राष्ट्रिय बीमा संस्थान ५५ वर्षमा: कुल बीमा कोष र शुल्क संकलनमा ८.५ प्रतिशत हिस्सा

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५५ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रतिष्पर्धी बीमा बजारमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे । बजारमा रहेको बीमा व्यवसायको मागलाई पूर्ति गर्न सक्नुपर्ने भन्दै उनले सरकारी स्वामित्वको संस्था भएको नाताले बजारको माग र समय सुहाउँदा नयाँ प्रडक्ट, आधुनिक प्रविधि र चुस्त व्यवस्थापनबाट कुशल र प्रतिष्पर्धी संस्था बनाउन सुझाव दिए । ‘अन्तराष्ट्रिय प्रचलन र अभ्यास अनुरुप बीमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बीमा योजना, सेवाको विविधिकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा बृद्घि, आर्थिक अनुशासन, व्यवसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस,’ उनले भने । यस्तै बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा भनेकाे विश्वसनीयताको बजार रहेकाेले संस्थानले आफ्नो विगतका कार्य प्रगतिको समिक्षा गर्दै नेपालको जीवन बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न सदैव प्रयत्नशील रहन तथा नेपाल सरकार, बीमा समिति, महालेखा परीक्षकको कार्यालय, लगानीकर्तालगायतका सरोकारवालाहरुको चासोका रुपमा रहेको लेखा परीक्षण, बीमाङ्कीय मूल्याङ्कन र वित्तीय विवरणलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरे । चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा जीवन बीमा प्रदायकहरुको जीवन बीमा कोषमा रहेको चार खर्ब ५२ अर्ब ७९ करोड मध्ये संस्थानको कोषमा ३८ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा संकलित बीमा शुल्क ७० अर्ब ९१ करोड मध्ये संस्थानको छ अर्ब पाँच करोड रहेको छ । यसरी हेर्दा कुल बीमा कोष र बीमा शुल्क संकलनमा संस्थानको हिस्सा करिब ८.५ प्रतिशत रहेको छ । त्यसैगरी संस्थानमा हाल कायम रहेको कुल बीमा लेख संख्या छ लाख ३९ हजार रहेको छ । देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले वि.सं. २०२४ साल पुस १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भएको संस्थानले सोही वर्षको फागुन ११ गतेबाट निर्जीवन बीमा तथा २०२९ साल फागुन ७ गतेबाट जीवन बीमाको कारोबार सुरु गरेको थियो । लामो समयसम्म जीवन बीमा र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएकोमा २०७१ सालमा निर्जीवन बीमाकाृ कारोबार राष्ट्रिय बीमा कम्पनीलाई हस्तान्तरण गरी हाल संस्थानले जीवन बीमाको मात्र कार्य गर्दै आएको छ ।

चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुने भएको छ । सङ्घीय सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्डले सहजीकरण गरिराखेको छ । हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक सहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्य चौकीमार्फत नगरवासीलाई निः शुल्क स्वास्थ्य सेवा प्रदान गरिराखेका छ । यी स्वास्थ्य संस्थामा सरकारको मापदण्ड अनुसारका प्रयोगशालाको पनि सुविधा छ । यसका अतिरिक्त बीमा कार्यक्रम कार्यान्वयनले नगरवासीको स्वास्थ्य अवस्था थप सुधार हुने अपेक्षा गरिएको छ । चन्द्रागिरि–२ मसिनेमा आयोजित ‘टेलिहेल्थ क्याम्प’को शुभारम्भ गर्दै नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुन लागेको जानकारी दिए । उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुन लागेको छ । विपन्न नागरिकको स्वास्थ्य सुधारमा यसले गुणात्मक फड्को मार्नेछ ।’ चन्द्रागिरि–४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक (केएफडब्लू) एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको उनले जानकारी दिए । उनले भने, ‘नगरवासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरभित्रका सबै स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सेवा प्रदान गरिराखेका छौँ ।’ नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुसँगका सहकार्यमा कोभिड–१९ को पिसिआर परीक्षणमा नगरवासीलाई सहयोग गरिराखेको छ । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम पनि सञ्चालन गरिराखेको छ । नगरपालिकाको सहयोगमा टेलिउपचार टिम र पहिलो पाइला नेपालद्वारा आयोजित सो टेलिहेल्थ क्याम्पमा ६० भन्दा बढी बिरामीले टेलिउपचार एपमार्फत विशेषज्ञ चिकित्सक तथा २०० भन्दा बढी बिरामीले प्रत्यक्ष रुपमा चिकित्सकसँग स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्य शिविरमा हाडजोर्नी तथा आन्तरिक रोग विशेषज्ञ डा दीपेन्द्र शाह, महिला रोग विशेषज्ञ डा आकृति भारती र जनरल फिजिसियन डा लक्ष्मी पन्थीले बिरामीहरुलाई एपमार्फत निःशुल्क परामर्श उपलब्ध गराउनु भएको पहिलो पाइला नेपाल काठमाडौँ शाखाका अध्यक्ष विवेक अर्यालले जानकारी दिए । उनले भने, ‘स्वास्थ्य संस्थामा पहुँच नपुग्ने ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई विशेषज्ञ चिकित्सक सेवा प्रदान गर्न टेलिहेल्थ क्याम्प प्रभावकारी हुँदै आएको छ ।’ यसैगरी डा आशिषकुमार झा, स्वास्थ्यकर्मी भरत महर्जन, सीता थापा, अमित चौधरीले प्रत्यक्ष सेवा प्रदान गरेका छन् । विशेषज्ञ चिकित्सक र बिरामीबीचको दूरी कम गराउन तथा ग्रामीण भेगमा नै विशेषज्ञ चिकित्सक सेवा विस्तार गर्न टेलिहेल्थ क्याम्प सञ्चालन गरिएको टेली उपचारका संयोजक सुरज गिरीले जानकारी दिए । उनले भने, ‘मोबाइल फोन, ट्याब्लेट तथा ल्यापटपको प्रयोग गरी घर तथा अफिसमा नै बसेर आफ्नो स्वास्थ्य समस्या अनुरुपका चिकित्सकसँग स्वास्थ्य परामर्श टेली उपचार एपमार्फत लिन सकिन्छ ।’ चन्द्रागिरि–२ मसिनेका ६६ वर्षीया सरस्वती तामाङ तथा ६८ वर्षीय माइला तामाङले पायक पर्ने स्थानमा स्वास्थ्य सेवामा लिन पाएकामा औधी खुसी व्यक्त गरे । यसरी प्रदान गरिन्छ टेलिउपचार सेवा टेलिउपचार बिरामीहरुलाई विशेषज्ञ चिकित्सकसँग अनलाइनमार्फत स्वास्थ्य सेवा जाँच गराउने एक आधुनिक प्रविधिका रुपमा स्थापित मोबाइल एप हो । टेलिउपचारमार्फत घर तथा अफिसमा नै बसेर आफ्नो समस्याअनुरुप विशेषज्ञ चिकित्सकसँग मोबाइल, ल्यापटप तथा ट्याब्लेटको प्रयोगमा स्वास्थ्य जाँच गराउन सकिन्छ । यो एपको प्रयोग गरी बिरामीहरुले घरमा नै बसेर स्वास्थ्य समस्या चिकित्सकलाई भन्न सक्दछन् । बिरामीसँगको अनलाइन भिडियो परामर्शपश्चात लक्षणअनुसार चिकित्सकले औषधि तथा आवश्यक सल्लाह प्रदान गर्ने अध्यक्ष अर्यालले बताए । चिकित्सकको सल्लाहले बिरामीले आवश्यकताअनुसार ‘रिपोर्ट’ कार्डका रुपमा राख्न सक्दछन् । बिरामीको सुरक्षित स्वास्थ्य रेकर्ड तथा ‘डिजिटल प्रेसकिप्सन’ एपमा नै राख्न सकिने जनाइएको छ । रासस

नेशनल लाईफ इन्स्योरेन्स ३५ औं वर्षमा, बीमा कोषमा ५० अर्ब

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । नेशनल लाईफले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ । यस कम्पनीले यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा राखेको छ । कम्पनीको जीवन बीमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ भने कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँदेखि अधिकतम् प्रति हजार ८५ रुपैयाँसम्म दिएको सहर्ष जानकारी दिएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ । यस्तै कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सवमा केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम संचालन गर्नुको साथै देशभरमा ३४ वटा वृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम गरेको थियो ।