यूनाईटेड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । यूनाईटेड इन्स्योरेन्सले आगामी साउन ३१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को २७औं वार्षिक साधारण सभा सो दिन बिहान साढे ११ बजे अनलाइन (भर्च्युअल कार्यक्रम) मार्फत गर्ने निर्णय गरेको हो । उक्त निर्णय साउन ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने सहित विभिन्न तीन सामान्य प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, लेखापरीक्षण प्रतिवेदन सहित उक्त आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने छ । साथै, आर्थिक वर्ष २०७७/७८ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ । इन्स्योरेन्सले हालसम्म बुक क्लोजको मिति भने तय गरिसकेको छैन ।
अब एलआईसी नेपालको बीमाशुल्क इसेवाबाट तिर्न सकिने
काठमाडौं । अब लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालकाे बीमाशुल्क इसेवा मार्फतबाट तिर्न सकिने भएकाे छ । एलआईसी र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी शुक्रबार सम्झौता भएको हाे । सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र इसेवाका साजन महर्जनले हस्ताक्षर गरेका छन् । बीमितहरुले बीमाशुल्क तिर्दा सबैभन्दा पहिला एलआईसी नेपालको वेभसाइटमा गएर अनलाईन प्रिमियम भुक्तानीमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो पोलिसि नम्बर, जन्म मिति र इमेल ठेगाना राखेर लग इन गर्नुपर्छ । साे प्रकृया पुरा गरिसकेपछ बीमितिले इसेवामा क्लिक गरेर प्रिमियम रकम तिर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीकाे अनुसार इसेवामार्फत आफ्नो खाता लिंक गरि सजिलै बिना झन्झट, जुनसुकै समयमा रकम तिर्न मिल्दा ग्राहकको समय बचत हुने तथा कारोबारसमेत थप सुरक्षित हुनेछ ।
जनरल इन्स्योरेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ, समितिले दियो स्वीकृति
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेको उनको नियुक्तिलाई नियामक निकाय बीमा समितिले शुक्रबार स्वीकृति दिएको हो । कम्पनीका सीईओ एसके टमोटको कार्यकाल सकिएपछि इन्स्योरेन्समा सीईओ पद खाली रहेको थियो । यससँगै सञ्चालक समितिले उनलाई नियुक्ति गर्ने प्रस्ताव गरेको हो, जसलाई समितिले स्वीकृति दिएको छ । यससँगै नवनियुक्त सीईओ श्रेष्ठले आगामी चार वर्षसम्म इन्स्योरेन्समा आफ्नो कार्यभार सम्हाल्ने छन् । यसअघि उनी इन्स्योरेन्सको कायम मुकायम (कामु) सीईओको रूपमा कार्यरत थिए ।