सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘एसपीआईएल लेन्स’ त्रैमासिक न्यूजलेटर

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्युजलेटर ‘एसपीआईएल लेन्स’ को औपचारिक रूपमा शुभारम्भ गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्युजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्बन्धी ज्ञानवर्धक सूचनाका लागी यो प्रकाशन महत्वपूर्ण हुने बताए । कम्पनीका अनुसार एसपीआईएल लेन्स न्युजलेटरमा कम्पनीको वित्तिय सूचकांक, व्यवस्थापन गतिविधि तथा योजनाहरू सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिने छ । साथै नेपालको बीमा उद्योगको विश्लेषण तथा अन्तर्राष्ट्रिय निर्र्जीवन बीमा बजारका गतिविधि र तिनका प्रभावहरू समेत समेटिनेछ । कार्यक्रममा बोल्दै सीईओ क्षेत्रीले एसपीआईएल लेन्स केवल एक न्यूजलेटर मात्र नभई बीमा उद्योगलाई बुझ्न, अध्ययन गर्न र विश्लेषण गर्न चाहने सबैका लागि मूल्यवान स्रोत बन्ने बताए । उनले कम्पनीले सरोकारवालाहरू सँगको संवादलाई अझ गहिरो बनाउने उद्देश्यका साथ यो प्रकाशन ल्याएको उल्लेख गरे । कम्पनीका अनुसार एसपीआईएल लेन्स हरेक तीन महिनामा नियमित रूपमा प्रकाशित गरिनेछ र डिजिटल माध्यम मार्फत उपलब्ध हुनेछ ।

इसेवा र नेपाल लाइफको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवाले बीमा प्रदायक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ग्राहकका लागि ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भार कम गर्ने उद्देश्यले यो योजना ल्याइएको इसेवाले जनाएको छ । योजनाबारे जानकारी दिँदै इसेवाका ओमकार पाण्डेले संकटको समयमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सुलभ प्रिमियममा उपलब्ध यस योजनाले जीवन बीमालाई सबैका लागि पहुँचयोग्य बनाउने बताए । पूर्ण रूपमा डिजिटल यस जीवन बीमा योजनाको खरिद प्रक्रिया सहज, छरितो र झन्झटमुक्त रहेको छ। वार्षिक प्रिमियम ७२५ रुपैयाँबाट सुरु हुने यस योजनाअन्तर्गत बीमितले ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजना हो, जसमा १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको स्वाभाविक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ । अकस्मात् हुने जोखिमका बेला परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकतामा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् भने पोलिसी तुरुन्तै एसएमएस तथा इमेलमार्फत प्राप्त हुने जनाएको छ ।

आइएमई लाइफको लाभांश घोषणा, कति दिने भयो नगद ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए ।  उनका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब रुपैयाँको १०.५२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरिएको हो ।  कम्पनीले प्रस्ताव गरिएको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव न्यौपानेले बताए ।