धादिङमा एशियन लाईफ इन्स्योरेन्सको ४३ औं शाखा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा कम्पनीको ४३ औं शाखा संचालनमा ल्याएको छ । उक्त स्थानमा रहेको उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीले शाखा संचालनमा ल्याएको हो । कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए । कम्पनीको कूल ४३ वटा शाखा र १०५ वटा उपशाखा संचालनमा रहेका छन् । आ.व. २०७८/७९ को असोज मसान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष करिब २७ अर्ब ७५ करोड रहेको छ । यस कम्पनीले आ.व.२०७८/७९ को असोज मसान्तसम्ममा १ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ

बीमा समितिको स्पष्टिकरणः अस्वस्थ प्रतिस्पर्धा रोक्न नै न्यूनतम प्रिमियम दर तोकिएको हो

काठमाडौं । नियमनकारी निकाय बीमा समितिले मुलुकमा व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन गैरमहशूल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकेको स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले कार्त्तिक १० गते जारी गरेको विज्ञप्तीमा ध्यानाकर्षण गर्दै समितिले उक्त स्पष्टिकरण दिएको हो । महासंघले ‘निर्जीवन बीमाको प्रिमियम बृद्धि गरी न्यूनतम सिमा तोकिएकोमा महासङ्घद्वारा बीमा समितिको गम्भीर ध्यानाकर्षण’ शीर्षकमा प्रेस विज्ञप्ती जारी गरेको थियो । साथै, निर्जीवन बीमा अन्तर्गत अग्नी, मोटर, इञ्जिनीयरिङ्ग, सामुन्द्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम प्रिमियम दर कायम गर्न पटक पटक बीमा समितिसमक्ष आग्रह गर्दै आएको समितिले जानकारी गराएको छ । यसरी कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बीमाको पुनर्बीमा गर्न विभिन्न अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्ने गरेका र यस स्थितिमा निर्जीवन बीमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएकाले समितिले न्यूनतम प्रिमियम दर तोक्नु परेको समितिको भनाई छ । जीवन बीमा वा निर्जीवन बीमा जुन गरे पनि बीमितको बीमा रकम सुरक्षित रहनुपर्दछ र बीमा कम्पनीहरुसँग भएका सम्झौता अनुसार बीमितले समयमा नै दाबी भुक्तानी पाउनुपर्दछ भन्नेमा समितिले जोड दिँदै आएको छ र सोही अनुसार बीमा कम्पनीहरुलाई निर्देशन दिने काम समेत हुँदै आएको समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले विज्ञप्ती मार्फत जनाएका छन् । नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाले अन्तर्राष्ट्रियरुपमा समेत मान्यता पाउनेखालको हुनु आवश्यक छ । यसो भएमा नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाको पुनर्बीमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुमा समेत हुने र बीमा कम्पनीहरुसँग भएको सम्झौता अनुसार बीमितले समयमै दाबी भुक्तानी पाउने अवस्था रहन्छ । मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवम् पारदर्शीरुपमा अगाडि बढाउनका लागि बीमा क्षेत्रका तर्फबाट गर्नुपर्ने योगदान गर्न समिति सदैव तत्पर रहेको र न्यूनतम प्रिमियम दर लगायत बीमा क्षेत्रको विकास एवम् विस्तारका सम्बन्धमा निजीक्षेत्रबाट प्राप्त हुने सुझावहरुलाई समितिले सकारात्मकरुपमा लिने कार्यकारी निर्देशक पौडेलले बताएका छन् । साथै, बीमा क्षेत्रमा विद्यमान समस्याहरुको समाधान गर्दै नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिस्तको तुल्याउने कार्यमा निजीक्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने हुनाले यसका लागि सहकार्य गर्न समिति नेपाल उद्योग वाणिज्य महासङ्घसँग आग्रह गरेको छ ।

नेपाल लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्दा दाहालले जिते आइफोन १२

काठमाडाैं । इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी गर्ने विज्ञान दाहालले आइफोन १२ पाएका छन् । इसेवाबाट भुक्तानी गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विराटनगर निवासी दाहलले आइफोन १२ पाएका हुन् । कम्पनीका नायब महाप्रबन्धक अमित केयलले दाहललाई उक्त आइफोन १२ प्रदान गरे । नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्म मार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै इसेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने बताए । आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।