हाम्रो टिमले चुनाव जितेपछि महासंघ दौडन्छ-उमेशलाल श्रेष्ठ
उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा बस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । क्वष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशन श्रेष्ठ नेपाल औषधि उत्पादक संघको पूर्व अध्यक्ष समेत भईसक्नु भएको छ । उहाँले महासंघको कार्यसमितिमा ६ वर्ष र बस्तुगत परिषदमा ३ वर्ष गरी महासंघमा ९ वर्ष काम गरिसक्नु भएको छ । प्रस्तुत छ नीति निर्माण तहमा महासंघको भूमिका र महासंघले गर्दै आएका विवादस्पद कार्यहरु, महासंघको आगामी निर्वाचन र उहाँको तयारी विषयमा केन्द्रीत भई विकासन्युजले उहाँसँग गरेको विकास वहस । उमेशलाल श्रेष्ठ, उद्योग समिति सभापत – नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा तपाईको तयारी कस्तो छ ? म बस्तुगत समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिदै छु । निर्वाचनपछि महासंघको अध्यक्ष भवानी राणा हुने कुरा स्पष्ट छ । उहाँको समर्थनमा बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, बस्तुगत उपाध्यक्षमा म, एशोसिएट उपाध्यक्ष्यमा चन्द्रप्रसाद ढकाल र जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने निर्णय भईसकेको छ । हाम्रो टिम राम्रो बनेको छ । निर्वाचनमा तपाईको टिमको एजेण्डा के के हुन् ? निजी क्षेत्रको हितमा काम गर्नु महासंघको उदेश्य हो । महासंघलाई बलियो बनाउनुपर्छ । महासंघको व्यवस्थापन सुदृढ बनाउनुपर्नेछ । निर्वाचित कार्यसमितिले सरकारसँग नीति निर्माणमा काम गर्ने हो । हामी सबैको एउटै उदेश्य हो–देशमा उद्योग व्यवसाय फस्टाओस्, रोजगारी सिर्जना होस्, जनता समृद्ध हुन् । हाम्रो टिमसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने साथीहरुको पनि उदेश्य त्यहि हो । तर कसले राम्रो गर्न सक्छ ? कसको क्षमता बढी छ ? महासंघका साथीहरुले मूल्याङ्कन गरेर भोट हाल्नुहुनेछ । हामी आ–आफ्नो क्षेत्रमा खारिएर आएका, क्षमता प्रर्दशन गरेका व्यक्तिहरु छौं । शेखरजी, दिनेशजी, चन्द्रजी, भवानीजी सबै आफ्नो क्षमता देखाईसकेका सक्षम व्यक्ति हुनुहुन्छ । म पनि शुन्यबाट औषधि क्षेत्रमा प्रवेश गरेको थिएँ र यो क्षेत्रमा सबैले देख्ने काम गरेको छु । अब हाम्रा स्ट्रेन्थ जाँच्ने महासंघका सदस्य साथीहरुले हो । तपाईको आफ्नै क्षमता के हो ? मेरो क्षमता भनेको मेरो काम हो । मैले निरन्तर ९ वर्ष महासंघमा काम गरे । ६ वर्ष कार्यसमितिमा र ३ वर्ष बस्तुगत समितिमा बसेर साथीहरुको लागि काम गरेको छु । म प्रष्ट वक्ता हुँ । मलाई सहि लागेको कुरा बोल्छु । जे बोल्छु, हृदयदेखि नै बोल्छु । प्रष्ट बोल्दा कसैलाई चित्त दुख्न पनि सक्छ । हाम्रो समाजमा प्रष्ट बोल्ने मान्छेलाई अहंकारी, घमण्डी भन्छन् । मलाई कुनै घमण्ड छैन । तर मलाई साँचो लागेको कुरा बोल्छु । साँचो बोल्दा कहिले कही छुच्चो पनि भइन्छ । गाली पनि खाइन्छ । जो मसँग लामो समय संगत गर्छ, उसले मलाई नराम्रो मान्छे भन्दै भन्दैन । मसँग झगडा भयो भने पनि त्यो क्षणिक हुन्छ र म फेरी मिल्छु । मनमा लागेको बोल्छ, रिसाउँछु पनि र तर मेरो दुस्मन कोही पनि छैन । व्यक्तिगत रुपमा तपाईले महासंघमा रहेर गरेको उल्लेख्य काम के के हुन् ? नितान्त व्यक्तिगत लाभको विषय लिएर महासंघमा आउने साथीहरुलाई मैले केही पनि गरेको छैन । तर समग्र क्षेत्रको सामूहिक हितको विषय लिएर महासंघमा आउने साथीहरुलाई सक्दो सहयोग गरेको छु । जस्तो २०६९ सालमा सरकारले प्लाष्टिक उद्योग बन्द गराउने निर्णय गर्यो । त्यस क्षेत्रका साथीहरुले आफूहरु समस्यामा परेका बताउनु भयो । उहाँहरुको समस्या समाधान गर्न हामीले धेरै काम गरेका छौं । सरकारी अधिकारीहरुलाई बस्तुगत अवस्था बुझाउन, प्लाष्टिक उद्योगका राम्रा पक्ष बुझाउन सफल भयांै । औषधि उद्योगका क्षेत्रमा देखिएको गम्भिर समस्याहरुबारे मन्त्रालयमा छलफल गरेर समाधान गर्न हामी सफल भएका छौं । समग्रमा बस्तुगत संघहरुको हितमा हामीले धेरै काम गरेका छौं । उद्योग समितिको सभापतिको हैसियतमा मैले धेरै काम गर्ने मौका पाएको छु । महासंघमा ९९ वटा बस्तुगत