ठूलो अवरोध र आलोचनाबीच बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउन सफल भयौं- गभर्नर डा चिरञ्जीवि नेपाल 

बैंकिङ क्षेत्र अरु क्षेत्रको तुलनामा बढी व्यवसायिक, पारदर्शी र विकसित छ । यस क्षेत्रमा ठूलो पुँजी लगानी भएको छ । प्रविधिको प्रयोगमा पनि बैंक/फाइनान्स अगाडि छन् । ट्यालेन्ट र ट्रेन जनशक्ति पनि यो क्षेत्रमा बढी छन् । नियामक निकाय पनि अधिकार सम्पन्न र सशक्त छ ।  यद्यपि समस्या र चुनौतिहरु धेरै छन् । केन्द्रीय बैंक समेत अपर्याप्त जनशक्ति, कमजोर पूर्वाधार र पुरानो प्रविधिमा चलिरहेको छ । नीतिगत अस्थीरता, लगानीको प्राथमिकता, भौगोलिक समावेशीता, वित्तीय पहुँचको विस्तार लगायतका विषयमा धेरै प्रश्नहरु छन् । बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवाको गुणस्तर, व्याजदरमा भएको अस्थीरता, संस्थागत सुशासन, प्रविधिको दुरुपयोग, सञ्चालन जोखिम लगायत धेरै विषयमा प्रश्नहरु उठिरहेका छन् ।यस पृष्ठभूमि तथा नेपाल राष्ट्र बैंकको ६३ औं वार्षिकउत्सवको सन्दर्भमा विकासन्युजका प्रधान सम्पादक रामकृष्ण पौडेलले उठाएका सात प्रश्न र नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालको जवाफ यस पटकको विकास वहसमा । नेपाल राष्ट्र बैंकले आफ्नाे नियामक क्षमता वृद्धि गर्न, राष्ट्र बैंक आफैमा भौतिक पूर्वाधारले सम्पन्न बन्न र आधुनिक प्रविधियुक्त बन्न के के प्रयास भइरहेका छन् ? मुलुकको अर्थतन्त्र एवम वित्तीय क्षेत्रको विस्तार लगायत अन्तर्राष्ट्रिय आर्थिक गतिविधिमा आएको परिर्वतनसँगै केन्द्रीय बैंकले पनि आफ्नो नियामकीय क्षमता अभिवृद्धि गर्दै जानुपर्छ । जहाँसम्म नेपाल राष्ट्र बैंकको सबाल छ, त्यसमा हामीले समयसापेक्ष रुपमा सुधार गर्दै लगेका छौ । नियामक क्षमता अभिवृद्धि गर्न कानूनी, संस्थागत एवम् व्यवस्थापकीय सुधार आवश्यक हुन्छ । तपाईंले हेरिसक्नु भएको होला, पछिल्लो समयमा वित्तीय क्षेत्रसँग सम्बन्धित धेरै महत्वपूर्ण कानूनहरुमा संशोधन भएका छन् । उदाहरणको लागि नेपाल राष्ट्र बैंक ऐनमा संशोधन भएको छ भने बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐन पारित भई कार्यान्वयनमा आइसकेको छ । यी ऐनहरु लागू भएसँगै नेपाल राष्ट्र बैंकको नियामकीय क्षमता थप सबल बनेको छ । यसका साथै नियमन व्यवस्थालाई अझ प्रभावकारी, पारदर्शी एवम् अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तुल्याउन हामीले विद्यमान निर्देशिका एवम् समष्टिगत विवेकशील नियमनका व्यवस्थाहरु आवश्यकता अनुसार परिमार्जन गरी लागू गर्दै आएका छौ । उदाहरणका लागि हामीले बासेल ३ मा आधारित पूँजीकोष व्यवस्था, क्यापिटल कन्जरभेसन वफर, प्रतिचक्रीय वफर, तरलताका आधारमा शीघ्र सुधारात्मक कारबाही लगायतका व्यवस्थाहरु लागू गरेका छौ । त्यसैगरी, विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र नियमित गर्न आवश्यक निर्देशनहरु जारी गरेका छौ । अर्कोतर्फ, वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धिका लागि हामीले संस्थागत एवम् व्यवस्थापकीय पक्षलाई समेत उत्तिकै महत्व दिंदै आएका छौं । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्थापनका लागि हामीले छुुट्टै डेस्क खडा गरी अधिकांश संस्थाहरु कुशल रुपमा संचालन गर्ने अवस्थामा पुर्याएका छौ । त्यसैगरी, अध्ययन, तालिम, अन्तरक्रिया, सेमिनार आदिका माध्यमबाट नियमन तथा सुपरिवेक्षण कार्यमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि गर्ने कार्यलाइ हामीले उच्च प्राथमिकता दिंदै आएका छौ । जहाँसम्म नेपाल राष्ट्र बैंकको भौतिक पूर्वाधारको सवाल छ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा वालुवाटार तथा थापाथलीस्थित भवनका अवशेषहरु हटाउने कार्य सम्पन्न भई अब नयाँ भवन निर्माणको कार्य प्रारम्भ हुन लागेको छ । आधुनिक प्रविधितर्पm, अन्तर्राष्ट्रिय स्तरमा नभएपनि हाम्रै परिवेशमा भने हामी विस्तारै फड्को मार्दैछौ । हामीले सिङ्गल विण्डोमार्फत अनलाइन डाटा प्राप्त गरी मौद्रिक तथा वित्तीय उपकरणको प्रयोग एवम् तथ्याङ्क संकलन कार्यलाई छिटो, छरितो एवम् गुणस्तरीय बनाउन आवश्यक सफ्टवेयर निर्माण गर्दैछौ । त्यसैगरी, हाम्रा तथ्याङ्क/अभिलेखलाई सुरक्षित राख्न अत्याधुनिक डाटा रिकोभरी साइट निर्माणको कार्य सम्पन्न भएको छ भने रियल टायम ग्रस सेटलमेण्ट सिस्टमको कार्य हुँदैछ । समग्रमा, हामीले आधुनिक प्रविधिको प्रयोगमार्फत संस्थागत लगायत समग्र वित्तीय प्रणालीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छौं । नेपाल राष्ट्र बैंकका कर्मचारीले ३० वर्षमा अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था किन