स्वेच्छिक बीमा गर्ने संस्कार वृद्धि नहुनुमा बीमा कम्पनीहरु जिम्मेवार छन्-विरेन्द्र बैद्यवार क्षेत्री
विरेन्द्र बैद्यवार क्षेत्री, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड जबसम्म अनिवार्य बीमा प्रिमियम बराबरीको तहमा स्वेच्छिक बीमा प्रिमियम रकम पुग्दैन, तबसम्म बीमा कम्पनीहरुले सन्तुष्ट हुने ठाउँ हुँदैन । विकासित देशमा ७०/७५ प्रतिशत बीमा स्वेच्छामा हुन्छ भने २५/३० प्रतिशत बीमा बाध्यकारी हुन्छ । ४/५ वर्षपछि बीमा कम्पनीहरुले धेरै सेवा डिजिटलाईज गर्नेछन् । ग्राहकले सेवा लिनको लागि बीमा कम्पनीको कार्यालय जानुपर्दैछ । हामीले स्वास्थ्य बीमातर्फ विशिष्ट सेवा दिएका छौ । उपचारमा भएको खर्च दावी गर्न, भुक्तानी लिनको लागि ग्राहक बीमा कम्पनी धाइरहनु पर्दैन । बीमा बजारको प्रतिस्पर्धामा सिद्धार्थ इन्स्योरेन्स कम्पनी कुन स्थानमा छ ? असोज मसान्तसम्ममा प्रिमियम संकलनको आधारमा हामी दोस्रो स्थानमा छौं । चालु आर्थिक वर्षमा प्रिमियम बजारको वृद्धि करिव १५ प्रतिशत छ । प्रथम तीन महिनामा हामीले १८ प्रतिशतको वृद्धि हासिल गरेको छौं । यस वर्ष प्रिमियम संकलन गर्न वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएका छौं । बीमा प्रिमियम वृद्धिदर गतवर्ष भन्दा कम भएको हो ? प्रिमियम वृद्धिदरमा केही कमी देखिए पनि बीमा बजारको वृद्धिमा कमी आएको छैन । मोटर बीमाको प्रिमियम, दंगा तथा आतंकवादको बीमा प्रिमियम लगायत केही शिर्षकको बीमा प्रिमियम दर बीमा समितिले घटाई दिएकोले प्रिमियम रकमको वृद्धिमा कमी आएको देखिन्छ । कुन कुन क्षेत्रको बीमा स्वेच्छिक वृद्धि भएको छ ? कुन कुन क्षेत्रमा नीतिगत रुपमा अनिवार्य गरिएको कारणले बीमा गर्ने क्रम बढेको छ ? मुलतः अनिवार्य बीमा नीतिको प्रभावले नै बीमा बजार विस्तार भएको छ । बैकिङ क्षेत्रबाट कर्जा प्रवाह हुँदा गरिने बीमा बढी छ । त्यस्तै, अनिवार्य बीमा गर्ने पर्ने सरकारको नीतिहरु भएका कारणले तेस्रो पक्षको बीमा बजार विस्तार भएको छ । बाली तथा पशुबाली बीमा बजार बढ्दै गएको छ । स्वेच्छिक बीमाको अभ्यास कम छ । यसमा बीमा कम्पनीहरुको पनि कमजोरी रहेको देख्छु म । किनकी बीमा कम्पनीहरुबीच बाध्यकारी बीमा बजारमा प्रतिस्पर्धा छ । बीमा हुनु पर्ने तर नीतिगत रुपमा अनिवार्य नगरिएको क्षेत्रलाई आकर्षिक गर्नेतर्फ बीमा कम्पनीहरुको भूमिका प्रभावकारी हुन सकेको छैन । अनिवार्य बीमा प्रिमियम रकमको तुलनामा बीमा कम्पनीको प्रयासमा आएको प्रिमियम रकम ज्यादै कम छ । करिव ९५ प्रतिशत प्रिमियम अनिवार्य बीमाबाट आएको छ भने स्वेच्छिक बीमाबाट करिव ५ मात्र प्रिमियम संकलन हुन्छ । जबसम्म अनिवार्य बीमा प्रिमियम बराबरीको तहमा स्वेच्छिक बीमा प्रिमियम रकम पुग्दैन, तबसम्म बीमा कम्पनीहरुले सन्तुष्ट हुने ठाउँ हुँदैन । जबसम्म ग्राहक आफ्नो वा आफ्नो सम्पत्तिको सुरक्षाका लागि बीमा गर्छु भनेर बीमा कम्पनीमा आउने वातावरण बन्दैन, तबसम्म तबसम्म बीमा बजारप्रतिको आकर्षण पनि हुँदैन । स्वेच्छिक बीमा बढाउन बीमा कम्पनीहरुको भूमिका के हुनसक्छ ? बीमा कम्पनीका सञ्चालकहरुमा सोचमा केही गम्भिर कमजोरीहरु छन् । खासगरी निर्जीवन बीमा गर्न चाहाने मान्छे बीमा कम्पनी आउनुपर्छ, कहाँ बीमा कम्पनीहरु ग्राहकको घर घरमा जान सक्छ ? भन्ने सोच गलत हो । त्यस्तै, जनचेतनाको कमी भएकोले बीमा गर्न मानिसहरु स्वेच्छाले आएनन् भन्ने तर्क पनि गलत छ । जनचेतना पनि बढाउने र हामी यस्तो सेवा दिन्छौं भनेर कम्पनीहरु किन सर्वसाधारणको घरदैलोमा नजाने ? हामी जानै पर्छ । हाम्रो जस्तो गरिब र विकासोन्मुख देशमा मात्र होइन, विकसित देशहरुमा पनि बीमा कम्पनीहरु ग्राहकको खोजीमा घरदैलोमा जानैपर्छ । फरक के चाही हो भने विकासित देशमा ७०/७५ प्रतिशत बीमा स्वेच्छामा हुन्छ भने २५/३० प्रतिशत बीमा बाध्यकारी हुन्छ । बीमा कम्पनीहरुको सोचाई फारकिलो हुनुपर्छ । बीमा बजार सहरमा मात्र खोज्ने होइन, ग्रामिण क्षेत्रमा पनि जानुपर्छ । बीमा कम्पनीहरु परम्परागत रुपमा घर, सवारी, कार्गो