समता घरेलु लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्चेञ्जमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बैेशाख १९ गते सोमबार मात्रै समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये समता घरेलु लघुवित्तको २० प्रतिशत अर्थात ५ लाख ७१ हजार २४० कित्ता सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सको पनि ६.६५ प्रतिशत अर्थात ७ लाख ३१ हजार ७२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै उक्त सूचीकृत सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
यूनाइटेड इन्स्योरेन्स बन्यो एशियाकै उत्कृष्ट कम्पनी, पायो बेष्ट जनरल इन्स्योरेन्स अवार्ड
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त अवार्ड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई प्रदान गरिएको थियो । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको तेश्रो इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्डस् कार्यक्रममा कम्पनीले सो अवार्ड पाएको हो । सो कार्यक्रम ३० अप्रिल २०२२ मा भारतको कलकत्तामा भएको हो । विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसीले स्वतन्त्र रुपमा मूल्यांकन गरेको अनुसार निर्जीवन बीमा क्षेत्रमा यूनाइटेड इन्स्योरेन्सले महत्वपूर्ण योगदान दिएकोले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । साथै, कम्पनीले विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्य सम्पादन गरेको पीडब्लुसीले मूल्यांकन गरेको छ । त्यस्तै, कम्पनी संचालनको २८ औं वर्षमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो । कार्यक्रममा इन्स्योरेन्सकी सीईओ उपासना पौडेलले उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरेकी छिन् ।
बीमा कम्पनीलाई मर्जरमा जान समितिले दवाव दिएको छैन : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव नदिई त्यसको लागि बाटो खोलिदिएको बताएका छन् । मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको बताउँदै उनले यसमा समितिले दवाव नदिएको स्पष्ट पारेका हुन् । ‘मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो,’ उनले भने । बीमा समितिको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरुसँगको पुँजी वृद्धि सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । साथै, समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू हुने र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्न सक्ने समेत बताएका छन् । मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै पर्ने उनको भनाई छ । ‘बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पुँजी वृद्धिको निर्णय गरेको हो, बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो, बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ, त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ,’ उनले भने । साथै, बीमा कम्पनी पूर्ण क्षमतामा चल्न, दाबी भुक्तानी गर्न, कम्पनीको नाफा बढाउन, देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुर्याउन, बीमाका लागि पर्याप्त स्रोत र संभावना भएको स्थानीय तहमा जान र शाखा कार्यालयहरू स्रोत साधनले सम्पन्न बनाउन अध्यक्ष सिलवालको आग्रह छ । त्यस्तै, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिव करिव सबै बीमा कम्पनीबाट पुँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको जानकारी दिए । साथै, पुँजी वृद्धिका लागि कतिपयले हकप्रद सेयर, कतिपयले बोनस सेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीको संख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औंल्याउँदै बीमा बजारलाई मर्यादित, सुशासित र दीगो बनाउने उद्देश्यले पुँजी वृद्धिको निर्णय भएको बताए । साथै, निर्जीवन बीमा कम्पनीहरुलाई बोलाएर छलफल गरेको समितिले जीवन बीमा कम्पनीहरुलाई पनि बोलाउने तयारी गरेको छ । समितिका कार्यकारी निर्देशक पौडेलका अनुसार जीवन बीमा कम्पनीलाई आगामी बैशाख २० गते पुँजी वृद्धिको विषयमा छलफल गर्न बोलाइएको छ ।