हटाउन खोजिएको हो ? कर्मचारीका सेवा सुविधाका सम्बन्धमा समयसापेक्ष रुपमा नियमहरु बन्दै जान्छन् र त्यसमा आवश्यकतानुसार परिमार्जन पनि हुँदै जान्छन् । त्यसलाई हामीले स्वभाविक रुपमा लिनु पर्दछ । जहाँसम्म नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधिको सवाल छ, एकै पटक ठूलो संख्यामा कर्मचारी अवकाश हुँदा दैनिक कार्यमा पर्न सक्ने प्रभाव, एकल अवकाश नीतिको अवधारणा एवम् कर्मचारीहरुको माग समेतलाई दृष्टिगत गरी बैंकको संचालक समितिले ३० वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश हुने व्यवस्था हटाई ५८ वर्षे उमेर हदबाट मात्र अवकाश हुने नीतिगत व्यवस्था लागू गर्ने निर्णय गरेको थियो । तर यस सम्बन्धमा लोकसेवा आयोगको समेत परामर्श लिनुपर्ने संवैधानिक व्यवस्था रहेको र  लोक सेवा आयोगले हाललाई उक्त व्यवस्था यथावत कायम राख्ने सुझाव दिएको सन्दर्भमा हामीले यसलाई निरन्तरता दिएका छौ । मुलुक संघीय संरचनामा जाँदा राष्ट्र बैंकको संरचना र अधिकारमा के कस्तो परिमार्जन हुँदैछ ? प्रदेशको भौगोलिक अवस्थिति अनुरुप हाम्रो उपस्थिति,  कार्यक्षेत्रको दायरा एवम् भूमिकामा भने परिमार्जन हुन सक्छ । केन्द्रीय बैंक सरकारको बैंक एवम् आर्थिक सल्लाहकार समेत भएकोले हामीले विगतमा प्रदान गर्दै आएको आर्थिक सल्लाहकारको भूमिकालाई अब केन्द्रबाट प्रदेश लगायत स्थानीय तहमा समेत बढाउँदै जानुपर्ने देखिन्छ । नेपालको संविधान, २०७२ ले केन्द्रीय बैंकको अधिकारका सम्बन्धमा स्पष्ट उल्लेख गरेको छ । संविधानको अनुसूची ५ मा केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ्ग तथा मौद्रिक नीतिलाई संघको अधिकार अन्तर्गत राखिएको छ । संघीय व्यवस्था लागू भएका विश्वका अन्य मुलुकहरुमा पनि केन्द्रीय बैंकिङ्ग सम्बन्धी अधिकार केन्द्रीय सरकारकै मातहतमा रहेको पाइन्छ । तसर्थ, संघीय संरचनामा जाँदा नेपाल राष्ट्र बैंकको अधिकारमा परिवर्तन हुँदैन ।  त्यसैगरी, केन्द्रीय बैंकको संरचना पनि यस्तै रहने हो । तर प्रदेशको भौगोलिक अवस्थिति अनुरुप हाम्रो उपस्थिति,  कार्यक्षेत्रको दायरा एवम् भूमिकामा भने परिमार्जन हुन सक्छ । केन्द्रीय बैंक सरकारको बैंक एवम् आर्थिक सल्लाहकार समेत भएकोले हामीले विगतमा प्रदान गर्दै आएको आर्थिक सल्लाहकारको भूमिकालाई अब केन्द्रबाट प्रदेश लगायत स्थानीय तहमा समेत बढाउँदै जानुपर्ने देखिन्छ । यसका लागि हाम्रा उपत्यका बाहिरका कार्यालयहरुको थप क्षमता अभिवृद्धि गर्दै लैजाने सोच रहेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत फागुन महिनामा मुद्रास्फीति उच्च दरले वृद्धि भएको देखियो । यसका कारणहरु के हुन् ? विगतमा उच्च मुद्रास्फीतिको मारमा परेका नेपाली उपभोक्ताहरुले डेढ वर्षदेखि केही राहत महसुश गरेका छन् । पछिल्लो समयमा आपूर्तिजन्य पक्षमा आएको सुधारसँगै मौद्रिक नीतिका नवीनतम उपकरणहरुको प्रयोगमार्फत तरलता व्यवस्थापन गर्ने गरिएकोले मुद्रास्फीति नियन्त्रित अवस्थामै रहेको छ । गत फागुन महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ६ प्रतिशत पुग्नुमा खासगरी तरकारी जन्य वस्तुहरुको उच्च मूल्यवृद्धि एवम् अघिल्लो वर्षको न्यून मूल्य आधार प्रभाव प्रमुख कारण रहेका छन् । चालु आर्थिक वर्षमा ६ प्रतिशतको मुद्रास्फीति उच्च नै देखिएता पनि विगत वर्षहरुको तुलानामा भने यो दर सामान्य नै हो । तथापि, आर्थिक वर्ष २०७४/७५ को आठ महिनामा औसत मुद्रास्फीति दर ४ प्रतिशत रहेकोले चालु आर्थिक वर्षमा औसत मुद्रास्फीति दर ७ प्रतिशतको प्रक्षेपित सीमाभन्दा कमै रहने देखिन्छ । कर्जा र निक्षेपको ब्याजदरमा निकै उतार-चढाव देखियो । यसलाई कसरी सन्तुलित बनाउने राष्ट्र बैंकको सोच तथा योजना छ ? वास्तवमा वित्तीय स्रोतको उपलब्धताकै आधारमा ब्याजदर तल माथि हुने गर्दछ । अर्थतन्त्रमा पर्याप्त मात्रामा वित्तीय स्रोत उपलब्ध भएको र त्यसको माग पनि कमजोर रहेको अवस्थामा ब्याजदर कम हुनु र वित्तीय स्रोतको उपलब्धता एवम् त्यसको मागमा समेत चाप परेको अवस्थामा ब्याजदर बढ्नु स्वभाविक हो । तर यसमा महत्वपूर्ण कुरा वित्तीय साधनको उपलब्धतामा आएको घटबढ ब्याजदरमा सही रुपमा प्रतिविम्बित भएको छ कि छैन भन्ने हो । ब्याजदर उच्च हुँदा निक्षेपकर्तालाई फाइदा हुने भए पनि उत्पादन लागत बढ्न गई समग्र आर्थिक वृद्धिमा प्रतिकूल प्रभाव पर्ने भएकोले यसतर्फ बढी सजग रहनुपर्ने हुन्छ । तसर्थ, कर्जाको ब्याजदर लगानीको आन्तरिक प्रतिफल दरभन्दा कमै हुने गरी वित्तीय स्रोत व्यवस्थापन गर्नेतर्फत हामी प्रयासरत छौ । पछिल्लो समयमा मुलुकमा राजनैतिक स्थायित्व कायम हुन गई एकातिर कर्जा लगानीको माग बढ्दै गएको र अर्कोतर्फ विप्रेषण आप्रवाहमा संकुचन आउनुका साथै आयात समेत उच्च दरले बढेकोले बैंकहरुको लगानी योग्य साधनमा चाप पर्न गई ब्याजदर बढेको अवस्था छ । अपारदर्शी तवरले निर्धारण हुने उच्च ब्याजदरका कारण उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह अबरुद्ध नहोस् भन्ने उद्देश्यले हामीले ब्याजदर स्प्रेड, आधार ब्याजदर लगायत ब्याजदरसँग सम्बन्धित थुप्रै नीतिगत व्यवस्थाहरु लागू गरेका छौ । उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह नरोकियोस् भन्नाका लागि हामीले पुनरकर्जा कोषलाई बढाउँदै लगेका छौ । नेपाल सरकारको समेत सहभागितामा करिब २० अर्बको पुनरकर्जा कोष स्थापना गरेका छौ । आगामी दिनमा उक्त रकम बढाउँदै लैजाने हाम्रो सोच रहेको छ । त्यसैगरी, पछिल्लो समयमा बैकिङ्ग क्षेत्रमा लगानीयोग्य साधनको अभावका कारण ब्याजदर थप बढ्न नदिन तथा कर्जाको उपलब्धता सुनिश्चित गर्न वाणिज्य बैंकहरुले विदेशबाट ऋण लिएर तोकिएको क्षेत्रमा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेका छौ । यसबाट आगामी दिनमा कर्जाको आपूर्ति सहज हुनगई ब्याजदर घट्ने अनुमान छ । यसका अतिरिक्त चालु आर्थिक वर्षदेखि हामीले ब्याजदर करिडोर पद्दतिलाई पूर्णता दिएका छौ । परिणामस्वरुप, अहिले अल्पकालीन ब्याजदरहरु करिडोरको सीमाभित्रै रहेका छन् । अल्पकालीन ब्याजदरहरु स्थायित्वतर्पm उन्मुख हुँदै गएको र यो प्रक्रिया क्रमिक रुपमा कर्जा तथा निक्षेपको ब्याजदरमा समेत प्रसारण हुँदै जाने विश्वास लिएका छौ । तर यसको अन्तराल प्रभाव (ल्याग इफेक्ट) पर्ने भएकोले केही समय हामीले कुर्नै पर्छ । ब्याजदर निर्धारण पद्दतिलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाउन बैंकहरुलाई निर्देशन दिने, सरकारले ब्याज अनुदानमा अघि सारेका कार्यक्रमहरुमा कर्जा प्रवाह विस्तार गर्न प्रोत्साहित गर्ने लगायतका कार्यहरुलाई हामी उच्च प्राथमिकता दिनेछौ । समग्रमा, उपयुक्त मौद्रिक व्यवस्थापनका माध्यमबाट कर्जा तथा निक्षेपको ब्याजदरमा आउने उतार चढाबलाई नियन्त्रण गर्न, उच्च ब्याजदरका कारण कर्जा प्रवाह अबरुद्ध नहुने वातावरण सृजना गर्न तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि आवश्यक मौद्रिक तरलता उपलब्ध गराउन नेपाल राष्ट्र बैंक सदैब प्रयासरत रहेको छ । यसका लागि आगामी दिनमा नेपाल सरकारसँग समेत सहकार्य गरी पुनरकर्जा कोषमा थप रकम सुनिश्चित गर्ने, पूँजीगत खर्च बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने, ब्याजदर करिडोरमार्फत तरलता व्यवस्थापनको कार्यलाई अझ प्रभावकारी बनाउने, निर्देशित कर्जा कार्यक्रमलाई थप सक्रिय तुल्याउने, ब्याजदर निर्धारण पद्दतिलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाउन बैंकहरुलाई निर्देशन दिने, सरकारले ब्याज अनुदानमा अघि सारेका कार्यक्रमहरुमा कर्जा प्रवाह विस्तार गर्न प्रोत्साहित गर्ने लगायतका कार्यहरुलाई हामी उच्च प्राथमिकता दिनेछौ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी बढाउनेतर्फ फेरी गृहकार्य भएको हो ? बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी बढाउने निर्णयलाई मैले नेपालको वित्तीय क्षेत्र सुधारको इतिहासमा निकै ठूलो उपलब्धि मानेको छु । तपाईंले थाहा पाउनु भएकै होला यो व्यवस्था लागू गर्दादेखि हालसम्म पनि हामीले निकै अवरोध र आलोचनाहरु खेप्नु प¥यो । तथापि, हामी यसमा सफल भएका छौ । अर्थतन्त्रको आकार एवम् संरचनामा आएको परिवर्तन, लगानीको आवश्यकता, प्रतिस्पर्धात्मक एवम् प्रतिरोधात्मक क्षमता, वित्तीय स्थायित्व, अन्तर्राष्ट्रिय वित्तीय आवद्धता लगायतका विषयहरुलाई विश्लेषण गरी हामीले दुई वर्षअघि बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि गर्ने नीति लागू गरेका थियौं । उक्त व्यवस्था अनुरुप विभिन्न उपायहरु अवलम्बन गरी अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले तोकिए बमोजिमको चुक्ता पूँजी कायम गर्न सफल भएका छन् भने केही पुर्याउने क्रममा रहेका छन् । पूँजी बढाउने सम्बन्धमा फेरि गृहकार्य शुरु भएको हो भन्ने तपाईंको जुन सबाल छ, हामीले अहिले नै त्यसतर्फ सोचेका छैनौ । बैंक तथा वित्तीय संस्थाहरुको मर्जर बारे राष्ट्र बैंकको नीति के हुन्छ ? बैंक तथा वित्तीय संस्थाहरुको पूँजीगत, वित्तीय एवम् व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्दै समग्र वित्तीय क्षेत्र स्थायित्व कायम गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्वीजिशन कार्यलाई प्रोत्साह गर्दै आएको छ । यस कार्यलाई थप व्यवस्थित बनाउन मर्जर सम्बन्धी विनियमावली, २०६८, प्राप्ति सम्बन्धी विनियमावली, २०७० तर्जुमा