सौर्य एयरको बीमा प्रभुमा, ३० करोडसम्म दाबी आउन सक्ने, विदेशबाट आउँदै सर्भेयर
काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको सौर्य एयरलायन्सको बीमा प्रभु इन्स्योरेन्समा गरेको पाइएको छ । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्चित बज्रचार्यका अनुसार सौर्य एयरका सबै विमानको बीमा प्रभु इन्स्योरेन्समा गरिएको छ । विमान दुर्घटनाको सबै विवरण आउन बाँकी रहेकाले दाबी भुक्तानी कति आउँछ भन्ने विषय यकिन हुन बाँकी छ । तर, प्रारम्भिक अनुमानका आधारमा ३० करोड रुपैयाँसम्म बीमा दाबी भुक्तानीको फाइल आउन सक्ने सीईओ बज्राचार्यको भनाइ छ । यस बीमा पोलिसीको विदेशी कम्पनीमा पुनर्बीमा गरिएको हुँदा प्रभु इन्स्योरेन्सलाई धेरै भुक्तानी दायित्व नपर्ने उनले बताए । ‘ठ्याक्कै तथ्याङ्क अहिले नै भन्न सकिँदैन, किनभने दुर्घटनामा भएको क्षतिको सबै विवरण आउन बाँकी छ । तर, करिब ३० करोड रुपैयाँसम्म दाबी गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘यो सबै भुक्तानीको दायित्व प्रभु इन्स्योरेन्सलाई भार पर्दैन, प्रभुको भुक्तानी दायित्व ०.३ प्रतिशत मात्रै पर्न सक्छ ।’ विमानको दुर्घटनाको जानकारी पाएका र दाबी भुक्तानीका लागि कम्पनीले प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उनले बताए । सातै विमान दुर्घटनामा भएको क्षतिको विवरण संकलनका लागि विदेशबाट सर्भेयर बोलाउने उनको भनाइ छ । जहाज दुर्घटना र यात्रुहरूको बीमा कभर सोही बीमा पोलिसीमा हुने उनले बताए । ‘मृतक व्यक्तिले कति रकम पाउँछन् भनेर सबै विवरण कम्पनीले बीमा पोलिसी चेकजाँच गरिरहेको छ, कम्पनीले बीमा गरेवापत तीन/चार करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गर्छ, यसमा अन्य तीन/चार वटा विमानको पनि बीमा गरिएको हुन्छ,’ उनले भने । बुधबार सौर्य एयरको विमान दुघर्टनामा परेर १८ जनाको मृत्यु भएको छ । जहाज मर्मतका लागि पोखराको उड्दै लाग्दा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको हो । नागरिक उडड्यन प्राधिकरणले विज्ञप्ति जारी गर्दै १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको जानकारी दिएको छ ।
सम्पदा लघुवित्तद्वारा बीमा क्षतीपूर्ति बापतको रकम हस्तान्तरण
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले बीमा क्षतीपूर्ति बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको नयाँ शाखा कार्यालय नयाँसाँघु गोरखाले सिरानचोक गाउँपालिका ६ का सदस्य अशोक विश्वकर्माको मृत्यु भए पश्चात् पाउनुपर्ने बीमा क्षतीपूर्ति रकम सदस्यको श्रीमतीलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ । मृतक विश्वकर्माले कम्पनीबाट व्यवसायको लागि बिना धितो कर्जा ५ लाख रुपैयाँ लिएकोमा मृत्यु भएपछि नियम अनुसार कर्जाको साँवा र ब्याजससहित ४ लाख १० हजार रुपैयाँ मिनाहागरी ६ लाख ८४ हजार रुपैयाँ कम्पनीका अध्यक्ष कृष्ण बहादुर थापासहितका पदाधिकारीले उनको श्रीमति सिता विश्वकर्मालाई प्रदान गरेका हुन् ।
हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक दुगडको राजीनामा स्वीकृत
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको सञ्चालक समितिको २६औं बैठकले असार ३१ गतेदेखि लागु हुने गरी दुगडको राजीनामा स्वीकृत गरेकाे हो । कम्पनीको संस्थापक समूहअन्तर्गत सञ्चालक पदमा रहेका दुगडले व्यक्तिगत व्यस्तताका कारण देखाएर असार ३१ गते राजीनामा दिएका थिए ।