संघ सदस्य छन् । उनीहरुको मत तान्न तपाईका एजेण्डा के के छन् ? मेरो मात्र होइन, हाम्रो टिमको एजेण्डा हुन्छ । टिमले कार्यक्रम बनाउने र प्राथमिकता निर्धारण गर्ने हो । सबैभन्दा महत्वपूर्ण एजेण्डा भनेको महासंघमा प्रभावकारी थिङ्क ट्याङक चाहिन्छ । उद्योगी व्यापारीले बोल्दा हाम्रो आफ्नो स्वार्थले बोल्यो भनिन्छ । हामी भनेको अर्थशास्त्रका विज्ञ पनि होइनौ । अर्थशास्त्रीहरुको विज्ञ समूहले बोल्यो भने त्यसको ठूलो भ्यालु हुन्छ, सरकारले पनि सुन्छ । मलाई उद्योग चलाउन आउँछ । सिमेन्ट उद्योग चलाइरहेका साथीहरुलाई सिमेन्ट उद्योग कसरी चलाउने भन्ने आउँछ । धेरै थरी उद्योग व्यवसाय होल्ड गर्नेलाई अलि धेरै विषय थाहा हुन्छ । तर हामीलाई अर्थतन्त्र कसरी चलाउनु पर्छ भन्ने थाहा हुँदैन । नजानेको विषयमा बुज्रुक भएर बोल्नु राम्रो हुँदैन । विषय विज्ञलाई नै अगाडि सार्नुपर्छ । हामी त्यो काम गर्छौ । महासंघले पहिला पनि विज्ञ समूह बनाएको थियो । त्यो प्रभावकारी देखिएन । अहिले महासंघमा विज्ञ समूह नै छैन । किन यस्तो भयो ? हो, धेरै अगाडि महासंघमा विज्ञहरुको समूह थियो । तर अहिले छैन । समस्या के भयो भने विज्ञ भनेको विज्ञ नै हो । कर्मचारी जस्तो हुँदैन । उनीहरु सल्लाहकार हुन् । सल्लाकार भनेको मान्यजन हुन् । मान्यजनलाई मानेरै राख्नुपर्छ । मेरो मान्यता त्यो हो । विज्ञलाई जागिरे जसरी राख्नु गल्ती थियो । विज्ञलाई जागिरेको रुपमा राख्ने होइन । हामीले उहाँहरुलाई समस्या भन्ने हो, उहाँहरुको सुझाव लिने हो । कन्सल्ट्यान्टको रुपमा उहाँहरुले योगदान गर्नुहुन्छ । महासंघको सचिवलाय बलियो बनाउने कुरा गर्नुभयो । निर्वाचन ताका सबैले यहि भन्छन् । तर महासंघमा सचिवालय चलाउने कार्यकारी प्रमुख अर्थात महानिर्देशकको पद खाली भएको १ वर्ष भयो । तपाई कार्यसमितिमा हुनुहुन्छ । एक वर्षसम्म कार्यकारी प्रमुख नियुक्त नगर्ने अनि सचिवालय बलियो बनाउने चुनावी नारा बनाउने ? महानिर्देशकको नियुक्ती पदाधिकारीले गर्ने हो, कार्यसमितिले होइन । यो विषयमा म यति मात्र बोल्छु कि निर्वाचनपछि अलि तगडै मान्छे नियुक्त हुन्छ । हामीभित्र पनि केही समस्या छ । राम्रो काम गर्ने सबैको चाहाना हुन्छ । राम्रो गर्न खोज्दा त्यसभित्र पनि केही सीमा हुन्छन् । तर तपाई मेरो कुरा विश्वास गर्नुहोस्, हामी सचिवलाय बलियोे बनाउँछौं, राम्रा मान्छे राख्छौ, विज्ञ समूह बनाउँछौं । सहि मान्छे भएपछि सहि काम हुन्छ । हाम्रो टिमले जितेपछि उद्योग वाणिज्य महासंघ दौडन्छ । हामी आयात ७७० अर्बको गर्छौ, निर्यात जम्मा ७० अर्बको छ । आज भन्दा २५ वर्षअघि हामी जीडीपीमा उद्योगको योगदान १६ प्रतिशत थियो, अहिले ५ प्रतिशतमा झरेको छ । २५ वर्षअघि हामी खाद्यन्नमा आत्मनिर्भर थियौं, अहिले २५÷३० अर्बको खाद्यन्य आयात गर्छौ । चाउचाउ र विस्कुट मात्र ७ अर्बको आयात हुन्छ । हामीले सरकारलाई बुझाउन जरुरी छ । उद्योग चलाउन शुरुमा गाह्रो पर्छ । तर पछि सबैलाई लाभ हुन्छ । रोजगारी पनि हुन्छ । राजश्व पनि हुन्छ । नेपालले खुला अर्थनीति लिएको तीन दशक बितिसक्यो । नेपाल उद्योग वाणिज्य महासंघ आज स्वर्ण जयन्ती मनाईरहेको छ । नेपालको अर्थतन्त्र परनिर्भर बन्नुमा निजी क्षेत्र दोषी छैन ? जुन देशमा २६ वर्षदेखि राजनीतिक द्वन्द्व र संक्रमण चलिरहेको छ त्यो देशको आर्थिक विकास भएन भनेर निजी क्षेत्रलाई तपाई कसरी दोष लगाउनु हुन्छ ? धन्न नेपाली विर हुन् । देशभित्र र देश बाहिर गएर पनि संघर्ष गरिरहेका छन् । निजी क्षेत्रले प्रयास गरिरहेको छ । जुन देशमा ९ महिनाभन्दा लामो समय सरकार टिक्दैन, नीतिगत अस्थिरता छ, लगानीको वातावरण छैन, त्यो देशमा निजी क्षेत्रले धेरै गर्न सक्दैन । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७० प्रतिशत छ भन्ने, निजी क्षेत्रको नेतृत्व महासंघले गर्छ भन्ने तपाईहरुको तर्क छ । यति बलियो संस्थाले नीतिगत स्थायीत्व कायम गर्न किन काम गर्न सकेन ? स्थिति अनुकुल भएन । सरकारहरु महासंघको नियन्त्रणमा हुँदैनन । ९÷९ महिनामा सरकार परिवर्तन हुन्छ भने महासंघले चाहेर मात्र नीतिगत स्थायीत्व हुँदैन । एउटा मन्त्रीले गरेको कुरा अर्को मन्त्रीलाई थाहा हुँदैन् । मन्त्रीहरुबीच समेत छलफल नै हुँदैन । महासंघको सुझाव सुनिएन । त्यसैले त हामी महासंघलाई बलियो बनाउने कुरा गर्दैछौं । हामी नेतृत्वमा पुगेपछि निजी क्षेत्रको कुरा सरकारले सुन्ने वातावरण बनाउँछौं । महासंघको मुख्य काम नीति निर्माणमा सरकारलाई सहयोग गर्नु हो । तर महासंघ र सरकारबीच नीतिगत द्वन्द्व हुने गरेको छ । राजश्व छलेको आशंकामा दोकानमा छापा मार्दा महासंघ त्यसको विरोध गर्दै विज्ञप्ती निकाल्छ । सुनमा मिसावट भयो, तौलमा ठगि भयो भन्ने उजुरी पछि सरकार जाँच गर्न जाँदा व्यवसायी बजार बन्द गरेर सडकमा आउँछन्, महासंघ व्यवसायीको पक्षमा हुन्छ । यस्तो किन हुन्छ ? सरकारसँग अधिकार छ, गलत गर्नेलाई कारवाही पनि गर्नुपर्छ । तर सरकारको शैली ठिक भएन । ८÷१० वटा टेलिभिजन राखेर आक्रमण शैलीमा छापा पार्नु पनि भएन । कुनै पनि काम गर्दा भद्र तरिकाले गर्नु पर्छ । दोषी प्रमाणित हुन्छ वा हुँदैन, शुरुमै मान्छेको इज्जत प्रतिष्ठा गुम्नेगरी काम गर्नु भएन । सरकारले आफ्नो काम प्रक्रिया पुरा गरेर गर्दा हुन्छ । त्यसमा महासंघको विरोध हुँदैन । गलत गर्नेलाई सरकारले दण्ड जरिवाना गर्न सक्छ ।
जनता बैंकको नाफा यसै वर्ष १ अर्ब भन्दा बढी हुन्छ-केशब बहादुर रायमाझी, अध्यक्ष–जनता बैंक
धनकुटाको किसान परिवारमा जन्मिनु भएका केशबबहादुर रायमाझीको वाल्यकाल मोरङमा बित्यो । स्कूल र कलेजको शिक्षा पनि मोरङमा नै हासिल गर्नुभयो । स्नातक तह उत्तीर्ण गरेपछि उहाँ २०५२ सालमा जागिरको खोजी गर्दै काठमाडौं आउनुभयो । सोचेजस्तो जागिर नभेटिएपछि उहाँ खासा व्यापारमा लाग्नुभयो । एक दशकसम्म खासा व्यापार गरेपछि उहाँ कर्पोरेट बिजनेशमा प्रवेश गर्नुभयो । जनता बैंक नेपाल खोल्न २०६३ सालदेखि लाग्नु भएका रायमाझी शुरु देखि नै सोही बैंकको सञ्चालक हुनुहुन्थ्यो भन्यो अहिले बैंकको अध्यक्ष हुनुभएको छ । पछिल्लो समय उहाँले जलविद्युत क्षेत्रमा लगानी केन्द्रित गर्नु भएको छ । उहाँ पिपुल्स् हाइड्रोपावर कम्पनीको प्रबन्ध निर्देशक हुनुहुन्छ । यस कम्पनीले लमजुङ जिल्लामा ४९.६ मेघावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । संखुवासभामा रहेको ४ मेघावाटको बरुण हाइड्रोपावर निर्माणमा सफलता मिलेपछि उहाँसहितको टिमले पिपुल्स् हाइड्रोपावर कम्पनीलाई अगाडि बढाएको हो । प्रस्ततु छ उहाँसँग जनता बैंकको विषयमा केन्द्रीत भएर विकासन्युजले गरेको विकास वहस । केशबबहादुर रायमाझी, अध्यक्ष–जनता बैंक नेपाल लिमिटेड खासा व्यापार, बैकिङ हुँदै जलविद्युत व्यवसायमा आउनु भएको छ । यी तिन क्षेत्र मध्ये कुन क्षेत्रमा बढी नाफा हुनेरहेछ ? कुन क्षेत्रमा पैसा कमाउन सजिलो हुँदोरहेछ ? खासा व्यापारको क्रममा विहान खासा जान्थ्यौ, बेलुका फर्कन्थ्यौं । भोलि पल्ट सामान बेचिसक्थ्यौं । पर्सिपल्ट फेरी खासा जान्थ्यौं । त्यतिबेला हाम्रो कारोबार थोरै रकमको हुन्थ्यो । तर छिटोछिटो कारोबार हुन्थ्यो र नाफा पनि धेरै हुन्थ्यो । तर आजकाल खासा व्यापारमा पनि कन्टेनरमा ठूलो भोल्यूममा सामान आउँछ, ठूलो भोलुममा व्यापार हुन्छ तर नाफा कम छ । बैकिङ र जलविद्युत क्षेत्रमा गरिने लगानी भनेको दीर्घकालिन रुपमा नाफा लिने लगानी हुन् । व्यापारमा जस्तो छिटो नाफा हुँदैन । जनता बैंकमा लगानी गर्दा तपाईले ‘यो दीर्घकालिन लगानी हो’ भनेर सोच्नु भएको थियो ? हामीले आर्थिक वर्ष २०६२/६३ मा जनताको सहभागितामा बैंक खोल्ने प्रयास गर्यौ । ८३६ जना संस्थापक रहेर यो बैंक खोल्न थाल्यौ । त्यतिबेला बैंक खोल्न १ अर्ब रुपैयाँ चुक्ता पूँजी आवश्यक थियो । बैंक खोल्ने प्रक्रिया लामो भयो । राष्ट्र बैंकबाट स्वीकृति लिएर बैंक सञ्चालन आउँदा झण्डै तीन वर्ष बित्यो । त्यहि बीचमा न्यूनतम पुँजी १ अर्बलाई बढाई २ अर्ब बनाईयो । शुरुमा १/२ लाख रुपैयाँ लगानी गर्ने साना लगानीकर्ता पनि यस बैंकका प्रमोटर हुनुहुन्थ्यो । हामी मध्ये केहीलाई छिट्टै नाफा हुन्छ भन्ने पनि थियो । किनकी पुराना बैंकले सेयरधनीलाई उच्चदरको लाभांश वितरण गरेको हामीले देखेका थियौ । तर उनीहरुले पनि शुरुका ८/१० वर्ष नाफा लिन सकेका थिएनन् भन्ने हामीले जानेनौं, बुझेनौं । तर अब जनता बैंक फड्को मार्छ । ‘अब जनता बैंक फड्को मार्छ’ भनेर तपाईको सेयरधनीहरुलाई कसरी विश्वस्त पार्नुहुन्छ ? भविष्यबारे जनता बैंकका सेयरधनी अब चिन्तित हुनुपर्दैन । यसै आर्थिक वर्षमा बैंकको सेयर पुँजी ८ अर्ब पुग्दैछ । बैंकको विजनेश पोर्टफोलियो ५० अर्बको हाराहारीमा हुनेछ । नाफा पनि राम्रो हुन्छ । नाफामा विलिनियर त यसै वर्ष हुन्छौं । अब जनता बैंक हरेक हिसावले राम्रो हुँदै जानेछ । २०७४ सालको असार मसान्तमा जनता बैंकको धेरै इन्डिकेटर राम्रो देखिनेछन् । पुँजी, व्यापार, नाफा सबै हिसाबले बैंक राम्रो हुँदैछ । सेयरधनीलाई जनता बैंकले राम्रो प्रतिफल दिनेछ । ‘जनता बैंकले यसै वर्ष एक अर्ब रुपैयाँ नाफा गर्छ’ भन्ने तपाईको भनाईलाई सेयरधनीले पत्याउँछन् ? भविष्यबारे जनता बैंकका सेयरधनी अब चिन्तित हुनुपर्दैन । यसै आर्थिक वर्षमा बैंकको सेयर पुँजी ८ अर्ब पुग्दैछ । बैंकको विजनेश पोर्टफोलियो ५० अर्बको हाराहारीमा हुनेछ । नाफा पनि राम्रो हुन्छ । नाफामा विलिनियर त यसै वर्ष हुन्छौं । आधारविना भन्यो भने पत्याउँदैनन् तर आधारसहित भन्यो भने पत्याउँछन् । अहिले आधार बनिसकेको छैन तर बन्दैछ । जनता बैंक र त्रिबेणी विकास बैंकसँगको एक्विजिशन अन्तिम चरणमा छ । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आएपछि हामी संयुक्त कारोबार गर्छौ । त्रिवेणीसँगको एकिकृत कारोबारपछि जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक एक्विजिशन हुने गरी एउटा तहमा समझदारी भएको छ । यो एक्विजिशन सफल हुँदा जनता बैंकको नाफा १ अर्ब रुपैयाँ हुने हामीले देखेका छौं । हामी योजनाबद्ध रुपमा अगाडि बढेको छौं । सिद्धार्थ डेभलपमेन्ट बैंक एक्विजिशनपछि जनता बैंकले निश्काशन गर्ने भनेको ६० प्रतिशत हकप्रद सेयर के हुन्छ ? हकप्रद सेयर निश्काशन गर्नैको लागि निर्णय गरेको हो । त्यो सेयर आउँछ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्ति गरेपछि जनता बैंकले ६० प्रतिशत हकप्रद सेयर निष्काशन नगर्न सक्छ भन्ने सन्देश आएको छ नि बजारमा ? साधारणसभाले ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेपछि सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिको प्रक्रिया अगाडि बढेको हो । जनता बैंकको अर्को साधारणसभाले नयाँ निर्णय नलिएसम्म पुरानो निर्णय नै आधिकारिक निर्णय हो । बजारमा कसले के भन्छ, त्यतातिर नजाऊँ । तर जनता बैंककै प्रमोटरहरु सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिपछि हकप्रद सेयर किन ? भनेर प्रश्न गर्न थालेको पाइन्छ नि ? पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने प्रयोजनको लागि ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय भएको छ । साथै, मर्जर तथा एक्विजिशन प्रक्रिया पनि जारी राख्ने निर्णय भएको छ । दुबै निर्णयको उदेश्य राष्ट्र बैंकले तोकेअनुसार पुँजी पुर्याउनु हो । यदि मर्जरबाट ८ अर्ब रुपैयाँ पुँजी पुग्यो भने त्यसपछि किन हकप्रद सेयर निश्काशन गर्ने भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो । चुक्ता पँजी ८ अर्ब पुगेको अवस्थामा साधारणसभाले अर्को निर्णय लिन पनि सक्छ । ६० प्रतिशतको सट्टा ३० प्रतिशत मात्र निश्काशन गरौं वा नगरौ भनेर साधारणसभाले निर्णय गर्न सक्छ । त्यो साधारणसभाको अधिकारको विषय भयो । अहिलेलाई हामी मर्जर र हकप्रद सेयर निष्काशन दुबै प्रस्तावलाई सँगसँगै अगाडि बढाउने हो । जनता बैंकले भविष्यमा कति प्रतिशत लाभांश दिन सक्छ ? जनता बैंकले एक पटक ३ प्रतिशत, एक पटक ५ प्रतिशत र अहिले १२ प्रतिशत लाभांश दियो । चालु आर्थिक वर्षको नाफाबाट १२ देखि १५ प्रतिशतको बीचमा बोनस दिन सक्छौं । बैंकका सञ्चालकहरुले सीईओलाई बढी नाफा आर्जन गर्न अस्वभाविक दवाव दिन थालेका छन् भन्ने गभर्नर चिरञ्जीवि नेपालको आरोप छ, साँच्चै हो ? हामीले गत वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दियौं । यो वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने लक्ष्य दियौं भने त्यो स्वभाविक हो । यो वर्ष ४० प्रतिशत लाभांश दिनुपर्छ भन्यौ भने त्यो अस्वभाविक हुने थियो । हामीले व्यवहारिक र प्राकृतिक नाफा वृद्धिको लक्ष्य राखेको छौं । गत वर्ष जनता बैंकको सेयर पुँजी २ अर्ब थियो । १२ प्रतिशत लाभांश दियो । आगामी असार मसान्तमा ८ अर्ब रुपैयाँ सेयर पुँजी हुन्छ, त्यो अवस्थामा पनि १५ प्रतिशत लाभांशको लक्ष्य राख्नु कसरी स्वभाविक भयो ? यो प्रश्न सान्दर्भिक छ । हामीले नयाँ पुँजी मात्र थपेको भए १५ प्रतिशत लाभांशको लक्ष्य राख्नु बढी हुन्थ्यो । हामी एक्विजिशनबाट पुँजीवृद्धि गर्दै छौं, एक्विजिशन गर्दा पुँजी मात्र थपिदैन, विजनेश पनि थपिन्छ । जनता बैंकले जुन जुन विकास बैंक प्राप्ति गर्दैछ, ती बैंकहरुले दिने लाभांश लक्ष्य पनि १५ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकको नीति पनि पुँजी वृद्धि मात्र नभई मर्ज तथा एक्विजिशनमा जोड दिएको छ । हामीले राष्ट्र बैंकको नीतिलाई पनि प्राथमिकता दिएका छौं । पुँजी वृद्धि र व्यापार वृद्धि सँगसँगै गर्ने जनता बैंकको नीति हो भने चालु आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद सेयर निश्काशन गरिसकेपछि, १२ प्रतिशत बोनस सेयर दिईसकेपछि फेरी किन ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको ? चालु आर्थिक वर्षको नाफाबाट १२ देखि १५ प्रतिशतको बीचमा बोनस दिन सक्छौं । माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्जर प्रक्रिया तोडिएपछि हामी आफ्नै हिसावले अघि बढ्यौं । त्यसमा पुँजी वृद्धि पनि गर्ने, मर्ज तथा एक्विजिशनलाई पनि सँगै अगाडि बढाउने नीति लियौं । त्यही क्रममा त्रिवेणी विकास बैंक प्राप्ति गर्ने भन्ने भयो । त्यसपछि ६० प्रतिशत हकप्रद सेयर निश्काशन गरेर आरामले हामी ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सक्छौं भनेर अगाडि बढियो । साधारणसभाले निर्णय पनि गरिसकेको छ । फेरी पनि हामीले के भुलेनौ भने पुँजी वृद्धि मात्र ठूलो कुरा होइन, व्यापार वृद्धि, नाफा वृद्धि, लाभांश वृद्धि हाम्रो आवश्यकता हो । त्यसैले नयाँ मर्ज तथा एक्विजिशन प्रक्रिया जारी राख्ने, विदेशी बैंकलाई साझेदारको रुपमा भित्र्याउने नीति लिएका छौं । मर्जपछिको दिन बैंक चलाउन कत्तिको चुनौतिपूर्ण देख्नुहुन्छ ? चुनौतिपूर्ण छन् । हामीले दुईवटा राष्ट्रियस्तरको विकास बैंक प्राप्ति गर्दैछौ । त्यसअघि ती विकास बैंकमा ६ वटा संस्था मर्ज भएको छन् । छोटो अवधिमा ७ वटा संस्था मर्ज भएर एउटा बनेको हुन्छ । यसमा धेरै कर्मचारी हुन्छन् । उनीहरुको कल्चर मिलाउन कठिन छ । हामी विज्ञको सहयोगमा कर्मचारीबीच राम्रो सम्बन्ध बनाउने, प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने काम गर्छौ । केही शाखाहरु रिलोकेशन गर्नुपर्छ । सेयरधनीहरुमा कुनै समस्या हुँदैन । किनकी हामी सबैलाई थाहा छ कि संस्थालाई बलियो र राम्रो बनाउनको लागि मर्ज हुँदैछ । ठूलो समस्या छैन् । तपाई हालै मात्र बैंकको नयाँ अध्यक्ष हुनु भयो । कति समय अध्यक्ष रहनुहुन्छ र बैंकको उचाई कुन लेबलमा पुर्याउने सोच बनाउनुभएको छ ? नयाँ मर्जहरु हुँदैछन् । त्यसपछिको परिदृष्य परिवर्तन हुनसक्छ । तर जति समय म यो बैंकमा रहन्छु, त्यस अवधिमा एक दिन पनि खेर जान दिन्न । बैंक चलाउने व्यवस्थापन समितिले हो । व्यवस्थापन समितिलाई आवश्यक निर्णय सञ्चालक समितिबाट हुने कार्यमा एक दिन पनि ढिलाई हुन दिन्न । बोर्डले नीतिगत रुपमा गर्नु पर्ने कुनै पनि निर्णयमा ढिलाई हुँदैन । बैकिङ क्षेत्रमा बढी पुँजीकरण भयो, यसले समस्या ल्याउँदैछ भनिन्छ, साँच्चै हो ? दुई वर्षमा ४ गुणा पुँजी वृद्धि गर्नु पर्ने नीति राष्ट्र बैंकले लियो । तर व्यवसाय त्यसरी वृद्धि हुँदैन । बैंकमा लगानीकर्ताले पुँजी त थपे, व्यवसाय विस्तार भएको छैन । व्यवसाय खोसाखोस गर्ने समस्या देखिएको छ । लगानी विस्तार नभई नाफा वृद्धि हुँदैन । अहिले नै केही समस्याका संकेत देखिएका पनि छन् ।
वीर अस्पताल २५०० बेडकाे बनाउने काम भइरहेकाे छ- प्रा.डा.भुपेन्द्रकुमार बस्नेत
नेतृत्वको क्षमताले संस्थाको सेवा र गतिशिलतामा धेरै फरक पार्छ । प्रा.डा.भुपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा निर्देशक कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि विरामीको चाप करिब ३० प्रतिशतले वृद्धि भएको देखिन्छ । भोजपुरको दिङलामा जन्मिएको बस्नेतले मोरङको स्कूलबाट विद्यालयतहको शिक्षा हासिल गर्नुभएको हो । आइएस्सी त्रिचन्द्र क्याम्पसबाट, एमबिबिएस बंगलादेशबाट, एमडी शिक्षण अस्पताल महाराजगञ्जबाट र डीएम न्याम्सबाट गर्नु भएको बस्नेतले अधिकांश समय वीर अस्पतालमा नै बिताउनु भएको छ । ‘यो अस्पतालमा एउटा डाक्टरले बोक्नुपर्ने सबै खाले जिम्मेवारी पूरा गर्दै निर्देशकको जिम्मेवारीसम्म आइपुगेको हुँ । अस्पताल भित्रको समस्या के छ ? समाधान कसरी गर्नुपर्छ ? मलाई थाहा छ’ निर्देशक बस्नेतले विकासन्युजसँगको कुराकानीमा भने–‘वीर अस्पतालमा धेरै सुधार हुँदैछ, स्वास्थ्य मन्त्रीदेखि अस्पतालका कर्मचारी सबैबाट सहयोग पनि मिलेको छ ।’ प्रा.डा.भुपेन्द्रकुमार बस्नेत, निर्देशक–वीर अस्पताल पछिल्लाे समय वीर अस्पतालमा बिरामीको चाप कस्तो छ ? बिरामीको चाप गत वर्ष भन्दा बढेको देखिन्छ । हरेक महिना पाँच देखि ७ हजारका दरले बढेको देखिन्छ । २०७२ साल कात्तिकमा १४ हजार ७ विरामीको उपचार भएको थियो भने २०७३ साल कात्तिकमा २३ हजारको उपचार भयो । गत वर्षको मंसिरमा १८ हजार २ सयले उपचार गरेका थिए भने यसपाली २५ हजार ७ सय पुगेको छ । गत वर्षको पुसमा १९ हजारको उपचार भएको थियो यसपाली २५ हजार ७ सय पुगेको छ । यो ओपिडीमा उपचार गरिएका बिरामीको संख्या/इमर्जेन्सीमा पनि विरामीको संख्या निकै बढेको छ । बिरामीको संख्या बढ्नुको कारण के के हुन् ? त्यसका धेरै कारण छन् । बिरामी हुनेकै संख्या बढेकाले पनि हुन सक्छ । जब बिरामी हुनेहरु कै संख्यामा वृद्धि हुन्छ तब अस्पताल आउनेको संख्या पनि वृद्धि हुन्छ नै । अर्काे कारण भनेको हाम्रो सेवामा विश्वास बढेर पनि हो । बिरामीले आफूलाई चित्त बुझ्ने ठाउँमा नै उपचार गराउने हो । बिरामीको विश्वास बढाउने गरि के के काम भएको छ यस अस्पतालमा ? हामीले केहि सेवा पनि विस्तार गरेका छौं । अर्काे भनेको हामीले दिएको गुणस्तरिय सेवाबारे प्रचार प्रसार बढेकाले पनि हो । मुख्य कुरा भनेको अहिले बिरामीले लाइन बस्नु पर्दैन । टोकन सिस्टम ल्याएका छौं । टोकन लिएर आरामले कुर्सीमा बस्ने अनि आफ्नो पालो आएपछि उपचार सेवा लिन पाइन्छ । त्यसकारण पनि वीर अस्पतालमा बिरामीको आकर्षण अझै बढेको छ । त्यस बाहेक बिशेषज्ञदेखि अति विशेषज्ञ सेवा हामीले उपलब्ध गराईरहेका छौं । युरोलोजीमा ओपिडीको संख्या र अपरेशनको संख्या बढाएका छौं । ढेड महिना अघिदेखि २४ सै घण्टा डायलायसिस सेवा दिएका छौं । त्यस बाहेक ओपीडी, डाक्टर, कर्मचारी सबैलाई अपडेट गरिएको छ । सरसफाईमा बिशेष ध्यान दिएका छौं । फूल र हरियाली बढाएका छौं । इमर्जेन्सीलाई पनि थप व्यवस्थित गराएका छौं । हामीले केहि नयाँ विज्ञहरुलाई पनि थपेका छौं । फोक्सोको छुट्टै विभाग खडा गरेर सेवा आरम्भ गरेका छौं । रेडियोलोजीमा पनि त्यस्तै नयाँ काम आरम्भ भएको छ । त्यसैले बिरामीको संख्या बढेको हुनसक्छ । कुपन सिस्टम आएको भएपनि टिकट लिन लामो समय कुर्नु पर्ने गुनासो छन् नि ? हामीले चार वटा काउण्टरलाई बढाएर ५ वटा बनायौं । जेष्ठ नागरिकलाई छुट्टै काउन्टर चलाएका छौं । वीर अस्पताल रिफर गरिएका बिरामीलाई सिधै टिकट दिएर इमर्जेन्सीमा लिने गरेका छौं । अब ६ वटा काउण्टर संख्या बढाउँदैछौं । ३० प्रतिशत बिरामीको संख्या वृद्धि हुँदा सेवा दिन कतिको असहज भैरहेको छ ? वीर अस्पतालको क्षमता चाँही कति हो ? भक्तपुरको दुवाकोटमा ५२० रोपनी जमिन वीर अस्पतालले प्राप्त गरिसकेको छ । तर वीर अस्पताल त्यहाँ सर्ने भन्ने चाँही होइन । वीर अस्पतालको सेवा विस्तार हुने हो । सरकारी अस्पतालले आएका सबै बिरामीलाई उपचार गर्नुपर्ने व्यवस्था छ । हाम्रो ओपिडीको समयभित्र जति जनाले टिकट काट्नु हुन्छ, उहाँहरु सबैलाई सेवा दिनु हाम्रो कर्तव्य हो । तर यहि अनुपातमा संख्या वृद्धि भयो भने पूर्वाधार बढाउने वा संख्या तोक्नेबारे सोच्नुपर्ने हुनसक्छ । काठमाडौंमा प्रदूषण बढेर बिरामीको संख्या बढेको हो वा अस्पतालको सेवा सुध्रिएर हो ? हामीले बिशिष्ट सेवा दिने भएकोले नै बिरामीको संख्या बढेको हो । काठमाडौंमा प्रदूषण बढेपछि पक्कै पनि बिरामीको संख्या त वृद्धि हुन्छ नै तर त्यसकै कारण वीर अस्पताल आउने बिरामीको संख्या बढेको भन्ने चाँही होइन । प्रदूषणले पनि केहि संख्या भनेको बढाएको हुन सक्छ । अस्पतालको क्षमता भन्दा बिरामीको संख्या धेरै भएको हो ? हामी अहिले दुई तीन वटा समस्याबाट गुज्रिरहेका छौं । पहिलो भनेको पूर्वाधार कमी नै हो । हामीले टिकट काट्ने ठाउँलाई तन्काएर ठूलो बनाउने अवस्था छैन तर काउण्टरको संख्या वृद्धि नगरि नहुने अवस्था पनि छ । बिरामी कुरुवाको ठाउँ पनि बढाउन सकिएको छैन । दोस्रो ठूलो समस्या भनेको जनशक्तिको कमी हो । बिरामीको संख्या बढे जसरी जनशक्ति वृद्धि गर्न सकिएको छैन । वीर अस्पताललाई विस्तार गरेर भक्तपुर लैजाने भन्ने कुरा कहाँ पुग्यो ? भक्तपुरको दुवाकोटमा ५२० रोपनी जमिन वीर अस्पतालले प्राप्त गरिसकेको छ । तर वीर अस्पताल त्यहाँ सर्ने भन्ने चाँही होइन । वीर अस्पतालको सेवा विस्तार हुने हो । यहाँ नर्सिङ क्याम्पस, क्वार्टर र एउटा अस्पताल त्यहाँ बनाउने हो । अहिले वीर अस्पताल भएको क्षेत्रमा पनि पूर्वाधार विस्तारको काम भईराखेको छ, होइन ? यहाँको जमिनमा पनि अर्काे भवन बनाएर अस्पतालको क्षमता बढाउने काम भईराखेको छ । नर्सिङ क्याम्पस र होस्टल भएको भवन भत्काउने काम भैरहेको छ । अर्काे महिनाबाट निर्माण पनि आरम्भ हुन्छ । त्यो भवन बनिसकेपछि भने हामीलाई केहि राहत हुन्छ । यहाँ सात तलाको भवनमा ७५० बेडको अस्पताल बन्दैछ । मुल भवनको पछाडि एक सय बेडको अस्पताल बनाउन जाइकासँग सम्झौता नै भैसकेको छ । भक्तपुरमा एक हजार बेडको अस्पतालसहित न्याम्सको अफिस, नर्सिङ क्याम्पस र क्वार्टरहरु बनाउने हो । यी सबै काम भैसक्दा वीर अस्पताल, ट्रमा सेन्टर र अहिलको नर्सिङ क्याम्पसको ठाउँ गरी जम्मा १५०० बेड क्षमताको अस्पताल सञ्चालन हुन्छ । भक्तपुरमा १००० बेडको अस्पताल हुन्छ । अहिले वीरसँग ४६० र ट्रमा सेन्टरसँग २ सय बेडको हो । दुबै मिलाएर ६६० बेडको अस्पताल अहिले सञ्चालनमा छ । प्रक्रियामा रहेको सबै पूर्वाधार निर्माण सम्पन्न हुँदा वीर अस्पताल २५०० बेड क्षमताको हस्पताल बन्नेछ । यस अस्पतालका प्रस्तावित भौतिक पूर्वाधार कहिले बनिसक्ला ? भत्काउँदै गरिएको नर्सिङ क्याम्पस र होस्टलको भवन भएको ठाउँमा बन्ने अस्पतालका लागि बजेट विनियोजन भैसकेको छ । नक्सा पास गराउने प्रक्रिया अघि बढेको छ । चाँडै निर्माण आरम्भ हुन्छ । मुल भवनको पछाडि जाइकाले बनाउने भवनको सम्झौता सम्पन्न भैसकेको छ । तीन बर्षमा बनाइसक्ने भन्ने छ । दुवाकोटको भने मन्त्रालय आफैैले हेरिरहेको छ । विभिन्न निकायसँग छलफल भैरहेको छ । हामीले यहाँ बनाउने भनेको लागत ३ अर्बको प्रोजेक्ट हो । जाइकाले बनाउने भवनको कति लाग्छ, त्यो उसैले जान्दछ । यो भवन बनाउने, त्यसभित्र आवश्यक पर्ने सबै उपकरणहरु उसैले नै बनाईदिने हो । यी सबै परियोजना सम्पन्न हुँदा वीरको क्षमता कति हुन्छ ? यो वीर अस्पताल मात्रै होइन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि हो । यहाँ उपचार मात्रै होइन, डिएस, एमडीदेखि एमएससम्मको अध्ययन गराइन्छ । यो देशकै ठूलो ट्रेनिङ सेन्टर पनि हो । यो एउटा विश्व विद्यालय नै हो मेडिकल साइन्सका लागि । यसले मात्रै एमडी, एमएस र डिएम लगायतका डाक्टर ९ सयको हाराहारीमा उत्पादन गरिसकेको छ । हरेक वर्ष १२५ जना दक्ष डाक्टर उत्पादन गरिरहेको छ । यसले सेवा विस्तार सधैं गरिरहेको हुन्छ । अहिले नै पनि न्याम्सको मातहतमा अञ्चल अस्पतालमा अध्ययन सुरु गराउने भन्नु भएको छ । वीरमा कति जनशक्ति छन् ? हामीसँग फरक फरक क्षमता र विभागका मान्छे छन् । यहाँ १२०० कर्मचारी छन् बिभिन्न क्षेत्रमा संलग्न । भिआइपी र भिभिआइपी कक्षको सञ्चालनको अवस्था कस्तो छ ? एउटा भिआइपी र एउटा भिभिआइपी कक्ष छन् । तीनको प्रयोग राम्रोसँग भैरहेको छैन । भिआइपीमा त वर्षमा पाँच सात जनाले उपचार गराइरहनु भएको छ तर भिभिआइपी कक्षमा उपचार गर्न पूर्व रानी ऐश्वर्यपछि कोही पनि आउनु भएको छैन । ऐश्वर्यको अपरेशन गरेपछि अरु कसैको त्यहाँ उपचार भएको रेकर्ड छैन । भिआइपीमा भने पछिल्लो पटक पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको उपचार गरिएको थियो । हामीले सम्माननियहरुका लागि भिभिआइपी र बहालवाला मन्त्रीका लागि भिआइपी कक्ष भन्ने गरेका थियौं तर अहिले माननियहरुलाई पनि भिआइपी कक्ष उपलब्ध गराउँछौं । तर यी कक्षहरुको खासै उपयोग गरिएको छैन । हामीले यी दुबै कक्षलाई सफा राख्ने गरेका छौं । यो फाइभस्टरको कोठा जस्तै राम्रोसँग राखेका छौं भिभिआइपी कक्षलाई । हामी सेवा दिन बसेका हौं । हामी कहाँ सेवा लिन आउनेहरुलाई सेवा दिन्छौं तर भिआइपी र भिभिआइपी नआउने कुरामा हामीले केहि भन्न सक्दैनौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले यहिँ आएर दाँतको उपचार गराउनु भएको थियो, वर्तमान राष्ट्रपति पनि केहि महिना अघि उपचारका लागि यहि आउनु भएको थियो । वर्तमान प्रधानमन्त्रीले पनि केहि समय अघि यहिँ आएर उपचार गराएर फर्किनुभएको थियो । नेताहरुले उपचारका लागि विदेश किन गएका होलान ? नेपालमा गुणस्तरिय स्वास्थ्य सेवा नपाएर वा विश्वास नभएर ? भिआइपीहरुलाई उपचारसँगै आराम पनि दिनुपर्ने हुन्छ । हामी कहाँ नेता बिरामी भयो भने अस्पताल भरी मान्छे आउँछन् । बिरामीले भेट्न हुन्न भन्दा भन्दै पनि भिडभाड गर्छन् । जसका कारण राम्रोसँग आराम पाउनुहुन्न । माधव नेपाल यहाँ आउनु हुँदा पनि डाक्टर भेट्न हुन्न भन्दा पनि धेरैलाई रोक्न सकिएन् । यस्तै कारणले नेताहरु उपचारका लागि विदेशिएका हुन भन्ने मलाई लाग्छ । मेडिकल साइन्स भनेको धेरै विकास भैसकेको छ । हामीसँगै सबै प्रविधि नहुन सक्छ । शतप्रतिशत नयाँ प्रबिधि हामीसँग छैन । कतिपय रोगको उपचार बिशिष्ट ढंगले गर्नु पर्छ । भारतमै पनि सबै रोगको उपचार सम्भव हुन्न । त्यसकारण पनि हाम्रा नेताहरु विदेशिएका हुन भन्ने मलाई लाग्छ । निजी क्षेत्रका ठूला व्यवसायी पनि उपचारका लागि विदेशिन्छन् किन होला ? पैसा हुनेहरु विदेशी उपचार गर्न जाने कुरा स्वभाविक हो । गाउँका मान्छे जिल्ला आउँछन्, जिल्लाका मान्छे अञ्चल अस्पताल जान्छन् अनि अञ्चलका मान्छे केन्द्रमा जान्छन् उपचार गराउन । राजधानीमा बस्ने ठूला व्यवसायीहरु उपचारका लागि विदेश जान्छन् । त्यो स्वभाविक प्रक्रिया पनि हो । मानिसहरु चाँडो सेवा खोज्छन् तर हामी त गरिबहरुलाई उपचार गर्ने सरकारी अस्पताल हौं । हामीले गरिबहरुलाई निःशुल्क उपचार गराएर पनि पठाएका छौं । उनीहरुका लागि वीर अस्पताल भगवान नै सावित पनि भएको छ । वीर अस्पतालका कर्मचारीले बिरामीलाई निजी क्लिनिक र अस्पताल रिफर गर्छन् भन्ने आरोप पनि छ, कुरा के हो ? त्यस्तो अहिले छैन । कुनै समयमा त्यस्तो पनि थियो होला । तर अहिले म आफैं अनुगमन गरिरहेको छु । कुनै टेष्ट बाहिर गर्नु पर्यो भने विभागिय प्रमुखले तोक लगाउनु पर्छ । बाहिर हल्ला चले जस्तो यहाँ छैन । म दुई वर्षका लागि नेतृत्वमा आएको हुँ । जनताले सर्वसुलभ ढंगले उपचार पाउने अस्पतालका रुपमा स्थापित गराउछु भन्ने योजना छ । काम गर्दा कत्तिको कठिनाईहरु आउने रहेछन् ? हामीले अस्पतालमा रंग लगाउने भन्ने योजना बनायौं तर बजेटमा राखिएको रहेनछ । कतिपय अवस्थामा मन्त्रालयको निर्णय कुर्नुपर्ने अनि कतिपय अवस्थामा न्याम्सको निर्णय कुर्नुपर्ने अवस्था हुन्छ । अहिले स्वास्थ्य मन्त्रीले नियमित बजेट भन्दा ४० करोड बढी रकम दिनुभएको छ । यसले पनि काम गर्न सहजता भएको छ । निर्देशकको कार्यकक्ष बनाउनका लागि १० लाखको बजेट लाग्ने रहेछ । तर १० लाख खर्च गरेर यो कोठा बनाउने कि बिरामीको सेवामा १० लाखको उपकरण खरिद गर्ने भन्ने कुराबारे सोच्नुपर्ने रहेछ । तर पनि आगामी दिनमा सुधार हुन्छ । वीर अस्पतालको कुल खर्चको कति प्रतिशत आफ्नै आम्दानीले धानेको छ ? हामीसँग करिब १२०० कर्मचारी छन् । तीमध्ये ६ सय लोकसेवा आयोगका परीक्षा पास गरेका सरकारी कोटामा आएका हुन् । उनीहरुको तलब सरकारले दिन्छ । बाँकी ६ सयका तलब भत्ता हामीले आफ्नै आम्दानीबाट व्यहोर्दै आएका छौं । हामीले ५० प्रतिशत खर्च आफैं धान्दै आएका छौं ।