शेर्पा हाेटल बन्द गरेपछि मात्र कराेडौं फाइदा भयो, बैंकको सेयरमा सधैं बोनस आउँछ- प्रकाश श्रेष्ठ
प्रकाश श्रेष्ठ, अध्यक्ष-बैंक अफ काठमाण्डू लिमिटेड वित्तीय अवस्था राम्रो भएको, संस्थापक सेयरधनीको क्रसहोल्डिङ पनि नभएको, मर्जमा जान वाह्य दवाव पनि नपरेको बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्ज निकै राम्रो मानिएको थियो । तर, मर्जपछि यो बैंकको विकास र विस्तार सुस्त छ । फेरि अर्थ मन्त्रालय र राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान चर्को दवाव दिइरहेका छन् । यस अवस्थामा यो बैंकले के गर्ला ? प्रस्तुत छः पर्यटन व्यवसायी, होटल एशोशिएशन अफ नेपालका पूर्व अध्यक्ष तथा बैंक अफ काठमाण्डूको अध्यक्ष प्रकाश श्रेष्ठसँग गरिएको विकास वहस । व्यवसायिक यात्रा कस्तो छ ? पर्यटन व्यवसायमा मैले लामो समय बिताए । भलै सोचे जस्तो सफलता हासिल गर्न सकिएको छैन । मैले मात्र होइन, नेपालले नै पर्यटन क्षेत्रमा राम्रो प्रगति गर्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको मचान वाईल्ड लाइफ रिसोर्ट बन्द भएपछि अहिले नवलपरासीमा मचान कन्ट्रि भिला चलाइरहेको छौं । मुग्लिन–नारायणगढ खण्डको सडक निर्माण अवधि लामो हुँदा र त्यस अवधिमा यात्रा निकै कठिन भएपछि चितवन र आसपास क्षेत्रको पर्यटन व्यवसाय धरापमा परेको छ । त्यसैले नवलपरासीको होटल पनि सोचे जस्तो राम्रो हुन सकेको छैन । त्यस्तै, बैंक अफ काठमाण्डूको अध्यक्ष छु । बैकिङ मेरो कोर विजनेश होइन तर पनि बैंकका सेयरधनीहरुको सुझाव र सहयोगमा हामी अगाडि बढिरहेका छौं । कस्तो हुँदै छ बैंक अफ काठमाण्डूको विजनेश ? सबैलाई थाहा छ कि नेपालमा उद्योग व्यवसाय फस्टाउन सकेको छैन । नेपालका उद्योगहरूले चीन र भारतसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । उद्योग व्यवसाय विस्तार राम्रो भएको अवस्थामा मात्र बैंकहरूले राम्रो गर्न सक्छन् । त्यस्तै बैंकहरूबीचको विजनेश पनि निकै प्रतिस्पर्धात्मक छ । त्यति हुँदा हुँदै पनि बैंक अफ काठमाण्डूले राम्रो गरिरहेको छ । आजको दिनमा बैंक चलाउन कति गाह्रो छ ? पहिलाको तुलनामा अहिले स्थिति अनुकूल बनेको छ । आम नागरिकमा बैकिङ बानीको विकास हुँदै गएको छ । बैंकिङ कारोबार पनि सजिलो बन्दै गएको छ । कार्ड पेमेन्ट, डिजिटल पेमेन्टले बैकिङ कारोबार सहज भएको छ । बैकिङ क्षेत्रको ग्रोथ पनि राम्रो देखिन्छ । मैले पहिला पनि भने जब अरु व्यवसाय फस्टाउँछ तब बैंक पनिसँगै अगाडि जान्छ । उद्योग, जलविद्युत, पर्यटन, व्यापार, अन्य सेवाको क्षेत्र राम्रोसँग चल्यो भने बैंक पनि राम्रो हुन्छ । ८/१० वर्ष पहिले बैंक अफ काठमाण्डू नेपालका राम्रा ५/७ वटा बैंकभित्र पर्दथ्यो । बैंक अफ काठमाण्डू र एभरेष्ट बैंक उस्तै हैसियतमा थिए । इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकले बैंक अफ काठमाण्डूलाई प्रतिस्पर्धी ठानेका थिए । दुई स्वस्थ्य अवस्थामा रहेका लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भएपछि यो बैंकले फड्को मार्ने अपेक्षा गरिएको थियो । तर, अहिले यो बैंक निकै पछाडि परेको देखिन्छ, किन ? तपाईले जे भन्नुभयो अरु धेरैबाट मैले यो कुरा सुन्छु । यस बैंकप्रति सकारात्मक रुपमा सोच्नेहरुले हामीलाई घच्घच्याई रहनुभएको छ । निश्चित रुपमा मैले पनि महसुश गरेको छु कि रेसमा हामी पछाडि परेका छौं । इतिहासका बारेमा म धेरै बोल्न चाहान्न । लुम्बिनी र बैंक अफ काठमाण्डू मर्जपछि म अध्यक्ष भएँ । त्यसपछि बैंक बलियो बन्दै गएको छ । बैंकले दिने सेवा राम्रो भएको छ । बैंकको वित्तीय अवस्था पनि बलियो छ । सेयरधनीले पनि राम्रो प्रतिफल पाएका छन् । गत आर्थिक वर्षमा