‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर - नेपाल’ बन्यो सिटिजन लाइफ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औं इमर्जिङ एसिया इन्स्योरेन्स अवाड्र्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर नेपाल’ को उपाधि हात पारेको छ । इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी) द्वारा थाइल्यान्डको बैंककमा आयोजित एक भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो ।  सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बीमाको पहुँच पु‍र्याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको कम्पनीले जनाएको छ । कम्पनीले विगतका दिनहरूमा झैं आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने जनाएको छ।   

बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव मनाइयो, डिजिटल रूपान्तरणमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव शुक्रबार ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास र पहुँच विस्तारका लागि नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले बीमितको हित सुरक्षा, समयमै दाबी भुक्तानी तथा गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राखिन् । अध्यक्ष पौडेलका अनुसार आगामी दिनमा प्राधिकरणले नीतिगत कमजोरीहरू सुधार गर्दै बीमितको हित संरक्षण, बीमक संस्थाहरूको सुदृढीकरण, जोखिममा आधारित निरीक्षण प्रणाली, सुशासन प्रवर्द्धन तथा डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ अघि बढाउनेछ । उनले बीमित, बीमक तथा सम्बन्धित निकायबीचको सहकार्यले बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सरोकारवालाहरूको सुझावका आधारमा नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल र जोखिम सचेत बनाउँदै आर्थिक विकासको सहयात्रीका रूपमा अगाडि बढाउने लक्ष्य रहेको बताए । उनले नियमन र निरीक्षणलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिमा प्राधिकरणले उल्लेखनीय प्रगति हासिल गरेको बताए । कार्यक्रममा विभिन्न बीमा सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस अवसरमा प्राधिकरणमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै, वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजेताहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्राधिकरणका पदाधिकारी, बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपनिर्देशक श्रद्धा श्रेष्ठले गरेकी थिइन् ।  

स्वास्थ्य बीमामा सक्रिय बीमित २०.५ प्रतिशतमात्रै

काठमाडौं ।  महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनले स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण अपेक्षाअनुसार बढ्न नसकेको देखाएको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार हाल स्वास्थ्य बीमामा सक्रिय बीमित कुल जनसंख्याको २० प्रतिशत मात्रै रहेको छ । महालेखको प्रतिवेदनअनुसार सक्रिय रूपमा स्वास्थ्य बीमामा आबद्ध परिवार कुल परिवारको ३० प्रतिशत मात्रै रहेको छ । ​​​​​​ महालेखको प्रतिवेदनले बीमा बोर्डको संरचना अस्थायी प्रकृतिको रहेको, स्रोत साधन र जनशक्तिको प्रर्याप्त व्यवस्था हुन नसकेको औंल्याएको छ । त्यस्तै, बीमितहरूको बढ्दो दाबीसँगै दाबी परीक्षण कार्य त्रुटिरहित र समयभित्र सम्पन्न गर्न चुनौतीपूर्ण रहेको देखिएको छ । प्रतिवेदनले दाबी भुक्तानीमा प्रिमियमको योगदान न्यून रहेको र सेवा प्रदायक संस्थाहरूबाट गरिएको दाबी समयमै पूर्णरूपमा भुक्तानी हुन नसकेको पाइएको छ । त्यस्तै सबै बीमितले औषधी पर्याप्त रूपमा प्राप्त गर्न नसकेको, बीमा कार्यक्रममा दोहोरोपना देखिएको, दाबी अस्वीकृति दर वृद्धि हुँदै गएको उल्लेख गरेको छ ।  प्रतिवेदनअनुसार सबै उमेर समूहमा बीमाको दायरा विस्तार हुन नसकेको देखिएको छ भने राष्ट्रसेवक तथा प्रतिष्ठानमा कार्यरत सबै कर्मचारीलाई बिमामा आबद्ध गर्न नसकिएको प्रतिवेदनले औंल्याएको छ । प्रदेशगत रूपमा बीमामा सहभागिता असन्तुलित रहेको लगायतका बेहोरा प्रतिवेदनमा देखिएको छ ।