विशेष साधारण सभाबाट पारित भयो आइएमई जनरल र प्रुडेन्सियलको मर्जर प्रस्ताव
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीचको मर्जर आज विशेष साधारण सभाबाट पारित भएको छ । बुधबार दुवै कम्पनीको विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको हो । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । मर्जरपछि नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ भएको छ ।
सबैभन्दा ठूलो बन्यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, पुँजी ३ अर्ब नाघ्यो, व्यवसाय ४ अर्ब नजिक
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी बनेका छन् । दुई कम्पनी एक आपसमा मर्ज भई भनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो भएको हो । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । दुई कम्पनी एक आपसमा मर्ज हुने सम्बन्धी सम्झौताले अन्तिम रुप पाएको छ । चैत २२ गते काठमाडौंमा सम्पन्न आईएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सभाले यसअघि दुई कम्पनीबीच भएको मर्जसम्बन्धी अन्तिम सम्झौतालाई पारित गरेको हो । यससँगै अब केही दिनमै कम्पनीले औपचारिक रुपमा एकीकृत कारोबार गर्ने छन् । सभामा आईएमई जनरलका अध्यक्ष हेमराज ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी दुई कम्पनी मर्ज भएको बताए । कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले रहेको उनले बताए । साथै, उनले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप गाभिएपछि बनेको कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गर्ने र सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने अध्यक्ष ढकालले बताए । त्यस्तै, नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ हुने छ । साथै, नियमन निकाय बीमा प्राधिकरणले शुरु गर्न लागेको जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने समेत सभाले जानकारी गराएको छ । संस्था गाभिए पछि पुँजी आधार सुदृढ हुनेछ, कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जीवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुने बताइएको छ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुने कम्पनीको विश्वास छ । जसले संस्थाको वित्तीय जग बलियो भई सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पुँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गरिने कम्पनीको लक्ष्य छ । त्यस्तै, निकट भविष्यमा नेपालमा रहेको निर्जीवन बीमा कम्पनीहरुमध्ये आईजीआई प्रुडेन्सियल उत्कृष्ट कम्पनी हुने गरी स्थापित हुने समेत सभाले जानकारी गराएको छ ।
कम्पनीले किसानको घरगोठ तथा खेतबारीमै पुगेर बीमा गर्नुपर्ने, दाबी भुक्तानी समयमै नदिए बजारमा नटिक्ने
काठमाडौं । बीमा कम्पनीहरुले कृषकको घरगोठ तथा खेतबारीमै पुगेर बीमा गर्न आवश्यक रहेको बताइएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले बीमा कम्पनीहरूले कृषकका आवश्यकता अनुसारका बीमालेखहरू ल्याउनुपर्ने र कृषकका घरगोठ तथा खेतबारीमा पुगेर बीमा गराउनुपर्ने आवश्यकता औंल्याएका हुन् । नेपाल बीमा प्राधिकरणबाट मधेश प्रदेशको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा चैत २१ गते आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् । प्रमुख पौडेलले स्थानीय तहले संचालन गर्ने योजनाहरूमा बीमालाई कसरी जोड्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गरेका हुन् । साथै, उनले स्थानीय तहले आर्थिक सहायता, चन्दा जस्ता खर्च बन्द गरेर सबैको बीमा गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले साना बीमा दाबी भुक्तानीका सम्बन्धमा प्राधिकरणले स्पष्ट निर्देशन दिइसकेकाले अब बीमा कम्पनीहरूबाट दाबी भुक्तानी छिटो हुने उल्लेख गर्दै दाबी भुक्तानी समयमा नै नगर्ने कम्पनीहरू बजारमा टिक्न नसक्ने बताए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाका बारेमा बुझाएर सक्नेलाई बीमा गर्न प्रोत्साहन गर्ने र नसक्नेको बीमा गरेर बीमाको दायरा बढाउन सके विपद्का बेला क्षतिपूर्ति एवम् राहतका लागि स्थानीय तहलाई थप आर्थिक भार नपर्ने बताए । प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, महत्व, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा प्रस्तुती गरे । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद शर्माले बीमाबाट उद्योग व्यवसायको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले सबैलाई बीमा गर्न आग्रह गरे । साथै, उनले बीमा गर्ने व्यक्तिले भन्दा बीमा गराउने व्यक्तिले बढी लाभ लिने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरूप बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउनुका साथै बीमा सेवा विस्तारमा जोड दिँदै आएको जानकारी दिए । कार्यक्रममा सहभागीहरूले बजार मूल्य अनुसार पशुको बीमा गर्न नपाएको, बीमा दाबी भुक्तानी समयमा नपाएको, मोटर बीमाको न्यून दाबी भुक्तानी पाउने गरेको, जग्गाधनीले नभई जग्गा भाडामा लिएर खेती गर्नेले बीमा रकम पाउनुपर्ने माग सम्बोधन नभएको लगायतका धारणा राखेका थिए । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले संचालन गरेको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, उद्योगी व्यवसायीमहरू लगायतको सहभागिता रहेको थियो ।