बिजनेसमा शिखरलाई पछ्याउँदै सलिको र सिद्धार्थ प्रिमियर, नेको र हिमालयन एभरेष्टबीच टक्कर
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीमध्ये शिखर इन्स्योरेन्सको अग्रता कायमै रहेको छ । पछिल्लो समय कम्पनीहरु धमाधम मर्ज हुँदा पनि मर्जरमा नगएको शिखर इन्स्योरेन्सको बीमाशुल्क सबैभन्दा बढी छ । नेपाल बीमा प्राधिकरणका अनुसार शिखरले गत फागुनसम्ममा ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा १२.२३ प्रतिशतले बढी हो । माघमा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । शिखरलाई मर्जरमा गई बनेको नयाँ कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी अर्थात ‘सलिको’ले पछ्याएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन गत माघको तुलनामा १०.४८ प्रतिशतले बढी हो । त्यस्तै, मर्जरपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा व्यवसाय पनि सोही प्रतिशत अर्थात १०.६७ प्रतिशतले बढेको छ । कम्पनीले फागुनसम्ममा २ अर्ब ९८ करोड बराबरको प्रिमियम उठाएको छ । त्यसैगरी, बढी प्रिमियम संकलन गर्नेको चौथो स्थानमा नेको इन्स्योरेन्स छ । इन्स्योरेन्सले गत माघको तुलनामा १२.६८ प्रतिशतले बिजनेस बढाई १ अर्ब ९७ करोड रुपैयाँ पुर्याएको छ । सबैभन्दा पहिला मर्ज भई एकीकृत कारोबार गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स बीमाशुल्कको आधारमा पाँचौ स्थानमा छ । समीक्षा अवधिमा इन्स्योरेन्सले १ अर्ब ९१ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । त्यस्तै, अन्य ७ कम्पनीले एक अर्ब माथिको प्रिमियम संकलन गरेका छन् । गत माघमा करोडको क्लबमा रहेको नेपाल र प्रभु इन्स्योरेन्स फागुनमा अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । एक महिनामा यी कम्पनीले क्रमशः १२.८१ प्रतिशत र १०.८५ प्रतिशतले प्रिमियम बढाएका छन् । प्रतिशतको आधारमा हेर्दा बिजनेश व्यवसाय बढाउनेमा सानिमा जिआईसी आक्रमक देखिएको छ । कम्पनीले पछिल्लो एक महिनामा सबैभन्दा बढी प्रतिशत अर्थात १८.१६ प्रतिशतले आफ्नो व्यवसाय बढाएको छ । समीक्षा अवधिमा कम्पनीले एक अर्ब ४१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यता करोडको क्लबमा बाँकी ४ कम्पनी रहेका छन् । जसमा दि ओरिएन्टल, प्रुडेन्सियल, युनाइटेड र नेशनल इन्स्योरेन्स रहेका छन् । समग्रमा निर्जीवन बीमा व्यवसाय एक महिनामा १२.१७ प्रतिशतले बढेको छ । गत माघमा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीले फागुनसम्ममा २५ अर्ब ८७ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । एक महिनामा कसको कति बढ्यो ?
सानिमा रिलायन्सले एउटै सफ्टवेयरबाट शुरु गर्यो एकीकृत कारोबार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एउटै सफ्टवेयरबाट एकीकृत कारोबार शुरु गरेको छ । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई बनेपछि कम्पनीले एउटै सफ्टवेयरबाट कारोबार शुरु गरेको हो । कम्पनी ऐन, २०६३ अनुसार कम्पनीले एउटै सफ्टवेयर ‘सफ्टवेयर आई सोलुसन लाइफ’ प्रयोग गरेको हो । ‘गाभ्ने गाभिने दुबै कम्पनीको तथ्यांकलाई गाभिएको दिनदेखि नै एउटै सफ्टवेयरबाट कारोबार शुरु गर्नुपर्ने,’ निर्देशनमा भनिएको छ ।
जीवनले ५ लाख र निर्जीवनले ५० लाखसम्मको लघु बीमा गर्न पाउने, दावी भुक्तानी २१ दिनभित्रै
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘लघुबीमा निर्देशन, २०७९’ सार्वजनिक गरेको छ । चैत १३ गते स्वीकृत भएको उक्त निर्देशिका तत्काल लागू हुने भएको हो । प्राधिकरणले न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नको लागि सो निर्देशिका लागू गरेको हो । निर्देशिकाअनुसार लघु जीवन बीमा व्यवसाय गर्ने कम्पनीले लघु जीवन बीमा र लघु निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले लघु निर्जीवन बीमा व्यवसाय गर्न पाउने छन् ।