आइएमई जनरल इन्स्योरेन्सको सेवा बन्द हुने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको सेवा बन्द हुने भएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले सेवा बन्द हुने भएको हो । दुवै कम्पनीबची मर्जर प्रक्रिया सम्पन्न भई बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने छन् । एकीकृत कारोवार गर्ने प्रयोजनार्थ दुबै संस्थाको तथ्यांक एकीकरण गर्नुपर्ने भएकाले कम्पनीको विधुतीय माध्यमबाट प्रदान गरिने सेवा बैशाख २६ गते २ बजेदेखि बन्द रहने छ । साथै, बैशाख २७ गते विहान कार्यालय समयदेखि पुनः सेवा सुचारु हुने कम्पनीले जनाएको छ । यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गर्ने भएका हुन् । मर्जरपछि कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।
प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स’ सेल्स कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शनिबार कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको सहभागीता रहेको थियो । यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए । ‘हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाई हामीलाई खोज्दै आउने छ । त्यसैले आफ्नो कामलाई माया गरौ र निरन्तरता दिऔं,’ उनले भने । यस्तै, प्रभु लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तब्यका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बी।पी। रेग्मीले व्यवहारीक तरिकाले व्यवसायीक वृद्धिका सुत्रहरु बारेमा जानकारी दिएका थिए । कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच पाँच जना उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान पनि गरिएको थियो ।
बन्द भयो प्राइम, गुराँस र युनियनको सेयर कारोबार
काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार बन्द भएको छ । वैशाख २६ गतेदेखि हुन लागेको एकीकृत कारोबारको लागि तीन कम्पनीको सेयर कारोबार बन्द भएको हो । २३ गतेदेखि बन्द रहेको कम्पनीको सेयर कारोबार २५ गतेसम्म बन्द रहनेछ । तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट वैशाख २६ गते मंगलबारबाट एकीकृत कारोबार गर्दछन् ।