सिटिजन लाइफको सीईओमा पौडेल पुनः नियुक्त
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी पौडेललाई पुनः नियुक्त गरिएको हो । पौडेलको दोस्रो कार्यकाल यही पुस मसान्तबाट सकिँदैछ । उनी सिटिजन्स लाइफमा २०७४ सालमा सीईओमा नियुक्त भएका थिए। पौडेलले आफ्नो नेतृत्वमा कम्पनीलाई अब्बल संस्था बनाउन विशेष भूमिका निर्वाह गरेका छन् ।
नेशनल लाइफको सिईओ क्लब कार्यक्रम सम्पन्न, कर्णाली र सुदूरपश्चिमका अभिकर्ता सम्मानित
काठमाडाै । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कार्यक्रम सम्पन्न गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्णाली तथा सुदुरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरे । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले कर्णाली र सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेक थिए । सीईओ खत्रीले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको जानकारी दिँदै १६ सयभन्दा बढी अभिकर्ता छनोट सफल भएको बताए ।
पशु बीमामा नामसारी अनिवार्य
चितवन । पशु बिक्री गर्दा बीमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको छ । पशु खरिद गरेपछि पुनः बीमा गर्दा सरकारले दिने अनुदान र खरिदकर्ताको रकम खर्च हुने भएकाले एउटै पशुको दोहोरो बिमा नगर्न आग्रह गरिएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आयोजना गरेको पशु बिमासम्बन्धी त्रिपक्षीय अन्तरक्रियामा सहभागीले पशुको नामसारी नहुँदा बिमामा दोहोरो पर्ने गरेको बताएका हुन् । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले पशुको बिमामा देखिएको समस्या समाधान गर्न सरोकारवालाले ध्यान नदिएको बताए । उनले भने, ‘बिमामा देखिएको समस्या बिमा कम्पनीले समाधान गर्न आवश्यक छ, बिमा गरिएका पशुमा लगाइएको बिमाको ट्याग बिग्रने, फुत्कनेदेखि धेरै समस्या भएकाले यसलाई सहजीकरण गर्न आवश्यक छ ।’ पशु बिमा गरेपछि समय नसकिँदै गरेका पशुबिक्री गर्दा किसान ठगिने गरेको उनको गुनासो थियो । उनले भने, ‘पशु नामसारीका लागि बिमा कम्पनीले के सोचेको छ ?’ सोही अवसरमा सङ्घका सचिव कल्याण अधिकारीले दुग्ध उत्पादक किसानले पशुको नामसारीमा बिमा कम्पनीले ध्यान दिन नसकेको बताए । उनले भने, ‘सहकारीले एउटा पोलेसीबाट गर्दा सम्भव नहुने र किसनले बिमा गर्दा एकपटक बिमा अभिकर्ता गएपछि दोहो¥याएर नजाने गर्दा समस्या बढेको हो ।’ बिमा अभिकर्ताले बिमा कम्पनीलाई पैसा नदिई बिमा गर्ने गरेको उनको भनाइ थियो । सोझा साझा जनताले बिमा बापतको रकमसमेत पाउन कठिन हुने गरेको उनले बताए । वन्यजन्तुको आक्रमणका कारण हुने क्षतिपूर्तिको समेत बिमामा समावेश गर्न उनले आग्रह गरे । कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभागका उपसचिव पुरुषोत्तम शर्माले वन्यजन्तुका कारण भएको क्षतिमा सरकारले राहतको व्यवस्था गर्ने गरेको बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रको समस्या सामुदायिक वनको सिफारिस र राष्ट्रिय वन क्षेत्रमा डिभिजन वन कार्यालयको सिफारिसमा राहतको व्यवस्था गरिएको उनले बताए । नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले पशु बिक्री वितरण गरेको तीन महिनासम्म बिमामार्फत नामसारी गर्नका लागि निःशुल्क हुने भन्दै दोहोरिने गरी बिमा नगर्न बिमा प्रदायक कम्पनीलाई निर्देशन दिए । उनले भने, “राज्यको सम्पत्ति दुरुपयोग गरेको अभियोग लाग्न सक्छ, बुझेर काम गर्नुस् ।” पशु बिमा गर्दा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको बताउँदै उनले समस्या समाधानका लागि बिमा अभिकर्ता चनाखो हुन आग्रहसमेत गरे । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले पशुपालन गर्ने किसानले बिमा कम्पनीबाट पाएको दुःखका बारेमा जानकारी दिए । अहिले जिल्लामा एक लाख गाई र ७० हजार भैँसी पालिएको जानकारी दिँदै उनले बिमा कम्पनीलाई छिटोछरितो सेवा दिनका लागि आग्रहसमेत गरे । उनले भने, ‘बिमाको दाबी भुक्तानीमा बिमा कम्पनीले दिएको समस्या समाधान नभए किसानलाई कठिन हुने र बिमा गर्नसमेत किसान आउन छाड्ने अवस्था आउने छ ।’