जस्ता सम्पत्ति बीमा जबरजस्ती बीमा गराउने काममा मात्र सीमित रहे । माइक्रो बीमा पोलिसी बनाएर आधुनिक सम्पत्तिको बीमा गर्ने गराउने अभ्यास नै भएन । मुख्य शहरमा शाखा खोलेर ती शाखामा आउने ग्राहकको मात्र बीमा गरेर पुग्दैन । बैंकहरुले शाखारहित बैकिङ सेवा शुरु गरेको छन् । उनीहरुले एक व्यक्तिलाई प्रतिनिधि तोकेर प्रविधिको सहायाताले जसरी बैकिङ सेवा दिएका छन्, त्यसरी नै बीमा कम्पनीहरुले नै प्रविधिको प्रयोग, ब्रान्चलेस इन्स्योरेन्स सर्भिसको प्रयोगलाई बढाउनुपर्छ । सूचना प्रविधिमा बीमा कम्पनीहरुले लगानी वृद्धि नगरी सुखै छैन । पछिल्लो समयमा बीमा कम्पनीहरुले कसरी बजारीकरण गरिरहेका छन् ? बीमा सेवा लिन ग्राहक कम्पनीमा जान्छन् वा कम्पनीका कर्मचारी ग्राहकको खोजीमा बजारमा जान्छन् ? बीमा कम्पनीका कर्मचारीहरु नयाँ ग्राहक आकर्षित गर्न बजारमा नजानु नै मुख्य समस्या हो । बैंकहरुसँग सम्पर्क सम्बन्ध बढाएर, ठूला औद्योगिक समूहको कार्यलयमा गएर लविङ गर्ने बाहेक बजारीकरणतर्फ बीमा कम्पनीहरुको भूमिका कमजोरी नै छ । जसरी बैंकमा निक्षेप संकलन गर्न वा कर्जा लिन ग्राहक बैंक खोजेर जान्छन्, त्यसरी बीमा सेवा लिन ग्राहक आउने अभ्यास पनि छैन । त्यसैले बीमा कम्पनीहरुले आफ्नो सेवा विस्तार गर्नको लागि कर्मचारी, अभिकर्ता परिचालनदेखि सेवा वितरणको च्यानलमा धेरै सुधार गर्न जरुरी छ । धेरै बैंकहरुले शाखा १०० भन्दा बढी बनाएका छन्, २००/५०० भन्दा बढी स्थानमा ब्रान्चलेस सेवा सञ्चाल बनाएका छन् । रेमिट कम्पनीहरुले हजारभन्दा बढी भुक्तानी काउन्टर सेवा सञ्चालन गरेका छन् । यस्तो नेटवर्कमा बीमालाई पनि सँगै लैजान सकिन्छ । व्यक्ति र संस्था दुबैलाई एजेन्ट बनाएर ठूलो सञ्जालमार्फत जनचेतनाका कार्यक्रमसँगै सेवा बिक्रीमा जोड दिनुपर्छ । प्रविधिको प्रयोग ग्राहकको पनि माग हो, तपाईहरुको पनि चाहाना हो । धेरै नेपालीले स्मार्ट फोन प्रयोग गर्छन । इन्टरनेटको नेटवर्क पनि व्यापक विस्तार भईसकेको छ । तर पनि बीमा क्षेत्रमा प्रविधिको प्रयोग किन सुस्त भयो ? हो, बीमा बजार प्रविधि भित्र्याउने मामिलामा अनिच्छुक देखिएको जस्तो देखियो । हाल १७ वटा निर्जीवन कम्पनीहरु छन्, कुल प्रिमियम करिव २० अर्ब रुपैयाँ हो । प्रति कम्पनीको हिस्सा सवा अर्ब रुपैयाँ मात्र छ । जसरी अहिले बैकिङ क्षेत्रमा प्रविधिको प्रयोग भएको देखिन्छ, त्यो लेबलको प्रविधि प्रयोग गर्न एउटा बीमा कम्पनीले कम्तिमा ५/७ करोड रुपैयाँ लगानी गर्नुपर्छ । दुई वर्षअघिसम्म बीमा कम्पनीहरुको चुक्ता पुँजी नै १२/१५ करोड थियो । उनीहरुले ५/७ करोड खर्च गरेर प्रविधिको प्रयोग गर्न सकिरहेका थिएनन् । अब कम्पनीहरुको पुँजी पनि १ अर्ब रुपैयाँ हुँदैछ । जुन कम्पनीको पुँजी पनि १ अर्ब पुग्दैछ, वार्षिक प्रिमियम ३/४ अर्ब रुपैयाँ हुँदैछ, उनीहरुले ५/७ करोड खर्च गरेर प्रविधिको प्रयोग बढाउने छन् । त्यसले अरु कम्पनीलाई पनि प्रविधिको प्रयोग गर्न दवाव दिनेछ । ४/५ वर्षपछि बीमा कम्पनीहरुले धेरै सेवा डिजिटलाईज गर्नेछन् । ग्राहकले सेवा लिनको लागि बीमा कम्पनीको कार्यालय जानुपर्दैछ । धेरै सेवा अनलाईनबाट नै लिन सकिनेछ । सबै बीमा कम्पनीहरु मिलेर कम लागतमा साझा सफ्टवेयर किनेर प्रयोग गर्न सकिदैन ? हाल बीमा कम्पनीहरुले प्रयोग गर्दै आएको सफ्टवेयरबाट सबै प्रकारको इन्टिग्रेटेड सूचना प्राप्त हुन सक्दैन । सबै निर्जीवन बीमा कम्पनीलाई उपयोगि हुने सफ्टवयर कष्ट सेयररिङमा ल्याएर प्रयोगमा ल्याउन सकिन्छ । त्यो स्वभाविक पनि हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कुन कुन सेवामा विशिष्टिकरण गर्दैछ ? बीमा सेवा प्रदान गर्न विशिष्ट प्राविधिक ज्ञान र जनशक्ति आवश्यक हुन्छ । हामीले अहिले व्यक्तिगत बीमा र सम्पत्ति बीमामा जोड दिएका छौ । सवारी बीमा, घर बीमा, व्यवसाय बीमा, स्वास्थ्य बीमामा हामीले जोड दिएका छौं । ठूलो बीमा भन्दा साना र मध्यम खालको बीमालाई जोड दिएका छौं । सरकारले छुट्टै स्वाथ्य बीमा ऐन आएको छ, सरकार आफैले स्वास्थ बीमा कार्यक्रम चलाईरहेको छ । यसले बीमा कम्पनीहरुलाई फाइदा पुग्छ कि तपाईहरुको विजनेश पनि खोसिन्छ ? विजनेश खोस्ने कुरै छैन । यसले बीमा कम्पनीहरुलाई फाइदा नै पुग्छ । ९३ प्रतिशत नेपाली बीमाको दायरामा छैनन् । बजार ठूलो छ । सरकारले बीमा कार्यक्रम सञ्चानल गर्दा बीमाबारे जनचेतना बढाउँछ । बीमाको महत्व सर्वसाधारणले बुझ्छन् । त्यसको लाभ बीमा क्षेत्रले पाउँछ । हामीले स्वास्थ्य बीमातर्फ विशिष्ट सेवा दिएका छौ । नर्भिक, बयोदा, मेडिसिटी, अल्का, नोबेल मेडिकल कलेज, मणिपाल कलेज लगायतसँग सहकार्यको सम्झौता गरेर स्वास्थ्य बीमा सेवा दिदै आएका छौं । स्वास्थ्य बीमा गर्ने ग्राहकलाई हामीले एउटा यूनिक कार्ड दिन्छौं । त्यही कार्डको आधारमा ग्राहकले हामीसँग सहकार्य भएका अस्पतालहरुमा उपचार गराई बीमा बापतको रकम पाउनेछन् । उपचारमा भएको खर्च दावी गर्न, भुक्तानी लिनको लागि ग्राहक बीमा कम्पनी धाइरहनु पर्दैन । हामीले २५ हजारदेखि १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा पोलिसी दिईररहेको छौं । उपचार गर्दा हुने सबै खर्च रकमको १० देखि १५ प्रतिशत मात्र विरामीले बोहोर्नुपर्छ । बाँकी बीमा पोलिसीले कभर गर्छ, बीमा कम्पनीले हस्पताललाई सोझै बुक्तानी गर्छ । बीमा पोलिसी लिँदा अस्पताल भर्ना भएको बेलामा मात्र बीमाले खर्च बोहोर्ने वा ओपीडी सेवामा पनि बीमाले खर्च बेहोर्ने भनेर ग्राहकलाई छनौटको अवसर दिन्छौं । यो सेवा १५ वर्षदेखि ६५ वर्षसम्मका उमेर समूहलाई दिईरहेका छौं । १५ वर्षमुनिका बालबालिकालाई अभिभावको पोलिसले कभर गर्छ । बीमा रकमको १.५ प्रतिशत प्रिमियम तिर्नुपर्छ । १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्दा वार्षिक १५०० रुपैयाँ प्रिमियम बुझाउनुपर्छ । तपाईले यो सेवालाई बीर, टिचिङ, पाटन जस्ता बढी विरामी जाने र उपचार खर्च पनि कम हुने अस्पतालमा किन लैजानु भएन ? तपाईले भनेको अस्पतालहरु लगायत सबै सरकारी अस्पतालहरु, जिल्लाहरुमा रहेको सरकारी अस्पतालहरुमा पनि यो सेवा विस्तार गर्ने हाम्रो सोच रहेको छ । तर ती अस्पतालहरुमा बीमा कम्पनीले मागेका सूचनाहरु दिनुपर्छ । त्यसको निश्चित प्रक्रियाहरु छन् । त्यो प्रक्रिया बुझ्ने र बुझाउने प्रयास भईरहेको छ । सरकारी अस्पतालहरुमा निजी क्षेत्रको बीमा कम्पनीसँग सम्झौता गरेर काम गर्नको लागि अधिकार प्रत्यायोजनको समस्याहरु पनि देखिएको छ ।
निष्क्रिय कर्जा घटाएर नाफा बढाउदै छौं -गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक
सन् १९९६ मे महिनामा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेरका गोविन्द गुरुङ अहिले सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । एघार वर्ष हिमालयन बैंकमा, तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको पदमा साढे तीन वर्ष र मेगा बैंकमा नायब महाप्रबन्धकको पदमा साढे दुई वर्ष र सन् २०१२ अक्टोबरमा सिभिल बैंकमा वरिष्ठ कार्यकारी अधिकृतको रुपमा काम सुरु गरेका थिए । उनी गत जुलाईदेखि सिईओको रुपमा कार्यभार सम्हाल्दै आइरहेका छन् । दुई दशक बैंकिङ क्षेत्रमा बिताइसकेका गुरुङले सिभिल बैंकलाई सबल र सक्षम बनाउने अठोट कसेका छन् । बैंकको समग्र गतिविधिमा केन्द्रित रहेर सीईओ गुरुङसंग विकासन्युजले गरेका कुराकानीको अंशः गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक लिमिटेड अन्य बैंकको तुलनामा आजका दिनसम्म सिभिल कुन पोजिसनमा छ ? निक्षेप, कर्जा लगानी र नाफाको हिसाबले बैैकको पोजिसन राम्रो छ । सिभिल नयाँ बैक भएकाले निक्षेप लागत (कस्ट अफ फण्ड), पूँजी परिचालन लगायत विभिन्न तवरले अरु पुराना बैंकसँग तुलना गर्दा चुनौती बढी नै छ । यद्यपी हामी योजनावद्ध ढंगले अगाडी बढेका छौं । हाम्रो पूँजीवृद्धि योजना सफल रुपमा अघि बढेको छ । अहिले हामीसँग ५ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजी छ । ४० प्रतिशत हकप्रद सेयर आइसकेको छ । आगामी पुस २७ गतेसम्मका लागि हकप्रद सेयर बिक्री खुला गरेका छौं । त्यसपछि