नेशनल लाईफ इन्स्योरेन्सको सेयर सूचीकृत

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । यससँगै कम्पनीको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

बीमा विधेयकमा दफावार छलफल, स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने धारणा

काठमाडौं । सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध छलफल गरेको छ । उक्त छलफल बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले गरिएको हो । संसद् विघटन बदरपछि बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि अर्थ समितिमा पुनः छलफल प्रारम्भ भएको हो । समितिका सभापति कृष्णप्रसाद दाहालका अध्यक्षतामा आज(चैत ११ गते) भएको बैठकमा विधेयकमाथि दफाबार छलफल गर्दै अर्थ मन्त्रालय र बीमा समितिका पदाधिकारीले बीमा व्यवसायको स्वच्छ प्रतिस्पर्धा तथा त्यसको प्रभावकारी नियमन सम्बन्धमा सुझाव दिएका छन् । समितिका सदस्यको जिज्ञासा, प्रचलित कानून, ऐन, नियम तथा बीमासम्बन्धी प्राविधिक पक्षबारे मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी र बीमा समितिका अधिकारीले जानकारी दिएका थिए । बैठकमा बीमा ऐन २०७५, नेपाल बीमा प्राधिकरण गठन तथा त्यसका काम, कर्तव्य र अधिकार, प्राधिकरण सञ्चालक समिति, अध्यक्ष वा सदस्यको नियुक्ति, उनीहरूको योग्यता, पदावधि, काम, कर्तव्य र अधिकार, पदाधिकारीको स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज, कर्मचारीसम्बन्धी व्यवस्था, प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षणलगायत विषयमा दफावार छलफल भएको थियो । अनुमतिपत्र नलिई बीमा व्यवसाय गर्न वा गराउन नपाइने, बीमा कम्पनीको स्थापना, प्राधिकरणले बीमा कम्पनी खोल्न पूर्वस्वीकृति दिन इन्कार गर्न सक्ने, बीमा कोष, बीमकको पुँजीकोष तथा सेयर बाँडफाँड, चुक्ता पुँजी कायम गर्नुपर्ने, अनिवार्य जगेडा कोष, महाविपत्ति कोष राख्ने, दावी भुक्तानी कोष तथा जगेडा कोषको व्यवस्था, दायित्वभन्दा बढी सम्पत्ति हुनुपर्नेजस्ता विधेयकका सबै दफामा छलफल जारी छ । रासस

शिखर इन्सुरेन्सले गर्याे ९४ हजार स्याउका बिरुवाकाे बीमा

काठमाडाैं । शिखर इन्सुरेन्स कम्पनी जुम्ला शाखाले कालीकोट, मुग र जुम्लाका स्याउ किसानका करीब ९४ हजार स्याउका बिरुवा बीमा गरेको छ । किसानका लागि बीमा कार्यक्रम अगाडि बढाइएकाले किसान स्याउ बीमाप्रति उत्साहित भएको इन्सुरेन्स प्रदेशका इन्चार्ज ऋषिराम पाण्डेले बताए । उनले भने, “जुम्ला, कालीकोट र मुगुमा एक हजार ४१२ किसानले बीमाको क्षतिपूर्ति पाएका छन् । जुम्ला ७४७, कालीकोट ३४७ र मुगुमा ३०० स्याउ किसान बीमित भएका थिए ।” स्याउको बिरुवा बीमा गरिए अनुसार क्षतिपूर्ति वितरण शुरु गरिएको इन्चार्ज पाण्डेले जानकारी दिनुभयो । जुम्लामा मात्रै एक करोड ३३ लाख क्षतिपूर्ति वितरण गरिएको छ । जुम्लामा १६ हजार घरधुरीमा स्याउ खेती गर्दै आएकामा हावाहुरी र असिनाले स्याउको फलमा क्षति पु¥याएको थियो । कृषि कार्यालयका अधिकृत खेमराज शाहीका अनुसार खेतीमा क्षति व्यहोर्नु परेका किसान क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । प्रतिबिरुवा २७० रुपैयाँका दरले किसानले क्षतिपूर्ति पाउने गरेको शिखर इन्सुरेन्सले जनाएको छ । यस वर्ष जुम्लामा एक करोड ३३ लाख बिरुवा वितरण गरिएको छ । जुम्लामा सबैभन्दा बढी पातारासी गाउँपालिका उर्थु गाउँका स्याउ किसान अधिराज बिष्टका ७०० बिरुवा बीमा गरिएको थियो । उहाँले स्याउमा फल नलागेपछि बीमा गरेबापत एक लाख ८९ हजार प्रदान गरेको इन्सुरेन्सले जनाएको छ । पाँच सय बिरुवाको बीमा गरेबापत देवी सेजुवालले रु एक लाख ३५ हजार पाउनुभएको छ । त्यसैगरी धनबहादुर थापाले पनि ५०० बिरुवाको बीमा गरेर क्षति भएबापत रु एक लाख ३५ हजार रकम नै प्राप्त गर्नुभएको छ । बीमाको रकम भने यस वर्ष किसानको घरमै गएर वितरण गरिएको छ । किसान अधिराज बिष्टले यस वर्ष स्याउ नफलेर घाटा लागेको तर बीमाले थोरै राहत गरेको बताउनुभयो । रु एक सयमा यहाँका किसान स्वयंको दुर्घटना बीमा गरिएको छ । एक वर्षअघि जुम्ला चन्दननाथका रत्नराज गिरीको स्याउ बगैँचामै मृत्यु भएका कारण रु दुई लाखसमेत उपलब्ध गराइएको थियो । अब शिखरले पशु र घरको बीमा पनि शुरु गर्ने लक्ष्य लिइएको छ । रासस