सन नेपाल लाइफद्वारा वीरेन्द्रनगरमा वृक्षारोपण र ज्याकेट वितरण
काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। 'न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम' अन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। वीरेन्द्रनगर क्षेत्रमा केन्द्रित कार्यक्रममा कम्पनीले ५० जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको थियो। कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख नील लामिछानेको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको सक्रिय सहभागिता थियो। कार्यक्रमका अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले वातावरण संरक्षण र सामाजिक सेवा सन नेपाल लाइफको संस्थागत दर्शनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई देशव्यापी रूपमा निरन्तर विस्तार गरिँदै जाने प्रतिबद्धता व्यक्त गरे। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा वातावरणीय सन्तुलन, सामाजिक जिम्मेवारी र दिगोपनलाई प्राथमिकतामा राख्दै वृक्षारोपण, न्यानो कपडा वितरण तथा समुदाय–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ। हाल कम्पनीले देशभर १४८ शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै नेपाली नागरिकको वित्तीय सुरक्षा र सामाजिक विकासमा योगदान पुर्याउँदै आइरहेको छ।
पाँच महिनामा ३७ हजार बीमितले त्यागे बीमा पोलिसी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात मंसिर मसान्तसम्ममा ३७ हजार १४९ जना बीमितले पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पाँच महिनामा ३७ हजार १४९ बीमालेख समर्पणबापत् कुल ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ रकम बीमा कम्पनीहरूबाट बाहिरिएको छ । चालु आवको पाँच महिनामा भएको पोलिसी सरेण्डर गत आवको सोही अवधिको तुलनामा १७.५६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूबाट ४५ हजार ६० जना बीमितले पोलिसी त्यागेका थिए । सो संख्या बराबरको बीमितले पोलिसी त्याग्दा गत आवमा ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ रकम बाहिरिएको छ । गत आवको तुलनामा चालु आवको पाँच महिनामा बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या भने बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा १२ लाख २० हजार ४१५ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा १२ लाख १४ हजार पाँच सय बीमालेख व्यतित भएका थिए । गत आवमा व्यतित बीमालेख रकम ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ रहेको छ । बीमा पोलिसी खरिद गर्ने बीमितले तोकिएको समयअगाडि नै बीमालेख त्याग्नुलाई पोलिसी सरेण्डर भनिन्छ । बीमितलाई ऐनलाई बीमालेख सरेण्डर गर्न पाउने अधिकार दिएको छ । जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८ अनुसार बीमितले बीमा प्रारम्भ भएको तीन वर्षसम्म निरन्तर बीमा शुल्क तिरेसकेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ ।
सानिमा रिलायन्स लाईफद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष नुतनदेव दुलाल, सानिमा रिलायन्स लाईफ इलाम शाखा प्रबन्धक मदन घिमिरे, एजेन्सी मेनेजरहरू प्रकाश भट्टराई, डिकेन्द्र दाहाल, खेमराज ढकाल, खिन माया बस्नेत, सितामाया थेगिम तथा अग्रज व्यक्तित्व रोशन कर्माचार्यलगायत कम्पनीका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने योजना रहेको जनाएको छ । यस्ता प्रयासहरू मार्फत कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समेत समान रूपमा अघि बढाउने विश्वास लिएको छ । साथै, भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। साथै, करिब २० हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।