मेराे कार्यकालमा सनराइज बैंकलाई टप टेनमा पुर्याउछु- जनकराज शर्मा पौड्याल
३२ वर्ष बैकिङ क्षेत्रमा काम गर्नु भएका जनकराज शर्मा पौड्यालले सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको ४ महिना बित्यो । नविल बैंकबाट बैकिङ करिअर शुरू गर्नुभएका पौड्यालले एनआइसी एशिया, लक्ष्मी बैंक हुँदै ग्लोवल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालिसक्नु भएको छ । चार वर्षमा सनराईज बैंकलाई टप टेन बनाउने लक्ष्य र प्रतिवद्धता पौड्यालसँग छ । उक्त लक्ष्य प्राप्तिका लागि योजना के के छन् ? सनराईज बैंकले ३ अर्बको डिबेन्चर जारी गरेको छ । यसमा लगानी गर्दा के फाइदा हुन्छ ? बैंकको व्याजदर अब के हुन्छ ? यिनै विषयमा केन्द्रीत भई प्रमुख कार्यकारी अधिकृत पौड्यालसँग गरिएको विकास वहस यस अंकमा । सनराईज बैंकले ‘सनराइज डिबेन्चर २०८३’ निष्काशन गरेको छ । अरु बैंकहरुको पनि डिबेन्चरहरु निष्काशन भईरहेका छन् । यसबेला लगानीकर्ताहरुलाई छनौटको धेरै अवसर छ । यस्तो बेलामा लगानीकर्ताले सनराईज डिबेन्चर नै किन रोज्ने ? बण्ड मार्केटको विकास गर्ने उदेश्य सहित राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्छ भनेको छ । राष्ट्र बैंकको नीतिलाई समर्थन गर्दै हामीले पनि डिबेन्चर जारी गरिरहेका छौं । हामीले चुक्ता पुँजीको करिव ३६ प्रतिशत हुने अर्थात ३ अर्बको डिबेन्चर निष्काशन गरेका छौं । बैंकले जारी गरेको डिबेन्चर सात वर्ष अवधिको छ । वार्षिक व्याजदर १०.२५ प्रतिशत व्याज तोकिएको छ । बैंकहरुले १/२ वर्षको मुद्दतिमा ९.५० प्रतिशत दिएका छन् । हामीले मुद्दतीमा भन्दा शुन्य दशमलव ७५ प्रतिशत बढी व्याज दिएका छौं । ६/६ महिनामा लगानीकर्ताले व्याज पाउनुहुनेछ । नेपालको वित्त बजारमा व्याजदर निकै अस्थीर रहदै आएको छ । ७ वर्ष अवधि भनेको धेरै लामो पनि होइन, छोटो अवधि पनि होइन । यस अवधिमा निश्चित प्रतिफल आउनेभयो । अर्को महत्वपूर्ण कुरा के छ भने डिबेन्चर जारी गर्नुपूर्व हामीले बैंकको क्रेडिट रेटिङ गराएका छौं र त्यसमा ‘ए माइनस’ पाएका छौं । यसको अर्थ बैंक राम्रो छ, यसको डिबेन्चरमा गरिएको लगानी पूर्ण सुरक्षित छ भन्ने हो । त्यस्तै, हामीले हरेक वर्ष ६० करोड रुपैयाँ डिबेन्चर फण्डमा संकलन गर्दै जान्छौं । डिबेन्चर परिपक्क भएपछि बैंकले लगानीकर्तालाई पैसा फिर्ता गर्न सक्दैन कि भन्ने चिन्ता पनि हुँदैन । डिफल्ट हुने सम्भावना शुन्य छ । त्यस्तै, बैंकमा संस्थागत सुशासन राम्रो छ । नियम कानुनको पूर्ण परिपालना भएको छ । नियामकले दिएका निर्देशनहरुको पालना भएको छ । हालै नेपाल स्टक एक्स्चेञ्ज कम्पनीले एउटा मात्र बैंकलाई क वर्गमा राखेको छ, त्यसमा सनराइज बैंक मात्र छ । २४५ वटा सूचिकृत कम्पनी मध्ये सनराईज बैंक एक नम्बरमा छ । सनराईज बैंकले १२ वर्षको यात्रा पुरा गरेको छ । ६ लाख ग्राहक छन् । १२२ वटा शाखा छन् । १४० वटा एटीएम सञ्जाल छन् । ब्रान्चलेस बैकिङ सेवासहित करिव ३०० स्थानबाट सनराईज बैंकले बैकिङ सेवा प्रदान गर्दै आएको छ । सनराईज बैंक बलियो र विश्वासिलो संस्थाको रुपमा स्थापित भएको छ । म यो बैंकको प्रमुख कार्यकारी अधिकृत भएर आएको चार महिना भयो । मैले यो संस्था धेरै राम्रो रहेको पाए । गुडगभनेन्स छ, सिस्टमा चलेको छ, वित्तीय रुपमा बैंक बलियो छ । त्यसैले लगानीकर्ताको लागि सनराइज डिबेन्चर उच्च प्रतिफल दिने र सुरक्षित लगानी गर्ने ठाउँ हो । ऋणपत्रबाट संकलिन ३ अर्ब रुपैयाँ कहाँ लगानी हुन्छ ? लगानीको ठाउँ प्रशस्त छ । देशभर कर्जाको माग उच्च छ । निक्षेपको वृद्धि कम छ । राम्रो प्रतिफल दिने क्षेत्रहरुमा कर्जा लगानी गर्छौ । बैंकहरुले गत वर्ष मात्र चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ बनाएका छन् । फेरी सहायक पुँजीको रुपमा डिबेन्चर जारी गरेका छन् । यसले कर्जा लगानी विस्तारमा थप दवाव सिर्जना गर्दैन ? केही समयअघि २ अर्बका ३२ वटा बैंक थिए । अहिले कम्तिमा ८ अर्बको २८ वटा बैंक छन् । पहिला ३२ वटा गाई भएको ठाउँमा अहिले २८ वटा हात्ती छन् । पुँजी वृद्धिसँगै बैंकहरुले कर्जा लगानी बढाएका छन् । आर्थिक वृद्धिदर, नेपालीहरुको आय वृद्धिदर, बचत वृद्धिदर, निक्षेप वृद्धि दर, विप्रेषण आप्रवाहको वृद्धिदरको तुलनामा कर्जा विस्तार धेरै भईरहेको छ । त्यसैले बैंकहरुमा लगानी योग्य पुँजीको कमी रह्यो । राष्ट्र बैंकले सबै बैंकलाई चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर भन्नुको अर्थ लगानीयोग्य पुँजी निर्माण गर्नु पनि हो । यसले लगानी विस्तारलाई सहयोग गर्छ । आज पनि बैंकहरुको सीसीडी रेसियो औषत ७८ प्रतिशत छ । यो भनेको हामी यलो जोनमा छौं । हामीले होसियारी पूर्वक लगानी गर्नुपर्ने अवस्था छ । सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । त्यसको लागि वार्षिक पाँच खर्ब लगानी हुनुपर्छ । त्यसको लागि ठूलो खाडल छ । राष्ट्र बैंकले विदेशबाट पुँजी ल्याउन