गरी लागू गरिएको थियो । पछि दुबै विनियमावलीलाई एकीकृत गरी मर्जर तथा एक्वीजिशन विनियमावली, २०७३ लागू गरिएको छ । यस बैंकले मर्जर तथा एक्वीजिशन प्रक्रिया शुरु गराएपश्चात् २०७४ चैतसम्ममा कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । मर्जर तथा एक्वीजिशन प्रक्रिया शुरु गराएपश्चात् २०७४ चैतसम्ममा कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको पूँजीगत आधार बलियो बनाउन, व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न तथा संस्थागत सुशासनमा सुधार ल्याई समग्र वित्तीय स्थायित्व हासिल गर्न सहयोग पुग्ने गरी मर्जर/एक्वीजिशनलाई प्रबद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको विगतको नीतिगत अडानलाई आगामी दिनमा पनि कायमै राखिने छ । तर मर्जर/एक्वीजिशनका कारण वित्तीय क्षेत्रमा एकाधिकारी प्रवृति सृजना हुन नदिने, वित्तीय सेवाको पहुँच तथा गुणस्तरमा कमी हुन नदिने, कर्मचारी व्यवस्थापनमा आउने समस्या लगायतका विषयमा भने हामी सचेत रहनुपर्ने देखिन्छ ।

पाँच लाखको संगम पाँच करोडमा पुग्यो, पछाडी फर्केर हेर्नु परेको छैन : संगम शर्मा

संगम स्वीटसका सञ्चालक संगम शर्माले शाकाहारी होटल खोल्छु भन्दा उनी हाँसोको पात्र बनेका थिए । सोही हाँसोलाई इखको रुपमा बदलेर उनले झापाको दमकमा संगम स्वीट सञ्चालनमा ल्याए । संगम स्वीट चल्छ भनेर सुरुमा कसैले पनि पत्याएका थिएनन् । तर, विस्तारै लोकप्रियता बढ्दै गएर चेन रेष्टुराँको रुपमा संगम विस्तार भएको छ । दुई दशकअघि पहिलो दमकमा ५ लाख लगानीमा स्थापना भएको संगमको अहिले राजधानीको नयाँवानेश्वर, कमलादी मुख्य-मुख्य स्थानमा मात्रै अहिले तीन वटा आउटलेट सञ्चालनमा छन् । राजधानीबाहिर दमक, विर्तामोड, उर्लाबारीमा तीन आउटलेट विगतदेखिनै सञ्चालनमा आइसकेका थिए । केही महिनाभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसमा अर्को आउटलेट सञ्चालनमा ल्याउने भएको छ । प्रस्तुत छ अवसर र भावी योजनाको सम्बन्धमा सञ्चालक शर्मासंग विकासन्युजले गरेको विकास बहस: संगम शर्मा, संस्थापक, निर्देशक-संगम स्वीट्स   संगम स्वीट सञ्चालनमा ल्याउनु अघि तपाइ के गर्नुहुन्थ्योे ? मैले सानोतिनो व्यवसाय गर्दै आएको थिए । व्यवसायमा संघर्ष गरिरहेको थिए । एउटा नहुँदा अर्को साना–साना व्यापार गरिरहन्थेँ । बीचमा केही समय निर्माण कम्पनीमा काम गरे । जागिर गर्दागर्दै पार्टटाइम व्यापार शुरु गरेको थिए । पछि पेटी कन्ट्याक्ट भएर काम गरे । संगम स्वीटको सुरुवात कसरी भयोे ? यसमा एकदम रोचक कहानी छ । म पहिले कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । त्यहाँ काम गर्दा भारतबाट कोइला ल्याएर बेच्ने समुहहरुसँग मेरो चिनजान भयो । त्यसपछि भारतबाट कोइला ल्याएर बेच्न शुरु गरेँ । मैले नेपालमा जहाँ–जहाँ कोइला बेच्थेँ त्यहाँ म नै साहु नै देखिन्थेँ । बास्तवमा म साहु थिइन । भारतबाट कोहीसँग उद्यारोमा कोइला ल्याएर यता बेच्थें । नेपालमा साहु म बने तर मेरो आफ्नै धेरै लगानी, पूँजी भएर गरेको भने थिइन । विश्वासको संस्कार सायद आमाले सानैदेखि दिनुभएर होला अहिले मेरो लागि त्यो अर्बौ रुपैयाँको भन्दा बढी मूल्यको भएको छ । भारतमा ठुला–ठुला पार्टीहरुले नेपालमा वस्तुहरुको बिक्री गर्ने गर्थे । त्यो सिलसिलामा भारतको ब्रिजकिशोर गुप्ताले मारुती कार किनेका रहेछन् । व्यवसायको सिलसिलामा धरान आउदै गर्दा बाटोमा कसैलाई गाडीले हानी दियो । विरामीलाई धरानको घोपा अस्पतालमा राखिएको थियो । त्यहाँ घोपामा उनीहरुलाई भारतीय भाषाको ज्ञान भएको मान्छेको खोजी थियो । त्यसो त बोर्डरमा पनि केशब पाण्डे, विमल आचार्यहरु थिए, क्लियरीङ एजेन्टको रुपमा काम गर्ने । उनीहरुले मलाई पनि लिएर धरान गए । मसँग पनि खास त्यस्तो केही थिएन । तर भाषा जान्ने भएको कारण सहज हुन्छ भन्ने लाग्यो होला उनीहरुले मलाई लिएर गए । घोपाबाट बिरामी हेरेर फर्कदा ठ्याक्कै दमकमा पुगेपछि बाटो बन्द भएको भन्ने खबर आयो । त्यसपछि हामी दमक गेस्ट हाउसमा बस्यौं । म शाकाहारी मान्छे त्यहाँ भेजिटेरियन होटल खोज्यौं भेटिएन । मैले त्यसअघि ननभेज होटलमा भेज खाना खाएको थिइन । विश्वासको आधारमा दमकको स्टाप होटलमा फ्रेस भेज खाना खाएँ । फेरी अर्को चरण बिरामी हेर्न धरानको घोपामा जानुप¥र्यो । उनको गाडी बेलबारी ठानामा थियो । उनलाई गाडी निकाल्ने चक्कर भयो । म फेरी उनैसँग गएँ । जाँदाखेरी दिउसो दमक पुगेका थियौं । बन्द भयो र जानै नसकिने भइयो । नखुल्ने संकेत आएपछि दमकमै बस्यौं फेरी ननभेज होटल खोज्यौं । दमकमा भेजिटेरीयन होटल भेटिएन । मेरो बानी मनको कुरा खोलिहाल्ने । मैले हिन्दीमै भने, ‘यस ठाँउमा सहकारी