यो वर्ष ११ वटा बीमा कम्पनीको भन्दा मेरो विजनेश बढी हुनेछ– अभिकर्ता अन्जन भण्डारी

अन्जन भण्डारी, बीमा अभिकर्ता, लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सिन्धुपाल्चाेक जन्मेर ग्रामिण क्षेत्रमा नै हुर्किनु भएका अन्जन भण्डारी वाणिज्य शास्त्रमा स्नातक गरेपछि अभिकर्ताको रुपमा सन २००८ देखि काम  थाल्नु भएको हाे । २८ वर्षिय भण्डारी सबैभन्दा बढी बीमा कारोबार गर्ने अभिकर्ताको रुपमा परिचित हुनुहुन्छ । उहाँले गत आर्थिक वर्षमा ५० करोड रुपैयाँ प्रिमियम बराबरको बीमा गराउनु भएको भण्डारीले चालु आर्थिक वर्षमा १०० करोड रुपैयाँ प्रिमियम बराबरको बीमा गराउने लक्ष्य राख्नु भएको छ । १० वर्षभित्र वार्षिक १० अर्ब रुपैयाँ प्रिमियम संकलन हुने गरी ठूलो स्केलमा बीमा गराउने लक्ष्यसहित उहाँ अगाडि बढिरहनुभएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उहाँलाई विश्वकै सबैभन्दा बढी बीमा गराउने अभिकर्ताको रुपमा सम्मान पनि गरिसकेको छ । स्वेच्छिक रुपमा बीमा गर्ने अभ्यास नभएको समाजमा यति ठूलो भोलुमको विजनेश गर्ने उहाँको सीप, कला, क्षमता के हो ? देशविकासका लागि भण्डारीसँग गरिएको अन्तरवार्ता यस पटक । तपाई बीमा क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ? अहिलेसम्मको उपलब्धि कस्तो रह्यो ? म एलआईसी नेपालमा सन् २००८ देखि अभिकर्ताको रुपमा कार्यरत छु । मैले बीमा अभिकर्ताको रुपमा काम गर्दा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, नेपाल लाईफ इन्स्योस्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी थिए । त्यसपछि १३ वटा नयाँ जीवन बीमा कम्पनी थपिएका छन् । गत वर्ष कन्भेन्सनल प्लानमा मात्र मैले २१ करोड रुपैयाँ भन्दा बढीका प्रिमियमको बीमा भएको छ । गत वर्ष नयाँ बीमाको पोलिसीबाट मात्र २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थिएँ । सबै गरी ५० करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन भएको छ । चालु आर्थिक वर्ष १०० करोडभन्दा बढीको प्रिमियम संकलन गर्ने लक्ष्यको साथ काम गरिरहेको छु । गत वर्ष नै मैले २/३ वटा कम्पनीलाई जितिसकेको छ । यस वर्ष खुलेका ९ वटा कम्पनी म भन्दा पछाडि हुनेछन् । पुराना कम्पनीमा पनि २÷३ वटा मभन्दा पछाडि हुनेछन् । वार्षिक १०० करोडको प्रिमियम संकलन हुने गरी बीमा गराउँदा तपाईलाई नाफा कति हुन्छ ? अफिसको सबै खर्च कटाएर र सबै कर तिरेर करिव ४ प्रतिशत मात्र बचत हुन्छ । १०० करोड प्रिमियम संकलन हुँदा ४ करोड रुपैयाँ मलाई फाइदा हुन्छ । भन्न त जे भने पनि भनिन्छ । तर अभिकर्ताले कुल प्रिमियममा पाउने भनेको ४/५ प्रतिशत मात्र हो । एक्लैले यति ठूलो विजनेश कसरी गर्नुभएको छ ? म एक्लै छैन । मेरो कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित ८ जना कर्मचारी छन् । मैले हेर्ने भनेको नयाँ ग्राहकलाई मात्र हो । पुराना ग्राहकलाई दिने सेवाहरु कर्मचारीले हेर्छन । हाम्रा ग्राहकलाई कर्जा चाहिएको