विभिन्न बाटो खुला गरेको छ । तर एकाध बैंकले मात्र विदेशबाट पुँजी ल्याउन सफल भएका छन् । क्रेडिट क्रन्च हुनुमा बैंकहरुले आक्रामक लगानी गरे भन्ने आरोप पनि छ । त्यो गलत कुरा हो । बैंकहरुले आफूसँग भएको स्रोतको अधिकतम परिचालन गर्ने प्रयास गर्नैपर्छ, त्यो गरिरहेका छन् । नियमकीय मापदण्डभित्र रहेर बैंकहरुले लगानी गरेका छन् र लगानीकर्तालाई अधिकतम लाभ दिने प्रयास गरेका छन् भने त्यसलाई नराम्रो भन्न मिल्दैन । बरु सरकारी खर्च नियमति भएन । पुँजीगत खर्च ज्यादै कम भयो । रेमिट्यान्स आय घटेको छ । बैदेशिक व्यापार घाटा जोखिमपूर्ण विन्दुमा छ । त्यसतर्फ देखिएका समस्या समाधान हुने हो भने लगानीयोग्य पुँजी बैंकमा आउँछ । मुद्दतीको व्याजदर भन्दा ऋणपत्रको व्याजदर विन्दुगत आधारमा एक प्रतिशतभन्दा पनि कम फरक छ । मुद्दतिमा ९.७५ प्रतिशत व्याज पाइरहेको अवस्थामा ऋणपत्रको व्याज किन १०.७५ पनि नराखेको ? बैंकहरुले १ वर्ष वा २ वर्ष अवधिको मुद्दतीको ९.७५ प्रतिशत दिनु र ७ वर्षको डिबेन्चरमा १०.२५ प्रतिशत व्याज दिनुमा डिबेन्चर धेरै फाइदाजनक छ । डिबेन्चर नेप्सेमा सूचिकृत हुन्छ । चाहेको बेलामा बेच्न पनि सकिन्छ । धितोराखेर कर्जा लिन पनि सकिन्छ । आम्दानी सुनिश्चित छ । कुनै पनि जोखिम छैन । फेरि ७ वर्षसम्म निक्षेपको व्याज उच्च रहिरहन्छ भन्न पनि सकिदैन । विदेशबाट ऋण तथा लगानी भित्र्याउन सरकारले लचिलो नीति लिदै गएको छ । १/२ वर्षभित्रै विदेशबाट छताछुल्ल पैसा आउन पनि सक्छ । त्यस्तो अवस्थामा मुद्दतिको व्याज त ह्वात्तै घट्न सक्छ । सात वर्षसम्म अहिले कै अवस्था आउँछ भन्न सकिन्छ । डिबेन्चर धितो राखेर कर्जा लिने वा धितोपत्र बजारमा बेचेर क्यास गर्ने अभ्यास नै कम छ, किन ? हो । नेपालमा बण्ड मार्केटको विकास हुन सकेको छैन । सेयरको कारोबार जति हुन्छ बण्डको कारोबार हुँदैन । तर अब बण्ड मार्केट विकास हुन्छ । सप्लाईले पनि बजार निर्माणमा राम्रो रोल खेल्न सक्छ । अब बैंकहरुले ऋणपत्र जारी गर्दैछन् । यसको किनबेच पनि बढ्छ । १००० रुपैयाँको ऋणपत्र १२०० वा १५०० मा किनबेच गर्ने दिन आउँदै आएन नेपालका, किन ? अब आउँछ । सप्लाईले डिमाण्ड क्रियट गर्छ । गत वर्षको नाफाबाट सनराईज बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दियो । आज यो बैंकको सेयर मुल्य प्रतिकित्ता २०० रुपैयाँ छ । तपाई आफै भन्नुहोस् आजको दिनमा सनराइज बैंकको सेयर किन्दा फाइदा हुन्छ कि सनराईज बैंकको डिबेन्चर किन्दा फाइदा हुन्छ ? लगानीकर्ताको रुचीमा भर पर्छ । लगानीकर्तासँग पैसा कति छ ? सेयर ट्रेडमा ऊ कति अनुभवी छ ? जोखिम लिने क्षमता कति छ ? सेयरमा लगानी गर्नेले धेरै कुरामा ध्यान दिनुपर्छ । बैंकले सेयरधनीलाई दिने लाभांश घटबढ हुनसक्छ तर डिबेन्चरको लाभांश फिक्स छ । ६/६ महिनमा लाभांश आउँछ । सुरक्षित छ । जोखिम शुन्य छ । १००० मा किनेको डिबेन्चर १५०० भन्दा माथि पुग्न सक्छ भन्नुभयो । आज २०० मा किनेको सनराईजको सेयर ७ वर्षभित्रै ५०० भन्दा माथि पुग्न सक्ने सम्भावना कति छ ? जोखिम धेरै लिन सक्नेको लागि सेयरमा बढी फाइदा हुनसक्छ । तर डिबेन्चरमा जस्तो फिक्स आम्दानी हुँदैन । डिबेन्चरमा फिक्स आम्दानी, पूर्ण सुरक्षित र मूल्य वृद्धि लाभको सम्भावना सबै छ । समग्र बैकिङ क्षेत्रको कुरा गरौं । बैंकहरुले १४/१५ प्रतिशत व्याजदरमा कर्जा लगानी गरिरहेका छन् । यति महँगो व्याजमा गरिएको लगानी कति जोखिमपूर्ण छ ? वाणिज्य बैंकहरुले करिव १२ देखि १५ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । विकास बैंक, वित्त कम्पनी, लघुवित्त तथा सहकारीहरुले झन झन् महँगो व्याजमा कर्जा लगानी गरेका छन् । व्याज बढी हुनु मात्र कर्जाको जोखिम आधार मान्न सकिन्न । सहकारीबाट १८/२० प्रतिशत व्याजमा कर्जा लिनेहरुले पनि व्यवसाय विस्तार गरिरहेका छन् । महँगो व्याजमा कर्जा लिनेहरुले रियलस्टेट क्षेत्रमा लगानी गरेका छन् । त्यसमा जोखिम बढी छ । वाणिज्य बैंकहरुले रियलस्टेट क्षेत्रमा कम लगानी गरेका छन् । कर्जाको व्याज बढी भएकैले कर्जा डिफल्ट कति छ ? मेरै जीवनकालमा कर्जाको व्याज ३० प्रतिशतसम्म पुगेको देखेँ । बैंकहरुले ४ वर्षअघि ६ प्रतिशत व्याजमा कर्जा लगानी गरेका पनि थिए । अहिले कर्जाको १२/१४ प्रतिशत व्याज छ । व्याज बढी भयो भनेर विरोधको आवाज पनि सुनियो । तर कर्जा रिकभरीमा बैंकहरुले राम्रै गरेको देखिन्छ । खराव कर्जा अनुपात नराम्रो छैन । मलाई त के लाग्छ भने प्रतिस्पर्धाले बैंकका ग्राहकलाई लाभ पुगेको छ । स्प्रेडदर घट्दै गएको छ । स्प्रेडदर कम हुनु भनेको कर्जा लिनेलाई पनि सस्तो हुँदै गएको छ । बैंकमा पैसा राख्नेले पनि उच्च व्याज पाएका छन् । प्रतिस्पर्धाले विभिन्न बैकिङ सेवामा लाग्ने शुल्कहरु घट्दै गएका छन् । धेरै सेवाहरु निःशुल्क भएका छन् । आगामी दिनमा बैंकको व्याजदर कस्तो रहला ? नेपालमा व्याजदरको उतारचढावबारे प्रक्षेपण गर्न गाह्रो छ । सन् २००८ मा अटो लोन ६ प्रतिशतमा पाइन्थ्यो । मुद्दति खातामा बैंकहरुले ३ देखि ४ प्रतिशत मात्र व्याज दिन्थे । २०७२ सालको भूइचालो आउनुपूर्वसम्म बैंकहरुले मुद्दति निक्षेपमा साढे ४ प्रतिशत भन्दा कम व्याज दिएका थिए । बीचमा १२/१३ प्रतिशतसम्म पुग्यो निक्षेपको व्याज । अहिले साढे ९ प्रतिशत छ । विगत दुई वर्षदेखि व्याजदर स्थीर बनाउन बैंकहरुले प्रयास गरिरहेका छन् । निक्षेपको व्याज ९.