होटल खोल्छु । त्यो कुरा सुनेर उनीहरु हाँसे । शाकाहारी होटल भेटिएन भन्दैमा खोल्ने भन्ने कुराले हाँसे होला भन्ने लाग्यो । त्यो हाँसो मेरो लागि इगो बन्यो । सायद उनीहरु नहाँसेको भए भन्थे फेरी भोलिपल्ट बिर्सिन्थेँ होला, होटल खोलिन्दैन थिए होला । कोइलाको काम सिजन, अफसिजनमा हुन्थ्यो । वर्षा याममा चल्दैन । हिउँदमा सिजन हुन्छ । त्यसैले पनि अर्को बिजनेशको खाँचो थियो मलाइ । त्यतिखेर म सानै थिए । अनुभवी भने थिइन । बाबु बाजेले पनि यस्तो काम गरेको थिएन । भारतको सिलगुडीको चोकैमा भेजिटेरियन महाविर भोजनालय थियो । जहाँ–जहाँ भेजिटेरियन छ । म त्यहीँको ग्राहक थिएँ । उक्त भोजनालयको ग्राहक बन्ने क्रममै त्यहीको स्टापहरुसँग लिङ्क गरेर त्यहीँको कुकहरुलाई सेट गरेर एकै पटक मैले भव्य रुपमा दमकमा संगम स्वीट्स खोले र नाम पनि संगम स्वीट नै नाम राखेँ । मैले पहिलेदेखि काम गरेकोले बोडरसम्मकै लिङ्क थियो । पैसा कमाइ जे–जस्तो भएपनि पहिलाको ब्यापारी भनेर ठुलो पहिचान थियोे । कतिपय मैले कोइला सप्लाइ गरेकाहरु अहिले ठुलो बिजनेशमेन भएका छन् । उनीहरुले मलाई बोसकै रुपमा मान्थे । मैले बोलाएपछि आउने भए । त्यसरी त्यो डेजिनेसनले काम गर्यो । मलाई याद छ, दमकको राजकुमार अधिकारी, शुरुमा होटलको लागि उनको घर अगाडी ठाँउ खोजियो । मेनलाइन मेरो प्राथमिकतामा परेन । किनभने मान्छेले शान्त वातावरणमा शाकाहारी भोजन गर्न भन्ने मेरो सोच थियो । त्यसैले अलि भित्र खोलेको थिए । मेरो चिनजानका छक्क परे । कसरी स्वीट्स चल्छ ? केन्द्रदेखि पनि भित्र भएपछि । चिया–समोसा खान कसरी ग्राहक जालान ? मेरो मामा पर्नु हुने भट्टराई हुनुहुन्थ्यो । उहाँले अब भान्जा डुब्छ भन्ने सोचेका थिए । उद्घाटनकै बेलुकी साझमा एउटा नागसर्प पसलको अगाडी हुदै गयो । म उभिरहेको थिए । त्यतिखेर एकजना मेरो साथीले भन्यो ‘यो सर्प पश्चिदेखि पूर्वतिर गयो । यो तेरो लागि शुभ संकेत हो भन्यो ।’ त्यसले मलाई हौसला बढायो । त्यो संकेत शुभ होस् या अशुभ । त्यसले मेरो व्यापारमा ठुलो महत्व राख्यो । त्यो दिनदेखि मेरो आफ्नो औकात, हैसियत, क्षमतालाई अगाडी बढाउने क्रममा पछाडी फर्केर हेर्नुपरेको छैन । शुरुमा संगम स्वीटमा कति लगानी गर्नुभयो ? त्यतिखेर दमकमा काठको तक्ता ओछ्याएर शोकेस नभएपनि मिठाइ बिक्री गर्ने चलन थियो । मैले त्यो चलन तोडेको थिएँ । मेरोमा शोकेसभित्र मिठाइ हुन्थ्यो र त्यो नौलो थियो । फ्रीज, शोकेस, डिफ्रीजमा ५ लाख रुपैयाँ लगानी भएको थियो । होटलको सम्पुर्ण आवश्यकता पुरा गरेको थिए । त्यसपछि अर्को आउटलेट कहाँ खोल्नुभयो ? त्यसयता संगमा शाकाहारी भोजनालयको व्यवसाय वृद्धि हुदै गयो । कहीँ शाखा खोलिन । कोइलालाई ५/७ वर्षसम्म निरन्तरता दिएँ । मैले दोस्रो शाखा करिब ८ वर्षपछि काठमाडौंको कमलादीमा खोलेँ । त्यो बीचमा मैले टीभीएस मोटरसाइकलको डिलरशिपहरु पाएको थिए । बजाजले पनि अफर गर्यो । बजाजको डिलर २०६२ सालमा पाए । बीचमा केही नकेही गरिरहेको थिएँ । बजाजको डिलरशिप अहिले पनि छ । संगम स्वीटको दोस्रो शाखा कमलादीमा खोलेँ । तर म त्यसै बसिन । केही नकेही नयाँ ब्यापारहरु गर्दै गएँ । कमलादीपछि बानेश्वरमा अर्को शाखा खोलेँ । कमलादीमा शाखा बिस्तार गर्ने क्रममा पनि सो स्थानमा मान्छेको समुह हिड्दैन थिए । गाडीबाट मात्रै हिड्थे । जहाँ बसपार्क पनि छैन, मान्छेको भीडभाड पनि थिएन । कुनै मल तथा जमघट स्थान थिएन । कसरी चल्छ ? भन्ने प्रश्न आएको थियो । अहिले छेउमा अर्को दुई ओटा त्यस्ता होटल खुलिसकेका छन् । त्यसबेला मैले छनौट सहि स्थानमै गरेको रहेछु भन्ने लाग्छ । काठमाडौंमा जम्मा तीन ओटा शाखा छ । अर्को कालिमाटीमा छ । राजधानीबाहिर दमकमा, बिर्तामोडमा र उर्लाबारीमा छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ भवन बन्दैछ । त्यहाँ पनि खोल्ने तयारी भइरहेको छ । सायद अबको तीन महिनामा उक्त बिल्डीङ सकिएला । हामी संगमको आउटलेट खोल्न तयारी अवस्थामै छौं । त्यसपछि विस्तारै अघि बढ्छौं । यद्यपी मैले चाहेँ भन्दैमा हुदैन, २÷४ वर्ष खोल्दिन भनेको कुरा २/४ महिनामै पनि खोल्ने अवस्था आउन सक्दछ । समयले आफै जुराउने हो । म पहाडको मान्छे । मेरो यो नौलो कामले गर्दा मलाई सबैतिरबाट सहयोग । हौसला दुबै छ । तपाईले ५ लाखदेखि शुरु गर्नुभएको संगम स्वीटको भ्यालु अहिले कति पुग्यो ? मेरो सबै आउटलेटलाई पनि जोड्ने हो भने ५ करोड रुपैयाँ नाघ्छ । संगमबाट ३ सय जनाले रोजगारी पाएका छन् । हामीले सरकारलाई नियमित रुपमा कर तिरी राखेका छौं । हाम्रोतर्फबाट सरकारलाई राम्रै सहयोग पुगेको छ । मैले शाकाहारी खानामा लतै बसाइ दिएको छु । त्यस्तो कुरा मैले भन्दा पनि समाजले महशुस गर्ने