निर्जीवन बीमा व्यवसायको न्युनतम शुल्क तोक्नु गलत, छिट्टै पुनरावलोकन गरियोस्ः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकी जारी गरिएको निर्देशन पुनरावलोकन गर्न आग्रह गरेको छ । गैरशुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको बीमा समितिको निर्देशनमा ध्यानाकर्षण गराउँदै महासंघले यसलाई पुनरावलोकन गर्न आग्रह गरेको हो । बीमा समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुल्कबीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धी परिपत्र जारी गरेको थियो । यसबाट निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेकोप्रति महासंघको ध्यानाकर्षण भएको हो । ‘खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढन जानेछ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बीमितले बिमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएका छन् । यस बिषयमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि महासंघ माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । यसैगरि, नियामक निकाय समितिले जारी गरेको यो निर्देशनबाट बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने पनि महासंघले जनाएको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मूल्य निर्धारण हुने हुँदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ । साथै, अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्सले अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को नयाँ बोनदर सार्वजनिक गरेको हो । यससँगै कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । नयाँ बोनसदर अनुसार इन्स्योरेन्सको सावधिक तथा आजीवन बीमालेखका बीमितले न्यूनतम ५० देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने छन् । बालबालिकाको सावधिक जीवन बीमालेखमा न्यूनतम ३८ देखि अधिकतम ६० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, सावधिक जीवन बीमालेखका बीमितले पनि न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने छन् । यो बीमालेखको १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने छ । त्यसैगरी, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस एशियन वार्षिक धनलाभ योजनाका बीमितले न्यूनतम ३२ देखि अधिकतम ५८ रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । साथै, बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने उक्त दाबीहरुमा समेत सोही बोनसदर कायम हुने कम्पनीले जनाएको छ ।

शिखर इन्स्योरेन्सको बीमा दाबी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘बीमा दाबी व्यवस्थापन सरलिकरण तथा सहजिकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो तवरले दाबी फछ्र्यौट गरी आम जनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने गरी स्वःस्फुर्त रुपमा बीमा साक्षरता समेत वृद्धि हुने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ । दाबी भुक्तानीका लागि बीमा कम्पनीका कर्मचारी र सर्भेयर मिलेर अगाडी बढ्नु पर्नेमा बीमा समितिका उप निर्देशक भट्टको जोड थियो । बीमा कम्पनीले जति धेरै दाबी भुक्तानी गर्यो त्यति नै राम्रो हुने उनले बताए । कार्यक्रममा बीमा कम्पनीका दाबी विभागका कर्मचारीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा बीमा समितिको तर्फबाट भने उप-निर्देशक विरोध भट्टको उपस्थिति थियो ।