सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो १३ लाखको मृत्युदावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १३ लाखको मृत्युदावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादि जविन बीमा गरेका कैलालीका स्व। विशाल परियारको परिवालरलाई मृत्युदावी भुक्तानी गरेको हो । धनगढीका कम्पनी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले परियारका श्रीमती सोनिका सुनारलाई उक्त रकम हस्तान्तरण गरे । विशाल परिरयारको २०७८ साल चैत १५ गते बिरामी भएर मृत्यु भएको थियो ।  

प्रतिफलको ग्यारेन्टी गर्दै रिलायन्स लाइफले ल्यायो नयाँ योजना, ९० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बीमालेख योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सोमबार एक कार्यक्रम आयोजना गर्दै ‘मेरो सुनिश्चित प्रतिफल’ नामक बीमा योजना सार्वजनिक गरेको हो । बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्ने यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल पाइने कम्पनीको दाबी छ । साथै, सीमित समयको लागि बीमाशुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो बीमा १६ वर्षदेखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले गर्न सक्नेछन् । त्यस्तै, बीमा अवधि १६ वर्ष र २० वर्ष रहेको यो बीमाको समाप्ति उमेर ६० वर्ष हुनेछ । जसमध्ये १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्षसम्म मात्र बीमाशुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बीमाशुल्क तिरे पुग्ने छ । यो बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानी वार्षिक हुनेछ । न्यूनतम २५ हजार रुपैयाँ बीमाशुल्क तोकिएको यो बीमा योजनाको अधिकतम बीमाशुल्क रकम भने बीमितको भुक्तानी क्षमतामा भर पर्ने छ । न्यूनतम र अधिकतम बीमांक रकम भने बीमाशुल्कको आधारमा थप हुने समेत कम्पनीले बताएको छ । जस्तै, यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखि १ लाख रुपैयाँको वार्षिक बीमाशुल्क ७ वर्षसम्म ७ लाख रुपैयाँ तिर्छ भने सो बीमितको १७ लाख ५० हजार रुपैयाँ बराबरको जाखिम बहन हुनेछ । बीमा परिपक्व भएपछि आधारभूत बीमाशुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल १७ लाख १० हजार रुपैयाँ प्रदान गरिने छ । थप न्युन बीमाशुल्क १४ हजार ८ सय ४० रुपैयाँ तिरेर अतिरिक्त पुरक करार सुविधाहरु दर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट र घातक रोगहरु विरुद्धको रक्षावरण पनि लिन पाउनेछन् । २.५ गुणासम्म प्रतिफल यो बीमा योजनाअन्तर्गत १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमाशुल्कको २ गुणा प्रतिफल पाइन्छ । त्यस्तै, २० वर्षको बीमालेखमा आधारभुत बीमाशुल्कको २.५ गुणा प्रतिफल पाइने कम्पनीले ग्यारेण्टी गरेको छ । साथै, यसमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले बताएको छ । यो बीमालेख अन्यभन्दा फरक छ । अन्य बीमा गराउँदा बीमा रकम अनुसार बीमाशुल्क तोकिनेछ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छाअनुरुप बीमाशुल्क तय गर्न सक्नेछन् र त्यसको आधारमा बीमाङ्क रकम कायम गरिने छ । साथै, यो बीमालेखमा न्युन थप बीमाशुल्क तिरेर अतिरिक्त पुरक करार सुविधाहरमा दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट, घातक रोगहरु विरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइनेछ । मृत्यु भएमा के हुन्छ ? यदि बीमा अवधि बाँकी रहँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्युनतम २ गुणादेखि अधिकतम २.५ गुणासम्म रकम भुक्तान गरिने कम्पनीले जानकारी गराएको छ । ९० प्रतिशतसम्म कर्जा पाइने यो बीमालेख अन्तर्गत बीमितले कर्जा सुबिधा समेत पाउने छन् । उनीहरुले बीमालेख धितो राखी सर्मपण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन पनि सक्नेछन् । जसको लागि बीमा योजनामा सहभागी भएको ३ वर्ष अवधि पुरा भई ३ वर्षको बीमाशुल्क तिरी सक्नुपर्ने व्यवस्था छ । यस योजनाले बीमितलाई ग्यारेन्टीका साथ उत्कृष्ट रिटर्न दिन्छ । साथै, उच्च रकमको रक्षावरण समेत गर्ने भएकाले ग्राहकको लागि यो योजना अति आकर्षक रहने कम्पनीले विश्वास लिएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले इन्स्योरेन्सले नेपाली जीवन बीमा बजारमा अहिलेसम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको दावी गरेका छन् । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समेत रिलायन्स लाइफको नयाँ योजनाले छुट्टै खालको विशेषता बोकेको बताए । ‘यसमा निश्चित अवधिमा निश्चित प्रतिफल दिने भनेर ग्यारेन्टी गरिएको छ, त्यसैले यो प्रडक्टले छुट्टै विशेषता बोकेको देखियो,’ कार्यक्रममा बोल्दै सिलवालले भने । साथै, उनले बीमाप्रति मान्छेलाई आकर्षित गराउन यस्तै नयाँ नयाँ योजनाहरु ल्याई उक्त योजनाका विशेषताहरुमा बढी जोड दिन कम्पनीहरुलाई आग्रह गरेका छन् ।

स्वास्थ्य बीमामा गलत बिलिङको ओइरो, आवद्ध नभएकाको पनि माग दाबी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा बीमा कार्यक्रममा आवद्ध भएका स्वास्थ्य संस्थाहरूले आफ्नो फार्मेसी बाहिरको बिल पनि पेस गरेर दाबी भुक्तानी माग गर्ने गरेकाे भेटिएकाे छ । स्वास्थ्य बीमा बोर्डले पछिल्लाे समय आवद्ध नभएका स्वास्थ्य संस्थाकाे बिलका लागि पनि दाबी भुक्तानीका लागि आउने गरेकाे बताएकाे छ । बोर्डका प्रवक्ता सम्भुप्रसाद ज्ञवालीका अनुसार त्यस्तो काम सरकारी स्वास्थ्य संस्थाहरुले भन्दापनि निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुले गरिरहेका छन् । ‘आफ्नो स्वास्थ्य संस्थाको फार्मेसीको बाहेक बाहिरको बिल पनि पेस गरेर दाबी भुक्तानी गर्ने काम केही संस्थाहरुले गर्ने गरेका छन्, बोर्डले स्वास्थ्य संस्था बाहेक बाहिरबाट बिल पेस गरेको दाबी भुक्तानीको भने अहिलेसम्म भुक्तानी गर्ने काम भने गरेको छैन,’ उनले भने । आफ्नो फार्मेसीमा उपलब्ध नभएको औषधी र ल्याब परीक्षण बिलको पनि दाबी भुक्तानी माग गर्न थालेपछि बोर्डले सार्वजनिक सूचना निकालेर सम्बन्धित स्वास्थ्य संस्थालाई त्यसो नगर्न भनेको छ । साथै बोर्डले कतिपय स्वास्थ्य संस्थाहरुले बिमारीलाई बिलिङ नगरिदिने गुनासो पनि बोर्डमा आउने गरेको बताएको छ । बोर्डमा आएका गुनासाे र समस्यालाई मध्यनजर गर्दै बीमा कार्यक्रममा आवद्ध भएका स्वास्थ्य संस्थाहरुलाई आगामी साउन १ गतेदेखि समस्यालाई नदोहोर्याउन भनिएको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार त्यतिबेलासम्म बीमा बोर्डमा स्वास्थ्य संस्थाभन्दा बाहिरबाट प्राप्त हुने बिलको पनि बोर्डले भुक्तानी गर्दैन। १० १२ अर्ब ४० करोड दाबी भुक्तानी स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षकाे हालसम्म १२ अर्ब ४० करोड बराबरको बीमा भुक्तानी गरिएको जनाएको छ । तर, अझै पनि चालु आर्थिक वर्ष अगाडिको ७ अर्ब बीमा भुक्तानी गर्न बाँकी रहेको बोर्डका प्रवक्ता ज्ञवालीले बताएका छन् । चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा बापत लक्षित वर्ग सहित सबैको गरेर ३ अर्ब भन्दा धेरै रकम उठ्ने सम्भावना रहेको प्रवक्ता ज्ञवालीको भनाइ छ । जसमा ४० प्रतिशत जति लक्षित वर्गका पारिवारिक सदस्यहरु रहेका छन् । उनिहरुको प्रिमियम निःशुल्क हुने हुँदा त्यस बापतको प्रिमियम नेपाल सरकारले भुक्तानी गर्ने ज्ञवालीले बताए । बिगतकै दाबी भुक्तानी पेन्डिङमा रहेको कारणले बोर्डले प्रिमियम संकलनकै आधारमा दाबी भुक्तानी गर्न सक्ने अवस्था नरहेको देखिन्छ । त्यसको लागि सरकारले सम्बोधन गर्नुपर्ने हुन्छ । अहिले टिचिङ, धरान लगायतका अस्पतालको बीमा भुक्तानीको समस्या रहेको स्वीकार गर्दै ज्ञवालीले कतिपयको दाबी भुक्तानीको मागको विश्लेषणमा पनि ढिलाई भएकाले भुक्तानी ढिलाई हुन गएको बताए । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रममा ५६ लाख नेपाली आवद्ध भएको र त्यसमा ४० प्रतिशत लक्षित वर्ग रहेका छन् । करारका कर्मचारीहरु धेरै भएको र स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्ने कुरा चुनौतिपूर्ण रहेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।