आईएमई लाइफ कोशी प्रदेशद्वारा धरानमा एक हजार वृक्षारोपण
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा १ हजार विरुवा प्रदान गरेको छ । आईएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले सनिबार मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागिता जनाउँदै विरुवा प्रदान गरेका हुन् । उनीहरुले मेयर साम्पाङको उक्त अभियानमा सहयोग पुगोस भन्ने हेतुले विरुवा प्रदान गरेको बताए । हिजो आईएमई लाइफको कोशी प्रदेशका २ सयभन्दा बढीले उक्त अभियानमा श्रम दान गरेका हुन् । उक्त अभियानमा कम्पनीका प्रदेश प्रमुखको पनि सहभागिता रहेको थियो । देशमा हुने विकासको गतिविधीहरुमा आइएमई लाइफले सहयोग गर्दै सहभागिता जनाउँदै आइरहेको छ र आगामी दिनमा पनि यस्तो विभिन्न क्रियाकलापहरुमा सहभागिता हुने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
सिटिजन लाइफको आईपीओ २५७ रुपैयाँमा खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले असार ३१ गतेदेखि प्रिमियम मूल्यमा बिक्री खुला गरेकोमा आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १४ गते आवेदन दिने अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।
बीमा प्राधिकरणमा निर्देशकहरुको सरुवा, कुन विभागमा को ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरुको सरुवा भएको छ । प्राधिकरणको उच्च व्यवस्थापनले बुधबार अर्थात साउन १० गतेदेखि लागू हुने गरी चार जना निर्देशकहरुको सरुवा तथा विभाग हेरफेर गरेको हो । यसअघि व्यवस्थापन सूचना प्रणाली र इजाजतपत्र विभागको प्रमुखमा रहेका कमल प्रसाद रेग्मीको सरुवा भएको छ । सरुवा भएर निर्देशक रेग्मीले कानुन तथा नियमन महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघि उक्त महाशाखाको प्रमुखमा निर्देशक दिनेश कुमार लाल थिए । उनी हाल व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारीमा सरुवा भएका छन् । त्यसैगरी, यसअघि व्यवस्थापन महाशाखाको जिम्मेवारी निर्देशक पुजन ढुंगेल अधिकारीले सम्हाल्दै आएकी थिइन् । अब भने उनले बीमा विकास तथा प्रवर्द्धन महाशाखासँगै थप कृषि र लघुबीमा पनि हेर्ने भएकी छिन् । त्यस्तै, प्राधिकरणको सुपरीवेक्षण महाशाखामा निर्देशक शुशिलदेव सुवेदी रहेका छन् । यसअघि कृषि र लघुबीमाको पनि महाशाखा प्रमुख रहेका उनले अब सुपरीवेक्षण र रि इन्स्योरेन्स तथा रिसर्च विभाग सम्हाल्ने छन् ।