हो । हाम्रोमा निम्नदेखि उच्च स्तरको ग्राहकले ननभेजिटेरीयन विभिन्न आइटम खानाको परिकार खान सक्छन् । हाम्रो उद्देश्य नै २०/२५ रुपैयाँको ग्राहकदेखि ५ हजार रुपैयाँ पनि खर्च गर्नेलाई समेत समेट्न सकौं भन्ने हो । अहिले पनि नीति त्यही नै हो । हामीले अहिले उपलब्ध गराउदै गरेको आइटम सिल्गौडी लगायत अन्यमा खाएभन्दा सस्तो छ । संगममा के–कस्ता शाकाहारी खाना उपलब्ध छन् ? साउथ इण्डियन, नर्थ इण्डियन, चाइनीज कन्टिनेन्टल, स्वीट्स, कोलड्रीङ्स कुनै पनि ग्राहक स्वीट्समा आएर आफुले चाहे अनुसारको ननभेजिटेरीयन परिकार खान सक्छन् । गुणस्तरमा हामी सम्झौता गर्दैनौ । हामी खानामा कुनै पनि वस्तु मिसावट गर्दैनौं । जसको ३ कारण छ । सकभर मिसावटयुक्त खरिद गर्दैनौं । किनभने एक मसँग मिसावट सम्बन्धि ज्ञान छैन । जब त्यसको ज्ञान छैन किन मिसावट गर्ने अर्को आवश्यक पनि छैन । दोस्रो संगम स्वीटले मेरो परिवारलाई न्युनतम आवश्यकताहरु पुर्याइदिएको छ । आज ६ ओटासम्म आउटलेट भइसकेको छ । अब किन मिसावट गर्नुपर्यो ? तेस्रो आमाको इमान्दारीताको संस्कार हो । अहिले आमाले दिएको संस्कारनै मेरो सबैभन्दा ठूलो सम्पत्ति भएको छ । सामान्य व्यक्तिले यतिको ठुला चेन रेष्टुराँ खोल्नु भयो अहिले जागिर खोज्दै हिडेकाहरुलाई तपाईको सुझाव केछ ? म यसमा चिन्तित छु । अब समाजलाई राम्रो प्रभाव पर्ने काम गर्ने मेरो सोच छ । हामीले प्रभाव पर्ने गरी ठोस काम गर्नुपर्छ । मुलुकमा करिब ३ करोड जनसंख्या छ । मलाई लाग्छ यहाँबाट रोजगारीमा १ जना पनि मुलुकबाहिर जान पर्दैन । यहाँ जागिर र व्यवसाय दुबै छ । भने पनि यहाँ दिनरात किसानी गरेर आफैसँग बसी आयआर्जन गर्नेभन्दा विदेश जानुलाई प्राथमिकता दिन्छन् । हामीले साइकलमा कार्टुन जम्मा गर्नेदेखि लिएर सबै कामको कदर गर्नुपर्छ । तर, त्यो गरेनौं । मिडियाले पनि तरकारी फलाएर, बेचेर उदाहरणिय बनेकाहरुलाई सम्मान गर्नुपर्छ । म सिन्धुली वीपी राजमार्ग हुदै पुर्वजाने र आउने गर्छु । त्यो बाटोमा अहिले पनि राम्रो चिया बनाउने १०० ओटा पसल चल्छ । मुलुकमा व्यवसायको अपार सम्भावना छ । मुलुक आफै धनी छ । विदेश् हेरी नेपालमा धेरै राम्रोे सम्भावना छ । पछिल्लो राजनैतिक परिवर्तनले आश जगाएको छ । मान्छेमा धैर्यता हुनुपर्छ । अहिले यहाँ इमान्दारीपुर्वक जागिर खाने मान्छेले २०/२५ हजार कमाउन समस्या पर्दैन । पर्याप्त जागिरको सम्भावना छ । मुलुकको माया गर्नेहरुलाई स्वदेशमै राख्नुपर्छ । निजी क्षेत्रले पनि त्यसको लागि भूमिका खेल्नुपर्छ । यहाँ सफल व्यवसायी बन्नु भएको छ, यहाँले व्यवसायलाई विविधिकरण र अघि बढाउन के कस्ता योजना बनाउनु भएको छ ? जुन क्षेत्रमा सम्भावना छ । त्यो क्षेत्रमा विजनेश बढाउदै लान्छु । जसरी मैले भेजिटेरीयन स्वीट खोले त्यसरी नै सके भने संगम नामबाटै होटल एण्ड लज खोल्ने इच्छा छ । सुद्ध साहाकारी मात्रै होटल एण्ड लज हुनेछ । यो काम मेरा लागि चुनौतिपुर्ण छ । यद्यपि चुनौतिसँग सामना गर्ने इच्छा छ । त्यसको लागि कडा गृहकार्य गरिरहेको छु । जहाँ–जहाँ संगम स्वीट छ । त्यहीँ स्थानहरुमा पहिले त्यस्ता होटलहरु खुल्नेछन् ।    

विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्ने शिक्षामा जोड दिएका छौं-मनोजकुमार थापा मगर

आर्थिक रुपमा कमजोर परिवारमा जन्मनु भएका मनोजकुमार थापा मगर प्रिप्राइमरी स्कूल पढ्दै गर्दा उहाँको आमा बित्नुभयो । त्यो अवस्थामा कहिले मामाघरमा बसेर, कहिले घरमा बसेर स्कूल तहको अध्ययन गर्नु भएका थापाको कलेज जीवन पनि संघर्षमा नै बित्यो । स्कूलमा पढाउदै, कलेज पढ्दै गरेर उहाँले शंकरदेव कलेजबाट एमबीएस, एपेक्स कलेजबाट एमबीए गर्नुभयो । मनोजकुमार थापा मगर, कार्यकारी निर्देशक/प्राचार्य- नेपालय एजुकेशन फाउण्डेशन शिक्षण पेशा अगाल्दै गर्दा उहाँले स्कूल तथा कलेजमा ठूलो लगानी गरिसक्नु भएको छ । हाल उहाँ नेपालय एजुकेशन फाउन्डेशनको कार्यकारी निर्देशक तथा नेपालय उच्च माविको प्राचार्य हुनुहुन्छ । नेपालय एजुकेशन फाउन्डेशन अन्तरगत नेपालय उच्च मावि र हेण्ड्री फोर्ड कलेज सञ्चालन भईरहेका छन । प्रस्तुत छ नेपालयलाई एउटा विश्वविद्यायलको रुपमा विकास गर्ने सोच बोक्नु भएका मनोज थापा मगरसँग विकासन्युज प्रतिनिधिले गरेको विकास वहस । विद्यार्थी र अभिभावकले नेपालय उच्च माविलाई किन रोज्ने ? २० वर्षअघि अमरज्योतिको नामबाट सञ्चालनमा रहेको स्कूललाई हामीले नाम परिवर्तन गरेर नेपालय उच्च मावि बनाएका हौं । हामीले स्कूलको नाम परिवर्तन गरेको होइनौं, साधन र साध्य पनि परिवर्तन गरेका छौं । शिक्षण विधि र अभ्यासमा परिवर्तन गरेका छौं । हामीले हिजो जे गरि आएका थियौं । त्यसलाई फरक ढङ्गबाट गर्नुलाई