साना किसानको बाली तथा पशुधन बीमा डिजिटल प्रणालीमा जोडिने

काठमाडौं । साना किसानलाई लक्षित गर्दै बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बाली तथा पशुधन बीमासम्बन्धी सेवा डिजिटल प्रणालीमा आवद्ध गर्ने घोषणा गरेको हो । नीति तथा कार्यक्रममा बाली तथा पशुधन बीमाको बीमालेख जारी गर्ने, प्रिमियम अनुदान उपलब्ध गराउने, भुक्तानी गर्ने तथा दाबी प्रक्रियालाई डिजिटल प्रणालीमार्फत सञ्चालन गरिने उल्लेख छ ।  

प्रभु महालक्ष्मीको नाफा साढे २७ करोड रुपैयाँ, १६.९० अर्ब पुग्यो जीवन बीमा कोष

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १.६० प्रतिशत बढेर २७ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  चालु आवको ९ महिनामा कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ खुद बीमा शुल्क र ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क र ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चालु आवको ९ महिनामा कम्पनीले ५ अर्ब १६ करोड रुपैयाँ कुल आम्दानी गरी ४ अर्ब ८९ करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ कुल आम्दानी गरी ४ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १३ करोड ९४ लाख रुपैयाँ, सञ्चित नाफा ३३ करोड २१ लाख रुपैयाँ र अन्य इक्विटी ३३ करोड ८१ लाख रुपैयाँ र जीवन बीमा कोष १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.७६ गुणा रहेको छ ।  

ओरिएन्टल इन्स्योरेन्सको नाफा ३०.६६ करोड रुपैयाँ, २८.१३ प्रतिशत बढ्यो बीमा शुल्क

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो । चालु आवको ९ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २८.१३ प्रतिशत बढेर १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड १९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।  चालु आवको चैत मसान्तसम्म १ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कुल बीमाशुल्क आर्जन १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.०३ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९६ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चालु आवको ९ महिनामा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ कुल आम्दानी गरी ९० करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ कुल आम्दानी गरी १ अर्ब २० करोड रुपैयाँ कुल खर्च गरेको थियो ।  कम्पनीको स्पेसल रिजर्भ १ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यस्तै, महाविपत्ति कोषमा ७ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ लाख १५ हजार रुपैयाँ तथा अन्य इक्विटीमा ८७ करोड ४९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको बीमा कोष ८ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ ।