सिप्रदी र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता

काठमाडौं । टाटा मोटर्सका लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगदरहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित विशेष समारोहमा दुवै कम्पनीका प्रतिनिधिबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार अब टाटा गाडीका ग्राहकहरूले सवारी दुर्घटनाको अवस्थामा बीमा दावी प्रक्रिया सहज र छिटो रूपमा गर्न सक्नेछन् । यसले ग्राहकलाई नगद भुक्तानीको झन्झटबाट मुक्त गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसअघि पनि सिप्रदीले शिखर, सगरमाथा लुम्बिनी (सलिको), एनएलजी, नेको, सानिमा तथा ओरियन्टल इन्स्योरेन्स कम्पनीहरूसँग यस्तै प्रकारका नगदरहित बीमा दावी सम्झौता गरिसकेको छ । कम्पनीका अनुसार, हालसम्म ३ हजारभन्दा बढी ग्राहकले यस सेवामार्फत छिटो र सहज दावी सुविधा प्राप्त गरिसकेका छन् । आगामी दिनमा थप ग्राहकलाई यस्तो सेवा विस्तार गर्ने योजना सिप्रदीले बनाएको छ । यस सहकार्यबाट ग्राहकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान हुने विश्वास दुवै कम्पनीले व्यक्त गरेका छन् ।

हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम प्राधिकरणले गरेको निर्णयअनुसार कम्पनीलाई पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको हो । प्राधिकरणले वैशाख २९ गतेको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको जनाएको छ । बीमा ऐनको दफा १३६ को उपदफा (४) बमोजिम सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइएको प्राधिकरणले जनाएको छ ।

यूनाइटेड अजोडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ । चैत २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँ​​​​​डपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।