७५ प्रतिशतभन्दा कम राख्ने र कर्जाको शुरु व्याज १० प्रतिशतभन्दा माथि राख्ने बैंकहरुको प्रयास छ । यस्तो भईरह्यो भने देशको अर्थतन्त्रलाई राम्रो हुन्छ । व्याजदरबारे बैंकर्सबीच अहिलेको समझदारी स्थीर रहला ? इन्टाएर देशको चाहानामा यो समझदारी भएको हो । यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा बैंकहरु एकमत छन् । निक्षेपको व्याज ५ प्रतिशतभन्दा कम हुने, फेरी पनि ६ प्रतिशतमा गाडी कर्जा, ७ प्रतिशतमा सेयर कर्जा पाउने दिने कति टाढा छ ? तत्काल म त्यो सम्भावना देख्दिन । त्यस्तो हुन प्रयाप्त पैसा बजारमा आउनुपर्यो । त्यो लेबलको सप्लाई हुने आधार म देख्दिन । रेमिट्यान्स घट्दो छ । सरकारले पुँजीगत खर्च बढाउन सकेन । निर्याततर्फ उत्साहजनक संकेत छैन । डोमेस्टिक बचत पनि एकदमै स्थीर छ । कर्जाको माग धेरै छ । कम्तिमा ४÷५ वर्ष व्याजदर घट्ने सम्भावना म देख्दिन । फेरी सनराइज बैंककै बारेमा कुरा गरौं । तपाईको कार्यकालमा सनराईज बैंकको विजनेश ग्रोथ, लाभांश ग्रोथ कस्तो हुन्छ ? बैंकको निक्षेप, कर्जा, नाफा, शाखा, ग्राहक लगायतको वृद्धि बजार विकाससँगै जानुपर्छ । मार्केट ग्रोथ ४० प्रतिशत भए हामी त्यसको हाराहारीमा जानै पर्छ । मार्केट ग्रोथ १० प्रतिशत छ भने हामीले मात्र ४० प्रतिशतको ग्रोथ गर्न खोज्यौ भने त्यो बढी जोखिमपूर्ण हुनसक्छ । आज हामी कुनै प्यारामिटरमा १७ औं छौं भने कुनै प्यारामिटरका हामी २३ औं नम्बरमा छौं । चार वर्षमा सनराईज बैंकलाई टप टेनभित्र पुर्याउने मेरो प्रयास हुन्छ । टप टेन पुर्याउँछौं भनेर त धेरै सीईओले भन्ने गर्छन् ? कति सजिलो छ टप टेन बन्न ? मेरो विगतलाई पनि हेर्नुहोस् । मैले पहिला काम गरेको संस्थालाई पनि हेर्नुहोस् । कन्फिडेन्सियल कुरा त म गर्दिन । हामी काम गछौं । यस वर्ष २५ प्रतिशतको ग्रोथ हासिल गर्दैछौं । गत वर्षको पहिलो त्रैमासमा ३३ करोड नाफा थियो भने अहिले ४५ करोड नाफा गरेका छौं । ३७ प्रतिशतले नेट प्रोफिट बढेको छ । यसै वर्ष २५ शाखा विस्तार गछौं । १० लाख ग्राहक पुर्याउने छौं । हाम्रो नारा नै राईजिङ टु सर्भ छ । आफ्ना रणनीतिहरुलाई रिभ्यू गर्दै जान्छौं । अप्रत्यक्ष रुपमा तपाईले भन्नुभयो कि आफूले काम गरेको ग्लोवल आईएमई १० टेनमा पुर्यायौं । ग्लोबलमा जनता मर्जपछि टप फाइभमा नै पर्ला । तर त्यहाँ १९ वटा संस्था मर्ज भईसके । के सनराईज बैंक त्यो बाटोमा जादैछ ? नेचुरल ग्रोथबाट मात्र टप टेनमा पुग्न सजिलो छैन । हालै बैंकको साधारणसभाले मर्जमा जाने बाटो खुला गरेको छ । हामी उपयुक्त संस्थाहरु खोजि गरिरहेका छौं । एउटा व्यक्तिगत कुरा गरौ । तपाई संस्थागत सुशासनमा बढी ध्यान दिनुहुन्छ । संस्थाको हितलाई केन्द्रमा राखेर नै काम गर्ने सीईओ भनेर धेरैले चिन्छन् । तर तपाईले उच्चदरमा व्यवसाय विस्तार गर्न सक्नुहुन्न भन्ने आरोप तपाई माथि छ । के भन्नुहुन्छ ? मैले जति ठाउँमा काम गरे, त्यहाँ विजनेश ग्रोथ छैन वा कम छ भन्ने मलाई लाग्दैन । ग्रोथलाई भित्रसम्म गएर अध्ययन गर्न म तपाईलाई अनुरोध गर्छु । तपाईले भनेको सहि के हो भने म कम्प्लाइन्समा सम्झौता गर्दिन । बैकिङ भनेको पब्लिकको संस्था हो । निक्षेपकर्ताको विश्वास जितेर गर्ने व्यवसाय हो बैकिङ । क्षणिक रुपमा एग्रेसिभ विजनेश गर्ने बैंकहरु कम्प्लाइन्सको केसमा गएर चक्नाचुर भएको उदाहरण म धेरै दिन सक्छु । बेलायतमा आधारित बैंक अफ क्रेडिट एण्ड कमर्श इन्टरनेशनल ननकम्प्लाइन्सको केसले ढल्यो । बेलायतको महारानीको बेयरिङ बैंक सिंगापुरको तीन वटा ट्रेड डिलमा ध्वस्त भयो । यूरोपमा ३००/४०० वर्ष चलेको बैंकहरु पनि ननकम्प्लाइन्स केसमा समस्यामा परेका छन् । नन कम्प्लाइन्स केसमा कयौ बैंकले हन्ड्रेडस् मिलियन्स डलर फाइन तिर्नुपरेको छ । यस्तो जोखिम लिएर बैंक चलाउनुहुन्न ।
नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, लगानीकर्तालाई मंसिरभित्रै नगद र बोनस सेयर
