ढुक्क हुनुस्, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उपर्युक्त समयमा विदेशी लगानी भित्र्याउँछ-अनिल ज्ञवाली
ऊर्जा, सडक, सुरुङ, केबलकार, एयरपोर्ट, होटेललगायतका ठूला पूर्वाधार परियोजनामा लगानी जुटाउने उद्देश्यले नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा आएको छ महिना पूरा भएकाे छ । नबिल, ग्लाेवल आइएमइ जस्ताे ठूला बैंककाे प्रमुख कार्यकारी अधिकत सफल बैंकर्सकाे छवि बनाउनु भएकाे अनिल ज्ञवालीले यस बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समाल्नु भएकाे १० महिना भएकाे छ । शुरूमा नै २० अर्ब रूपैयाँ पुँजी लिएर पूर्वाधार निर्माणमा फाेकस गर्ने उदेश्यका साथ विशेष व्यवस्थासहित खुलेकाे याे बैंकले के गर्दैछ ? २० अर्बभन्दा बढी काेर क्यापिटल भएकाे वाणिज्य बैंकबीचमा हाल मात्र १२ अर्ब पुँजी लिएकाे याे बैंकले कहिले फड्काे मार्छ ? कुन कुन क्षेत्रमा लगानी गर्दैछ ? सर्वसाधारणका लागि आईपीओ निष्कासन कहिले गर्छ ? प्रस्तुत छ बैंक संचालनमा आएको यो अवधिमा बैंकले गरेका काम र भावी योजनाका विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीसँग गरिएको विकास बहस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक कसरी अघि बढिरहेको छ ? नेपाल इन्फ्रास्ट्रक्चर बैंक हाल सालै संचालनमा आएको राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंक हो । पूर्वाधारका परियोजनाहरूमा कर्जा प्रवाह गर्नुका साथै त्यस्ता परियोजना संचालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने र उक्त परियोजनाहरुलाई आवश्यक पर्ने लगानीका स्रोतहरू आन्तरिक तथा वाह्य वित्त बजारबाट जुटाउने गरी यस बैंकलाई नेपाल राष्ट्र बैंकले संचालन अनुमति दिएको हो । पूर्वाधार परियोजनामा लगानी गर्न ठूलो पूँजी र लामो समयावधि चाहिन्छ । सोही आवश्यकतालाई पूर्ति गर्न स्थापना भएको यो बैंकले परियोजना छनोट गर्ने, अध्ययन गर्ने, सरोकारावालासँग छलफल गर्ने तथा पुँजी संकलनका उपयुक्त स्रोतहरु पहिचान गर्ने लगायतका कार्यहरू अघि बढाएको छ । बैंकका प्राथमिकताका क्षेत्रहरू के के हुन् ? कतिसम्म लगानीका आयोजनामा बैंकले लगानी गर्छ ? ऊर्जा, सडक, सुरुङ, केबलकार, एयरपोर्ट, होटल अन्य पर्यटन पूर्वाधार साथै सामाजिक पूर्वाधारहरू जस्तै शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको परियोजनाहरूलाई बैंकले प्राथमिकता प्राप्त क्षेत्रहरूमा राखेको छ । नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ मा हालै भएको संशोधनले यस बैंकको न्यूनतम लगानी सीमा प्रति परियोजना ३० करोड तय गरेको छ । कस्ता कस्ता र कति लागतसम्मका आयोजनाहरूबाट बैंकमा कर्जाको लागि प्रस्ताव आएका छन् ? पूर्वाधार विकासमा लगानीको पहुँच राज्यको सबै तहसम्म पुर्याउन हामी केन्द्र सरकार सहित प्रदेश र स्थानीय सरकारहरूसँग साझेदारीको प्रयास गरेका छौं, छलफल भइरहेको छ । बैंकले राम्रा परियोजनाहरू छनोट गर्दै लगानी विस्तार गर्दै जानेछ, सोही सन्दर्भमा हामी आफैले पनि परियोजना खोज्ने काम गरेका छौं, डेभलपरहरू पनि हामीकहाँ आउनु भएको छ । हामीले हाल गृहकार्य गरिरहेका पूर्वाधारका परियोजनाहरूमा मुख्यत ऊर्जातर्फ हाइड्रो र सोलार, पर्यटनतर्फ होटेल, केवलकार, एम्युजमेन्ट पार्क र रिक्रियशन सेन्टर हुन् । साथै एयरपोर्ट, मेडिकल कलेज, अस्पताल तथा कृषि पूर्वाधारका परियोजनाहरूमा कार्य अघि बढाइएको छ । यी सबै परियोजनाहरूमा हाम्रो लगानी हुन्छ नै भन्ने छैन । हामी परियोजनाहरूको विस्तृत अध्ययन र विश्लेषण गरेपछिमात्र लगानी गर्ने निर्णयमा पुग्छौ । बैंकको निक्षेप संकलनको अवस्था कस्तो छ ? कस्ता निक्षेपकर्ताले बैंकमा निक्षेप राख्न पाउँछन् ? बैंकमा निक्षेप संकलन गर्ने पनि मापदण्ड तयार भएको छ । मैले माथि नै भने हामी संचालनको शुरुवाती चरणमा नै भएको हुँदा एकातर्फ हामीलाई निक्षेपको टट्कारो आवश्यकता छैन । अर्काेतर्फ हामीले निक्षेप संकलनका अलवा बण्ड जारी गर्ने, विदेशबाट रकम भित्रयाउने लगायतका पुँजी संकलनका विभिन्न विकल्पहरू पहिचान गरी अगाडी बढेका छौ । व्यक्तिगततर्फ न्यूनतम ५ वर्ष अवधिको न्यूनतम १ करोड र संस्थागततर्फ सोही अवधिको न्यूनतम ५ करोडको निक्षेप राख्न सकिने व्यवस्था छ । अहिलेसम्म कति कर्जा प्रवाह भयाे ? हालै यस बैंकको अगुवाईमा ३२ मेगावाटको जलविद्युत आयोजनामा चार अर्ब ६ करोड लगानी गर्न डेभलपरसँग सह–वित्तीयकरण सम्झौता भएको छ । कर्जाको माग उच्च छ । यथेष्ट परियोजनाहरू पहिचान भई कर्जा प्रवाह गर्ने निर्णयको प्रकृयामा छ । परियोजनाहरूमा थप कर्जा प्रवाह भएको समाचार तपाईंहरूले छिट्टै पाउनुहुनेछ । बैंक स्थापनादेखि अहिलेसम्म गरेका र गर्न लागेका उल्लेख्य कामहरू के के हुन् ? १,२, ३ गरेर यो यो गर्याै भन्ने भन्दा पनि संचालनको शुरुको वर्ष भएकोले पनि अहिले हामी मुख्यतः नीति तथा योजना निर्माणका साथै उपयुक्त परियोजनाको छनोट गरी लगानी गर्ने तयारीमा छौं । विशेषतः विदेशी बजारबाट स्रोत संकलन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रीत छ । यस आर्थिक वर्षमा हामी सर्वसाधारणको लागि सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने र बण्ड जारी गरी विदेशी वित्त बजारबाट ५ अर्ब रकम संकलन गर्ने योजनामा छौं । बैंकमा विदेशी पार्टनर पनि भित्र्याउने कुरा थियो ? त्यो के भइरहेको छ ? विदेशी साझेदार भित्र्र्याउने कुरा अलि गहकिलो विषय हो । विभिन्न तहबाट सोका लागि प्रयास भइरहेको छ । हामी सम्भावित विदेशी साझेदारहरूसँग सम्पर्कमा पनि छौं । यस बैंकमा कुनै विदेशी बैंक तथा वित्तीय संस्थाले मात्र लगानी गर्न पाउने गरी नीतिगत प्रावधान रहेको हुँदा प्रर्याप्त गृहकार्य पश्चात उपयुक्त समयमा विदेशी बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्नेछौ । नेपालकै ठूलो बैंकमा लगानी गर्न विदेशी लगानीकर्ता त अहिलेसम्म नआउनुकाे कारण के हो ? मैले अघि पनि भने विदेशी लगानीकर्ता नआएको होइन । सम्भावित विदेशी बैंक तथा वित्तीय संस्थाहरूसँग कुरा हुँदा उहाँहरू सहकार्य गर्न इच्छुक हुनुहुन्छ । यद्यपि, उहाँहरूको पनि आ–आफ्नै नीतिगत व्यवस्थाहरू होलान्, हामीले पनि विदेशी लगानीकर्ता भित्र्याउदा नीतिगत एवम् व्यवहारिक पक्ष दुबै हेर्नुपर्ने हुन्छ, कतिपय शर्त बन्देजहरू मान्नुपर्ने हुन्छ । यी सबै चाँजोपाँजो मिलाउन समय पक्कै लाग्छ । तर, ढुक्क हुनुस्, बैंकले उपर्युक्त समयमा कुनै न कुनै रुपमा विदेशी लगानी भित्र्याउछ । बैंकमा कस कसको सेयर कति कति छ ? कुल ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, वाणिज्य बैंकहरूको २०.८९ प्रतिशत, सार्वजनिक तथा निजी कम्पनीको ५.१५ प्रतिशत, इन्स्योरेन्स कम्पनीको १८.९७ प्रतिशत र उद्योगीहरूको ४.९९ प्रतिशत शेयर लगानी रहेको छ । ४० प्रतिशत शेयर आईपीओ मार्फत जारी हुने गरी सर्वसाधारणका लागि छुट्याइएको छ । बैंकको भावी रणनीति के हो ? ५ वर्षमा बैंक कहाँ पुग्छ र कस्तो अवस्थामा रहन्छ ? मैले अघि पनि भने संचालनको शुरुको वर्ष हामी मुख्यतः नीति तथा योजना निर्माणको तहमा धेरै कार्यहरु अगाडी बढाइएको छ । बैंकलाई पहिलो वर्ष रणनीतिक रुपमा सवल बनाउने छौं र सोही रणनीतिको आधारमा आउँदा वर्षहरुमा स्रोत संकलन र लगानी विस्तारलाई तीब्रता दिनेछौ । तँपाईले ५ वर्षमा बैंक कहाँ पुग्छ भन्नुभयो । यो प्रश्नको उत्तर यही नै हो भन्न त सक्दिन । तर, बैंकले अबको ५ बर्षभित्रमा पूर्वाधार विकासको अपेक्षाकृत लक्ष्य प्राप्त गर्न लगानीको पहुँच मुलुक भरिनै पुर्याउनेछ । बैंकको धेरै शाखा संजाल नहुने भएपनि प्रत्येक प्रदेशमा सम्पर्क अफिस स्थापित होलान् र त्यही संरचना मार्फत हामी संघ, प्रदेश र स्थानीय तहमा निर्माण हुने प्रायः सबै ठूला पूर्धारका परियोजनाहरूमा कर्जा प्रवाह गर्न मुख्य भूमिका खेल्नेछौ । साथै, त्यस्ता परियोजना संचालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी र अन्तर्राष्ट्रिय बजारबाट स्रोत संकलन गरेको अवस्थामा यो बैंक हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, २० अर्ब पुँजी भएकाे बैंक, ठूलाे हुन्छ भनिन्थ्याे । तर अहिले धेरै बैंककाे काेर क्यापिटल २० अर्ब भन्दा बढी छ । वाणिज्य बैंक अन्य वाणिज्य बैंक र यो बैंकमा के भिन्नता छ ? वाणिज्य बैंक र