूल’को ‘टिफिन’ काट्नु परेको छैन भनेका छन् । यो गेम चेन्जर होइन र रु बालबालिकालाई राज्यले सामाजिक सुरक्षा दिनुपर्छ भनेर कार्यक्रम शुरु गरिएको छ । अहिले दलित र पछाडि परेको क्षेत्र कार्यान्वयनमा छ, त्यसलाई हामीले क्रमशः सबै बालबालिकालाई सुरक्षा दिँदै लानुछ । जनता आवास भनेर कार्यक्रम शुरु ग¥यौँ । म आफू नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा नै कार्यक्रम शुरु गरिएको हो । अब सबैलाई राम्रो घर बनाउन पैसा दिन सकिँदैन भने सबैको घरको छानो छ सुरक्षित हुनुपर्यो भनेर ५० हजार रूपैयाँ दिइएको छ । अहिले गाउँगाउँमा फुसका घर जस्ताको घर हुँदैछन् । यो ‘सोसल गेम चेन्जर’ भएको होइन र रु त्यसैगरी माध्यमिक तहको शिक्षा निःशुल्क, साधारण शिक्षाको धारलाई प्राविधिक धारमा लैजाने तयारी गरेका छौँ । शिक्षामा प्रणाली नै ‘सिफ्ट’ गर्दैछौँ । के यो गेम चेन्जर होइन ? यो सामाजिक क्षेत्रको कुरा रह्यो । अब आर्थिक तथा भौतिक क्षेत्रमा कसरी गेम चेन्ज हुन्छ ? हाम्रा सबै सडक घटीमा दुई लेनका हुन्छन् । राजमार्ग चार/छ लेनमा स्तरोन्नति हुन्छन् । केही मार्ग आठ लेनका पनि बन्छन् । सिङ्गल लेनको त अब हामी बनाउँदै बनाउँदैनौँ । सडक सुरक्षाका कार्यक्रमसहित अगाडि बढेको छ । सडकले मात्र पुगेन भनेर रेल्वेको कुरा पनि गरेका छौँ । तर, रेल्वेमा डिपिआर गर्न घटीमा दुई वर्ष लाग्छ । निर्माण हुन पाँच/सात वर्ष लाग्छ । अब अहिले हामी डिपिआर सम्पन्न गरेर निर्माण गर्ने अवस्थामा पुगेका छौँ । यो एउटा गेम चेन्जर हुन्छ । अब सवारीसाधनको गेम चेन्ज हुन्छ । अब घुम्ती बाटोका ठाउँमा सुरुङमार्गबाट जान्छौँ । अघिल्लो आवको बजेटमा छ वटा सुरुङ निर्माण गर्ने भन्यौँ । केही डिपिआर तयार भएका छन् । यस वर्ष एक÷दुई वटा निर्माण शुरु हुन्छन् । पानी जहाज ठट्टाको विषय बनाइन्थ्यो, तर यो गेम चेन्जर हुन थाल्या छ । अहिले भारतसँग सम्झौता ग¥यौँ, साहिवगञ्ज र कलकत्ताबाट ल्याउने कुरा गरेको छौँ । अब खाली पानीजहाज सञ्चालन गर्ने ऐनको व्यवस्था गर्नुछ । हाम्रा नदीमा पानीजहाज चल्न थाले । यस्तै विद्युत् क्षेत्रमा हामीले लामो समयसम्म ‘रन अफ द रिभर’ आयोजना धेरै चलायौँ, अब हामीलाई ‘पिकिङ’ इनर्जी प्रयोग गर्न जलाशययुक्त आयोजना चाहियो । अबको हाम्रो ध्यान ठूला जलाशययुक्त आयोजनातर्फ छ । जलविद्युत् आयोजनामा हामी धेरै गयौँ अब सौर्य ऊर्जातर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । केही विद्युत् उत्पादन भइरहेको छ । कृषिको गेम चेन्ज सोचेजस्तो भएको छैन । प्रविधिको प्रयोग विस्तारै बढ्दै गएको छ । कृषि