हाम्रो पूँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । त्यसबाहेक हामीले पूँजीवृद्धिलाई नै ध्यानमा राखेर पाँचवटा संस्थासंग मर्जर र प्राप्ति (एक्विजिसन) समेत गरेका छौं । ३ वर्षअघि एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तिय संस्थालाई मर्जर गरेका थियौं । राष्ट्र बैंकबाट पुँजी वृद्धिको सर्कुलर आएपछि हामीले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सियल कम्पनी लिमिटेड (आएलएफसीएल ) लाई मर्ज गर्यौं । युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई एक्वायर गर्यौ । त्यसपछि पुँजी ५ अर्ब १८ करोड रुपैयाँ पुगेको हो । आईएलएफसीएललाई गाभेपछि हामीसंग ५६ करोड २८ लाख रुपैयाँ संचित कोषमा थप भएको छ । गत असार मसान्तमा नाफा ३३ करोड ८१ लाख रुपैयाँ पुगेको थियो । ४० प्रतिशत हकप्रद सेयर निष्कासन, संचित कोषको रकम र असार मसान्तको खुद नाफा समेत जोडेर यो वर्ष पुँजी ८ अर्ब रुपैयाँ पुग्दैछ । यसरी हामी पूँजीगत क्षेत्रमा योजनाबद्ध ढंगले अगाडी बढेका छौं । व्यवसायको आकारका हिसाबले पनि आज राम्रो स्थितिमा छौं । आजको दिनसम्म ३५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप परिचालन र करिब साढे ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छौ । अहिलेको अवस्थामा हाम्रा लागि यो आकारको कारोबार राम्रो हो । लाभदायिकताको हिसाबले हेर्दा यो वर्षको पहिलो त्रैमासिकमा ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छौं । उमेरमा हामी २८ औं कान्छो बैंक भए पनि नाफाको दृष्टिकोणबाट हेर्दा चार वटा बैंकभन्दा अगाडी अर्थात २४ औं स्थानमा पुगेका छौं । शाखा सञ्जालको कुरा गर्दा पूर्व मेचीदेखि महाकालीसम्म हामीसँग अहिले ५३ वटा शाखा, ९ वटा शाखारहित बैंकिङ सेवा तथा ३८ वटा एटिएम सेवा छ । यसपाली हामी २५ वटा थप शाखा विस्तार गर्दैछौं । बैंकिङ क्षेत्रमा सबैभन्दा महत्वपूर्ण पाटो नियन्त्रण र परिपालन नै हो । यसमा हाम्रो बैंक सहज ढंगले सञ्चालन भइरहेको छ । परिपालनमा हामी निकै जोड दिइरहेका छौं । संस्थागत सुशासनामा पनि हामीले सबै किसिमका जोखिमलाई कम गर्ने उद्येश्यका साथ कार्यक्रम अगाडी बढाइरहेका छौं । हाम्रा सम्बन्धित सञ्जाल पनि नेपालका ठुला पुराना बैंकहरु सरह छन् । अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा जनशक्ती पनि हो । अहिले हामीसँग ५३६ जना दक्ष जनशक्ती छन् । सबैको कार्य सम्पादन राम्रो छ । त्यसलाई अझ परिष्कृत गर्दै लैजानका लागि हामीले प्रशिक्षणमा बढी जोड दिएका छौं । यी सबै कारणले हाम्रो स्थिती राम्रो छ । भोलीका दिनमा अग्रणी बैंकका रुपमा अघि बढ्न यी आधारहरुले सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौं । बैंकको निष्क्रिय कर्जा घट्नुको सट्टा बढेको देखिन्छ । यसको कारण के होला ? यसपछाडी दुईवटा कारण छन् । पहिलो कारण हामीले पाँच वटा कम्पनी मर्ज गर्र्यौं । तिनै संस्थामा भएको निष्क्रिय कर्जाले गर्दा बढ्नमा योगदान पुगेको छ । त्यसमा पनि मर्जरबाट एक थरी निष्क्रय कर्जाको रुपमा आएका थिए । विकास बैंक र वाणिज्य बैंकको काम गर्ने तरिकाबीचको अन्तर अर्को कारण हो । स्थापनाकालदेखि सिभिलले कारोबार बढाउन पुराना बैंक तथा वित्तिय संस्था मर्ज गरेर ल्याउँदा केही खराब कर्जाहरु आएका छन् । प्रमुख कारण चाँही कारोबार बढाउने चाप नै हो । निष्क्रिय कर्जा अनुपात बढ्दा हाम्रो लाभदायिता पनि प्रभावित भएको छ । हिजोको दिनमा हामी २८ औं पोजिसनमा थियौं भने अहिले २४ औंमा पुगेका छौं । निष्क्रिय कर्जाको मार खेप्नु नपर्ने हो भने हामी अझैं अगाडी हुन्थ्यौं । यही त्रैमासिकको मात्र हेर्ने हो भने हामीले थप ३१ करोड रुपैयाँ प्रोभिजनिङ गर्यौं । ३१ करोड रुपैयाँ निष्क्रिय कर्जा असुली गरेका थियौं । यद्यपी प्रोभिजनिङका कारण यसको सुविधा उपभोग गर्न पाएनौं । राइट ब्याकको उपभोग गर्न पाएको भए हामी निकै अगाडी बढ्थ्यौं । हामीले प्रोभिजनिङमा १ अर्ब ८६ करोड राख्या छौं । बैंकको रिजर्भमा मात्र पुरा रकम छ जसले एनपिएलाई पुर्णरुपमा थेग्न सक्छ । बैंकको समग्र वित्तिय पोजिसन अत्यन्तै राम्रो अवस्थामा छ । हामीले केन्द्रिय बैंकको मापदण्ड अनुसार हकप्रद सेयर पनि जारी गरेका छौं । आगामी असार मसान्तसम्ममा खराब कर्जा घटाएर कतिमा झार्दै हुनुहुन्छ ? गत असारसम्म यस्तो कर्जा ४ प्रतिशत मात्र थियो । यो त्रैमासिकमा बढेर ४.६५ प्रतिशत पुगेको छ । त्यसैले गर्दा पनि प्रोभिजनिङ बढेको हो । आगामी असार मसान्तसम्ममा यसलाई २ प्रतिशतमा झार्ने योजना छ । निष्क्रिय कर्जा असुली लिगल मिटिगेसन सिस्टमबाट जाने भएकाले समय लाग्छ । आगामी वर्षसम्म बैंकको नाफा कति पुर्याउने लक्ष्य छ ? यसरी आधिकारिक रुपमा रणनीतिक कुरा भन्न सकिदैन । आन्तरिक बोर्डमा छलफल गर्ने पाटो फरक हो । तर गत वर्षको तुलनामा राम्रो गर्ने लक्ष्य लिएका छौं । सिभिल सेयरको मूल्य अन्य बैंकको भन्दा निकै कम छ । यस्तो कसरी हुन गएको हो ? कान्छो बैंक भएपछि पाउने प्रतिफल पनि कम हुन्छ, त्यसैले पनि सेयरको मूल्य कम भएको होला । एकातर्फ सेयर बजार घट्दो क्रममा रहेको अवस्था छ । सेयरमा विश्वास कम भएर वा लगानी कम भएर सेयरको परिसुचक नै तल छ । भर्खरै मात्र हामीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेका कारण सेयर मूल्य समायोजन (एडजस्टमेन्ट) हुँदा सेयरको मुल्य घटेको हो । हकप्रद निष्कासन गर्नुअघि सेयरको मूल्य २३० रुपैया थियो । अहिले धेरै बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री नभएर लिलाममा गइरहेको छ । सिभिल बैंकको पनि लिलामी गर्नुपर्ने संभावना कतिको छ ? सबै बैंकको केही सेयर लिलाममा गइरहेकै छन् । यसमा दुईवटा कारण छन् । पहिलो रकम नपुगेर हकप्रद सेयर हाल्ने कमै छन् । हाम्रो ६० हजार भन्दा बढी सेयर सदस्य छन् । पैसा हाल्ने ईच्छा हुँदाहुँदै पनि थाहा नपाएर हकप्रद खरिद गर्न नपाउने धेरै छन् । हामीले पनि लिलाममा जानुपर्छ की भन्ने आँकलन चाँही गरेका छौं । हकप्रद किन्नेले बोनस सेयर पाउछन ? हकप्रद सेयर किन्नेले बोनस अवश्य नै पाउँछ । किनभने हामीले राष्ट्र बैंकमा वित्तीय विवरण पठाइसकेका छौं । अहिले त्यो विचाराधिन छ । हकप्रद सेयर बन्द गरेपछि बल्ल हाम्रो वार्षिक साधारणसभा आउँछ । यसको अर्थ जो जसले हकप्रद सेयर हालेका छन् उनीहरुले बोनस पाउने निश्चित नै छ । सेयर संख्या बढिरहे पनि बैंकले नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी पनि घट्दै गएको छ । आगामी दिनेमा तपाईलाई चुनौती छैन र ? सिभिल बैंक इपिएस बढ्नेमा सबैभन्दा अगाडी रहेको छ । यो एउटा मोमेन्टम तयार भएको छ । यसलाई व्यवस्थापन गर्दै दिगो रुपमा अगाडी बढाउनुपर्ने चुनौती त छँदै छ । कारोबार यही हिसाबले बढ्दै गयो भने यसले इपिएसलाई पनि दिगोरुप बढाउँदै जानेछ । गत साल यही समयमा ‘तरलता अभाव’ सुरु भइसकेको थियो । यसपालीको अवस्था के छ ? आजका दिनसम्म त यस्तो समस्या छैन । चुनावसम्म त्यती समस्या नदेखिने हामीले अनुमान गरेका छौं । २र३ अर्ब पूँजी पनि बढेकै छ । मुद्रास्फिती कम हुनु, सरकारको खर्च तथा आय स्थिर भएको र घरायसी आम्दानी बढ्नु नै कारण हो । त्यस्तै चुनावमा अनौपचारिक माध्यमबाट आउने रकम पनि बैंकिङ च्यानलबाट आउने सम्भावना छ । स्थानीय तहका लागि २३८ अर्ब रूपैयाँ बजेट छुट्याए अनुसार खर्च हुन लागेको छ । यसले गर्दा वित्तिय प्रणालीमा त्यो पैसा पनि आउछ । यी सबै कारणले गर्दा तरलता माघसम्म सहज हुन्छ । त्यसपछि प्रादेशिक सरकार बन्ने क्रम सुरु हुन्छ, जुन हाम्रा लागि थप अवसर हो । किनभने चालु आर्थिक वर्षमा विकास निर्माण शिर्षकमा ३ खर्ब ३५ अर्ब रुपैयाँ विकास खर्चलाई विनियोजन गरिएको छ । अहिले जम्मा ६ प्रतिशत मात्र खर्च भएको छ । २४१ अर्ब चाँही सरकारकै ढुकुटीमा थन्किरहेको छ । यो रकम बढ्दै गएर समयमा नै सरकार नबन्ने र बनेपछि पनि प्रभावकारी ढंगले खर्च गर्न नसक्ने अवस्था रह्यो भने चाँही ितरलता अभाव जटिल नबन्ला भन्न सकिदैन । सिभिलको पूँजी पर्याप्तता १९ प्रतिशत हारहारीमा छ । परिचालनतर्फ बैंकले किन