हाम्रो स्कोप नै फरक छ । हामी पूर्वाधार सम्बन्धी परियोजनामा मात्रै लगानी गर्ने र त्यसका लागि स्रोत जुटाउन खोलिएको विशेष प्रकृतिको बैंक हो । हामीले रिटेल बैंकिङको कार्य गर्दैनौ । बैंक संचालन हुँदै गर्दा कुनै समस्याहरू देखिएका छन् कि ? छन् भने के कस्ता समस्या बैंकले झेल्नु परेको छ र यसको निराकरणको लागि बैंकले कस्तो कदम चाल्छ ? नयाँ अवधारणा सहित स्थापना भएको नयाँ प्रकृतिको बैंक भएकोले बैंक संचालनका काम कारवाही गर्दा केही समस्या देखिनु त स्वभाविक नै हो । मुख्यतः शुरुवाती अवस्थामा बाझिएका नीति नियमहरुको गाँठो फुकाउने, पूर्वाधार परियोजनामा लगानीका नमूनाहरू नभएकोले ति नमूनाहरू विश्व बजारबाट सिक्ने, त्यसका व्यवहारिक पक्षहरूमा थप कार्य गर्ने र विदेशी स्रोत भित्र्याउन आवश्यक पर्ने कन्ट्री रेटिङ, हेजिङ तथा अन्य नीति नियमका विषयहरू पहिचान गर्दै समाधानतर्फ डोर्याउन समय लागि रहेकोछ । व्यवसायिक जगतमा लगानीयोग्य पूँजीको अभाव छ । त्यसैले गर्दा बैंकको ब्याजदर बढिरहेको छ । यस्तो अवस्थामा महँगोमा निक्षेप उठाएर पूर्वाधारमा लागानी गर्ने भन्ने कुरा पनि सम्भव नदेखिएला, सस्तो लागतमा स्रोत जुटाउने विकल्प के हुन सक्छन् ? ब्याजदर भनेको बजारले निर्धारण गर्ने विषय हो । महँगाे र सस्तो भन्दा पनि प्रतिस्पर्धी दररेटमा निक्षेप उठाउने हाम्रो सदैव प्रयास रहनेछ । तपाईले हाम्रो अहिलेको मुद्दती निक्षेपको दररेट हेर्नुभयो भने यो बजार अनुसार नै छ । मैले पहिले पनि भने हामी जस्ता बैंकले स्रोत संकलनका लागि मूलतः फण्ड, बोण्ड, डिवेञ्चरहरूजस्ता उपकरणहरु प्रयोगमा ल्याउने हो । मुद्दती निक्षेपमा यस्ता बैंकहरूको धैरै हिस्सा हुँदैन र हाम्रो सोच पनि मुद्दती निक्षेप भन्दा अन्य माध्यमबाट स्रोत जुटाउने नै हो । याे बैंकको स्वभाव नै दीर्घकालमा नाफा कमाउने खालको छ, तर लगानीकर्ताहरू अल्पकालमै प्रतिफल खोज्छन् । साधारण सेयर निष्कासनपछि त झन् यो दवाव बढ्ला, यस्तो अवस्थामा बैंकको रणनीति के हुन्छ ? यस बैंकका संस्थापक लगानीकर्ताहरु मूलतः नेपाल सरकार सहित वाणिज्य बैंकहरू, सार्वजनिक तथा निजी कम्पनीहरू, इन्स्योरेन्स कम्पनीहरू र प्रतिष्ठित उद्यमी व्यवसायीहरू नै हुनुहुन्छ । उहाँहरू यो बैंकको उद्देश्य, लगानीको प्रकृति र क्षेत्र दीर्घकालिन हो । सोबाट प्राप्त हुने प्रतिफल सोही बमोजिमकोे विषयमा प्रष्ट हुनुहुन्छ । यसैगरी आईपीओ मार्फत बैंकको सर्वसाधारण शेयर निष्काशन गर्दा हामी आव्हान पत्रमा समेत पूर्वाधारको लगानीको प्रकृति, क्षेत्र एवम् सोबाट प्राप्त हुने प्रतिफलका विषयहरूमा प्रष्ट रुपले उल्लेख गरेर जानेछौं । यसले गर्दा यस बैंकमा लगानी गर्ने सर्वसाधारण शेयरधनीहरूले समेत यो कुरा बुझ्नु हुनेछ भन्ने लाग्दछ । यद्यपि, अन्य बैंकको तुलनामा हाम्रो बैंकको संचालन खर्च तुलनात्मक रुपमा कम हुने र पुँजी तथा लगानीको आकार ठूलो भएकोले शुरुवाती अवस्था देखि नै प्रतिफल दिन सक्नेगरी कार्ययोजनाहरू समावेश गरेका छौ । पहिलो लगानीको रुपमा हाइड्रो क्षेत्र राज्नु भएको छ, तर समयमा आयोजना नबढ्ने र लागत बढ्दै जाने समस्या यो क्षेत्रमा देखिन्छ, समयमै गुणस्तरीय आयोजना बन्ने र नाफा दिनसक्ने विश्वास कसरी गर्ने ? हाइड्रोमा पहिलो लगानी हुनुको मतलव अरु क्षेत्रमा हामीले लगानीको प्रयास नथालेको भन्ने होइन । हामी सोलार, होटल, केवलकार, एम्युजमेन्ट पार्क जस्ता पूर्वाधारका ठूला परियोजनाहरूमा कार्य अघि बढाएका छौ । मूलत: हाम्रो लगानीको न्यूनतम सीमा रु.३० करोड प्रति परियोजनाभएको र हालको बजारमा अन्य पूर्वाधारका परियोजनाका तुलनामा हाइड्रोका परियोजनाहरूको हिस्सा बढी भएकोले हामीकहाँ पनि हाइड्रोका परियोजनाहरू शुरुवाती अवस्था देखि नै आएका हुन् र सोही बमोजिम पहिलो लगानीको सम्झौता हाइड्रोमा भएको हो । हामी प्रोजेक्ट फाइनान्सिङ मात्र गर्ने भएकोले परियोजना विश्लेष्ण तथा छनोट सम्बन्धि मापदण्ड तयार गरी लागू गरेका छौ । यसले हामीलाई पूर्वाधारको कुन क्षेत्र तथा कस्तो परियोजनामा कति लगानी गर्ने भन्ने सम्बन्धी सीमा तय गरेको छ । सोही अनुरुप हामी सम्भाव्यता भएका राम्रो प्रतिफल दिन