काठमाडौं । नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । गत विहीबार बसेको सञ्चालक समितिको बैठकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्ने र त्यसको व्याज वार्षिक १० प्रतिशत तोक्ने निर्णय गरेको हो । सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने नेपाल राष्ट्र बैंकको नीति पालना गर्ने क्रममा उक्त ऋणपत्र जारी गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । नेपाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । उसले निष्काशन गर्न लागेको ऋणपत्र चुक्ता पुँजीको साढे २५ प्रतिशत हुनेछ । बैंकले मंसिर मसान्तअघि नै वार्षिक साधारणसभा गर्न लागेको उनले जानकारी दिएका छन् । गत वर्षको नाफाबाट बैंकले १५ देखि २० प्रतिशत लाभांश दिन सक्ने र त्यसमा बोनस सेयर र नगद लाभांश दुबै हुने जानकारी उनले दिए । असार मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार सेयरधनीलाई वितरणयोग्य नाफा ३ अर्ब ४५ करोड रुपैयाँ छ । ‘कति लाभांश दिने भनेर सञ्चालक समितिले निर्णय गरिसकेको छैन । हामी स्टेवल लाभांश नीतिमा जानेछौं । लाभांशमा बोनस सेयर र नगद दुबै हुनेछ । १५ देखि २० प्रतिशतसम्म दिन सकिन्छ’ विकासन्युजको नियमित स्तम्भ ‘विकास वहस’मा उनले भने । २०५८ देखि थालिएको वित्तीय क्षेत्र सुधार कार्यक्रममा नेपाल बैंकलाई निजीकरण गर्ने उदेश्य राखिएको थियो । तर वर्तमान सरकार नेपाल बैंकलाई निजीकरण गर्ने पक्षमा नभएको उनले बताए । उनले नेपाल बैंकमा ट्रेड यूनियनको संख्या घट्न थालेको र बैंकले दिने सेवाको प्रभावकारीता बढेको बताएका छन् । तर नेपाल बैंकको प्रभाव बाजेको पुस्तामा जस्तो नातिको पुस्तामा नभएको उनले स्वीकार गरेका छन् । यद्यपी आफ्नो कार्यकालमा वार्षिक २५ प्रतिशतको ग्रोथ हासिल गर्ने बताएका छन् । उनीसँग गरिएको ‘विकास वहस’ भिडियो यूट्युवमा गई विकासन्युजमा हेर्न सकिने छ ।
‘मैले पुँजीबजारमा २०० भन्दा बढी सुधारको काम गरेँ, नयाँ अध्यक्षलाई मलाई जस्तो चुनौती छैन’
डा. रेवतबहादुर कार्की, अध्यक्ष धितोपत्र बोर्ड नेपाल धितोपत्र बोर्डबाट अध्यक्षको ४ वर्षे कार्यकाल पूरा गर्दै डा. रेवतबहादुर कार्की यही असोज ३० गते अनिवार्य अवकाश पाउँदैछन् । सहायकस्तरबाट नेपाल राष्ट्र बैंकमा करियर सुरु गरेका कार्की कार्यकारी निर्देशक तहसम्म पुगेर अनिवार्य अवकाश पाएपछि नेपाल स्टक एक्सचेञ्जको महाप्रबन्धक हुँदै नेपाल धितोपत्र बोर्डका अध्यक्षसम्म बनेका हुन् । राष्ट्र बैंकमै रहँदा पनि उनीले बैंक अफ नामिबियाको सल्लाहकारको रुपमा काम गरेका थिए भने राष्ट्र बैंकबाट अवकाश पाएपछि आईएमएफ अन्तर्गतको परियोजनामा समेत काम गरेका थिए । ग्रामीण विकास बैंक लिमिटेड नामक लघुवित्त स्थापनामा समेत उनको महत्वपूर्ण भूमिका रहेको थियो । नेप्से र धितोपत्र बोर्डको नेतृत्वमा रहँदा कार्कीले गरेको कामबाट धितोपत्र बजारले एउटा आधुनिक र प्रतिस्पर्धात्मक बजारको स्वरुप पाउन सफल भयो, कार्की दशैंअघिदेखि बिदामा बस्ने मनस्थितिमा छन् । उनै कार्कीसँग उनको कार्यकालमा भएका काम र हासिल गरेका प्रगतिहरुबारे विकासन्यूजका लागि मेनुका कार्की र शंकर अर्यालले गरेको समीक्षात्मक कुराकानीः धितोपत्र बजारमा एउटा अर्धनियमनकारी र अर्को पूर्ण रुपमा नियमनकारी निकायको नेतृत्व लिइसक्नुभएको छ, यी दुई कार्यकालहरुको आत्मसमीक्षा कसरी गर्नुहुन्छ ? धितोपत्र क्षेत्रमा मेरो पहिलो कार्यकाल नेपाल स्टक एक्सचेञ्जको कार्यकारी प्रमुखको रुपमा रह्यो । मैले त्यहाँ २ वर्ष बिताएँ । त्यो समयमा मैले नेप्सेको पहिलो चरणको सुधारको काम गर्ने मौका पाएँ । २०५० सालमा स्थापना भएको नेप्से पहिले गैरमुनाफाकारी संस्था थियो, त्यसलाई नाफामूलक संस्थामा रुपान्तरण गरियो भने २ जना ब्रोकर सञ्चालकको रुपमा रहने गरेकोमा त्यसलाई विज्ञ सञ्चालक राख्ने व्यवस्था गरियो । ट्रेडिङमा अटोमेसन गर्ने, एउटामात्रै इन्डेक्सलाई बढाएर सेन्सेटिभ र फ्ल्ट इन्डेक्सको सुरुवात गर्ने, सर्किट ब्रेकर सिस्टम लागु गर्ने र स्टक एक्सचेञ्जलाई संरचनागत रुपमा परिवर्तन गर्ने हिसाबले मेरो पहिलो चरणको काम त्यहाँ देखियो । २ वर्षको छोटो अवधिमै यति धेरै काम गरेपछि मलाई यसले चर्चित बनायो । कतिपयले त मलाई ‘द फादर अफ नेपाली स्टक मार्केट’ पनि भने । यो प्रशंसाले गर्दा मलाई पुँजी बजारको लागि थप योगदान गर्न उत्साहित बनायो । धितोपत्र बोर्डमा आएपछि चाहिँ तपाईँको भूमिका कस्तो रह्यो ? स्टक एक्सचेञ्जमा सबैभन्दा महत्वपूर्ण कुरा तीनओटा पक्षहरु हुन्छन्, ट्रेडिङ अटोमेसन, नामसारी र क्लियरिङ । मैले स्टक एक्सचेञ्जमा हुँदा परिवर्तन गर्न सकेको भनेको ट्रेडिङ अटोमेसनमा मात्रै थियो । तर क्लियरिङ र नामसारीमा सुधार गर्ने काम म यहाँ आएपछि गर्न पाएँ । म यहाँ जागिर खान आएको थिइन, सुधार गर्न आएको थिएँ । मैले यहाँ आएको पहिलो दिन नै सबै कर्मचारी साथीहरुसँग यो कुरा भनेको पनि थिएँ । म यहाँ आउनेबित्तिकै मैले सबै ब्रोकरका कार्यालयहरुमा भिजिट गरेँ, त्यसबेला मलाई आत्मग्लानी नै भयो । ट्रेडिङको अवस्था ठीकै थियो तर नामसारीलाई नै निकै समय लाग्ने, क्लियरिङ पनि उस्तैै, मार्केट डेफ्थ हेर्न नपाउने जस्ता समस्याहरु थिए । प्राथमिक बजारमा पनि उस्तै समस्या थियो, बोराका बोरा शेयर हाल्ने, धेरै शेयर हाल्नेले मात्रै शेयर पाउने, बाँटफाँट हुन पनि महिनौं लाग्ने, घण्टौंसम्म लाइन बस्नुपर्ने जस्ता अवस्था थिए । म यहाँ कात्तिक १ गतेदेखि हाजिर भएँ । २ महिनाको अध्ययनपछि