यान्त्रिकीकरण हुँदैछ परिवर्तन हुने गति कम छ । तर, यान्त्रिकीकरण आफैँमा गेम चेन्ज हो । औद्योगिक क्षेत्रमा नयाँ उद्योग आउन अझै समय लागेको छ । यसमा थप पहल गर्नुपर्ने छ । बैंकिङ प्रणाली एउटै किसिमबाट अगाडि बढेको छ । नयाँ किसिमको ‘फाइनान्सियल प्रोडक्ट’ ल्याउन बाँकी छ । शासकीय प्रबन्धमा सूचना प्रविधिको प्रयोग जति गर्न सक्यो त्यति हाम्रो सुशासनको गेम चेन्ज हुने हो । त्यसलाई अलिकति समय लाग्छ, केही काम भएका छन् । डुइङ बिजनेसमा थप प्रगति गर्न के योजना छ ? डुइङ बिजनेसमा हामीले यो वर्ष राम्रै ग¥यौँ । हामीले जे गरेका छौँ । त्यसमा थप सुधार गर्नुपर्ने क्षेत्र छन् । हामीले अब कम्पनीको दर्ता प्रक्रियामा थप सरलीकरण गर्नुछ । कम्पनी बन्द गर्ने व्यवस्थालाई अझ राम्रो गर्नुछ । कम्पनीलाई जग्गा प्राप्ति, बिजुलीलगायत सुविधामा अझै प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने छ । अब ठूला कम्पनीलाई लगानी बोर्डले त्यो सुविधा दिनुपर्ने छ । त्यसैगरी बैंक कर्जासम्बन्धी व्यवस्थालाई अझ सजिलो बनानुपर्ने छ । मूलतः पारदर्शी र कुशल व्यवसाय प्रशासन गर्न सक्नुपर्छ त्यो सबै गर्नका लागि अत्यधिक सूचना प्रविधिको प्रयोग गरेर अघि बढ्नुपर्ने छ । समग्रमा लगानीकर्ताले पहिलेभन्दा अहिले सहज भयो भन्ने वातावरण बनाउन सक्नुपर्छ । मध्यपूर्वमा देखिएको तनाव र छिमेकी अर्थतन्त्रमा आएको उतारचढावले यहाँ कस्तो असर पार्ला ? हामी यस्तो युद्ध नहोस् भन्ने चाहन्छौँ । हामी शीतयुद्धबाट थाकिसकेका छौँ । अब अहिले त एक किसिमले भन्दा खुला जस्तै भइसक्यो । आफ्ना द्विपक्षीय समस्याहरु आपसी मिलेमतोबाट राष्ट्रहरुले समाधान गरुन् । तेस्रो पक्षलाई असर नपरोस् भन्ने हाम्रो चासो रहन्छ । मध्यपूर्वमा तनाव भएका खण्डमा पेट्रोलियम उत्पादन र मूल्यमा चाप पर्छ कि भन्ने डर हो । दोस्रो, मध्यपूर्वमा हाम्रो रोजगारीका अवसर छन्, त्यसमा प्रतिकूल असर पर्छ कि भन्ने छ । तेस्रो, धेरै मुलुक नेपाललाई द्विपक्षीयरूपमा सहयोग गर्ने मुलुक छन्, उनीहरु आफैं द्वन्द्वमा फसे भने हामीलाई सहयोग गर्ने वातावरणमा अप्ठ्यारो हुन्छ कि भन्ने छ । त्यसको असर छिमेकी मुलुकमा प¥यो भने छिमेकी मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्यो भने र त्यहाँको विदेशी विनिमय बजारमा चाप पर्यो भने भारतीय मुद्राको विनिमय दरमा अस्थिरता आयो भने हामीलाई पनि अस्थिरता आउने डर हुन्छ । नेपाल र भारतको अर्थतन्त्रको बीचमा आर्थिक मात्र होइन, एक किसिमले मनोवैज्ञानिक सम्बन्ध पनि छ । हामीले मनोवैज्ञानिक असर पर्न नदिने गरी