बीमाशुल्कमा शिखर र बीमालेखमा नेकोको अग्रता कायमै (सूचीसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्म ३४ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार उनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । समीक्षा अवधिमा २० वटा कम्पनीले २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् । सबैभन्दा बढी बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । इन्स्योरेन्सले २ लाख १२ हजार १८८ वटा बीमालेख जारी गरी ४ अर्ब ४० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ । त्यस्तै, बढी बीमाशुल्क आर्जनको दोश्रोमा सगरमाथा इन्स्योरेन्स छ । जसलाई नेको इन्स्योरेन्सले पछ्याइरहेको छ । सगरमाथाले २ अर्ब ७९ करोड र नेकोले २ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । दुई अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्नेको सूचीमा सिद्धार्थ र एनएलजी इन्स्योरेन्स पनि छन् । उनीहरुले ११ महिनामा क्रमशः २ अर्ब २४ करोड र २ अर्ब १० करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । यता एक अर्बभन्दा बढी र दुई अर्बभन्दा कम बीमाशुल्क संकलन गर्नेमा अधिकांश कम्पनी छन् । २० कम्पनीमध्ये सो रेञ्जमा १२ वटा कम्पनी पर्छन् । त्यसमा पनि सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्सको १ अर्ब ९२ करोड र कम एभरेष्ट इन्स्योरेन्सको १ अर्ब ११ करोड रुपैयाँ बराबरका छन् । एक अर्बभन्दा कम बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनी छन् । सानिमा जनरल, जनरल र नेशनल इन्स्योरेन्सले ११ महिनाको अवधिमा एक अर्बभन्दा कम प्रिमियम उठाएका छन् । जसमध्ये सानिमाले ९० करोड, जनरलले ८१ करोड र नेशनल इन्स्योरेन्सले ८० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । समीक्षा अवधिमा नेको इन्स्योरेन्सले सबैभन्दा बढी बीमालेख जारी गरेको छ भने कम जारी गर्नेमा नेशनल रहेको छ । ११ महिनाको अवधिमा नेकोले २ लाख ४६ हजार ३०४ वटा बीमालेख जारी गर्दा नेशनलले २१ हजार ६५ वटा बीमालेख जारी गरेको छ ।

सानिमा जनरल इन्स्योरेन्सलाई मर्जर तथा प्राप्तिको लागि बाटो खुला

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सलाई मर्जर तथा प्राप्तिको लागि बाटो खुला भएको छ । असार १५ गते सम्पन्न इन्स्योरेन्सको विशेष साधारण सभाले कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि सम्पूर्ण अख्तियारी दिएसँगै इन्स्योरेन्सलाई बाटो खुला भएको हो । इन्स्योरेन्सको विशेष साधारण सभा असार १५ गते काठमाडौंको धुम्वाराहीस्थित धुम्रबराह पार्टी प्यालेसमा सम्पन्न भएको हो । जसको अध्यक्षता इन्स्योरेन्सका अध्यक्ष खेमराज लामिछानेले गरेका हुन् । उक्त सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन (डीडीए) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

सरकारकै पैसाबाट नागरिकको जीवन तथा सम्पत्तिको बीमा हुने

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले विपद्का समयका लागि छुट्याएको रकमबाट नागरिकको जीवन तथा सम्पत्तिको बीमा गर्न सकिने बताएका छन् । असार १५ गते लुम्बिनी प्रदेश सरकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् साथै, त्यसरी गरिएको बीमाबाट नै विपद्का समयमा हुने क्षतिको क्षतिपूर्ति हुने उनले जानकारी दिए । अध्यक्ष सिलवालले प्रदेश सरकारले नागरिकका साथै सरकारी सम्पत्तिको बीमा गराउन पहल गर्नुपर्ने उल्लेख गर्दै बीमालाई सेवा प्रवाहसँग जोडेर पनि बीमाको पहुँच विस्तार गर्न सकिने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले बीमा सम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरु ल्याएको र अब ती कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिने बताए । मुख्यमन्त्री केसीले बीमा कम्पनीहरुबाट बीमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासाहरु आउने गरेको उल्लेख गर्दै समयमै सहजरुपमा बीमा दावी पाउने व्यवस्था गर्न र बीमा कम्पनीहरुमा सुशासन कायम गर्न आग्रह गरेका छन् । उनले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन र बीमा समितिको प्रदेश कार्यालय विस्तार गर्न पनि आग्रह गरेका छन् । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयवस्तु समेटिएको प्रस्तुती गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव, विभिन्न प्रदेश मन्त्रालयका सचिव, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, सगरमाथा इन्सुरेन्स कं.लि. का प्रमुख कार्यकारी अधिकृत, बीमा समितिका सहायक निर्देशक केदारनाथ भट्ट, विभिन्न बीमा कम्पनीका प्रदेशस्थित शाखा कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।