मैले माघदेखि सुधारको काम सुरु गरेँ । त्यो बेला हामीले नामसारी र क्लियरिङ ३/३ दिनमा हुनुपर्ने (टी प्लस ३) व्यवस्था लागु गर्न निर्देशन दियौं । पहिले कारोबारको ४/५ मिनेट पछि मात्रै फ्लोरसिट देखिने गरेकोमा हामीले मार्केटडेफ्टबाट क्रेता र बिक्रेताको अवस्था तत्कालै हेर्ने व्यवस्था गर्न पनि निर्देशन दियौं । म आउँदा बजारमा एउटामात्रै क्लियरिङ बैंक थियो, मैले त्यसलाई ४ ओटा पुर्याएँ । पहिले प्राथमिक बजारमा आईपीओ वितरण गर्न ६ महिना समय लाग्थ्यो, यो ३० दिनमा झर्यो । ९० लिन लाग्ने शेयरको बाँडफाँड एक हप्तामै हुन थाल्यो त्योपनि लाइन बस्नै नपर्ने र आफ्नै बैंक खाताबाट आवेदन दिन मिल्नेगरी हामीले आश्वा सिस्टम लागु गयौं । यो लागु भएको छ महिनामै हामीले यसलाई अनिवार्य बनाउन सफल भयौं, जबकी भारतमा २००८ मा आश्वा सिस्टम लागु गरेर २०१६ मा मात्र अनिवार्य गरिएको थियो । अहिले ७ ओटै प्रदेशका ७७ ओटै जिल्लाबाट त्यस्तो आवेदन दिन मिल्ने भयो । मनाङ, मुस्ताङ, जुम्ला, हुम्लालगायतका जिल्लाहरुमा समेत धेरै खाता खुलिसके । अहिले स्थानीयबसीहरुको लागि दिइने शेयर पनि यही सिस्टमबाट आवेदन दिन मिल्ने भएकाे छ । अर्को सबैभन्दा महत्वपूर्ण भनेको शेयर बाँटफाँट प्रणालीमा गरिएको परिवर्तन हो । कम्तीमा १० कित्ता नघट्नेगरी सबैले शेयर पाउने व्यवस्थापछि सबैमा आईपीओ भर्ने उत्साह पनि आयो, यसले शेयर बजारको पुहँच समेत बढायो । यहीबीचमा हामीले बुक बिल्डिङ प्रक्रिया कार्यान्वयनमा ल्यायौं । एकपटक एफपीओ जारी गरेकालाई फेरि ५ वर्षसम्म एफपीओ ल्याउन नपाउने व्यवस्था गर्यौं, आईपीओमा वास्तविक क्षेत्रलाई ल्याउने कामहरु पनि गरियो । मेरो रणनीति भनेको बजारलाई एउटा कोणबाट मात्रै नभएर बृहत्तर कोणबाट सुधार गर्नुपर्छ भन्ने हो । प्राथमिक बजार, दोस्रो बजार, मर्चेन्ट बैंकर र ब्रोकरको सेवाको दायरा र गुणस्तरमा सुधार र पुँजी वृद्धि, कारोबार समय बढाउने, बजारमा अनलाइन ट्रेडिङ भित्र्याउने, नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्ने, बोर्डको क्षमता अभिवृद्धि लगायत विभिन्न कामहरु भए । हामीले राष्ट्र बैंकसँग संघर्ष गरेरै भए पनि ब्रोकर र ग्राहकबीचको सम्झौतामा ब्याजदर निर्धारण हुनेगरी बजारमा मार्जिन ट्रेडिङ प्रणालीलाई ल्यायौं । हामीले अहिले स्टक बजार, सीडीएससी, ब्रोकर, मर्चेन्ट बैंकर, रेटिङ कम्पनी, डिपी र सूचिकृत कम्पनीहरु समेत गरी ४४२ ओटा संस्थाको नियमन गर्छौ । यसका लागि बोर्डमा सबै क्षेत्रमा विज्ञता भएकासहित ७५ प्रतिशत कर्मचारी वृद्धि गरेका छौं । सुपरीवेक्षणका लागि पनि हामीले म्यानुअल बनाएर कारबाही र दण्डको व्यवस्था समेत गर्यौं । तर, हामीले कारबाही मात्रै गरेका होइनौं, क्षमता पनि बढाएका छौं । यो अवधिमा २०० भन्दा बढी सुधारका काम भएका छन् । बजारलाई वास्तविकरुपमा बजार बनाउन, ब्रोकरहलाई ब्रोकरजस्तो बनाउन मैले नियमनकारी निकायको प्रमुखको रुपमा जुन भूमिका खेलेँ, अहिले मलाई जसले जे भने पनि भोलि महत्व बुझ्नेछन् । मेरो लागि धितोपत्र बोर्ड १० औं संस्था हो । यसअघि म राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष, धितोपत्र बोर्डमै विज्ञ सदस्यको रुपमा थिएँ । मैले नेपाल ग्रामीण विकास बैंकको प्रमुख, सेन्टर फर माइक्रोफाइनान्समा पनि काम गरेको अनुभव छ । राष्ट्र बैंकको ३० वर्षे कार्यकालभित्र मैले बैंक अफ नाबिबियाको सल्लाहकार र आईएमएफमा समेत काम गर्ने मौका पाएको थिएँ । एसएलसी पास गर्नेबित्तिकै एक वर्ष आफ्नै गाउँको स्कुलमा हेडमास्टर भएको थिएँ भने राष्ट्र बैंकमा जागिर सुरु गर्नुअघि एउटा प्राइभेट फर्ममा काम समेत गरेको थिएँ । जोकोही मान्छे, यदि ऊ विषयवस्तुमा पर्याप्त ज्ञान छ र इमान्दार छ भने ऊ अलिकति घमण्डी चाहिँ हुन्छ, त्यो मानेमा म पनि अलिकति घमण्डी छु । तर मैले जुनसुकै पदमा रहेर काम गर्दा पनि आफूले काम गरेको संस्था, देश र समाजलाई केही योगदान होस् भन्ने हिसाबले नै गरेको छु । तपाईँ त वाणिज्य बैंकको अध्यक्ष पनि भएको मान्छे, तपाईँको कार्यकालमा वाणिज्य बैंकको ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने प्रस्ताव ल्याउनुभयो, तर त्यो सफल किन हुन सकेन ? बैंकहरुलाई सुधार गरेर पब्लिकमा लैजाने भन्ने कुरा २०५६ देखि नै चल्दै आएको हो । म राष्ट्र बैंककाे नियमन विभागमा हुँदा हामीले नयाँ वाणिज्य बैंकहरु भित्र्याएपछि पुरानो बैंकहरुको अवस्था के छ भनेर अध्ययन गरायौं, त्यतिबेला वाणिज्य बैंक २३ अर्ब र नेपाल बैंक १३ अर्ब घाटामा रहेछ । त्यतिबेलै मैले ‘टू बिग टू फेल’ भन्ने आशयसहितको एउटा लेख लेखेको थिएँ । त्यसमा सरकारी स्वामित्व मात्रैको बैंक कसरी फेल हुन्छ भनेर पनि लेखेको थिएँ । त्यसको केही समयपछि नेपालमा पीआरजीएफ (पोभर्टी रिडक्सन एण्ड ग्रोथ फ्यासिलिटी) भन्ने कार्यक्रम आएको थियो जसअन्तर्गत एउटा कार्यक्रम वित्तीय क्षेत्र सुधार थियो । वित्तीय क्षेत्र सुधार