एनएमबि बैंकले शिखर इन्स्योरेन्स मार्फत भुक्तानी गर्याे बीमा दावी 

काठमाडौं । एनएमबि बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य विमा बापत बीमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर स्मृति भण्डारी र शाखा प्रमुख लजना तुलाधरले संयुक्त रुपमा आमत्यलाई स्वास्थ्य बीमावापतको रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको उक्त खाता योजनामा शुन्य मौज्दातमै खाता खोल्न सकिने, नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, दश लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले शिखर इन्स्योरेन्स मार्फत उक्त भुक्तानी प्रदान गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पुर्याउँदै आईरहेको छ ।

अब स्वास्थ्य बीमा ७७ जिल्लामा

काठमाडाैं । सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौं तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले जानकारी दिए । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौं र ललितपुरमा लागू थालिएको हो । बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले ७०० बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ । बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले गराए रु एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन् । बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए । ‘अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौँ”, उनले भने, “त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाई सबैलाई आबद्ध गर्दछाैँ ।’ अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । उनले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइनेसमेत जानकारी दिए । अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् । तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् । सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा लम्सालले जानकारी दिए । बोर्डले अहिले बीमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेको जस्तो नागरिक सहभागी नभएको बताए । उनले स्वास्थ्य बीमा गरेका तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने बताए । ‘गरीब विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन’, उनले भने, ‘त्यस्ता गरीब, विपन्न वर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पु¥याउँछ ।’ बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवाली मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बीमामा आकर्षण कम भएको बताए । ‘बिरामी हुँदा मानिसहरु एक लाखभन्दा पनि बढी तिर्छन्’, उनले भने, ‘तर बीमा गर्नका लागि तीन हजार ५०० शुल्क पनि तिर्न मानिरहेका छैनन् ।’ उनले वार्डस्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने बताए । सरकारले पोलिएको, गम्भीर अपाङ्गताका लागि गरिने उपचार, ओँठ तालु काटिएकामा गरिने सर्जरीबाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी भने बीमाबापत गराउने पाउने छैनन् । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो । रासस