कम्पनीले नेपालका गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायलाई लक्षित गरी लघु बीमा व्यवसाय गर्नु पर्ने छ । जुन समुदायको अर्थ प्रचलित कानून वा सम्बन्धित निकायले गरेको व्याख्या अनुसार हुने उल्लेख छ । उक्त निर्देशिकाअनुसार लघु जीवन र निर्जीवनले विभिन्न प्रकारका बीमा व्यवसाय गर्न पाउने छन् । जसमध्ये लघु जीवन बीमा व्यवसाय अन्तर्गत कम्पनीले ४ प्रकारको अर्थात आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा व्यवसाय गर्न पाउने छन् । त्यस्तै, लघु निर्जीवन बीमा गर्ने कम्पनीले विभिन्न ५ प्रकारका बीमा व्यवसाय गराउन पाउने छन् । जसमा घर, सम्पत्ति तथा व्यवसाय लघु बीमा, मोटर लघुबीमा, इन्जिनियरिङ्ग लघु बीमा, दायित्व तथा मौद्रिक क्षति लघु बीमा र अन्य लघु निर्जीवन बीमा रहेका छन् । बीमित र कम्पनीबीच द्धिपक्षीय करार भएपछि मात्रै बीमा गरेको मानिने छ । निर्देशिका अनुसार जीवन र निर्जीवन लघु बीमालेखको अवधि छुट्टाछुट्टै छ । जीवन बीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको र निर्जीवन लघु बीमालेखको हकमा एक वर्ष सा सोभन्दा कम अवधिको लागि मात्र जारी गर्न सकिने छ । साथै, उक्त बीमालेख जारी गर्दा जारी भएको समय र जोखिम शुरु भएको मिति र समय समेत कम्पनीहरुले खुलाउनु पर्ने छ । पोलिसी किन्नु अघि नै शतप्रतिशत प्रिमियम जीवन तथा निर्जीवन दुबै लघु बीमा गर्ने बीमितले बीमालेख लिनुअघि नै सबै बीमाशुल्क बुझाउनु पर्ने हुन्छ । सम्पूर्ण बीमाशुल्क नबुझाएको हकमा भने बीमा पोलिसी नपाइने निर्देशिकामा उल्लेख छ । तर नेपाल सरकार वा प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले बीमालेखमा अनुदान उपलब्ध गराएको खण्डमा भने सो बराबरको रकम घटाई बाँकी बीमाशुल्क रकम लिई बीमा गर्न पाइने छ । त्यस्तै, एकपटक बीमापोलिसी जारी गरिसकेपछि कम्पनीले बीमा अवधिभर बीमादर बढाउन वा घटाउन पाउने छैन । निर्देशिका अनुसार लघु बीमालेखको बीमाशुल्कमा कुनै पनि प्रकारको डिस्काउन्ट, सहुलियत वा प्रिमियम कटौति गर्न पाइने छैन । तर अभिकर्ता बिनानै प्रत्यक्ष बीमा गर्ने बीमितलाई भने ५ प्रतिशतका दरले हुन आउने रकम छुट हुने छ । कुन लघुबीमाको सीमा कति ? बीमा प्राधिकरणले विभिन्न प्रकारको लघु निर्जीवन बीमा गर्न चाहनेलाई सीमा छुट्टाएको छ । जसअनुसार घर, सम्पत्ति तथा व्यवसाय र इन्जिनियरिङ्ग लघुबीमा गर्नेले अधिकतम ५०/५० लाख रुपैयाँको बीमा गर्नुपर्ने छ । मोटर लघुबीमा अन्तर्गत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा र ठेलागाडाको मात्रै बीमा हुने छ । त्यस्तै, दायित्व तथा मौद्रिक क्षति र अन्य लघुबीमाको अधिकतम दायित्वको सीमा ५/५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँभन्दा कम बीमाङ्क भएको जीवन लघुबीमा गर्न सक्नेछ । सहूलियतपूर्ण कर्जा पनि पाइने कम्पनीहरुले जारी गर्ने बीमालेखहरुमा सहुलियतपूर्ण कर्जा पनि पाइने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयद्धारा जारी भएको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार बिक्री गरिएका सबै बीमालेखहरु लघु बीमालेख हुनेछ । त्यस्तै, लघुवित्तहरुलाई जारी गरिएको निर्देशन बमोजिम ऋण लिई सोही प्रयोजनको लागि लघु बीमा गर्दा प्रतिऋणीले अधिकतम सीमाभन्दा कमको लघुबीमाको बीमांक कायम गनुपर्छ । कम्पनीहरुले लघुबीमा गर्दा विभिन्न संगठित संस्थाहरुसँगको सहकार्यमा बीमा जारी गर्न पाउने छन् । जस्तै, टेलिकम, इन्टरनेट सेवा प्रदायक,भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेष्टुरेन्ट लगायतका क्षेत्रमा हुने छ । २१ दिनभित्रै दावी भुक्तानी कम्पनीले बीमितले दिएको दावीको तत्काल छानबिन गरी तत्काल भुक्तानीको प्रकृया अघि बढाउनु पर्छ । बीमितले आवश्यक कागजात बुझाएको २१ दिनभित्र कम्पनीले दायित्व एकिन गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । यदि दावी भुक्तानी गर्न नपरेमा स्पष्ट आधार र कारण भने खुलाउनु पर्ने हुन्छ । त्यस्तै, दावी भुक्तानी प्रकृयाको लागि बीमितिले विभिन्न प्रकारका आवश्यक कागजातहरु बुझाउनु पर्छ । जसमा पूर्ण रुपले भरिएको बीमा दावी फारम, पूर्ण दावीको हकमा बीमालेखको सक्कल प्रति तथा अंशिक दावीको हकमा बीमालेखको छायाँ प्रति, बीमा गरिएको सम्पत्ति क्षति भएको प्रमाण, अपराधिक घटना घटेको भए प्रहरी प्रतिवेदन, सर्भे प्रतिवेदन, सामूहिक जमानी गरिएको कागजात र जीवन बीमाको हकमा नाता प्रमाणित पत्र तथा मृत्यु प्रमाणपत्र रहेका छन् ।