माघदेखि बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन मंगलबार निर्देशन दिएको हो । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ मा बीमकले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बीमालेखका शर्त वा प्रचलित कानून बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको र नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणाली मार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो । यसअघि, प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला बापतको भुक्तानी अनिवार्य रूपमा बैंक वा वित्तीय संस्था मार्फत सम्बन्धित कर्मचारी तथा श्रमिकको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

सानिमा रिलायन्स लाइफद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल सामग्री सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेको धुलिखेलस्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री वितरण गरेको छ । उक्त सामग्री सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री र एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । हाल उक्त विद्यालयमा २८ जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् । ब्रेल शैक्षिक सामग्रीले नेत्रहीन विद्यार्थीलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्ने तथा समान शैक्षिक अवसर सुनिश्चित गर्दै समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यसले विद्यार्थीलाई भविष्यमा उच्च शिक्षा र रोजगारीका अवसरतर्फ अघि बढ्न सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्ने जनाएको छ । नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत रहेका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान पुर्‍याएकोप्रति अर्थमन्त्री खनालले नेपाल सरकारको तर्फबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरेका छन् । अर्थ मन्त्रालयका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको योगदानसहित हालसम्म सो कोषमा १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।