सक्ने परियोजनाहरूलाई छनोट गर्दैछौं । छनोट भएका परियोजनाहरू यस बैंकअन्तर्गतको विभाग तथा व्यवस्थापन तहमा विस्तृत अध्ययन गर्ने गराउने छौं । हामीले सोका लागि एउटा नविनतम अभ्यास स्वरुप पूर्वाधार सम्भाव्यत विभागको स्थापना गरेका छौं । विभाग र व्यवस्थापनबाट गरिने अध्ययन तथा विश्लेषणको अलावा हरेक परियोजनालाई हरेक परियोजनाको डीडीए गरेरमात्र स्वीकृत गर्ने गरेका छौ । यसले परियोजनाहरूलाई केन्द्रीत गरी विशेष निरीक्षण तथा सुपरिवेक्षण गर्ने गराउने बहुवैकल्पिक टीमको व्यवस्था गर्ने सोच पनि छ । तपाई त बैंकिङ क्षेत्रमा सफल भनेर चिनिएको व्यक्ति, एउटा फरक बैंकिङ अभ्यास गर्ने संस्थाको नेतृत्व गरिरहनु भएको छ, वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको सवल र कमजोरीलाई कार्यकारी प्रमुखको रुपमा कसरी विश्लेषण गर्नुहुन्छ ? वाणिज्य बैंक र हाम्रो कार्यक्षेत्र त विल्कुलै फरक छ र स्वभाव पनि धैरै हदसम्म भिन्न छ । हामी भनेको विशेषतः पूर्वाधारमा विशेषज्ञता राख्ने वाह्य विशेषज्ञ व्यक्तिफर्म /कम्पनीहरूसँग सहकार्य गर्ने र बैंकको कर्मचारीलाई पूर्वाधार सम्बन्धी विषयहरूमा केन्द्रीत गराइ क्षमता अभिवृद्धि गर्दै पूर्वाधारमा लगानीको जोखिमलाई न्यूनीकरण तथा विविधिकरण गर्दै अगाडी बढ्नुपर्छ । यही नै हाम्रो विशेषता हो । अर्को गम्भिर विषय भनेको सम्पत्ति र दायित्वको मेल गराउँदै लैजान सक्ने क्षमता हो । वित्त बजारबाट अपेक्षित आकारको स्रोत संकलन तथा परियोजनाहरूको विशिष्टिकृत मूल्यांकन र निरिक्षण सम्बन्धी आवश्यक कार्यविधि, प्रकृया र सोसँग सम्बन्धित उपकरण लगायतका विषयहरूमा हाल केही असमन्जस्यता देखिएता पनि समयसँगै यस बैंकले सोमा परिपक्वता र अनुभव प्राप्त गर्दै जानेछ । वाणिज्य बैंकहरूले आफ्नो पोर्टफोलियो समय, लगानीको क्षेत्र लगायतमा विभाजन गर्छन्, तपाईँहरूलाई त्यो छुट छैन, जोखिम कम गर्ने तपाईको रणनीति चाहिँ के हो ? हाम्रो पोर्टफोलियो भनेको कर्जा लगानीतर्र्फ पूर्वाधारको कुन क्षेत्रमा कती लगानी गर्दा जोखिम व्यवस्थापनको दृष्टिकोणले जोखिमलाई विविधिकरण गर्न सकिन्छ भन्ने हो र सोका लागि पूर्वाधारको लागि गहन विश्लेषण र छनोट मापदण्ड तयार गरी लागू गरिएकोछ । यसैगरी दायित्व तर्फ स्रोत संकलनका कस्ता उपकरणहरूले बैंकलाई व्याजदरको जोखिम न्यून गर्न सकिन्छ । सोको मूल्यांकन गरी सोही बमोजिम दायित्व तर्फको मिश्रण तयार गर्ने गरिन्छ । क्षेत्र र उपकरण फरक भएपनि जोखिम र पोर्टफोलियो व्यवस्थापनको विधि हाम्रो र वाणिज्य बैंकहरूको उस्तै उस्तै हो ।
यसै वर्षदेखि बचत र ऋणकाे व्याजदर अन्तर १ प्रतिशतमा झार्छाै : तुलसी गौतम
तुलसीप्रसाद गौतम कर्मचारी सञ्चयकोषका प्रशासक हुन् । २०७५ साल बैशाख १० गते कोषको प्रशासकको रुपमा नियुक्ति पाएका उनले कोषमा करिब डेढ बर्ष नेतृत्व सम्हालिसकेका छन् । नेपाल सरकारको सहसचिव हुँदैगर्दा कोषमा आएका उनी त्यसअघि राष्ट्रिय योजना आयोगमा थिए । मंगलबार कर्मचारी सञ्चय कोष ५८ औं वर्षमा प्रवेश गरेको छ । हाल निजामति कर्मचारी, सेना, प्रहरी र निजी क्षेत्रका कर्मचारीहरुको समेत सञ्चयकोषले ५८ औं वार्षिकोत्सव मनाउँदैगर्दा कोषको समग्र वित्तीय अवस्था, चुनौती र भावी योजनाका सम्बन्धमा केन्द्रित भई गरिएका विकास बहस प्रस्तुत गरिएको छ । तपाईँ कर्मचारी सञ्चयकोषको प्रशासक भएर आउनु भएको पनि डेढ वर्ष हुन लाग्यो, तपाईँ आएपछि कोषमा भएका सुधारहरु के के हुन् ? कर्मचारी सञ्चकोषमा म आउनुअघि मैले नेपाल सरकार अर्थ मन्त्रालयमा आफ्नो कार्यकालमा सुधार गरिने कार्ययोजना बारे फेहरिस्त प्रस्तुत गरेको थिएँ । त्यसमा धेरै विषय थिए, जसमध्ये ४/५ ओटा विषयहरु बढी महत्वपूर्ण छन् । खासगरी, संस्थागत सुधार, जनशक्ति व्यवस्थापन, पारदर्शिता, विधि र प्रक्रियागत स्पष्ठता र चुस्तता, वित्तीय स्वास्थ्य सुधार, सञ्चयकर्ताको मुनाफा र उनीहरुको सामाजिक सुरक्षाको प्रत्याभुति र आर्थिक वृद्धिमा सहयोग गर्नेगरी कोषको स्रोतहरुलाई सरकारको प्राथमिकताअनुसार आवश्यक पूर्वाधार क्षेत्रमा लगानी गर्ने विषय समावेश छन् । संस्थागत सुधारअन्तर्गत कर्मचारी सञ्चय कोषको