१० हजार मानिसलाई रोजगारी दिने लक्ष्य लिएको छु- उद्योगपति राजेश अग्रवाल
भारतमा ग्राजुएट पास गरेपछि २०४९ सालदेखि व्यवसायमा प्रवेश गर्नु भएका राजेश अग्रवाल भैरहवाबाट उदाएका सफल उद्यमी हुनुहुन्छ । व्यवसायमा प्रवेशपछि करिव २० वर्षसम्म परिवारिक रुपमा चलेका राइसमिल, दाल उद्योग, तेल उद्योग, कपडा उद्योग विस्तारमा बिताउनु भएका अग्रवाल पछिल्लो ७ वर्षदेखि ठूला उद्योग निर्माण र विस्तरमा जुट्नु भएको छ । यस अवधि अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रेटो जस्ता निर्माण सामाग्री उत्पादन गर्ने ठूला उद्योगमा लगानी गरिरहनु भएको छ । उद्योग, व्यापार र सेवा क्षेत्रमध्ये सबै भन्दा कठिन व्यवसायको रुपमा उद्योगलाई लिइन्छ नेपालमा । राजेश अग्रवाल यस्ता व्यवसायी हुनुहुन्छ, जसको लगानी उद्योगमा मात्र छ । व्यापारमा शुन्य छ भने सेवा क्षेत्रमा नगन्य छ । ‘वेल्थ फर्मेशन एण्ड इम्प्लोइमेन्ट क्रियशन’ बाट मात्र देशको विकास हुन्छ भन्ने सोचका साथ कम्तिमा १० हजार मानिसलाई रोजगारी दिने लक्ष्यका साथ अगाडि बढिरहनु भएका अग्रवालसँग गरिएको विकास वहस पस्केका छौं यस पटक । तपाई उद्योगमा सफल देखिनुहुन्छ तर व्यवसायिक संघ संस्थामा देखिनुहुन्न, किन ? पहिला म भैरहवा उद्योग संघमा सदस्य थिए । अहिले छैन । म काममा खुशी हुने मान्छे । म धेरै समय उद्योगमा हुन्छ । म काठमाडौंमा बेलाबखत मात्र पुग्छु । तपाईको व्यवसायिक यात्रा कहाँबाट शुरु भएको हो ? एसएलसी नेपालबाट पास गरे । ग्राजुएशनसम्मको शिक्षा भारतबाट लिएँ । २०४९ सालमा बुबाले गर्दै आएको व्यवसायमा प्रवेश गरेँ । त्यतिबेला हाम्रोमा दाल मिल, राईस मिल थिए । हाम्रा उत्पादन नेपालमा मात्र बिक्री हुने गरेको थियो । जब म व्यवसायमा प्रवेश गरे, तब मुसुरोको दाल श्रीलंका, बंगलादेश निर्यात गर्न थालेँ । त्यसपछि तेल मिल राख्यौ । त्यसपछि सोयविनको मस्यौरा बनाउने मिल राखेँ । त्यसपछि मैदा मिल राखे । त्यसपछि आयल रिफाइनर मिल राख्यौ । एउटा फुटवेयर इन्डष्ट्रिज छ एक्सन पोलिमर, जसले मिलानो ब्राण्डको जुत्ता, चप्पल उत्पादन गर्छ । इटाली प्रविधिमा आधारित यो उद्योगमा ४० करोडभन्दा बढी लगानी भएको छ । साढे तीन सय मानिसले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट भन्ने उद्योग छ जसले विभिन्न किसिमका बोटल तथा पानीको जार उत्पादन गर्छ । जापानिज प्रविधिमा आधारित यो उद्योगमा करिव २२ करोड लगानी भएको छ । १५ वर्षअघि मलाई लाग्यो यो देशको विकासले गति लिन्छ । विकास निर्माणका काम शुरु हुन्छ । सडक, पुल, एयरपोर्ट, नहर, जलविद्युत, शुरुङ मार्ग, ठूला भवन जस्ता निर्माण क्षेत्रले गति लिन्छ । त्यसैले निर्माण सामाग्रीहरु सिमेन्ट, स्टिल, कंक्रीट, जस्तापाता लगायतका सामाग्री उत्पादन गर्ने उद्योग खोल्नुपर्छ भन्ने लाग्यो । आय स्रोत बढेपछि मानिसले एक किलोको सट्टा दुई किलो खाँदैन । खाद्यन्यको बजार विस्तार सीमित मात्रामा हुन्छ तर निर्माण सामाग्रीको माग उच्च हुन्छ भनेर मैले निर्माण सामाग्रीको उद्योग खोल्ने निर्णय गरँे । २००४ मा पहिलो पटक सिद्धार्थ सिमेन्ट उद्योग सञ्चालनमा ल्याए । त्यो ग्राण्डिक उद्योग थियो । त्यसपछि म साझेदारीमा ठूला उद्योगहरु निर्माणमा लागे । साझेदारीमा सञ्चालित ठूला उद्योगहरु कुन कुन हुन् ? सन् २००८ मा म क्लिङकर उद्योग खोल्ने निर्णयमा पुगेँ । पहिला २०० टन क्षमताको भीएसके प्रविधिको उद्योग खोल्ने तयारी गरेँ । त्यतिबेला व्रिज सिमेन्टको तर्फबाट मनोज केडियाले पनि २०० टनको र सुप्रिम सिमेन्टको तर्फबाट पशुपति मुरारकाले पनि २०० टनको क्लिङकर उद्योग लगाउने योजना बनाउनु भएको रहेछ । हामीलाई के लाग्यो भने भीएसके प्रविधि पुरानो हो, केही वर्षभित्र काम लाग्दैन । रोटरी क्लिंक प्लान्ट लगाउनुपर्छ । हामी तिनै जना मिलेर ७०० टन क्षमताको क्लिाङकर उद्योग लगाउने निर्णयमा पुग्यौ । ७०० टन क्षमताको उद्योगलाई विस्तार गर्दै अहिले ३००० टन क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालन गरेका छौं । हाल स्थापित कम्पनीहरु मध्ये अर्घाखाँची सिमेन्ट नेपालको दोस्रो ठूलो कम्पनी रहेको छ । यो उद्योगमा शुरुदेखि लगभग १० अर्ब लगानी भईसकेको छ । तीन वर्षअघि निर्माण सामाग्रीको माग वार्षिक १५/२० प्रतिशतले बढ्दै गएको थियो । त्यतिबेला त १०/१० महिनामा सरकार परिवर्तन हुन्थ्यो । जब बहुमतको सरकार बन्यो तब हामीलाई लाग्यो कि अब निर्माण सामाग्रीको माग वार्षिक ३० प्रतिशतभन्दा उच्च दरमा वृद्धि हुन्छ । अबको दश वर्षमा नेपालीको प्रतिव्यक्ति आय भारतको भन्दा धेरै माथि पुग्छ भन्ने मेरो आकलन थियो । त्यही आकलनमा हामीले निर्माण सामाग्री उत्पादनमा जोड दियौ । यहि क्रममा नेपालकै सबैभन्दा ठूलो स्टील उद्योग ‘श्री स्टील’ उद्योग लगाएका छौं । यसको उत्पादन क्षमता वार्षिक २ लाख ५० हजार टन छ । यसमा करिव २ अर्ब लगानी छ । सिमेन्ट, डण्डी उद्योग लगाएपछि हामीले एशियन कंक्रिटो उद्योग लगायौं । पेभर, व्लक, स्लाव, कर्व स्टोन, इटा, होलोब्लक लगायत निर्माण सामाग्री उत्पादन गर्ने यस उद्योगमा पनि करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भईसकेको छ । यसको उत्पादन क्षमता दैनिक ५०० टन छ । सडक, सडक पेटी, पुल, नहर बनाउनदेखि घर बनाउनसमेत उपयोगि उत्पादनहरु हामीले शुरु गरेका छौं । व्यापार र सेवाको क्षेत्रमा लगानी कति छ ? व्यापार र सेवाको क्षेत्रमा मेरो लगानी छैन । पढेर आएपछि मेरो मनमा के आयो भने यो देशमा जन्मिएपछि मैले केही काम गर्नुपर्छ । मरेर लाने केही होइन । हामीले कमाएको सम्पत्ति पनि यहि देशमा छोडेर जाने हो । अहिले मसँग जति पैसा हुन्छ, मेरो बुबा, बाजेसँग त्यति पैसा थिएन । तर उहाँहरुको नाम थियो, इज्जत थियो । बुबा, बाजेको नाम लिएर बजारमा जाँदा आज भन्दा २५ वर्ष अघि पनि २५/३० करोड