सेयर बजारमा निर्जीवन बीमा कम्पनीहरूको साढे ५ अर्ब लगानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म सेयर बजारमा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्बभन्दा बढीको लगानी गरेका छन् ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँको लगानी गरेका हुन् । तथ्यांकअनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरूले गरेको लगानी गत आवको तुलनामा १९.७४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले सेयर बजारमा ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए ।  तेस्रो त्रैमाससम्ममा सेयर बजारमा सबैभन्दा धेरै लगानी गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले चैत्रसम्ममा ७९ करोड ४१ रुपैयाँ लगानी गरेका छन् । गत आवको तुलनामा भने कम्पनीले लगानी वृद्धि गर्न सकेको छैन ।  दोस्रो धेरै लगानी गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले चैत्रसम्ममा ७७ करोड ३६ लाख रुपैयाँको लगानी गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ५० करोड १३ लाख रुपैयाँ लगानी गरेका थिए । गत आवको तुलनामा कम्पनीको सेयर बजारमा गरेको लगानी ५४.३० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, तेस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सले ६२ करोड ४९ लाख रुपैयाँ सेयरमा बजारमा लगानी गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ५९ लाख ६८ हजार रुपैयाँ लगानी गरेका थिए । गत आवको तुलनामा कम्पनीले सेयर बजारमा ४.७२ प्रतिशतले लगानी बढाएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चैत्रसम्ममा  ५८ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ५० करोड ३५ लाख रुपैयाँ लगानी गरेका थिए । गत आवको तुलनामा कम्पनीको पुँजी बजारमा लगानी १६.२८ प्रतिशतले बढेको छ । त्यसैगरी, तेस्रो त्रैमाससम्ममा हिमालयन एभरेष्टले ४९ करोड ७२ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ७९ लाख रुपैयाँ, युनाइटेड अजोडले ४७ करोड १५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३३ करोड ५९ लाख र एनएलजी इन्स्योरेन्सले २१ करोड ३० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । गत आवको यही अवधिको तुलनामा हिमालयन एभरेष्टले ६९.७६ प्रतिशत, आइजिआई प्रुडेन्सियलले ३.३० प्रतिशत, युनाइटेड अजोडले १८९.८४ प्रतिशत, नेपाल इन्स्योरेन्सले ०.९२ प्रतिशत र एनएलजी इन्स्योरेन्सले ३३.०४ प्रतिशते लगानी बढाएका छन् ।  गत आवको तुलनामा सानिमा जिआइसी, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरन्सले भने सेयर बजारमा लगानी घटाएका छन् । गत आवको तुलनामा सानिमा जिआईसीको २.८५ प्रतिशत, शिखर इन्स्योरेन्सको ११.२४ प्रतिशत र प्रभु इन्स्योरेन्सको २४.१० प्रतिशतले लगानी घटाएका छन् ।   

नेपाल लाइफद्वारा वित्तीय पारदर्शिता र जोखिम व्यवस्थापनमा जोड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियारमा हुने वित्तीय लगानी निवारण (एएमएल/सीएफटी/सीपीएफ) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले प्रशिक्षण दिएका थिए । उनले बीमा क्षेत्रमा लागू हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र त्यसको व्यवहारिक कार्यान्वयनबारे विस्तृत प्रस्तुति दिएका थिए । प्रशिक्षणमा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत सेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एएमएल/सीएफटी सम्बन्धी कानुनी व्यवस्था, नियामकीय निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया र शंकास्पद कारोबार पहिचानबारे जानकारी दिइएको थियो । कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र एएमएल/सीएफटी अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण रहेको बताए । प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने उनको भनाइ थियो । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रचलित कानुनको व्यवहारिक कार्यान्वयनमा जोड दिँदै नियामकीय मापदण्डहरूलाई दैनिक कार्यप्रणालीमै प्रभावकारी रूपमा लागू गरिएको जानकारी दिए । कम्पनीका अनुसार यस प्रशिक्षणले वित्तीय अपराध न्यूनीकरण, संस्थागत सुशासन तथा वित्तीय पारदर्शिता सुदृढ गर्न सहयोग पुगेको छ । कम्पनीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।   

बीमा दाबी भुक्तानी मार्गदर्शन संशोधन गर्दै प्राधिकरण, सरोकारवालासँग माग्यो सुझाव

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन शंसोधन गर्ने भएको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ लाई समयानुकूल, व्यवहारिक तथा प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै संशोधन  गर्न लागेको जनाएको छ । स उक्त मार्गदर्शनमा संशोधन गर्न आवश्यक देखिएका विषय, व्यवस्था, प्रक्रिया तथा प्रावधान सम्बन्धमा प्राधिकरणले सुझाव मागेको छ । प्राधिकरणका अनुसार सुझाव सूचना जारी भएको १५ दिनभित्र पठाइसक्नुपर्ने छ । बीमासँग सम्बन्धित सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमित तथा सर्वसाधारणले सुझाव पेश गर्न सक्नेछन् ।