सूर्या लाइफ इन्स्योरेन्सको पुस ९ गतेदेखि बुक क्लोज
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आगामी पुस ९ गतेदेखि बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ । उक्त सभा सो दिन बिहान विराटनगरको होटल हैरिसन प्यालेसमा बस्दै छ । सभाले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त लाभांश खान इच्छुकले आगामी पुस ८ गतेभित्र इन्स्योरेन्सको सेयर खरिद तथा होल्ड गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ छ ।
सानिमा लाइफ इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा सम्पन्न गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव मनाएको छ । इन्स्योरेन्सले मंसिर २२ गते काठमाडौंको दरबारमार्गस्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौथो वार्षिकोत्सम मनाएको हो । उक्त अवसरमा इन्स्योरेन्सले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । सो कार्यक्रममा ७५ जनाभन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष कुमार कोइराला, संचालक डा. सुबर्ण दास श्रेष्ठ, संचालक बद्री विशाल घिमिरे, प्रमुख कार्यकारी अधिकृत अगम मुखिया लगायत कम्पनीको व्यवस्थापन समूह कर्मचारी तथा अभिकर्ताको उपस्थिति थियो ।
सम्पत्ति बीमा गर्दा ५० प्रतिशत अनुदान काठमाडौं महानगरले दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाएकाहरू महानगरबासीको घरको बीमा गर्न अनुदान दिने भएको छ । सर्वसाधारणको सम्पत्तिलाई बीमाको दायरामा ल्याउन र सम्पत्ति कर तिर्नको लागि प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको हो । चालु आर्थिक वर्षदेखि काठमाडौं महानगरले सम्पत्ति कर तिर्ने करदातालाई घरबीमा गर्दा लाग्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको हो । सबै कर दाताहरूलाई करको दायरामा ल्याउने र सम्पत्ति बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले यस्तो कार्यक्रम ल्याइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । काठमाडौं महानगरका स्थायी बासिन्दा र सम्पत्ति कर तिरेका व्यक्तिहरुले यस्तो सुविधा पाउने छन् । बीमा क्षेत्रको नियामक निकायले सम्पत्ति बीमा सम्बन्धी सचेतना अभिबृद्धि गर्ने प्रदेशदेखि स्थानीय तहसम्म विभिन्न चरणका कार्यक्रम तथा छलफल गरिरहेको छ । समितिले काठमाडौं महानगरसँग पनि सम्पत्ति बीमा कार्यक्रम लागू गर्न गराउनको लागि केही वर्षदेखि नै छलफल गरिरहेको थियो । महानगरपालिकाले कर सहभागिता बढाउन र बीमा सम्बन्धी सचेतना अभिबृद्धि गर्न यस्तो कार्यक्रम ल्याइएको जानकारी दियो । कति लाग्छ शुल्क ? बीमा समितिले २०७५ सालमा सम्पत्ति बीमा निर्देशिका जारी गरेको छ । सो निर्देशिकाका अनुसार १ करोड रुपैयाँसम्मको घरको अतिसामान्य जोखिमको रक्षावरण गर्नको लागि बीमा गर्न प्रतिहजार रुपैयाँमा ५० पैसा बीमा शुल्क लाग्छ । यो भनेको १ करोड रुपैयाँ मूल्य बराबरको घरको बीमा गराउन ५ हजार रुपैयाँ बीमा शुल्क लाग्छ । यस्तो बीमा शुल्क एक वर्षका लागि हो । बीमा गरिएको घर लगायत सम्पत्तिमा बीमा अवधि बाँकी रहेको एक वर्षभित्रमा क्षति पुगे बीमा कम्पनीहरुले क्षतिपूर्ति दिन्छन् । सो अवधिमा कुनै क्षति भएन भने अर्काे वर्षको लागि फेरि शुल्क तिरेर बीमा गराउनु पर्छ । बीमा कम्पनीलाई तिर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत महानगरले दिने भएपछि घरधनीले १ करोड रुपैयाँ मूल्य बराबरको बीमा गराउन २५ सय रुपैयाँ तिरे पुग्छ । कस्तो कस्तो क्षतिमा दाबी पाइन्छ ? सम्पत्ति बीमा निर्देशिकाका अनुसार सम्पत्ति बीमा गराएपछि विभिन्न प्रकारबाट हुने क्षतिको क्षतिपूर्ति पाइन्छ । यसमा आगलागी वा आगोको कारणबाट हुने क्षति, हाहाहुरी लगायत हावाजन्य कारणबाट हुने क्षति, बाढी, डुवान, असिना झरी वर्षा लगायत पानीजन्य कारणबाट भएको क्षति, पहिरो, जमिन भासिने लगायत खस्ने वा भासिने कारणबाट हुने क्षति, चट्याङको कारणले हुने क्षति, विस्फोटको कारणले हुने क्षति, आकाशीय सामग्रीजन्य क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजलनबाट हुने क्षति, हुलदंगा तथा आतंकबादजन्य कारणले भएको क्षति र मिसाइल टेस्टिङ अपरेसनका कारणले भएको क्षतिमा क्षतिपूर्ति पाइन्छ ।