पैसा पत्याउथे मान्छेले । बुबा बाजेले आर्जन गरेको त्यो ख्यातिमा मैले केही थप योगदान गर्नुपर्छ, गुणस्तरीय सामान उत्पादन गरेर नाम राख्नुपर्छ भन्ने थियो । त्यहि भएर मैले जापानी प्रविधिमा पेट उद्योग, इटाली प्रविधिमा मिलानो, जर्मन प्रविधिमा कंक्रिटो उद्योग लगाएको छु । रोजगारी सिर्जनाले नै देशको गरिबी निवारण हुन्छ । १० हजार मान्छेलाई रोजगारी सिर्जना गर्ने मेरो चाहाना छ । तर अहिले कठिन परिस्थित छ । तपाइको लगानी रहेका उद्योगमा कति जनाले रोजगारी पाएका छन् ? १० हजार मानिसको लागि रोजगारी सिर्जना गर्ने तपाईको लक्ष्यबाट तपाई डगमगाउनु भएको हो ? अर्घाखाँची सिमेन्टमा प्रत्यक्ष रुपमा ५०० जनाले रोजगारी पाएका छन् । श्री स्टील उद्योगमा २४० भन्दा बढी मानिसले रोजगारी पाएका छन् । एशियन कंक्रिटोमा १०० जनाले रोजगारी पाएका छन् । एक्सन पोलिमरमा साढे तीन सय जनाले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट, सिद्धार्थ सिमेन्ट, अरु रिफाइनरी उद्योग लगायत सबैमा गरि करिब १५ सय मानिस पेरोलमा छन् । करारमा काम गर्नेको संख्या पनि जोड्ने हो भने ३००० भन्दा बढीले जागिर पाएका छन् । अहिले नै १० हजार जनाको लागि रोजगारी सिर्जना गर्न सकिएको छैन । तर मेरो जीवनको लक्ष्य १० हजार मानिसलाई रोजगारी सिर्जना गर्नु हो । प्रविधिको प्रयोगसँग जनशक्तिको प्रयोग कम हुँदैछ । १० हजारलाई रोजगारी सिर्जना सम्भव छ अब ? पुरानो प्रविधि प्रयोग गरी वार्षिक ५० हजार टन स्टील उत्पादन गर्ने कम्पनीमा ३०० जना कर्मचारी छन् भने हामीले नयाँ प्रविधिको प्रयोग गर्यौं, वार्षिक २ लाख ५० हजार टन स्टील उत्पादन गर्छौ तर २५० जनाले मात्र रोजगारी सिर्जना गरेको छ । यसको अर्थ हामीले जनशक्तिको अप्टिमम प्रयोग गरेका छौं । प्रविधिको प्रयोग नगरी एक जनाले दिनमा ५० वटा इँटा बनायो र एउटा इँटाको २ रुपैयाँ पायो भने १०० रुपैयाँ मात्र कमाउँछ । तर प्रविधिको प्रयोग गर्यो उसले दिनमा २००० इँटा बनायो भने प्रति इँटा ५० पैसा पाउँदा पनि १००० रुपैयाँ कमाउँछ । हामीले श्रमिकको आय वृद्धिमा पनि ध्यान दिनुपर्छ । यूरोपमा श्रमिकले प्रतिघण्टा १० डलर कमाउँ छ भने हामीले दिनभर काम गरेको ५०० रुपैयाँ दिएर उनीहरुको जीवनस्तर उकास्न सकिदैन । त्यसैले प्रविधिमा आधारित उद्योगको विकल्प छैन । धेरै रोजगारी सिर्जना गर्न हामीले उद्योगको संख्या वृद्धि गर्दै जानुपर्छ । निर्माण सामाग्रीको बजारमा मन्दी आएको छ । यो बेलामा कम्पनीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? निर्माण सामाग्रीमा मात्र होइन, अरु क्षेत्रमा पनि मन्दी आएको छ । मैले हालै नेपालको ठूलो मदिरा उद्योग चलाईरहेका उद्यमीसँग भेटेको थिए । उहाँले भन्नु भयो कि मदिरा उपभोग ५० प्रतिशतले घटेको छ । यसको अर्थ हो उपभोक्तासँग खर्च गर्ने पैसा कम भईरहेको छ । हिजो हप्तामा दुई पटक रेस्टुरेन्ट जाने मान्छे अब हप्तामा १ पटक मात्र जान थाले । यस्तो बेलामा हामीले पनि खर्च कम गर्ने हो । जसको उत्पादन लागत कम हुन्छ उ नै हो मन्दीको बेलामा टिक्ने उद्योग । हामी धैर्यपूवक आफूलाई समालेका छौं । हुनसक्छ सरकारको अहिलेको नीतिले ५÷६ महिनापछि राम्रो नतिजा दिनसक्छ । सरकारले केही कुरा व्यवस्थित गर्न खोजेको छ जुन बजारमा एडजस्ट नभएको पनि हुनसक्छ । उद्योग विस्तारमा नयाँ योजना के छ ? तपाईसँग तीन वटा बच्चा छन् । उनीहरुलाई आवश्यक पोषण नै खुवाउन सक्नु भएन, उनीहरु कुपोषणबाट ग्रसित छन् भने के तपाई चौथो बच्चा जन्माउनु चाहानुहुन्छ ? के तपाईका उद्योगहरुमा कुपोषणको खतरा छ ? एस । आजको दिनमा खतरा छ । हामीले बजारमा माग वृद्धि गर्न सकेनौं भने धेरै उद्योग सखाप भएर जाने खतरा छ । हामीले कसरी आर्थिक गतिविधिलाई बढाउने भनेर सबैले सोच्ने बेला भएको छ । तपाईलाई हामीले एक सफल उद्यमीको रुपमा लिन सक्छौं । तपाईको व्यक्तिगत चाहाना र अभिलाशाहरु के के छन् ? उद्योग चलाउनु मेरो नशा हो । कसरी रोजगारी सिर्जना गर्ने र गरिबी घटाउन सहयोग गर्ने भन्ने मेरो चाहाना हो । त्यसबाहेक मेरो व्यक्तिगत चाहाना केही पनि छैनन् । म पारिवारिक मान्छे हु । मलाई हरेक दिन कुनै पनि हालतमा १० बजे सुत्नुपर्छ । विहान ५ बजे उठ्छु । दुई घण्टा मर्निङ वाक गर्छु । १०० प्रतिशत शाकाहारी हुँ । मलाई हरियो तरकारी अनिवार्य चाहिन्छ । घरमा दुई थरीभन्दा बढी तरकारी बनाउन दिन्न । मेरो जीवन सामान्य छ । तपाईसँग उद्योग चलाउने तिब्र इच्छाशक्ति देखिन्छ । यसलाई कुन तत्वले ड्राइभ गर्दोरहेछ ? त्यो तत्व भनेको मेरो ब्लड (रगत) नै हो । मेरो बाजे, बुबा सबैले उद्यमशिलता नै गर्नुभयो । बाजेको भन्दा बुबाले ठूलो विजनेश बनाउनु भयो । बुबाको भन्दा मैले ठूलो बनाए । मलाई विश्वास छ छोराले अझ ठूलो बनाउने छ । ऊ पनि लण्डनबाट एमबीए सकेर नेपाल आएको छ । श्री स्टीलको सबै काम उसले हेरिरहेको छ । यो उद्योग बनाउदा देखिन नै उ यसमा सक्रिय छ ।
बेलायतमा ५० लाख पर्ने शिक्षा नेपालमा साढे ७ लाख रूपैयाँमा दिएका छौंः पंकज जलान
काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा समस्याहरु धेरै छन् । विद्यार्थीहरु नियमित रुपमा विदेशिने क्रम बढ्दो छ । करिब ८० लाख नेपालीले विदेशमा आर्जन गरि पठाएको रेमिट्यान्सको ठूलो हिस्सा नेपाली विद्यार्थीले विदेश जाँदा लगिरहेका छन् । सरकारी स्कूल कलेजले दिने शिक्षाको गुणस्तरमा धेरै प्रश्न छन् भने नीजि क्षेत्रले दिँदै आएको शिक्षा महंगो भनिन्छ । नेपालको शिक्षा क्षेत्रमा नीजिको लगानी भएको पनि दुई दशक बितिसकेको छ । नीजि कलेजहरुले आफूहरुले राम्रो शिक्षा दिईरहेका छौं भन्दै आईरहेका छन् । तर विद्यार्थी र अभिभावकहरु नेपालको स्कूल कलेजहरुप्रति अझै शंका र प्रश्न गर्छन् । अर्कोतिर, सरकारको नीतिगत अस्थिरताले पनि नीजि क्षेत्रका शैक्षिक संस्थाहरु शिकार भएका छन् । प्रस्तुत छः यसै क्षेत्रमा करिब दुई दशकदेखि शिक्षा क्षेत्रमा लाग्नु भएका लर्ड बुद्ध एजुकेन फाउन्डेसन (एलबीईएफ)का अध्यक्ष पंकज जलानसँग गरिएको विकास बहस । तपाईहरुले विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्नको लागि ठूलो लगानी गर्नु भएको छ । के तपाईहरुको प्रयास सार्थक छ ? पक्कै पनि सार्थक छ किनभने हामी नेपालको पहिलो सूचना प्रविधि व्यवस्थापन विषयमा अध्ययन गराउने कलेज हौं । नेपालमा पहिलो पल्ट आईटी एजुकेशनको सुरुवात पनि हामीले गरेका हौं । अहिलेसम्म हाम्रो कलेजबाट ८ हजार विद्यार्थी दिक्षित भईसकेका छन् । ती विद्यार्थीहरु संसारभर फैलिएका छन् । हाम्रो कलेजबाट पास आउट भएका करिब १३० जना त नेपाली र विदेशी कम्पनीहरुका सीईओ भईसकेका छन् । विदेशकै कुरा गर्नु पर्दा अष्ट्रेलिया, अमेरिका, जापन, कोरिया र माईक्रोसफ्टमा पनि हाम्रो विद्यार्थी काम गरिरहेका छन् । त्यस्तै अधिकांश बैंकहरुमा आईटी प्रमुख हाम्रोबाट मास्टर्स गरेका विद्यार्थीहरु छन् । साथै विभिन्न विद्यालयहरुमा एलबीईएफबाट अध्ययन गरेका शिक्षकहरुले पढाईरहेका छन् । त्यसैले हाम्रो प्रयास सार्थक छ । नेपालका कलेजहरुले राम्रो जनशक्ति उत्पादन गर्दै गर्दा अझै पनि नेपाली विद्याथीहरु बाहिर जान नै रुचाउने गरेको देखिन्छ । के विद्यार्थीले नेपालमा राम्रो जबको अवसर नपाएकाले विदेश गएका हुन् भन्न मिल्छ ? अँह यो कदापी पनि भन्न मिल्दैन । नेपालमा पनि धेरै अवसरहरु छन् । अहिलेको विद्यार्थी भिषामा विदेश जाने जुन ट्रेन्ड छ, त्यसमा थोरै प्रतिशत विद्यार्थीहरु मात्र अध्ययनको लागि जाने गरेका छन् । ८० देखि ९० प्रतिशत विद्यार्थीहरु कामको खोजीमा विदेश जाने गरेका छन् । तपाईको नजरमा नेपाली विद्यार्थीहरु विदेश रहरले गईरहेका छन् कि कहरले कि फेसन हो ? उनीहरु नेपालमा काम गर्न सक्दैनन् । १५/२० लाख लगानी गरेर विदेश जान सकिन्छ । विदेशको वातावरण पनि बुझिन्छ । पढ्दै जान्छु । पैसा पनि कमाउँदै जान्छु भन्ने सोचले उनीहरु विदेश जान्छन् । तर त्यो गलत हो । पढ्नको लागि विदेश जाने ८० देखि ९० प्रतिशत विद्यार्थी पढाईमा असफल हुन्छन् । त्यसमा अष्ट्रलियामा पढ्न गएका धेरै विद्यार्थीहरुले आफू पढ्न गएको कोर्षहरु पुरा गर्न सकेका छैनन् । उनीहरु हरेक वर्ष कलेज चेन्ज गर्दै काम गरिरहेका हुन्छन् । उनीहरुको मनसाय काम गर्ने मात्र हुन्छ । उनीहरुको समस्या के छ भन्दा न त उनीहरु घर फर्कन सक्दैनन् । किनभने उनीहरु ऋण लिएर गएका हुन्छन् । यदि बेलामौकामा नेपाल आउँदा आफूले गर्दै आएका साना तिना कामको कुरा गर्दैनन् । अब हाम्रो यहाँ चलन के छ भन्दा मानिसहरु सफलताको कथा मात्र सुन्न चाहन्छन् । सबैलाई लाग्छ कि म अष्ट्रेलिया पुगेर शेष घले भईहाल्छु तर उनले मास्टर्स त नेपालमै पढेर गएका थिए । उनी त्यहाँ व्यवसाय गर्न गएका हुन् र उनी सफल भए भन्ने कुरा धेरैलाई थाहा छैन । धेरै मानिसहरु गलत धारणा पालेर विदेश गईरहेका छन् । विदेश अध्यन गर्न जाने वा जान चाहाने विद्यार्थीहरुमा यस्तो धारणा पाइन्छ कि विदेशमा पढाईसँगै कमाई पनि राम्रो हुन्छ । तर नेपालमा त्यस्तो अवसर छैन । सहि हो ? एकदम गलत धारणा हो । किनभने गर्नेले यहाँ धेरै गरेका छन् । अष्ट्रेलियामा शेष घले सफल भएको उदाहरण छ भने नेपालमा चन्द्रप्रसाद ढकाल सफल भएको उदाहरण छ । मिहेनत गर्नेले नेपालमा पनि राम्रो गर्न सक्छन् । नेपालका कलेजमा पढ्ने विद्यार्थीहरु फुडमाण्डूमा गएर काम गर्न गाह्रो मान्छन् । विदेशमा गएपछि उनीहरु खाना पकाउने वा भाडा माझ्ने वा अरु कुनै पनि काम गर्न तयार हुन्छन् । तर उनीहरु नेपालमा त्यहि काम गर्न लाज मान्छन् । अर्को भ्रम के छ भन्दा विदेश गयो भने टन्नै पैसा कमाईन्छ । तर त्यहाँ पुगेपछि त्यस्तो छैन । यसमा शिक्षा प्रणालीको पनि गल्ती छ । हामीले विद्यार्थीहरुलाई देशप्रति जिम्मेवारीको भावना जगाउन नै सकेनौं । राष्ट्र र राष्ट्रियताप्रति मायाको भावना विकास हुन सकेन । यो देश हाम्रो हो । यसको लागि केही गर्नुपर्छ भन्ने भावना यहाँको युवाहरुसँग छैन । तपाईले भनेको जस्तै भावना जगाउने काम तपाईहरु जस्तो शिक्षा क्षेत्रमा लागेका मानिसकाे होईन र ? यो प्रश्न तपाईले अरुलाई गर्ने ठाउँ छ र ? राष्ट्रियताको विषयमा विद्यालय तहदेखि नै सिकाईनु पर्ने कुरा हो । मेरो आफ्नै पनि जनकपुरमा विद्यालय छ, अक्षर विद्या मन्दिर । हाम्रो विद्यालय प्रदेश नम्बर २ कै उत्कृष्ट विद्यालय भनेर चिनिन्छ । हाम्रो विद्यालय सूचना प्रविधिमैत्री रहेको छ । तपाईलाई अनौठो लाग्ला, अन्य विद्यालयमा जहिले पनि अंग्रेजी बोल्न लगाउँछन् तर हाम्रो विद्यालयमा हरेक शुक्रबार नेपाली भाषा बोल्न लगाईन्छ । त्यहाँ तराई भएकोले नेपाली बोल्न समस्या हुन्छ । त्यसैले हामीले हरेक १५ दिनमा नेपाली नाटक गराउँछौं । हाम्रो वार्षिक कार्यक्रममा पनि हामी विभिन्न सांस्कृतिक कार्यक्रमहरु गराउँछौं । देश के हो भन्ने नबुझ्दा धेरै कुराहरु बिग्रिएर गएका छन् । यसमा सरकार पनि दोषी छ । पाठ्यक्रम बनाउँदा देशको राष्ट्रियता झल्काउने विषय नराख्नु ठूलो कमजोरी हो । नेपालको सबैभन्दा ठूलो ताल कुन हो, हाम्रा विद्यार्थीलाई थाहा छैन । सिंगापुर जानेहरु त्यहाँको ताल देखेर दङ्ग हुन्छन् । तर नेपालको रारा ताल त्यो भन्दा कम छैन नि । यो कुरा हामीले हाम्रा विद्यार्थीलाई सिकाएनौ । नेपाली भाषा, राष्ट्रियता, संस्कृति झल्काउने विषय विद्यालय तहमा मात्रै नभएर कलेजहरुमा पनि हुन सक्दैनन् र ? कलेजमा पनि छ । हामीले यहाँ अनिवार्य नेपाली विषय राखेका छौं । त्यस विषयको माध्यमबाट उनीहरु नेपालको परिचय, नेपालको संविधान, नेपालको कला संस्कृति बारेमा जानकार हुन्छन् । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको २१ वर्षको यात्रा कस्तो रह्यो? अहिले सम्मको यात्रा निकै राम्रो छ । म र मेरो संस्थाका हामी सबै खुशी छौं किनभने हामीले जुन उद्देश्य लिएर यस संस्थालाई स्थापना गरेका हौं, त्यो पुरा गर्न हामी सफल भएका छौं । ८ हजार विद्यार्थी यहाँबाट पास भएर गईसकेका छन् । उनीहरु संसारभर फैलिएर बसेका छन् । उनीहरुले आफ्नो र यस कलेजको नाम पनि राखेका छन् । नेपालको सूचना प्रविधिमा हामीले पनि केही योगदान गर्न पाएकोमा हामीलाई गर्व महसुस हुन्छ । हामी सबैलाई थाहा छ कि सूचना प्रविधिको विकासले देशमा ठूलो फरक परिवर्तन ल्याउन सक्छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा कुन कुन विषय पढाई हुन्छन् ? अहिले हामीले फोकस गरेको विषय भनेको सूचना प्रविधि र व्यवस्थापन हो । यहाँ बिएससी आईटी, एमएससी आईटी, बीबीए र एमबीए कोर्ष रहेको छ । यी चार वटै विषयहरु एसिया प्यासिफिक यूनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त हाे । त्यो विश्वविद्यालय त्यहाँको सूचना प्रविधि अध्ययनको लागि प्रख्यात छ । त्यहाँ १२ हजार विद्यार्थीहरु पढ्छन् जसमा ६ हजार विद्यार्थीहरु विभिन्न देशबाट आएका छन् । उनीहरुले आफूलाई मल्टिकल्चरल विश्वविद्यालयको रुपमा स्थापना गरेका छन् । यस्तै हाम्रै छाता अन्तर्गत पाटन कलेज अफ प्रोफेसनल स्टडिज रहेको छ जुन युनिभर्सिटी अफ बेडफोर्डसाईन, लण्डन युकेबाट सम्बन्धन प्राप्त गरेको छ । त्यहाँ बीएससी इन कम्प्युटर साइन्स एन्ड सफ्ट्वेयर ईन्जिनियरिङ्ग पढाईन्छ । मलाई लाग्छ सफ्टवेयर ईन्जिनियरिङ्गमै मात्रा फोकस गराएर पढाउने कलेज हामी मात्र होला । जसलाई प्रोग्रामिङतर्फ जान मन छ उसको लागि त्यो एकदमै उपयुक्त बिषय हो । त्यहाँ हामीले बीबीए पनि संचालन गर्दै आएका छौं । आईटी र बिजनेस म्यानेजमेन्ट बिषय मध्ये कुन बिषयमा विद्यार्थीहरु बढी आकर्षित छन् ? हामी सूचना प्रविधिको कलेजको रुपमा स्थापना भएका हौं र पहिचान पनि यहि बनिसकेको छ । त्यसैले पनि सूचना प्रविधिको विद्यार्थीहरु पनि धेरै छन् । तर हामीले एमबीएहरुलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं । अफिसमा काम गर्नेहरुको लागि हामीले हप्ताको २ पटक शुक्रबार र शनिबार कक्षा संचालन गर्दै आएका छौं । शुक्रबार दिउँसो ४ देखि साँझ ८ बजेसम्म र शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म पढाई हुन्छ । शनिबार लञ्च पनि कलेजमा नै व्यवस्था गरिएको छ । बैंकिङ र बीमा क्षेत्रमा काम गर्नेको लागि यो विकइन्ड पढाई बरदान नै सावित भएको छ । उनीहरुलाई काम गर्दै पढ्न सजिलो भएको छ । यसबाट धेरै विद्यार्थीहरु खुशी छन् । सामान्य मानिसहरुले नीजि कलेजमा पढ्न महँगो भएको बताउँछन् । तपाईको कलेजमा कति छ शुल्क ? हामीले मैतिदेवीमा साढे ७ लाखमा ब्याचलरमा आईटी पढाउँदै आएका छौं । नेपालको सन्दर्भमा यो शुल्क भनेको निकै नै सस्तो हो । यही विषय यूकेमा पढ्नुपर्दा कम्तिमा ५० लाख खर्च हुन्छ भने मलेसियामा हामीलाई सम्बन्धन दिने विश्वविद्यालयमा पढ्ने हो भने ४० देखि ४५ लाख रुपैयाँ खर्च हुने गर्दछ । म्यानेजमेण्टतर्फ ब्याचलर कोर्ष हामीले साढे ६ लाखमा पढाईरहेका छौं र मास्टर्सको कोष साढे ४ लाखको हाराहारीमा पढाईरहेको छौं । किन तपाईहरुले नेपाली विश्वविद्यालयबाट सम्बन्ध लिनु भएन ? हामीले जुन बेलामा सूचना प्रविधिका कलेज यहाँ खोल्न खोजेका थियौं त्यो बेलामा हामी त्रिभुवन विश्वविद्यालयमा गयौं तर उहाँहरुले हाम्रो सिस्टममा त्यस्तो छैन भन्दै अनेक समस्याहरु देखाएको कारण हामीले बाहिरको विश्वविद्यालयबाट सम्बन्धन लिएका हौं । त्यतिबेला नेपालमा त्यो कार्यक्रम थिएन । विदेशबाट सम्बन्धन लिएर हामीले सुरुवात गर्यौ । अर्को राम्रो कुरा नेपालमा कोर्षहरु अपडेट हुन ४ वर्ष लाग्छ तर हाम्रो विश्वविद्यालयमा हरेक ६ महिनामा नयाँ नयाँ अपडेट भईरहन्छ । अर्को भनेको मूल्याङ्कन विधि । यहाँ हाम्रो वार्षिक परीक्षाको आधारमा विद्यार्थीलाई अंक दिईन्छ तर विदेशी विश्वविद्यालयमा भने विद्यार्थीले हरेक दिन गरेका कृयाकलापका आधारमा विद्यार्थीहरुलाई मूल्यांकन गरिरहेका हुन्छन् । पछिल्लो समय शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका कलेजहरुले नेपालको नियम पालना गरेनन्, नियम पालना नगर्ने कलेजहरुलाई कारवाही गर्नुपर्छ भन्नु भएको छ । मन्त्रीको उक्त भनाई कसकसलाई लक्षित छ ? हामी विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि संचालित पहिलो कलेज हौं । विदेशबाट सम्बन्धन लिएका कलेजहरुको नियमन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयले जारी गरेको निर्देशन सबैले पालना गर्नुपर्छ । त्यो निर्देशन बनाउने क्रममा म पनि समितिमा थिएँ । पछिल्लो समयमा केही साथीभाईहरुले कलेज समयमा नविकरण गर्नुभएको छैन । मन्त्रीको भनाई उहाँहरुलाई लक्षित हो । जसले नियम पालन गर्दैनन् उसलाई त अवश्य पनि कारबाही हुनैपर्छ । लर्ड बुद्ध एकेडेमीले सञ्चालन गरेका ४ वटा कोर्षमध्ये एउटा कोर्सले त्रिभुवन विश्वविद्यालय स्थाई रुपमा समकक्षता पाएको छ तर बाँकी ३ वटा कोर्सले भने अस्थाई समकक्षता मात्र प्राप्त गरेको छ । किन यस्तो भएको ? यो हामीलाई मात्र नभएर सबैलाई यस्तै नियम रहेको छ । त्रिभुवन विश्वविद्यालयले पहिला स्थाई समकक्षता भन्ने शब्द दिनुहुन्थ्याे तर पछिल्लो २ वर्षयता अस्थाई समकक्षता भनेर दिने गरेको छ । यो कुरा हामीले पनि बुझ्न सकेका छैनौं । तर यसको मतलब हाम्रो कोर्सले मान्यता नपाएको भन्ने चाँही पक्कै पनि होईन । विश्वविद्यालयले कलेजहरुमा हरेक २ वर्षमा अनुगमन गर्दै आएका छन् । अनुगमनको लागि हामीले आँफै नै निवेदन दिनुपर्छ । अझै रमाईलो कुरा के छ भने हामीले उहाँहरुलाई अनुगमनको पैसा बुझाउनुपर्छ । अनुगमनमा आउनेला अनुगमनकर्तालाई हामीले नै भत्ता दिनुपर्छ । तपाई आँफै पनि सोच्नुहोस् जो तपाईकै भत्ता खाएर अनुगमन गरिरहेको छ के त्यसले तपाईको