साध्यको रुपमा लिएका छौं । हाम्रो विद्यार्थीलाई एउटा घरको पूरै असल छोराछोरी बनाउने हाम्रो उद्देश्य हो । अभिभावकले जुन सपना बोकेर हामीलाई आफ्नो बच्चा हस्तान्तरण गर्नुहुन्छ । उहाँहरुले हामीलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको हुन्छ । उक्त जिम्मेवारीलाई निभाउँदै बच्चा पूर्ण सक्षम बनाएर अभिभावकलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । बच्चामा विभिन्न ज्ञान, शिप, अनुशासन, आचरण गुणले सम्पन्न गराएर फेरी अभिभाकलाई बच्चा हस्तान्तरण गर्ने कार्यलाई साध्यको रुपमा लिएका छौं । त्यसको लागि स्कूलले गत वर्षबाटै तल्लो कक्षादेखि जग बलियो बनाउन भनेर नर्सरीदेखि १ क्लाससम्म पूर्ण रुपमा मन्टेश्वरीवेस पढाउन थालिसकेका छौं । सम्भवतः अर्को वर्ष ५ कक्षासम्म मन्टेश्वरी मोडलमा जाने तयारीमा छौं । शिक्षामा नयाँ–नयाँ विधि र प्रक्रिया आइराखेका हुन्छन् । प्रविधियुक्त नयाँ विधिले धेरै विषय सिक्न र सिकाउन सजिलो भएको छ । प्रविधियुक्त नयाँ शिक्षण विधिलाई हामीले प्रयोग गरिरहेका छौं । नेपालयले पूर्वाधार निर्माण र विकासतर्फ धेरै काम गरिसकेको छ । खेलमैदान, कम्प्यूटर प्रयोगशाला, साइन्स प्रयोगशाला, लाईब्रेरी, कन्फरेन्स हल लगायत पूर्वाधार बनेका छन् । टिमवर्कमा काम गर्न सिकाउन, सामाजिक काम गर्न प्रेरित गर्न स्काउट शुरु गरेको छौं । प्रतिस्पर्धी क्षमताको विकास गर्नको लागि चाइनिज ल्याङग्वजको कक्षा चलाएका छौं । प्रयोगात्मक शिक्षा, शैक्षिक भ्रमण, खेलकुद, नाचगान, क्षमता विकासका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गर्दै आएका छौं । नेतृत्व र व्यक्तित्व विकासका लागि नियमित मोटिभेशन कक्षा सञ्चालन गर्दैछौं । मोटिभेशनल कार्यक्रमको पनि निश्चित कोर्ष तयार गर्ने र विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई मोटिभेटरको रुपमा आमन्त्रित गर्ने गरी क्यालेण्डर नै बनाएर अगाडि बढिरहेका छौं । कलेजमा नयाँ कार्यक्रमहरु थप्दै लगेका छौं । हामीले नेपालयलाई एउटा विश्वविद्यालय कै रुपमा विकास गर्न चाहिरहेका छौं । सरकारीभन्दा निजी स्कूलले दिने बढ्ता सेवा सुविधा के के हुन् ? सरकारी स्कूलहरु पूर्वाधार, मानव संसाधनमा सम्पन्न हुन्छन् । आयोग पास गरेका शिक्षक स्थायी शिक्षकहरु राखेका हुन्छन् । विभिन्न तालिमको व्यवस्था हुन्छ । केही सामुदायिक स्कूलहरुले उदाहरणीय रुपमा काम गरेका छन् । ती स्कूलमा भर्ना हुन समेत प्रतिस्पर्धा हुने गरेको छ । जुन–जुन विद्यालयहरुले गुणात्मक तथा प्रतिस्पर्धात्मक शिक्षा दिएका छन् । त्यसलार्ई हामी प्रोत्साहित गर्नुपर्छ, हामी प्रशंसा गर्छौ । तर धेरै सार्वजनिक विद्यालयहरु स्रोत साधान सम्पन्न भएर पनि गुणस्तरीय शिक्षा दिन सकेका छैनन् । त्यो ग्याबलाई निजी विद्यालयहरुले पूरा गर्ने काम गरेका छन् । पछिल्लो समय समग्रमा नेपालको शिक्षालाई प्रतिस्पर्धात्मक तथा गुणात्मक रुपमा विकास गराउनमा वोर्डिङ स्कूलको महत्वपूर्ण भूमिका रहेको छ । विगतमा गाँस, वास, कपासलाई मात्रै आधारभूत आवश्यकता मानिन्थ्यो । अहिले आएर शिक्षा, स्वास्थ्यलाई पनि मान्ने गरिएको छ । हरेक अभिभावकहरु शिक्षा र स्वास्थ्यमा खेलबाड गर्न चाहँदैनन् । सबैले नसक्लान तर धेरै बोर्डिङ स्कूलहरुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेका छन् । निजी स्कूलहरुले संस्कार, शिक्षा, व्यक्तित्व विकास, अनुशासन, रिजल्ट राम्रो ल्याइरहेका छ । इतिहास हेर्न सकिन्छ । त्यस्तै, नेपालय मध्यम किसिमको स्कुल हो । मध्यम आयस्तर भएको र बच्चाको भविश्यको लागि केही गर्ने सोच छ भने हाम्रो जस्तो विद्यालयलाई छनौट गर्ने गरेका छन् । हामी केटाकेटीलाई संस्कार कसरी दिने भन्नेमा जोड दिन्छौं । अहिले घर, परिवार, समाज जताततै अनुशासनको कमी देखिएको छ । त्यसैले हामीले अनुशासनलाई जोड दिएका छौं । दोस्रो गुणात्मक शिक्षा बच्चाहरुको जग(बेस) कसरी बलियो बनाउने, भोलि जुनसुकै परिवर्तन आउदा पनि भिड्न सकोस् भन्ने आधारले हामी अघि बढेका हौं । निजी क्षेत्रले विद्यार्थीमा हुनु पर्ने गुणात्मक, अनुशासन, व्यक्तित्व विकास, संस्कार, प्रतिस्पर्धा जस्ता ग्याबलाई भर्ने काम गरेको छ । कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं । निजी क्षेत्रका स्कूलहरुको कमी कमजोरी के के देख्नुहुन्छ ? निजी स्कूलहरुलाई पनि जिल्ला शिक्षा कार्यालयले वर्गिकरण गरेको छ । हामीले पनि त्यसलाई स्वीकार गरेका छौं । विभिन्न दायराको आधारमा ए, बी, सी गरेर श्रेणी छुट्याएको छ । शिक्षा नीतिले विभिन्न पूर्वाधार, संरचना, नीति नियम भए, नभएको आधारमा वर्गिकरण गरेर ग्रेड छुट्याएको छ । मुलुकको सम्पूर्ण बोर्डिङ स्कूल