बीमाशुल्कमा आईएमई, हिमालयन, अजोड र युनाइटेड इन्स्योरेन्सबीच प्रतिस्पर्धा

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिनामा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा १३.३२ प्रतिशतले बढी हो । सञ्चालित १९ वटा कम्पनीहरूले अघिल्लो महिना अर्थात फागुन मसान्तसम्म २५ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेका थिए । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार कम्पनीहरूले चैत मसान्तसम्ममा २१ लाख ७५ हजारवटा बीमालेख जारी गरी २८ अर्ब ७० करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका हुन् । जसमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखरको अग्रता कायमै रहेको छ । समीक्षा अवधिमा शिखरले एक लाख ८० हजार ७९९ वटा बीमालेख जारी गरी ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । त्यस्तै, २ अर्बभन्दा बढी र ३ अर्बभन्दा कम बीमाशुल्क संकलन गर्नेमा सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् । उनीहरुले क्रमशः दुई अर्ब ४२ करोड र दुई अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यता एक अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा १३ वटा कम्पनी रहेका छन् । जसमा पनि चार वटा कम्पनीबीच नेक टु नेक प्रतिस्पर्धा देखिएको छ । बीमाशुल्कको आधारमा आईएमई जनलर, हिमालयन जनरल, अजोड र यूनाइटेड इन्स्योरेन्सबीच दह्रो टक्कर देखिएको छ । यी चार वटै कम्पनीले करिब सवा एक अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यीमध्ये यूनाइटेड इन्स्योरेन्सले भने सबैभन्दा बढी संख्यामा बीमालेख जारी गरेको छ । अरु तीन कम्पनीले पौने एक हजार वटा बीमालेख जारी गर्दा युनाइटेडले एक लाख २७ हजार वटा बीमालेख जारी गर्न सफल भएको छ । एक अर्बभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा एभरेष्ट, जनरल, सानिमा र नेशनल इन्स्योरेन्स रहेका छन् । यीमध्ये सबैभन्दा कम आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स छ । इन्योरेन्सले चालु आवको ९ महिनामा १७ हजार २२९ वटा बीमालेख जारी गरी ६७ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । कुनको कति ?

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत

काडमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको २० प्रतिशत अर्थात ४४ लाख २२ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनका उत्कृष्ट १६ अभिकर्ता सम्मानित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उत्कृष्ट काम गर्ने १६ जना अभिकर्तालाई सम्मान गरेको छ । इन्स्योरेन्सको चावहिल शाखाले वैशाख १३ गते एक कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको हो । १६ जनामध्ये पनि अभिकर्ता तीर्थप्रसाद पौडेलले थप उत्कृष्ट काम गरेको चावहिल शाखाका एजेन्सी म्यानेजर पुरुषोत्तम पौडेलले बताए । उनका अनुसार अभिकर्ता पौडेलले हालै मात्रै अर्थात तीन महिनाको अवधिभित्रै ‘एमडीआरटी २०२३’ पनि प्राप्त गरिसकेका छन् । एजेन्सी म्यानेजर पौडेलले आफ्नो टीममा काम गर्नेहरुमध्ये उत्कृष्ट काम गर्नेलाई टोकन अफ लभसहित सम्मान गरेका हुन् । उनले आफ्नो टीममा काम गर्नेहरुमध्ये उत्कृष्ट काम गर्नेलाई ‘टोकन अफ लभ’सहित सम्मान गरेका हुन् । अभिकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले र उनीहरुमा रहेको उत्साहको कमी हुन नदिन यो कार्यक्रम आयोजना गरेको पौडेलले बताए । हाल पौडेलको टीममा एकसयभन्दा बढी अभिकर्ता रहेका छन् । जसमध्ये ४६ जना अभिकर्ताहरु सक्रिय छन् र तीमध्ये १६ जना सम्मानित भएका हुन् । त्यस्तै, अभिकर्ताहरुलाई काम गर्नमा थप उत्प्रेरणा जगाउने किसिमका कार्यक्रममा कम्पनीले जोड दिने पौडेलले बताए । ‘हामीले अहिले टप एजेन्टहरुलाई सम्मान गरेका हौं, अबका दिनमा एक्टिभ एजेन्ट लगायत नयाँ बन्न चाहनेलाई पनि उत्प्रेरित गर्ने किसिमका कार्यक्रमलाई निरन्तरता दिने छौं, जसले गर्दा अभिकर्तामा जोस र जाँगरको कमी नहुने र कम्पनीलाई पनि राम्रो हुने विश्वास छ,’ पौडेलले भने । कार्यक्रममा अथितिको रुपमा मार्केटिङ्ग प्रमुख ममता पौडेल र चावहिल शाखाका शाखा प्रमुख उमेश उप्रेतीको उपस्थिति थियो ।