सिम टिभी हरेक बस्ती र घरमा पुर्याउँदैछौं–दक्ष पौडेल

रेमिट्यान्स सेवाबाट उदाएको प्रभु समूहले बैंक, बीमा, पुँजीबजार, जलविद्युत, हवाई सेवा लगायत धेरै क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यसअघि टेलिभिजन च्यानल सेवा प्रदायक कम्पनी डिस होममा २५ प्रतिशत सेयर लगानी गरेको प्रभु समूहले फरक प्रविधिबाट उस्तै सोवा दिने सिम टिभीमा पनि ठूलो लगानी गरेको छ । प्रभु समूहको विभिन्न कम्पनी समाल्दै हाल सिम्पल मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहनुभएको दक्ष पौडेलसँग हामीले सोधेका छौ–सिम टिभीमा लगानी गर्नेको कारण के हुन् ? सिम टिभीले बजार कसरी लिन्छ ? दक्ष पौडेल, प्रबन्ध निर्देशक – सिम्पल मिडिया नेटवर्क ग्राहकले सिम टिभी किन रोज्ने ? सिम टिभी एकदमै क्लियर आउँछ । हामीले दिने सेवा उच्च गुणस्तरको छ । सस्तो पनि छ । हामीले प्रयोग गर्ने प्रविधि आधुनिक छ । अप्टिकल फाइबरबाट घरमा केवल जोड्छौं । हाम्रो नेटवर्क राम्रो छ । काठमाडौं, पोखरा, चितवन, बुटवल, दाङ लगायत धेरै क्षेत्रमा हामीले लोकल केबुल अपरेटरसँग सहकार्य गरेका छौं । ग्राहकले जुनसुकै ठाउँबाट सेटअप बक्स लिन सक्ने, जुनसुकै ठाउँबाट रिचार्ज गर्न सक्ने व्यवस्था मिलाएका छौं । नयाँ प्रविधिको प्रयोगसँगै मूल्य पनि सस्तो हुनुपर्ने । तर टेलिभिजनको प्रयोगकर्ताहरुले प्रविधिसँगै मूल्यमा लाभ लिन सकेका छैनन् । टिभी च्यानल किन सस्तो भएनन् ? हामीले निकै सस्तो मूल्यको प्याकेजहरु दिएका छौं । सिम टिभीको सेटअप बक्स निःशुल्क छ । ५०० रुपैंयाँमा इन्स्टलेशन गर्दै आएका छौं । त्यसपछि तपाईँले विभिन्न किसिमको प्याकेजको लागि शुल्कहरु तिर्नुपर्दछ । हाई डेफिनिशन बक्सको लागि भने छुट्टै रकम तिर्नुपर्ने हुन्छ । हामीले दिएको जस्तो सेवा र मूल्य अन्य कम्पनीहरुले दिन सक्दैनन् । पहिला प्रयोग भएको एनालग सेवा कम गुणस्तरीय छन् । हामीले दिईरहेको सेवा भनेको डिजिटल केबल टेलिभिजन सेवा हो जसले ग्राहकहरुले सफा र प्रस्ट टेलिभिजन कन्टेन्ट हेर्न पाउँछन् । पहिला भन्दा धेरै गुणस्तरीय सेवा पहिलाको जस्तै मूल्यमा पाएका छन् । यसले उपभोक्तालाई लाभ नै भएको छ । इन्टरनेट सेवा सञ्चालनको तयारी कस्तो छ ? यस कम्पनीले २ वर्षअघि नै केबल टिभीका साथै इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको छ । तर अहिले हामी डिजिटल केबल टिभी सेवामा मात्र ध्यान केन्द्रित गरिरहेका छौं । तर हामी इन्टरनेट सेवा छिटै संचालन गर्ने योजनामा छौं । सिम टिभीको मुख्य बजार कुन हो ? हाम्रो सबैभन्दा ठूलो बजार काठमाडौं नै हो । त्यसपछि  पोखरा, चितवन, इटहरी, लुम्बिनी, दाङ र भैरहवा लगायतका मुख्य सहरहरुमा आफ्नो सेवा दिईरहेका छौं । अरु सहरहरुमा, बाक्लो बस्ती भएका गाउँहरुमा, हरेक नगरपालिका, गाउँ पालिकामा पुग्ने हाम्रो लक्ष्य छ । अहिले नै हामीसँग ३ लाख भन्दा बढी ग्राहकहरु छन् । एक वर्षभित्रै ४ लाख ग्राहक बनाउने योजनामा छौं । हामी ५ वर्षभित्र १० लाख ग्राहक बनाउने योजनामा छौं । नेपाल सरकारले डिजिटल प्रविधिमा जाने निर्णय गरेको छ, सरकारको नीति र कार्यक्रमलाई सहयोग गर्छौ । सस्तो, सुलभ र भरपर्दो तरिकाले हरेक बस्तीमा, हरेक घरमा डिजिटल प्रविधिबाट