ध्यान दिदैन ? पूँजी ४०० प्रतिशतले बढ्ने र कारोबार नबढ्ने समस्या छ । हाम्रो ८ अर्ब रुपैयाँ पूँजीलाई हेरेर नाफा बढाउन ८० अर्ब रुपैयाँको कर्जा लगानी हुनुपर्छ । यसमा पनि कतै १५० प्रतिशत पूँजी आवश्यक होला भने कतै ६० प्रतिशत होला । तर सरदरमा ८० अर्ब रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ । अब ३२ अर्ब रुपैयाँ कारोबार गरिरहेको बैंकले तत्काल कारोबार बढाएर ८० अर्ब रुपैयाँको पुर्याउन सक्दैन् । यो क्रमिकरुपमा बढ्दै जान्छ । अन्य बैंक भन्दा सिभिलले आफना ग्राहकलाई दिने फरक सुविधा के हो ? सिभिलको मुख्य पहल सेवामा नै केन्द्रित छ । सिभिलले चुस्त र दूरुस्त रुपमा सेवा दिन्छ । अर्को कुरा हामी नयाँ बैंक भएकाले डिपोजिट बढाउनका लागि अधिकतम लाभ दिइरहेका छौं । आजको दिनमा तपाईले हेर्नुभयो सिभिलको सेभिङ रेट उच्च छ । हामीले कम मार्जिनमा काम गरेर डिपोजिटरलाई अधिकतम लाभ दिइरहेका छौं । हामीले क्रेडिटलाई पनि डिजिटल प्रविधि मार्फत सेवा प्रदान गरेका छौं । हामीले मास्टर कार्डमा क्रेडिटको सुविधालाई समेटेका छौं । हामी अन्य सेवालाई पनि प्रविधि मार्फत प्रदान गरिरहेका छौं । अरु बैंकमा जानुपर्यो भने छुट्टै क्रेडिट कार्ड लिनुपर्ने बाध्यता छ । तर सिभिल बैंकमा एउटै कार्डलाई डेबिट र क्रेडिट दुवै कार्डको रुपमा प्रयोग गर्न सकिन्छ । आधार ब्याजदर यहाँहरु ११.५५ प्रतिशतमा देखिएको छ । यहाँहरुले पाउने कर्जा धेरै महंगो छ । कहिलेदेखि घट्छ ? निक्षेमा उच्च ब्याजदर दिएको कारण आधार ब्याजदर बढी देखिएको हो । आजको दिनमा हाम्रो निक्षेप लागत भनेको सवा ८ प्रतिशतको हाराहारीमा छ । यसकारण आधार दर बढी भएको हो । कर्जा लिने ग्राहकलाई यसले मार पारेको छ । तर कर्जा पनि प्रतिस्पर्धी ढंगले गइरहेका छौं । महंगो भनेर धेरै महंगो पनि छैन । कहिलेदेखि सेवाग्राहीले सस्तोमा कर्जा पाउलान् त ? यसका लागि त हाम्रो निक्षेप लागत घट्नुपर्छ । जसका लागि हामीले बचतमा नै जोड दिइरहेका छौं । त्यो हुँदै गएपछि स्वचालित ढंगले कर्जाको दर चाँही घट्दै जान्छ । त्यसबाहेक हाम्रो सञ्चालन खर्च गर्नुपर्ने कुरा पनि छ । यसको एउटै उपाय भनेको कारोबार बढाउनुपर्ने हो । यसले सम्पूर्ण सञ्चालन खर्चलाई घटाउदै लैजान्छ । यद्यपी यो तुरुन्तै हुने कुरा होइन । आगामी वर्ष बैंकले सेयरधनीलाई दिने प्रतिफल कतिसम्म बढ्ला ? ठ्याक्कै यतिउती भन्न मिल्दैन । तर पुँजी बढेकाले गर्दा सबै बैंकको चाँही प्रतिफल विगतका तुलनामा कम नै हुने देखिन्छ । सेयर पनि घटिरहेको छ । ठुलो बैंकको कुरा गर्दा पनि २ अर्ब कमाउँदा २ अर्ब पुँजीलाई नै बाड्नुपर्ने देखिन्छ । त्यसकारण प्रतिशतका हिसाबले घट्छ नै । हामी जस्तो नयाँ बैंकको चाँही बढ्न पनि सक्छ । हाम्रो क्यापिटल बढेकाले त्यही अनुपातमा त नबढ्ला । सिईओ भएपछि कतिको तनाव बेहोर्नुपरेको छ ? सिईओ भएपछि स्वभाविकरुपमा तनाव त हुने नै भयो । त्यही तनाव लिएर सबै सेयरहोल्डरलाई राम्रो प्रतिफल दिनुपर्छ भनेर नै यो पोजिसनमा आएको छु । प्रोफेसनल तनाव भन्दा पनि बजारले पार्ने प्रभावका कारण बढी तनाव दिएको हुन्छ । जस्तो सरकारले समयमा बजेट खर्च गरेन भने अर्को समस्या देखिन्छ । जुन मेरो नियन्त्रणभन्दा बाहिरको कुरा भयो । मलाई व्यवस्थापन नै गर्न गाह्रो हुन्छ । त्यसपछि मैले कि त कारोबार वा कर्जा लगानी खुम्च्याउनुपर्ने हुन्छ । कर्जा खुम्च्याउदा लक्ष्य नपुग्ने हुन्छ । बाहिरी कारणले गर्दा आउने समस्याले बढी प्रभाव पर्छ । त्यो सबै सिईओमा लागू हुने कुरा हो । त्यस्तै अन्तराष्ट्रिय व्यापारमा अवरोध आयो भने पनि समस्या देखापर्छ । हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरामा व्यवस्थापन मात्र गर्न सकिन्छ । त्यसलाई परिवर्तन गर्न भने सकिदैन । व्यवस्थापन गर्नका लागि नै हामी बसेका छौं ।
राजनीतिक नेतृत्वले श्रमिकको मात्र होइन, लगानीकर्ताको हित पनि हेर्नुपर्छ-सिर्जना राणा