अन्तर्गत पहिलो सरकारी स्वामित्वका वाणिज्य बैंकहरुको पुनर्संरचना गर्ने, दोस्रो नेपाल राष्ट्र बैंकको पुनर्संरचना गर्ने र यसको नियमन र सुपरीवेक्षण क्षमता अभिवृद्धि गर्ने र तेस्रो समष्टिगत क्षमता अभिवृद्धि गर्ने कानूनहरु निर्माण गर्ने भन्ने थियो । त्यसबेला वाणिज्य बैंकमा विदेशीहरुको व्यवस्थापन आयो, त्यसपछि त्यहाँमा अर्थमन्त्रीको पनि फोर्स नलाग्ने भयो । त्यही समयमा अदालतमा पर्ने मुद्दा मामिलाबारे जानकार गराउन न्यायाधीशहरुलाई समेत तालिम दिइयो । पुनरावेदन अदालतमा वाणिज्य इजलास राख्ने काम पनि भयो, त्यसमा वाणिज्य कानून पढेको मान्छे मात्रै न्यायाधीश हुने भन्ने व्यवस्था समेत भयो । यसले गर्दा राष्ट्रिय वाणिज्य बैंकमा ठूलो सुधार आएको हो । म राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष हुँदा तात्कालिन गभर्नर युवराज खतिवडा र अर्थमन्त्री रामशरण महतलाई वाणिज्य बैंकको ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्छ, यसले जनतालाई बैंकको वाचडग बनाउँछ, नत्र बैंकभित्र बेतिथि बढ्छ भनेको थिएँ । त्यतिबेला १०० रुपैंयाको न्यूनतम मूल्यमा शेयर बिडिङ गर्ने तय भइसकेका थियो, त्यसका लागि प्रतिपक्ष दलले समेत मानिसकेको थियो । तर सरकार परिवर्तन भएपछि त्यो त्यतिकै सेलायो । तर मैले अहिले पनि मन्त्रीज्यूसँग ‘तपाईँ गभर्नर हुँदा हुन्छ भनेको कुरा अब लागु गर्नुस्’ भनेर भनिरहेको छु । तपाईँ त अधिवक्ता पनि हुनुहुन्छ, तपाईँले कानून कहिले पढ्नुभयो, बोर्डमा हुँदा यो पृष्ठभूमिले कसरी सहयोग गर्यो ? पञ्चायती व्यवस्थामा दुईओटा पेशा सबैभन्दा सुरक्षित हुन्थ्यो, एउटा विश्वविद्यालयको लेक्चरको जागिर र अर्को कानून व्यवसायी । राष्ट्र बैंकमा जागिर भए पनि बिहे गरेपछि डर लाग्यो, कुनै कारणले राष्ट्र बैंकमा जागिर गयो भने त केटाकेटी कसरी पाल्ने भनेर त्यहीबेला प्राइभेट परीक्षा दिएर मैले बिएल गरेँ । मैले २०३९/४० तिरै बिएल पास गरेको भए पनि लाइसेन्स भने २०४५ मा लिएको हुँ । मैले लिएको लाइसेन्सका कारणले वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत कानूनी सुधारहरुमा ठूलो भूमिका खेल्ने अवसर पनि पाएँ । बजारमा मार्जिन ट्रेडिङसम्बन्धी कानून ल्याउन, बजारमा लाग्दै आएको भ्याट हटाएर शेयर बजारसँग आवद्ध संस्थाहरुलाई वित्तीय मध्यस्तकर्ताको रुपमा परिभाषित गराउन पनि मेरो कानूनी अध्ययन र पृष्ठभूमिले सहयोग गरेको थियो । हामीले २०७४ कात्तिकमै मार्जिज ट्रेडिङसम्बन्धी कानून ल्यायौं तर बजारलाई बुझाउन नसक्दा त्यसको कार्यान्वयन ढिला भयो । भ्याट हटाउन पनि ठूलो संघर्ष गर्नुपर्यो । भ्याट हटाउने कुरामा अर्थमन्त्रीलाई नै कन्भिन्स गराउनुपर्छ । धन्न अहिलेका अर्थमन्त्री कुरा बुझ्ने थिए र भ्याटको समस्या हटाउन सकियो । पछिल्लो समयका अर्थमन्त्री मध्ये रामशरण महत र युवराज खतिवडाले मात्रै यस्तो कुरा बुझ्छन्, नत्र भ्याट हटाउन धेरै गाह्रो पथ्र्यो । भ्याट हटाएपछि अब यी संस्थाहरु स्वतः वित्तीय संस्थाको परिभाषामा आए । हामीले ब्रोकरकहाँ नगइकनै लगानीकर्ताले किन्न सकिने व्यवस्था गर्नु, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी फण्ड जस्ता विशिष्टिकृत फण्डहरु ल्याउन पहिले कानून थिएन, तर हाम्रो भिजनका कारण यो ल्याउन सम्भव भयो । यसलाई वैकल्पिक लगानी भनिन्छ, यो आएको देशलाई पुँजी बजारमा धेरै अघि बढिसकेको देशको रुपमा लिइन्छ, दक्षिण एशियाका भारतपछि हामीकहाँ नै यो व्यवस्था आएको हो । त्यसैले, कतिपय कुराहरुमा वृहत्तर दृष्टिकोण छ भने कानूनलाई परिवर्तन गर्न सकिन्छ तर त्यसका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनहरु जान्नुपर्छ, यो मानेमा मेरो कानूनी पृष्ठभूमिले मलाई धेरै सहयोग गर्यो । भेञ्चर क्यापिटल ल्याउँदा वल्र्ड बैंकले यो कानून नै छैन भनेछ, तर मैले हाम्रो विद्यमान कानूनले नै त्यसलाई समेट्छ भनेर व्याख्या गरिदिएँ, त्यही भएर बजेटमा समेत यसलाई समेटियो । तपाईँले धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय गर्न सफल भयौं भन्नुभयो, त्यसमा के के भए ? नेपालले २०५० सालदेखि धितोपत्र बजारको अन्तर्राष्ट्रिय संगठनको सदस्य हुन चाहेको थियो तर सफल भइरहेको थिएन । त्यो संस्थामा हामीले सदस्यता मात्रै पाएनौं, हामीले नेपालमा त्यसको सम्मेलन समेत आयोजना गर्न सफल भयौं । ओईसीडीको पूर्ण सदस्य भएको नेपालको एकमात्रै निकाय धितोपत्र बोर्ड हो । हाम्रो यो सफलतापछि नेपाली धितोपत्र बजारलाई अन्तराष्ट्रियकरण गर्ने सम्बन्धमा अवसर र चुनौती दुबै थपियो । अब हाम्रो बजारको लेखापरीक्षण र रिपोर्टिङ अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा गराउनुपर्छ । हाम्रो सूचना प्रविधिको अहिलेको अवस्थामा पनि सुधार ल्याउनुपर्छ । कानूनहरुमा समेत समायानुकुल परिवर्तन र सुधार गर्दै जानुपर्छ । यसो गर्न सक्यौं भने हामीकहाँ अन्तराष्ट्रिय संस्थाहरु सूचीकरण हुन आउने र