हामीले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएका थियौ । यो वर्ष पनि कम्तिमा १६÷१७ प्रतिशत लाभांश दिन सकिन्छ जस्तो लाग्छ । शाखा विस्तारमा, विजनेश विस्तारमा हामी केही सुस्त छौं तर बैंक बिग्रेको छैन । झन् राम्रो र बलियो बन्दै गएको छ । केही वाणिज्य बैंकको वासलात २५० अर्ब नजिक पुगेको छ । तर बैंक अफ काठमाण्डूको वासलातको आकार १ सय अर्बभन्दा पनि कम छ । धेरै पछाडि परियो भन्ने लाग्दैन ? हो, विजनेश एक्सपान्सनमा हामी एग्रेसिभ भएनौ । त्यसको रिस्क फ्याक्टरहरू पनि हामीले विश्लेषण गरेका छौं । हामीले धेरै जोखिम लिएनौ, हामी सुरक्षित यात्रालाई जोड दियौं । अब हामी एग्रेसिभ हुन्छौं । बैंक अफ काडमाण्डूको सुस्त ग्रोथको कारण बजार प्रतिकूल हुनु हो कि बैंक भित्रको आन्तरिक समस्या हुन् ? आन्तरिक समस्या केही पनि छैन । व्यवस्थापन र बोर्डबीच अत्यन्तै राम्रो सम्बन्ध छ । हामी शाखा विस्तार गर्न, ब्राण्डिङ गर्न, विजनेश विस्तार गर्न एग्रेसिभ देखिएनौ । अहिले पनि बोर्ड र व्यवस्थापनबीचको सम्बन्धमा बारेमा समाचारहरु आइरहेका छन् । सीईओ शोभनदेव पन्तको राजीनामा तपाईको खल्तीमा छ समेत भनिन्छ नि ? मलाई पनि धेरैले यस्तो प्रश्न सोधिरहेका छन् । तर, त्यस्तो केही समस्या छैन । शोभनदेवजीको चाहना कुनै बेला छोड्ने पनि थियो होला । तर अहिले उहाँले छोड्ने वा हामीले अर्को सीईओ ल्याउने विषयमा कुनै कुरा भएको छैन । त्यो सबै गलत हल्ला हो । बैंकलाई कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल वहस हुन्छ । राजीनामा गरेको भन्ने हल्ला कहाँ बाट आयो ? म आफै छक्क परेको छु । बाणिज्य बैंकबीच आपसमा मर्जपछि एनआईसी एशिया, ग्लोबल आईएमई, प्रभुमा सिनर्जी इफेक्ट देखियो तर बैंक अफ काठमाण्डूमा देखिएन, किन ? दुई बैंकबीच मर्ज भएपछि कल्चर मर्ज हुन समय लाग्दो रहेछ । पहिलो १÷२ वर्ष त कल्चर मिक्स गर्न नै लाग्यो । जब हामी कल्चर, वर्किङ स्टाईल मर्ज गर्यौं र सहज अवस्थामा आईपुग्यौ तब बजारमा प्रतिकूल अवस्था पनि देखियो । तरलताको अभाव पनि देखियो । निक्षेप वृद्धि कठिन भयो । त्यसले पनि हाम्रो ग्रोथ अलि कमदरमा भयो । अर्थमन्त्री, गभर्नरले फेरी पनि मर्ज हुनुपर्छ भन्नुभएको छ । बैंक अफ काठमाण्डू के गर्छ ? पहिला पनि सरकारले बैंकहरूको संख्या घटाउन चाह्यो । अहिलेको अर्थमन्त्री गभर्नर हुनुहुन्थ्यो । उहाँले त्यतिबेला पनि बैंकहरूबीच मर्जरमा जोड दिनुभएको थियो । हामीले सरकारको नीतिमा सहयोग गर्दै मर्ज गर्यौं । मलाई के लाग्छ भने बैंकहरूको संख्या घटाउनु नै राम्रो हुन्छ । बैंक अफ काठमाण्डू फेरि पनि मर्जमा जान सक्छ । यो मेरो बैंक हो भनेर हामी समातेर बस्दैनौ । हामी राम्रो बैंकसँग मर्ज गरेर जानसक्छौं । अबको मर्ज के का लागि ? अझ राम्रो गर्नको लागि । अझ बलियो बैंक बन्नुपर्छ । हामी लुम्बिनी बैंक हुँदा हाम्रो क्षमता जति थियो अहिले धेरै बढेको छ । अब मर्ज भयौ भने हामी झन् बलियो हुनेछौं । मर्ज विना नै नविल, एसवीआई, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड लगायत बैंकहरु पनि बलिया भएका छन् । मर्ज नै अनिवार्य हो र ? तपाईले नाम लिएका बैंकहरू, इन्भेष्टमेन्ट, हिमालयन लगायत बैंकहरू पहिला देखि नै ठूला र बलिया थिए । नयाँ र कमजोर बैंकहरू बलियो बन्नको लागि मर्ज एउटा उपयुक्त विधि हो । आजको दिनमा बैंक अफ काठमाण्डूको सेयरमा गरिएको लगानी कति सुरक्षित छ ? कति फाइदाजनक छ ? मलाई लाग्छ सुरक्षित छ र फाइदा पनि छ । आज होटलमा नै गरिएको लगानीले पनि कति नाफा दिन्छ र ? कम से कम बैंकमा गरिएको लगानी सुरक्षित छ । हुनसक्छ सेयर मूल्य नबढ्ला तर लाभांश आइरहेको हुन्छ नि । यतिबेला होटलमा लगानी निकै बढेको देखिन्छ । तपाईसँग होटल र बैकिङ दुबै क्षेत्रको अनुभव छ । कुन क्षेत्रमा गरिएको लगानी लाभदायक हुन्छ ? म एउटा उदाहरण दिन्छु, दरवार मार्गको शेर्पा होटल बन्द भयो । सञ्चालनमा रह्दा त्यो होटल कहिल्यै पनि नाफामा गएन । तर रियलस्टेटको मूल्य निकै बढ्यो र बेच्दा करोडौ फाइदा भयो । अरु देशमा जस्तो नेपालले पर्यटन क्षेत्रमा फड्को मारेन । नेपालको होटलमा म्यारिएट् आयो, शेराटन आउँदैछ । निजी क्षेत्रको लगानी जति भएको छ सरकारी तहबाट पूर्वाधार विकासमा त्यति लगानी भएन । पोखरा विमानस्थल बनेपछि, लुम्बिनी एयरपोर्ट बनेपछि हुनसक्छ, होटलहरुले पनि राम्रो नाफा गर्न सक्छन् । मेलम्चीमा फसेको पैसा आउँछ कि आउँदैन ? यस विषयमा धेरै पोजेटिभ डेभलपमेन्ट भएको छ । अदालतको अन्तिम फैसला बैंकका पक्षमा आउँछ भन्नेमा हामी विश्वस्त छौं ।
भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन कुनै समस्या छैनः दीपकराज जोशी
सरकार यति बेला भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले यो कार्यक्रम अघि बढाएको हो । भ्रमण वर्षको पूर्वसन्ध्यामा यसैको सेरोफेरोमा रहेरबोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसँग गरिएको विकास वहस: भिजिट नेपाल २०२० को सन्दर्भ चलिरहेको छ । यसको तयारी कहाँ पुग्यो त ? भ्रमण वर्ष २०२० सुरुवात हुुन करिब ६ महिनामात्र बाँकी छ । यसबीचमा हामीले पर्यटन प्रवद्र्धनका कामहरू गरेका छौं । विगत सात आठ महिनामा हामीले पर्यटन आगमन हुने विभिन्न स्रोतहरू(स्थान)मा ट्राभल फेयरको लन्च गर्याँै । गत नोभेम्बरमा लण्डनमा विश्वको ट्राभल कम्यूनिटीमाझ पनि यस्तै कार्यक्रम आयोजना गरेका छौं । यस्तै, मार्चमा आईटीभी भन्ने बर्लिनको संसारकै सबै भन्दा ठूलो पर्यटकीयमा कार्याक्रम गर्यौँ । हामीले नेपालमा पनि पर्यटन गतिविधि सम्बन्धि विभिन्न स्थानमा कार्यक्रम गरेका छौं । अन्तर्राष्ट्रिय पर्यटकीय बजारसँगै नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ र आगामी दिनमा पनि यसले निरन्तरता पाउने छ । भ्रमण वर्ष २०२० को मुख्य उद्देश्य नेपाललाई पर्यटक गन्तव्यको रुपमा विश्व सामु चिनाउने हो । यहाँ शाहसिक गतिविधि गर्न पाइन्छ भन्ने धारणा पनि अघि सारिएको छ । यसका साथै वन्यजन्तु, संस्कृति, पर्वहरूमा पनि पर्यटकीय सम्भावनाहरू लुकेका छन् । सोही प्रचारका लागि हामीले ‘भिजिट नेपाल ट्वान्टी ट्वान्टी लाईफ टाईम एक्सपेसेन्सेस’ भन्ने हिसाबले कार्यक्रम बनाएका छौं । कुनैपनि गतिविधि गर्दा जीवनमा पहिलो पटक गर्न लागेको हो भन्ने हिसाबले हामीले काम गर्न लागेका हौं । संसारकै सबैभन्दा धरै विविधता भएको देशमध्ये नेपाल पनि एक हो । अहिलेको विश्व आफूले जीवनमा नभोगेका नौला अनुभव लिने चाहनामा छ र त्यो नेपालमा सम्भवपनि छ । लोन्ली प्लेनेट(प्लानेट) पर्यटनमा निकै प्रसिद्ध सञ्चार माध्यम हो । हामीले सोही मार्फत विभिन्न जानकारीहरु सार्वजनिक गर्ने प्रयत्न पनि गर्दै आएका छौ । साथै, आन्तिरिक पर्यटनपनि राम्रो छ । १० हजार जनशक्तिलाई तालिम लिने हाम्रो लक्ष्य रहेको छ । सोही अनुसार काम पनि हुँदै आएको छ । यस्तै, २ सय भन्दा बढी मिडिया र ब्लगर्सलाई हामीले नेपाल बोलाएका छौं । ठूला–ठूला मेगा इभेन्टेकोपनि तयारी हँुदैछ । हाल हामीले ६ वटा कार्यक्रमको तयारी गरेका छौ । संसारभरी नेपालमा भएका ट्रेकिङ ट्रेल(पदमार्ग) प्रवद्र्धनको काम भइरहेको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसारदेखि नेपालमा पनि जनचेतना बढाउने काम भइरहेका छ । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने तयारी कस्तो छ ? पर्यटन भित्र्याउने हामीसँग २ वटा आधारहरु छन् । अहिले हामीमा पूर्वाधारको कमी छ । यसको असर पर्यटक आगमनमा परिरहेको छ । तत्काल देखिएको समस्या भनेको विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्नु हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले धावनमार्ग(रनवे) स्तरोन्नतिको काम धमाधम भइरहेको छ । जुनमा नै यो काम सकिदैछ । त्यसपश्चात एयरपोर्ट २१ घण्टा खुल्छ । हाल दैनिक १० घण्टा बन्द भइरहेको अवस्था छ । त्यसपछि उडान बढाउन सकिन्छ । निर्माणाधीन विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यसको असर पर्यटन आगमनमा परेको छ । २०१९ को अन्तमा लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भन्ने हामीले सोचेका छाँै । पहिलेका वर्षमा पर्यटन क्षेत्रलाई वर्षभरिनै नभई सिजन कामका रुपमा लिने गरिन्थ्यो । अगष्ट, सेक्टेम्बर, अक्टोवरलाई मात्र पर्यटकीय सिजन र बाँकी नो सिजन र लो सिजनका रुपमा काम हुँदै आएको थियो । अब हामीले हरेक सिजनमा पर्यटन भित्र्याउन त्यही अनुसारको प्रवद्र्धनात्मक काम गर्ने लक्ष्य राखेका छौं । भारतमा गर्मी विशेष, जाडोमा चीन विशेष कार्यक्रमका लाग क्याम्पेन गर्दै आएका छौँ । पछिल्लो ४-५ वर्षमा २५ प्रतिशतको मात्र पर्यटक वृद्धी छ । यसमा केही कारण छन् । जेट एयरवेज छुट्नु र आन्दोलनका कारण भएका केही डिस्टर्भले यस्तो गराएको हो । नेपाल सरकारले केही नयाँ एयरलायन्सलाई अनुमति दिइसकेको अवस्था छ । २०१९ मा ३१ प्रतिशत र २०२० मा यस्तै वृद्धी भएमा लक्ष्य प्राप्त गर्न कठिन पर्दैन । अन्य पूर्वाधार जस्तै पर्यटक बस्नको लागि प्रर्याप्त होटल छ त ? हाम्रो ठूलो समस्या भनेको यातायात हो । यसले पर्यटन आगमनमा ठूलो प्रभाव पारेको छ । यहाँ यातायातका गुणस्तरदेखि सेवामा समस्या छ । हामीसँग अहिले होटलको समस्या छैन । २० लाख पर्यटक हामीले राख्न सक्छौँ । कही कतै तालिम दिन आवश्यक छ । नेपाल भित्र्नै र भित्रैपछि पनि यातायात नै मुख्य समस्या हो । पर्यटन आगमनको अबको लक्ष्य संख्यात्मक वृद्धि हो कि गुणात्मक ? यसमा लामो विवाद चल्दै आएको स्थिति छ । हामीले संख्या र गुणस्तर दुबैमा ध्यान दिदैं आएका छौँ । अब हामीे महङ्गा पर्यटकलाई प्राथमिकता दिने सोचका साथ अघि बढेका छौं । पर्यटन क्षेत्रको राम्रो कुरा भनेको यस क्षेत्रमा लागेको छोटो समय अवधिमा कुनै व्यक्ति उद्यमी हुन सक्छन् । यस्तै, नराम्रो पक्ष भनेको तालिम नलिई, अर्कोको देखासिकीमा उद्योग खोल्ने परिपाटी छ । अर्काको भन्दा सस्तोमा पर्यटक बोलाउने प्रवृतिले भोलिका दिनमा ठूलै असर पर्न सक्ने सम्भावनापनि प्रवल छ । यस्ता कार्यले गन्तव्य नै समाप्तपनि हुन सक्छ । पोखरा, काठमाडौंमा सचेतना कार्यक्रम हुँदै आएका छन् । सन् २०११ को भ्रमण वर्षमा नेपाल आउने ४० प्रतिशत पर्यटक गाउँ पुर्याउने अभियान थियो । अहिलेपनि यस्तो अभियान केही छ कि ? अहिले यतिलाई यहाँ, यतिलाई यहाँ राख्ने भन्ने केही छैन । यो विषय पर्यटकको मनस्थितिमा भर पर्ने विषय हो । त्यो किसिमको नीति तथा कार्यक्रम तय हुनुभन्दा पनि पर्यटक जहाँ मन लाग्यो त्यही बस्ने पूर्वाधार तय गर्नु हाम्रो प्राथमिकता हो । हामीले पर्यटकलाई आकर्षित गर्ने हो । यसका लागि हामीले आवश्यक पूर्वाधारको तयारी गर्नु जरुरी छ । पछिल्ला दिनमा नयाँ गन्तव्यहरुपनि थपिएका छन् । पश्चिममा बर्दियादेखि पूर्वमा ईलामसम्म गन्तव्यमा हो । बजेट तयारी कस्तो हुँदैछ ? नीति तथा खाँका तयार भई सकेको अवस्था छ । साउन १ गतेबाट लागू हुने बजेट तयारी पार्ने काममा बोर्ड लागि परेको छ । बजेट नेपालको पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने किसिमको छ । युरोपलगायतका महादेशमा पर्यटन प्रवद्र्धनका कामहरू भइरहेका छन् । लुम्बिनीमा एयरपोर्ट बनेसँगै बौद्धमार्गी पर्यटक बढ्ने छन् । यसका लागि हामीले भियतनाम, म्यानमार, जापान, कोरियालगायतका ठाउँमा व्यापक प्रचार प्रसार गर्ने किमिसले तयारी गरिरहेका छौँ । भारत र चीन विश्वमा उदयमान राष्ट्रका रुपमा आएका छन् । हामीले सो देशहरुमा विशेष प्राथमिकताका विभिन्न पर्यटकीय गतिविधिको काम गर्ने लक्ष्य लिएका छौं । यसका लागि हामीलाई मास मिडिया क्यापेनहरूको आवश्यक पर्छ । यो काममापनि पर्यटन बोर्ड लागि परेको छ । प्रचार प्रसारका कामहरू भइरहेका छन् । अझै हुनेपनि छ । भ्रमण वर्षको अन्तर्राष्ट्रिय प्रचारका लागि बीबीसी, सीएनएनजस्ता विश्व व्यापी मिडियाको लागि पनि बजेट छुट्टाउनु भएको होला नि ? विगतमा जस्तै हामीले यस वर्षपनि बजेट छुट्याएका छौं । डिजिटल मिडियामा जानु पर्ने कुरा एउटा पक्षको छ । तर, अर्को पक्षले लामो समयदेखि काम गरेको मिडियाको ठूलो भूमिका भएकाले निरन्तरता पाउनु पर्ने कुरा आएको छ । हामी दुबैपक्षलाई समेटेर अघि बढ्ने तयारीमा छौं । देश संघीय संरचनामा गइसकेको अवस्था छ, पर्यटन बोर्ड प्रदेश स्तरमा राख्ने कुरा के भइरहेको छ नि ? हामीले यसवर्ष अध्ययन गर्ने भनेका छाँै । प्रदेश स्तरमा पर्यटन बोर्ड राख्ने विषयमा संवाद भइरहेको छ । तर, निर्णय भने भएकोे छैन । यस वर्ष हामीले प्रदेश अनुसारको पर्यटकीय विशेष गन्तव्य बनाउन बजेट छुट्याएका छौं । यद्यपी सबै प्रदेशको नाम आउन सकेको छैन । हाल गण्डकी र कर्णालीका लागि केही गृहकार्य भएको छ । सबै काम आफैँ गर्दा बेरुजु फछ्र्यौटका विषयमा पछाडि पर्नु भएको त ? नेतृत्वको अभाव, अख्तियारको छानविन र आन्दोलनले यस्तो बेरुजु देखिएको हो । विगत चार वर्षदेखि बोर्डले लेखा परीक्षण गराउन सकेको थिएन । तीन आर्थिक वर्षको लेखा परीक्षण सम्पन्न भइसकेको छ । गत आवको लेखा परीक्षण पनि हुने क्रममा रहेको छ । टेक्निकल समस्याका कारण केही ढिला भएको छ । बेरुजु कति छ त ? महालेखाले केही भौचर हराएको भनेको छ । करिब १२ करोड रुपैयाँ जतिको भौचर देखिएको छैन । यो समस्या पनि छिट्टै टुङ्ग्याउने प्रयासमा बोर्ड छ । बेरुजुले त अनियमिततालाई झल्काउँछ नि ? निजी क्षेत्रबाट खोलिएका संघसंस्थासँग यस्तो बेरुजु रह्नु राम्रो हो र ? टानसँग पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्डको केसमा मात्रै यस्तो भएको हो । कति पैसा संकलन भएको छ यसको विषयमा प्रतिवेदनले बोल्ने नै छ । पहिले ५० करोेड संकलन भएको जस्तो लाग्छ । पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्डको विवाद के भइरहेको छ नि ? यो विवाद यथावत नै छ । सो विवाद समाधान गर्न कार्यकारी समितिका सदस्यको संयोजकत्वमा समिति गठन भएको थियो । १० महिनामा उहाँको कार्यकाल सकियो । हाल पर्यटन विभागको महानिर्देशकको संयोजकत्वमा फेरि समिति गठन गरेका छौँ । उहाँहरूले यस विषयमा काम गरिरहनु भएको छ । अहिलेसम्म प्रतिवेदन आएको छैन ? छैन, आउने क्रममा छ । ठ्याक्कै समय तोक्न सकिदैन । यद्यपी टान पदाधिकारी र हाम्रा साथीहरु मिलेर यस विषयमा थप काम गरिरह्नु भएको छ । मोटामोटी एक महिना भित्रमा प्रतिवेदन आउन सक्छ । पर्यटन बोर्डको आय स्रोत बलियो बनाउने अन्य आधार केही तय गर्नु भएको छ कि पर्यटन शुल्कमात्रै हो ? हामीले प्रति पर्यटन एक हजारका दरले सेवा शुल्क उठाउँदै आएका छौँ । सो अन्तर्राष्ट्रिय विमान स्थलबाट आउनेका लागिमात्र हो । तर, बाईलाइन पर्यटकका लागि अहिलेसम्म शुल्क तोकिएको छैन । बोर्डको आय स्रोतलाई दीगो र बलियो बनाउन हामीले खप्तडमा अकोमोडेसनको लागि यो वर्ष काम गर्दैछांै । खप्तडमा अकोमोडेसनको काम सम्पन्न भएपछि केही स्रोत बढ्छ । यस स्थानमा निजी क्षेत्रले प्रवेश गरेकापनि छैनन् । स्थानीय तहले लाभ पाउन भन्ने हिसाबले यो अवधारणा ल्याइएको हो । बोर्डले वार्षिक कार्यक्रमनै बनाएर पर्यटन व्यवसायमा संलग्न संघ संस्थालाई पैसा बाड्दै आएको छ । बोर्डको काम निजी क्षेत्रका यस्ता संघ संस्थालाई पैसा बाड्नेमात्रै हो ? कतिपय अवस्थामा तपाईँले भने जस्तै हो । सधै त्यस्तोे हुँदैन । नेपाल पर्यटन बोर्डको स्थापना नै पब्लिक, प्राईभेट पार्टनरशीपमा भएकाले यस्तो काम आवश्यक छ । हान, नाटा, पाटालगायका पर्यटकीय गतिविधि गर्ने संघ/संस्थासँग सहकार्य गर्न आवश्यकपनि हुन्छ । तर, कहिले काहिँ छरिने पैसाको भने व्यवस्थापन गर्न आवश्यक छ । भ्रमण वर्षको संयोजन कार्य बोर्डले लिनुपर्नेमा निजी क्षेत्रलाई जिम्मेवारी दिइएको छ । बोर्डले गर्नुपर्ने संयोजन कार्य अर्कैले गर्नुको कारण के हो ? हामीले सहज हुने हिसाबले काम गरेका हौँ । हामीलाई हरेक साल हरेक वर्ष पर्यटन वर्ष नै हो । तर, मूल आयोजक समिति राख्नुको मुख्य उद्देश्य चाहिँ उहाँहरूले पुर्याउने योगदान समेत वृद्धी होस भन्ने हो । हामीलाई भ्रमण वर्ष सफलतापूर्वक सफल पार्नुछ । पर्यटन प्रर्वद्धनका लागि आवश्यक कदम चाल्नु आजको आवश्यकता पनि हो । विभिन्न निकायमा सहकार्य गरेर कार्यक्रम ल्याउन पर्ने हुन्छ । सबै काममा सचिवालयले सहकार्य गर्छ । यो सबैको उद्देश्य हामीले राम्रो गरौं भन्नै नै हो । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न बोर्डबाट कुनै पहल भएको छ ? पछिल्लो वर्ष अन्तरिक पर्यटनको पनि घुमफिर बढेको छ । रारामा ३० हजार मानिस पुग्नु भएको छ । पहिले मुस्किले हजार मात्र पुग्नु हुन्थ्यो । हामीले पहिले देश अनि विदेश भनेर काम गर्दै आएका छौँ । कैलाली, बर्दिया, म्याग्दी जस्तो स्थानमा आन्तरिक पर्यन प्रवद्र्धनका कार्यक्रमहरू आयोजना भइरहेका छन् ।
प्रतिस्पर्धाले बीमा कम्पनी र बैंकबीच सहकार्य बढायो : शिवनाथ पाण्डे
शिवनाथ पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ११ वर्ष पुरानो सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको पहिलो ९ वर्ष निकै असहज देखिन्थ्यो । प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापन समूहमा अस्तिरता थियो । कम्पनीको व्यवसाय विस्तार सुस्त थियो । लेखापरिक्षण, साधारणसभा जस्ता कार्य नियमित हुन सकेका थिएनन् । कम्पनीले प्रमुख कार्यकारी अधिकृतको रुपमा शिवनाथ पाण्डेले पाएपछि सुधारका संकेतहरु देखिएका छन् । वित्तीय विवरण पछिल्लो समय बढ्दो क्रममा रहेको छ । कम्पनीको चुक्तापुँजी, जगेडा कोषदेखि जीवन बीमा कोषसम्मको सूचाङ्क बढ्दो र सुधारका क्रममा रहेको छ । २०७३ असार मसान्तमा चुक्तापूँजी ५०, जगेडा कोषमा २५ करोड ७२ लाख, जीवन बीमा कोषमा १ अर्ब ६४ करोडसहित २ अर्ब ४२ करोड रुपैयाँको वासलात रहेको यस कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड रुपैयाँ भएको छ । जगेडा कोषमा ४५ करोड ७४ लाख रुपैँया रहेको छ । जीवन बीमा कोषमा ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । लेखापरीक्षण, साधारणसभा नियमित भएका छन् । एनएफआरएस लागू भएपछि साधारणसभा गर्ने जीवन बीमा कम्पनीमो सूर्या लाइफ दोस्रो कम्पनी हो । प्रस्तुत छ यसै सन्दर्भमा कम्पनीको वर्तमान अवस्था र भावी योजनामा केन्द्रीत भई प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसँग गरिएको विकास बहस । आर्थिक वर्ष सकिएको ११ महिनापछि साधारणसभा गर्दा पनि दोस्रो बन्दै हुनुहुन्छ । किन यस्तो भयो ? हाम्रो असार ११ गते वार्षिक साधारणसभा हुँदैछ । त्यसका लागि आवश्यक पर्ने वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन तयार भएका छन् । बीमा समितिले भनेजस्तै एनएफआरएस अनुसार प्रतिवेदनहरू बनाउँदा ठूलो भएको छ । हामीले पहिलेको व्यवस्था अनुसार र हालको व्यवस्थाअनुसार