मध्ये ५/७ प्रतिशत अत्यन्तै सम्पन्न, पूर्वाधारको दृष्टिकोणले पनि अत्यन्तै ठूलो लगानी, मानव संसाधनको पनि त्यही किसिमको तयारी, सम्पूर्ण संसाधले पूर्ण अवस्थामा छन् । त्यो वाहेकका धेरै बोर्डिङ स्कूलहरुमा पूर्वाधारको समस्या देखिन्छ । धेरै बोर्डिङ स्कूलहरुले शिक्षा ऐनले निर्देशित गरे अनुसार पूर्वाधार विकास गर्न सकेका छैनन् । दोस्रो चुनौति मध्ययम वोर्डिङ स्कूलमा पढाउनका लागि शिक्षक, शिक्षिकाहरुको आकर्षण विगतभन्दा कम देखिएको छ । उनीहरुले जिन्दगीको वृद्धि विकासको सम्भावना कम देखेको देखिन्छ । विदेशमा जाने, सरकारी जागिर खाने, बैंक वा ठूलो कर्पोरट हाउसमा जागिर खानेतर्फ जति आकर्षण स्कूल कलेजमा टिचिङ गर्नेमा छैन । अहिले वैदेशिक रोजगारी, काम दिगो नहुनु लगायतको कारणले सोचे जस्तो दक्ष जनशक्ति प्राप्त गर्न गाह्रोे परेको छ । करारमा राखेर शिक्षक शिक्षिकाहरुलाई विभिन्न तालिम, प्रशिक्षण लागायको व्यवस्था गरेर त्यसको पूर्ति गरिरहेको अवस्था छ । अन्य क्षेत्रले जस्तो पेन्सन, उपदान दिने वातावरण अझै बन्न सकेको छैन । तेस्रो चुनौति बोर्डिङ स्कूलहरुको लागि ऐन समस्याको रुपमा आएको छ । कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं । एक डेढ हप्ताअघि मात्रै पनि शिक्षा क्षेत्रको विज्ञहरुले सबै बोर्डिङ बन्द गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसले हलचल नै मचाइदियो । सम्बन्धित मन्त्रालयहरुबाटै पनि कन्ट्रोभर्सरी स्टेटमेन्टहरु आउने गरेको छ । ठूला–ठूला पूर्वाधार बनाए बसेको निजी स्कूलहरुलाई भने त्यसले असर पार्दैन । जो मध्यम वर्गको विद्यालयहरु जो आफ्नै शैलीमा चलेका छन् । त्यस्तालाई डरको वातावरण सृजना हुन्छ । शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी हुने हो भने खुलेर पूर्वाधार, जनशक्तिको विकास गर्ने अवस्था हुन्थ्यो । समग्रमा शिक्षा क्षेत्रको विकास कसरी हुनुपर्छ ? अहिले शिक्षा क्षेत्रका जुन ऐन बनिरहेका छन् । नीति नियम निर्माण भइरहेको छ । उक्त नियमले देशको शैक्षिक जागरणमा निजी क्षेत्रको पनि उत्तिकै महत्व हुने भएकोले प्राथमिकतामा राखेर अघि बढोस् भन्ने हाम्रो अपेक्षा हो । निजी विद्यालयहरुलाई पनि उत्प्रेरित गर्नुपर्छ । हामीलाई के थाहा छ भने नर्सरी, एलकेजी हुँदै एउटा वच्चा १३ वर्षसम्म स्कूलमा रहन्छ बन्छ । ऊ समाजको नेतृत्व गर्ने नागरिक हुन्छ । यो पुस्ताको हातमा हुन्छ भोलिको समाज । हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन, समाजलाई रुपान्तरण गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट बालबालिकालार्इ सक्षम बनाउने हो । हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन । हाम्रो उद्देश्य भनेको समाजलाई रुपान्तरण गर्ने हो । हिजो जस्तो थियो त्यो समाजलाई परिमार्जन गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट सक्षम बनाउने हो । अहिले सरकारले सामाजमा प्राविधिक विषयमा जोड दिइरहेको छ । सिभिल, कम्प्यूटर इञ्जिनियरीङ लागायत सरकारले अघि सारेको शिक्षा निजी बोर्डिङ स्कूलले पनि पाउनु पर्नेमा हाम्रो जोड हो । हामीले विद्यार्थीहरुलाई सैद्धान्तिक विषय मात्र रटाउने होइन विद्यार्थीलाई व्यवहारिक, जनशक्ति निर्माण गर्ने, शिपमा आधारित शिक्षा दिँदै जाने हो । हाम्रो बच्चाहरु जुन सुकै वातावरण परिवर्तनलाई सामना गर्न सक्ने, घर अफिस मात्र होइन आवश्यक परेको खण्डमा देशको जुनसुकै क्षेत्रमा नेतृत्व गर्न सक्षम बनाउने हो । आज वडा अध्यक्षदेखि गाउँपालिका, नगरपारिकाल, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म सक्षम नेतृत्वको अभाव देखिएको छ । हामी समाजको नेतृत्व लिन सक्ने, कम्पनीको नेतृत्व लिन सक्ने, सरकारको नेतृत्व लिन सक्ने व्यक्ति निर्माण गर्न सक्छौं । विद्यालय, शिक्षालय भनेको असल नागरिक उत्पादन गर्ने कारखाना हो । त्यहाँबाट असल नागरिक उत्पादन हुनुपर्छ । त्यसतर्फ सबैले आ–आफ्ना क्षेत्रबाट सकारात्मक भूमिका खेल्नुपर्छ नेपालय एजुकेशन फाउण्डेशनको भावी योजना के छन् ? देश अहिले संघीयतामा गएको छ । भोलि संघीय सरकारले शिक्षालाई युनिभर्सीटीको कन्सेप्टमा लैजाला । त्यसको लागि एउटा टिम बनाएका छौं । परिआएको अवस्थामा युनिभर्सीटीको कन्सेप्टमा जान सकौं । स्कूलदेखि मास्टरसम्मका धेरै कार्यक्रमहरु ल्याउन पर्ने हुन्छ । हामी आफै कोर्षहरु डिजाइन गर्ने क्रममा छौं । निजी स्कूलहरुलाई पूर्वधारको समस्या हुँदाहुँदै पनि हामीसँग खेलमैदान, कक्षा कोठा, विज्ञानको प्रयोगात्मक, कम्प्युटरको प्रयोगशाला, सेमिनार हल, मोटिभेसन क्लास सबै छ । सम्पूर्ण कुराले सम्पन्न छौं । यी सबै तयार गर्न सकेकोमा हामी खुसी नै छौं ।