हुन सक्छ, बीमा दावी गर्नु परेको हुनसक्छ, डकुमेन्टेशनको सेवा आवश्यक होला, मेडिकल इन्स्योरेन्सको सेवा दिनु होला, ती सबै काम कर्मचारीबाट हुन्छ । हाम्रा ग्राहक करिव २००० हजार ग्राहक भएका छन् । वर्षमा ५० करोडभन्दा बढी प्रिमियम संकलन हुन्छ । एकै दिन करोडभन्दा बढी प्रिमियम संकलन भएको हुन्छ । यी सबैं काम मैले गर्न सक्दिन । यी सेवाहरु कर्मचारीहरुबाट हुन्छ, सिस्टमबाट हुुन्छ । मैले १० वर्षअघि नै एउटा सिस्टम बनाउन लाखौं लगानी गरेको थिए । अहिले करोडौं रुपैयाँ लगानी गरेर नयाँ पोलिसी बनाउँदैछु । नयाँ रणनीतिको लागि मैले किन करोडौं लगानी गर्दैछु भने अब मेरो लक्ष्य अर्बौको कारोबार गर्ने हो । निकट भविष्यमा कति कारोबार गर्ने लक्ष्य लिनु भएको छ ? १० वर्षभित्र वार्षिक १० अर्ब भन्दा बढी प्रिमियम संकलन गर्ने लक्ष्यसहित काम गरिरहेको छु । नेपालमा बीमा स्वेच्छिक रुपमा गर्ने अभ्यास छैन । धेरै आग्रह, अनुनय, विनय गरेपछि मात्र बीमा गर्छन भन्ने भनिन्छ । तपाईले मान्छेको विश्वास कसरी जिन्तुहुन्छ ? नेपालका बीमा अभिकर्ता मध्ये प्रयाः सबैले यो पेशालाई आंशिक (पार्ट टाईम जब) रुपमा लिएका छन् । मैले बीमालाई नै पूर्णकालिन पेशाको रुपमा लिएको छु । मैले यस पेशामा ठूला लगानी गरेको छु । अध्ययन गरेको हुन्छु, ग्राहकलाई राम्रो प्रस्तुती दिन सक्छु । ‘बीमा गर्नुहोस्’ मात्र भन्दिन, यसको लाभको बारेमा राम्ररी बुझाउने क्षमताको विकास गरेको छु । अन्जन भण्डारी भनेको बीमाको प्रयाबाजी शब्द जस्तो भईसक्यो । मलाई चिन्ने सबैलाई थाहा छ कि म बीमा अभिकर्ता हुँ । म कसैसँग समय लिएर भेट्न जाँदैछु भने पहिलो नै भन्नेछु कि ‘म तपाईको बीमा गराउन आउँदैछु ।’ कफी खान आउँछु भनेर भेट्ने अनि बीमाको कुरा म गर्दिन । अरु व्यापार व्यवसाय वा सम्बन्ध जोडेर जाने अनि बीमाको कुरा गर्ने काम म गर्दिन । म सोझै बीमाको कुरा गर्छु । मान्छे भेटेपछि मेरो इतिहार र वर्तमान बुझाउँछु । बीमाको महत्व बुझाउँछु । मप्रति विश्वास गरेर बीमा गर्नेहरु धेरै छन् । कुनै पनि व्यक्तिले बीम कम्पनीलाई विश्वास गरेर बीमा गर्ने कि अभिकर्तालाई विश्वास गरेर ? दुबै हो । कम्पनीप्रति पनि विश्वास हुनुपर्छ, अभिकर्ताप्रति पनि विश्वास हुनुपर्छ । नेपाली समाझमा ७० प्रतिशत मान्छे व्यक्तिगत सम्बन्ध, व्यक्तिको प्रस्तुति र प्रभावका आधारमा बीमा गर्छन । ३० प्रतिशत मानिस मात्र बीमा कम्पनीको बारेमा बुझेर बीमा गर्छन । तपाईले बीमा गराउने लक्षित वर्ग कुन हो ? व्यवसायिक समूदाय । नेपालको ठूलो व्यवसायिक व्यक्तित्वमध्ये अधिकांशको बीमा मैले नै गराएको छु । जो मान्छे भेट्न सामान्य अभिकर्ताले सक्दैन, ३÷४ वटा गेट वा सुरक्षा जाँच पार गरेर मात्र पुग्न सकिन्छ । त्यसको लागि तपाईसँग रणनीति चाहियो । व्यवसायीहरु अधिक नाफामा केन्द्रीत हुन्छन । उनीहरु किन बीमा गर्छन ? पारिवारिक सुरक्षा, जोखिम न्यूनिकरण र व्यवसायकि लाभ । बैंकले कर्जा दिदाँ बीमा गरे जस्तै व्यवसायीले आफ्नो व्यवसायिक जोखिमको आधारमा बीमा गर्नु राम्रो हुन्छ । कुनै व्यवसायीले ५ करोडको व्यवसाय गरेको छ । ३ करोड बैंकको कर्जा होला, २ करोड उसको आफ्नै लगानी होला । कुनै कारणबस उसको निधन भयो वा अशक्त भयो भने ५ करोडको जोखिम उसको परिवारलाई थेग्न गाह्रो हुन्छ । त्यसैले उसले अरुको भन्दा बढी बीमा गर्नु पर्छ । आज १००० करोड ऋण लिएर व्यवसाय गर्नेले १०० करोडको पनि बीमा गरेको छैन । भोलि ऊ तलमाथि पर्यो भने उसको परिवार त जोखिममा पर्यो नि । उसले ऋण लिँदा बैंकमा धितो मात्र राखेको हुँदैन, व्यक्तिगत जमानी पनि बसेको हुन्छ । त्यसैले व्यवसायीहरुले जति ऋण लिएका छन्, त्यति नै रकमको लागि जीवन बीमा गर्नुपर्छ । तपाईले लिएको अभिकर्ताको लाईसेन्स व्यक्तिगत हो कि संस्थागत ? व्यक्तिगत हो । म आफ्नो नामबाट नै व्यवसाय विस्तार गर्न चाहान्छु । संस्थागत रुपमा अभिकर्ता आउने अभ्यास कत्तिको छ ? शुरु भएको छ । जस्तै बैंकहरु नै बीमा कम्पनीको एजेन्टको रुपमा काम गर्न थालेका छन् । तर बैंकको मुख्य काम अभिकर्ताको सेवा दिनु होइन, उसको सहायक काम मात्र हो । अभिकर्ताको रुपमा राम्रो आम्दानी गर्नु भएको छ, लगानी कहाँ गर्नुहुन्छ ? म विशुद्ध अभिधकर्ता हुँ । मेरो सम्पूर्ण मिहेनत बीमा अभिकर्ताको रुपमा मात्र हुन्छ । लगानीकर्ताको रुपमा म ग्रुप विजनेशमा छु । हाम्रो ग्रुपले सेयर बजार लगानी गरेको छ । इन्भेष्टमेन्ट कम्पनी पनि चलाएको छ । होटल, ट्राभल्स एण्ड टुर कम्पनीमा लगानी गरेका छौं । अरु बीमा अभिकर्तालाई तपाईको सुझाव के छ ? पहिला बीमाको बारेमा अभिकर्ता आफैलाई ज्ञान हुनुपर्यो । ९० प्रतिशत अभिकर्तालाई बीमाको बारेमा राम्रो ज्ञान नै छैन । जोसँग बीमाको ज्ञान नै छैन, उसले कसरी अरुलाई बीमाको महत्वबारे बुझाउन सक्छ ? सक्दैन । नेपालमा चार लाख अभिकर्ता छन् । तर मासिक १ लाख आम्दानी गर्ने अभिकर्ता ज्यादै कम छन् । मासिक १ लाख रुपैयाँ पनि कमाउन नसक्ने अभिकर्तासँग कि ज्ञान छैन, कि उसले बीमा पेशालाई पार्ट टाईभ जब बनाएको छ भनेर बुझ्दा हुन्छ । विर्सन नहुने कुरा के पनि हो भने संसारभर नै सबैभन्दा गाह्रो काम भनेको बीमा अभिकर्ताको हो । नेपालमा बीमाको कल्चर पनि कम छ । किनकी मेरो बुबाले पनि गर्नु भएको थिएन । जसको परिवारमा अघिल्लो पुस्ताले पनि बीमा गरेको थियो, उसको परिवारले बीमाको महत्व बुझेको हुन्छ । बीमा गर्न राजी हुन्छ । घरमा पनि बीमाको महत्व नबुझेको, स्कूल, कलेजमा पनि बीमाबारे केही नसिकेको समाजमा बीमा गराउनु सजिलो काम होइन । गाह्रो कामको लागि बढी मिहेनत गर्नै पर्छ । ग्राहकको विश्वास जित्न सक्नुपर्छ ।  

असारमा मूल्य घट्नु र पुसमा मूल्य बढ्नु सिमेन्ट बजारको नियम नै हो : ध्रुब थापा

