पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउँदै प्रभु, नेपाल इन्स्योरेन्सलाई घरजग्गा बेच्न स्वीकृति दिइँदै
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रभु इन्स्योरेन्सले पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउने भएको छ । कम्पनी सम्बद्ध श्रोतका अनुसार कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिएको डेढ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल अघि बढाएको हो । ‘विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल भइरहेको छ,’ कम्पनी उच्च श्रोतले विकासन्युजसँग भन्यो । उक्त श्रोतका अनुसार कम्पनीले सो विषयमा हाल छलफल मात्रै गरेको हो, तर निर्णय भने गरिसकेको छैन । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि प्रभु इन्स्योरेन्सले हाल दुई वटा विकल्प अघि सारेको छ । ‘यसमा कम्पनीले दुईवटा अप्सनलाई अघि बढाएको छ, एउटा विदेशी पार्टनर भित्र्याउने, अर्को मर्जरमा जाने,’ श्रोतले भन्यो- ‘योमध्ये एउटा विकल्प रोजेर छिट्टै पुँजी वृद्धिको प्रकृया अघि बढाउने तयारीमा छौं ।’ हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ छ । पुँजी वृद्धिको लागि विदेशी पार्टनर भित्र्याउने विषयमा हाल छलफल मात्रै रहेकोले के कति पुँजी थपिन्छ भन्ने बारे पनि कुनै टुंगो लागेको छैन । यता बीमा प्राधिकरणको जानकारीमा पनि प्रभु इन्स्योरेन्सले विदेशी पार्टनर ल्याउनको लागि छलफल गरिरहेको भन्ने छ । जसमा प्राधिकरण पनि सकारात्मक देखिएको छ । ‘कम्पनीले पुँजी थप्नको लागि पैसा हाल्न पायो, तर हकप्रद सेयर जारी गर्न पाएन,’ प्राधिकरण उच्च श्रोतले विकासन्युजसँग भन्यो । त्यस्तै, नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले पुँजी थप्नको लागि घरजग्गा बेच्ने भएको छ । कम्पनीले काठमाडौंको न्यूरोडको भवन, नारायणगढ, वीरगञ्ज र विराटनगरको जग्गा बेच्न नेपाल बीमा प्राधिकरणसँग स्वीकृति मागेको हो । इन्स्योरेन्सले करिब एक महिनाअघि नै प्राधिकरणसँग उक्त स्वीकृति मागेको हो । जसको लागि हालसम्म कुनै प्रतिकृया नदिएको प्राधिकरण अब भने छिट्टै स्वीकृति दिने मुडमा छ । ‘सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने इन्स्योरेन्सको प्रस्तावलाई छिट्टै स्वीकृति दिँदैछौं,’ प्राधिकरणको उच्च श्रोतले भन्यो । हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ । निर्जीवन बीमा व्यवसाय गर्दै आएका यी दुई कम्पनी प्रभु र नेपाल इन्स्योरेन्स हाल नेपाल बीमा प्राधिकरणको विशेष निगरानीमा छ । मर्जरमा जान्छु भनेर सहमति गरेर पनि नगएका यी दुई कम्पनीलाई प्राधिकरणले पुँजी पुर्याउन थप तीन महिनाको समय दिएको छ । यससँगै कम्पनीहरुले आगामी असार मसान्तसम्ममा तोकिएको पुँजी पुर्याइ सक्नु पर्ने छ । यदि सो अवधिसम्ममा पुँजी नपुर्याएमा प्राधिकरणले कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ । ‘पुँजी नपुर्याउनेलाई केही समय थप गरेर पुँजी पुर्याउनको लागि अवसर दिन्छौं, त्यसमा पनि पुर्याएनन् भने की त फोर्स मर्जर गराउँछौं, कि त कारोबार घट्ने गरी कारवाही गर्छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने । यस्तै पुँजी वृद्धिको प्रकृया अघि बढाएर पनि तोकेको पुँजी नपुर्याएका कम्पनीहरुले भने हकप्रद सेयर जारी गर्न पाउने भएका छन् । सम्बन्धित समाचार पुँजी वृद्धिको लागि समय थप्दै बीमा प्राधिकरण, अधिकांशले हकप्रद सेयर जारी गर्न पाउने पुँजी वृद्धिको समय थप्न बीमा कम्पनीहरुको माग, कारवाहीको तयारीमा प्राधिकरण
नेप्सेमा एशियन लाइफको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कम्पनीको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५६९.५९ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ६१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
नेपाल लाइफको बीमा शुल्क इसेवाबाट तिर्दा ५ प्रतिशत क्यासब्याक
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बैशाख महिनाभरि बीमा शुल्कको नविकरण ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पेसँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्दछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । ‘आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित छ,’ उनले भने । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षमा दरमियानमा विभिन्न आरोह अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।