बारेमा नराम्रो लेख्ला त ? नियममा नै लेखिएको छ । हामीलाई पनि समकक्षता लिनुपर्ने बाध्यता छ । अर्को ठूलो समस्या के छ भने सरकारी मान्छेहरु नै शिक्षा क्षेत्रमा काम गर्नेलाई सरकारले नै चोर, डाका, फटाहा भन्छन् । सरकारी मान्छेले, सर्वसाधारणले शिक्षा क्षेत्रका लगानीकर्ताहरुलाई मानिसहरुले चोर, डाका, फटाहा भन्दै गर्दा तपाईलाई कस्तो लाग्छ ? हरेक मानिसको फरक फरक धारणा र दृष्टिकोण रहेको छ । कुनै साथी नाफाको लागि मात्र काम गर्दै आएका छन् भने कोही सेवामुलक रुपमा मात्र लागेका हुन्छन् । उदाहरणको लागि मेरो यो व्यवसाय बाहेक अन्य कुनै पनि व्यवसाय छैन । अब मैले पनि त आफ्नो छोरा छोरी पाल्नुपर्छ । अब सरकारले छोराछोरी पढाईदिन्छु, तँलाई चोटपटक लाग्यो, कुनै समस्या आयो भने हामी हेरिदिन्छु भने त कुनै पनि फाईदा बिना काम गर्नु हुन्थ्याे । त्यो अवस्था छैन । मेरै कुरा गर्नुहुन्छ भने शुरुको ८ वर्ष लर्ड बुद्ध एकेडेमी घाटामा नै चलाए । पछि विस्तारै नाफामा गयो । फेरी अहिले घाटामा जाला जस्तो भएको छ । तपाईहरुले शिक्षा क्षेत्रमा आफ्नो लगानीलाई कत्तिको सुरक्षित महसुस गर्नुभएको छ ? जसले लामो समयदेखि लगानी गरिसकेको छ उनीहरुको भने सबै लगानी उठेर राम्रो भईरहेको अवस्था छ तर अबको अवस्थामा शिक्षा क्षेत्रमा ठूलो लगानी आउने सम्भावना एकदमै कम देखिएको छ । सरकारले नीजि संस्थासँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने अवस्थामा उहाँहरु उल्टो कुरा गर्दै आउनु भएको छ । सरकारले जग्गा दिन्छ । भवन बनाउँछ । शिक्षकलाई तलब दिन्छ । भत्ता दिन्छ । पेन्सन दिन्छ । विद्यार्थीलाई खाजा दिएको छ । अन्य खर्च दिन्छ । त्यसको साटो, जग्गा, भवन नीजि क्षेत्रलाई दिएर नीजि क्षेत्रसँग साझेदारी गर्ने हो भने धेरै राम्रो हुन्छ । बरु सरकारले २५/३० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्दा राम्रो हुन्छ ।
सबैभन्दा ठूलो करदाता बनेर माला लगाउने रहर छ, मेराे नाफा गर्वसाथ भन्न पाउनुपर्याे-पशुपति मुरारका
विगत तीन वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ५ देखि ७ प्रतिशतको बीचमा छ । लगातार उच्चदरको आर्थिक वृद्धिले नेपालीमा जुन उत्साह ल्याउनु पर्ने हो, त्यस्तो देखिन्न । उद्योग व्यवसायीसँग कुरा गर्दा उच्चदरको आर्थिक वृद्धिले खुशी ल्याएको अनुभूति गर्न सकिदैन । आखिरी किन ? नीजि क्षेत्र किन असन्तुष्टि व्यक्त गर्दै छ ? प्रस्तुत छ देशको व्यवसायिक वातावरण र नेपाल उद्योग वाणिज्य महासंघ भित्रको झै झगडाको विषयमा केन्द्रीत मुरारका ग्रुपका अक्ष्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारकासँग विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस । लगातार ६/७ प्रतिशतको आर्थिक वृद्धि नेपालीलै पहिलो पटक देख्न र भोग्न पाएका छन् । डुइङ विजनेश रिपोर्टले नेपालमा लगानीको वातवरणमा सुधार आएको जनाएको छ । तर उद्योगी व्यवसायीहरु खुशी देखिदैनन्, निराशाजनक कुरा मात्र गर्छन्, किन यस्तो भईराखेको छ ? मलाई लाग्छ २०४८/४९ सालतिर पनि नेपालको आर्थिक वृद्धि यस्तै थियो । राम्रो कुरा यो हो कि २५/२६ वर्षपछि बल्ल नेपालको आर्थिक वृद्धिदर सन्तोसजनक अवस्थामा छ । डुइङ विजनेश इन्डेक्स रिपोर्ट राम्रो आएको छ । त्यो आफ्नो ठाउँमा छ । तर अहिले सेयर मार्केट खस्केको छ । व्यापार खस्केको छ । नयाँ उद्योग आउन सकेको छैन । म आफै संलग्न भएको निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुले क्षमताभन्दा निकै कम उत्पादन गरिरहेका छन् । मेरो विचारमा निर्माण सामाग्रीको खपत जति बढी हुन्छ, विकास निर्माणको काम त्यति नै धेरै हुन्छ । रोजगारी पनि सिर्जना हुन्छ । सिमेन्ट, रड लगायत निर्माण सामाग्रीको बजार कस्तो छ ? अहिले निर्माण सामाग्रीको उत्पादन तथा बिक्री वितरणको वृद्धि छँदैछैन । कति घटेको छ भन्ने एकिन तथ्याङ्क छैन । तर मैले साथीहरुसँग कुरा गर्दा कसैले पनि वृद्धि भएको कुरा गर्नुहुन्न । कसैले २५ प्रतिशत उत्पादन तथा बिक्री घटेको छ भन्नुहुन्छ । कसैले १० प्रतिशत घटेको छ भन्नुहुन्छ । केही नयाँ उद्योग आएकाले उनीहरुले केही बजार हिस्सा लिएका छन् । त्यसले पनि पुराना कम्पनीको थोरै हिस्सा लिएका छन् । समग्रमा बजार विस्तार भएको छैन । उत्पादन मात्र घटेको छैन । मूल्य पनि १५/२० प्रतिशतले घटेको छ । अवस्था यस्तो छ कि धेरै सिमेन्ट उद्योग र स्टील उद्योगहरु घाटामा चलेका छन् । घाटामा नहुने उद्योगहरु पनि मुस्किलले बराबरीको अवस्थामा छन् । निर्माण सामाग्रीको अहिलेको मूल्यलाई घटेको भन्ने कि भूकम्पपछि अस्वभाविक मूल्य वृद्धि भएको थियो, अहिले बजार सच्चिएर ठिक ठाउँमा आयो भन्ने ? भूकम्पपछि मूल्य बढ्यो नभनौं । त्यतिबेला माग र आपूर्तिले मूल्य निर्धारण गरेको हो । भूकम्पपछि पुर्ननिर्माणको क्रममा एक बोरा सिमेन्टको लागि १०५० देखि ११०० रुपैयाँसम्म हाल्नुपर्यो उपभोक्ताले । त्यतिबेला त उद्योगीले पनि अचाक्ली गरेका हुन् नि ? त्यति पैसा कुनै पनि उद्योगले कहिल्यै पनि लिएनन् । त्यो बेलामा माग धेरै तर आपूर्ति कम थियो । त्यतिबेला सरकारी उद्योगले समेत फ्याक्ट्री प्राइस ९६० रुपैयाँसम्म बनाएको थियो । त्यसमा ढुवानी लागत बढ्छ । बिक्रेताले मार्जिन राख्छ । त्यतिबेला ढुवानी लागत पनि बढी थियो । बिक्रेतालाई हामीले यतिभन्दा धेरै पैसा नलिएकाे भन्न मिल्दैन । कसले कतिमा बेच्छ उद्योगीले जिम्मा लिन पनि सक्दैन । २ वर्षयता सिमेन्टको मूल्य २० देखि २५ प्रतिशतले घटेको छ । बिक्री परिणाम र मूल्य दुबै घट्दा उद्योगीले कसरी व्यवस्थापन गरिरहेका छन् ? खर्च कटौती एउटा पाटो भयो । अहिले उद्योगीको मार्जिन पनि घटेको छ । बिक्रेताको मार्जिन पनि अहिले घटेको छ । एउटाले जे काम गर्यो सबैले त्यहि फलो गर्ने नेपालीको कल्चर छ । सबै गरेर करिब ५५ उद्योग