हाम्रो देशका कम्पनीहरु अन्तराष्ट्रिय बजारमा सूचीकरण हुन जाने बाटो खुल्छ । बजारमा गैर आवासीय नेपालीहरुलाई भित्र्याउने कामचाहिँ किन सफल हुन सकेन ? मैले २०६३ सालदेखि नै गैर आवासीय नेपालीलाई पुँजी बजारमा ल्याउनुपर्छ भनेको थिएँ । यो प्रक्रियालाई पहिले नागरिकतासम्बन्धी प्रावधानले रोकेको थियो । अब त दोहोरो नागरिकताको कुरा पनि आयो । त्यसैले त्यो समस्या अब समाधान भयो । तर यतिमात्रै भएर एनआरएनहरु नेपालमा आउँदैनन् । उनीहरु लगानी गर्न आउने हो, समाजसेवा गर्न आउने होइन । उनीहरुलाई भित्र्याउन सबैभन्दा पहिले हामीले सुरुमा उनीहरुलाई कतिसम्म लगानी गर्न दिन, न्यूनतम कति लगानी गर्न दिने, कति वर्षमा नाफा लैजान दिने, कति प्रतिशतसम्म लैजान दिने भन्ने निर्णय हुनुपर्छ । त्यो सम्बन्धमा श्रीलंकन मोडेल उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । त्यहाँ एनआरएसहरुका लागि विदेशी मुद्रा खाता खोल्ने र त्यसबाट कारोबार गर्न पाउने व्यवस्था छ । तर त्यसका लागि सबैभन्दा पहिले सफ्टवेयर सिस्टमहरु अन्तराष्ट्रिय गुणस्तरको हुनुपर्छ भने हाम्रो कम्पनीहरुको लेखाप्रणाली पनि अन्तराष्ट्रिय मापदण्डकै हुनुपर्छ । त्यसैले हामीले गरेका प्रयासले गैर आवासीय नेपालीलाई मात्रै होइन, पछि विदेशी नागरिकहरुलाई पनि नेपालमा आउने बाटो खोल्छ, हाम्रो प्रयास खेर गएको छैन । अहिले कुल जनसंख्याको १८ प्रतिशत मात्रै पुँजी बजारबारे सामान्य ज्ञान भएको जनसंख्या छ, भनेर तपाईँहरुकै सर्वेक्षणले भनेको छ, वित्तीय साक्षरतामा अभिवृद्धिमा चाहिँ के के सुधार गर्नुभयो ? वित्तीय साक्षरतालाई विस्तार गर्ने सम्बन्धमा हामीले धितोपत्र बोर्डमा निःशुल्क तालिम दिने व्यवस्था गरेका छौं । त्यस्तै, सञ्चारकर्मीहरुलाई प्रदेशगत रुपमा छुट्टै तालिम व्यवस्था गर्यौं । गाउँ गाउँसम्म बजारको पहुँच पुर्याउन रेडियो नेपाल लगायत विभिन्न रेडियोहरुबाट समेत वित्तीय साक्षरतासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । त्यस्तै, पुँजीबजार सम्बन्धी तालिम केन्द्र स्थापना र प्रादेशिक कार्यालय स्थापना गर्ने प्रक्रिया गत वर्ष नै सुरु गर्ने भनेका तर त्यसमा केही ढिलाई भयो, यो वर्षको अन्त्यसम्म त्यो पनि सकिन्छ । यी कामहरु भए पनि पुँजी बजारको साक्षरता बढ्छ । बैंकिङ साक्षरता पनि ७० प्रतिशत भएको हाम्रोजस्तो मुलुकमा पुँजी बजारकाे साक्षरता१८ प्रतिशत हुनु पिन राम्रै हो, यसमा अर्को वर्ष राम्रो सुधार हुन्छ भन्ने प्रक्षेपण गरेका छौं । त्यसो त पुँजी बजारको साक्षरता शतप्रतिशत जनतामा पुर्याउन गाह्रै हुन्छ, अमेरिकाजस्तो देशमा पनि पुँजी बजारप्रति ज्ञान भएको जनसंख्या ६० प्रतिशत मात्रै छ । तपाईँहरुले बैंकलाई ब्रोकर लाइसेन्स दिने भन्नुभयो, तर राष्ट्र बैंकले सहायक कम्पनी खोलेर मात्रै शेयर कारोबार गर्न पाउने व्यवस्था गर्यो, यहाँ त पहुँच बढाउने भन्दा पनि ब्रोकर संख्या थप्ने मात्रै लाइसेन्स दिन लागेको जस्तो भएन र ? तपाईँ हुम्लामा जानुभयो र त्यहाँ तपाईँको साथी छ भने तपाईँ त्यहाँ बस्न पाउनुहुन्छ । तर, साथी छैन भने त कहाँ बस्ने भनेर भौतारिनुहुन्छ नि ! त्यस्तै हो, बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाए भने उनीहरुले रेमिट्यान्सको कारोबार जस्तै बैंकमा छुट्टै काउन्टर राखेर कारोबार गराउन सक्नुहुन्छ नि ! बैंकहरुका आफ्नै ग्राहक छन्, त्यही ग्राहकहरुलाई सेवा दिन सक्यो भने पुँजीबजारको पहुँच पनि बढ्छ, ती कम्पनीहरुको नाफा पनि बढ्छ । हामीले यो प्रक्रिया सबै सकिसक्यौं र यसको प्रक्रिया एक प्रकारले निकै अघि बढिसक्यो । अर्थ समितिले अहिले रोकेको भए पनि त्यो छिटै टुङ्गिन्छ भनिएको छ । यसले पुँजी बजार विस्तारमा ठूलो सहयोग गर्छ । अहिले भुटानजस्तो देशमा पनि यो व्यवस्था छ, हाम्रोमा सम्भव छैन भन्ने कुरै छैन । बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा मलाई विभिन्न आरोपहरु पनि आए, तर मैले हेर्ने भनेको पुँजीबजारको स्वार्थ हो, कुनै व्यक्तिको होइन । मैले ५ ओटा सरकार र ५ ओटा अर्थमन्त्रीको विश्वास दिलाएर यति धेरै सुधार गरेँ । तपाईँहरुले दुईओटा बजार सञ्चालन गर्ने भन्नुभयो तर त्यतिकै सेलायो, विकसित मुलुकहरुमा समेत बजार मर्ज हुँदै गएको अवस्थामा नेपालमा दुईओटा बजार किन चाहियो भन्ने तर्क पनि आउँछन्, नेप्सेको विकल्पमा अर्को बजार चाहिँ किन चाहियो ? हामीले केही समय अघि नेप्सेको सञ्चालकसहित एउटा टीम पुँजीबजारको अध्ययन गर्न इन्डोनेसिया पठाएका थियौं, उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकले मलाई इन्डोनेसियामा क्रेडिट रेटिङ नै गर्न नपर्दोरहेछ, हामीलाई मात्रै किन दुःख दिएको भनेर भन्नुभयो । इन्डोनेसियाको सेक्युरिटिज मार्केट अन्तर्राष्ट्रियस्तरको भइसक्यो, त्यहाँका कम्पनीहरुको लेखापरीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षकहरुले गर्छन्, त्यहाँको बजार सुशासित छ । त्यसैले