उच्च मनोबल बढाउने गरी काम गर्नुपर्छ । सबल अर्थतन्त्र निर्माणका लागि अबको रणनीति के हुन सक्छ ? हाम्रो रणनीति भनेको अर्थतन्त्रको संरचनात्मक परिवर्तन हो । हाम्रो उत्पादन प्रणाली धेरै आयातमा निर्भर छ । त्यसलाई हामीले आन्तरिक स्रोतमा आधारित रूपान्तरणमा लैजानु छ । उद्योगहरु आयातीत कच्चा पदार्थ र प्रविधिमा आधारित छन् । यसलाई हामीले आन्तरिक कच्चा पदार्थ आन्तरिक प्रविधिको उत्पादनमा आधारित बनाउँदै जानुपर्छ । आयातीत सवारीसाधन, पेट्रोलियमलाई विद्युतीयबाट लैजान सक्नुपर्छ । त्यसो भयो भने केही वस्तुको आयात कम गरेर उत्पादनको संरचना परिवर्तन गरेर कम आयातबाट उच्च आर्थिक वृद्धिमा जान सक्छौँ । तत्कालै जनताको आवश्यता पूरा गर्ने उत्पादन बढाउँदै मूल्य पनि बढ्न नदिने र दीर्घकालीन विकास गर्नुपर्ने छ । लगानीबाट उच्च प्रतिफल लिन गुणस्तरमा सुधार गर्नुपर्ने छ । कामका अवसर सिर्जना गर्नुपर्ने छ । स्वरोजगारी र ज्यालाको रोजगारी सिर्जना गरेर क्रमशः वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था कम गर्दै लैजाने हो । अन्तमा, मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)लाई कसरी उपयोग गर्न सकिएला ? एमसीसी हामीले खोजेको आयोजना हो । एमसीए भनेर हामीले नेपालमा सम्झौता गरेको छौँ । सम्झौता गरिसकेको विषय छ, त्यसलाई राष्ट्रको हितमा उपयोग गर्ने हो । (राससका लागि रमेश लम्साल र अशोक घिमिरेले अर्थमन्त्री डा खतिवडासँग गरेकाे अन्तरवार्ता )
पुँजी र जनशक्तिमा समस्या छैन, भूमि र सरकारको भूमिकामा समस्या छन्- शतिसकुमार मोर
शतिसकुमार मोर- अध्यक्ष, नेपाल उद्योग परिसंघ विगत केही वर्ष देखि नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दामाथि छ । अहिले पनि नेपाल राष्ट्र बैक, राष्ट्रिय तथ्याङ्क विभाग लगायत सरकारी निकायको तथ्याकंलाई केलाउने हो भने देशको अर्थ व्यवस्था खराव अवस्थामा छैन । तर, उद्योगीहरु व्यवासयीहरुको कुरा सुन्दा देशको अर्थ व्यवस्था ठिक छैन । उद्यमी व्यवसायीहरुको मनोवल निकै गिरेको पाइन्छ । देशमा विगतमा गम्भिर समस्याहरु थिए, अहिले त्यस्ता समस्याहरु छैनन् । सशस्त्र द्वन्द्व, लामो समय लोडसेडिङ, श्रमीक र उद्यमी बीचको द्वन्द्व, तराई आन्दोलन जस्ता विकराल समस्याबाट देशले मुक्ति पाएको छ । यस परिवेशमा व्यवसायिहरु उत्साहित भएर ठूला लगानीका योजना भटाभट आउनु पर्ने हो तर वास्तविकता त्यस्तो देखिदैन । खास समस्या के हो ? यहि विषयमा केन्द्रीत भएर नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरसँग गरिएको विकास वहस। नेपालको