पछिल्ला वर्षमा विदेशी पर्यटकलाई लक्षित गरि ठूलो लगानीमा धेरै होटलहरु खुल्दैछन् । ती होटलका पूर्वाधार निर्माणको काम भईराखेको छ । यसैबीच १२० कोठा भएको अन्नपूर्ण होटलले पनि क्षमता विस्तार गरी २०० कोठाको बनाउने तयारी गरिरहेको छ । पाँचतारे होटल अन्नपूर्ण नेपालको पर्यटन क्षेत्रको एक महत्वपूर्ण पूर्वाधार हो । ५० वर्ष पुरानो यो होटलले आफ्नो भौतिक पूर्वाधार पुनर्निर्माण गर्ने र सेवा स्तरोन्नतिको तयारी भईरहेको नजाएको छ । यसै सन्दर्भमा डेल अन्नपूर्ण होटलका कार्यकारी निर्देशक तथा होटल संघ नेपालको उपाध्यक्ष सिर्जना राणासँग विकासन्युजले समग्रमा होटलहरुबीचको प्रतिस्पर्धा, यो क्षेत्रमा गरिएको लगानीको प्रतिफल र अन्नपूर्ण होटलको भावी योजना गरेको कुराकानी गरेको छ । सिर्जना राणा – कार्यकारी निर्देशक,डेल अन्नपूर्ण होटल विदेशी पर्यटकलाई लक्षित होटल निर्माणमा पछिल्ला वर्षमा लगानी ह्वात्तै बढेको छ । यसको परिणाम कस्तो हुनेछ ? पछिल्लो समयमा होटलहरु धेरै खुलेका छन्, अझै पनि नयाँ होटलहरु खुल्ने क्रममा रहेको समाचारहरु आईरहेका छन् । बाहिरबाट हेर्दा होटल केही ग्ल्यामरस विजनेश जस्तो देखिन्छ । बाहिरबाट देख्दा होटल व्यवसाय जति आकर्षक छ, भित्र त्यत्तिकै चुनौतिहरु पनि छन् । नेपाल धेरै सुन्दर देश हो । नेपाल भ्रमण गर्दा पर्यटकहरु खुशी हुन्छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो देशमा पर्यटन सेवाको भविष्य राम्रो छ भनेर सबैले भन्छन् । यो सबैलाई थाहा भएकै विषय हो कि पर्यटन क्षेत्रको, होटल क्षेत्रको सम्भावना राम्रो छ । तर यो क्षेत्रको विकासका लागि सरकार, राजनीतिक दलबाट सहयोग आएन । पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा राज्यको तर्फबाट लगानी भएन । हामीले चितवनमा लगानी विस्तार गर्दैछौं । तर मुग्लिन–नारायणगढको सडक देख्दा, त्यो बाटो विस्तारमा भएको ढिलासुस्ती र लापरवाही देख्दा मलाई निकै दुःख लाग्छ । खराव बाटोका कारण धेरै मान्छेले ज्यान गुमाएको छन् । मानिसलाई जनावरको जस्तो व्यवहार गरिएको छ । यो विषयमा मानवअधिकारबादी संस्थाहरु किन बोल्दैन् ? एयरपोर्टको हालत सबैलाई थाहा छ । भएको एउटा मात्र अन्तराष्ट्रिय विमानस्थलको स्तरउन्नति हुन सकेको छैन । निजगढका अन्तराष्ट्रिय विमानस्थतल बनाउने भनेको वर्षौ भयो । तर काम कत्ति पनि भएको छैन । पोखारामा विमानस्थल बनाउने, लुब्बिनीमा विमानस्थल बनाउने दिशामा आशा लाग्दोरुपमा काम भएको छैन । सबैलाई थाहा छ कि नेपालमा पर्यटन उद्योगको भविष्य राम्रो छ । नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउने सकिन्छ । यो पनि सबैलाई थाहा छ कि नेपालमा कम्तिमा तीन वटा अन्तराष्ट्रिय विमानस्थल जरुरी छ । आन्तरिक विमानस्थलको पनि क्षमता वृद्धि गर्नुपर्छ । सडक राम्रो हुनुपर्यो । पानी, विजुलीको आपूर्ति राम्रो हुनुपर्यो । तर खोई त काम भएको ? योजना बनाएर मात्र भएन, कार्यान्वयन गर्नुपर्यो । ठूलो लगानीमा खुल्ने नयाँ होटलले पुराना होटललाई कस्तो असर पर्ला ? व्यवसायिक प्रतिस्पर्धाबाट आउने जोखिम भन्दा राजनीतिक कारणले उत्पन्न हुने जोखिम बढी छ । हामीसँग धेरै तितो अनुभव छ । कुनै समय श्रमिकलाई उचालेर ठूलो समस्या सिर्जना गराईयो । होटलका लगानीकर्ता धुरुधुरु रुनु पर्यो । लगानीकर्तालाई धम्क्याउने, थर्काउने, अत्याउने र होटल नै हत्याउने खालको गतिविधि भए । यस्तो अवस्था सिर्जना गरिदा कुनै पनि लगानी सुरक्षित हुँदैन । होटल मात्र थपिए, पूर्वाधार बन्न सकेन भने ठूलो संकट आउँने छ । सबै होटलहरुले सानो केक बाँडेर खानुपर्छ । सबैले भएका पर्यटकलाई तानातान गर्ने हो । त्यहि भएर नेपालमा होटलहरुको रुम रेट बढेको छैन । होटलहरु थपिदै जाँदा पूर्वाधार निर्माण पनि भए, पर्यटकको खर्च पनि बढ्यो भने सबैलाई राम्रो हुन्छ । आम्दानी राम्रो भयो भने मैले चिया पिउने कप नयाँ किनेर प्रयोग गर्ने हो, आम्दानी बढेन भने पुरानै कम प्रयोग गर्ने हो । वास्तवमा नेपालका सबै होटल कसरी सर्भाइभ गर्ने भनेर सोचिरहेका छन् । पुरानो कपमा नै काम चलाईरहेका छन् । पुराना होटलहरुसँग धेरै उतारचढावको अनुभव छ । मुलुक द्वन्द्वमा पर्दा हामीले कस्तो समस्या भोग्नु पर्यो, आर्थिक वृद्धि उच्च रहेको समयमा कस्ता पर्यटक आए, हाम्रो आम्दानीको कस्तो असर पर्यो, त्यो अनुभव भइसक्यो । अर्थतन्त्र संकटमा पर्दा कसरी चल्नुपर्छ भन्ने अनुभव पनि हामीलाई छ । होटलमा गरिएको लगानी कति सुरक्षित हुनेछ ? व्यवसायिक प्रतिस्पर्धाबाट आउने जोखिम भन्दा राजनीतिक कारणले उत्पन्न हुने जोखिम बढी छ । हामीसँग धेरै तितो अनुभव छ । कुनै समय श्रमिकलाई उचालेर ठूलो समस्या सिर्जना गराईयो । होटलका लगानीकर्ता धुरुधुरु रुनु पर्यो । लगानीकर्तालाई धम्क्याउने, थर्काउने, अत्याउने र होटल नै हत्याउने खालको गतिविधि भए । यस्तो अवस्था सिर्जना गरिदा कुनै पनि लगानी सुरक्षित हुँदैन । कोही ८ घण्टा काम गर्छन्, कोही १२ घण्टा काम गर्छन्, कोही १६ घण्टा काम गर्छन् । कोही ८ घण्टा काम गर्ने समयमा पनि कसरी काम चोर्ने, ठग्ने भनेर सोच्छन् । सबैले मिहेनत अनुसारको प्रतिफल खोज्ने हो । तर राजनीति गर्नेहरु सबैको आम्दानी समान हुनुपर्छ भन्छन् । काम र राजनीतिलाई मिसाइन्छ । मेरो भनाई के हो भने काम गर्ने थलोमा राजनीति मिसाउनु भएन । काम गर्ने बेलामा काम गर्ने, राजनीति गर्ने समयमा राजनीति गर्ने । यूनियन भनेको कर्मचारीको हितमा काम गर्ने हो, कर्मचारीको सेवा सुविधाको पक्षमा बोल्ने संगठन हो । यूनियन भएको कम्पनीको विरुद्ध काम गर्ने, कम्पनी विरुद्ध गतिविधि सञ्चालन गर्ने समानान्तर संस्था होइन । राजनीति गर्नेले श्रमिक र लगानीकर्तालाई उत्तिकै संरक्षण गर्नुपर्छ । राजनीति गर्नेले श्रमिकको हितमा मात्र काम गर्ने, लगानीकर्ताको हितबारे सोच्दै नसोच्ने हो भने होटलको मात्र होइन, कुनै पनि क्षेत्रको लगानी सुरक्षित हुँदैन । होटलहरुबीच सेवा, गुणस्तर र मूल्यमा हने प्रतिस्पर्धाले ल्याउने जोखिमलाई लगानीकर्ताले वहन गर्न सक्छ । तर राजनीतिक जोखिमलाई लगानीकर्ताले वहन गर्न सक्दैन । विश्व बजारसँग नेपाललाई तुलाना गरेर पनि हेरिनुपर्छ । विकसित देशमा होटलको कुल आम्दानीको १३ देखि १४ प्रतिशत कर्मचारीमा खर्च हुन्छ । तर हाम्रो होटलमा आम्दानीको ३२ प्रतिशत खर्च कर्मचारीमा हुन्छ । तैपनि नेपालमा किन ट्रेडयूनियनहरु आन्दोलन गर्छन ? होटल क्षेत्रमा जनशक्ति आपूर्ति र व्यवस्थापन कस्तो छ ? आगामी दिनमा कसरी अगाडि बढ्ला ? ब्रेनड्रेन भई रहेको छ । सक्षम र मिहेनती मान्छे विदेश गईरहेका छन् । नेपालमा पनि जनशक्तिको विकासमा जोड दिनुपर्छ । तालिम दिने संस्थाहरुलाई प्रोत्साहित गर्नुपर्छ । होटलका लगानीकर्ताले कस्तो प्रतिफल पाईरहेका छन् ? विदेशमा पाँच तारे होटलको रेट प्रतिकोठा प्रतिदिन २०० डलरभन्दा माथि छ । तर नेपालमा १०० डलर भन्दा कम छ । खर्च बढिरहेको छ तर आम्दानी बढ्न सकिरहेको छैन । अरब देशहरुमा सानो कोठाको २०० डलर तिर्नुपर्छ । मेरो देशमा ढोकादेखि बेडसम्म सबै किसिमको सेवा दिँदा पनि १०० डलर लिन पाएका छैनौं । नेपालमा होटलका लगानीकर्ता र व्यवस्थापनबीच पनि केही तालमेल मिलेको छैन । मेरो बुझाईमा होटलका लगानीकर्ताले राम्रो प्रतिफल पाउन पनि सकेका छैनन् । अन्नपूर्ण होटलको पूर्वाधार र क्षमता विस्तारको योजना के के छन् ? अन्नपूर्ण होटल ५० वर्ष पुरानो भयो । अब समय अनुसार पूर्वाधार निर्माण गर्नुपर्छ । नयाँ डिजाईन बनेको छ । हाल १२० कोठाको होटल हो । अब यसलाई २०० कोठा बनाउँदै छौं । क्यासिनो सञ्चालनमा भएको विवाद र अवरोधले अन्नपूर्ण होटललाई कस्तो असर परेको छ ? क्यासिनो विजनेश धेरै राम्रो थियो । तर क्यासिनोले सरकारप्रतिको जिम्मेवारी निर्वाह नगरेको, कर नतिरेको, नविकरण नगरेको जस्ता विवाद देखिएपछि हामीले क्यासिनो हटाएका हौ । कमजोरी क्यासिनोको पनि थियो, कमजोरी सरकारको पनि थियो । अहिले सरकारले नयाँ नीति लिएको छ । क्यासिनो हुँदा गेष्ट पनि बढ्छ, फुड्सको डिमाण्ड पनि बढ्छ, होटललाई फाइदा नै हुन्छ । त्यसैले नयाँ क्यासिनो भित्र्याउने विषयमा सोचिरहेको छ । करिब ५ वटा प्रस्ताव आएका छन् । हामी ती प्रस्तावहरु अध्ययन गरिरहेको छौं ।