त्यहाँ क्रेडिट रेटिङ चाहिएन, हामी त्यो स्तरसम्म अझै पुगेका छैनौं, त्यसैले हामीले यो गर्नुपर्यो भनेको थिएँ । हामीले विदेशमा एकभन्दा बढी बजार हुँदा कसरी त्यसले पुँजीबजारलाई प्रतिस्पर्धी बनायो भनेर पनि हामीले हेर्नुपर्छ । मुम्बईमा बम्बे स्टक मार्केट हुँदा स्थिति निकै नाजुक थियो पछि एनएसई आएपछि दुवै बजार अगाडि बढे । हाम्रो स्टक मार्केटमा पनि त्यही हो । हामी निजी क्षेत्रबाट एउटा मार्केट चलाऔं, यसले गर्दा प्रतिस्पर्धा बढ्छ, सुशासन पनि बढ्छ भन्ने हो । पाकिस्तानमा पहिले कराँची स्टक एक्सचेञ्ज, इस्लामावाद स्टक एक्सचेञ्ज र लाहोर स्टक एक्सचेञ्ज गरी ३ ओटा स्टक एक्सचेञ्ज कम्पनी थिए । ती कम्पनीहरु मर्ज भए तर अहिले तिनीहरु पछुताइरहेका छन् । अहिलेको अवस्थामा दुईओटा मार्केट भए भने ब्रोकरहरुले दुईओटै मार्केटको काम गर्न पाउँछन्, सूचीकृत कम्पनीहरुले बजार रोज्न पाउँछन्, त्यो भए बजार कति ठूलो हुन्थ्यो होला ? कमोडिटिज एक्सचेञ्ज ल्याउने सवालमा धितोपत्र बोर्डका निर्णयहरु विवादित देखिए, पहिले लाइसेन्सका लागि आह्वान गरियो, पछि अध्ययनको लागि भनेर लामो समय स्थगित गरेर राखियो र फेरि अस्वीकृत गरियो, किन यस्तो भयो ? कमोडिटिज एक्सचेञ्जका लागि हामीले आवश्यक ऐन र नियमावलीहरु ल्यायौं । त्यसैअनुसार हामीले सुरुमा कमोडिटिज एक्सचेञ्जका लागि इच्छुक को को हुनुहुन्छ आउनुस् भनेका थियौं तर त्यसबेला ५ ओटा कमोडिटिज एक्सचेञ्जका लागि प्रस्ताव लिएर आउनुभयो । सुरुमै बजारले त्यति धेरै संख्यामा कमोडिटीज मार्केटहरुलाई धान्छ कि धान्दैन र त्यस्तो मार्केट सञ्चालनको लागि कस्तो पूर्वाधार चाहिने हो भनेर हामीले अध्ययन गरेको हौं । हाम्रो अध्ययनले २ ओटाभन्दा बढी बजारलाई अर्थतन्त्रले धान्न सक्दैन भन्ने निष्कर्ष निस्कियो, त्यस्तै बोर्डमा आवेदन दिएका कम्पनीहरु त्यस्तो बजारका लागि आवश्यक पूर्वाधार नपुगेको देखेपछि हामीले फिर्ता गरेर फेरि प्रस्ताव मागेका हौं । अहिले पनि ६ ओटा कम्पनीहरुले आवेदन दिनुभएको छ, ती फाइलहरु हेरेर उपयुक्त ढंगबाट निर्णय लिनुपर्छ । नियमनकारी निकायले बजारलाई हेरेर निर्णय गर्ने हो, बजारले धान्ने र प्रतिस्पर्धी क्षमता पनि बढ्ने हिसाबले त्यस्तो लाइसेन्स दिनुपर्छ । अहिले बजारमा कारोबार शुल्क र बजारले सूचीकृत कम्पनीहरुसँग लिने शुल्क महँगो भयो, यसलाई घटाउनुपर्छ भनिन्छ, यो प्रक्रिया के हुँदैछ ? यससम्बन्धी अध्ययन गर्न हामीले समिति गठन गरेका छौं, सो समितिले नयाँ बजारमा कति शुल्क उपयुक्त हो भन्नेबारेमा निर्णय गर्छ, त्यसैका आधारमा नयाँ शुल्कहरु निर्धारण हुन्छन् । हाम्रो मान्यता भनेको त्यस्तो शुल्क निर्धारण गर्न ब्रोकरहरुलाई नै छाडिदिनुपर्छ भन्ने हो तर हाम्रो बजार प्रतिस्पर्धी हुन नसकुन्जेलसम्म हामीले आफैंले तोक्ने व्यवस्था गरौं भनेका हौं । ब्रोकरहरुको शाखा विस्तार हुने, वाणिज्य बैंकहरुका सहायक कम्पनीहरुले पनि काम गर्न थाले भने प्रतिस्पर्धा बढ्छ अनि हामी त्यतातिर पनि जान सक्छौं । जहाँसम्म नेप्से र सीडीएससीले लिने शुल्कको कुरा छ, त्यो महँगो भएको कुरामा सत्यता छ । नेप्से, सीडीएससी जस्ता संस्थाहरु न्यूनतम मुनाफामा चल्नुपर्छ । यो करोडौं नाफा गर्ने संस्था होइन, त्यस्ता संस्थाहरुले लिने शुल्कका बारेमा पनि समितिले अध्ययन गर्छ । धितोपत्र ऐन संशोधनका लागि अहिले संसदमा छ, त्यसमा भएका महत्वपूर्ण व्यवस्थाहरु के के हुन् ? यो ऐनले बोर्डलाई अझै सशक्त, अझै स्वायत्त बनाउने प्रावधानहरु प्रस्ताव गरेको छ । अहिले बोर्डमा नेपालल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट हुने गरेको प्रतिनिधित्वलाई स्वार्थ बाझिने कारणले हटाउने प्रस्ताव गरिएको छ । त्यस्तै धितोपत्र बोर्डका अध्यक्ष अन्य कुनैपनि संस्थाहरुमा काम गर्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, ट्रष्टी सम्बन्धी कानूनी प्रावधान नभएका विषयहरुलाई पनि यो ऐनमा समेट्ने प्रयास गरिएको छ । त्यसका लागि पछि छुट्टै ट्रष्टि ऐन पनि आउँछ तर यही ऐनमा पनि केही समेट्ने प्रयास गरिएको हो । त्यस्तै, इन्साइडर ट्रेडिङमा कडाभन्दा कडा कारबाही र जरिवानाको व्यवस्था गरिएको छ । अबको बजारको मुख्य चुनौती चाहिँ के के छन् ? अहिले अवस्थामा स्टक बजारलाई थप व्यवस्थित बनाउने चुनौती हामीकहाँ छ । त्यसका लागि नेपाल स्टक एक्सचेञ्जको स्वामित्व संरचना परिवर्तन गर्ने वा यसको शेयर सर्वसाधारणलाई दिने, नयाँ प्रतिस्पर्धी बजार खोल्ने चुनौती पनि छ । त्यसबाहेक क्रसबार्डर ट्रेडिङ र लिष्टिङ गराउने सम्बन्धमा हाम्रो लेखाप्रणाली र प्रविधिलाई अन्तर्राष्ट्रियस्तरको बनाउने र कानूनहरुलाई सुधार गर्दैजाने चुनौती पनि हामीकहाँ छ । यी सुधारका कार्यहरुलाई नयाँ अध्यक्षले निरन्तरता दिँदै जानुपर्छ भन्ने लाग्छ । अबको सुधार मेरो कार्यकालमा जस्तो चुनौतीपूर्ण छैन, तैपनि भएका सुधारलाई अघि बढाउँदै बजारलाई अझै गतिशील बनाउनुपर्छ ।