लाखबाट अर्बौको यात्रा, स्थापित कम्पनी छोड्दै नयाँ खोल्दै

रमेश कुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०३८ सालमा रमेश कुमार भट्टराई शंकरदेव क्यापसमा स्नातकोत्तर तहमा पढ्दै थिए । नेपाल बैंकले अधिकृत तहको कर्मचारी माग्यो । उनले आवेदन दिए । २०३९ बैशाख २ गते उनले नेपाल बैंकमा जागिर शुरु गरे । वीरगञ्जको सिटी अफिसमा उनको पोष्टिङ भयो । यो शाखा नेपाल बैंकको सबैभन्दा धेरै कारोबार हुने शाखामा पर्दथ्यो । व्यापार क्षेत्रका ठूला व्यवसायीसँग उनको सम्पर्क, सम्बन्ध बढ्दै गयो । १३ वर्ष नेपाल बैंकमा सेवा गरे । विभिन्न शाखामा प्रमुख, ४६ वटा शाखा हेर्ने क्षेत्रीय कार्यालयमा कर्जा प्रमुख, सुपरिवेक्षण प्रमुख, कानुन प्रमुख भएर काम गर्ने मौका उनले पाए । ‘कामप्रति उच्च लगाव थियो । समस्याको पहिचान र समाधान दुबैमा अरु भन्दा अगाडि थिए । जब कुनै पनि शाखामा गम्भीर प्रकृतिका समस्याहरु देखिन्थे त्यहाँ मलाई नै खटाउनुहुन्थ्यो । त्यस क्षेत्रमा म खट्थेँ । समस्या समाधान गर्दथे’ उनले भने- ‘त्यसैले मलाई म भन्दा वरिष्ठ सहकर्मीहरुले विश्वास गर्नु हुन्थ्यो । मलाई अगाडि बढ्न हौसला मिल्दथ्यो । धेरैले मलाई भविष्यमा नेपाल बैंकको महाप्रबन्धक हुन्छ पछि भन्थे ।’ नेपाल बैंकमा प्रबन्धक हुँदा धेरै किसिमको अनुभव हासिल भैसकेको थियो । व्यवसायिक सम्बन्ध पनि फराकिलो भएको थियो । उनी आफै केही गर्न तम्सिए । २०५२ मंसिर १५ गतेदेखि लागू हुने गरी नेपाल बैंकबाट राजीनामा दिए । आफ्नै व्यवसाय गर्ने अठोट लिएर । राजीनामा गर्नुभन्दा तीन महिना अघि नै उनले वीरगञ्जमा नयाँ फाइनान्स खोल्ने तयारी गरेका रहेछन् । आफूसहित सात जना लगानीकर्ताबाट ७५ लाख रुपैयाँ चुक्ता पुँजी भएको महालक्ष्मी फाइनान्स खोल्ने तयारी थियो । राजीनामा स्वीकृत भएकै मिति २०५२ मंसिर १५ गते महालक्ष्मी फाइनान्स सञ्चालनमा आयो । नेपाल बैंकको प्रबन्धक छोडेका भट्टराईले महालक्ष्मी फाइनान्सको प्रबन्ध सञ्चालक (कार्यकारी प्रमुख) को जिम्मेवारी लिए । ‘नेपाल बैंकमा १० वर्षपछि जीएम हुन्छ भन्थे, १५ वर्षपछि जीएम हुन्छ भन्थे । तर म सानै संस्थामा भएपनि १०/१५ वर्षअघि नै प्रबन्ध सञ्चालक भएँ’ रमेशले सुनाए । २०५२ मंसिर १५ गतेबाट रमेश कुमार भट्टराईको व्यवसायिक यात्रा शुरु भयो । ‘म पैसालाल मान्छे थिइन । मेरो बुबा सामान्य नगरपालिकामा मुखिया/वैधवार हुनुहुन्थ्यो । त्यो बेलामा मासिक ४/५ सय तलब आउँथ्यो । घर धान्नै गाह्रो थियो । नेपाल बैंकको जागिरले मलाई घर धन्नै गाह्रो थियो । १३ वर्ष काम गरेर राजीनामा दिएकोले नेपाल बैंकबाट निस्कदा मेरो हातमा २ लाख रुपैयाँ परेको थियो । त्यहि रकम मैले महालक्ष्मी फाइनान्सको संस्थापक सेयरमा लगानी गरेको हुँ । मेरो पहिलो लगानी पनि त्यहि हो ।’ अहिले तपाई कति सम्पत्तिको मालिक हुनु भयो ? विकासन्युजले प्रश्न गर्यो । ‘यो प्रश्नमा दम छ । म २६ वर्ष लगातार सीईओ भएँ, महालक्ष्मी, नेपाल लाइफ, एशियन लाईफ, फेरि महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरी । त्यसबाट आएको कमाईबाट बचाएकाे, लगानी गरेकाे त्यसकाे प्रतिफल, सबै गरी करिब २५ करोडको सम्पत्ति हाेला बजार मूल्यमा’ उनले भने । सरदर एक वर्षमा एक करोड बचाएको देखियो । ‘मैले कमाएको एक पैसा पनि अनावश्यक ठाउँमा खर्च गरिन’ उनले प्रष्ट्याउदै गए- ‘म दश वर्ष महालक्ष्मी फाइनान्सको एमडी भए । हरेक वर्ष सेयरधनीलाई २० देखि ३३ प्रतिशत लाभांश खुवाए । महालक्ष्मी फाइनान्स छोड्दा उपदान, संचयकोष सबै गरेर २० लाख रुपैयाँ पाएँ । त्यो २० लाख रुपैयाँ र आफ्नो कमाईको बचत जोडजाम गरेर नेपाल लाइफको सीईओ बन्नुपूर्व सोही कम्पनीको सेयरमा लगानी गरेँ । साधारण सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ हुँदा प्रमोटरले मलाई प्रतिकित्ता २०० रुपैयाँमा सेयर बेचे । सबैभन्दा ठूलो योगदान त्यहि सेयरको छ आज ।’ महालक्ष्मी फाइनान्सले राम्रो प्रतिफल दिँदै गर्दा उनले कम्पनी छोड्नुको दुई कारण खुलाए । ‘पहिलो, एउटै संस्थामा लामो समय बस्नुहुँदैन भनेर मैले महालक्ष्मी फाइनान्स छोडेँ । दोस्रो, मलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रमुख कार्यकारी अधिकृतको प्रस्ताव आएको थियो । त्यो मेरो लागि नयाँ अवसर र चुनौति थियो । मैले स्वीकार गरेँ ।’ त्यसअघि उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सञ्चालक थिए । नेपाल लाइफका प्रवद्र्धक महालक्ष्मी फाइनान्सका पनि प्रवद्र्धक थिए । महालक्ष्मीमा राम्रो कार्यसम्पादन गरेकाले भट्टराईलाई नेपाल लाइफको सीईओमा प्रस्ताव गरेका थिए । उनी नेपाल लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भए । भट्टराई कै शब्दमा- ‘म नेपालको जीवन बीमा कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत भएँ । त्यतिबेलासम्म नेपाल लाइफ, नेशनल लाइफ, मेटलाइफ सबैले विदेशी सीईओ राख्दै आएका थिए । राष्ट्रिय बीमा संस्थानको प्रशासक हुन्थ्यो, सीईओ भन्ने पद थिएन ।’ उनी नेपाल लाइफमा २ वर्ष मात्र रहे । त्यसमा पनि उनको निजी स्वार्थ रहेछ । ‘मेरो स्वार्थलाई हेरेर नेपाल लाइफ छोडेको थिए’ उनले प्रष्ट भने- ‘नेपाल बैंकमा बैकिङ सिकें । पछि आफैले महालक्ष्मी फाइनान्स खोलेँ । नेपाल लाइफबाट जीवन बीमा सिकेँ, मलाई नयाँ बीमा कम्पनी खोल्ने इच्छा भयो । त्यसैले नेपाल लाइफ छोडेर एशियन लाइफ खोल्ने निर्णयमा पुगेँ ।’ नेपाल लाइफ छोडेर एशियन लाइफको संस्थापक प्रमुख कार्यकारी अधिकृत बने । उनी सो कम्पनीका संस्थापक लगानीकर्ता पनि हुन् । उनले कम्पनीमा ३० लाख रुपैयाँ लगानी गरेका थिए । ५ वर्षपछि उनले एशियन लाइफ इन्स्योरेन्स कम्पनी छोडे । कम्पनीको लाभांश वितरण सम्बन्धी विवादमा बीमा समितिले एशियनमा हस्तक्षेप गरेपछि उनी एशियन छोडेर महालक्ष्मी फाइनान्समा फर्के । एक वर्षपछि उनले एशियन लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर प्रतिकित्ता ६०० रुपैयाँमा बिक्री गरे । ३० लाखको लगानीबाट १ करोड ८० लाख रुपैयाँ बनाए । ‘तपाईंलाई थाहा छ एशियन लाइफ छोड्दाको अवस्था । कम्पनी छोडेको एक वर्षमा सबै सेयर बेचेँ । मेरो मिहेनतको प्रतिफल पनि पाएँ’ उनले खुशी साटे । ‘धेरै मानिसहरु आफूले स्थापना गरेको कम्पनी छोडेर जान मान्दैन । रमेश भट्टराई यस्तो विरलै मान्छेमा एक हो जो कम्पनी स्थापना गरेर केही वर्षमा छोडेर जान्छ । महालक्ष्मी विकास बैंकको साधारणसभाले मलाई ४ वर्षको लागि