ध्रुब थापा, अध्यक्ष-नेपाल सिमेन्ट उत्पादक संघ सिमेन्टको मूल्य निकै बढेको छ, किन ? हरेक वर्ष हिउँदामा सिमेन्टको मूल्य केही बढ्छ । वर्षात्को समयमा फेरि मूल्य घट्छ । विगत १०/१५ वर्षदेखि कै ट्रेन हो यो । यस वर्ष अलि बढि मूल्य बढेको छ । क्लिङ्कर आयातमा देखिएको समस्या, कोइला, डिजेलमा भएको मूल्यवृद्धि, लोडसेडिङ, ढुवानीमा भएको भाडा वृद्धि लगायत धेरै कारणहरु एकै पटक जोडिन आउँदा यस पटक मूल्यवृद्धि अलि बढी भएको देखिन्छ । २/३ वर्षअघि दैनिक १५/१८ घण्टा लोडसेडिङ भयो, उद्योगीहरुले मूल्य पनि ह्वात्तै बढाए । त्यतिबेला लोडसेडिङले गर्दा जेनेरेटर राख्नु पर्यो, डिजेलमा खर्च गर्नु पर्यो, लागत दोब्बर भयो भन्ने तर्क गर्नुहुन्थ्यो । अहिले त लोडसेडिङ हटेको छ, लागत पनि पक्कै आधा घटेको होला । अब त भाउ घट्नु पर्ने होइन ? अहिले पनि उद्योगमा दैनिक ६ घण्टा लोडसेडिङ हुन्छ । विद्युतको गुणस्तर छैन । बिजुली आएको बेलामा पनि पावर घटबढ भईरन्छ । दिनमा ४/५ पटक बत्ती जान्छ । यसले गर्दा उद्योगले धेरै नोक्सान बेहोर्नु परेको छ । जब नियमित बिजुली आउँछ, सिमेन्ट उद्योगले गुणस्तरीय बिजुली पाउन थाल्छन्, तब मूल्य पनि घट्छ । तीन वर्षअघिको डिजेल मूल्य भन्दा अहिले डिजेको मूल्य कम छ । तर तपाईहरु डिजेलको मूल्य बढ्यो भनेर विज्ञप्ती निकालेर भ्रम फैलाईरहनु भएको छ । नाफा कमाउनैको लागि तपाईहरु किन सार्वजनिक रुपमा यस्तो गलत तर्क गर्नुहुन्छ ? डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढ्दा ढुवानी व्यवसायीले प्रतिबोरा सिमेन्टको भाउ ४० रुपैयाँ बढाएका छन् । तपाईहरुले यातायात व्यवसायीलाई यो प्रश्न किन गर्नुहुन्न ? सरकारले ढुवानी भाडामा भएको अस्वभाविक वृद्धिलाई किन नियन्त्रण गर्दैन ? पत्रकारहरुले पनि बुझ्नु पर्यो कि उद्योगमा लगानी गर्नेले नाफा खोज्छ । नाफा भएन भने उद्योग चल्दैन । सरकारले पनि सिमेन्ट उद्योग चलाएको छ । पछिल्लो समय निजी क्षेत्रका उद्योगले भन्दा सरकारी उद्योगले मूल्य बढी बढाएका छन् । लागत मूल्य बढेकाले नै सरकारी उद्योगले पनि मूल्य बढाएको हुनुपर्छ । सरकारी उद्योगले अधिक नाफा खान मूल्य बढाएको होइन होला । अर्को महत्वपूर्ण कुरा, तपाई ३/४ वर्षअघि बजारमा रहेको अन्य बस्तुको मूल्य र अहिले ती बस्नुको मूल्य पनि तुलना गर्नुहोस् । अरु बस्तुको तुलनामा सिमेन्टको मूल्य वृद्धि कम भएको छ, बढी छैन । २०७२ साल असारमा पीपीसी सिमेन्ट बोराको ५९० रुपैयाँ पथ्र्यो, ओपीसी ६४५ रुपैयाँमा किन्न पाइन्थ्यो । अहिले पीपीसी सिमेन्टको मूल्य ९०० भन्दा माथि छ, ओपीसीको मूल्य १०२५ रुपैयाँ भन्दा बढी छ । दुई वर्षमा मूल्य वृद्धि २० प्रतिशत कम छ, सिमेन्टको मूल्य वृद्धि ६०/७० प्रतिशतले बढ्यो । भूकम्प पीडितले धमाधम घर बनाउन लागेको बेलामा यसरी मूल्य बढाउनु तपाईहरुको गल्ती होइन ? गत साउनसम्ममा हेनुभयो भने उद्योगहरुले दुई वर्षको बीचमा १०/२० रुपैयाँ मात्र मूल्य बढाएका थिए । अहिले पनि उद्योगहरुको कारखाना मूल्य ७५० देखि ८५० सम्म छ भन्ने मैले सुनेको छ । बजारमा पुग्दा ढुवानी भाडा र बिक्रेताको खर्च जोडिन्छ । उसलाई पनि ५/१० रुपैयाँ नाफा चाहिन्छ । पछिल्लो समय कोइला, डिजेल, ढुवानीको भाडा वृद्धि, दैनिक ६ घण्टाको लोडसेडिङ, क्लिङकर आयातमा