एलआईसी नेपालले बोलायो २२औं साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले २२औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १३ गतेका दिन २२औं वार्षिक साधारण बस्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन । सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९र८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखा स्थानान्तरण

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखाहरु स्थानान्तरण गरिएको छ । इन्स्योरेन्सको सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिका स्थित वडा नं. ०३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७, बिरौटा, कास्कीमा स्थानान्तरण गरिएको छ । ग्राहकहरुलाई छिटो र छरितो बीमा सेवा प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बीमा सेवालाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने उद्देश्यले उक्त शाखा कार्यालयहरु स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीबन बीमाको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले आवश्यकतानुसार थप शाखा कार्यालयहरु खोल्दै जाने र आफ्ना ग्राहकमहानुभावहरुलाई सहज सेवाको लागि भइरहेका शाखा कार्यालयहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सहज सेवा प्रदान गर्ने हेतुले भक्तपुर र पोखराको बिरौटामा शाखाहरु स्थानान्तरण गरि ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने जनाएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स १७ औं वर्षमा प्रवेश

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स मंगलबार १६ औं वर्ष पुरा गरेर १७ औं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले १६ औं वार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको छ । कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर बृद्धाआश्रमलाई निर्माण सामाग्री, बिर्तामोड स्थित नमस्ते बाल तथा बृद्धा आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र बृद्धबृद्धाहरुको लागि खाद्यान्य वितरण गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुर स्थित राम जानकी बृद्धाआश्रम, बर्दिबास स्थित भुवनेश्वरी बृद्धाआश्रम र विरगञ्ज स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी बागमती प्रदेश अन्तर्गत अपांग पुनस्थापना केन्द्र गोकर्णमा खाद्यान्य वितरण, चितवन देवघाट स्थित रामजानकी आश्रममा शैक्षिक सामाग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसिशहर स्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण, पोखरा स्थित वल्डएज होममा खाद्यान्य वितरण गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत बुटवल स्थित अपांग आश्रममा खाद्यान्य वितरण, नेपालगंज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रमका बृद्धाबृद्धालाई खाद्यान्य वितरण, कपिलबस्तु स्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेत स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेश अन्तर्गत टिकापुर स्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत विद्यालय, झलारी स्थित बिद्यालयमा र धनगढी स्थित परिवार वालगृहमा खाद्यान्य तथा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।