पुनर्संरचना गरिएको छ । पहिले कर्मचारी सञ्चयकोषको सबै प्रदेशमा शाखाहरु थिएन्न, हामीले गत वर्षनै हामीले सबै प्रदेशमा शाखा पुर्यायौं । यो वर्ष नै हामीले ४ ओटा प्रदेशमा संस्थाको आफ्नै भवन बनाउने तयारी गरेका छौं भने आफ्नै जग्गा नभएका २ ओटा प्रदेशमा जग्गा प्राप्ति गर्ने गृहकार्य अघि बढाएका छौं । लामो समयदेखि अन्यौल रहेको काठमाडौं मल र लगनखेलको विल्डिङमा भएको भाडाको विवादलाई हामीले एक किसिमले टुङ्ग्याएका छौं । पुरानो भाडा बैंक ग्यारेन्टीबाट असुल उपर गरेर पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढिसकेको छ । अघिल्ला वर्षहरुमा बाँकी रहेको भाडामध्ये म आएपछि मात्रै ४८ करोड असुल उपर भइसकेको छ । म यहाँ आएपछि हामीले लगानी विविधिकरण गर्ने प्रयास गरेका छौं । पूर्वाधार परियोजनाहरुमा हाम्रो लगानी वृद्धि भएको छ । देशकै ठूलो सिमेन्ट उद्योगको रुपमा स्थापना हुन लागेको होङ्सी सिमेन्टमा हामीले लगानी गरेका छौं, यो निजी क्षेत्रबाट लगानी भएको सबैभन्दा ठूलो सिमेन्ट उद्योग पनि हो । हामीले हाम्रै लगानीमा बन्दै गरेका हाइड्रोपावरहरुको स्रोतको सुनिश्चितताका लागि समेत काम गरेका छौं । हामीले लगानी गरेका ७२६ मेगावाट क्षमताको ४ ओटा आयोजनाहरु कोही यही वर्ष र केही अर्को वर्षसम्म निर्माण सम्पन्न हुँदैछन् । तीमध्ये ४५६ मेगावाटको अपर तामाकोशी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी र साञ्जेन ५७ मेगावाट क्षमताका छन् । हामीले अहिले केही नयाँ हाइड्रोपावरमा लगानी गर्ने तयारी गरेका छौं । वेतन कर्णाली हामी आफैंले बनाउन लागेको परियोजना हो, यसको सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त गरी डीपीआर निर्माणमा जुटेका छौं, यही डिसेम्बरसम्म डीपीआरको रिपोर्ट पनि आइपुग्छ, त्यसपछि निर्माण सुरु हुने प्रक्रियामा जान्छ । वेतन कर्णालीका लागि हामीले ८ अर्ब ४० करोड सञ्चयकर्ताको तर्फबाट जुटाउनुपर्नेमा गत आर्थिक वर्षमा नै ४ अर्ब ४० करोड रुपैंया जम्मा गरिदिएका छौं । हाम्रो सहप्रशासकलाई नै आयोजनाको प्रबन्ध निर्देशक बनाएर पठाएका छौं । हामीले यो अवधिमा गरेको अर्को महत्वपूर्ण काम भनेको सूचना प्रविधिको क्षेत्रमा गरिएको सुधारको प्रयास हो । यसमा हामीले हाम्रो आवश्यकता के हो भनेर पहिचान गर्न एउटा टीम खटाएका थियौं, अहिले त्यो टीमले रिपोर्ट दिइसकेको छ, यसैको आधारमा आईटी क्षेत्रमा सुधार गर्ने प्रयासमा छौं । अघिल्लो वर्षसम्म सञ्चयकोषमा अर्को महत्वपूर्ण चुनौती भनेको हिसाबको रिकन्सिलेसनको हुन्थ्यो । बैंक र हाम्रो हिसाबको रिकन्सिलेसन नमिल्दा कहिले यो रकम कहिले ५/६ अर्बसम्म तलमाथि हुन्थ्यो । तर अहिले हामीले त्यसलाई नेपाल क्लियरिङ हाउससँग मिलेर व्यक्तिको बैंक खातामा पैसा जम्मा हुनुअघि नै क्लियरिङ गरेर मात्रै लेखांकन गर्ने गर्यौं, यसले गर्दा असार मसान्तसम्म यस्तो रकम ३०/३५ करोड रुपैंयामा झर्यो । अर्को वर्षदेखि यो समस्या शुन्यमा झर्छ । यी समग्र कामहरुमा भएको प्रगतिका कारण हामीले सञ्चयकोषमा आएपछि गरेका प्रयास र हासिल गरेका उपलब्धिप्रति सन्तुष्ट हुनसक्ने अवस्था छ । तपाईँहरुको समग्र वित्तीय अवस्थाचाहिँ अहिले कस्तो छ ? अघिल्लो वर्ष असारमा हाम्रो स्रोत जम्मा ३१२ अर्ब थियो । यो वर्ष यो आकार ३४६ अर्ब पुगेको छ । एक वर्षमा ३४ अर्बको स्रोत बढ्नु भनेको ठूलो रकम हो । हामीले लगानीकर्तालाई ८.२५ प्रतिशत ब्याजदर दिने र उनीहरुसँग ९.५ प्रतिशतमा कर्जा सापटी दिने व्यवस्था गर्दै आएका छौं । म आउँदा हाम्रो सञ्चयकर्तामा भएको कुल लगानी ५९ प्रतिशत रहेको छ भने बाँकी ४१ प्रतिशत पूर्वाधार र अन्य क्षेत्रमा लगानी गरेको अवस्थामा थियौं र त्यसलाई ५० प्रतिशतमा झार्ने लक्ष्य लिएका थियौं । यो असार मसान्तमा यो आकार ५३ प्रतिशतमा झरिसकेको छ । यसले लगानी विविधिकरण गर्ने र पूर्वाधार क्षेत्रमा लगानी बढाउन सहयोग गर्यो । केही रकम शेयरमा पनि लगानी थप गरेका छौं । स्रोतको रकम विस्तार हुँदैगर्दा हामीले लगानीको विविधिकरण गर्दै सञ्चयकर्ताहरुलाई उचित सुविधा र प्रतिफलको सुनिश्चितता गर्दैजान्छौं । तपाईँले होङ्सी सिमेन्टमा लगानी गर्यौं