औाद्योगिक वातावरण बिग्रिएको हो कि राम्रो बन्दै गएको हो ? अवस्था मिश्रित नै छ । राम्रो भएको छैन भन्न पनि मिल्दैन । विगतको भन्दा आयात घटेको तथ्याङ्कले देखाउँछ । निर्यातमा हामीले फड्को मारेका छौँ । यस्तै, व्यालेन्स अफ पेमेन्टमा सकारात्मक संकेत देखिन्छ । अर्को तर्फ राजश्व संकलन घटेको छ । औद्योगिक रुपमा हामीले पाएको सफलता भनेको सिमेन्ट, स्टिल तथा चिनी उद्योगमा हो । यस क्षेत्रमा देश आत्मनिर्भर हुनु राम्रो हो । पर्यटन क्षेत्रको विकासकालागि समेत होटलहरु खुलेकै छन् । निजी क्षेत्रले राजनीतिक स्थायीत्व खोजेको थियो, त्यो पनि पाएका छौं । बहुमतको सरकार छ । तर राजनीतिक नेतृत्वले जुन भिजन दिनुपर्ने हो उच्चदरको आर्थिक विकासको लागि, त्यो अभाव देखियो । तपाईले सबैतिर वातावरण ठिक छ भन्दै गर्दा ठूला उद्योग किन आउन सकेनन् ? आर्थिक क्षेत्रमा किन उत्साह देखिदैन ? मैले त्यहि भन्दैछु । सरकारी भिजन स्पष्ट र पूर्ण छैन । हामीले केही पुराना नियम कानुनहरु संशोधन गर्न माग गर्यौ । धेरै कानुनमा सुधार पनि भएको छ । तर सरकार बढी नियन्त्रणमुखि भयो । थुनछेकको काम भयो । पेनाल्टीहरु धेरै भयो । त्यसले गर्दा नीजि क्षेत्रको विश्वासको वातावरणमा केही कमी आएको छ । सरकारले पूर्वाधार निर्माणको कार्यमा राम्रो गर्न सकेको छैन । कमजोर पूर्वाधार भएको देशमा ठूला र प्रतिस्पर्धी उद्योग आउन सक्दैनन् । कानुन व्यवस्था आवश्यक भन्दा बढी कडा भएकोले समस्या भएको हो ? काम गर्ने क्रममा गल्ती हुन्छ । तर गल्तीको प्रकृति बुझ्न आवश्यक हुन्छ । जानेर गरेको गल्ती र नजानेर गरेको गल्ती भनेको फरक किसिमका गल्तीहरु हुन् । आर्थिक क्षति भएको अवस्थामा आर्थिक रुपमा नै दण्डित गर्ने कानुनको सिर्जना गर्न आवश्यक हुन्छ । यसमा थुनछेक गरेर हुदैन । कुनै पनि उद्योगमा व्यवसायीको लगानी भनेको २०/३० प्रतिशत मात्र हो । ७०/८० प्रतिशत बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने हो । व्यवसायी डुब्यो भने पब्लिकको पैसा ढुब्छ । देशलाई आर्थिक नोक्सान हुन्छ । त्यसैले उद्यमी व्यवसायीले गरेको काममा सरकारले सहयोग गर्ने नीति लिनु आवश्यक छ । कर्मचारीतन्त्र ढिलोसुस्ती छ । एउटा उद्योग खोल्नु पर्यो भने आइइइ, एआइए लगायत काम गर्न वर्षौ लाग्छ । सिमेन्ट उद्योग खोल्न वा जलविद्युत निर्माण गर्न धेरै वर्ष लाग्नुको कारण पनि यहि हो । उद्योग लगाउन सबैभन्दा ठूलो समस्या भूमिको छ । अहिले कुनै पनि ठाउँमा एक लाख रोपनीमा औद्योगिक जग्गा किन्न कुनै ठाउँमा शुरु गर्यो भने अब केही दिनमा नै अब सोही स्थानमा रोपनीको ५ लाख/१० लाख भन्न थाल्छन् । थप जग्गा किन्नै सकिदैन । जग्गा व्यवस्थापन ठूलो समस्या छ । त्यस्तै, उद्योग एक ठाउँबाट अर्को ठाउँमा सार्नु पर्यो भने पनि ठूलो झमेला छ । त्यसले पनि उद्योगमा लगानी गर्नेहरु धेरै निराश भएका छन् । राजनीतिक अस्थीरताको समयमा निजी क्षेत्रको विकास पनि संस्थागत रुपमा, सुशासनमा रहेर चल्न सकेका थिएनन् । स्थायी सरकारसँग नियम कानुनको परिपालनामा कडाई भएकोले पनि निजी क्षेत्रलाई गाह्रो भएको हो ? हैन, म त्यस्तो भन्दिन । अवस्था जस्तोसुकै भएपनि नियामनकारीहरुले आफ्नो काम गर्नैपर्छ । नियामनकारीले परस्थिति पनि हेरिदिनु पर्छ । समस्याहरु आएको अवस्थामा समाधान गर्दै जानुपर्छ । व्यवहारिक रुपमा राज्यले आवश्यक सहयोग गर्न सक्छ । मैले यसअघि पनि भनिसके कि अन्जानमा भएका गल्ती कमजोरीलाई सच्याउने मौका निजी क्षेत्रले पाउनुपर्छ । नियतवस गल्ती गरेको छ भने उसले कारवाही भोग्नुपर्छ । रोजगारदाता तथा श्रमिकहरु सामाजिक सुरक्षा कोषमा जानै पर्ने व्यवस्था, कर्मचारीलाई बैंकबाट मात्र भुक्तानी गर्नु पर्ने, बैंक र कर कार्यालयमा पेस गर्ने वासलात एउटै हुनुपर्ने व्यवस्था लगायन नयाँ नियमहरुले निजी क्षेत्र हतोत्साहित भएको हो ? हामी धेरै किसिमका नियम कानुनबाट कसिदै आएका छौं । दुईटा वालेन्सिट हुनुपर्छ भनेर कसैले पनि भनेका छैन । हिजोसम्म निकै उदार थियौ । एक्कासी आएर नयाँ नियमहरु आए । साउनदेखि कर्मचारीलाई प्यान पनि लागू भयो । सामाजिक सुरक्षा कोष पनि लागूभयो । भीसीटीएस पनि लागू भयो । यी सबै नियमहरु पालना गर्न कतिपय काम गर्न हामीकहाँ दक्ष जनशक्तिको अभाव छ । सीए, अडिटरहरुको समेत कमी छ । निजी क्षेत्रको आफ्नै क्षमताको पनि प्रश्न छ । काठमाडौंलाई मात्र हेरेर नियम बनाउनु पनि भएन । दूरदराजमा रहेका तराई, पहाड र हिमालमा रहेका उद्योगीहरुलाई समेत सँगसँगै लिएर काम गर्न आवश्यक छ । देश विकासका लागि पुँजीको निर्माण र रोजगारी सिर्जना आवश्यक कुरा हो, नेपालमा सन्र्दभमा यी दुबै कार्यले कुन गतिमा भईरहेको छ ? हाम्रो देशको अर्थतन्त्र रेमिटेन्समा नै निर्भर छ । हाम्रो निर्यात कम छ । पर्यटन क्षेत्रमापनि हामी पछाडि नै छाैं । विदेशमा रहेका नेपाली वर्करहरु सन् २०२१/२२ पछि नेपाल फर्कदैछन् । विश्वमा देखिएको मन्दीका कारण उनीहरुले रोजगारी गुमाउने अवस्था आउन सक्छ । त्यतिबेला नेपालले रोजगारी दिन सकेन भने स्थीति डरलाग्दो बन्न सक्छ । नेपाल उद्योग परिसंघले यस विषयमा सरकारको ध्यानाकर्षण समेत गराईसकेको छ ।