टिभी हेर्न सक्ने सुविधा हामी दिन्छौं । प्रभु समूहले सिम टिभीमा कति लगानी गरेको हो ? सिम्पल मिडिया नेटवर्कको पुँजी एक अर्ब हो । यसमा टिभी नेपालको २० प्रतिशत र इम्रेस इनभेष्टमेन्टको ८० प्रतिशत लगानी छ । यो विदेशी लगानी हो । हामीले किनेको सिम टिभी सबै सेयर किनेका हौ । डिस होममा पनि प्रभु समूह लगानी छ, प्रतिस्पर्धी कम्पनी सिम टिभीको पनि सेयर किन्नुको कारण के हो ? प्रभु समूहले समस्यामा परेका कम्पनी लिदै सुधार गर्दै आएको छ । समस्यामा परिको किष्ट बैंक लियौं, सुधार गर्यौ, समस्यामा परेको ग्राण्ड बैंक हामीले लियौं, सुधार गरेका छौं । सिम टिभी लियौं, यसको पनि सुधार गर्छौ । डिस होममा २५ प्रतिशत सेयर छ । सिम्पल मिडिया नेटवर्कको हामीले २० प्रतिशत सेयर हामीले किनेका छौं । डिस होम र सिम टिभीको ग्राहक फरक हुनसक्छ । डिसहोम एन्टिनाबाट चल्ने प्रविधि हो । त्यसको लागि छानामा वा कौसीमा छाता राख्नुपर्छ । सिम टिभी अप्टिकल फाइबारबाट चल्ने प्रविधि हो । यसको लागि केबुल जोड्नुपर्छ । च्यानल दुबैमा आउने उही नै हो । अर्कोकुरा, सिम टिभीले एलसीओ (लोकल केवल अपरेटर)सँग मिलेर काम गर्ने हो । हामी सोझै ग्राहकसँग डिल गर्दैनौ । डिसहोमले प्रत्यक्ष ग्राहकसँग डिल गर्छ । सिम टिभी र डिस होम मध्ये कुन सेवा बढी प्रभावकारी हुन्छ ? दुबैमा आउने च्यानलहरु उस्तै हुन् । जमाना वायर लेसको आएको छ, टिभी च्यालन पनि इन्टरनेटबाट तान्ने प्रविधि आएको छ । प्रविधिमा छिटो छिटो परिवर्तन भएको छ । अहिलेलाई सबैभन्दा राम्रो क्वालिटी अप्टिकल फाइबारमा नै छ । तर सिम टिभीको क्वालिटी प्रति ग्राहकहरुको धेरै गुनासो सुनिन्छ, किन ? प्रभु समूहले सिम टिभीको सेयर किनेपछि समस्या देखिएको छैन । अहिले प्राविधिक रुपमा क्वालिटी धेरै राम्रो छ । हामीले नयाँ कार्यलय सञ्चालनमा ल्याएका छौं । यहाँ मनिटरिंग सिस्टम स्थापना गरेका छौं । समस्या समाधान गर्न २४ घण्टे कल सेन्टर संचालन गरिरहेका छौं । त्यसैगरी समस्या आएमा टेक्निकल टिम पनि राखेका छौं । हामीले मोबाइलबाटै सिम टिभी चार्ज गर्ने सुविधा पनि दिएका छौं । कुनै स्थानमा फाइबर केबल गेटवेमा समस्या देखिएमा तत्काल हाम्रो स्थानीय केबल कम्पनीलाई भनेर मर्मत गर्ने गरेका छौं । हामीसँग अहिले १०० भन्दा बढी च्यानलहरु छन् । हामीसँग विभिन्न टिभी च्यानल डाउनलिंकको लागि विभिन्न स्थानमा हेडन पनि राखेका छौं । अहिले नै २१ भन्दा बढी एचडि च्यानल दिईरहेका छौं । सिम टिभीको क्वालिटी सबैभन्दा राम्रो छ अहिले । हामी बजार विस्तारसँगै ब्राण्ड इमेज पनि राम्रो बनाउँदै छौं । तपाईलाई थाहा नै छ प्रभु समूहले समस्यामा परेका कम्पनी लिदै सुधार गर्दै आएको छ । समस्यामा परिको किष्ट बैंक लियौं, सुधार गर्यौ, समस्यामा परेको ग्राण्ड बैंक हामीले लियौं, सुधार गरेका छौं । बिग्रेको सिम टिभी लियौं, यसको पनि सुधार गर्छौ ।

वर्षमा ३/४ करोड रुपैयाँ बोनस हातमा आउँछ-सुरेन्द्रबहादुर सिंह

