बीमाशुल्कमा निर्जीवन बीमा कम्पनी : चारबाहेक सबै इन्स्योरेन्स अर्ब क्लबमा
काठमाडौं । सञ्चालित निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा करिब पौने २८ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । कम्पनीहरुले २१ लाख ७५ हजार ४१४ वटा बीमालेख जारी गरी २८ अर्ब ७० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । बीमा समितिको तथ्यांकअनुसार सञ्चालित २० वटा कम्पनीहरुले गत असारदेखि चैत मसान्तसम्ममा सो बराबरको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले संकलन गरेको छ । इन्स्योरेन्सले १ लाख ८० हजार ७९९ वटा बीमालेख जारी गरि ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको बीमालेख संकलन गरेको छ । त्यस्तै, बढी बीमाशुल्क संकलन गर्नेको दोश्रोमा सगरमाथा इन्स्योरेन्स र तेश्रोमा नेको इन्स्योरेन्स नै रहेका छन् । जसमध्ये सगरमाथाले २ अर्ब ४२ करोड र नेकोले २ अर्ब २३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यी दुई कम्पनीले ९ महिनामा क्रमशः १ लाख ९९ हजार ४४० र २ लाख १२ हजार ९२८ वटा बीमालेख जारी गरेका छन् । त्यस्तै, अधिकांश कम्पनीले एक अर्बभन्दा प्रिमियम उठाउन सफल भएका छन् । जसमध्ये सिद्धार्थले १ अर्ब ९४ करोड, एनएलजीले १ अर्ब ७७ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले १ अर्ब १६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड, आईएमई जनरलले १ अर्ब २७ करोड, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब २२ करोड र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १० करोड, लुम्बिनी जनरल इन्स्योरेन्स १ अर्ब १७ करोड, दि ओरियन्टल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले १र१ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । त्यस्तै, बाँकी चार वटा कम्पनीले एक अर्बभन्दा कम बीमाशुल्क आर्जन गरेका छन् । जसमा एभरेष्ट, जनरल, सानिमा जनरल र नेशनल इन्स्योरेन्स रहेका छन् । यीमध्ये एभरेष्ट इन्स्योरेन्सले ९२ करोड ७४ लाख, जनरल इन्स्योरेन्सले ७२ करोड २४ लाख, सानिमा जनरल इन्स्योरेन्सले ७२ करोड ६ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ६७ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्र्न सफल भएका छन् । २० कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी छ । जसले समीक्षा अवधिमा ६८ लाख ६४७ लाख वटा बीमालेख जारी गरेको छ । साथै, सबैभन्दा बढी बीमालेख जारी गर्नेमा नेको इन्स्योरेन्स अगाडि छ । बढी बीमालेख जारी गर्नेको तेश्रो स्थानमा रहेको नेकोले ९ महिनामा २ लाख १२ हजार ९२८ वटा बीमालेख जारी गरेको छ । त्यस्तै, सबैभन्दा कम बीमालेख जारी गर्नेमा राष्ट्रिय बीमा कम्पनी छ । जसले ४१ लाख ६७३ वटा बीमालेख जारी गरेको छ ।
यूनाइटेड इन्स्योरेन्सले ९ महिनामा कमायो ९४ प्रतिशत बढी नाफा, अधिकांश सूचकमा सुधार
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा राम्रो प्रगति हासिल गरेको छ । कम्पनीले ९ महिनामा १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९४.१२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेश्रो त्रैमास अर्थात चैत मसान्तमा इन्स्योरेन्सले ५ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको ९ महिनामा अधिकांश निर्जीवन बीमा कम्पनीको नाफा घट्दा यूनाइटेड इन्स्योरेन्स भने नाफा बढाउन सफल भएको छ । जुन हालसम्म कम्पनीहरुले सार्वजनिक गरेका ९ महिनाको वित्तीय विवरणले देखाएको छ । हाल १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको बीमाकोषको आकार पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको बीमाकोष ३३ करोड ३७ लाख रुपैयाँबाट बढेर ४० करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषमा १७ करोड ७० लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५१ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सले ९ महिनाको अवधिमा ३ हजार ३७० वटा बीमितहरुलाई ४७ करोड ९५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । यससँगै, इन्स्योरेन्ससँग ७ हजार ४४ वटा बीमितका १ अर्ब ६ करोड रुपैंया बराबरका दाबी विचाराधीन अवस्थामा छन् । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.७६, प्रतिशेयर नेटवर्थ १५६.७८ रुपैंया र प्रतिसेयर कुल सम्पत्ति मूल्य २८९.२६ रुपैयाँ छ । हालसम्म इन्स्योरेन्सले १ अर्ब २५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ४२.८५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा ८७ करोड ८६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । कूल बीमाशुल्क बढ्दोक्रममा रहेको कम्पनीले आगामी दिनहरुमा व्यवसायिक विविधिकरण गरी गुणस्तरीय ग्राहकमुखी नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कार्य सञ्चालन सुचारु रुपले भैरहेको र वित्तीय स्थिति सन्तोषजनक रेको व्यवस्थापकीय विश्लेषण छ । साथै, कम्पनीले आगामी दिनहरुमा प्रयाप्त तालिम दिई जनशक्तिलाई दुरुस्त पार्ने र ग्राहकमुखी सेवाहरु विस्तार गर्ने योजना गरेको छ । यद्यपि कोभिड १९ महामारी र सोको बीमा दावीले गर्दा कम्पनीलाई आगामी दिनहरुमा बीमा व्यवसायको लागि चुनौतिपूर्ण रहेको छ । बजारमा बीमा कम्पनीहरुको बीचको प्रतिस्पर्धा, सीमित बजार तथा पूर्नबीमा कम्पनीहरुबाट पाइने कमिशन र अन्य सुविधामा कटौतीले गर्दा कम्पनीलाई उक्त चुनौति सामाना गर्नुपर्ने छ । निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्स ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसीले स्वतन्त्र रुपमा मूल्यांकन गरेको अनुसार निर्जीवन बीमा क्षेत्रमा यूनाइटेडले महत्वपूर्ण योगदान दिएकोले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । साथै, कम्पनीले विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्य सम्पादन गरेको पीडब्लुसीले मूल्यांकन गरेको छ ।
मर्जरमा जान ५ कम्पनीले पाए बीमा समितिको स्वीकृति
काठमाडौं । बीमा समितिले विभिन्न ५ वटा कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर)मा जान स्वीकृति दिएको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी गरी ५ कम्पनीलाई स्वीकृति दिएको हो । जसमध्ये जीवन बीमा कम्पनीको तर्फबाट प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । त्यस्तै, निर्जीवन बीमा कम्पनीको तर्फबाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स रहेका छन् । यी तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी एक आपसमा गाभ्न गाभिन सहमति पत्रमा हस्ताक्षर समेत गरिसकेका छन् । सोही अनुसार नियामक निकाय बीमा समितिले जेठ ३ गते सैद्धान्तिक सहमति दिएको हो । बीमा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति दिएको हो । साथै,सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । पौडेलका अनुसार ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको र त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा सैद्धान्तिक सहमति प्रदान गरेको हो । त्यस्तै, समितिले मर्जरमा जान एमओयू गरेका हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई पनि सैद्धान्तिक सहमति प्रदान गरेको छ । यी दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन बीमा समितिमा निवेदन दिएका थिए ।