प्राइम, युनियन र गुराँसबीच हालसम्मकै सबैभन्दा ठूलो मर्जर
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राइम, युनियन र गुराँसबीचका मर्जर बीमा ईतिहासको सबैभन्दा ठूलो मर्जर भएको बताएका छन् । मंगलबार काठमाडौंमा तीन कम्पनीबीचको एकिकृत कारोबार सुरुवातको कार्यक्रममा उनले यस्तो बताएका हुन् । हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गरेका यी तीन कम्पनीले मर्जर भएपछिको उत्तर खोज्न तिर लाग्नुपर्ने उनले बताए ।’बजार, दक्ष कर्मचारी, अनुभवी संचालक भएको हुँदा सिनर्जी ल्याउन जोड दिनुपर्छ,’ उनले भने । बीमा कम्पनीको सफलता नै प्राधिकरणको सफलता भएको बताउँदै उनले भने,’यदि भोलिका दिनमा मर्जरले सिनर्जी दियो भने प्राधिकरणको पनि सफलता हुनेछ ।’ प्राधिकरणले पुँजी वृद्धि गर्न भनेको तर कम्पनीहरूले मर्जरको बाटो रोजेको उनले बताए । उनले प्राधिकरणको निर्देशन अनुसार सहि ठाउँमा लगानी गर्न, नयाँ आधुनिक पोलिसी ल्याउन सुझाव दिएका छन् । यस्तै, सिलवालले सरकारले बैकिङ क्षेत्रलाई जस्तै बीमा क्षेत्रलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । ‘गत कात्तिकमा परेको बर्साले धान बालिमा ठूलो क्षति गर्यो तर बीमा नहुँदा सरकारले १० अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्नसकेको छैन, यदि बीमा गरेको भए सरकारको दायित्व बीमा कम्पनीले व्यहोर्ने थिए,’ उनले भने । मर्जरबाट भनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफको जगेडा कोषमा ९० करोड रुपैयाँ छ । जीवन बीमा कोषमा ५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँ पुगेको छ । सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । मर्जरपछि कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क संकलन ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यी तीन कम्पनीले ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन् । हालसम्मको दाबी भुक्तानी रकम १५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । साबिक तीन बीमा कम्पनीहरुले ५ लाख १२ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरेका छन् । हिमालयन लाइफको अभिकर्ता सञ्जाल पनि सबैभन्दा ठूलो हुन पुगेको छ ।
प्रभु लाइफले गर्यो ११ प्रतिशत लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
गुराँस, प्राइम र यूनियन मर्जपछि हिमालयन लाइफ सञ्चालनमा, यस्तो बन्यो नयाँ नेतृत्व
काठमाडौं । आजदेखि गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । आजदेखि यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ हुनेछ । गुराँस लाइफको हाल चुक्ता पूँजी दुई अर्ब ५३ करोड ६५ लाख ६३ हजार रुपैयाँ, यूनियन लाइफको दुई अर्ब ३४ करोड २८ लाख र प्राइम लाइफको ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् । उनी यूनियन लाइफका अध्यक्ष थिए । संयुक्त मर्जर कमिटीले तीन वटै कम्पनीबाट दुई दुई जना सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालक समिति गठन भएको हो । युनियन लाइफको तर्फबाट अध्यक्ष सुलभसहित जीवन कुमार अग्रवाल नियुक्त भएका छन् । त्यस्तै प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी थापा नियुक्त भएका छन् । गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । स्वतन्त्र सञ्चालक भने नियुक्त गर्न बाँकी छ । हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कणर्ले निरन्तरता पाएका छन् । उनी यूनियनमा प्रमुख कार्यकारी अधिकृत थिए । नायव प्रमुख कार्यकारी अधिकृत भने दुई जना रहने भएका छन् । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कणर् र युनियन लाइफका कपिल कुमार दाहालले हिमालयनमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले भने राजीनामा दिएको स्रोतले बतायो । बैशाख १३ गते बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् । एकिकृत कारोबार सुरु गर्नको वैशाख २३, २४ र २५ गतेसम्म ३ वटै कम्पनीको सेयर कारोबार र बीमा सेवाहरु बन्द रहेको थियो ।