सुरेन्द्रबहादुर सिंह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल बैंकको सञ्चालक पनि हुनुहुन्छ । उहाँ २००० देखि २०१३ सम्म नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक हुनुहुन्थ्यो । उहाँसँग हामीले सेयरवार्ताको प्रयास गरेका थियौं । तर उहाँको जीवनको बहुआयामिक रोचक पक्ष पायौं । प्रस्तुत छ उहाँसँग गरिएको लामो वार्ताको सम्पादीत अंश ।   सुरेन्द्रबहादुर सिंह तपाईको जन्म ? असनमा २०१८ सालमा । कति पुस्तादेखि असनमा बस्दै आएको ? हाम्रो इतिहास हामीलाई नै सबै थाहा छैन । मेरो बाजे बराजु कलिलो उमेरमा नै वित्नु भएछ । मेरो बुबा ७ वर्षको हुँदा बाजे बित्नुभएको रहेछ । बुबाको काका बा पनि कलिलो उमेरमा नै बित्नुभएछ । त्यसैले धेरै कुरा ट्रान्सफर नै हुन सकेन । तपाईको औपचारिक पढाई  ? स्कूलको शिक्षा ल्यब्रोटोरीज् स्कूल, कीर्तिपुरबाट हासिल गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेँ । १९८२ देखि १९८४ सम्म अष्ट्रिया(यूरोपियन देश) मा गएर होटल म्यानेजमेन्ट पढेँ । १९९२ देखि १९९४ इटलीबाट मास्टर इन इन्टरनेशलन म्यानेजमेन्ट पढेँ । त्यतिबेला विदेशमा पढ्ने अवसर कसरी मिल्यो ? अस्ट्रिया जान त्यतिबेला कुनै कठिन थिएन । अन एराईभल भिसा थियो । राम्रो शिक्षाको लागि बुबाले विदेश पठाउनु भएको । इटलीमा पढ्न जानुपूर्व एउटा रोचक प्रशंग छ । इटली एम्बेसीले नेशनल डेको अवसरमा सोल्टी होटलमा कार्यक्रम राखेको रहेछ । अन्तिम समयमा होटलले कार्यक्रम रद्द गरेछ । इटलीको नेशनल डे मनाउन एम्बेसीले आयोजना गरेको कार्यक्रम, प्रधानमन्त्री, मन्त्री लगायत धेरै भीआईपीलाई आमन्त्रण गरिएको कार्यक्रम । सोल्टी होटलले कार्यक्रम नगर्ने भएपछि राजदूत रिसले आगो भएछन् । त्यो बेलामा अरु राम्रा होटल कम थिए । कार्यक्रम हिमालयन होटलमा गर्ने व्यवस्था मैले मिलाएँ । मेरो कामबाट ती राजदूत प्रभावित भएछन् । इटलीमा पढ्न जान्छौ भनेर उनले सोधे । मैले ‘मसँग पैसा छैन’ भनेँ । ‘टिकटको पैसा तिमी हाल, बाँकी खर्चको व्यवस्था म मिलाई दिन्छुु’ भनेर उनले भने । मैले सहमति जनाएँ । उनले सबै कुरा मिलाई दिए । तपाईको व्यवसायिक पृष्ठभूमि ? ३०३४ देखि साढे दुई वर्ष राष्ट्रिय वाणिज्य बैंकमा काम गरेँ । पछि नेपाल अरब (हालको नविल) बैंकमा काम गरेँ । त्यतिबेला अरब बैंकको खुब बदनाम थियो । ठग बैंक, चोर बैंक भन्थे । भारतमा झनै बढी खराव इमेज । अरब बैंकमा काम गर्छु भन्न पनि लाज लाग्ने, डर लाग्ने अवस्था थियो । त्यतिबेला अरब बैंकको सेयर एनबी इन्टरनेशनलले किनेको थिएन । पछि श्रीलंकन, बंगलादेशीहरुले मिलेर सेयर किने । एनबी इन्टरनेशनल विनोद चौधरीको मात्र हो भनेर प्रचार गरिन्छ । वास्तवमा चौधरीको मात्र लगानी होइन । त्यसमा बंगाली, श्रीलंकनहरुको पनि लगानी छ । अरब बैंक छोडेर मल्ल ट्राभल्समा काम गरे । हिमालयन होटलमा २० वर्ष काम गरे, त्यो होटलमा लामो समय महाप्रबन्धक भएर काम गरेँ । बीचमा एउटा काम गरँे । त्यसले मेरो लाईफमा धेरै परिवर्तन ल्यायो । के काम थियो त्यो ? मैले १९८७ मा होटलमा बस्ने स्वीजरल्याण्डको गेष्टले मलाई हुलाक अफिस कहाँ छ भनेर सोध्यो । मैले ठेगाना बताईदिएँ । त्यसपछि उसले मलाई ‘सँगै’ जान प्रस्ताव गर्यो । भाषाको समस्या हुन सक्ने भएकोले मसँग सहयोग माग्यो । मैले सहयोग गरेँ । पछि मलाई बिजनेश गर्छौ भनेर सोध्यो । मैले जानेको छैन भनेँ । उसले सिकाई दिन्छु भन्यो । त्यो मान्छेले हुलाक टिकट छाप्ने स्वीस कम्पनीको एजेन्ट बन्न आग्रह गर्यो । हरेक वर्ष उसले पठाएको कोटेशन हुलाक विभागलाई बुझाउनु पर्ने काम रहेछ । मैले ‘हुन्छ’ भने । २/३ वर्ष उसले पठाएको कोटेशन परेन । इटलीमा पढ्न गएपछि बल्ल हुलाक टिकट छाप्ने ठेक्का पायो । विजनेश पाएपछि मलाई उसले स्वीजरल्याण्ड बोलायो । सबै खर्च उसैको । म घुम्न गए । कम्पनीको मालिक आफै रहेछ । पाँच वटा छोराछोरीलाई छुट्टाछुट्टै कम्पनी खडा गरेको रहेछ । आफ्नै घरमा राख्यो । मैले त्यति धनी मान्छे पहिलो पटक देखेको, भेटेको । उसले त्यतिबेला २५ हजार पर्ने स्वीस घडी दियो । फर्कने बेलामा ८ हजार स्वीच फ्याङक दियो । म त पुरै दंग । दोस्रो वर्ष पनि उसले नेपालको हुलाट टिकट डिजाइन गर्ने, छाप्ने टेण्डर पायो । फेरी उसले स्वीजरल्याण्ड बोलायो । मैले पनि सहमति जनाएँ । पुुरै मोजमानी गर्न पाईने । त्यतिबेला पनि नयाँ घडी दियो । १५ हजार स्वीच फ्याङक दियो । उसले दिने रेट पनि सस्तो, प्रिन्ट पनि राम्रो, डेलिभरी पनि टाईममा गर्ने । नेपालका हुलाकका कर्मचारीलाई पनि विदेश घुमाउने, तालिम दिने गर्न थाल्यो । उसले धेरै वर्ष नेपाली हुलाक टिकट छाप्ने काम पायो । करिव १७ वर्षसम्म मैले पनि त्यसमा काम गरे । उसले नियमित कमिशन दिएन । उसले आफ्नो इच्छाअनुसार वर्षमा एक पटक उसलाई मन लागेजति पैसा दिन्थ्यो । मेरो जिन्दीगीमा त्यो मान्छेसँग भेट भएपछि धेरै परिवर्तन आयो । अहिले पनि उसले मलाई छोरा जस्तै माया गर्छ । श्रीमती धनीको छोरी, १० बजे उठ्ने, ११ बजे ब्रेक फाष्ट खाने, त्यसपछि तास खेल्न थाल्ने । नेपालमा राणाका छोरीको जस्तो जीवन शैली । छोराहरु पनि ट्यापी भए । एउटी छोरी बेलायती केटासँग विहे गरेकी थिई, डिभोर्स भयो । धनी भए पनि परिवारबाट ऊ खुसी हुन सकेन । अरु व्यवसाय ? सेयरमा लगानी गरेको छु । बीचमा जग्गा किनबेचको काम पनि गरेँ । व्यापार, सेवाका केही कम्पनीमा पनि लगानी छ । सेयरमा लगानी गर्न थालेको कति भयो ? १९९१ देखि । त्यतिबेला आईपीओमा सेयरमा धेरै आवेदन पर्दैन थियो । जति माग्यो, त्यति पर्दथ्यो । अहिले कति छ सेयर? नभनौं । मैले थोरै कम्पनीको सेयर किनेको छु तर ती सबै कम्पनीको रिर्टन राम्रो छ । सधैं एकनास हुदैन । कहिले बोनस सेयर धेरै आउँछ, नगद कम हुन्छ । औषतमा ३/४ करोड रुपैयाँ बराबर हुन्छ । वार्षिक कति लाभांश आउँछ ? सधैं एकनास हुदैन । कहिले बोनस सेयर धेरै आउँछ, नगद कम हुन्छ । औषतमा ३/४ करोड रुपैयाँ बराबर हुन्छ । सेयर कारोबार कत्तिको गर्नुहुन्छ ? किनेपछि सेयर बेच्दिन । सेयर बेच्ने आवश्यकता नै पर्दैन । अहिलेसम्म आर्थिक समस्या भोग्नु परेको पनि छैन । राम्रो रिर्टन दिने कम्पनीको सेयर किन बेच्ने ? जग्गा जमिन कति छ ? बाहुबाजेले पनि राम्रो जोड्दिनुभएको रहेछ । आमाको बुबाको जमिन पनि धेरै थियो । मामाहरु नभएकोले सम्पत्ति छोरीहरुलाई दिनुभयो । बानेश्वरमा १८ रोपनी जग्गा एउटै प्लटमा आमाले माइतीबाट पाउनु भएको छ । असनमा कति जग्गा छ ? ३ आना मात्र हो । पैतृक सम्पत्ति ३ आना मात्र हो त ? २०० वर्षदेखिको जग्गा हो । महाराजगञ्जको ढ्याङग्रे खेतबाट ४५ मुरी धान कुत आउँथ्यो । डल्लुमा मौजा (ठूलठूलो बिर्ता) थियो । थानकोटमा फाँट नै थियो हाम्रो । मेरो बाजेले तत्कालिन राजालाई खुशी बनाएबाफत वारामा ५ हजार विगा जमिन बक्स दिएको कागज अझै मसँग छ । तर त्यो कागज मात्र छ । जमिन हेर्न गएको, फिल्डमा छैन । त्यतिबेला औलो लाग्छ भनेर बाजे बजै गएनन् । सबै जग्गा अरुले नै हडपी सकेका छन् । त्यो जग्गा लिन कुनै प्रयास गर्नुभयो ? छैन । मलाई नपुग्दो केही छैन । त्यो जग्गा पाउन अदालतदेखि स्थानीय समूदाय, स्थानीय प्रशासनसँग लडाई गर्नु पर्ने हुन्छ । तपाई जग्गाको कारोबारमा कसरी पुग्नुभयो ? म डल्लुमा बस्थे । त्यहाँका ज्यापुहरु छोरा छोरीको विहे गर्न पैसा भएन, लौन काजी साव जग्गा लिइदिनु पर्यो भन्न आउँथे । उनीहरुको काम चलाई दिन, उनीहरुले भनेकै मूल्यमा जग्गा किन्न थालेँ । पछि त्यही जग्गामा राम्रो फाइदा आएपछि बेच्थेँ । अहिले त जग्गा किनबेचको काम छोडिसकेँ । त्यतिबेला तपाईको हातमा नगद कसरी आउँथ्यो ? म जागिर खान्थेँ, मेरो श्रीमतीको पनि राम्रो जागिर, असनको घर भाडा आउँथ्यो, क्षेत्रपाटीको घरभाडा आउँथ्यो । बुबा राजबहादुर सिंह नेपाल सरकारको सचिव हुनुहुन्थ्यो । मेरो घरमा क्यास फ्लो राम्रो थियो । अहिले पनि असनमा बस्नुहुन्छ ? होइन, असनबाट क्षेत्रपाटीमा, त्यहाँबाट डल्लू, त्यसपछि अहिले, महाराजगञ्ज बस्छु । सेयरको मूल्य किन बढेको छ ? एउटा मनोविज्ञान हो । दोस्रो बैंकहरुले कर्जाको व्याज धेरै बढाए, नाफा बढ्दैछ । तेस्रो, बोनस सेयर, हकप्रद सेयरको आउँछ भनेर । नेपाल बैंकको स्थिति कस्तो छ ? नाफा बढेको छ । आगामी वर्षदेखि सेयरधनीलार्इ नाफा दिन सकिन्छ । तर नेपाल बैंकमा कर्मचारी खर्च बढी छ । बैंकले धेरै नाफा गरेपनि कर्मचारी खर्च नै धेरै छ । बैंकले सम्पत्ति बेचेर नाफा देखाईरहेको छ, कहिलेसम्म सम्पत्ति बेचेर नाफा देखाउने ? तपाईलाई रोचक कुरा सुनाउँछु । केही दिनअघि नेपाल इन्स्योरेन्स कम्पनीको काममा विरगञ्ज गएको थिएँ । त्यही बेलामा केही समय निकालेर रक्सौल गएको । फर्कदा जाममा परियो । रुट परिवर्तन गरेर आउँदा ड्राईभरले रक्सौलमा नेपाल बैंकको जग्गा देखायो, धेरै जग्गा रहेछ त्यहाँ । त्यहाँ जग्गा भएको जानकारी नेपाल बैंकको केन्द्रीय कार्यालयलाई थाहा नै थिएन । मैले सोधखोज गर्न लगाए । पछि थाहा भयो विरगञ्ज शाखाले सो जग्गाको बाली वर्षमा १२/१३ हजार रुपैयाँ भारत सरकारलाई बुझाउँदै आएको रहेछ । त्यसको प्रयोग गर्न सकेको छैन । यस्तो सम्पत्ति कति छ भन्ने समेत थाहा छैन । यसरी बेवारीसे अवस्थामा रहेको सम्पत्ति राखेर बैंकलाई फाइदा हुँदैन । प्रयोगमा नआउने सम्पत्ति बेच्दै जानुपर्छ । नेपाल इन्स्योरेन्स कम्पनीमा सिईओ किन नियुक्ती नगरेको ? ६ जनाले आवेदन दिएका छन् । बोर्डमा छलफल भईरहेको छ । छिट्टै निर्णय गर्छौ ।

महासंघको वर्तमान अध्यक्ष, आगामी अध्यक्ष र पूर्वअध्यक्ष सबैले गल्ती गरे-कुशकुमार जोशी

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिदै गर्दा चुनावी धुव्रिकरण तिब्र भएको छ । निर्वाचनमा महासंघका वर्तमान अध्यक्ष पशुपति मुरारका, चैत ३० देखि अध्यक्ष बन्ने भवानी राणा, पूर्व अध्यक्षहरु चण्डीप्रसाद ढकाल, रविभक्त श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा समूहको पक्षमा भोट माग्दै निर्वाचनमा होमिएका छन् भने पूर्वअध्यक्षहरु सुरज बैंद्य, कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहको पक्षमा भोट माग्दै निर्वाचनमा होमिएका छन् । प्रधान समूहको चुनावी समूहको नेतृत्व गरिरहेका कुशकुमार जोशीलाई हामीले सोधेका छौं-यसरी पूर्वअध्यक्षहरु निर्वाचनमा विभाजित हुनु कति शोभनिय र उचित हो ?   यस पटकको महासंघको निर्वाचनमा पूर्व अध्यक्षहरुको चलखेल धेरै नै देखियो, यो कति स्वभाविक र उचित हो ? मुलुक संघीय संरचनामा गएपछि र महासंघको विधान संशोधन भएपछि पहिलो पटक निर्वाचन हुँदैछ । एकातिर नेतृत्व विकासको नयाँ अभ्यास हुँदै छ भने अर्कोतिर भूगोलको नयाँ संरचनाको आधारमा निर्वाचन हुँदैछ । महासंघका पूर्व अध्यक्षहरु सबैले भोगेको तितो अनुभव के हो भने निर्वाचनको हार र जितको प्रभाव महासंघको निर्णय प्रक्रियामा र कार्यान्वयन प्रक्रियामा परिनै रह्यो । महासंघले राम्रो निर्णय गर्दा पनि कार्यान्वयन निकै चूनौतिपूर्ण र जटिल बन्ने गरेको अनुभव हामी सबैले गर्दै आएका हौँ ।  त्यही अनुभवको आधारमा, महासंघ भित्रको चुनावी गुटबन्दीलाई अन्त्य गर्न वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने भन्ने विषयमा पूर्वअध्यक्षहरुबीच छलफल भयो, सोही अनुसार विधान बनाउने भन्ने पक्षमा हामी पूर्व अध्यक्षहरु थियौँ । गत कात्तिकमा गरिएको विशेष साधारणसभा भन्दा अगाडि छलफलको वर्तमान वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव आयो । हामीले भन्यौ कि निर्वाचित व्यक्ति मात्र महासंघको अध्यक्ष बन्न सक्छ, मनोनित व्यक्तिलाई अध्यक्ष बनाइनु हुन्न । संक्रमण कालीन अवस्थामा ५१ औं साधारणसभामा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुबै पदमा प्रत्यक्ष निर्वाचन गरौं भनेर हामीले भन्यौँ । तर विधान संसोधन समितिमा रहेका साथीहरुले हाम्रो सुझाव मान्नु भएन, अहिलेकै बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने पक्षमा उहाँहरु अडिक हुनुभयो । हामीलाई त्यसमा चित्त बुझेन । त्यसैले हामी पूर्वअध्यक्षहरु विशेष साधारणसभामा सहभागी भएनौं । मनोनित अध्यक्ष, मतदाताबाट नचुनिएको अध्यक्षले प्रभावकारी रुपमा काम गर्न सक्दैन भन्ने हाम्रो स्पष्ट भनाई हो । विधान संशोधन प्रस्ताव विशेष साधारणसभामा गयो, पास भयो । हलले पास गरेपछि त्यसलाई हामीले पनि मान्नुपर्ने हुन्छ । विधान पास हुने वित्तिकै जसले विधान बनाउने काम गर्यो, उसैले गुटबन्दी शुरु गर्यो । गल्ती त्यही भयो । उद्योग वाणिज्य महासंघप्रतिको लगाव, योगदान, क्षमताका आधारमा आकांक्षीहरुलाई तिमीहरु प्रतिष्पर्धा गर, हामी तटस्थ बस्छौं भनेर पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष र हुनेवाला अध्यक्ष तटस्थ बसिदिएको भए यस्तो खालको चलखेल हुँदैन थियो । जब विधान संशोधनमा लाग्ने पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष, अब हुने अध्यक्ष एउटा व्यक्ति र गुटलाई बोकेर हिड्यो तब विकृतिहरु शुरु भए । फेरी महासंघमा गुट उपगुट शुरु भयो । तपाई अब अध्यक्ष बन्ने भवानी राणालाई निर्वाचित अध्यक्ष मान्नुहुन्छ कि मनोनित अध्यक्ष ? उहाँ मनोनित अध्यक्ष बन्ने हो । उहाँ महासंघको अधिवेशनमा अञ्चल प्रतिनिधि भएर आउनुभएको थियो । पछि उहाँ बरिष्ठ उपाध्यक्ष लडेर हार्नुभयो । पछि सहमतिमा बरिष्ठ उपाध्यक्ष बन्नु भयो र अहिले आएर स्वतः अध्यक्ष बन्नु भयो । उहाँ निर्वाचित होइन मनोनित अध्यक्ष बन्ने हो । विधान पास गर्दा नै त्रुटि गरिएको थियो । विधानमा के के त्रुटि गरियो त ? वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विषय गलत थियो । अहिलेको निर्वाचनमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुबै पदमा निर्वाचन गरिनु पर्दथ्यो । दुबै जना सबैले चुनेका व्यक्ति हुन्थे । सबैले चुनेको वरिष्ठ उपाध्यक्ष पछि अध्यक्ष बन्दा सक्षम व्यक्ति हुन्थ्यो ।  ब्लण्डर के भयो भने वर्तमान अध्यक्ष र अब बन्ने अध्यक्ष दुबैले एउटा गुटलाई समातेर हिँडे । अध्यक्ष र आउने अध्यक्ष दुबै जना दुबै समूहको साझा व्यक्ति बन्न सक्नुपर्ने थियो । दुई उपाध्यक्षले टिम खडा गर्दा अहिलेका अध्यक्ष र आउने अध्यक्षले दुबै टिमलाई आफ्नै टिम भन्न सक्नुपर्ने थियो तर त्यसो भएको देखिन्न । तपाईले भन्नुभयो कि पूर्व अध्यक्षहरु र वर्तमान अध्यक्ष र आउने अध्यक्ष सबै तटस्थ बसेको भए राम्रो हुन्थ्यो । तर तपाई आफै पनि किशोर प्रधानको टिमलाई सहयोग गरेर हिड्नु भयो, किन ? हामी पूर्वअध्यक्षहरुले गल्ती गर्यौ र मेरो पनि गल्ती भयो । विधान संशोधनकै क्रममा हामीले ठूलो गल्ती गर्यौ, हामी दोषी छौं । ५० वर्ष नाघेको महासंघको विधान संसोधन हुँदा हाम्रो भूमिका हुनुपर्ने थियो । तर त्यो भूमिका हामीले निभाउन सकेनौं । विधान संशोधन गर्ने काम कार्य समितिको हो, अध्यक्ष र उपाध्यक्षहरुले गर्ने कुरा हो भनेर हामी चुप लाग्यौं । अहिलेको नेतृत्वले पनि हामीलाई औपचारिक रुपमा सुझाव मागेन । हामीले पनि सोध खोज गरेनांै । त्यो हाम्रो ठूलो भूल हो । विधान संशोधनमा नेतृत्वको कुरा मात्र भएन, संशोधनको मूल उदेश्य भनेको महासंघको विकेन्द्रिकरण हो । विधान संशोधनपछि अञ्चल र विकास क्षेत्रको संरचना भंग गरियो र सात वटा प्रादेशिक संरचना बनाइयो । अब प्रदेशमा हुने आर्थिक नीति, कर नीति सबै प्रदेश उद्योग बाणिज्य संघले हेर्छ । प्रदेश सरकारले लिने नीतिसँग प्रादेशिक उद्योग वाणिज्य संघले डिल गर्छ । विराटनगरको समस्या, विरगञ्जको समस्या, भैरहवाको समस्या, नेपालगञ्जको समस्या अब काठमाडौंले हेर्नु पर्दैन । यो परिवेशमा महासंघको केन्द्रिय कार्यसमिति ७० जनाको बनाउन पर्दैन थियो । सानो र चुस्त दुरुस्त महासंघ बनाउनु पर्ने थियो । अब प्रदेशलाई बलियो बनाउनुपर्ने थियो । अहिलेको विधानले पनि पहिले प्रदेशको चुनाव गरेर त्यसको एक महिनापछि मात्रै केन्द्रको चुनाव गर्नुपर्छ भन्छ । तर अहिले त सिधै केन्द्रको निर्वाचन गरिँदैछ । यहाँ पनि गलत काम भएको छ । निर्वाचनमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षको भूमिका कस्तो हुनुपर्छ ? अहिलेको अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्नो पद र पदीय दायित्वलाई बिर्सेर मेरा उम्मेदवार हो भन्नु गलत कुरा हो । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले विधान संशोधनको मर्ममा कुठारा घात गरे । पदीय दुरुपयोग गरेका छन्, मतदातालाई प्रभावित पारेका छन्, महासंघको प्रतिष्ठामा आँच आउने काम गरेका छन् । उनीहरुको भूमिका संस्थाको हितमा भएन, महासंघमा आउन चाहाने सबै उम्मेदवार र मतदाताको हितमा भएन । विधान अनुसार योग्य सबैले चुनाव उठ्न पाउनुपर्छ, उनीहरुले आफ्नो क्षमताअनुसार स्वच्छ वातावरणमा प्रदर्शन गर्न पाउनुपर्छ । जसले चुनाव जिते पनि स्विकार गर्नुपर्नेहरुले यो मेरो उम्मेदवार हो । म यो उम्मेदवारको अविभावक हुँ भन्नु गलत कुरा हो । यसले व्यवसायी र महासंघको हित गर्दैन । फेरी पनि अध्यक्षकै प्रत्यक्ष निर्वाचन गर्नुपर्ने अवस्थामा महासंघ फर्कनु पर्ला कि नपर्ला ? वरिष्ठ उपाध्यक्षको निर्वाचन गरेर स्वतः अध्यक्ष बन्दा पनि नेतृत्व विकास नै हुन्छ । विधानमा राम्रो काम गरेमा मात्रै स्वतः अध्यक्ष बन्न पाउने भन्ने व्यवस्था राखिएको छ । यो ठिकै छ । नराम्रो काम गरेमा अविस्वासको प्रस्ताव लैजान सकिन्छ । केही पूर्वअध्यक्षहरु एउटा गुटलाई बोकेर हिडिसकेपछि मलाई धेरैले प्रश्न गरे, तपाईहरु के गरिरहनु भएको छ, किन चुप लागेर बस्नुहुन्छ ? म अध्यक्ष बन्दा मलाई सहयोग गर्ने साथीहरुले मसँग पनि केही आशा गर्नुभएको छ । पूर्वअध्यक्ष मध्ये कसैले ‘हामीलाई दवाए, पाखा लगाए, तपाई आएर हामीलाई सहयोग गर्नुपर्यो’ भनेर साथीहरुले भन्दा म सहयोग गर्दिन, बोल्दिन भन्न त भएन । महासंघको एसोसियटतर्फको निर्वाचनमा प्रोक्सी प्रणाली कति ठिक हो ? एसोसियटमा प्रोक्सी प्रणाली गलत छ । बिधान संसोधनमा यसलाई पनि समेटिनु पर्ने थियो । जो मतदाता हो उसैले आफ्नो मत हाल्न पाउनु पर्छ । कस्तो नेतृत्व छान्ने हो भन्ने कुरा मतदाताले नै निर्णय गर्ने कुरा हो । यो पब्लिक कम्पनीको चुनाव होइन । यो त नेतृत्वको चुनाव हो । सबै व्यवसायीको मत लिएर नेतृत्वमा पुग्नु पर्ने हो । आफैंले आफैंलाई भोट हालेर जित्ने कुरा पनि कँही ठिक हुन्न । नेतृत्वको चुनावमा सबैले भोट हाल्न पाउनुपर्छ ।  चुनावमा राखिएको प्रोक्सीको प्रावधान गलत छ । कम्पनीको अध्यक्ष, प्रबन्धक, महाप्रबन्धकको पहिचान गरेर मताधिकार दिनुपर्छ । विधान शंसोधनले सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मर्म थियो यस पटक सम्भव भएन । भविष्यमा सहमतिमा पदाधिकारी चुनिने सम्भावना देख्नुहुन्छ ? महासंघमा प्रदिपकुमार श्रेष्ठका पालामा ६८ सदस्य निर्विरोध निर्वाचित गरिएको थियो । सबै पक्षले चाहेमा सर्वसहमतिमा नेतृत्व चयन गर्न सकिन्छ । त्यसका लागि स्वच्छ वातावरण हुनुपर्छ । कोहि केहि अघिपछि हुन सक्छ तर पनि सहमति सम्भव हुन्छ । महासंघको नेतृत्वमा जान व्यवसायी किन यसरी सम्पूर्ण शक्ति खर्च गरेर भिड्छन् ? के पाउँछन् त्यहाँ पुगेपछि ? महासंघको नेतृत्वमा पुग्नु भनेको पहिचानको कुरा हो । त्यहि पहिचानका आधार उद्योग व्यवसायका क्षेत्रको समस्या समाधानमा भूमिका खेल्ने हो । महासंघको नेतृत्व भनेको व्यवसायिका लागि नेतृत्व विकासको अवसर हो । यहाँ आएर सबैले काम गर्ने हो । व्यवसायीले आफ्नो प्रोफाइल बढाउन नेतृत्वमा पुग्ने प्रयास गर्ने हो । यतिबेला महासंघ बलियो भैरहेको छ कि कमजोर ? महासंघ आफैंमा बलियो संस्था हो । महासंघको घर बलियो छ तर महासंघ चलाउने व्यक्ति कमजोर भएका हुन् । कमजोर व्यक्तिले बलियो घरको नेतृत्व गर्न सक्दैन । महासंघ बलियो भएरै नेतृत्वका लागि यतिधेरै प्रतिष्पर्धा भैरहेको छ । महासंघ साह्रै बलियो छ तर यसलाई चलाउनेहरु कमजोर भएका भन्ने मेरो बुझाई हो ।