छन् । १०/१२ वटा उद्योग जसले आफै क्लिङकर पनि उत्पादन गर्छन, यी कम्पनीमा ठूलो लगानी छ । कर्जाको व्याज र डेप्रिसिएसन कष्ट ठूलो आउँछ । पुराना कम्पनीको कर्जा पनि कम होला, डेप्रिसिएसन पनि कम होला । नयाँ कम्पनीको लागि दुबैको कष्ट बढी छ । त्यसैले पुराना कम्पनीलाई भन्दा नयाँ कम्पनीलाई बढी कठिन देखिन्छ । के यहि संकटले सिमेन्ट उद्योगहरु बन्द हुँदैछन् ? केही उद्योगहरु समस्यामा छन् भन्ने मेरो जानकारीमा छ । बैंकको व्याज र किस्ता नियमित हुन नसकेको, कर्मचारीलाई नियमित तलव खुवाउन नसक्ने अवस्था आउन लागेको संकेतहरु देखिएका छन् । मलाई लाग्छ, अगामी असार मसान्तसम्ममा धेरै कुरा बाहिर आउँछ । बिक्रेताहरुले उद्योगलाई भुक्तानी दिन नसक्ने अवस्थामा पुगेका हुन् ? निर्माण सामाग्रीको बजारमा पहिला उद्योगी हावी थिए । अहिले बिक्रेता हावी भएका छन् । बिक्रेताले उद्योगलाई पैसा भुक्तानी गरेपछि मात्र माल पाउने अवस्था थियो । पछि एक महिनासम्मको लागि उधारो चल्याे । उधारोको समय अहिले ९० दिनसम्म पुगिसक्यो । बिक्रेताबाट पेमेन्टमा डिले भईरहेको छ । सिमेन्टको गुणस्तरको मापदण्ड बनाउने सवालमा उद्योगीहरु बीचको विवाद के हो ? गुणस्तरको मापदण्ड बनाउने आधार दुईटा हुन्छ । कि आफैले खोज अनुसन्धान गरेर नयाँ मापदण्ड बनाउनुपर्छ । त्यसको लागि नेपालमा सिमेन्ट रिसर्च सेन्टर नै छैन । कि अरुले बनाएको मापदण्डलाई कपी गर्ने हो । अरुको मापदण्ड कपी गरेर, त्यसमा फेरी यो यति बढाउँ, त्यो यति घटाउँ भन्ने कुरा गर्नु भएन । विश्वमा सर्वाधिक सिमेन्ट उत्पादन गर्ने भनेको छिमेकी देश भारत र चीन हुन् । विश्वमा जति सिमेन्ट उत्पादन हुन्छ त्यसको ५० प्रतिशत चीनले र १५ देखि २० प्रतिशत भारतले उत्पादन गर्छ । हामीले कि भारतले कि चीनले बनाएको मापदण्ड प्रयोगमा ल्याउँदा राम्रो हुुन्छ । मलाई के लाग्छ भने हामीले क्रमशः सिमेन्ट निर्यात गर्ने भनिरहेका छौं । निर्यात गर्ने भनेको भारतमा नै हो । त्यसको लागि भारतले बनाएको मापदण्ड प्रयोग गर्यौ भने अहिले पनि हुन्छ, निर्यात गर्ने बेलामा पनि हुन्छ । भारतले पनि व्रिटिश स्ट्याण्डर्ड कपी गरेको हो । गुणस्तरको मापदण्ड बनाउने तर्फ गुणस्तर तथा नाप तौल विभागले केही काम गरेको थियो । अहिले त्यो काम अगाडि बढेको छैन भन्ने सुनेको छु । तपाई सिमेन्ट उद्योगमा मात्र हुनुहुन्न । अरु क्षेत्रको अवस्था कस्तो छ ? त्यति राम्रो छैन । स्टील उद्याेगमा पनि मन्दी छ । पेन्ट्सको विजनेश पनि घटेको छ । अटोमोबाइलको सेल्स पनि घटेको छ । तपाईले बैकिङ क्षेत्रमा पनि लगानी गर्नुभएको छ । एकातिर उद्योग व्यापारीहरु कर्जाको व्याज घटाउनुपर्छ भनेर सडकमा आए । त्यसपछि निक्षेपको व्याज पनि १० प्रतिशतभन्दा कम भयो । बैंकहरुको नाफा वृद्धिदर ६ प्रतिशतमा सीमित देखिएको छ । यसबारे तपाईको धारणा के हो ? निक्षेपको व्याजदरमा नियन्त्रण गर्ने/सीमा तोक्ने तर कर्जाको व्याजदर खुला राख्ने काम पनि गलत हो । निक्षेपको व्याजमा कार्टेलिङ गर्नेले कर्जाको व्याजमा खुला राख्न मिल्छ ? यो पनि खुला अर्थतन्त्र हो ? बैंकमा मेरो धेरै ठूलो लगानी छैन । बैंकहरुले निक्षेपको व्याज घटाए तर कर्जाको व्याज घटाएनन् । अर्को कुरा, सडकमा आन्दोलन गरेर बैंकको व्याज तोकिनु पनि हुँदैन । व्याजदर घटाउन भनेर सडकमा आन्दोलन गर्नु नै गलत थियो । व्याज घटाउनु पर्छ भनेर म सडकमा गइन । जो जो गए, उनीहरुकाे विचारमा मेरो सहमति छैन । व्याजदर बजारले नै तय गर्ने हो । फेरी, निक्षेपको व्याजदरमा नियन्त्रण गर्ने/सीमा तोक्ने तर कर्जाको व्याजदर खुला राख्ने काम पनि गलत हो । निक्षेपको व्याजमा कार्टेलिङ गर्नेले कर्जाको व्याजमा खुला राख्न मिल्छ ? यो पनि खुला अर्थतन्त्र हो ? नाफा वृद्धिदर ६ प्रतिशत सीमित हुँदैमा आत्तिनु पर्ने अवस्था छैन । मैले उद्योगको क्षमता एक हजार टनबाट दुई हजार टन बनाउँदा मेरो नाफा सोही अनुसार वृद्धि हुनुपर्छ भनेर अपेक्षा गर्नुहुन्छ । बैंकहरुको पुँजी दुई वर्षमा ४ गुणा बढेको छ भने इपीएस पहिला जत्तिकै हुुनुपर्छ भन्नु पनि हुन्न । त्यो असम्भव कुरा हो । बैंकहरुमा तपाईको सेयर लगानी कति छ ? धेरै छैन । जति छ, त्यति भन्दा के बिग्रन्छ ? आज एक्स प्राइस छ । भोलि वाई प्राइस होला । दिनदिनै फरक पर्छ । आजको दिनमा सूचीकृत कम्पनीहरुको सेयरमा तपाईको लगानी कति हो ? जेफ बेजोन, विल गेट्स, वारेट वफेट, ज्याक मा, विनोद चौधरीको सम्पत्ति यति भनेर सार्वजनिक गर्दा हुने, पशुपति मुरारकाको सम्पत्ति सार्वजनिक हुन नहुने ? त्यो फोब्ले भनेको हो । विल गेट्स वा विनोद चौधरीले मेरो सम्पत्ति यति भनेर भनेका छैनन् । नेपालको कुनै पत्रिकाले पशुपति मुरारकाको सम्पत्ति यति भनेर सार्वजनिक गर्छ भने म त्यसको विरोध पनि गर्दिन, मेरो समर्थन पनि हुँदैन । म चाहान्छु कि मेरो लगानी कति छ, नाफा कति छ, घाटा कति छ ? सबै सार्वजनिक गर्न चाहान्छु तर वातावरण ठिक छैन । मिडियाको तर्फबाट हामी विजनेश कम्यूनिटिबाट दुईटा कुरा चाहान्छौ । नेपालका ठूलो व्यवसायीहरुमा कसको सम्पत्ति कति छ ? कसले कति कर तिरे ? यी दुई कुरा सार्वजनिक गर्दा तपाईहरुलाई कहाँ नराम्रो हुन्छ ? तपाईले भनेको कुरा एकदम सहि हो । मैले धेरै पटक भनेको छु कि मैले कति नाफा गरे, गर्व साथ भन्नु पाउनुपर्यो । नाफासँगै कर कति तिर्नुपर्छ, त्यो आईहाल्छ । जसरी अहिले सूचीकृत कम्पनीले त्रैमासिक रुपमा वित्तीय विवरण पत्रिकाबाट सार्वजनिक गर्छन्, त्यो मैले पनि गर्न पाउनुपर्यो । सार्वजनिक गर्नु न त । अर्घाखाची सिमेन्टलाई पब्लिक बनाउनुहोस्, पशुपति पेन्टस्लाई पब्लिक बनाउनुहोस् । नेप्सेमा लिष्टिङ गर्नुहोस् । के ले रोक्यो तपाईलाई ? नेप्सेमा लिष्टिङमा जानै परेन । नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुले पनि आर्थिक प्रतिवेदन बनाएका हुन्छन् । सबै