मर्जमा जान ९ कम्पनीलाई बीमा समितिको निर्देशन, प्रमोटरलाई सेयर बेच्न दोस्रो विकल्प
काठमाडौं । एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जमा जान वा सेयर बेच्न निर्देशन दिएको छ । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही गरिने चेतावनी समेत बीमा समितिले दिएको छ । बीमा समितिले गत साता समान सेयरधनी भएका कम्पनीका सञ्चालक र सीईओहरुलाई बीमा समितिमा बोलाएर मर्जमा जान वा एउटा कम्पनीको सेयर रोजेर बाँकी कम्पनीको सेयर बेच्न निर्देशन दिएको थियो । लगत्तै बीमा समितिले साझा सेयरधनी (चल्तीको भाषामा क्रस होल्डिङ) देखिएका कम्पनीहरुलाई तीन बुँदे लिखित निर्देशन पठाएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । ६ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो पत्र पठाइएको बीमा समितिले जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, आईएमई लाइफ, रिलायवल लाइफ, ज्योति लाइफ, सूर्या लाइफ, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई यस्तो पत्र पठाएको बीमा समिति उच्च स्रोतले जानकारी दियो । बीमा समितिका अनुसार नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनी नेपालमा धेरै प्रवद्र्धक समान रहेका छन् । आईएमई लाइफ र रिलायवल लाइफ इन्स्योरेन्समा पनि धेरै प्रवद्र्धक समान छन् । त्यस्तै, ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्समा समान प्रवद्र्धक सेयरधनी रहेका छन् । नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा पनि समान प्रवद्र्धक रहेको बीमा समितिले जनाएको छ । बीमा समितिले केही महिनाअघि सबै बीमा कम्पनीसँग शुन्य दशमलव ५ प्रतिशतभन्दा बढी सेयर लिएका लगानीकर्ताको विवरण माग गरेको थियो । उक्त विवरणको अध्ययनपछि समितिले ९ वटा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो । अहिले सेयर बेच्ने अवस्था नभएकोले कम्पनीहरुले मर्जरको बाटो रोज्नु उपयुक्त हुने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विकासन्युजसँग भने । निर्देशनअनुसार मर्ज वा सेयर बिक्री नभए बीमा ऐन अनुसार कारवाही गरिने उनले बताए । ‘नियामकले दिएको निर्देशन पालना हुन्छ भन्नेमा हामी विश्वस्त छौं, बीमा समितिले दिएको निर्देशन पालना भएन भने के हुन्छ भन्ने कुरा कानुनमा लेखिएकै छ नि’ अध्यक्ष सिलवालले बताए ।
अर्थ समितिमा बीमा ऐन २०७५ बारे छलफल
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ । मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि पनि छलफल भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि भएको छलफलको प्रतिवेदन समितिमा प्रस्तुत गरे । उनले विधेयकको विधि निर्माणपछि सच्याउनुपर्ने शब्दावलीहरुको बारेमा समितिलाई जानकारी गराएका थिए । २०७५ असार २७ मा दर्ता भएको बीमा सम्बन्धी विधेयक अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । बीमा विधेयक लामो समयसम्म समितिमा अड्किएपछि समितिमा रहेका सदस्यहरुको लगानी विभिन्न जीवन र निर्जिवन बीमा कम्पनीहरुमा रहेको आशंका गरिएको छ । बीमा विधेयकमा भएको बीमा प्राधिकरण गठन गर्ने विषयमा पनि निस्कर्ष ननिस्किँदा विधेयक अगाडि बढेको थिएन तर अहिले समितिमा बीमा सम्बन्धी छुट्टै बीमा प्राधिकरण बनाएर अघि बढ्नेमा अनौपचारिक सहमति जुटेको बताइएको छ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई अर्थ मन्त्रालयले प्राधिकरणको छाताभित्र ल्याउने कोशिस गरेपनि हाल चलिरहेको स्वास्थ्य बीमा कार्यक्रम यथावत अवस्थामा चल्न दिने गरी अर्थ समितिले लगभग सहमति जुटाएको छ । यद्यपी यो विषय छलफलकै क्रममा रहेकोले औपचारिक निर्णय भने भइसकेको छैन ।
नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शिलबन्दी बोलपत्रमार्फत १३ लाख १७ हजार ४७१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि सो मात्राको सेयर लिलामीमा राखेको हो । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एशियाको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर हुन् । जसको मूल्य प्रतिकित्ता न्यूनतम क्रमशः ७०० र ४०० रुपैयाँ रहेको छ । इच्छुकले न्यूनतम एक हजार कित्ता सेयरमा आवेदन दिनसक्नेछन् । उनीहरुले असार ८ गतेदेखि असार १६ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा आवेदन दिइसक्नुपर्ने छ । सेयरको न्यूनतम मूल्य ७ सय (नेपाल लाइफ) र ४ सय रुपैयाँ (एनआईसी एशिया) तोकिएको छ । त्यसैले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ । सोभन्दा कम मूल्यको आवेदन सबै रद्द हुने छ । इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु आवेदन दिन सक्नेछन् ।