भन्नुभयो, यसको लगानी सुरक्षा र प्रतिफलको ग्यारेन्टीबारे कत्तिको विश्वस्त हुनुहुन्छ ? हामी विश्वस्त छौं । हामीमात्रै होइन, हामीसँगै लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरु समेत यसमा विश्वसनीय हुनसक्ने अवस्था छ । पहिले यो आयोजनामा १६ अर्ब लगानीको अनुमान गरिएको थियो त्यसो हुँदा हामीले २ अर्ब लगानी गर्नुपथ्र्यो तर ७ अर्बको स्रोत उनीहरुले आफैं व्यवस्थापन गरेकोले अहिले जम्मा ९ अर्ब मात्रै लगानी गर्नुपर्ने भयो जसमा हामीले १ अर्ब १८ करोड मात्रै लगानी गरे पुग्ने अवस्था आयो । यो लगानीमा अब असोजदेखि नै भुक्तानी सुरु हुन्छ । तपाईँहरुले वायुसेवा निगममा गर्नुभएको लगानी त डुब्ने भयो होइन ? डुबेको छैन । हामी कति क्षणिक रुपमा हेर्छौं भन्ने कुरा हो । यो ऋण साग खेती गर्न दिएको होइन जहाँ साग टिपिसकेपछि यो सिजनमा भएन भने अब हुँदै हुँदैन भन्ने होइन । ४० औं वर्ष चल्ने नेपाल एयरलाइन्सलाई नेपाल सरकारको ब्याजसहितको ग्यारेन्टीमा ऋण दिएको ऋण भएकोले त्यो डुब्ने भन्ने प्रश्नै आउँदैन । अर्को, कुरा त्यसको सुधारका लागि प्रक्रिया अघि समेत बढेको छ । पहिले न्यारोबडीमा लगानी गर्दा पनि हामीलाई त्यस्तै आरोप आएको थियो । तर त्यसको किस्ता त नियमित रुपमा भुक्तानी भएको थियो । हामीले आयल निगममा पहिले लगानी गर्दा त्यस्तै विवाद भएको थियो तर निगमले राम्रोसँग भुक्तानी गर्यो अहिले उसको अवस्था राम्रो छ । त्यसैले कुरा प्रणाली सुधार गर्ने हो, हामी अब त्यतातिर केन्द्रित हुनुपर्छ । २०७२ सालमा निगम सुधारका लागि ३ ओटा निर्णय भएका थिए, पार्टनर खोज्ने, प्रविधिमा सुधार गर्ने र विमान किन्ने । तर, तेस्रो निर्णय मात्रै कार्यान्वयन भयो । अब पहिले पछाडि परेका कुराहरुलाई अगाडि ल्याउनुपर्छ भन्नेमा हाम्रो प्रयास केन्द्रित छ । सामाजिक सुरक्षा कोषको उपस्थितिपछि तपाईँहरुको बजार पोजिसन के हुन्छ भन्ने सम्बन्धमा अनेक टिकाटिप्पणी भइरहेका छन्, यसले तपाईँहरुको चुनौती कति थप्छ ? सामाजिक सुरक्षा कोष लागु हुने भनेको निजी क्षेत्रको लागि मात्रै हो । त्यो क्षेत्रका सञ्चयकर्ता हामीकहाँ १ लाख जना भए पनि रकमका हिसाबले यो २४/२५ अर्ब रुपैंया मात्रै हो जुन ८ प्रतिशत मात्रै हो । त्यो पैसा पनि तत्कालै बाहिर जाँदैन । दोस्रो कुरा, यो वर्ष हाम्रो स्रोत संकलन हुने क्षेत्रहरु विस्तार भएका छन् । संघीय प्रणाली कार्यान्वयनमा आएसँगै तीन तहका सरकारी कर्मचारी, सेना, प्रहरी समेत गरी ५०/६० हजार जना कर्मचारी बढ्दैछन् । त्यो संख्या हामीमा थपिन्छ । अर्को कुरा अब कर्मचारी सञ्चय कोषले सञ्चयकोष मात्रै नभएर पेन्सन समेत व्यवस्थापन गर्छ । यसै वर्षदेखि लागु भएको योगदानमा आधारित निवृत्तिभरण योजनाले सञ्चालन गर्दैछ । यसले झनै ठूलो दीर्घकालिन कोषको सिर्जना गर्छ । यसअघि सञ्चय कोषले उपदान स्वरुप कर्मचारी अवकाश हुँदा पुरै पैसा फिर्ता जान्थ्यो, अब त्यो एकैपटक नजाने भयो । अब सरकारी कर्मचारीको २० प्रतिशतको योगदान बढेर ३२ प्रतिशत पुग्दैछ । यसले गर्दा १२ प्रतिशत कोष वार्षिक रुपमा यसबाट समेत वृद्धि हुन्छ । त्यसैले हाम्रो स्रोतमा चुनौती आउने नभई झनै समृद्ध हुँदैजान्छ । भनेपछि निजी क्षेत्र बाहिरिने भयो भनेर सञ्चय कोषलाई कुनै चिन्ता छैन त ? हामीले भनेको नेपाल सरकारले गरेको व्यवस्थाअनुसार काम गर्ने हो । यसले कोष व्यवस्थापनमा तत्काल केही असर गरे पनि दीर्घकालमा चाहिँ कुनै असर गर्दैन । हामी नेपाल सरकारको सञ्चयकोष र निवृत्तिभरण व्यवस्थापन गर्नेगरी हामी विशिष्टिकृत बन्छौं । पहिले निजी क्षेत्रको सञ्चय गर्ने संस्था थिएन, त्यसैले हामीले त्यसको जिम्मेवारी लिएका थियौं । अब सामाजिक सुरक्षा कोष आएपछि त्यो जिम्मा सामाजिक सुरक्षा कोषले नै लिन्छ । ५८ औं वार्षिकोत्सव मनाउँदैगर्दा यो वर्ष सञ्चयकर्ताका लागि के कस्तो स्कीमहरु आउँदैछ ? हामीले गत वर्ष नै ठूलो स्कीम ल्यायौं । सामान्य रोगको लागि १ लाख र ठूला रोगको लागि १० लाखसम्मको उपचार खर्च बीमा सुविधा अघिल्लो वर्ष हामीले ल्याएका थियौं । अघिल्लो वर्ष नै हामीले दुर्घटना बीमाको रकम पनि बढायौं । त्यसैले हरेक वर्ष सुविधा बढाउनसक्ने अवस्था हाम्रो छैन । विस्तारै हाम्रो स्रोत व्यवस्थापन भएपछि हामी नयाँ सुविधाहरु थप गर्दै जान्छौं । हामीले अहिले व्यवस्थापनमा लाग्ने खर्चको मार्जिनलाई विस्तारै घटाउँदै गएका छौं । पहिले हामीले यो अन्तर १.