हामी २०२० मा आईसक्यौं । ठूला उद्योग लगाउन २/३ वर्ष लागि हाल्छ । त्यसैले सरकारले एक दिनपनि ढिला नगरिकन उद्योग खोल्न चाहानेलाई सहयोग गर्नुपर्छ । निर्यातमुलक उद्योग र मास प्रडक्सन गर्ने उद्योग खोल्नेलाई प्रोत्साहित गर्ने विषेश नीति ल्याउनुपर्छ । यसपालिको बजेट उद्योगमैत्री छ । तर भूमिको समस्या ठूलो छ । भूमि किन्दा ठूलो मूल्य पर्छ । राज्यले ७ वटै प्रदेशमा औद्योगिक आर्थिक क्षेत्र निर्माण गर्ने भनेको छ । तर यस्तो औद्योगिक क्षेत्र बनाएर मात्र पुग्दैन । ठूला सिमेन्टहरु, खानीहरु, जलविद्युत गृहहरु औद्योगिक क्षेत्रमा बन्न सक्दैन । धेरै पानी भएका खोलामा जलविद्युत बन्छ । खानी भएको क्षेत्रमा सिमेन्ट उद्योग बन्छ । टनेल बनाउनु पर्यो सोही क्षेत्रको भूमि आवश्यक हुन्छ । मेरै अनुभव भन्ने हो भने म ट्याक्स अफिसमा कुहिएको सर्ट लगाएर जान्थें । राम्रो कपडा लगायो भने यसले बढी पैसा कमाएछ भनेर ट्याक्सका हाकिमहरुले रिस गर्ने वातावरण थियो । उद्योग लगाउन भूमि एउटा पाटो रहयो । पूँजीको उपलब्धता र लागत कस्तो छ ? विगतमा रहेको तरलता अभावमा केही सुधार भएको छ । यद्यमी सरकारले विकास खर्च गर्न सकेको छैन । सरकारको ढुकुटीमा पैसा जम्मा भएको छ । कुनै पनि उद्योग लगाउन अहिले पुँजी बोटलनेक होइन । पुँजी त एफडीआईबाट पनि ल्याउन सकिन्छ । नेपालमा आईएफसी, सिडीसी जस्ता सस्थाले पनि लगानी गरिरहेका छन् । बरु ठूला जलविद्युत आयोजनामा जस्तै, उद्योगमा विदेशी पुँजी ल्याउनको लागि पनि हेजिङको व्यवस्था गर्नु राम्रो हुन्छ । एनआरएनले पनि नेपालमा लगानी गर्न खोजिरहेका छन् । देशमा पुँजी कम भए विदेशबाट पनि ल्याउने सकिन्छ । यहाँ पुँजीको अभाव छैन । सोचको अभाव हो । नीतिगक समस्या छन् । र, केही व्यवहारिक समस्याहरु पनि समाधान गर्नु पर्नेछ । जनशक्तिको उपलब्धता चाँहि कस्तो छ ? नेपालका धेरै युवाहरु विदेशिएका छन् । मैले आफ्नै कम्पनीको उदाहरण दिँदा त्यति धेरै जनशक्तिको समस्या छैन । तर, प्राविधिक ज्ञान भएका जनशक्तिहरुको समस्या चाहिँ अवश्य नै छ । नेपाली युवा पुस्ता नेपालमा रोजगारी नपाएर विदेशिने क्रम बढ्दो छ । रोजगारी सिर्जना नहुनुमा को जिम्मेवार छ ? नेपालमा रोजगारी पाइदैन भन्ने कुरमा मलाई अलि शंका लाग्छ । तिनीहरु रोजगार नपाएर विदेश गएका होइनन् । द्वन्द्वकालमा रोजगारी नपाएर विदेश गएका थिए । अहिले नेपालमा रोजगारीको अवसर छ । तर, आजभोली युवा पुस्ता रहरले विदेश जाने प्रविृति छ । विदेश गएकाहरुले कमाएजति नै स्वदेशमा काम गर्नेले पनि कमाई रहेका छन् । पहिले श्रमिकको उत्पादकत्वमा धेरै प्रश्नहरु उठ्थे, अहिले ती प्रश्नहरु उठ्न छोडे । के अहिले