भएको अवरोध लगायत धेरै समस्या एकै पटक आउँदा उत्पादन लागत बढेकोले पहिला भन्दा यसपाली मूल्य अलि बढी नै भएको हो । केही मूल्य बढेको कुरा हामीले पनि स्वीकार गरेको छौं । मूल्य वृद्धिले जनता मारमा परेका छन् । सँगसँगै व्यवसायी पनि मारमा परेका छन् । उद्योग चलाउन नसकेर व्यवसायीहरु रोइकराई गरिरहेका छन् । व्यवसायीका कुरा पनि सरकारले सुन्नुपर्यो । व्यवसायीहरु दोहोरो तेहरो करको मारमा परेका छन् । सिमेन्ट उद्योगको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्छ । सिमेन्ट उत्पादक संघको तर्फबाट हामीले पटक पटक लिखित रुपमा सुझाव पनि दिएका छौं । सरकारले समयमा नै समस्याको समाधान गर्न पहल गरेन जनताले पनि दुःख पाउँछन्, धेरै उद्योगहरु पनि बन्द हुन्छन् । अहिलेसम्म घाटामा गएर कुनै पनि सिमेन्ट उद्योग बन्द भएका त छैनन नि ? अब बन्द हुँदैछन् । अबको २/४ वर्षको बीचमा धेरै सिमेन्ट उद्योग बन्द हुदैछन् । अहिले त्यसतर्फ कसैको पनि ध्यान गएको छैन । विगतका हिउँदमा कति मूल्य बढ्थ्यो, यस पटक कति बढ्यो ? विगतमा हिउँदमा प्रतिबोरा करिव ४०/४५ रुपैयाँले वृद्धि हुन्थ्यो, वर्षामा प्रतिबोरा ३०/३५ रुपैयाँले घट्थ्यो । यस पटक कम्पनीहरुले प्रतिबोरा ६० देखि ८० रुपैयाँसम्म बढाएका छन् । यसैबेलामा ढुवानी भाडा पनि बढेको छ । त्यसले उपभोक्ताको नजरमा एकै पटक ठूलो मूल्यवृद्धि देखिएको हो । उद्योगले व्यापारीलाई बेच्ने मूल्य र व्यापारीले उपभोक्तालाई बेच्ने मूल्यमा कति फरक पर्छ ? उद्योग नजिकको बजारमा बिक्रेतालाई बेच्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यमा प्रतिबोरा १०/१५ रुपैयाँ मात्र फरक पर्छ । जस्तै सिमरा बजारमा उद्योगले बिक्रेतालाई बिक्री गर्ने मूल्य र त्यस क्षेत्रको बजार मूल्यमा मा १० रुपैयाँ मात्र फरक पर्छ । त्यहि सिमेन्ट काठमाडौंमा प्रतिबोरा ५० रुपैयाँ महँगो पर्छ । त्यहि सिमेन्ट मुगुमा गएर किन्नुभयो भने २०० रुपैयाँ मूल्य बढी पर्छ । किनकी सिमेन्टको ढुवानी मूल्य बढी नै हुन्छ । सिमेन्ट सस्तो कहिले हुन्छ ? सामान्यतय असारदेखि मंसिरसम्ममा मूल्य घटेको हुन्छ । गत भदौं देखि कात्तिकसम्म २० बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा देखि सिमेन्ट किन्दा बाइक, कार उपहार पाउने स्कीम आयो । त्यतिबेला कम्पनीहरुले मूल्य घटाएको पनि थिए । वर्षाको कारण घर बनाउनै नसक्ने बेलामा, दशै/ तिहार जस्ता महत्वपूर्ण चाडबाढ बनाउने बेलामा, मानिसहरुले घर बनाउनै नसक्ने बेलामा सस्तो बनाउनुहुदो रहेछ, किन यस्तो ? यसमा माग र आपूर्तिको कुरा आउँछ । असारदेखि सिमेन्टको माग घट्छ, मूल्य पनि घट्छ । त्यतिबेला सर्वसाधारणको घर निर्माण पनि कम हुन्छ । विकास निर्माणको काम पनि कम हुन्छ । पुस/माघदेखि निर्माण क्षेत्रमा धेरै काम हुन्छ । सिमेन्टको माग बढ्छ, मूल्य पनि बढ्छ । जतिबेला उद्योगले उत्पादन गरेर भ्याएको हुन्दैन, बजारमा मागको चाप हुन्छ, त्यतिबेला मूल्य बढ्ने हो । जतिबेला बजारमा माग नै हुँदैन, उद्योगको उत्पादन क्षमताको २५ प्रतिशत पनि उपयोग भएको हुँदैन, त्यतिबेला उद्योगहरुले घाटा खाएर पनि सिमेन्ट बेच्नु परेको हुन्छ । फेरी वर्षाको समयमा लोडसेडिङ हुन्दैन । डिजेल खर्चेर जेनेरेटर चलाउनु पनि पर्दैन । त्यसबेलामा लागत पनि कम हुन्छ ।  

