नेपाल लाइफको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड २०२४‘ सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्षः फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सञ्चालक विमल प्रसाद ढकालले गत आवमा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको कुरा बताए । कम्पनीसँग जोडिएर बीमाको पहुँचलाई गाउँघरमा पु¥याउन अहोरात्र खट्ने बीमा अभिकर्ताहरूको जीवन स्तरमा वृद्धि भएको र अबको समय भनेको पुस्तान्तरणको रहेको कुरा समेत बताए । आफूमा भएको सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके बीमाको पहुँच अभिवृद्धि हुने कुरा बताए । अहिलेको वर्तमान अवस्थामा नयाँ जोश, नयाँ जाँगर र प्रवृधिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन् सहज हुने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ।व। को कार्यसम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरुकै अथक मेहनत र परिश्रमका कारणनै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकैनै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । कार्यक्रममा बोल्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८०/८१ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता,सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । गत वर्ष कम्पनीले कम्पनीलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको र यसले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको कुरा बताए । यसको अधिकतम प्रयोग गर्दै व्यवसायलाई थप उचाइमा पुर्याउन अहोरात्र खट्नका निम्ति सबैलाई आग्रह गरे ।

भदौमा बीमा प्राधिकरणले कार्यकारी निर्देशक पाउने, यी हुन् निर्देशक बन्ने मुख्य दाबेदार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भदौ महिनाभित्र कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । दुई महिनासम्म रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पद लोक सेवा आयोगबाट सहमति पाएपछि भदौभित्र नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । गत जेठ ११ गते कार्यकारी निर्देशक (ईडी) पदबाट राजुरमण पौडेलले अवकाश पाएपछि दुई महिनादेखि प्राधिकरण कार्यकारी निर्देशकविहीन छ । तर, त्योबेला आवश्यक प्रक्रिया नपुगेको भन्दै प्राधिकरणले कार्यकारी निर्देशक नियुक्त गर्न आनाकानी गरेको थियो । प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीका अनुसार कार्यकारी निर्देशक नियुक्त गर्न लोक सेवा आयोगको सहमतिका लागि पत्र पठाइसकिएको छ । एक/दुई दिनभित्र लोक सेवा आयोगको सहमतिपत्र पाएपछि कार्यसम्पादन फाइल खोल्ने तयारी रहेको उनको भनाइ छ । ‘कार्यकारी निर्देशक नियुक्तिका लागि लोक सेवा आयोगबाट सहमति लिनुपर्ने हुन्छ, पद रिक्तबारे लोक सेवा आयोगलाई प्राधिकरणले जानकारी गराइसकेको छ, अब एक/दुई दिनभित्र सहमतिपत्र पाएपछि प्रक्रिया अघि बढ्छ,’ उनले भने । उनका अनुसार भदौमा अन्य तहका कर्मचारी पनि भर्ना गरिने भएका छन् । प्राधिकरणले रिक्त रहेका दरबन्दीमा कर्मचारी भर्ना एकैपटक नियुक्त गर्ने तयारी गरेको उनले बताए । ११४ जना कर्मचारीको दरबन्दी रहेको बीमा प्राधिकरणमा ७/८ जना कर्मचारी भर्ना गर्नुपर्ने छ । कुन-कुन पदमा रिक्त ? बीमा प्राधिकणमा अध्यक्षपछि दोस्रो वरियतामा कार्यकारी निर्देशक पद हुन्छ भने तेस्रो वरियतामा निर्देशक हुन्छ । प्राधिकरणको कर्मचारी विनियमावली, २०६८ अनुसार हाल निर्देशक रहेका व्यक्तिहरूबाटै कार्यकारी निर्देशक छनोट गर्नुपर्ने व्यवस्था छ । बीमा प्राधिकरणमा ४ जना निर्देशक रहने व्यवस्था छ । तर, गत जेठ ३२ गते दिनेशकुमार लाल अवकाश भएर बाहिरिएपछि प्राधिकरणमा हाल ३ जना निर्देशकमात्रै कार्यरत छन् । निर्देशकहरू कमलप्रसाद रेग्मी, सुशीलदेव सुवेदी र पुजन ढुङ्गेल अधिकारीमध्ये