पाँच वर्षपछि नयाँ बीमा कम्पनीहरु राम्रो प्रतिफल दिनसक्ने हुन्छन् : एस.के. टमोट

एस्.के. टमाेट, महाप्रबन्धक, जनरल इन्स्याेरेन्स कम्पनी जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटसँग बीमा क्षेत्रमा ४५ वर्ष काम गरेकाे अनुभव छ । नेशनल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स हुँदै सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा दुइ कार्यकाल महाप्रबन्धककाे जिम्मेवारी समालेका टमाेट यतिबेला नयाँ  कम्पनीको नेतृत्व गरिरहेका छन् । जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिबाट लाइसेन्स पाएका तीन बीमा कम्पनीमध्ये एक हो । स्थापनाको एक वर्षमै यस कम्पनीले व्यवसायमा राम्राे गर्दै पहिलो वर्षमै नाफा आर्जन गर्न सफल भएको छ । यसै सम्बन्धमा कम्पनीको भविष्य, आउँदै गरेको आईपीओ र समग्र निर्जीवन बीमा व्यवसायको अवस्था र सम्भावनाबारे केन्द्रित भई महाप्रबन्धक टमोटसँग  विकासन्युजले गरेकाे  कुराकानी  प्रस्तुत गरिएको छ । हाल बीमा बजारको अवस्था कस्तो छ ? बीमा बजारको अवस्था राम्रो छ । पछिल्लो समय बीमा गर्नेको संख्या र बीमा शुल्क दुबै बढेको छ । स्थापना भएको वर्ष व्यवसाय गर्न केही गाह्रो भएपनि अहिले सहज बन्दै गएको छ । आगामी दिनमा अझ सहज हुने विश्वास लिएका छौं । बीमा बजारको अवस्था सुधारात्मक देखिएकोे छ । आर्थिक वृद्धि र समग्र इन्स्योरेन्स कम्पनीको व्यवसायको अवस्थालाई कसरी हेर्नुहुन्छ ? बीमा क्षेत्र अर्थतन्त्रको एउटा भाग हो, अर्थतन्त्रमा हुने परिवर्तनले बीमा क्षेत्रलाई सकारात्मक रुपमा असर गर्छ । बीमा क्षेत्रमा हुने सकारात्मक परिवर्तनले पनि अर्थतन्त्रलाई सकारात्मक बनाउन सहयोग समेत गर्छ । त्यसैले यी दुई पक्षहरुबीच सकारात्मक सम्बन्ध देखिन्छ । अहिलेको अवस्थामा आर्थिक वृद्धि भन्दा बीमा क्षेत्रको वृद्धिदर बढी छ । तपाईको अनुभवले नयाँ कम्पनी स्थापना गर्न कतिको सहज रहेछ ? बजारमा स्थापित कम्पनीसँग नयाँ कम्पनीले प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण अवश्य नै छ । त्यस्तो, चुनौतीहरुलाई विगतको अनुभव र नयाँ प्रोडक्टहरुको माध्यमबाट सामना गर्नुपर्छ । हाम्रो कम्पनीमा बीमा क्षेत्रमा लामो अनुभव भएका कर्मचारीहरु छन् । मेरो पनि बीमा क्षेत्रमा ४५ वर्षको अनुभव छ । हामीले बीमासम्बन्धी कानूनहरुको अधिनमा रही बीमाका नयाँनयाँ प्रोडक्ट ल्याउने प्रयास गरिरहेका छौं । त्यसैले स्थापनाको पहिलो वर्षमै जनरलले ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । नयाँ बीमा कम्पनीहरुमध्ये चाहिँ तपाईहरुको अवस्था कस्तो छ ? नयाँ ३ बीमा कम्पनीहरुमध्ये व्यवसायको आकारको आधारमा दोस्रो स्थानमा छौं । साउन महिनामा समेत हामीले राम्रो व्यवसाय गरेका छौं । तर, सबैभन्दा मुख्य कुरा भनेको चाहिँ यो वर्षमा व्यवसाय विस्तारको लागि हामीले राम्रो प्लेटफर्म तयार गर्यौं, यो नै नयाँ कम्पनीहरुको मुख्य पक्ष हो । एक वर्षको अन्तरालमा हामीले ४० वटा शाखा र १२ वटा उपशाखा रहेका छन् । यसरी हाम्रो कुल शाखा भने ५२ वटा पुगेका छन् । यी शाखाहरुबाट अब क्रमशः व्यवसाय बढाउँदै जान्छौं । ५२ वटा शाखा, उपशाखा पुर्यायौं भन्नुभयो, यो वर्ष चाहिँ शाखा विस्तार गर्ने योजना के छ ? हामीले थप २५ वटा शाखा खोल्ने योजना बनाएका थियौं । तर बीमा समितिले एकैपटक सबै शाखा नथपेर यो वर्ष थप १० वटा मात्रै शाखा खोल्न सल्लाह दिएको छ । त्यसैले यो वर्ष १० वटा र अर्को वर्ष १५ वटा शाखा खोल्छौं । अहिलेको अवस्थामा नयाँ शाखा खोल्न कस्ता चुनौती छन्, नयाँ खोलिएको शाखालाई नाफामा लैजान कति समय लाग्ला ? शहरी क्षेत्रमा शाखा खोल्नु त्यति चुनौतीपूर्ण छैन, ती शाखाहरु सजिलै फाइदामा जान सक्छन् । कर्मचारीले राम्रो काम गरेर देखाए भने सामान्यतया त्यस्ता क्षेत्रमा खोलिएका शाखाहरु एक वर्षमै नाफामा जानसक्छ । तर गाउँ–गाउँमा शाखा खोल्ने कार्य भने कठिन छ, त्यस्ता क्षेत्रमा शाखा विस्तार गर्दा कर्मचारी व्यवस्थापन र व्यवसाय विस्तार दुवै पक्ष चुनौतीपूर्ण नै छ । यसले गर्दा त्यस्तो शाखा नाफामा जान समेत धेरै दिन लाग्छ । स्थापनाको छाेटो अवधिमै तपाईहरु नाफामा जानुभएको छ, यो नाफा पुँजीको ब्याजको कारण हो कि सञ्चालन नाफा पनि हो ? पुँजीको ब्याज पनि एउटा पाटो हो तर त्यसले मात्रै नाफा बढेको भने होइन । यो अवधिमा हाम्रो बिजिनेसको ग्रोथ पनि राम्रो भएको छ । ७० करोडको क्यापिटल भएको हाम्रो कम्पनीले यो अवधिमा ५२ शाखा खोलिसकेको छ, त्यसैअनुसार कर्मचारी