सीईओ नियुक्ती गरेको थियो । त्यहाँ बसेर छडि हल्लाएर आरामले बैंक चलाउन सकिने अवस्था थियो । तर म जोखिम लिएर महालक्ष्मी लाइफ इन्स्योरेन्स स्थापनामा लागेँ । शून्यबाट काम गर्ने, सक्रिय भएर काम गर्ने, जोखिम लिएर काम गर्ने मेरो कार्यशैली हो’ उनले भने । महालक्ष्मी लाइफमा उनको प्रत्यक्ष लगानी छैन । बीमा समितिले प्रवद्र्धकलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन छेकेको छ । तर उनले छोरीको नामबाट ६५ लाख रुपैयाँ लगानी गरेका छन् । रमेश भट्टराई एक सफल व्यवस्थापक नै हुन् । नेपाल बैंक बाहेक सबै कम्पनीमा लगानीसहित उच्च व्यवस्थापनमा बसेर काम गर्दै आएका छन् । नेपाल राष्ट्र बैंक, बीमा समिति लगायत नियामकले लगानीकर्ता र व्यवस्थापक अलग हुनुपर्ने नीतिगत व्यवस्था लागू गरेको छ । लगानीसहितको व्यवस्थापक भएको कम्पनी प्रभावकारी हुन्छ वा लगानीकर्ता र व्यवस्थापक फरक भएको कम्पनी फरक हुन्छ ? वहसको विषय बन्दै आएको छ । भट्टराईको अनुभवमा लगानीसहितको व्यवस्थापक भएको कम्पनीको व्यवस्थापन प्रभावकारी हुन्छ । ‘किनकी उसलाई आफ्नो लगानीको माया हुन्छ । व्यापार विस्तार, खर्च कटौति र सुशासन सबै उसको प्राथमिकतामा परेको हुन्छ’ उनले भने- ‘अरु कम्पनीले वार्षिक उत्सव बनाउन १० लाख रुपैयाँ खर्च गरे होलान्, मैले महालक्ष्मीको दोस्रो वार्षिकोत्सवमा २० हजार रुपैयाँ मात्र खर्च गराएँ ।’ ‘म इन्भेष्टमेन्ट विद म्यानेजमेन्टलाई प्राथमिकता दिन्छु । पृथ्वीबहादुर पाँडे, विरेन्द्रबहादुर बस्नेत थुप्रै लगानीकर्ताले कम्पनीको व्यवस्थापन राम्रोसँग चलाएका छन् । आफै म त्यसमा सफल पनि भएको छु’ उनले थपे- ‘यदि राम्रो गर्न सकिने आत्मविश्वास छ भने नियमले रोके आफन्तको नाममा लगानी भईहाल्छ । नियामकले चाहेर पनि रोक्न सक्दैन ।’ नियमले रोकेकाले उनले महालक्ष्मीमा छोरीको नाममा सेयर लगानी गरेका छन् । ‘मेरो लगानी छ । र, त म शनिवार पनि अफिसको काममा हुन्छु । सार्वजनिक बिदाको दिनमा पनि अफिसको काममा हुन्छु । अरु कम्पनीको सीईओ ५/६ बजेपछि घर जान्छन्, म ८/९ बजेसम्म अफिसमा काम गरिरहेको हुन्छु । बिहान हरेक दिन साढे ९ बजे अफिसमा आइपुग्छु’ ६४ वर्षिया भट्टराई जोशिलो शैलीमा प्रस्तुत भए । उनी फेरी नयाँ कम्पनीको योजनामा दौडधुप गर्दैछन् । काठमाडौं रि इन्स्योरेन्स खोल्न उनी, बीमा समितिको पूर्व अध्यक्ष देवेन्द्रप्रताव शाह, नेपाल पुर्नबीमा कम्पनीको पूर्व अध्यक्ष महेश गुराँगाई, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायतको टिमले १० अर्ब रुपैयाँ लगानी जुटाएर पुनर्बीमा कम्पनी खोल्दैछन् । ‘हामी काठमाडौं रि इन्स्योरेन्स कम्पनी खोलेरै छोड्छौं । किनकी राज्यले खुला गरेको लगानीको क्षेत्रमा हामीले लगानी नगरे अरुले गर्छन् । देशको आवश्यकता हो, अर्थतन्त्रको लागि आवश्यक छ । हामीप्रति लगानीकर्ताको विश्वास छ’ उनले भने- ‘हामी लगानी पनि जुटाउँछौं, कम्पनी सञ्चालनमा पनि ल्याउछौ ।’ नयाँ कम्पनी खोल्नको लागि आफूसँग राम्रो अनुभव भएको सुनाउँदै बीमा समितिले पुर्नबीमा कम्पनीबारे अध्ययन थालेपछि नयाँ कम्पनी खोल्ने तयारी गरेको र अरुले एक वर्षमा गर्न नसकेको काम आफूहरुले १५ दिनमा सिध्याएको उनले बताए । ‘हामीसँग जुन टिम छ, त्यो अरु कोहीसँग छैन । लगानी जुटाएर मात्र हुँदैन, काम गर्ने टिम पनि चाहिन्छ, हामीसँग त्यो टिम छ’ उनको दावी छ । पुँजी जुटाउन गाह्रो नभएको उनको भनाई छ । ‘५ दिनमा ६ अर्बको प्रतिवद्धता पत्र पाएका छौं । अरु कम्पनीको भन्दा बढी पुँजी लिएर आउँछौं । अरु कम्पनीको भन्दा राम्रो टिम लिएर आउँछौं’ उनले भने । काठमाडौं रि इन्स्योरेन्समा कुनै ठूला व्यवसायिक घराना नभएको उनको भनाई छ । यति धेरै पैसा कहाँबाट जुट्दै छ ? सोझै जवाफ दिए । ‘सेयरको भाउ बढेको छ, थोरै सेयर हुनेसँग पनि १ करोडको सेयर छ । जग्गाको भाउँ त्यस्तै बढेको छ । तुरुन्तै बिक्छ, पैसाको कमी छैन’ उनले समाजको स्तर बिम्बित गर्दै भने- ‘काठमाडौं रिमा लगानी गर्नेको लागि न्यूनतम एक करोड रुपैयाँ सीमा तोकेका छौं ।’ लगानीको प्रतिवद्धता पत्र बुझाउने कसैले पनि कम्पनीले कति वर्षमा लाभांश दिन्छ, कति लाभांश दिन्छ भनेर सोधेका छैनन् । नेपाल पुर्नबीमा कम्पनीको सेयर मूल्य देखेकै छन् । नियामक भएको कम्पनीमा लगानी डुब्दैन भन्ने सबैलाई विश्वास छ । ५ वर्षको लकिङ पिरेडपछि १०० को सेयर कम्तिमा पनि ५००मा बेच्न सकिन्छ भन्ने विश्वास लगानीकर्तालाई छ, उनले लगानीकर्ताको मनोविज्ञानको विश्लेषण गरे । पुर्नबीमा कम्पनीको आवश्यकता र औचित्यमा पनि प्रश्न उठ्ने गरेको छ । त्यसमा रमेशको आफ्नै दावी छ । ‘अर्थमन्त्रीले अर्को पुर्नबीमा कम्पनी आवश्यक छ भनेर बोलिसक्नु भएको छ । त्यो भनाई त्यत्तिकै आएको होइन’ उनी भन्छन्- ‘एउटा मात्र पुर्नबीमा कम्पनी हुँदा प्रतिस्पर्धाको वातावरण बन्दैन, दुई वटा पुर्नबीमा कम्पनी भयो भने लगानीकर्ताको लागि पनि, बीमा बजारको लागि पनि, देशको अर्थतन्त्रको लागि पनि राम्रो हुन्छ ।’ पुर्नबीमा २ भन्दा बढी हुन नहुने उनले बताए । तर बजारमा हाल ४ वटा कम्पनी खुल्ने तयारीमा छन् । ‘बीमा समितिले पुर्नबीमा कम्पनीको लागि पुँजी २० अर्ब रुपैयाँ तोक्नुपर्छ । त्यो अवस्थामा लगानीकर्ताहरु मिलेर अगाडि बढ्छन्’ उनले सोलुसनको कुरा गरे । यदि ३ भन्दा बढी पुर्नबीमा कम्पनी खुलेमा त्यसले संकट निम्त्याउने उनको विश्लेषण छ । उनले २०५२ सालमा ७५ लाखको कम्पनी खोले । २०६४ मा २५ करोडको कम्पनी खोले । २०७५ सालमा १ अर्ब ४० करोडको कम्पनी खोले । आज उनी ७ अर्बको कम्पनी खोल्ने दौडधुपमा छन् । भन्छन्- ‘अहिलेसम्म दुई हजार कर्मचारीलाई मैले हस्ताक्षर गरेर नियुक्ती पत्र दिएको छु । अहिलेसम्म कर्मचारी समस्या झेल्नु परेको छैन । बोर्डसँग द्वन्द्व बेहोर्नु परेको छैन ।’ त्यसको फमुर्ला के त ? इमान्दारी पूर्वक काम गर्दा विश्वास आर्जन हुन्छ । ‘कुनै पनि कम्पनीमा आर्थिक मामिलामा मैले एक्लै निर्णय लिइँन । अहिले पनि म अफिसको चिया मात्र खान्छु । खाजा घरबाटै ल्याउँछु’ उनी आदर्शपूर्ण शैलीमा प्रस्तुत हुँदै भने- ‘अरुको भलो गर्ने हो । त्यसले मलाई पनि भलाई हुन्छ ।’ नयाँ कम्पनी खोल्ने, पुरानो कम्पनी छोड्ने उनको यात्रा कहिलेसम्म ?  ‘काठमाडौं रि इन्स्योरेन्स खोले पनि म महालक्ष्मी लाइफ छोड्दिन । साथीहरुले महालक्ष्मी छोड्न पाउँदैनस् पनि भनेका छन् ।’ उनी शुद्ध लगानीकर्ता उन्मुख बन्दै भने-‘नयाँ कम्पनीमा नयाँ सीईओ राखिन्छ ।’