आयव्यय हिसाव कर कार्यालयलाई बुझाएका हुन्छन् । तर त्यसलाई हामीले सार्वजनिक गर्न सकेका छैनौ । किनभने हाम्रो समाजले नाफालाई स्वीकार गर्न सकेको छैन । कम्पनी नाफामा जाँदा, लगानीकर्ताले बोनस लिन पाउँदा समाज खुशी हुन सकेको छैन । सबैभन्दा बढी कर तिरेर फूलमाला लगाउन मलाई पनि रहर छ । सबैलाई रहर हुन्छ । आज धेरै कर तिर्नेलाई सम्मान गर्ने अभ्यासको शुरुवात भएको छ । तर उसको कम्पनीले कति नाफा गरेको छ भन्ने कुरा अझै सार्वजनिक गरिदैन । किनभने नाफा धेरै देख्ने वित्तिकै यहाँ धेरै समस्या सिर्जना गरिन्छ । तपाईले पनि एक पटक टप ट्याक्स पेयर अवार्ड पाउनु भएको थियो । त्यसपछि तपाईको नाम आउन छोड्यो, किन ? केही विजनेश डाईभर्सिफाइ भयो । केही नाफा पनि घट्यो । नाफा घटेपछि कर पनि स्वतः घटिहाल्यो । मेरो बुझाइमा टप ट्याक्स पेयरको क्यालकुलेशन पनि ठिक छैन । भ्याट, भन्सार, अन्तशुल्क बढी तिर्नेलाई टप ट्याक्स पेयर मान्न मिल्दैन । त्यो त उपभोक्ताले तिरेको पैसा हो । आय करका आधारमा मात्र टप ट्याक्स पेयर सम्मानित हुनुपर्ने हो । मैले आलोचना गर्न खोजेको होइन, जस्ट मेरो दिमागको कुरा गरेको । मेरो बुझाइमा टप ट्याक्स पेयरको क्यालकुलेशन पनि ठिक छैन । भ्याट, भन्सार, अन्तशुल्क बढी तिर्नेलाई टप ट्याक्स पेयर मान्न मिल्दैन । त्यो त उपभोक्ताले तिरेको पैसा हो । आय करका आधारमा मात्र टप ट्याक्स पेयर सम्मानित हुनुपर्ने हो । उद्योग, व्यापार र सेवा क्षेत्र सबैतिर लगानी गर्नुभएको छ । बढी नाफा कुन क्षेत्रमा छ ? नाफा भन्दा पनि सन्तुष्टि कहाँ छ भन्ने कुरा आउँछ । हामी बाबुबाजेको पालादेखि नै उत्पादन मुलक उद्योगमा थियौं । हाम्रो दिमाग उद्योगमा नै केन्द्रीत भयो । तर अहिले रिग्रेट (पश्चाताप) हुन्छ कि किन हामी उद्योगमा गयौं । व्यापार गर्नेले नाफा धेरै गरे । घाटा हुन थाल्यो भने छोड्न सजिलो भयो । जोखिम कम भयो । तर व्यापारमा सन्तुष्टि हुँदैन । उद्योगमा सन्तुष्टि छ तर नाफा छैन । बैकिङ, बीमा लगायत सेवा क्षेत्रको सेयरमा २५ वर्ष लगानी गर्नेको अहिले बुक भ्यालु जति छ, त्यति उद्योगमा लगानी गर्नेको छैन । सेयरको बुक भ्यालु भन्दा उद्योग लगाउनको किनेको जग्गाको मूल्य धेरै बढेको छ नि ? जग्गाको मूल्यको कुरा गर्ने हो भने त जग्गा किनबेचमा गए भैगोनि । जग्गा कारोबारीले जति नाफा कसैले गर्दैन । कसैले पनि जग्गाको भाउ बढ्छ भनेर उद्योग लगाउने होइन । उद्योग बन्द भयो भने मेसिन किन्न भन्दा काटेर फाल्न बढी पैसा लाग्छ । जग्गाको हदबन्दी, औद्योगिक जग्गा बेच्न नपाइने जस्ता समस्या पनि छन् । नयाँ प्रविधि आयो, प्रतिस्पर्धा गर्न सकिएन, उद्योग चलेन, बन्द गर्नुपर्ने भयो, उद्योग अन्त सार्नुपर्ने भयो । यस्तो अवस्थामा पनि जग्गा बेच्न नपाइने नियम छ । जग्गाको भाउ बढ्यो भनेर त्यसको बेनिफिट पनि हामीले लिन पाएका छैनौं । नेपाल उद्योग वाणिज्य महासंघको कुरा गरौं । कात्तिक २९ गते विशेष साधारणसभा किन बोलाएको ? अन्तिम घडीमा किन स्थगित गरेको ? यो प्रश्न अध्यक्ष भवानी राणालाई सोध्नुहोस् । महासंघका पदाधिकारीलाई सोध्नुहोस् । निर्वतमान अध्यक्ष पनि पदाधिकारी हो नि ? हो । तर मैले शुरु देखि नै जुन उदेश्यले विधान संशोधन गर्ने, विशेष साधारणसभा गर्ने कुरा ल्याइयो, त्यसको विरोध गर्न थालेको हुँ । वर्तमान वरिष्ठ उपाध्यक्षलाई हामीले ६ वर्षको लागि चुनेका हौ । तीन वर्ष उपाध्यक्ष, त्यसपछि तीन वर्ष अध्यक्ष हुने भनेर मैले भोट हालेको हुँ । अरुले पनि त्यहि भनेर भाेट हालेकाे हाे। निर्वाचन भएको छ महिनामै विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई हटाउने योजना बन्यो । अहिलेको महासंघको नेतृत्वले साढे दुई वर्षदेखि विधान संशोधन गर्ने कि नगर्ने, कसलाई हटाउने, कसलाई अध्यक्ष बनाउने भन्ने खेल मात्र खेलिरह्यो । त्यो सब गलत काम भएको थियो । त्यो रोकिनु पर्दथ्यो । रोकियो । अनि विधान संशोधन को कुरा गर्ने, विधानको पालना गर्ने ? विधानको ६६-१(क)मा विधान संशोधन आवश्यक छ भने विधान साधारणसभा भन्दा तीन महिनाअघि सदस्यलाई मस्यौदा पठाउनुपर्छ । विधान संशोधनको मिति तोकिएको छ । साधारणसभाको लागि निम्ता गएको छ । तर विधान संशोधनको मस्यौदा सदस्यले पाएका छैनन् । साधारणसभामा आईसकेपछि यो संशोधन गर्न लागेको भन्ने र भोटिङ गराउने ? महासंघका संस्थागत सदस्यले अब कसरी भोटिङ गर्ने ? संस्थाभित्र छलफल हुनुपर्दैन ? विधान संशोधन गर्नुको नियत गलत थियो, विधि गलत थियो । त्यसलाई हामीले रोक्यौ । यो प्रश्न अध्यक्ष भवानी राणालाई सोध्नुहोस् । महासंघका पदाधिकारीलाई सोध्नुहोस् । तपाई आफ्नो मिसनमा सफल हुनुभयो । तपाई धेरैको लागि बधाईको पात्र पनि बन्नुभयो । अब महासंघको शक्तिकेन्द्रमा पशुपति मुरारका आए भन्ने समाचार पनि छापिए । साच्चै हो महासंघको मठाधिश उपाधि पाएका चण्डिराज ढकालबाट पावर पशुपति मुरारकामा सरेको हो ? महासंघको शक्ति अध्यक्षमा केन्द्रीत हुन्छ । म अहिले निवर्तमान अध्यक्ष भएपनि मेरो सक्रियता निकै कम छ । अध्यक्षले राय मागेको अवस्थामा राय दिन्छु । मान्ने नमान्ने अध्यक्षको कुरा भयो । मलाई शक्तिको केन्द्र बन्नु छैन । विगत दुई महिनामा महासंघका गलत काम भए । त्यसलाई रोक्न मात्र म सक्रिय भएको हुँ । कुनै व्यक्तिलाई अध्यक्ष बनाउन वा कुनै व्यक्तिलाई अध्यक्ष हुन रोक्नको लागि विधान संशोधन गर्नु गलत हुन्छ । यसअघि महासंघको विधान संशोधन हुँदा तपाई अध्यक्ष हुनुहुन्थ्यो । त्यो संशोधन भवानी राणालाई अध्यक्ष बनाउने उदेश्यले नै गरिएको थियो । कार्यसमिति सदस्यमा निर्वाचित व्यक्तिलाई विधान संशोधन गरेर अध्यक्ष बनाउने त्यतिबेलाको निर्णय सहि थियो त ? त्यतिबेलाको संशोधन व्यक्ति केन्द्रीत थिएन । वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधि बनाउन विधान संशोधन गरियाे। विधान