एक जना प्राधिकरणको कार्यकारी निर्देशक बन्ने छन् । यी तीन जनामध्ये एक जना कार्यकारी निर्देशक बनेपछि निर्देशक पदमा २ जना रिक्त रहनेछन् । रिक्त रहेको निर्देशक पदमा पनि आन्तरिक प्रक्रियाबाटै बढुवा गर्नुपर्ने प्रावधान छ । उपनिर्देशकमा कार्यरत वरिष्ठ उपनिर्देशकलाई बढुवा गरेर निर्देशक नियुक्त गरिनेछ । दुई जना निर्देशक बन्ने र गत जेठमा कुशुम शर्माले अवकाश पाएपछि उपनिर्देशकमा पनि ३ जनाका लागि ठाउँ खाली हुनेछ । कमर्चारीहरू लबिङ गर्दै प्राधिकरणको कार्यकारी निर्देशक (ईडी) बन्न तीन जना निर्देशकबीच प्रतिस्पर्धा हुनेछ । कर्मचारी विनियमावलीअनुसार प्राधिकरणको कार्यकारी निर्देशक बन्न कम्तीमा पाँच वर्ष निर्देशक पदमा काम गरेको अनुभव हुनुपर्छ । महिला र समावेशीको हकमा भने चार वर्ष काम गरेको भए पुग्छ । राजुरमण पौडेलले अवकाश पाउँदा कमलप्रसाद रेग्मी र पुजन ढुङ्गेल अधिकारीमात्रै कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा थिए । यदि प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले चाहेको भए पौडेलले अवकाश पाएको दोस्रो दिन नै रेग्मी र ढुङ्गेलमध्ये एक जना कार्यकारी निर्देशक बन्ने थिए । किनभने रेग्मी निर्देशक बनेको ८ वर्ष बढी भइसकेको थियो भने ढुङ्गेल महिला कोटाबाट पनि कार्यकारी निर्देशक बन्न सक्थिन् । तर, अध्यक्ष सिलवालले नचाहेका कारण विभिन्न बहाना देखाएर कार्यकारी निर्देशक नियुक्त प्रक्रिया पछि धकेलेका हुन् । अब रेग्मी र ढुङ्गेलबीचको प्रतिस्पर्धामा सुवेदी पनि थपिएका छन् । उनी प्रतिस्पर्धाको लाइनमा मात्रै नभइ अबको सम्भावित कार्यकारी निर्देशक पनि हुन् । स्रोतका अनुसार सुवेदी कार्यकारी निर्देशक बन्ने प्रबल सम्भावना छ । ‘प्राधिकरणका अध्यक्ष सिलवाल र सुवेदीको ट्यूनिङ मिल्छ, यदि प्रक्रियाअनुसार अघि बढेको भए उतिबेलै प्राधिकरणले कार्यकारी पाउँथ्यो, तर अध्यक्षज्यूको चाहना सुवेदीजीलाई कार्यकारी निर्देशक बनाउने थियो, त्यसैले त्यतिबेला विभिन्न कारण देखाएर प्रक्रिया पछि धकेल्नुभयो,’ प्राधिकरण स्रोतले दाबी गर्‍यो । गत साउनमा सुवेदीको पाँच वर्ष निर्देशकका रूपमा कार्यानुभव पुगेको छ । निर्देशक बन्न तीन जना प्रतिस्पर्धी प्राधिकरणको कार्यकारी निर्देशकसँगै भदौमा अध्यक्ष सिलवालले निर्देशक र उपनिर्देशक नियुक्त गर्नुपर्ने छ । रिक्त रहने दुई जना निर्देशक पदका लागि तीन जना उपनिर्देशक कुन्दन सापकोटा, ध्रुव तिमिल्सिना, शम्भराज लामिछाने प्रतिस्पर्धामा छन् । यी तीन जनामध्ये दुई जना निर्देशक बन्नेछन् । निर्देशक बन्न तीनै जना अध्यक्ष सिलवालसँग लबिङ गरिरहेको प्राधिकरण स्रोतको दाबी छ । यस्तै, दुई जना निर्देशक बन्ने र गत जेठमा शर्माले अवकाश पाएपछि उपनिर्देशक पदमा तीन जना रिक्त रहनेछन् । त्यसैले अध्यक्ष सिलवालले भदौमा उपनिर्देशक पनि नियुक्त गर्नेछन् । उपनिर्देशक बढुवाका लागि पनि चार जना मुख्य प्रतिस्पर्धामा देखिएका छन् । सहायक निर्देशक प्रदीप गौतम, शम्भु मिश्र, जमुना अर्याल आचार्य र गिता आचार्यमध्ये उपनिर्देशक बन्नेछन् । प्राधिकरणको अब बस्ने सञ्चालक समिति बैठकमा कर्मचारी नियुक्तिसम्बन्धी प्रस्ताव पेस गर्ने स्रोतले बतायो ।

३५० रुपैयाँमा एशियन लाइफले पौने ३ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीबाट आफ्नो नाममा रहेको सेयरहरू बिक्री गर्नका लागि निवेदन आएपछि कम्पनीले बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम बिक्री प्रक्रिया अघि बढाएका कम्पनीले जनाएको छ । उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको थियो । तर, कुनै संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेकाले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र केन्द्रिय कार्यालय मैतीदेवी काठमाडौंमा निवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ ।