बीमा प्राधिकरण विधेयक अर्थसमितिबाट पास, सञ्चालक समितिले निरन्तरता पाउने
काठमाडौं । २४ वर्षअघि संशोधन प्रक्रियामा रहेका बीमा ऐन संशोधन सम्बन्धि विधेयक अर्थसमितिबाट पारित भएको छ । अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा विहीबार बसेको बैठकले विधेयकलाई समितिबाट पास गरेको हो । यो विधेयक भोलि नै संसदमा पेश हुने सभापति दाहालले बताए । विहीबारको छलफलबाट विधेयकमा ठूलो परिवर्तन नगरिएको उनले बताए । ‘पहिला नै धेरै विषय टुङ्गिएका थिए । आज अन्तिम निर्णय भएको हो’ सभापति दाहालले भने । उक्त विधेयकलाई प्रतिनिधि सभाले पहिला राष्ट्रिय सभामा पठाउने र त्यसपछि प्रतिनिधिसभाबाट अनुमोदन हुने उनले बताए । बजेट अधिबेशनको अवधिमा नै उक्त विधयेक पारित गराउन आफूहरुले अनुरोध गर्दै आएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । २४ वर्ष अघिदेखि नै बीमा ऐन संशोधनको प्रक्रिया थालनी भएको बताउँदै अर्थसमितिबाट विधेयक पारित भएपछि उत्साह थपिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बीमा क्षेत्रमा समसामहिक सुधारका लागि २०४९ सालमा बनेको पुरानो बीमा ऐन बाधक बन्दै आएको जानकारहरु बताउँछन् । यो विधेयक २ वर्षअघि नै पारित हुने चरणमा पुगेको थियो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले बीमा समितिको तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागाईप्रति पूर्वाग्रह राखेर विधेयक पारितसँगै बीमा समितिको सञ्चालक समिति भंग गराउन प्रयास गरेपछि विधेयक अगाडि बढ्न सकेको थिए । अर्थसमितिबाट पारित विधेयकमा बीमा समितिको सञ्चालक समितिले बीमा प्राधिकरणमा निरन्तरता पाउने व्यवस्था गरिएको छ ।
राष्ट्रिय बीमा कम्पनीको अध्यक्ष बने ज्ञवाली
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली मनोनयन भएका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जर पारित, साउनदेखि नै एकीकृत कारोबार गर्ने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । असार २ गते सम्पन्न दुबै कम्पनीको विशेष साधारणसभाले उक्त प्रस्तावलाई पारित गरको हो । सभाले पारित गरेसँगै हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको स्वाप रेसियो १०० बराबर ८५ मा गाभिन लागेका हुन् । यससँगै मर्जर पश्चात बन्ने ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने छ । उक्त कारोबार २०७९ साउनदेखि नै गरिने कम्पनीको लक्ष्य छ । दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ । र, यसबाट नेपालको बीमा क्षेत्रको विश्वशनियतामा अभिवृद्धि भई समग्र बीमा क्षेत्र नै सुद्धढ हुने कम्पनीको विश्वास छ । उक्त सभाबाट पारित मर्जर सम्बन्धी प्रस्ताव बीमा समितिबाट स्वीकृत गर्नुपर्ने छ । नेपालको बीमा सम्बन्धी नियमकारी निकाय बीमा समितिबाट बीमा कम्पनीहरुको पुँजी वृद्धि सम्बन्धी निर्देशन बमोजिम दुई कम्पनी मर्जरको प्रकृयामा गएका हुन् । जुन प्रकृया नेपालको बीमा क्षेत्र कै पहिलो हो ।