प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्दै नेप्सेले सोध्यो तीन दिने स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले इन्स्योरेन्ससँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । इन्स्योरेन्सको साउन ३ गते बसेको बैठकले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । जसको जानकारी नेप्सेलाई साउन ४ गते मात्रै उपलब्ध गराएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर प्रभु इन्स्योरेन्सले त्यसको विपरित काम गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो । साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ । यससँगै इन्स्योरेन्सले साउन ९ गते मंगलबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ ।

धमाधम अभिकर्ता मिलन समारोह गर्दै प्रभु महालक्ष्मी, थप चार सहरमा सम्पन्न

काठमाडौं । असार २९ गते एकीकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका विभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले साउन ३ गते एकैदिन नेपालगञ्ज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा उक्त कार्यक्रम गरेको हो । मर्जर पछि व्यवसायको मूख्य अंग भएका अभिकर्ता फोर्सलाई एकिकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरी अभिकर्ताहरुलाई खटाइएको इन्स्योरेन्सले जनाएको छ । साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरुसँग छलफल तथा अन्तरक्रिया समेत भएको छ । प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगंजमा किशोरा प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा, बर्दिवासमा प्रयास श्रेष्ठ र सिताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिए । उक्त सबै कार्यक्रममा १०० देखि २०० अभिकर्ताको सहभागिता थियो । कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा साउन ४ गते पोखरा र इटहरीमा तथा साउन ७ गते शनिबार काठमाडौंमा अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम गर्दै छ ।

६५ प्रतिशत हकप्रद जारी गर्ने प्रभु इन्स्योरेन्सको प्रस्ताव

काठमाडौं । प्रभु इन्स्योरेन्सले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव साउन ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गरेको हो । इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पुँजी बढाउन हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । जुन बीमा प्राधिकरणले स्वीकृति दिएपछि मात्रै कम्पनीले सो मात्राको सेयर जारी गर्न पाउने छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । जसको समय सीमा पनि गत असार मसान्तसम्म तोकिदिएको थियो । तर यो अवधिमा प्रभु इन्स्योरेन्सले चुक्ता पुँजी पुर्याउन सकेको छैन । कम्पनीले अनेकौं प्रयास गर्दा पनि तोकिएको सीमाभित्रमा पुँजी बढाउन नसकेको जनाउँदै अन्तत हकप्रदको विकल्प रोजेको बताएको छ । यसअघि कम्पनीले अजोड इन्स्योरेन्ससँग मर्ज हुने प्रकृया अघि बढाएको थियो जुन अन्तिम चरणमा पुगेपछि भंग भयो । त्यसपछि कम्पनीले मर्जरमा जानको लागि नै अन्य कम्पनीहरुसँग विशेष पहल गरिरहेको र हालसम्म कुनै कम्पनीसँग पनि प्रकृया अघि नबढेको इन्स्योरेन्सले जानकारी गराएको छ । मर्जरसँगै कम्पनीले विदेशी कम्पनीहरुसँग समन्वय गरी वैदेशिक रणनीतिक साझेदार ल्याउने प्रयास गरिरहेको छ । तर यो प्रयासमा पनि अन्तिम निर्णय नभईसकेकोले कम्पनीले हकप्रदमार्फत सेयर जारी गर्ने निर्णय गरेको हो । जसको स्वीकृतिको लागि कम्पनीले बीमा प्राधिकरणमा निवेदन पेश गरिसकेको छ । इन्स्योरेन्सले प्राधिकरणसँग हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत अर्थात ९९ करोड २७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति मागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ । प्रस्तावित ६५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३६ करोड ८८ लाख पुग्ने छ । जुन प्राधिकरणले तोकेको पुँजी भन्दा १३ करोड १२ लाख रुपैयाँ कम हो । उक्त अपुग पुँजी भने बोनस सेयर मार्फत पुर्याउने इन्स्योरेन्सको योजना छ । पाउँला त प्राधिकरणको स्वीकृति ? बीमा प्राधिकरणले भने कम्पनीहरुलाई बोनस र हकप्रदबाट मात्रै पुँजी वृद्धि गर्न नदिने निर्णय गरेको थियो । तर पछिल्लो समय भने प्राधिकरण यसमा लचिलो बनेको देखिन्छ । प्राधिकरणले अनौपचारिक रुपमा पुँजी पुर्याउन प्रयास गर्दा गर्दै पनि पुर्याउन नसक्ने कम्पनीलाई भने बोनस र हकप्रद सेयर निष्काशन गर्न दिने बताउँदै आएको छ । यस हिसावमा भने पुँजी वृद्धिको लागि अनेकौं प्रयास गरेको प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न पाउने चान्स बढी देखिन्छ । तर प्राधिकरणले हकप्रद जारी गर्न दिँदा पनि ३० देखि ४० प्रतिशतसम्म मात्रै जारी गर्न दिने त्योभन्दा बढी नदिने बताउँदै आएको छ । यदि प्राधिकरणले यसलाई नै औपचारिक रुपमा लागू गर्यो भने प्रभुले प्रस्ताव गरेबमोजिमको हकप्रद सेयर जारी गर्न नपाउने देखिन्छ । यद्पि, तोकिएको समयमा पुजी नपुर्याउने कम्पनीलाई के गर्ने भन्ने विषयमा प्राधिकरण आफै अन्योलमा रहेकोले प्रभु इन्स्योरेन्सले हकप्रदको लागि स्वीकृति पाउँछ की पाउँदैन भन्ने विषय पनि अन्योलमा देखिन्छ ।