नेपाल इन्स्योरेन्सले ६.३१ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ । 

जेनजी आन्दोलनमा भएको क्षतिबापत बीमा कम्पनीले गरे ५.१८ अर्ब रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये हालसम्म ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिब २३ अर्ब ४५ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्म उक्त रकम भुक्तानी भइसकेको हो ।  सम्पत्ति बीमातर्फ करिब ३ अर्ब ८२ करोड रुपैयाँ र मोटर बीमातर्फ करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ । इन्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ करिब ७ करोड ५० लाख रुपैयाँ, परिवहन बीमातर्फ करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको छ । ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ । नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क छ ।

शिखर इन्स्योरेन्सको ६.३१ लाभांश घोषणा, साढे १८ करोड रुपैयाँ सेयरधनीलाई बाँड्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले ६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँको ६ प्रतिशतका दरले १७ करोड ५३ लाख ८५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशतका दरले ९२ लाख ३१ हजार रुपैयाँ नगद गरी कुल ६.३१ प्रतिशत अर्थात् १८ करोड ४६ लाख १७ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव सुरज राजबाहकले बताए ।