काठमाडौंका करदातालाई स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म अनुदान

काठमाडौं । काठमाडौं महानगरले करदातालाई स्वास्थ बीमामा ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र (बालेन) शाहले सो व्यवस्था मिलाउने बताएका हुन् । ‘महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाई बीमाशुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ,’ उनले भने । स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिनेछ । महानगरबासीहरुको स्वास्थ्य सेवा प्रवर्धन गर्न सहरी स्वास्थ्य क्लिनिकहरुलाई स्तरोन्नती गरी सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिनेछ । शहरी स्वास्थ्य केन्द्र मार्फत महानगरबासीको नियमित स्वास्थ्य जाँचको ब्यबस्था मिलाइने उनले बताए । नागरिक आरोग्यता प्रबर्धन गर्न उपयुक्त आहार, बिहार, ध्यान, योग, प्राणायाम आदिवारे सचेतना कार्यक्रमहरु मार्फत महानगरबासीलाई निरोगी बन्न प्रोत्साहित गरिनेछ । क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न अग्रणी सेवा प्रदायक संस्थाहरु होटल, रेस्टुरेन्ट, भोजनालय र चमेनागृहलाई त्यस्तो कार्यमा प्राविधिक सहयोग उपलब्ध गराइने महानगरको नीति छ । काठमाडौं उपत्यका भित्र रहेका सरकारी तथा निजी अस्पतालहरुसंग समन्वय तथा सहकार्य गरी विशेषज्ञ चिकित्सक सेवामा सर्वसाधारण नागरिकको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइनेछ । महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा निःशुल्क बेडको प्रबन्ध मिलाइनेछ । काठमाडौं महानगरपालिका भित्र एकीकृत एम्बुलेन्स सेवा संचालनको व्यवस्था मिलाइनेछ र महानगर क्षेत्रभित्र रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुको अभिलेख व्यवस्थित गरिने  महानगरको नीति छ । एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ र आयुर्वेद उपचार पद्धतिलाई प्रवर्धन गरी जनस्वास्थ्य सेवा अभिवृद्धि गरिने मेयर शाहले बताए ।

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । असार ५ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । प्रस्तावित लाभांश कम्पनीले घोषणा गरेको दोश्रो पटकको लाभांश हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १६.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दुई दिन कंचनपुरको महेन्द्रनगर उपशाखा, धनगढीको शाखा कार्यालय र त्यस अन्तरगतको उपशाखा कार्यालय लम्किमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका महाप्रबन्धक कमल राज गौतमको उपस्थिति रहेको उक्त कार्यक्रम धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले संचालन गरेका थिए । कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।