बीमा कम्पनीले उठाए पौने ४८ अर्ब प्रिमियम, गत वर्षको भन्दा २० प्रतिशत बढी

काठमाडौं । पछिल्लो तीन महिनामा बीमा कम्पनीहरुले पौने ४८ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा कूल ४७ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । जुन गत वर्षको भन्दा २०.११ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ३९ अर्ब ८६ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । समितिको तथ्याङ्क अनुसार निर्जीवनभन्दा जीवन बीमा कम्पनीले बढी प्रिमियम उठाएका छन् । समीक्षा अवधिमा जीवन बीमा कम्पनीले कूल ३८ अर्ब १८ करोड र निर्जीवन बीमा कम्पनीले कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा क्रमशः १८.२८ र २७.८८ प्रतिशतले बढी हो । २०७७ असोजमा जीवन बीमा कम्पनीले ३२ अर्ब २८ करोड र निर्जीवन बीमा कम्पनीले ७ अर्ब ५८ करोड रूपैयाँ मात्रै बीमाशुल्क उठाएका थिए । त्यस्तै, असोज महिनासम्ममा जीवन बीमा कम्पनीले ९० लाख ९ हजार २७७ र निर्जीवन बीमा कम्पनीले ७ लाख ३० हजार ९९७ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये जीवन बीमा कम्पनीको बीमालेख संख्यामा वृद्धि भएको छ भने निर्जीवन बीमा कम्पनीको घटेको छ । समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३९ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको भदौको तुलनामा १७.९६ प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १५.९९ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

मौसम सुचक नहुँदाको परिणामः सबा ७ अर्बको धानबाली नष्ट, किसान र सरकारलाई दोहोरो नोक्सान

काठमाडौं । मौसम सुचक बनाउन ध्यान नदिदा किसान र सरकार दुबैले नोक्सानी व्यहोर्नु परेको छ । यस्तो सुचक बनाउँदा धान लगायतका बालीनालीको बीमा गर्न सकिने भएपनि सुचकको अभावमा धानबालीको बीमा हुन नसकेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कात्तिक पहिलो साता परेका पानीका कारण करिब ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ । सुदुरपश्चिम, लुम्बिनी र प्रदेश १ को प्रारम्भिक तथ्यांकका आधारमा सो बराबरको क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ । सरकारले कृषि तथा पशुबाली बीमामा बर्सेनि धेरै रकम खर्च गर्ने गरेको भएपनि मौसमी असरका कारण हुने क्षतिको बीमा हुन नसकेको बीमा कम्पनीहरुले जानकारी गराएका छन् । यद्यपि, सरकारले मौसम सुचक राखेका कारण जुम्लाको स्याउको भने मौसमी असरबाट हुने क्षतिको बीमा हुने गरेको छ । मौसम सुचक (वेदर इन्डेक्स) नहुँदा मौसमी असरबाट हुने क्षतिको बीमा गर्न समस्या भइरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘कृषि तथा बाली बीमा गर्नको लागि हामीले कम्पनीहरुलाई ताकेता गरिरहेका हुन्छौं, कम्पनीहरुलाई जिल्ला नै तोकेर यो जिल्लाको बीमा यो कम्पनीले गर्नै पर्छ भनिएको पनि छ तर, वेदर इन्डेक्स छैन, त्यसैले मौसमी असरका कारण हुने क्षतिको बीमा गर्न गराउन समस्या भइरहेको छ,’ कार्यकारी निर्देशक पौडेलले भने । बेमौसममा परेको पानीका काराण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन सरकारले राहत प्याकेज ल्याउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले दिइसकेका छन् । तर, अहिले क्षति पुगेको धानबालीको बीमा गरिएको हुने थियो भने किसानले धेरै क्षति व्यहोर्नु पर्ने थिएन भने सरकारले राहत दिनुपर्ने अवस्था पनि आउने थिएन । सरकारले कृषि तथा पशुपंक्षीको बीमा गर्दा लाग्ने बीमा शुल्कमा गत आर्थिक वर्षसम्म ७५ प्रतिशत र चालु आर्थिक वर्षदेखि ८० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम ल्याएको छ । सरकारले बीमाको लागि बर्सेनि धेरै रकम खर्च गर्ने गरेको भएपनि बीमाको पहुँचमा नपरेको बालीमा क्षति हुँदा किसान पीडित बन्ने गरेका छन् । वर्षाको कारण ८ अर्ब रुपैयाँको धानबालीमा क्षति पुगेको रहेछ भने पनि बीमा गराएको थियो भने किसान वा सरकारलाई धेरै नोक्सानी पर्ने नै थिएन । जस्तो कि बीमा गराएको बालीनालीमा सामान्यतः त्यस्तो बालीनालीको ८० प्रतिशतसम्म बीमा कम्पनीहरुले क्षतिपूर्ति दिन्थे । यस्तो अवस्थामा ८ अर्ब रुपैयाँको धानबालीमा क्षति पुगेको भएपनि किसानले ६ अर्ब ४० करोड रुपैयाँ बीमा कम्पनीहरुबाट क्षतिपूर्ति आउने हुन्थ्यो ।

नेपाल इन्स्योरेन्समा बीके महर्जन प्रवेश, ६ महिनापछि सीईओ बन्दै

काठमाडौं । ६ महिनापछि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण (बीके) महर्जन हुने भएका छन् । हाल कम्पनीले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । महर्जन यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । उक्त संस्थामा उनले तीन कार्यकाल विताएका थिए । बीमकको संस्थागत सुशासन अनुसार थप कार्यकालको लागि प्रुडेन्सियलमा सीईओ बन्न नमिल्ने भएपछि यहि असोजमा उनी बाहिरीएका थिए । उनी लो प्रोफाइलमा बसेर प्रोफेशनल रुपमा कम्पनी चलाउने सीईओको रुपमा परिचित छन् । संस्थागत सुशासनले कुनै पनि कम्पनीको सीईओले छोडेको ६ महिनासम्म अर्को कम्पनीको सीईओ बन्न रोक लगाएकोले उनी नेपाल इन्स्योरेन्स कम्पनीका कामु सीईओको भूमिकामा प्रवेश गरेको जानकारहरुले बताएका छन् । कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । साथै उनलाई कामु सीईओको जिम्मेवारी पनि तोकिएको नेपाल इन्स्योरेन्सका कम्पनी सचिव चन्द्रनाथ उप्रेतीले जनाएका छन् । वरिष्ठ डीसीईओ महर्जनले कात्तिक ७ गतेदेखि नै कार्यभार सम्हालेका छन् । उनलाई कम्पनीले आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । ६ महिनापछि उनी सीईओमा नियुक्त हुने सम्बद्ध स्रोतले जानकारी दिए । कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अवकास पाएपछि सो कम्पनीको कामु सीईओको भूमिकामा डेपुटी सीईओ ईश्वर पोखरेल कार्यरत थिए ।