५ प्रतिशत थियो, अब यो १.२५ प्रतिशतमा झरेको छ । पहिले बचतको ब्याज ८ प्रतिशत थियो, यो ८.२५ प्रतिशत पुर्याएका छौं । तर ऋणको ब्याजदर भने ९.५ प्रतिशत नै छ । हामीले यो अन्तरलाई घटाएर अर्को वर्षसम्म १ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएका छौं । यसले गर्दा सञ्चयकर्ताहरुलाई फाइदा नै हुन्छ ।
बीमा क्षेत्रमा अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छः सुद्युम्न उपाध्याय
निर्जीवन बीमा व्यवसायमा प्रिमियर इन्स्योरेन्स कम्पनीले २५ वर्षको यात्रा तय गरिसकेको छ । कम्पनीले यस अवधिमा राम्रो प्रगति गरिरहेको छ, गतवर्ष ४८ प्रतिशतले नाफा बृद्धि गरेको छ । जसरी कम्पनीले वर्सेनि ग्रो गरिरहेको छ, त्यसरीनै कम्पनीलाई अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गरेका छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न उपाध्यायले । बीमा बजारमा प्रिमियर इन्स्योरेन्सको अवस्था सहित समग्र बीमा क्षेत्रका बारेमा सीईओ उपाध्यायसँग विकासन्युजका लागि नबिन पोखरेलले गरेको विकास बहस । प्रिमियर इन्स्योेन्स कम्पनीको गत आर्थिक बर्षको वित्तीय नतिजा कस्तो आयो ? हाम्रो गत आवको वित्तीय नतिजा सन्तोषजनक आएको छ । हामीले १ अर्ब ६४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छौँ । अघिल्ला वर्षमा जस्तो प्रिमियमको बृद्धि आकर्षक छैन । यसरी आकर्षक नहुनुमा चाँही हामीले विजनेशहरु छनोट गरेको कारणले गर्दा हो । वृद्धि चाँही हामीले सोचेको अनुसार नै भइरहेको छ । कम्पनीको बीमा शुल्क आम्दानी अघिल्लो बर्षको तुलनामा करिव साढे ६ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । बीमा बजारको औषत वृद्धि भन्दा पनि प्रिमियरको वृद्धि कमजोर देखियो, किन ? हामीले कुल कति व्यवसाय वृद्धि गर्यौ भन्ने कुरामा केही कमी भएपनि हाम्रा सूचाङ्कलाई छुट्याएर हेर्दा वृद्धि कमजोर देखिदैन । हामी व्यवसाय वृद्धिमा मात्र केन्द्रित भएका छैनौँ । व्यवसाय वृद्धि हुने कुरालाई पनि २ तरिकाबाट हेर्न सकिन्छ । एउटा व्यापारको दायरा बढाउने, अर्को चाँही भएको नाफामा वृद्धि गर्ने । अहिले हाम्रो नाफाको अवस्था राम्रै छ । अघिल्लो आव भन्दा गत आवमा बीमा पोलिसी संख्या नै ८ हजार कम जारी भएको देखियो, किन ? हाम्रो कम्पनीको बीमा पोलिसी संख्या ८ हजार कम जारी हुनुमा हामीले केही बिजनेश घटाएका कारणले गर्दा हो । यो हाम्रो नीति हो । नेपालमा भएका अन्य बीमा कम्पनीहरुले समेत आवश्यकता अनुसार १५ हजार देखि २ लाख पोलिसी जारी गरेका छन् । व्यापार वृद्धि कम भएपनि नाफा वृद्धि ४८ प्रतिशत देखिन्छ । कसरी यस्तो भयो ? हामीले व्यापार वृद्धि गर्दा औषत रुपमा नाफामा चाँही जानै पर्छ भन्ने रणनीति अपनाएका हौँ । सोही कारण व्यापार वृद्धि घट्दा नाफा वृद्धि बढ्न पुगेको हो । उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो । नाफा वृद्धि त देखिन्छ । तर, पूँजी वृद्धिको कारण प्रतिसेयर आम्दानी २८ रुपैयाँबाट २२ रुपैयाँमा झरेको छ । प्रतिसेयर आम्दानी उच्च कायम राख्न कम्पनीले कस्तो रणनीति लिएको छ ? कम्पनीले गत वर्षबाट टप भन्दा बटम लाइनमा केन्द्रित भएर काम गरेको छ । पहिले पहुँच बढाउन काम गर्यौ। अहिले हामीले गुणस्तरमा ध्यान दिएका छौं, सोही कारण हाम्रो सूचाङ्क कही कतै फरक देखिन सक्छन् । चार महिना अगाडि प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य १२८० रुपैयाँ थियो । हाल ३९० भन्दा तल गयो । किन यस्तो भयो ? हाल सम्पूर्ण सेयर बजारको मूल्य नै घट्दो क्रममा छ । सोही कारण प्रिमियरको सेयर मूल्यपनि घटेको हो । तर पनि अन्य कम्पनीसँग तुलना गर्दा हाम्रो अवस्था त्यति नराम्रो छैन । बीमा दावी भुक्तानी हुन बाँकी रकम असार मसान्तसम्ममा १ अर्ब ९३ करोड रुपैयाँ देखियो । यति ठूलो रकम किन पेण्डिङ्गमा बस्यो ? अन्य कम्पनीको तुलनामा हाम्रोमा प्रोजेक्ट विजनेश छ, सो कारण हाम्रो भुक्तानी हुन बाँकी रहेको देखिएको हो । पछिल्लो समय बाढीका कारण हाइड्रो पावरमा क्षति पुग्न गयो । तरपनि हाम्रो नेटमा लायवलिटी नराम्रो देखिने अवस्था छैन । हामीले पुनर्बीमा पनि गरेका छौँ । नेट लायवलिटी बढेको छैन । गत बर्ष नै तपाईँहरुले एनएफआरएस अनुसार वार्षिक प्रतिवेदन तयार गरिसक्नु भयो । तर, असार मसान्तको चौमासिक प्रतिवेदन किन एनएफआरएस अनुसार प्रकाशित गर्नु भएन ? अहिले वार्षिक प्रतिवदेन एनएफआरएस बन्याे । अब क्रमशः चाैमासिक प्रतिवेदन पनि साेही डाँचामा बन्छ । प्रायः सबै कम्पनीहरुले बोनस सेयरमा लाग्ने कर बापतको रकम नगद लाभांशबाट दिन्छन् । तपाईँहरुले सेयरधनीसँग बोनसमा लाग्ने कर रकम संकलन गर्नु भयो । यसले लगानीकर्तालाई झण्झट भयो नि ? बीमा समितिको नियम अनुसार एनएफआरएस र एनएसको व्यालेन्स मिलाउँदा वितरण गर्न नमिल्ने भएका कारण हामीले नदिएका हौँ । कम्पनीले दिन भने सक्ने अवस्था छ । गत आवको साधारण सभा कहिलेसम्म हुन्छ ? गत आवको साधारण सभा पुस मसान्तसम्म गर्नेछौँ । एनएफआरएसका कारणले गत वर्षमा केही ढिलाई भएको थियो । यसपालि ढिला हुन्न । कम्पनीका नयाँ योजना तथा वार्षिक योजनाहरु के छन् ? गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ । बजारमा नयाँ भन्दा पनि इन्जिनियरिङ्ग बीमा सम्बन्धि बीमाको आवश्यकता छ, हामीले सोही अनुसार काम गर्छौ । गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ । उपभोक्ताले प्रिमियर इन्स्याेरेन्स कम्पनी नै छान्नु पर्ने कारण चाँही के हो ? उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो । २५ वर्ष पुरानो कम्पनी हो । हरेक सूचक राम्रो रहँदै आएका छन् । सोही कारण हाम्रोमा विश्वास गर्ने थुप्रै आधारहरु छन् । नौला प्रडक्ट यहाँहरुले बजारमा के दिनु भयो ? नौलो प्रडक्ट निर्जीवन बीमामा ल्याउन जीवन बीमा व्यवसायमा जस्तो सजिलो छैन । तर, बजार विकास गर्न केही समय लाग्छ । पछिल्लो समय बीमा कम्पनीहरुमा कर्मचारी टर्न ओभर धेरै छ । यस कम्पनीमा कस्तो अवस्था छ ? हाम्रोमा न्यून छ । कम्पनीको स्थापनाको दिन देखि हालसम्म २ जना मात्र सिईओले काम गरेका छन् । हाम्रा शाखा प्रमुखहरु नै २५ वर्ष यहि काम गर्न सफल हुनु भएको छ । सोही कारण हाम्रो कम्पनीमा कर्मचारीहरु अन्य कम्पनीमा जाने काम छ । कर्मचारीको क्षमता विकासमा कम्पनीले के–के काम गरिरहेको छ ? कर्मचारीको क्षमता विकासका लागि हामीले स्वदेशी तथा विदेशी तालिममा समेत सहभागी गराउँदै आएका छौँ । अतिरिक्त सुविधा के छ ? बीमामा अतिरिक्त सुविधा भन्ने त हुँदैन । हामीले ट्यारिफ अनुसार काम गर्नुपर्छ । सस्तो प्रिमियममा समेत काम गर्दैनौं। तर, हामीले बीमाको गुणस्तरमा भने ध्यान दिँदै आएका छौँ । सिईओको नजरबाट समग्र बीमा बजारको अवस्था हेर्दा कस्तो पाउनु हुन्छ ? बीमा बजार विश्वासमा चल्ने हो । हामीले जसलाई क्लेम पर्छ, उसको लागि नै सेवा गर्न आवश्यक हुन्छ । बजारमा सबैभन्दा काम गर्न आवश्यक कुरा भनेको इमान्दारिता र धैर्यता हो । बीमा बजारमा सेल्स भन्दा आफ्टर सेल्स (पोलिसी बेच्दा भन्दा बेचिसकेपछि)को अवस्था महत्वपूर्ण मानिन्छ । बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् । बीमा समितिको नियमन कसरी अघि बढिरहेको छ ? बीमा समितिको नियमन राम्रोसँग अघि बढिरहेको छ । एक किसिमले भन्ने हो भने हाम्रो जस्तो भरपर्दो नियमनकारी निकाय अन्य क्षेत्रमा छैन जस्तो लाग्छ । बजार विकासको क्रममा भएकाले कम्पनी र नियामकमा परिपक्कता पनि आउने क्रममा छ । तर यस्तो अवस्थमा बीमा समितिले खेल्नु पर्ने भूमिका भने सन्तोषजनक नै छ । साथै, बीमा कम्पनीहरुले पनि आफ्नो तर्फबाट गरेको कामलाई राम्रो मान्न सकिने अवस्था छ । पछिल्लो समय बीमा बजारमा मर्जरको कुरा चलिरहेको छ, यसलाई कसरी हेर्नु हुन्छ ? बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् । एक तहको साईकल पूरा गरेपछि मर्जरमा जान आवश्यक हुन्छ । अहिले मर्जरमा जान बीमा कम्पनीहरुको संख्या धेरै हुनुलाई कारण मान्न सकिन्छ । अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छ ।