निर्जीवन बीमा कम्पनीका कर्मचारीले साढे ४९ करोड बोनस पाउने, कुनले कति ? (सूचीसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरुलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर्मचारीहरुलाई २१ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको बोनस दिएका थिए । सञ्चालनमा रहेका १४ वटा कम्पनीले सो मात्राको रकम बोनस बापत कर्मचारीहरुलाई वितरण गर्नको लागि छुट्टयाएका छन् । जुन कम्पनीहरूको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कर्मचारीहरूलाइ वितरण गरिने छ। जसमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा बढी रकम छुट्टयाएको छ । इन्स्योरेन्सले कर्मचारीलाई ९ करोड ९ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेको लागि प्रोभिजन गरेको छ ।  जुन अघिल्लो वर्षको तुलनामा ६.५९ प्रतिशतले बढी हो । त्यस्तै, सबैभन्दा बढी बोनस छुट्टयाउनेको दोश्रो सूचीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले आफ्ना कर्मचारीलाई ७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्न रकम छुट्टयाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६०.१२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको बोनस वितरण गरेको थियो । अघिल्लो आवमा ५ करोड ९६ लाख रुपैयाँ बोनस वितरण गरेको सगरमाथा इन्स्योरेन्सले गत वर्षमा भने आफ्ना कर्मचारीलाई ७ करोड २७ लाख ७५ हजार रुपैयाँ वितरण गर्ने भएको छ । जुन ५३.३४ प्रतिशतले बढी हो । कुनले कति छुट्टाए ? कर्मचारीहरूलाई ७ करोडभन्दा कम र ६ करोडभन्दा बढी बोनस छुट्टाउनेको सूचीमा शिखर इन्स्योरेन्ससहित ४ कम्पनी रहेका छन् । जसमा नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, ओरियण्टल र शिखर इन्स्योरेन्स रहेका छन् । यीमध्ये नेपाल इन्स्योरेन्सले ६ करोड ६३ लाख, हिमालयन एभरेष्टले ६ करोड ३६ लाख, ओरियण्टल इन्स्योरेन्सले ६ करोड ३५ लाख र शिखर इन्स्योरेन्सले ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई छुट्टाएका छन् । १४ कम्पनीमध्ये सबैभन्दा बढी बोनसदर बढाउने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा १८७.५५ प्रतिशतले बोनस बढाएको छ । सिद्धार्थ प्रिमियरले ५ करोड ८२ लाख, एनएलजी इन्स्योरेन्सले ४ करोड २७ लाख, आईजीआई प्रुडेन्सियलले ४ करोड १४ लाख र सानिमा जीआईसीले ४ करोड रुपैयाँ बराबरको बोनस आफ्ना कर्मचारीलाई छुट्याएका छन् । हिमालयन एभरेष्टपछि सानिमा जीआईसीले कर्मचारीलाई वितरण गर्ने बोनस ९३.०७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले ३ करोड ४५ लाख, युनाइटेड अजोडले ३ करोड ६ लाख र नेशनल इन्स्योरेन्सले २ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई वितरण गरेको छ । यो बोनस सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सम्बन्धित कम्पनीका कर्मचारीले पाउने छन् ।

आइएमई लाइफको सम्पूर्ण कारोबार दुई दिन बन्द हुँदै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने भएको छ । इन्स्योरेन्सको सेवा तथा कारोबार भदौ १ गते शुक्रबार र २ गते शनिबार बन्द हुने भएको हो । इन्स्योरेन्सले सिस्टम अपग्रेड गर्नको लागि शुक्रबार दिनको १२ बजेदेखि शनिबारसम्म सबै कारोबारहरु अवरुद्ध गर्न लागेको हो । बिहीबार एक सूचना मार्फत इन्स्योरेन्सले सो जानकारी गराएको हो ।

नाफामा आक्रामक देखियो राष्ट्रिय बीमा कम्पनी, एक वर्षमै कमायो ६३ प्रतिशत बढी नाफा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६३.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको व्यवसाय भने घटेर २ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ६४ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले गत आवमा १७ करोड ६२ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड २९ लाख रुपैयाँ बराबरको कूल दावी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष बढेर ३ अर्ब ७७ करोड र बीमा कोष बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८९.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५१४.४७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५५.५६ गुणा रहेको छ ।