बोन्ड जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी दिन सुझाव

काठमाडौं । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बीमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैंले वा बीमा कम्पनीहरूलाई स्वीकृति दिएर १०० करोड बराबरको १० वर्षे ४ प्रतिशत कोरोना बोन्ड जारी गर्नु उपयुक्त हुने जनाएको छ । उक्त बोन्ड वाणिज्य बैंकहरूले किन्ने र त्यो लगानीलाई बैंकहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) मा समावेश गर्न सक्ने नीति ल्याए ४० करोडको बीमा भुक्तानी दायित्व तत्काल पूरा हुने संघको भनाइ छ । बाँकी ६० करोड १० वर्षे मुद्दती खातामा राखी ५ प्रतिशतसम्मको स्प्रेडले पुग/नपुग बीमा कम्पनीले दसौं वर्षमा तिर्नुपर्ने गरी व्यवस्था गर्न सकिने संघको भनाइ छ । यसरी कोरोना बीमा भुक्तानीको हालको ११ अर्ब दायित्व कुल मिलाएर २५ अर्बको बोन्ड जारी गरी पूरा गर्न सकिने संघको भनाइ छ । संघले कोरोना बीमाको भुक्तानी गर्ने उपायसहितको सुझाव अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राजस्व परामर्श समितिमा पेस गरेको हो । संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले नेतृत्व गरेको संघको प्रतिनिधिमण्डलले सम्बन्धित निकायमा गएर सुझाव बुझाएको हो । प्रतिनिधिमण्डलमा अध्यक्ष वाग्लेका बाहेक महासचिव तेजप्रसाद सुवेदी, कोषाध्यक्ष सुशील घिमिरे तथा कार्यसमिति सदस्यद्वय र शेषमणि दाहाल र टिका कार्की सहभागी थिए । संघले विभिन्न सरकारी निकाय, संघ–संस्था, लेखापरीक्षण पेसामा संलग्न सदस्य चार्टर्ड एकाउन्टेन्टहरूको राय, सल्लाहका आधारमा अन्तिम नीतिगत सुझाव तयार पारेको जनाएको छ । प्राप्त सुझावमाथि संघको कार्यसमितिले छलफल गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र राजस्व सिद्धान्तका आधारमा आवश्यक संशोधनलाई मात्र अन्तिम सुझावमा समावेश गरिएको हो ।

यूनियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शुलभ अग्रवाल चयन भएका छन् । कम्पनीको चौथो वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् । यस्तै सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ । यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ संचालकको नियुक्ति भएको बिषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ । त्यस्तै बीमा समितिले तोकेको समयभित्र ५ अर्ब चुक्ता पूँजी पु¥याउन अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने (गाभ्नेरगाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ । बीमा समितिले २०७९ चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि विस्तृत लेखा परीक्षण ९डिडिए० गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको छ । नवनियुक्त अध्यक्ष शुलभ अग्रवालले आगामी दिनमा कम्पनीको कामकारवाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई कम्पनीको ब्यवसाय विस्तार गर्ने र शेयरधनीहरुको चाहना अनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा बृद्धि गर्ने बताए । यसैगरी संचालक संदिप कुमार अग्रवालले शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

ज्योति लाईफको ब्राण्ड एम्बेसडर पुन: राजेश हमाल

काठमाडौं । ज्योति लाईफको ब्राण्ड एम्बेसडरको रुपमा नायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ । बिहीबार भएको सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीका साथै नायक हमालले हस्ताक्षर गरेका छन् । कम्पनीको स्थापना काल देखिनै ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा रहेका नायक हमालले ज्योति लाइफसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको बताए ।