स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारी शुक्रबारदेखि आन्दोलनमा रहेका छन् । आफ्ना माग बोर्डले नसुनेको भन्दै उनीहरू काम रोकेर आन्दोलनमा उत्रेका हुन् । एक शाखा अधिकृतले कार्यालयका अन्य कर्मचारीमाथि दुव्र्यवहार गरेकाले कार्वाहीको लागि माग गर्दा पनि बोर्डले नसुनेको भन्दै कामकाज रोकेर आन्दोलन गर्नुपरेको कर्मचारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयबाट काजमा बोर्डमा आएका शाखा अधिकृत शोभित रिजालले कर्मचारीलाई अनावश्यक कुरामा हैरानी गर्ने गरेको उनीहरूको भनाइ छ । कर्मचारीलाई बारम्बार हप्काउने, धम्क्याउने, कार्यकक्षमै अपशब्द बोल्दा कर्मचारीलाई मानसिक तनाव दिने गरेको भन्दै त्यहाँका कर्मचारीले विज्ञप्ति निकालेर कार्वाहीको माग गरेका छन् । रिजाललाई तीन दिन भित्र कार्वाही गर्न माग गर्दै विज्ञप्ति निकाले पनि सुनुवाइ नहुँदा आन्दोलनमा उत्रनुपरेको कर्मचारीले बताएका छन् ।

जीवन बीमामा ‘फोर्स सेलिङ’, आर्थिक मन्दीको असर कायमै

काठमाडौं । बीमा बजार अझैं पनि लयमा नफर्किएको देखिएको छ । देशको अर्थतन्त्रमा मन्दी सिर्जना हुँदा प्रत्यक्ष मारमा परेको बीमा बजार अझै पनि माथि उठ्न नसकेको तथ्यांकले देखाएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा बीमा क्षेत्रले उत्साहजनक रुपमा व्यवसाय गर्न नसकेको विभिन्न कम्पनीको वित्तीय विवरणहरूबाट देखाउँछ । अर्थतन्त्रको प्रत्यक्ष प्रभाव बीमा क्षेत्रमा पर्दा केही बीमा कम्पनीहरूको प्रिमियम अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष जीवन बीमाको व्यापार ९.८१ र निर्जीवन बीमाको व्यापार २.३८ प्रतिशतले मात्रै बढेको छ । बीमा क्षेत्रका जानकारहरू यसलाई सन्तोषजनक रूपमा लिन नसकिने तर्क राख्छन् । उनीहरू बीमा बजारमा मन्दीको असर कायमै रहेको धारणा राख्छन् । बीमा क्षेत्रका जानकार तथा साविक लुम्बिनी जनरल इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधान बीमा बजारको वर्तमान व्यवसायमा सन्तुष्ट हुने ठाउँ नरहेको बताउँछन् । ‘बीमा क्षेत्रमा कम्तिमा पनि १५ देखि २० प्रतिशतसम्मको वृद्धिलाई सामान्य वृद्धि मान्न सकिन्छ, अहिलेको वृद्धिलाई सन्तोषजनक हो भन्न सकिँदैन, यसले बीमा बजारमा अझैं पनि मन्दी छ भन्ने बुझ्न सकिन्छ,’ उनले भने । अहिले निर्जीवन बीमा कम्पनीभन्दा जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ । प्रधानका अनुसार यसको मुख्य कारण ‘फोर्स सेलिङ’ हो । बैंकको ब्याजदर घट्नु पनि अर्को कारण रहेको उनको भनाइ छ । ‘बैंकमा मुद्दति निक्षेपको ब्याज घट्दा बैंकमा राख्ने रकमबाट मानिसहरुले बीमा गरेको हुनसक्छ, बीमा गर्दा जोखिमको हस्तान्तरण पनि हुने र बचत पनि हुने भएकाले कम ब्याजदरमा बैंकमा राख्ने रकम बीमा क्षेत्रमा आएको हुन सक्छ, त्यस कारण पनि निर्जीवनको तुलनामा जीवन बीमाको व्यापार बढी भएको हुन सक्छ,’ उनले भने । अहिले अर्थतन्त्र सुस्त गतिमा अगाडि बढ्दा बीमा क्षेत्रको त्यसको प्रत्यक्ष प्रभावमा परेको जानकारहरू बताउँछन् । बजार जुन रुपमा र जसरी चलायमान हुन्छ, बीमा बजार पनि सोही लयमा अगाडि बढ्ने गर्छ । भन्सार विभागका अनुसार गत वर्षको आयात निर्यात घटेको छ । निर्माण व्यवसायीहरू निर्माणको काम ठप्प रहेको बताइरहेका छन् । बैंकरहरू बैंकबाट कर्जा प्रवाह हुन नसकेको गुनासो गरिरहेका छन् । यी विभिन्न कारणले बीमा बजार पनि सुस्त बनेको बीमा क्षेत्रमा कार्यरतहरू बताउँछन् । बीमा क्षेत्रका जानकार रबिन्द्र घिमिरे पनि बीमा बजार सुस्त बन्नुको मुख्य कारण अर्थतन्त्रमा आएको मन्दी र निर्माण क्षेत्रको सुस्तता रहेको बताउँछन् । ‘निर्जीवन बीमा बजारको आर्थिक गतिविधिसँग प्रत्यक्ष सम्बन्ध रहन्छ, आर्थिक गतिविधि सुस्त हुँदा यस क्षेत्रको व्यवसाय पनि घट्छ, अहिले त्यही भएको हो,’ उनले भने । तर, जीवन बीमा तर्फको व्यापार भने अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध नरहने उनको भनाइ छ । वर्तमान आर्थिक मन्दीले जीवन बीमा व्यवसायलाई नछोएको उनको तर्क छ । नेपाल बीमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेलले भने बीमा क्षेत्रको यो वृद्धिलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्छन् । अर्थतन्त्रमा देखिएको आर्थिक शिथिलताका बीच कम्पनीहरुले गरेको व्यापार वृद्धि सन्तोषजनक नै रहेको उनको धारणा छ । उनले जीवन बीमा दीर्घकालका लागि गरिने भएकाले निर्जीवनकोभन्दा धेरै वृद्धि भएको बताए । निर्जीवन तर्फको यो वृद्धिलाई पनि सन्तोषजनक रुपमा लिनुपर्ने उनको भनाइ छ । उनका अनुसार विभिन्न आर्थिक क्षेत्रको वृद्धिले निर्जीवन बीमा क्षेत्रलाई प्रभाव पार्छ । पछिल्लो समय सबै क्षेत्र ‘पेनिक’ भएको अवस्थामा निर्जीवन तर्फको यो वृद्धिलाई सकारात्मक नै मान्नु पर्ने उनको तर्क छ । बीमा कम्पनीको व्यवसाय जीवन बीमा कम्पनीले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्ष ९.८१ प्रतिशत र निर्जीवन कम्पनीले २.३८ प्रतिशतले व्यवसाय वृद्धि गरेका छन् । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीले कुल १ खर्ब ५६अर्ब ३१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने अघिल्लो आर्थिक वर्षमा १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेका थिए । जीवन बीमातर्फ सबैभन्दा बढी व्यवसाय वृद्धि गर्ने कम्पनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको छ । जसले १९.४८ प्रतिशतले व्यापार बढाएर ४ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले १६.८७ र एशियन लाइफ इन्स्योरेन्सले १४.७४ प्रतिशतको व्यवसाय वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आईएमई लाइफले १३.३० प्रतिशत, हिमालयन लाइफले ११.५० प्रतिशत र रिलायवल नेपालले १०.८६ प्रतिशत र नेपाल लाइफले ९.८९ प्रतिशत व्यापार वृद्धि गरेका छन् । अन्य कम्पनीको व्यापार वृद्धि एकल अंकमा छ । यस्तै, निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा कुल ४१ अर्ब १६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने अघिल्लो आवमा ४० अर्ब २१ करोड रुपैयाँ संकलन गरेका थिए । निर्जीवन बीमातर्फ सबैभन्दा बढी व्यवसाय वृद्धि ओरियन्टल इन्स्योरेन्सको छ । ओरियन्टलले अघिल्लो वर्षको तुलनामा ४४.१६ प्रतिशतले व्यापार वृद्धि गरेर कुल २ अर्ब १६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेशनल इन्स्योरेन्सले १७.६५ प्रतिशत, सानिमा जिआईसीले १२.६५ प्रतिशत र हिमालयन एभरेष्टले ११ प्रतिशतको व्यापार वृद्धि गरेको छ । अन्य कम्पनीको व्यापार एकल अंकमा बढेको छ । निर्जीवन बीमातर्फ ३ कम्पनीको व्यापार भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सिद्धार्थ प्रिमियरको ५.६४ प्रतिशत, युनाइटेड अजोडको २०.२३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको बीमा व्यवसाय ३१.१९ प्रतिशतले घटेको छ ।  

बीमा कम्पनीहरू ठूलो रकमको पोलिसीमा केन्द्रित, सवा ४१ अर्बको व्यवसाय

काठमाडौं । आर्थिक क्षेत्र सुस्ताएको बेलामा पनि निर्जीवन बीमा कम्पनीहरूले उल्लेख्य व्यवसाय वृद्धि गरेका छन् । अन्य क्षेत्रमा मन्दी छाएको भएपनि बीमा बजारमा भने त्यसको असर नपरेको तथ्याङ्कले देखाउँछ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरूले ४१ अर्ब १७ करोड रुपैयाँ बढीको व्यवसाय गरेका हुन् । जबकी अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब २१ करोड रुपैयाँको मात्रै व्यवसाय गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष निर्जीवन बीमा व्यवसाय २.३८ प्रतिशत बढेको हो । गत वर्ष अधिकांश बीमा कम्पनीहरूको बीमालेख संख्या घटेको भएपनि व्यवसाय भनेको बढेको देखिन्छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्सबाहेक सबै बीमा कम्पनीको कुल बीमाशुल्क बढेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै ओयिन्टल इन्स्योरेन्सले ४४.१४ प्रतिशत व्यवसाय वृद्धि गरेको छ । यस कम्पनीले गत असारसम्म २ अर्ब ६१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो । यस्तै नेशनल इन्स्योरेन्सको १७.६४ प्रतिशत बढेर १ अर्ब १९ करोड रुपैयाँ, सानिमा जिआईसीको १२.६४ प्रतिशत बढेर २ अर्ब ६१ करोड रुपैयाँ, हिमालयन एभरेष्टको ११ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, आइजिआई प्रूडेन्सियलको ७.७५ प्रतिशत बढेर ३ अर्ब ६५ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ७.४८ प्रतिशत बढेर ३ अर्ब १४ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन् । यस्तै प्रभु इन्स्योरेन्सको ७.१८ प्रतिशत बढेर १ अर्ब ७७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ६.१२ प्रतिशत बढेर २ अर्ब ५५ करोड रुपैयाँ, सगरमाथा लुम्बिनीको ४.४९ प्रतिशत बढेर ४ अर्ब ७८ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको २.८९ प्रतिशत बढेर ५ अर्ब ४७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको ०.२८ प्रतिशत बढेर १ अर्ब ५९ करोड रुपैयाँको व्यवसाय गरेका हुन् । तर, गत वर्ष सिद्धार्थ प्रिमियरको ५.६४ प्रतिशत घटेर ४ अर्ब १७ करोड रुपैयाँ, युनाइटेड अजोडको २०.२३ प्रतिशत घटेर २ अर्ब ७२ करोड रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ३१ प्रतिशत घटेर १ अर्ब ५९ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । अधिकांश बीमा कम्पनीको बीमालेख संख्या घट्यो गत असारसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २८ लाख ४९ हजार ९३४ वटा बीमालेख (पोलिसी) बिक्री गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशत बढी बीमलेख बिक्री गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले २७ लाख ९२ हजार ५१३ वटा बीमालेख बिक्री गरेका थिए । समग्रमा बीमा कम्पनीहरूको बीमालेख संख्या बढेको देखिएपनि ८ वटा बीमा कम्पनीको भने घटेको छ । समीक्षा अवधिमा व्यवसाय घटेको भएपनि राष्ट्रिय बीमा कम्पनीले बीमालेख संख्या भने ह्वात्तै बढाएको छ । यस कम्पनीको २३०.३९ प्रतिशत बढेर २ लाख ३० हजार ९३८ वटा बीमालेख बिक्री गरेको हो । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५४ हजार ९३३ वटा बीमालेख जारी गरेको थियो । यस्तै नेपाल इन्स्योरेन्सको ११.५९ प्रतिशत बढेर २ लाख २ हजार ३५१ वटा, नेको इन्स्योरेन्सको ९.१२ प्रतिशत बढेर २ लाख ९७ हजार १८६ वटा, शिखर इन्स्योरेन्सको ६.४० प्रतिशत बढेर ३ लाख १७ हजार १५७ वटा, प्रभु इन्स्योरेन्सको ४.४० प्रतिशत बढेर १ लाख २३ हजार ८५१ वटा, ओरिएन्टलको २.८१ प्रतिशत ४१ हजार ३९७ वटा बीमालेख बिक्री गरेका छन् । यस्तै नेशनल इन्स्योरेन्सको ३.०८ प्रतिशत घटेर ३२ हजा ८६६ वटा, आइजिआई प्रूडेन्सियलको ३.९८ प्रतिशत घटेर २ लाख ३२ हजार ५२३ वटा, हिमालयन एभरेष्टको ४.७८ प्रतिशत घटेर २ लाख ५० हजार १२५ वटा, एनएलजी इन्स्योरेन्सको ५.२७ प्रतिशत १ लाख ९० हजार २७१ वटा बीमालेख बिक्री गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यस्तै सिद्धार्थ प्रिमियरको ११.७७ प्रतिशत घटेर २ लाख ९९ हजार ४७ वटा, सगरमाथा लुम्बिनीको १३.२२ प्रतिशत घटेर २ लाख ८६ हजार ३६७ वटा, सानिमा जिआईसीको १६.२२ प्रतिशत घटेर १ लाख ४५ हजार ७३० वटा र युनाइटेड अजोडको १७.७२ प्रतिशत घटेर २ लाख १२५ वटा बीमालेख बिक्री गरेका हुन् ।