यस वर्ष जीवन बीमा कम्पनीको बजार ५० प्रतिशतले विस्तार हुन्छ-मनोजकुमार लाल कर्ण

यस वर्ष ९ वटा जीबन बीमा कम्पनीहरु सञ्चालनमा आएका छन् । त्यसमध्ये एक हो यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । असोज ६ गते सञ्चालनमा आएको यो कम्पनीको अधिकृत पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ । त्यसमा संस्थापकहरुको लगानी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ भने सर्ब साधारणको लागि ६४ करोड ५० लाखको सेयर निष्काशन गर्दैछ । प्रस्तुत छ बीमा बजारको विकास र लगानीको प्रतिफलबारे यूनियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णसँग गरिएको विकास वहस । मनोज कुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत–यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तपाईको आफ्नै समिक्षामा नयाँ कम्पनीहरुमध्ये यूनियन लाइफ कुन पोजिशनमा छ ? पहिलो, दोस्रो वा तेस्रो भन्नेतिर हामी छैनौ । हामी धेरै भन्दा धेरै मानिसको आर्थिक जीवनको सुरक्षा गर्न चाहान्छौं । हामीले ७ प्रकारका जीवन बीमा पोलिसी जारी गरिरहेका छौं । नयाँ पोलिसीहरु बनाउनेतर्फ काम भईराखेको छ । लघुबीमा, म्यादी बीमा, सावाधिक बीमा, बालबालिका बीमा, लिमिटेड पेमेन्ट पोलिसी सञ्चालनमा छन्, जुन बजारमा अरुले पनि ल्याएका छन् । त्यसबाहेक हामीले ‘मनिव्याक होल लाइफ पोलिसी’ ल्याएको छौं । यो पोलिसी पुरै नयाँ छ र अरु भन्दा धेरै फरक छ । ७० वर्षसम्म एक्सिडेन्टल कभर हुन्छ । ९९ वर्ष पुरा भएपछि फेरी हामी होल सम इन्स्योर भुक्तानी गर्छौ । सामान्यतय मानिसहरुको कति रकमको जीवन बीमा गर्छन ? पहिला १/२ लाख रुपैयाँ कुल बीमा रकमको मात्र जीवन बीमा हुन्थ्यो । अहिले १०/१५ लाख रुपैयाँको बीमा सामान्य भईसक्यो । ५० लाख, एक करोड, दई करोडको बीमा गर्ने अभ्यास पनि शुरु भईसक्यो । सामान्यतया अभिकर्ताले हजुवाको भरमा २ लाख वा ५ लाख वा १० लाखको बीमा गर्न सुझाव दिन्छन् । त्यो गलत तरिका हो । हुनुपर्छ के भने–वार्षिक आम्दानीको १० गुणासम्म कुल बीमाङ्कको बीमा गराउनु उपयुक्त हुन्छ । वार्षिक २ लाख आम्दानी गर्नेले २० लाखको बीमा गर्दा हुन्छ । वार्षिक ५ लाख आम्दानी गर्नेले ५० लाख रुपैयाँको बीमा गर्दा हुन्छ । ९ वटा नयाँ बीमा कम्पनीहरुको आगमनपछि बजारको विकास कसरी होला ? हालसालैको तथ्याङ्क अनुसार १० प्रतिशत नेपालीले जीवन बीमा गरेका छन् तर त्यो हल्का फुल्का बीमा हो । वार्षिक ५० हजार बचत गर्न सक्ने मान्छेले वार्षिक १० हजार रुपैयाँ प्रिमियम बुझाउने बीमा गरिरहेको छ । उसले आफ्नो क्षमता अनुसार बीमा गरेको छैन । ५ वटा रोटी खान सक्ने मान्छेलाई एउटा मात्र रोटी खान