दुवैलाई मर्ज गरेका छौं । समस्टिगत रुपमा भन्दा बीमा समितिबाट स्वीकृति पाएर वार्षिक साधारणसभा गर्ने कम्पनीहरूमा हामी दोस्रोमा पर्छौ । एनएफआरएस अनुसार कम्पनीको वित्तीय प्रतिवेदन तयार गर्दा धेरै कुरा नयाँ भए । के गर्ने कसो गर्ने भन्ने कुराको बीमा क्षेत्रमा निर्देशित गाइडलाईन भएन । यस्तो अवस्थामा हामीले प्रोफेसनल मान्छे हायर गर्यौँ । यसबाट पनि एउटा ग्राउण्ड बन्न मद्दत पुगेको छ । अब यसमा बसेर हामीले हरेक बर्ष एकाउण्टिङ् र अडिट गर्दै जान्छौ । अबका वर्षमा धेरै सजिलो हुनेछ । सूर्या लाइफले बनाएको रिपोर्टमा बीमा समितिको कुनै कैफियत रह्यो ? लिखित रुपमा कैफिय त रहेको छैन । तैपनि सुधारका ठाउँहरु धेरै हुन्छन् र सुधार गर्दै जानुपर्छ पनि । मौखिक रुपमा केही सुधारको कुरा भएका छन् । तपाई चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ । एनएफआरएस अनुसार बनाएको व्यालेन्सिटमा केही परिवर्तन आउँन सक्छ ? हामीले अन्तर्राष्ट्रिय स्तरको फाइनान्स स्टयाण्डर्ड लागू गरेका छौँ । यो फम्र्याटमा चार्टर्ड एकाउन्ट संस्थाले नै केही परिमार्जन गर्न आवश्यक देख्यो वा बीमा समितिले केही परिमार्जन गर्यो भने केही परिवर्तनको गुन्जायस हुन्छ । तर, ठूलो परिवर्तन हुने छैन । पुस मसान्त वा ढिलोमा चैत मसान्तसम्मका कम्पनीले साधारणसभा गरिसक्नुपर्ने हो । तर बीमा कम्पनीहरुले असारमा आएर साधारणसभा गर्दैछन् । यसपालि एनआरएफलाई दोष दिए । अर्कोवर्ष साधारणसभा कहिलेसम्म होला ? पहिले बीमा विजनेशको नेचरलाई पनि बुझ्नुपर्छ । जीवन बीमा कम्पनीले ५ देखि २०/२५ वर्षसम्मको दायित्व बोकेका हुन्छ । बीमाको एक्चुरी नेपालमा छैनन् । हामीले डाटा बाहिर पठाउँदै आएका छौ । उहाँहरूले एक्चुरी भ्यालुयसन गरेपछि हामीलाई रिर्पोट दिनुहुन्छ । त्यही रिपोर्ट स्वीकृतिको लागि बीमा समितिमा बुझाउँछौं । त्यसलाई बीमा समितिले पनि क्रस भेरिफाई गर्छ । बीमा समितिले स्वीकृति गरेपछि मात्र वार्षिक साधारणसभामा लैजाने निर्णय हुन्छ । पुसमा साधारणसभा गर्न नसकेपछि प्रिरिर्टन फाइल पेस गर्नुपर्छ कम्पनी रजिष्ट्रार कार्यालयमा पेस गर्नुपर्छ । कानुनले तोकेको समयमा साधारणसभा नहुँदा जरिवाना तिर्नुपर्छ । त्यो फेरी कम्पनीको खर्चको रुपमा आउँछ । कम्पनीले समयमा काम नगरेर के गरेर बस्छ भन्नु हुन्छ, उफ्रिनु हुन्छ । व्यवस्थापकीय विषयमा हामीलाई जवाफ दिन सजिलो छैन । पुष मसान्तभित्र कुनै पनि कम्पनीले वार्षिक साधारणसभा गर्न सकेका छैनन् । यो वास्तविकतालाई हेरेर कानुनी रुपमा सुधार गर्नुपर्ने कार्य धेरै छन् । यस पटक सूर्या लाइफको साधारण सभाबाट सेयरधनीहरु कतिको खुशी हुनेछन् ? यसपालि करिब १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छौं । म सीईओ भएर आएपछि तीन आर्थिक वर्षको लेखापरिक्षण र साधारणसभा एकै पटक भएको हो । पहिलोपल्ट ५ प्रतिशत र दोस्रो वर्ष १० प्रतिशत लाभांश दिएका थियौं । यस वर्ष १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद लाभांश दिदैछौं । यो प्रतिफल नराम्रो होइन । भरखरै बामे सर्दै गरेको कम्पनी हो । चुक्ता पुँजी २०० करोड भएपछि भने विजनेश वृद्धिसँगै लाभांश दर मेन्टेन गर्न पनि धेरै चुनौती छन् । चुक्ता पुँजी कसरी २०० करोड बनाउने योजना छ ? चैत्र मसान्तमा १ सय १३ करोड रुपैयाँ छ । बोनस सेयरपछि १२९ करोड जति हुन्छ । त्यसपछि हकप्रद सेयर निष्काशन गर्छौ । असारभित्रै हकप्रद सेयर निष्काशन आह्वान गर्छौ । भदौसम्ममा हकप्रद सेयरको पैसा पनि आईसक्छ । हकप्रद सेयरको पैसा आएपछि हाम्रो सेयर पुँजी २ अर्बभन्दा बढी हुन्छ । असारभित्रै हकप्रद सेयर निष्काशन सार्वजनिक आह्वान गर्न सम्भव छ ? सम्भव छ । ११ गते साधारणसभा गछौं । तत्काल कम्पनी रजिष्ट्रार कार्यालयमा माईनुट दिन्छौ । १५ गते आधारभूत सेयरधनीलाई पैसा हाल्नु अनुरोध गर्छौ । क्रेडिट रेटिङको काम सकिन लागेको छ । पुँजी वृद्धिको टाइमलाइनको चाप सेवनलाई पनि थाहा छ । हामी कुरा गर्छौ । असार ३१ सम्ममा हकप्रद सेयर घोषणा गर्न सकियो भने बीमा समितिले पनि त्यसलाई सहज रुपमा लिन्छ भन्ने हाम्रो विश्वास हो । पुँजी वृद्धिसँगै व्यापार वृद्धि कति गाह्रो देख्नुहुन्छ ? गत वर्ष १४/१५ करोड नाफा गरेर झण्डै १३ प्रतिशत लाभांश दिन सकियो । अर्को वर्ष यति नै लाभांश दिन २५ करोडभन्दा बढी नाफा गर्नुपर्छ । हामीले हाम्रो स्रोतहरु उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गरेका छौं । साथै, हामीले विजनेशको योजना पनि समय अनुसार परिवर्तन गर्नु पर्ने हुन्छ । नयाँ प्रडक्ट डिजाईन, शाखा विस्तार, नेटवर्क विस्तारमा जोड दिन्छौं । अबको बिजनेश योजना के छन् ? हाम्रो कमजोरी पत्ता लगाउँदै सुधारको प्रयास भएका छन् । यो कम्पनीमा ७÷८ वर्षको अन्तरालमा ७/८ जना नै सीईओहरू फेरिनु भएको अवस्था रहेछ । व्यवस्थापन बलियो किन भएन भन्ने कुरामा समेत केही कारण त पक्कै हुनु पर्ने हो । सबै सिईओमा क्षमता नै नभएको भन्ने पनि त होइन होला । १/२ जनामा केही समस्या होला तर सबैको हकमा त त्यो पक्कै लागू नहोला । हामीले एक सालमा ३ वटा एजीएम गर्यौ । कर्मचारीमा रहेको असन्तुष्टि हटायौ । तलब, सुविधामा समेत वृद्धि गर्यौ । नयाँ कर्मचारी पनि ल्याएका छौं । हुन त केही साथीले छोडेर पनि जानुभयो । व्यक्ति भनेको त आउँने जाने चलिरहन्छ । तर, संस्था भनेको एकनास चलिरहनुपर्छ । त्यस्तै, प्रडक्ट पनि पुरानो हुँदा चल्दैन । हामीले त्यस्ता प्रडक्ट हेरफेरका विषयमा पनि ख्याल गर्दै आएका छौँ । एजेन्टलाई पनि तालिम दिएर अघि बढ्न सहयोग गर्दै आएको छौ । यस्ता कुरामा ध्यान दिएमा बिजनेश आफै आउँछ । अरुलाई हेरेर आत्तिन हुन्न । नयाँ कम्पनीहरु आएको सन्र्दभमा पनि हामी शान्त भएर, स्टेवल भएर बस्यौँ नि । बीमा कम्पनीहरुबीचको प्रतिस्पर्धामा सूर्या लाइफ कहाँ छ ? हाम्रो कम्पनी अहिले यति नम्बरमा छ म भन्दिन । अबको दिनमा यति नम्बरमा पुर्याउँछौं भनेर पनि भन्दिन । त्यसमा म विश्वास पनि गर्दिन । संस्थालाई राम्रो बनाउन सबै कर्मचारी, अभिकर्ताले इमान्दारपूर्वक काम गर्ने हो । हामीले दिने सेवा राम्रो हुनुपर्यो । राम्रा बीमा पोलिसी राम्रा हुनुपर्यो । कम्पनीले पालाना गर्नु पर्ने नियमहरु पालना भएको हुनुपर्यो । सेयरधनीलाई सकेसम्म राम्रो प्रतिफल दिन सकियोस् । धेरै ठूला कुरा गरेर केही पनि हुँदैन । निश्चित विजनेशको टार्गेट लिएर काम गर्छौ । समय सापेक्ष प्रडक्टको सुधार जरुरी हुन्छ । प्रडक्ट बेचेपछि पनि त्यसका बारेमा चलाख हुनुपर्छ । क्लेम, रिन्यू देखि ऋणसम्मको कुरालाई बुझ्न पर्छ । त्यस्तै, हामी पेपरलेस काम गर्ने, खर्च कटौति गर्ने कार्यमा हामीले जोड दिदैछौं । अनलाइनबाटै बीमा पोलिस किन्न सक्ने अवस्था बनाउन सकिन्छ । अहिले नै हामीले टर्म पोसिली अनलाइमा गएका छौं । शाखाहरूको विजनेश कस्तो छ ? सूर्या लाइफले हाल ८३ वटा शाखाबाट सेवा दिइरहेको छ । सबै शाखाको विजनेश एकनास हँदैन । पोखराको शाखा र मनाङको शाखाबाट उस्तै विजनेशन हुन सक्दैन । जीवन बीमा व्यवसाय शाखा विस्तार गरेर मात्र पनि बीमा लेख बिक्री हुँदैन । अभिकर्ता मार्फत काम गर्नुपर्छ । बैकास्योरेन्सको प्रभाव बजारमा कस्तो छ ? व्यक्ति भन्दा संस्थागत अभिकर्ता बढी प्रभावकारी भएको देखिन्छ । प्रतिस्पर्धाले पनि बीमा कम्पनीहरू र बैंकहरुबीच सहकार्य बढेको देखिन्छ । तर एउटा बैंकले सबै बीमा कम्पनीको बीमा पोसिली बेच्ने काम हुन थाल्यो भने त्यसले दुविधा सिर्जना गर्छ ।