संशोधन लगत्तै लागु गर्ने भन्ने निर्णय पनि साधारणसभाले गर्याे । विशेष साधारणसभाले सर्बसहमतिमा निर्णय गरेको विषय हाे याे । त्यतिबेला ठिक लागेर गरेको काम अहिले ठिक नलाग्न पनि सक्छ । विधान संशोधन हुन सक्छ । तर विधान संशोधन पनि विधिअनुसार हुनुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघ चरम विवादमा फस्दै गएको छ । महासंघको निर्वाचित अध्यक्षलाई जेल पुर्याउने काम पनि महासंघको जिम्मेवार व्यक्तिहरुले पहलमा भएको थियो । कसैलाई नाटकीय शैलीमा नेतृत्वबाट पदच्युत गराउने । कसैलाई अध्यक्षको कुर्सीमा बसाउन हतार गरेर मुल ढोका छोडेर झ्यालबाट भित्र छिराउने काम पनि भए । नियमित काम कै कुरा गर्ने हो भने चालु आर्थिक वर्षको सरकारको बजेट, नीति तथा कार्यक्रम गज्जब राम्रो भनेर महासंघले विज्ञप्ती निकालेर स्वागत गर्यो । त्यसको भोलिपल्ट देखि महासंघकै सदस्यहरु सरकारी बजेटको विरोधमा सडकमा आए । सबै तथ्यहरु घाम जत्तिकै छर्लङ्ग छन् । महासंघ किन यसरी गिर्दै गएको छ ? जबसम्म महासंघमा ट्र्यू स्टेकहोल्डर र ट्र्यू लिडरशिप हुँदैन तबसम्म यस्तो समस्या आउँछ । नेतृत्वले आफ्नो विवेक र क्षमता देखाउन नसक्दा यस्तो समस्या आउँछ । जबसम्म महासंघमा ट्र्यू स्टेकहोल्डर र ट्र्यू लिडरशिप हुँदैन तबसम्म यस्तो समस्या आउँछ । नेतृत्वले आफ्नो विवेक र क्षमता देखाउन नसक्दा यस्तो समस्या आउँछ । म पहिला अध्यक्ष थिए, अहिले निर्वतमान भए । अब बैशाखदेखि मेरो केही पनि भूमिका हुँदैन । आगामी बैशाखपछि पनि महासंघमा म सक्रिय भए भने महासंघको नयाँ नेतृत्वले आफ्नो सोच, विवेक र क्षमता देखाउन सक्दैन । उद्योग व्यापार नबुझेको व्यक्ति नेतृत्वमा पुग्दा पनि समस्या आएको छ । कुरै नबुझि मिडियामा बोल्दिन्छन् । कुरै नबुझि सरकारसँग डिल गर्न पुग्छन् । त्यसपछि त्यसपछि समस्या आउँछ । तपाईकै भनाई अनुसार कुरै नबुझि सरकारसँग डिल गर्ने, सरकारको नीति कार्यक्रमको स्वागत गर्ने, विजनेशन नै नबुझेको मान्छे महासंघको नेतृत्वमा कसरी पुग्छन् ? सरकारले राम्रो गरेको छ भने गुनगान पनि गर्नुपर्छ । सरकारले राम्रो गरेको स्वागत पनि गर्नुपर्छ । नराम्रो छ भने नराम्रो पनि भन्न सक्नुपर्छ । नेतृत्व चयन भाेटिङबाट हुन्छ । विधि सम्मत नै भएका छन् । नेतृत्व चयनकाे विधि पद्दति ठिक छैन भन्न त मिल्दैन । तर महासंघ स्मूथ्ली चलिरहेको छैन ? महासंघमा राजनीति अलि बढि नै हुन थाल्यो । महासंघभित्र भ्रष्टाचार पनि बढ्यो ? भ्रष्टाचार भयो त भन्दिन । महासंघको कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासंघ भ्रष्टाचारमा डुब्यो भनेर राजीनामा दिनुभयो, भ्रष्टाचार छैन भनेर कसरी भन्नुहुन्छ ? उहाँले चार्ज लगाउनु भयो । राजीनामा पनि दिनुभयो । तर चार्ज लगाउँदैमा भ्रष्टाचार भयो भनेर म भन्दिन । महासंघको आयव्यय पनि पारदर्शी छैन नि ? कसरी भन्नुहुन्छ ट्रान्सपरेन्स छैन भनेर ? महासंघले आर्थिक प्रतिवेदन कहिल्यै सार्वजनिक गर्दैन । मिडियाकाे तर्फबाट माग्दा हामीले नै पाएनाै ? सूचनाको हक सम्बन्धि अधिकार प्रयोग गरेर निवेदन राख्नुहोस् । तपाईले सबै कुरा पाउनुहुन्छ । त्याे विशेष पहल पछि पाउने कुरा भयाे । कार्यसमिति सदस्यहरुको मोवाइल नम्बर समेत राख्ने महासंघका वेवसाइटमा आर्थिक प्रतिवेदन किन राखिदैन ? तपाईले सहि भन्नुभयो । मेरो पालामा पनि आर्थिक प्रतिवेदन वेवसाइटमा राखिएन होला । मेरो दिमागमा पनि आएन त्यो कुरा । हामीले हरेक वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन वितरण गरेका हुन्छौं । यसलाई वेवसाइटमा राख्न म महासंघको वर्तमान नेतृत्वलाई र आउने वाला नेतृत्वलाई आग्रह गर्छु । राख्ने नराख्ने उहाँको निर्णय हो । तपाईको सुझाव राम्रो छ । तपाईलाई किङ मेकेर पनि भन्दा रहेछन् मानिसहरु । महासंघको नेतृत्वमा को को आउदैहुनुहुन्छ ? किङ मेकेर भन्ने शब्दलाई नै घृणा गर्छु म । महासंघको नेतृत्वमा कसलाई ल्याउने भन्ने कुरा महासंघका सदस्यहरुको भोटले निर्धारण गर्छ । उनीहरु नै किङमेकर नै हुन्छ । विगतमा म पनि उमेदवार हुँदा टिम बनाउने, यो भन्दा यो मान्छे बेटर बन्ने काममा म सक्रिय हुन्थ्यो । अब त त्यो पनि नगरौ जस्तो लागिरहेको छ । महासंघ कठिन अवस्थामा छ । त्यसैले सर्बसहमतिमा पदाधिकारी चयन गर्न मेरो प्रयास हुन्छ । तपाई महासंघमा सर्वसहमतिमा अध्यक्ष बन्नु भयो । तपाईको पालामा महासंघमा उल्लेख्य र ऐतिहासिक काम के भए ? महासंघकाे कार्यकारिणी सदस्य, विभिन्न समितिकाे सभापति, उपाध्यक्ष, अध्यक्षकाे जिम्मेवारीमा रहेर काम गर्दा मैले कर प्रणालीमा सुधार गर्न धेरै भूमिका खेलेको छु । उपाध्यक्ष भएको बेलामा ट्रेड यूनियनसँग भएको समझदारी निकै महत्वपूर्ण रह्यो । विनासकारी भूकम्प पछिको अवस्थामा म अध्यक्ष थिए । त्यसपछि देशमा नाकाबन्दी भयो । जटिल अवस्थामा निजी क्षेत्रको नेतृत्व गर्नुपर्ने अवस्था थियो । त्यहिबेलामा संविधान आयो । संविधान बनाउने क्रममा मैले भित्रभित्र धेरै काम गरेको छु । प्राकृतिक स्रोतमा लाग्ने कर, प्रदेश र स्थानीय तहले लिने दोहोराे कर हटाउन मैले महासंघको अध्यक्ष भएको बेलामा निकै काम गरेको छु । संविधानको पहिलो मस्यौदा र अहिलेको संविधान हेर्नुहोस्, दोहोरो कर कति हटेको छ ? त्यसले देखाउँछ कि त्यतिबेला महासंघले कति राम्रो भूमिका खेलेको रहेछ । प्रदेश सरकारलाई अन्तशुल्क उठाउने अधिकार थियो, त्यो हटायौं । प्रदेश सरकारले आयकर अलग्गै लगाउने अधिकार थियो, त्यो हटायौं । हरेक कम्पनीको सञ्चालक समितिमा ट्रेड यूनियनको प्रतिनिधि हुने व्यवस्था थियो, त्यो हटाउन लगायौं । त्यतिबेला मैले भित्रभित्रै यति धेरै काम गरे कि त्यो प्रचारप्रसार गर्न पनि नमिल्ने । भ्याट, भन्सार, अन्तशुल्क र आयकर केन्द्र सरकारले मात्र लिन पाउने व्यवस्था संविधानमा राख्न महासंघको ठूलो भूमिका छ ।