दियो भने ऊ भोकै हुन्छ । अहिले बीमा बजारमा यस्तै भईराखेको छ । त्यसैले म के भन्छु भने वास्तवमा २ प्रतिशतभन्दा बढी नेपालीले बीमा गरेकै छैनन् । बीमाको बजार विकास भएको देशमा ४० प्रतिशत नागरिकले बीमा गरेको हुन्छन् । हामीकोमा बीमा नै भएको छैन । धनीले पनि बीमा गरेको छैन, मध्यम वर्गले पनि बीमा गरेको छैन, गरिबले पनि बीमा गरेको छैन् । अब बजार विस्तार हुन्छ । नयाँ बीमा कम्पनीहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् । पुराना कम्पनीहरु पनि झन् बढी मिहेनतका साथ व्यवसायिक गतिविधि बढाएका छन् । सबैले शाखा विस्तार र अभिकर्ता परिचालनमा जोड दिएका छन् । कसरी आकर्षक पोलिसी बनाउने भन्नेमा ध्यान गएको छ । नयाँ होस् वा पुराना, सबै बीमा कम्पनीहरु बजार विस्तारमा लागेका छन् । यसले बजार विस्तार गर्न मद्दत गर्छ । २०२९ सालमा बीमा संस्थानले जीवन बीमा शुरु गर्यो । २०४६ सालमा नेशनल लाईफ इन्स्योरेन्स आएपछि बजारमा अलिकति परिवर्तन आयो । २०५८ सालमा नेपाल लाईफ, एलआईसी, एलिको (हालको मेटालाइफ) आउँदा बजारमा धेरै परिवर्तन आयो । २ वटा कम्पनी मात्र सञ्चालन भईरहेको बेलामा ३ वटा बीमा कम्पनी थपिदा माहौल नै छुट्टै बन्यो । २०६४ सालमा फेरी ४ वटा जीवन बीमा कम्पनी आए, एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ र सूर्या लाइफ । त्यसले अर्कै आहौल बन्यो । २०७४ सालमा फेरी ९ वटा जीबन बीमा कम्पनी थपिए । यसले बीमा बजारमा छुट्टै तरङ्ग पैदा गरेको छ । अहिलेको माहौल विचित्र टाइपको छ । हरेक बीमा कम्पनीको दर्जनौ संख्यामा शाखा विस्तार गरिरहेका छन् । हालै बनेका नगरपालिकाहरुमा बीमा कम्पनीको शाखा खुल्दैछन् । अभिकर्ताहरु गाउँगाउँ पसेका छन् । गाउँगाउँबाट पैसा आउन थालेको छ । यस वर्ष जीवनबीमा तर्फ प्रिमियम ५० प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष १२ अर्ब प्रिमियम थियो, यस वर्ष १७ अर्ब रुपैयाँ प्रिमियम आउँछ । एक वर्षको ५०० करोड प्रिमियम थपिदैछ । यो ठूलो फड्को हो । तपाईको कम्पनीले कति प्रिमियम संकलन गर्छ ? त्यो नभनौं । हामी यति बीमा गराउँछौं भनेर अंकको कुरा अहिले गर्दैनौ । बीमा सबैले गर्नुपर्छ भन्ने सन्देश लिएर जान्छौं । हामी अरुको भन्दा बढी बीमा गर्छौ भनेर अहिले भन्दा पनि भन्दैनौ । किनकी १० देखि ४५ वर्ष पुराना कम्पनीहरु छन् । यद्यपी अरुको भन्दा राम्रो सेवा लिएर बजारमा गईरहेको छौं । करिव एक हजार अभिकर्ता परिचालन गरेका छौं । एक हजार जना अभिकर्ता सबै सक्रिय छन् ? अहिले त हामीले तालिम दिएर भर्खरै परिचालन गरेका छौं । ती मध्ये सबैले राम्रो गर्न सक्छन् भन्ने हुँदैन । बीमा अभिकर्ताको तालिम लिने हजारौ हुन्छन् तर पूर्ण रुपमा यसैलाई पेशा बनाएर काम गर्न कम हुन्छन् । अभिकर्ता बन्नेहरु मध्ये ५० प्रतिशत कामै गर्दैनन् । बाँकी ५० प्रतिशतलाई पनि नियमित रुपमा मोटिभेशन, रिफ्रेशमेन्ट दिन सकिएन भने सुतिहाल्छन् । बीमा अभिकर्ताको काम ‘टफ’ (कठिन) छ र सबैले यो काम गर्न सक्छन् भन्ने हुँदैन । नयाँ र पुराना बीमा कम्पनीको बजारीकरण गर्ने शैलीमा के कति फरक हुन्छ ? सबैले मार्केटिक गर्ने तरिका उस्तै हो । अभिकर्तालाई प्रोत्साहित गर्ने, ठाउँठाउँमा शाखा खोल्ने, राम्रो बीमा पोलिसी बनाउने । हामीले २५ वटा शाखा खोलिसकेका छौं । नयाँ कम्पनीका लागि नेटर्वक विस्तार गर्न समय लाग्छ, कम्पनीको सञ्चालन विधि र प्रणाली बनाउन समय लाग्छ । ब्राण्डिङ गर्न केही समय लाग्छ । पुराना कम्पनीले भन्दा नयाँ कम्पनीले बढी मिहेनत गर्नैपर्छ । बैंकले जस्तै बीमा कम्पनीहरुले ब्रान्चलेस सर्भिस दिन सक्दैनन् ? सक्दैन । पहिला जनता बैंकमा जान्थे । अहिले बैंक जनताको घरमा जान्छन् । पहिला बैंकहरु न्यूरोडमा एउटा शाखा भयो काठमाडौंमा भईहाल्छ भन्ने सोच्दथे । अहिले न्यूरोडमा मात्र भएर पुगेन, कालिमाटीमा पनि चाहियो, ठमेलमा पनि चाहियो, कान्थिपथमा पनि चाहियो, थापथालीमा पनि चाहियो, चोकचोकमा चाहियो । काठमाडौंमा एउटै बैंकको शाखा १५/२० खुलेका छन् । नेपालगञ्जमा शाखा खोलेर धनगढीको विजनेश आउँदैन । विराटनगरमा शाखा खोलेर विर्तामोडको विजनेश आउँदैन । ‘मेरो बीमा गर्नु छ’ भनेर ग्राहकले बीमाको अभिकर्तालाई खोज्दै हिड्ने वा बीमा कम्पनीको शाखामा जाने दिन कहिले आउँला ? अमेरिकामा वा बेलायतमा जस्तो बीमा कम्पनीको वेवसाईट हेर्ने, प्रडक्ट फिचर हेर्ने, अनलाइनबाट फारम भर्ने र कार्डबाट प्रिमियम पेमेन्ट गर्ने सिस्टम नेपालमा बन्ने धेरै समय लाग्छ । यसको लागि धेरै लामो समय लाग्छ । अमेरिकामा वा बेलायतमा जस्तो बीमा कम्पनीको वेवसाईट हेर्ने, प्रडक्ट फिचर हेर्ने, अनलाइनबाट फारम भर्ने र कार्डबाट प्रिमियम पेमेन्ट गर्ने सिस्टम नेपालमा बन्ने धेरै समय लाग्छ । अहिले हामीले जति विज्ञापन गरे पनि, जति शाखा विस्तार गरे पनि बीमा गर्न मान्छे बीमा कम्पनीमा आउँदैन । अभिकर्ताले ‘बीमा गर्नुहोस्, बीमा गर्नुहोस्’ भन्दै मान्छेलाई १० चोटीसम्म भन्नै पर्छ । १० पटक गएपछि मात्र बीमा गर्छ । कोही कोही यस्ता व्यक्ति हुन्छन्–‘त धेरै पटक आइस्, तेरो लागि मैले यति बीमा गरिदिएँ’ भन्छन् र बीमा गर्छन । अहिलेकाे समयमा स्वेच्छिक बीमाको अभ्यासबारे सोच्दै नसोचौं । यस कम्पनीले साधारण सेयर कहिले निष्काशन गर्छ ? २ अर्ब १५ करोड अधिकृत पुँजी भएको कम्पनी हो यूनियन लाइफ । त्यसमा संस्थापकहरुको लगानी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्छौं । सम्बन्धित निकायले स्वीकृत दिएमा यसै वर्ष साधारण सेयर निष्काशन गर्छौं । साधारणसभाबाट निर्णय भईसकेको छ । कम्पनीका लगानीकर्ताका लाभांश कहिले पाउन सक्छन् ? अहिले भन्न सकिदैन । कम्पनी गत वर्ष पनि नाफामा छ, यस वर्ष पनि नाफामा जान्छ । सेयर पुँजी मुद्दती खातामा राखेका छौ । केही राम्रा कम्पनीको अक्सन सेयरमा लगानी गरेका छौं । कम्पनीलाई निरन्तर नाफामा लैजान सकिन्छ । तैपनि लगानीकर्ताले छोटो अवधिमा लाभांशको आश गर्नु भएन । जीवन बीमा कम्पनीमा लगानी गर्नु भनेको दीर्घकालिन लगानी हो ।