सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, १० हजार रुपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सीएमसीमा गत वर्ष ५ करोड बढीको निःशुल्क सेवा

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा ५ करोड ६१ लाख ८ हजार ४ सय १३ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भई आएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट पारेको हो । अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्व बहन गरी अस्पतालले गरिब, असहाय, ज्येष्ठ नागरिक र स्थानीय निकायबाट सिफारिस भई आउने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिए । उनले भने, ‘आर्थिक हैसियत कमजोर भएका, परिवारका सदस्य एवं आफन्तजन नभएका असहाय गरिब र वृद्धवृद्धाले पनि निर्वाधरूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मूल्यमान्यताअनुरुप निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो, सेवा विस्तारसहित आसपासका जिल्लामा समेत स्वास्थ्य शिविर तथा शाखा सञ्चालन गरी सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरी आमजनताको विश्वास जित्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको छ ।’ एक प्रश्नको जवाफमा अस्पतालले दिएको निःशुल्क सुविधाबाहेक गत आर्थिक वर्षमा संघीय सरकारले दिएको १ लाख रुपैयाँसम्मको छुट लिने बिरामी सङ्ख्या ९ सय ९२, निःशुल्क डाइलासिस सेवा ६ हजार २ सय ३१ र भरतपुर महानगरका महिलाहरूको निःशुल्क परीक्षण कार्यक्रमअन्तर्गत ४ हजार ३ सय ९५ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ । यसैगरी, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत गत वर्ष एक हजार ५५ गर्भवती महिलालाई निःशुल्क प्रसूति सेवासहित बाटो खर्चसमेत उपलब्ध गराएको प्रशासक देवकोटाले बताए । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार अस्पतालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ९६ जटिल प्रकृतिका शल्यक्रिया भएका छन्भने ठूलो सङ्ख्यामा मध्यम र सानातिना शल्यक्रिया भएका छन् । अस्पतालले २० भन्दा बढी अति विशिष्टीकृत सेवा दिँदै आएको छ । डा लम्सालले आर्थिक वर्ष २०८१÷८२ देखि स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए । चितवनवासीसहित बाहिर जिल्लाका बिरामीको मागलाई ध्यानमा राख्दै बीमा बोर्डसँग आग्रह गरेर पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । अस्पतालले गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार पाँच सय ५१ रहेका छन्भने १ लाख ७ हजार ३ सय ९९ जना ‘फलोअप’ बिरामी रहेका छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सिंगापुरमा पायो दुईवटा अवार्ड

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस वर्षको इन्स्योरेन्स एसिया अवार्ड्सको दुईवटा अवार्ड पाउन सफल भएको छ । इन्स्योरेन्सले सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड पाउन सफल भएको छ । यस बारेमा बोल्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर, सञ्जय अर्यालले भने, ‘यी अवार्डहरूले हामीलाई नयाँ मापदण्डहरू बनाउन र हाम्रा सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको छ । हामीलाई यहाँसम्म आइपुग्न साथ दिनुहुने समस्त सेवाग्रही तथा साझेदारहरुप्रति आभार व्यक्त गर्न चाहन्छौँ।’ यी दुवै अन्तर्राष्ट्रिय अवार्डहरूले डिजिटल सेवाहरू र एनसेल, इसेवा र खल्ती जस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रवद्र्घन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको छ । यी उपलब्धिहरूले बीमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले जनाएको छ ।