नियुक्त गरेर सेवा सुविधा दिइरहेको छ, यस्तो अवस्थामा व्यवसाय विस्तार नगरी पुँजीकै कारणले यति नाफा गर्न सम्भव थिएन । तपाईँहरुको पुँजी ७० करोड मात्रै छ, ३० करोडको आईपीओ ल्याउनुपर्छ । अब आईपीओ चाहिँ कहिले आउँछ ? आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण बन्ने अन्तिम चरणमा छ । यो बनेर बीमा समितिबाट स्वीकृत भएपछि हामी साधारणसभा बोलाउँछौं । त्यही साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव जान्छ । आर्थिक वर्ष सकिएको छ महिनाभित्र साारणसभा गर्नुपर्ने कम्पनीको नियम हो, हामी सकभर कात्तिकभित्रै उक्त साधारणसभा गर्ने तयारीमा छौं । आईपीओ निष्कासनका लागि साधारणसभा मात्रै नभएर क्रेडिट रेटिङ गराउने, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त पनि गर्नुपर्छ । सबै प्रक्रिया पूरा गरेर यसै वर्ष आईपीओका ल्याउने तयारी गरेका छौं । अन्य कुनै कारणले ढिलाइ नभए यसै आर्थिक वर्षभित्र आईपीओ आउँछ । एनआरएफएसले गर्दा अघिल्लो वर्ष समयमा साधारणसभा भएन, यो वर्ष कस्तो छ अवस्था ? यो वर्ष त्यस्तो अवस्था आउँदैन, अघिल्लो वर्ष लेखाप्रणाली परिवर्तन हुँदा प्रोभिजनिङको समस्या थियो, अब त्यस्तो हुँदैन । नयाँ लेखाप्रणालीको ट्रेन्ड अब बसिसक्यो । सेयर बजारमा एकैपटक दर्जन भन्दा बढी कम्पनीको आईपीओ आउने अवस्था छ, सबैको आईपीओ एकैपटक आउँदा नबिक्ने डर हुँदैन ? शेयर बजारको दायरा अहिले निकै विस्तार भइसकेको छ । अहिले इन्टरनेटको पहुँच पुगेका जुनसुकै गाउँदेखि विदेशमा रहेका नेपालीहरुले समेत अनलाइनमार्फत् आईपीओको लागि आवेदन दिनसक्ने व्यवस्था आइसकेको छ । त्यसैले अंकित मूल्यमा जारी हुने आईपीओ बिक्री हुन नै समस्या हुन्छ भन्ने मलाई लाग्दैन । तर सबैले एकैपटक आईपीओ निष्कासन गर्दा भने थोरै पैसा भएका वा नियमित आम्दानी भएकाहरुलाई लगानी गर्न समस्या हुनसक्छ, त्यसैले सकेसम्म सबै कम्पनीहरु मिलेर समय व्यवस्थापन गरेर आईपीओ जारी गर्दा राम्रो हुन्छ । अहिलेको अवस्थामा नयाँ कम्पनीबाट कति प्रतिफलको अपेक्षा गर्न सकिन्छ ? प्रतिफल भनेको समयअनुसार हुँदै जाने कुरा हो । अहिले काम सुरु गर्ने बित्तिकै पनि प्रतिफल दिनुपर्छ भन्ने हुँदैन । प्रतिफलको आशा त नयाँ पुराना सबै कम्पनीका शेयरधनीमा हुन्छ, किनकी सबैले प्रतिफलकै लागि लगानी गरेका हुन् तर अहिलेको अवस्थामा नयाँ कम्पनीहरुबाट राम्रो प्रतिफल पाउन ४/५ वर्ष कुर्नुपर्छ । त्यसपछि लगानीकर्ताले अपेक्षाकृत लाभांश पाउने वातावरण बन्छ । तपाईंहरुले विजिनेश लक्ष्य निर्धारण गर्दा केलाई आधार मान्नुहुन्छ ? कोर क्यापिटलको यति विजिनेस गर्छु भन्ने लक्ष्य केही छ ? व्यवसायको आधार भनेको चुक्ता पुँजी नै हो किनकी चुक्ता पुँजीकै आधारमा लगानीकर्तालाई प्रतिफल दिनुपर्ने हुन्छ । हाल निर्जीवन बीमा कम्पनीको बजार नै २४ अर्ब हाराहारीमा मात्रै रहेको अवस्थामा नयाँ कम्पनीहरुलाई चुक्ता पुँजी बराबर बिजिनेस गर्नु पनि निर्जीवन बीमा कम्पनीहरुलाई गाह्रो छ । यद्यपि हाम्रो प्रयास जारी छ, बीमा क्षेत्रप्रतिको आवश्यकताको अनुभव भइरहेको र अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था पनि फराकिलो हुँदै गएको अवस्थामा केही वर्षमै यो आकार तुलनायोग्य बन्नसक्छ । २०७६/७७ मा ८० देखि ९० कराेड बीमा शुल्क संकलन गर्ने लक्ष्य छ । तपाईको बीमा क्षेत्रमा ४५ वर्षको अनुभवले बीमा सेवा मुलक व्यवसाय हो भन्छ कि नाफामूलक व्यवसाय हो भन्छ ? बीमा क्षेत्र भनेको सेवामूलक व्यवसाय नै हो तर हामीले भनेको सेवाभित्र नाफा गर्नुपर्ने अवस्था छ । हामीले नाफा भन्दैगर्दा हामी अरु गैरवित्तीय क्षेत्रका व्यवसायले जस्तो नाफामूखी हुन सक्दैनौ ।  सेवामुखी भन्दैगर्दा लगानीकर्ताको प्रतिफललाई समेत हामीले विचार गर्नुपर्छ । त्यसो त हामीले धेरै नाफा कमायौं भने नै सरकारले हामीबाट कर पाउने हो । निर्जीवन बीमामा नयाँनयाँ प्रोडक्टहरु भित्रिने र दायरा विस्तार हुने सम्भावना चाहिँ तपाईँ कत्तिको देख्नुहुन्छ ? पुनर्बीमाको शर्तहरुका कारण निर्जीवन बीमाको क्षेत्रमा प्रोडक्टहरुमा विविधता ल्याउनसक्ने सम्भावना निकै कम छ । तर यसको दायरा बढाउने ठाउँ भने धेरै छ । पहिले सामुन्द्रिक बीमा, अग्निबीमा, मोटरबीमा लगायतमा सीमित भएको व्यवसाय अहिले कृषि बीमा, स्वास्थ्यबीमा, औषधोपचार बीमा जस्ता नयाँ दायराहरु विस्तार भइरहेका छन् । तर यो क्षेत्रमा धेरैजसो शुल्कहरु नियामकले नै तोकिदिएको हुन्छ, त्यहीशुल्कमा बसेर बीमा गर्दा प्रतिस्पर्धाको सम्भावना चाहिँ कम हुन्छ । नेपालमा रेकर्ड नै नभएको विजिनेसको हिस्सा समेत ठूलो छ भनिन्छ, वास्तविक अवस्था चाहिँ के हो ? त्यस्तो शुल्क म चाहिँ देख्दिँन, किनकी हाम्रोमा सबै कारोबार भ्याट बिलमार्फत् हुन्छ, बीमा गर्नेको केवाईसी पनि अनिवार्य छ । यस्तो अवस्थामा यस्तो रेकर्ड नै नभएको बिजिनेस हुने सम्भाजना नै हुँदैन । कोही कसैले नक्कली बीमालेखमार्फत् कारोबार गरे अलग्गै कुरा, त्यस्तो भएको रहेछ भने पनि उनीहरुको बीमाको जोखिम कम्पनीहरुले लिँदैनन् । त्यसैले बीमितहरुले समेत बीमा गर्दा यस्तो कुरामा ध्यान दिनुपर्छ । तोकिएकोभन्दा कम शुल्क लिएर बीमा गरिदिने अवस्था चाहिँ मौलाएको हो ? यो चाहिँ हुनसक्छ । न्यून शुल्कमा बीमा हुने कुरा चाही मौलाएको छ । धेरैजसो बीमा पोलिसीहरुको बीमाशुल्क तोकिएको हुन्छ, यसले गर्दा यहाँ प्रतिस्पर्धात्मक अवस्था नै रहँदैन, यस्तो अवस्थामा कुनै कम्पनीहरुले कम शुल्कमा धेरै बीमांक बराबर बीमा गराइदिएको हुनसक्छ । त्यसका लागि विभिन्न उपाय अपनाइएको हुनसक्छ, यसबारे समितिले खोजतलास गरेर कारबाही गर्नुपर्छ । कानुनी रुपमा तोकिएको बीमा दर नमान्दा राम्रो नहोला तर अर्को तर्फ ग्राहकको पक्षबाट हेर्दा त फाईदा हो नि ? बीमा गर्नपनि चाहने सित्तैमा बीमा गर्न चाहने कुरापनि बजारमा देखिन्छन् । हामी नयाँ कम्पनीले त्यस्तो गर्न सक्दैनौ । अहिलेको अवस्थामा बीमा समितिको निर्देशनहरुलाई तपाईँ कसरी हेर्नुहुन्छ ? बीमा क्षेत्रको विकास र सुधारका लागि बीमा समितिले गरेका प्रयासहरु सकारात्मक नै छन् । नियामकको काम नियमन गर्ने हो । हामीले समितिले समय समयमा दिएका निर्देशनहरु पालना गर्दै आएका पनि छौं र हामीलाई दिएको निर्देशन कुनै बच्चालाई अभिभावकले दिएको सुझावको रुपमा ग्रहण गर्दै आएका छौं । हामी नियामक निकायहरुको निर्देशन परिपालना गर्दै व्यवसायमा वृद्धि गर्दै जाने नीति लिएका छौं । बजारमा नियामकको निर्देशन नमान्ने बीमा कम्पनीहरु पनि छौं, बैंकहरु पनि छन् । तर हामी नियामकहरुको निर्देशन मान्दै सकारात्मक ढंगले व्यवसाय विस्तार गर्दैछौं, यसो गर्दा भोलिको अवस्थामा समेत अप्ठ्यारो पर्दैन । नियामकले पनि सबैलाई समान व्यवहार गरोस् गरेर नियमन गर्दै जानुपर्छ । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिमार्फत् बैकास्योरेन्स बन्द गर्यो, यसलाई तपाईँ कसरी हेर्नुहुन्छ ? बैंकास्योरेन्स रोकिँदा निर्जीवन बीमामा त्यति ठूलो असर पर्दैन । राष्ट्र बैंकले रोकेको भनेको हाम्रै गर्नुपर्छ रोक लगाएको हो, त्यसैले यसमा त्यस्तो धेरै असर छैन । मलाई पनि पहिले केही असर गर्ला कि भन्ने लागेको थियो तर त्यस्तो असर छैन । बैकले बिमितहरुले म यहाँ गएर बीमा गर्छु भन्दा सो कुराका रोक लगाउन पाउँदैन । बीमामा मर्जको कुरापनि आईरहेका छन्, तपाईहरुले सोच्नु भएको छ ? हामीले हाल सोचेका छैनौ । हामी संस्थापकहरुको तर्फबाट ७० करोड पुँजी सुरुमैै पुर्याएर आएका हौं । अब ३० करोडको आईपीओ आएपछि १ अर्ब पुग्छ । सरकारले बिग मर्जको पोलिसी ल्यायो भने हामीले त्यस्तो अवस्थामा भने सोच्ने कुरा हुन्छ । तर अहिलेकै अवस्थामा हामीले त्यसबारे केही सोचेका छैनौं । बीमा कम्पनीमा कर्मचारीहरुको कमी भएको सुनिन्छ नि अवस्था के छ ? बीमा क्षेत्रमा कर्मचारीहरुको समस्या भएको कुरा सत्य हो । सोही कारण हामीले नयाँ मान्छे समेत भर्ना गरेको अवस्था आएका छौं । पुराना मान्छे राख्दा उनीहरुले धेरै पैसाको माग्छन् । नयाँ बीमा कम्पनीहरुले उनीहरुले माग गरे अनुसार पैसा तिर्नपनि गाह्रो छ । सोही कारण बीमा कम्पनीमा कर्मचारी अभाव भएको हुनसक्छ । हामीले अहिले एसिस्टेन्ट लेभलको कर्मचारी लिएर उनीहरुलाई प्रोमोसन गराउँदै लैजाने नीति लिएका छौं, यस्तो कार्यले एकातर्फ हाम्रो संस्थागत आवश्यकता पूरा हुन्छ भने अर्कोतर्फ सामाजिक उत्तरदायित्व समेत पूरा हुन्छ ।

विषादीयुक्त तरकारीको मूल्यमा नै अर्गानिक तरकारी बेचिरहेका छौँः पवन गोल्यान

व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले कृषिबाट हात झिकेर विदेशी रेमिट्यान्सको मुख ताकिरहेका कृषकलाई माथि उठाउने प्रयत्न गरिरहेको छ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । आयात व्यापारलाई भन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ । विषादीयुक्त वस्तुको उपभोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको अवस्थामा यस्ता वस्तुको आयात रोकेर नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य प्राप्तिमा लागि रहेको छ गोल्यान समूह । बैंक, धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिमा पनि लगानी सुरु गरेको छ ।  गु्रपले प्रदेश नं १ मा अर्गानिक उत्पादन र व्यवसाय विस्तारको लागि दुई लगानी लगानी गरिरहेको छ । नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर विश्वभर चिनाउने समूहको उद्देश्य रहेको छ । देशबाट निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्यमा केन्द्रित भएको गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानसँग विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको विकास बहसः धेरै फाइदा हुने अन्य व्यवसाय नरोजेर कृषि व्यवसायलाई किन रोज्नु भयो ? मैले ६० वर्ष पुगेपछि आफ्नो सबै व्यापार व्यवसाय छोराछोरीलाई जिम्मा लगाए । तर, पनि ममा आफूले नै केही नयाँ व्यवसाय गर्ने इच्छा जागेर आयो । बजार व्याप्त विषादीयुक्त तरकारी र फलफूल देखेर वाक्क भएको थिएँ । यो देखेर ममा अर्गानिक उत्पादन गर्ने अठोट जागृत भयो । देशमा व्याप्त विषादीको प्रयोगलाई निमूल पार्ने अभियानका साथ मैले यो व्यवसाय शुरु गरेको हुँ । भारतमा अध्ययन गर्न जाँदा दुर्घटना परी छोराको निधन भएपछि मैले उसकै यो व्यवसाय शुरु गरेको हुँ । देश र जनतालाई विषादी रहित तरकारी तथा फलफूल उत्पादन गर्ने सोचका साथ म कृषिमा प्रवेश  गरेँ । म मात्रै होइन देशका कृषकलाई समेत अर्गानिक कृषिमा जोड्ने अभियान मैले लिएको छु । अर्गानिक खेतीको लागि प्राविधिक राखेर झापाबाट मैले ५ वर्षअघि माटो ब्राण्ड शुरु गरेको हुँ । माटो ब्रान्डले कसरी कृषकलाई जोड्छ त? हाम्रा अर्गानिक उत्पादन गर्ने कृषकहरूले उत्पादन गरेका वस्तुहरु बिचौलिया विना नै माटो ब्रान्ड मार्फत बजारमा ल्याएका छौं । माटो ब्रान्डमा जोडिएर कृषकले कसरी फाइदा पाउँछन् त भन्दा हामीले झापामा कृषि पेशामा रहेका कृषकहरुले १ बिघा बराबर वार्षिक कति कमाइ रहेका छन भनेर हेर्यौ । त्यहाँ कृषकहरूले प्रति बिघा २० देखि ५० हजार कमाइरहेका छन् । यद्यपि हाम्रो ब्रान्डले प्रति बिघा २ लाखको तरकारी तथा फलफुल उत्पादन हुने वा गराउने लक्ष्य लिएर अगाडि बढेको छ । कृषकलाई अर्गानिक उत्पादन गर्न प्राविधिक सहयोग, अर्गानिक बिउ र उत्पादनलाई बजारमा पुर्याउने काम गर्दछ । माटो ब्रान्डले उत्पादन गरेको अर्गानिक  तरकारी तथा फलफूल सामान्य उपभोक्ताले पनि प्रयोग गर्न सक्छन् ? सामान्यतया बजारमा उपलब्ध तरकारी तथा फलफूलको मूल्य र माटो ब्रान्डले उत्पादन गरेको तरकारी तथा फलफूलको मूल्य बराबर नै हुन्छ । विषादी प्रयोग भएको र अर्गानिक तरिकाले उत्पादन भएको तरकारी तथा फलफूलहरूको मूल्य समान भएपछि सामान्य उपभोक्ताहरुले माटो ब्रान्डका तरकारी तथा फलफूल प्रयोग गर्न सक्छन् । सुरुको चरणमा हामी घाटामा छौ । विस्तारै हाम्रो उत्पादन वृद्धि हुन्छ र हामीसँग अर्गानिक उत्पादन गर्ने कृषकहरु पनि आएर जोडिन्छन् । त्यस पछि हाम्रो घाटा घट्दै नाफा तर्फ जान्छ । कृषिजन्य वस्तुको आयात घटाउने र निकट भविष्यमा अर्गानिक कृषि वस्तुलाई अन्य देशमा निकासी गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौ । नेपाल सगरमाथा र बुद्धको देश भनेर चिनिए जस्तै अर्गानिक तरकारी तथा फलफूल उत्पादन गर्ने देश भनेर चिनाउने छौ । अर्गानिक खेतीको सम्भावना कसरी महसुस गर्नुभयो ? कृषि प्रधान देश भनेर चिनिएको नेपालमा किसानहरुलाई कृषिमा नै आत्मनिर्भर बनाउनुपर्छ भन्ने लागेर नै कृषि व्यवसायमा हात हालेका हौं । झापा जिल्लाका करिब ५० वटा गाउँमा हामीले काम गरेका छौँ ।नेपालमा विभिन्न किसिमका रोगबाट पीडित धेरै किसानहरु भएकाले किसानलाई विषदीमुक्त कृषिमा लाग्न प्रेरित हुने काम सुरु गर्नुपर्छ भनेर यो सुरु भएको हो । विषादीको प्रयोग भएका वस्तुहरूको आयात निकै बढेको र यसलाई नरोकी आत्मनिर्भर बन्न नसकिने अवस्था महसुस गरेर नै काम सुरु गरेका हौं । देशको व्यापार घाटा कम गर्न कृषिमा आत्मनिर्भर बनाउन सक्नुपर्छ जस्तो लाग्छ । यसका लागि त किसानहरुलाई अगाडि ल्याउनु पर्यो । उनीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सीपका साथै नयाँ प्रविधिबारे जानकारी दिनुपर्छ भन्ने लागेर नै यो क्षेत्रमा लागेको हुँ । नेपालमा कृषि क्षेत्र पछाडि पर्दै गएको अवस्थामा तपाईले थाल्नुभएको अर्गानिक खेतीको भविष्य कस्तो होला ? नेपाली जनताले विषादी मिसिएको तरकारी तथा फलफूलबाट कसरी छुटकारा पाउने भन्ने कुरा खोजिरहेका छन् । सुरुमा किसानलाई अर्गानिक खेतीमा ल्याउन कोशिस गर्दा  विश्वास गर्न गारो हुने, खेती गर्न नै नचाहने अवस्था थियो । त्यो अवस्थामा परिवर्तन गर्न हामीले माटो ब्रान्ड र फार्मबाट अर्गानिक तरकारी उत्पादन सुरु गरी बजारमा ल्यायौ र त्यसमा कृषक पनि जोडिन थालेका छन् । मुख्य कुरा किसानलाई बुझाउन जरुरी छ कि अर्गानिक खेतीले लागत घटाउँछ । तपाईसँग अर्गानिक कृषिमा जोडिएका कृषहरुको प्रतिक्रिया कस्तो छ ? हामीले सुरु गरेका धेरै गाउँहरु अहिले अर्गानिक खेतीमा सक्रिय रूपमा लागेका छन् । अहिले कृषकहरू नै अर्गानिक कृषिमा राम्रो हँुदो रहेछ भन्ने बुझेका छन् । देश भरका धेरै किसानहरु अर्गानिक खेतीमा प्रोत्साहित हुँदै गएका छन । उनीहरुलाई सहयोग गर्दै जाने हाम्रो पनि चाहना हो । गोल्यान समूहले अर्गानिक खेतीप्रति किसानलाई आकर्षण बढाउन के गर्दैछ ? हामीले प्राविधिकसहित गाउँमा गएर त्यहाँको अवस्थाका बारेमा अध्ययन तथा अवलोकन गर्यौ । कुन उत्पादन राम्रो हुन्छ भनेर यस सम्बन्धमा पनि परीक्षण गरियो । हामीले प्रत्येक गाउँ गाउँमा कृषि विज्ञ खटाएर चेतनामूलक तालिम सञ्चालन गरी ज्ञान प्रदान गरिरहेका छौँ । किसानहरूलाई बीउ, बिरुवाहरु चाहिएमा पनि हामीले ल्याइदिने गरेका छौ । जुन ज्ञान हामीले किसानलाई प्रदान गरेका छौ, त्यसबाट किसानले गाउँमा अर्गानिक उत्पादन गर्न सक्छन् । उत्पादित वस्तुको निर्यात लागत बेहोर्ने गरी किसानहरुलाई अर्गानिक खेती प्रति प्रेरित गर्ने कार्य हामीले गरिरहेका छौं । अर्गानिक उत्पादन फष्टाउन केको प्रयोग गरिन्छ ? अर्गानिक भनेकै शरीरलाई हानी नगर्ने भन्ने हो । गाउँघरमा नै उत्पादन हुने गौमूत्र, निम, धतुरोहरुको प्रयोग गरेर हामीले तरकारी तथा फलफूल उत्पादन गर्न लागेका हौं । हामीले हाम्रो गाउँमा नै पाउने वस्तुहरुको प्रयोग गरेर अर्गानिक उत्पादन फष्टाउने बनाउने उपाय तथा विकल्पहरूको खोजी गरेका छौ । यसले स्थानीय वस्तुको सदुपयोग हुनाका साथ विदेशबाट आयत हुने विषादीको खर्च पनि जोगिन्छ । गाई भैँसीको गोवर, खर गायतलाई कुहाएर मलको रुपमा प्रयोग हुन्छ, जसले रासायनिक मलको आवश्यकता नै पर्दैन । यसरी मल उत्पादन भएपछि रासायनिक मल किन्दा किसानलाई जुन लागत लाग्थ्यो, त्यो लागत पूर्ण रूपमा घट्छ । अर्गानिक बीउबिजन कसरी तयार पारिन्छ वा ल्याइन्छ ? अर्गानिक बीउबिजन हाम्रो माटो ब्रान्डले नै उत्पादन गर्छ । स्थानीय साधन स्रोतबाटै उत्पादन गरिएको अर्गानिक बीउबिजनहरू किसानलाई दिने हो । नेपालमा नपाइने अर्गानिक बिउहरु हामीले भारतबाट आयात गरेर त्यसको संरक्षण र विकास गर्छाै । अर्गानिक खेतीको लागि किसानले कतिको साथ र सहयोग दिएका छन् ? तपाईले अर्गानिक उत्पादन भएको ठाउँमा नै गएर उनीहरुसँग कुरा गर्न सक्नुहुन्छ । हामीले अनुमान गरेभन्दा पनि धेरै किसानहरु उत्साहित छन् । हामीले खेती गरेको ठाउँ हेर्न आउनेहरुले खेती हेरेर फर्किए पछि माटो ब्रान्डमा आएर हामी पनि यति जमिनमा यस्तो खालको खेती गर्छौं भनेर साथ र सहयोग दिइरहेका छन । यसले हामीलाई झनै उत्साहित बनाएको छ । अहिलेसम्म ५ हजारभन्दा धेरै किसान हामीसँग जोडिन आएका छन् । यसबाट किसानको उत्साह प्रष्टै देख्न सकिन्छ । माटो ब्रान्डले कस्तो कस्तो खेतीलाई बढी प्राथमिकता दिएको छ ? हाम्रो ब्रान्डले विशेष गरेर तरकारी तथा फलफुल खेतीका साथै धान, दाल, मकैलाई प्राथमिता दिएको छ । हाम्रो समूहले झापामा २ सय बिघा जमिनमा खेती गरिरहेका छ । हामीले आँप, लिची, मेवा, ड्रागन फुड, खरबुजा, तरबुजा, कागती, स्ट्रबेरीलगायतका फलफूलमा जोड गरेका छौँ । हामी यो २ सय बिघालाई कमर्सियल फाम बनाउने प्रयासमा छौ । अहिले १ नम्बर प्रदेशमा २ अर्बको लगानी गरेर काम गरिरहेका छौँ विस्तारै अन्य प्रदेशमा पनि विस्तार गर्दै लैजाने योजनामा गोल्यान समूह छ । तपाईहरुको अर्गानिक उत्पादन भाटभटेनी र विगमार्टमा मात्रै किन ? अहिले सुरुको चरण भएकाले पनि भाटभटेनी र विगमार्टमा मात्रै उपलब्ध गरिएको हो । यसलाई हामीले विस्तारै अन्य सामान्य बजारमा पनि ल्याउँछौ । हाम्रो अर्गानिक उत्पादन र बजारमा भएका अन्य उत्पादनको मूल्य बराबर भनेरै सबै उपभोक्ताले उपभोग गर्न सकुन् भन्ने हो । बराबरी मूल्य भएपछि सबै उपभोक्ताहरुले माटो ब्राण्डको तरकारी तथा पलफूल प्रयोग गर्ने छन् । अन्य उत्पादनमा जस्तै बराबरी मूल्यमा अर्गानिक उत्पादनलाई बजारमा ल्याउँदा चुनौती हुँदैन ? सुरुमा हामीले घाटामा नै व्यापार व्यवसाय गरेका छौँ । हामीले जनताको स्वास्थ्यका लागि घाटामा नै काम गरिरहेका छौं । विस्तारै कृषक र उपभोक्ताहरुलाई अर्गानिक उत्पादन प्रति आकर्षण बढाउँदै लैजाने हाम्रो लक्ष्य हो । हाम्रो घाटाबाट विस्तारै नाफामा जान्छ । अनि हामीलाई चुनौती हुँदैन । हाम्रो उत्पादनमा विचौलिया रहँदैन । हामीले कृषकबाट ल्याएको वस्तुमा १० प्रतिशत प्याकिङ र ढुवानीलगाएत खर्च जोडेर बजारमा ल्याएका छौ । उपभोक्ताले पनि सस्तोमा तरकारी तथा फलफुल प्रयोग गर्ने पाउने र कृषकले पनि बिचौलियको मारमा नपर्ने भएकाले पनि हामीलाई अझ सहज हुन्छ । अर्गानिक उत्पादन विदेश पनि निर्यात हुन्छ ? हामीले नेपाललाई अर्गानिक उत्पादन गर्ने देश भनेर केही वर्षमा चिनाउने छौं । अहिले पनि विदेशमा माटो ब्रान्डको अर्गानिक उत्पादन बिक्री भहिरहेको छ । हामी नेपालबाट वस्तु निर्यात गर्नेमा टप छौं । हामीले विश्व बजारमा अर्गानिक उत्पादन निर्यात गर्ने टप देशको रुपमा चिनाउने छौं ।

राष्ट्र बैंकको नयाँ नीतिले साना कर्जा लगानीलाई निरूत्साहित गरेकाे छ -प्रद्युमन पोखरेल

प्रद्युमन पोखरेल-प्रमुख कार्यकारी अधिकृत,मुक्तिनाथ विकास बैंक लिमिटेड मौद्रिक नीति र त्यसपछिका राष्ट्र बैंकका निर्देशनहरुले सबैभन्दा बढी असर गरेको छ साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएका बैंक तथा वित्तीय संस्थाहरुलाई । साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएको बैंकहरु मध्ये एक हो मुक्तिनाथ विकास बैंक । अरु विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि नयाँ नीतिले धेरै असर गर्ने बताइएको छ । राष्ट्र बैंकले लिएको नयाँ नीति र त्यसले पार्ने प्रभावका विषयमा केन्द्रीत भई विकास बैंकर्स संघका प्रथम उपाध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलसँग गरिएको विकास वहस यस पटक । राष्ट्र बैंकले १५ लाख भन्दा कम कर्जाको शुल्कमा गरेको नियन्त्रण, स्प्रेडदर गणनामा ल्याएको नयाँ विधि, पुँजी कोष सम्बन्धि नयाँ व्यवस्था लगायत नयाँ नीतिगत व्यवस्थाले मुक्तिनाथ विकास बैंकको व्यवसाय विस्तार र नाफामा कस्तो असर गर्छ ? यसमा म चारवटा कुरा गर्न चाहान्छु । पहिलो, संसारभर कुनै पनि व्यवसायमा नियमन गर्ने निकायहरु हुन्छन् । नियामकले समय र परिस्थिति अनुसार आवश्यक नीति निर्देशन जारी गर्छ । व्यवसायीहरुले नियामकको नीति निर्देशन पालना गर्दै अगाडि जानुपर्छ । दोस्रो, साना कर्जाको कुरा छ । जति सानो स्केलको विजनेश गर्यो, त्यसको लागत त्यति नै धेरै हुन्छ । यो विजनेशको स्वभाविक नियम हो । सानो, मसिनो, खुद्रा सेवाको लागत बढी हुने भएकोले यसमा नियामकले धेरै कस्दा यस प्रकारका सेवाहरु बन्द हुँदै जान्छन् । तेस्रो, १५ लाखसम्मका कर्जाको वेस रेटमा २ प्रतिशतमात्र थप व्याज लिन पाइने र सेवा शुल्कहरु लिन नपाईने व्यवस्थाले मुक्तिनाथ लगायत विकास बैंकहरुलाई यस्तो कर्जा प्रवाहमा निरुत्साहित गर्छ । हामी के चाहान्छौं भने विकास बैंकहरुलाई साना कर्जा प्रवाहमा सहयोग गर्ने गरी नीति निर्देशन बनाउन, परिमार्जन गर्न राष्ट्र बैंकलाई अनुरोध गर्ने विकास बैंकर्स संघले निर्णय गरिसकेको छ । चौथो, राष्ट्र बैंकको चाहाना साना ऋणिलाई राहात दिनु हो । हामी पनि साना व्यवसायीलाई सहयोग गर्न चाहान्छौं । वित्तीय समावेशिता हामी चाहान्छौं । हाम्रा उदेश्य मिलेका छन् । अब उदेश्य मिलिसकेपछि त्यसलाई प्राप्ति कसरी गर्न सकिन्छ भनेर सहज विधिहरु तय गरिनुपर्छ । विकास बैंकर्स संघको माग के के हुन् ? स्प्रेडदर ४.४ प्रतिशतमा ल्याउने राष्ट्र बैंकको नीतिमा हाम्रो समर्थन छ । तर बेसरेटमा २ प्रतिशतमात्र व्याज जोड्न पाउने, बाँकी सुविधाहरुमा सेवा शुल्क लगाउन नपाउने व्यवस्था गर्दा सबैलाई गाह्रो हुन्छ । मुक्तिनाथ विकास बैंकले लघुवित्त सेवामा धेरै राम्रो गरेको थियो । नयाँ नीतिले तपाईहरुलाई कस्तो असर गर्छ ? व्यवसाय गर्दाको विभिन्न जोखिममध्ये नियामकीय जोखिम सबैभन्दा ठूलो मानिन्छ । नियामकले नीति परिवर्तन गर्दा हुने जोखिमलाई ध्यान दिएर कम्पनीहरुले बैकल्पिक योजनाहरु बनाएका हुन्छन् । फरक रणनीति लिएर अगाडि बढ्नु पर्ने हुन्छ । हामीसँग पनि बैकल्पिक योजनाहरु छन् । बादल जति कालो भयो त्यसको घेरा त्यतिकै उज्यालो हुन्छ । जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भनेर हामीले भनिरहेका छौं । हामीले हाम्रा ग्राहकको क्षमता विकासमा काम गरिरहेका छौं । तरिका केही फरक होला, हामी फेरीपनि जनतामा जान्छौं । जनताको विश्वास जितेर नै हामीले काम गर्नुपर्छ । स्प्रेडदर गणना विधिमा भएको परिवर्तनबारे विकास बैंकर्सको धारणा के हो ? सिक्काको एउटा भाग हेर्ने अर्को नहेर्ने भन्ने हुँदैन । स्प्रेडदर निकाल्ने भनेको कुल व्याज आम्दानीमा कुल व्याज खर्च घटाउने नै हो । यसमा सरकारी लगानी झिकेर गणना गर्ने भन्ने विधि ठिक होइन । यसले विकास बैंकहरुको आम्दानीमा पनि २४/२५ प्रतिशतले नकारात्मक असर पर्छ । यसमा विकास बैंकर्स संघको धारणा र नेपाल बैंकर्स संघको धारणा समान छ । राष्ट्र बैंकले आफ्नो नीति परिवर्तन गरेन भने साना कर्जा प्रवाहमा बढी केन्द्रीत भएको विकास बैंक र फाइनान्स कम्पनी अगाडि बढ्न सक्छन् ? कुनै पनि व्यवसायमा प्लान ए, प्लान बी, प्लान सी हुन्छ नै । कुनै पनि संस्था एउटा मात्र रणनीति लिएका हुँदैनन् । कुनै एउटा प्लान योजना भएमा प्लान विमा जानुपर्छ । बस्तु तथा सेवाको मुल्य सकेसम्म कम गरिनुपर्छ, सकेसम्म गुणस्तरीय हुनुपर्छ, सकेसम्म धेरै जनामा बस्तु तथा सेवा दिन सक्नुपर्छ र बस्तु तथा सेवा प्रदानमा सीमित व्यक्तिको कन्ट्रोल हुनुहुन्न । यी कुरामा हामी सचेत छौं । नेपाल राष्ट्र बैंकको नीतिहरु वित्तीय क्षेत्र नियन्त्रणमुखी भएका हुन् ? वा आम उपभोक्ता मैत्री भएका हुँदै गएका छन् ? नेपालको सबैभन्दा राम्रो नियामक संस्था हो नेपाल राष्ट्र बैंक । र, नेपालको सबैभन्दा व्यवस्थित, पारदर्शि र सबैभन्दा बढी कर तिर्ने क्षेत्र पनि बैकिङ क्षेत्र हो । पछिल्लो दशकमा विश्वमा धेरै बैंकहरु बन्द हुँदा पनि नेपालमा वित्तीय क्षेत्रमा ठूलो संकट आएन । त्यसमा राष्ट्र बैंकको महत्वपूर्ण भूमिका छ । त्यसैले राष्ट्र बैंकले धेरै वायस भएर नीति लिएको छ जस्तो मलाई लाग्दैन । यसको अर्थ राष्ट्र बैंकको नीति पूर्ण सन्तुलित छ ? पूर्ण सन्तुलित नभनौ । सुधारको ठाउँ सधैं हुन्छन् । हामीले सुधारका सुझाव दिन्छौं । राष्ट्र बैंकले पनि बजारबाट आउने राम्रो सुझावहरुलाई अनुसरण गरेको हामीले देखेको छौं । बजारबाट आउने राम्रा सुझावका आधारमा राष्ट्र बैंकले आफ्ना नीतिमा आवश्यक परिमार्जजन गर्छ भन्नेमा हामी विश्वास्त छौं । राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा जान दवाव सिर्जना गरिरहेको छ । मौद्रिक नीति मार्फत थप केही सुविधा पनि दिएको छ । यसबारे विकास बैंकहरुको धारणा के हो ? नेपाल सरकारको बजेट, मौद्रिक नीति र राष्ट्र बैंकका उच्च अधिकारीहरुको भनाई गहिरिएर हेर्नु भयो भने त्यसमा वाणिज्य बैंकहरुलाई लक्षित गरेर मर्जर तथा एक्विजिशनको नीति आएका छन् । दोस्रो, पछिल्लो समय विकास बैंकहरु धेरै बलिया भएका छन् । उनीहरुको सेवामा पनि गुणस्तर वृद्धि भएको छ । सम्पत्तिको गुणस्तरमा पनि सुधार भएको छ । व्यवस्थापन पनि बढी प्रोफेशनल देखिएका छन् । दोस्रो, पछिल्लो समय विकास बैंकहरु धेरै बलिया भएका छन् । उनीहरुको बजार हिस्सा बढेको छ । उनीहरुको सेवाको गुणस्तर पनि वृद्धि भएको छ । सम्पत्तिको गुणस्तरमा पनि सुधार भएको छ । व्यवस्थापन पनि बढी प्रोफेशनल देखिएका छन् । ५ वर्षअघि विकास बैंकको संख्या ८९ थियो । अहिले ३२ वटामा झरेको छ । कसरी विकास बैंक बलिया भए ? तपाईको प्रश्न सहि छ । विकास बैंकको संख्या अझै घटेर २५ वटामा जाने वाला छन् । तर विकास बैंकहरुको बजार हिस्सा बढेको छ । कुल निक्षेप र कर्जामा विकास बैंकको हिस्सा हेर्नुभयो भने त्यो देखिन्छ । गत वर्ष वाणिज्य बैंकहरुले १३/१४ प्रतिशत व्याजमा निक्षेप लिँदा पनि विकास बैंकहरुले १२ प्रतिशत व्याजमा निक्षेप लिएर बसे । मुक्तिनाथ विकास बैंक मर्जरमा जान्छ कि जादैन ? यो त मलाई सोध्ने प्रश्न होइन । सेयरधनीले निर्णय गर्ने विषय भयो । बैंकका सञ्चालक वा प्रमोटर वा सेयरधनीले मात्र बसेर बैंकको नीति बनाउँदैनन् । त्यसमा प्रमुख कार्यकारी अधिकृतको संलग्नता हुन्छ । यहाँलाई बैंकको पोलिसबारे पक्कै पनि जानकारी होला ? साधारणसभाले मर्जर तथा एक्विजिशनमा जानेबारेमा खुला नीति लिएको छ । सञ्चालक समितिले उपयुक्त निर्णय लिन्छ । राष्ट्रको आवश्यकता, राष्ट्र बैंकको निर्देशनलाई हामीले वेवास्ता गर्न सक्दैनौ । तर मुक्तिनाथ विकास बैंक जुन नाम छ, १३ वर्षको जुन इतिहास छ, यसको कोर विजनेश भ्यालु छ, ती सबैलाई बचाउँदै हामी अगाडि बढ्छौं । पछिल्लो समय सहकारीले पनि ऋणिसँग १६ प्रतिशतभन्दा बढी लिन नपाउने नीति सरकारले लिएको छ । यो व्यवस्थाले लघुवित्त क्षेत्रमा १७/१८ प्रतिशतमा कर्जा लगानी गर्दै आएको मुक्तिनाथ विकास बैंकलाई कस्तो असर पर्छ ? हामीले अहिले १६ प्रतिशतभन्दा बढीमा कर्जा लगानी गरेका छैनौं । त्यो भन्दा कममा झारिसकेका छौं । बेसरेटले भ्याएसम्म हामीले वाणिज्य बैंकको सरह व्याजदरमा कर्जा प्रवाह गरिरहेका छौं । परिवर्तन निश्चित छ । समयको माग अनुसार हामी चल्नैपर्छ । हामी अहिले ग्राहक विस्तार गर्ने र लागत कम गर्ने रणनीतिमा अगाडि बढिसकेका छौं । बैंकहरुको लागि अब सहकारी चुनौति बन्दै आएको हो ? मलाई त्यस्तो लाग्दैन । सरकारले तीन खम्बे अर्थनीति लिएको छ । निजी, सरकारी र सहकारी । संविधानले नै सहकारीको महत्वमा विशेष जोड दिएको छ । सहकारीले मात्र ३ खर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यसैले सहकारीसँग हामीले सहकार्य गर्नुपर्छ । सहकारीको भूमिकालाई हामीले पनि सहयोग गर्नुपर्छ । चुनौतिको रुपमा लिनुहुन्न । अब कर्जाको व्याज घट्ने नै हो ? कुनै पनि बस्तु तथा सेवा मूल्य माग र आपूर्तिले निर्धारण गर्छ । अहिले बैंकहरुमा लगानीयोग्य पुँजी प्रशस्त छ । व्याज घट्दो छ । तर तिहारपछि तरलता सुक्दै जान सक्छ र व्याजदर वृद्धि हुन पनि सक्छ । निक्षेपको व्याजदर माथि नै रह्यो भने कर्जाको व्याजदर घट्दैन । स्वस्थ्य अर्थतन्त्र निक्षेपको व्याज मुद्रास्फितिभन्दा माथि नै हुनुपर्छ । अहिले निक्षेपको व्याजदर राम्रो छ । यसले निक्षेप वृद्धिमा सहयोग गर्छ । निक्षेप वृद्धि पनि जरुरी छ किनकी मौद्रिक नीतिले २१ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको छ । मुक्तिनाथ विकास बैंकको गत असार मसान्तको वित्तीय अवस्था कस्तो छ ? असार मसान्तसम्मामा ४६ अर्ब १३ करोड निक्षेप संकलन भएको छ । ३७ अर्ब ९५ करोड कर्जा लगानी भएको छ । गत वर्षको सञ्चालन नाफा १ अर्ब २२ करोड गरेको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरेको छ । सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ । चालु आर्थिक वर्षको योजनाहरु के के छन् ? हामीसँग ११९ शाखा छन् । तिनलाई बलियो बनाउनुछ । यस वर्ष केही शाखा विस्तार गर्छौ । हामी ग्राहकलाई खुशी बनाउँछौं । हामी सेयरधनीलाई राम्रो नाफा दिन्छौ । हामी नियामकले बनाएको सबै नियम पूर्ण परिपालना गछौं । हामी समूदायमा जोडिएर काम गर्न चाहान्छौं । हामी हाम्रा कर्मचारीलाई उच्च मनोबलमा राखेर काम गर्न चाहान्छौं । विगत केही वर्षयता मुक्तिनाथ विकास बैंकले शाखा विस्तारमा किन जोड दियो । यसरी शाखा विस्तार गर्दा संस्थालाई के कस्ता लाभ भए ? र, के कस्ता जोखिम पनि थपिएर आए ? शाखा विस्तार सँगै वित्तीय कारोबारमा पनि उच्च वृद्धि देखिन्छ । तीन वर्षअघि शाखा खोल्दा थोरै कारोबार हुने क्षेत्रमा पनि अहिले त्यहाँ बैकिङ कारोबार धेरै राम्रो छ । पछिल्लो समय क्यासलेस वल्ड परिकल्पना हुन थालेको छ । डिजिटल भुक्तानीमा जोड दिएका छन् । नेपाली समाज पनि त्यसमा अभ्यस्त हुँदै गएको छ । शाखा खोल्न बैंकहरुले गरेको लगानी बेकारको हुने त होइन ? बडो महत्वपूर्ण प्रश्न हो यो । तर सबैले बुझ्नुपर्ने कुरा के हो भने सम्बन्ध र कारोबार फरक हुन्छ । सेवाको साथै सम्बन्धका लागि पनि शाखा आवश्यक हुन्छ । सेवा दिन डिजिटली सकिन्छ । तर सम्बन्ध राख्न शाखा नै चाहिन्छ । म केहीअघि समय मुम्बई गएको थिए । मुम्बईमा ८४ प्रतिशत भुक्तानी डिजिटली हुने रहेछ । ५२ प्रतिशत खाता मोवाइलबाट खोलिदो रहेछ । तर पनि त्यहा बैंकहरुले शाखा विस्तार गरिरहेका छन् । किनकी त्यहाँ सम्बन्ध पनि विस्तार गर्नुछ । मुक्तिनाथ विकास बैंक सबैले राम्रो भन्छन् । तैपनि यस बैंकको सेयर विगत तीन वर्षयता निकै कम भयो । सेयर मूल्य र बैंकको कार्यप्रगतिबीचको सम्बन्ध कस्तो छ ? समग्र बजार घट्दा राम्रा कम्पनीको पनि सेयर मूल्य घट्छ । अहिले त्यहि भएको हो । यस बैंकका लगानीकर्ता राम्रो प्रतिफल पाएका छन् । कहिले कही हल्लाले पनि बजार प्रभावित गर्छ । कहिले सरकारी नीतिले पनि बजारलाई प्रभावित गर्छ । लिक्विडिटीको अवस्थाले पनि सेयर बजारमा असर पर्दोरहेछ । बैंकहरुको नाफा घट्दै छ भनिन्छ । लगानीकर्ताहरु डराएको पनि देखिन्छ । समग्रमा बैकिङ क्षेत्रका लगानीकर्ताले भविष्यमा कस्तो प्रतिफल पाउलान् ? असन्तुलित नीति आयो भने त्यसले जोखिम निम्त्याउन सक्छ । राष्ट्र बैंकको पछिल्ला नीतिले लगानीकर्तामा अलि भयको वातावरण बनाएको छ । सरकारी नीतिहरुले बैंकिङ क्षेत्रलाई सवल र सक्षम बनाउँदै छ कि कमजोर बनाउँदै छ ? बलियो बनाउँछ वा कमजोर बनाउँछ भनेर नसोचौ । राष्ट्र बैंकले बैकिङ क्षेत्र बलियो बनाउने नीति नै लिएको हुन्छ । नियामकले आफ्नो क्षेत्र कमजोर बनाउने भनेर सोच्दैन । तर नियामक पनि चलाउने मान्छेले हो । मान्छेले कहिले कहीँ गल्ती कमजोरी गर्न सक्छन् । त्यस्तो गल्ती भएको हो भने सुधार गर्नुपर्छ ।