नेपालको जनशक्तिकोे उत्पादकत्व वृद्धि भएको हो ? यसलाई दुईटा पाटोबाट हेर्नुपर्छ । एउटा श्रमिकले आफ्नो पाटोबाट धेरै काम गर्छ जवसम्म उनीहरु स्थायी हुँदैनन् । स्थायी भएपछि त्यो क्रम तल झर्छ । यो मेरो पनि अनुभव हो । स्थायी हुने वित्तिकै समस्या पनि छ । त्यसैले हामीले नेपाल सरकारलाई हायर एण्ड फायरको पोलिसी ल्याउनु पर्छ भन्दै आएका छौं । सबैले ध्यान दिनुपर्ने कुरा के हो भने कुनै पनि उद्योगीले श्रमिकमाथि धेरै लगानी गरेको हुन्छ । स्टाफ टर्नओभर धेरै भयो भने उद्योगमो इज्जत पनि खस्कन्छ । उद्योगीले आफ्नो श्रमिकलाई छोड्न चाहँदैनन् । तर, उसले काम गर्ने क्षमता र काम गर्ने वातावरण विगार्छ भने उद्योगले त्यसको उपाय पनि निकाल्छ । नेपाली कम्पनीहरुमा दक्ष जनशक्तिको टर्नओभर धेरै छ । यसको कारण के हो ? मेरो विचारमा ३०/३५ वर्षको उमेरमा धेरै मानिसहरु संस्था परिवर्तन गरिरहेका देखिन्छन् । कतिपय मान्छेहरु नयाँ अनुभव बटुल्न संस्था परिवर्तन गर्छन । कतिपय मानिसहरु राम्रो अवसर पाएपछि नयाँ संस्थामा जान्छन् । नयाँ विषयमा एक्पोज लिन पनि मानिसहरु संस्था परिवर्तन गर्छन । संस्थाको हितमा काम गर्ने मान्छे कुनै पनि संस्थाले गुमाउन चाहाँदैन । कुनै पनि कम्पनीका लगानी निजी क्षेत्रको मात्र भएपनि नाफामा सरकार पनि हिस्सेदार हुन्छ । नाफाबाट २५ प्रतिशत कर सरकारले लिन्छ । नाफामा साझोदारी गर्ने सरकार र निजी क्षेत्रबीच किन धेरै दरार देखिन्छ ? किन विवाद हुन्छ ? विगत ३० वर्षको इतिहास हेर्ने हो भने पहिला भन्दा अहिले सरकार र नीजि क्षेत्रबीच धेरै सहकार्य भएको छ । पञ्चायतकालमा धेरै डर त्रासको वातावरण थियो । २५/३० वर्ष अघि जुन वातावरण थियो त्यसमा अहिले धेरै सुधार भएको छ । सरकार र नीजि क्षेत्रबीच सहकार्य भइरहेको छ । मेरै अनुभव भन्ने हो भने म ट्याक्स अफिसमा कुहिएको सर्ट लगाएर जान्थें । राम्रो कपडा लगायो भने यसले बढी पैसा कमाएछ भनेर ट्याक्सका हाकिमहरुले रिस गर्ने वातावरण थियो । अहिले १० वर्ष भैसक्यो म न भन्सार विभाग गएको छु, न कर कार्यालय गएको छु, न ठूला करदाताको कार्यालय गएको छु । जानुपर्ने काम नै परेको पनि छैन । सबै काम अनलाइनबाटै धेरै काम गर्न सकिन्छ । सरकारी र नीजि क्षेत्रबीच विश्वासको वातावरण सिर्जना भएको छ । तर अहिले कम्यूनिष्ट पाटीको सरकारले ल्याएको नियमका कारण पञ्चायतकाललाई नै बिर्साउने गरी नियम बने, निजी क्षेत्र त्रर्सिए भन्ने कुरा पनि सुनिन्छ नि ? नियमहरुमा कडाई गरिएको छ । दण्ड जरिवाना बढाईएको छ । तर पहिला भन्दा स्थिति खराब भयो भन्ने चाहिँ होइन ।